ढिकी र जाँतो गर्दैछु बाबु भन्छिन आमा नैनाकली
बिहानै कुँडो पानी गरिरेछु भन्छिन आमा नैनाकली
जिवन त यसै जाने भो घाँस पराल मै लैजाने भो
मन त पोको पारेर फालेँ भन्छिन आमा नैनाकली
बिझेको छ काँडा यो मुटु भित्र कहाँ गइ मेटाउँ म
टुटेको छ मन छिनछिनमा भन्छिन आमा नैनकली
त्यहि एउटा छोरो पनि मारियो देशको लडाईँ मा
उसैको रगतमा खेल्दैछन भन्छिन आमा नैनाकली
सिनो झैँ लुछिरहेछन ब्वाँसाहरु भिन्न खोल ओढेर
शहिदकी आमा धिक्कार छ भन्छिन आमा नैनाकली
एक दिन यिनै आँशुले पक्कै उनिहरुलाई बगाउने छ
कहिँ त होला मेरो भगवान भन्छिन आमा नैनाकली
हातपाखुरा पनि गल्न थाले आँखाहरु पनि बस्न थाले
मर्नेबेला पानी दिने कोहि छैन भन्छिन आमा नैनाकली
अझै पनि सुध्रिएको आफ्नो परानको सपना फक्रिएको
हेरेर सास जान पाए हुन्थ्यो भन्छिन आमा नैनाकली
No comments:
Post a Comment