आँखाले भ्याउने क्षितिज भन्दा पनि पर एउटा दुबोले भरिएको चौर छ, यदि पुग्न सक्यौ भने म त्यहाँ हुने छु ।
Thursday, 14 February 2013
भ्यालेण्टाइन हाम्रो पर्व
भर्खर जाडोले छोडेको छ, जाडोमा गुम्सिएको जीऊ पनि अलि खुकुलो हुन थालेको छ । एकजोडी हप्ता पनि बितेको छैन त्यहि पल्लो चूचूरोमा हिउँ परेको तर बिर्साउने गरि उखुम पनि हुँदैछ । रात भरि, हप्ताभरि झरिले छोडेर दिनहरु जब पहिलो पटक उघारिन्छन अँशी कति खुशी हुन्छ मन, कति चञ्चल हुन्छ मन, भँगेरा को चाल जस्तै फुट्टफुट्ट गर्न मन लाग्ने । औँसिको रातको भोलिपल्ट आकाशमा घाम र जून सँगै उदाउँदा रहेछन मिर्मिरेमा अनि बिस्तारै घाम बल्दै जाने अनि जून ढल्दै जाने रहेछन । आज मलाई पनि त्यस्तै भएको छ, कति नर्भस छु म आफैसँग । आस्थाहरुका महलहरु अनि बिश्वासका पहाडहरु त झन सगरमाथा छोउँला झैँ उचालिइरहेछन । खटपटी भइरहेछ मन म कहा जाउँ के गरुँ को सँग यो खुशी पोखुँ झैँ भइरहेछ । मलाई साँच्चै आफै सँग पनि आफैलाई बिश्वास छैन कि म काम सहि गर्छु कि बिराउँछु भनेर ।
सभ्यताले हिजै बिहान, आज त भ्यालेण्टाइन दिवस हो नि बुढा भन्दै थिइ मैले सुनो नसुनो गरेँ । तर मन त मेरो पनि उसलाई त्यस भन्दा बढि मायाले पुर्ने बिचार छ । मलाई सिँदूर टिका पोते अनि कानमा मारवाडी ल्याइदिनु है बुढा भन्थि मलाई तर मैले त सामान्य गिफ्ट पनि पठाउन सकिन अनि मैले मेरो अबिरल माया छ बुढि तँलाई, मारवाडी त बिहेमा ल्याइहाल्छु नि भनेँ, ऊ सुँक्क गर्न थाली, कुरौटे बुढो खाली नखरा मात्र पार्छ बरु दिन्न भन न, लाउन त मेरै छन नि भनेर घुर्की पनि लगाउँथी । मैले पनि अब भेट्दा म आफैले लगाई दिन्छु काली धेरै नकरा न डल्ली भनेर थम्कारेको थिएँ । हाम्रा यस्ता भ्यालेण्टाइन दिवसहरु धेरै बिते फुत्त फुत्त चालै नपाई तर यो चाहिँ अलि बिकसित भयो दुबैको लागि ।
हिजोको दिन छोडेर अस्ति मात्र उस्ले भ्यालेण्टाइन दिवस २ दिन बाँकि भनेर मोबाइलमा राती बाह्र बज्न एक मिनेट छँदा पठाएकी थिई तै पनि अरु धेरै म्यासेजले ठेलेर दुई तीन पेज पछाडी हटिसकेछ । म पूर्व नेपालको मान्छे ऊ चाहिँ पश्चिम नेपालकी मान्छे दूरी टाढा हुँदा पनि हामि रत्तिभर पनि टाढा छैनौँ । मैले समयमा खाना खायो कि खाएन अनि समयमा घर आयो कि आएन भने उस्लाई चासो हुन्छ । केहि समय फोन एस एम एस भएन भने मनमनै पिर मान्छे तर मलाई भने सताएर नभए कहिले त मोबाइलनै बन्द गरेर बसेर कायल पार्दछे निचोरेको कागती भन्दा पनि बेहाल हुन्छ मेरो तै पनि ख पारिरन्छे मलाई । मैले कति माया गर्छु भनेर मैले यहाँ कतै पनि उल्लेख गर्दिन किनकी यो मैले भन्दा पनि उस्ले गर्ने मुल्याँकन हो तर बेला बेला तिमि मलाई हेला गर्छौ बुढा भन्छे अनि मैले ख पार्न थाले पछि हैन हैन सरि भन्न पनि पछि पर्दिन फेरि ।
मेरो कथा लेखनमा मेरो ब्लगमा जुन सुकै पात्रमा कथा लेखे पनि उस्को र मेरो प्रेमालापको कुरा कुनै न कुनै रुपमा आइरह्यो । मैले मेरो दृष्टिमा, मेरो पाइलामा, मेरो मष्तिष्कमा त छँदै थियो अब कलममा पनि उसलाई अछुतो राख्न सकिन । सभ्यता त मेरो जिवनको उर्जा हो, मेरो जिवनभरीको गृहकार्य हो जुन बिधाताले मलाई सुम्पिएको छ जुन मैले भगवान साँक्षी राखेर आफ्नो बाचा पूरा गर्ने छु अब्बल तरिकाले गृहकार्य सम्पन्न गर्ने छु । खास गरि ब्यबसायिक लेखक भन्दा पनि मनको भावनाहरुलाई ब्यबस्थापन एवँ लिपीबद्ध गर्नका लागि पनि पछिल्ला दिनहरुमा मैले यो ब्लगमा केहि कथाहरु सँकलन गरेको छु । स साना मुक्तकहरु एवँ छोटा कविताहरु त यदाकदा फेसबुकमा पनि आउँछन तर यसरी ब्लगमा राखेको छैन मैले ।
आज त्यहि भ्यालेण्टाइन दिवस मेरो अगाडि छ, मैले सभ्यतालाई यस बखत मिस गरिरहेको छु । नेपालको क्यालेण्डरका केके जाति जति सुकै बिदा सहितका दिवस भए पनि त्यसमा मेरो कुनै चासो रहेन तर यो अलि फरक महत्वको छ किनकी म सभ्यतालाई औधि माया गर्छु यो भन्दा अर्को बिषय के हुन सक्छ हाम्रा लागि यो त दिवस होइन पर्व नै हो भन्छौँ हामि । कहिलेकाहीँ मैले उसमाथी बिश्वास नभए झैँ गरेर सोधेँ भने ऊसलाई बिझाउँछ म थाहा पाउँछु । मनमा अथाह माया हुँदा हुँदै पनि घाटीमा अड्काएर बोल्दा आफैलाई कहिलेकाही निल्नु न ओकेल्नु भएका घटना हरु पनि हामि सँग छन । खोजी रहन्छौँ हामीहरु एक एर्कालाई न थाहा पाउने गरि । कहिले काहिँ त यस्तो हुन्छ कि उस्ले भन्न मुख उक्काउन खोजेको कुरा म बोलिदिन्छु अनि मैले भन्नु भन्दा पहिला उस्ले प्वाक्क बोलिदिन्छे ।
यो त हामिले एक आपसमा पढेको मन हो । म के चिताउँछु भन्ने पनि सभ्यतालाई थाहा छ अनि ऊ के चिताउँछे, के मा खुशी हुन्छे के मा दुखी हुन्छे भन्ने पनि थाहा छ । ऊ त मेरो अर्धाङ्गिनी मात्र नभएर मेरो अभिभावक पनि हो जहाँ म लरबराएर बाटो बिराएँ भने । कहिले काहिँ म लरबराएको बेलामा उस्ले पनि केटाकेटी पन देखाउँछे र झन समस्या पर्दछ र पनि अन्तमा ठिक भैहाल्छ, शायद उस्लाई लाग्दोहो मैले खेलाँची गरेको होला भन्ने तर त्यसो नभएको थाहा पाएपछि ऊ आफै कूल हुन्थी अनि मलाई सँझाउन थाल्छे आफ्नै आमाले जस्तै । हो ! यहि हो माया भनेर मैले सिकेँ उसबाट !! बर्षौँदेखिको हाम्रो सम्बन्ध यहि मान्यता बिश्वासमा अझ मायाको उर्जामा अझै मजवूत भएको छ ।
कस्तो गहिरो आस्था कति गहिरो माया, अनि मायाको सागर भित्र मायाको कस्तो मिठो प्यास त्यहि प्यास मिठो त्यहि काकाकूल को स्वर मिठो .......
भ्यालेण्टाइन दिवसको अवसरमा तिम्रो सम्झनामा लेखेको शब्दहरु तिम्रो पोल्टामा राखेको छु, तिम्रो मनको किस्तीमा सजाउनका लागि,
उहि तिम्रो भ्यालेण्टाइन
तिम्रो मायालु निशान
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment