चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै गरेको समाचार थियो । समाचारमा नासालाई उद्धृत गर्दै त्यस ग्रहको गतिअनुसार सोह्र दिनमा पृथ्वीसम्म आइपुग्ने र ठोक्किने बताइँदै थियो। समाचारले उनको दिमाग नै एकाग्र रुपमा तान्यो । टेबुलको कफी समेत खान बिर्सिएर समाचारमा आँखा लगाइरहे । उनको दिमागले विविध कुरा सोच्न थाल्यो। अर्को ग्रह आएर पृथ्वीमा ठोक्किएर सबै खत्तम हुने विनाश हुन सक्ने कल्पनाले उनी चिन्तित पनि भए।
त्यत्तिकैमा उनले सुप्रियालाई सम्झिए । घडी हेरे, दिउँसोको ११ बजेर सत्र मिनेट गएको रहेछ । सुप्रियाको प्लेन ल्याण्ड भैसके होला भन्ने सोचेर मोवाइल थिचे। अर्को ध्यान भने टिभीमा आइरहेको समाचारतिर थियो ।
सुप्रियाले मोवाइलमा 'तिम्रो फ्लाइट त भोलि आइपुग्ने भनेको आजै आइसकेको हो र?' भनेर सोधिन् । चिन्तामणिले आफ्नो साथीले अलि सञ्चो नभएको बताएर 'मेरो प्लाइट उसले ल्याउने भनेकोले उसको फ्लाइट मैले ल्याएकोले एकछिनअघि म घरमा आइपुगेको हुँ' –भने । 'सिड्नीबाट उड्ने बेला हत्तपत्त भएकोले तिमीलाई पहिले खवर गर्न पाइँन भन्दै 'छिटो घर आऊ' भनेर फोन सहमतिमा दुबैले काटे। सुप्रियाले पनि आफ्नो अर्को फ्लाइटको रोटामा सही धस्क्याएर सीधै घर हुत्तिइन् ।
टिभीले त्यही ग्रहको विषयमा समाचार केन्द्रित गर्दै विभिन्न विद्वान, समाजशास्त्री र खगोलशास्त्रीहरुको अन्तरवार्ता दिन थाल्यो । चिन्तामणि भने ब्रेकफास्ट खान समेत बिर्सेर समाचार हेर्दै गरे । वैज्ञानिकहरु र खगोलशास्त्रीहरुले पृथ्वीको र मानव समाजको आयू १६ दिन मात्र बचेको र त्यो ग्रह पृथ्वीमा ठोक्किएर सबै ध्वस्त हुने तर्क बताउँदै थिए। राजनीतिज्ञहरु पृथ्वीलाई बचाउँने विकल्प अपनाउन विभिन्न प्रयास गर्न मिटिङ हुँदैगरेको र वैज्ञानिकहरुले ग्रहलाई पृथ्वीमा ठोक्किन नदिने वाचा गर्दै जनतालाई धैर्य हुन आग्रह गर्दै सान्त्वना दिँदै थिए। तर उनीहरुका अनुहारले १६ दिन मात्र आयू रहेको थाहा पाएर उनीहरु आफै पनि अत्ताल्लिएको देखाइरहेको थियो ।
त्यत्तिकैमा मोवाइलको घण्टी बज्यो। स्कि्रनमा सुप्रियाको फोटो देखियो र फोन उठाउँदै 'अँ .....भन डार्लिङ' भन्दै चिन्तामणिले कुरा सुरु गरे । उताबाट सुप्रियाले आफूले पनि ब्रेकफास्ट नखाएकोले चिन्ताले पनि खाने भए बाटोमा कतैबाट लिएर आउने बताएपछि बल्ल चिन्ताले आफ्नो भोक अनुभव गर्दै हुन्छ भन्ने सहमतिमा सुप्रियालाई कतैबाट ब्रेकफास्ट लिएर घर आउन आग्रह गरे । उनको मनमा त्यो सन्सनीपूर्ण समाचार सुप्रियालाई बताउँजस्तो लाग्यो । तर सुप्रिया बेकारमा आत्तिन्छिन् भनेर तत्काल नभन्ने विचारले केही भनेनन् । घरमा आएपछि बताउने सोचेर फोन काटे ।
समाचारमा विश्लेषण गर्न स्टुडियो ल्याइएका कतिपय ब्यक्तिले भने पृथ्वी ध्वस्त हुने कुरा वाहियात भएको र अमेरिका र यूरोपतिरको आर्थिक संकटलाई नयाँ मोड दिन यो हल्ला सुनियोजित रहेको तर्क गर्दै थिए । अर्काथरिले कन्स्पिरेसी थ्योरीमा रनभुल्ल पर्ने होइन वैज्ञानिकहरुले अन्तरिक्षमै बम हानेर त्यो ग्रहको मार्ग परिवर्तन गर्नुपर्ने बताउँदै थिए । अर्काथरि विशेषज्ञले वैज्ञानिकहरुले केही उपाय लगाएर आकासमै ध्वस्त पार्न सक्ने वा बाटो अन्तै मोडेर पृथ्वीमा ठोक्किन नदिने उपाय अपनाउन सक्ने स्थिति भएको भए जनताहरु आत्तिने त्यस्तो समाचार नासाले दिने नै थिएन भनेर तर्क प्रस्तुत गरे । पृथ्वी र मानिसको आयू अब १६ दिन मात्र भएको बताउँदैगर्दा ढोका घरक्क गरेको आवाजले चिन्तामणि झस्किए। झस्किँदै ढोकातिर हेर्दा सुप्रिया रहिछन्। चिन्ता झस्किएको देखेर सुप्रिया पनि अचम्म पर्दै 'तिमीलाई के भयो? किन यसरी झस्केको?' भनेर सोधिन्।
'हेर न .... समाचारमा सेन्टिमेन्ट भएको रहेछु, तिमीले ढोका खोल्दा झस्किएँ' उनले भने। 'के त्यस्तो समाचार छ र ? तिमी त्यस्तो सेन्टिमेन्ट भएको?' सुप्रियाले सोधिन्।
'टिभीतिर इसारा गर्दै एउटा प्लानेट पृथ्वीमा ठोक्किन आउँदै छ भनेर नासाले भनेको छ, अब १६ दिनमा ठोकिन्छ रे' चिन्ताले भने । सुप्रियाले प्रतिक्रिया दिइन् 'त्यसो भए सोह्र दिनसम्म खाने पिउने मस्ती गर्ने, प्लेन उडाउन पनि नजाने क्या मस्ती !'
चिन्तालाई सुप्रियाको ठट्यौली कुरा चित्त बुझेन। उनले भने- 'ठट्टा होइन साँच्चै हो, अब १६ दिनमा सबै खत्तम ।'
आठ महिनाअघि मात्र चिन्तामणिसँग विवाह गरेकी पाइलट सुप्रियाले आफ्नो पाइलट श्रीमान साँच्चै चिन्तित भएको देखेर सिरियस भइन्। ब्रेकफास्टको 'टेक–अवे' कफी टेबुलमा राख्दै चिन्ताको काखमा बसेर चिन्तामणिको चिन्ता भगाउन थालिन् । एकछिन दुवै जना लडीबुडी गरे त्यहीँ सोफामा । अलि चिसो भएको चिन्तामणिको कफी देखेर सुप्रियाले चिन्तालाई जिस्काउँदै ब्रेकफास्ट प्लेटमा खन्याएपछि दुबैले खाए। ब्रेकफास्ट खाँदै बीच–बीचमा कीस खाँदै पृथ्वी ध्वस्त हुन लागेको चिन्ता बिर्सने असफल प्रयासमा दुवैजना लागे । टिभीमा समाचार आइरह्यो । सबै विषय त्यही ग्रहको वरिपरि नै घेरिएको थियो । १६ दिनमा सबै खत्तम हुन्छ भनेर चिन्तित भएर झोक्रिएका थिए कतिपय मान्छेहरु । त्यही झोक्रिएका मान्छेलाई पनि टिभीले देखाइरहेको थियो । कतिपय भने अब १६ दिन त छ नि भन्दै रमाइलो गर्न पार्टी गर्ने, नाच्ने गर्दैगरेको दृष्य टिभीमा देखाइँदै थियो ।
बीचबीचमा पत्रकारहरुले आम नागरिक बाटोमा हिँड्दै गरेका बटुवाहरु, ट्राफिक जाममा रोकिएका ड्राइभरहरुसँग १६ दिनमा पृथ्वी ध्वस्त हुने समाचारका विषयमा प्रतिक्रिया लिँदै थिए ।
यत्तिकैमा ल्याण्डलाइन फोनको घन्टी बज्यो। चिन्तामणिले फोन उठाउँदा कामबाट रोटा मिलाउने म्यानेजरको फोन रहेछ। म्यानेजरले अचानक प्लेनको सबै टिकट बुक भएकोले भोलिपल्टको एक्स्ट्रा फ्लाइट चिन्तामणिले उडाउन आग्रह गर्दै रोटा मिलाउन अनुमति माग्यो । तर चिन्तामणिले उसको आग्रह ठाडै अस्वीकार गरिदिए। उसलाई उत्तर दिँदा उनले झर्केर उत्तर दिएको पनि उनलाई होस भएन। 'संसार ध्वस्त हुन लाग्यो भनेर अरुलाई घर फर्कन हतार भएको छ त मलाई पनि बाँकी दिन मेरी प्यारी श्रीमतीसँग बस्ने मन छ, प्लेन उडाउने त्यो पनि एक्स्ट्रा–फ्लाइट उडाउन..., दोहोर्याएर फोन नगर्नु' भन्दै उनले फोन काटिदिए।
सुप्रियालाई पनि त्यो समाचारले अत्याएको त थियो तर चिन्तामणिलाई कसरी सम्हाल्ने भन्नेमा उनको मन केन्द्रित भयो। उनले अनेक ठट्टा गर्दै उनलाई भुलाउने प्रयास गरिन् । आखिर सोह्र दिन त बाँकी छ नि भन्दै समुन्द्र किनारामा घुम्न जान चिन्तालाई मनाएपछि दुबै जना निस्किए । पहिला त फ्लाइट उडाएर आजै आएको भन्दै टालटुल पार्न प्रयास गरे चिन्ताले । तर सुप्रियाले धेरै कर गरेपछि आफूलाई पनि मन भुलाउन बाहिर निस्के ठीक होला भन्दै बाहिर निस्कन तयार भए । ग्यारेजबाट सेतो विएमडब्लु–कार निकालेर सुप्रियाले नै ड्राइभ गर्न थालिन् । समुन्द्र किनारको एउटा रेष्टुरेन्टमा पसेर दुबैले ड्रिङ्क्स खान थाले । जताततै चर्चा त्यही बाँकी सोह्र दिनको थियो । रेष्टुरेन्टमा काम गर्ने सेफ र वेटर लगायतका मान्छेहरु पैसा अब किन कमाउनु पर्यो भन्दै मस्तीमा डुब्न थालेकोले मालिक आफै भ्याईनभ्याई ब्यापारमा मस्त भएर ग्राहकको सेवा गर्दै थिए । चिन्ता र सुप्रियाका छेवैका टेबुलमा बसेका जोडीले यी मालिकहरुलाई १६ दिन बाँकी हुँदा पनि पैसा थुपार्न हतार छ भन्दै ब्यङग्य गर्दै थिए। अर्काथरिले चाहिँ १६ दिनमा पैसा कमाएर बैंकको ऋण तिर्न रेष्टुरेन्ट मालिक कस्सिएको भन्दै खिसी गर्दै थिए । तर रेष्टुरेन्ट खचाखच भरिएको थियो । काम गर्ने वेटरको कमीले गर्दा पनि ग्राहकहरु आफ्नो पालो पर्खेर बसिरहेका छन् ।
अर्को दिन बिहान पनि समाचार १५ दिन बाँकी भन्दै त्यही विषयमा केन्द्रित थियो । संसार ध्वस्त हुन्छ भनेर सबैजना या त मस्ती गर्नमा या त चिन्तित भएर आ–आफ्ना काममा ध्यान नदिएकोले शहरको फोहोर पनि उठेन । जतततै फोहर थुप्रिन थाल्यो । रेष्टुरेन्टहरु लथालिङ्ग हुन थाले । दुकानहरु बन्द रहेकाले उपभोक्ताहरुलाई अप्ठेरो हुन थालेकोमा काममा फर्कन नागरिकहरुलाई सरकारले आग्रह गर्दै सूचना टिभीमा दिन थाले । पत्रिकाहरुका सबै समाचार र लेखहरु बाँकी १५ दिनमै केन्द्रित थिए ।
क्रमशः १४–१३–१२–११ हुँदै दिनहरु कम हुँदै गए। आ–आफ्ना घर फर्कन चाहनेहरुले गर्दा एयरपोर्टहरु खचाखच भए । पेट्रोल पम्पहरुमा पेट्रोल सकिँदै गयो । सप्लाई रोकिँदै गयो । त्यो ग्रह पृथ्वीमा ठोकिनुभन्दा पहिला नै शहरहरु लथालिङ्ग हुन थाले । दुकानका कामदारहरु नआएपछि भोका ग्राहकहरुले दुकान फोरेरै आ–आफूलाई आवश्यक सामान लिएर जान थाले । कसैले सामानमा लेखेको मुल्य टिलमा छाडेर जान्थे, कसैले पैसा नै नतिरी त्यसै सामान बोकेर जान थाले ।
दुकानहरुका ढोकाका साइरनहरु बजिरहँदा कसैलाई केही मतलव थिएन । कसैले सामान लगेपछि दुकानका ढोका त्यसै छोडिदिन थाले । कसैले भने लगाएर छाड्थे ।
अब चार दिन बाँकी छ भन्ने हुँदा ब्यांकका क्यास मेसीनहरु पनि रित्ता भैसकेका थिए । पाउरोटी र खाने सामानहरुको हाहाकार मच्चिन थाल्यो । खाना पकाउन जान्नेहरुले त पकाउने खाने गरे । तर धनाढ्यहरुका र ऐयासी र सेलीब्रीटीहरुका नोकरहरु आ–आफ्नै मस्तीमा हिँडेकोले उनीहरुलाई निकै समस्या पर्न थाल्यो । न पकाउने ढंग छ न त विन र फोहोर कहाँ फाल्नु उनलाई थाहा छ । न त कतै रेष्टुरेन्ट गएर खाने अवस्था छ।
हुँदा हुँदा टिभीमा काम गर्ने मान्छेहरुको पनि कमी हुँदै गयो । यता चिन्ता र सुप्रिया दुबैजना पाइलट भएकाले उनीहरुले आफ्नो छुट्टै योजना बनाए । नासाले ग्रह ठोक्किने भनेर तोकेको समयभन्दा साढे दुई घण्टा अगाडि एयरपोर्ट गएर ठूलो जेट प्लेनमा पुरै तेल भरे। सेक्युरिटीको त कुनै चिन्ता हुने कुरै भएन । घर जान नपाएर एयरपोर्टमा आएर रक्सी खाएर मस्त भएका मान्छेहरु फाट्टफुट्ट थिए त्यहाँ ।
तेलले ट्याङ्की भरिएको प्लेनको पाइलट सिटमा चिन्ता र सुप्रिया चढेर प्लेन उडाए । ग्रह पृथ्वीमा ठोक्किने भनेको ठीक समयमा उनीहरुको प्लेन पृथ्वीबाट ३६ हजार फिट माथिको आकासमा उड्न थाल्यो । हेर्दा हेर्दै आकासमा चन्द्रमा जत्रो डल्लो उछिट्टिएको देखे दुबै जनाले । चिन्तामणिले पृथ्वीमा ग्रह ठोक्किएर चोइटा उडेको होला भन्न नपाउँदै ठूलो आवाजको तरङ्ग प्लेनको एउटा स्कृनमा देखियो । प्लेनमा जोडिएका पृथ्वीको सम्पर्कका सबै यन्त्रहरु चल्न छाडे । अब केवल ती दुई जना मात्र आपसमा कुरा गर्न सक्छन् । बाँकी दुनियाँ के भयो उनीहरुलाई पनि थाहा थिएन । त्यत्तिकैमा पानी आएर प्लेनमा ठोक्कियो । सुप्रियाले समुन्द्रको पानी उछिट्टिएर आएर आफ्नो प्लेनमा ठोकिएको तर्क गरिन् । चिन्तामणिले पनि त्यो तर्कमा सहमति जनाए । एकैछिनपछि पानी पृथ्वीतिरै तल झर्दै गयो। पानी आएर प्लेनमा ठोकिनुभन्दा एकै छिन पहिले बुङ्गबुङ्गती उडेको प्लेनदेखि तलको धुलो पनि पानीले भिजाएर तल लग्यो। उनीहरुले प्लेन लगातार उडाइरहे । दश घण्टापछि दुबै जनाले अब के गर्ने विस्तारै प्लेनको तेल पनि सकिन्छ । पृथ्वीमा त कोही पनि जिउँदा छैनन् होला । ल्याण्ड गर्न एयरपोर्ट पनि छैन होला । अन्तरिक्षमा गएका केही मान्छे मात्र बाँकी होलान् तर उनीहरु पनि त पृथ्वीमा ओर्लने उपाय छैन होला भन्ने तर्क वितर्क गर्न थाले । त्यो अवस्थामा पनि उनीहरुलाई भने त्यही प्लेनमा पनि किस खाने र जिस्कने गर्नुपर्ने कस्तो अचम्मको मान्छेको स्वभाव ।
समय आकासमा वित्दै गयो । प्लेनको मिटरले ट्याङ्कीमा भएको तेलले चार घण्टा मात्र उडान गर्न सकिने बताएपछि उनीहरुले प्लेनलाई विस्तारै पृथ्वीतिर ओराल्दै स्थिति बुझ्न थाले ।
पृथ्वीभन्दा पन्ध्र सय फिट जति माथि उड्दै गरेको प्लेनबाट उनीहरुले धेरैजसो ठाउँमा पानी र कतै कतै आगो बलेको देख्न थाले। आगो बलेका ठाउँहरु पहिलेका शहर हुन सक्ने अनुमान गरे । प्लेन उडाउँदै उनीहरुले अब पानी नभएको र आगो पनि नबलेको ठाउँमा प्यारासुटबाट हाम फाल्ने सल्लाह गरे । दुबै जनाले पहिला नै प्यारासुटबाट झर्न सामान्य तालिम लिएका थिए ।
प्यारासुटबाट हाम फालेपछि फरक फरक ठाउँमा पुगिन्छ होला अनि कसरी भेट गर्ने ? न मोवाइलले काम गर्छ भन्दै सुप्रियाले चिन्ता व्यक्त गरिन् । चिन्तामणिले 'धेरै टाढा भइँदैन त्यसैले जहाँ पुगिन्छ त्यहाँ तिमीले राखेको लाइटरले आगो सल्काउनु । म त्यही आगो हेरेर तिमीसँग आउँछु' भने । त्यत्तिकैमा प्लेनबाट एउटा ठूलो नदी बगेको देखियो । कुन देश, कुन शहर भन्ने कतै कुनै नाम निसान थिएन । सबै ध्वस्त भएको थियो । अन्तमा प्लेनमा तेल सकिनै लागेपछि दुबैले प्लेन त्यही नदीमा ल्याण्ड गराए । ल्याण्ड गराउनुभन्दा पहिला नै दुबैले प्लेनबाट झरेर लेफ्ट (बायाँ)तिरको भूमिमा पौडेर निस्कने सल्लाह गरे । ल्याण्ड गर्नुभन्दा पहिले पानीमा हाम फाल्ने पहिरन तथा सामान पहिरिएर आपतकालीन ल्याण्ड गरेकोले उनीहरू योजनाअनुसार जमिनमा पुगे ।
तर न त कतै हरियाली देखिन्थ्यो न कतै सडक थिए । न त कतै घर थिए । अन्योलमा दुबै जना थचक्क भुइामा बसेर सन्तान जन्माउने र पृथ्वीमा मानव बस्ती विकास गर्ने योजना बनाउन थाले । तर चिन्ता थियो त– आफ्ना सन्तानलाई आफूले देखे भोगेको विज्ञान उन्नति र आधुनिक समाज बारेको ज्ञान कसरी हस्तान्तरण गर्ने ? कसरी सिकाउने?
खोलाका माछा मार्ने, खाने नै उनीहरुको दैनिकी बन्यो । उनीहरुले अव पृथ्वीमा मानव समाजको फेरिबाट विकास गर्नु पर्ने थियो । त्यो सवै कुरा चिन्तामणि र सुप्रियाको जिम्मामा पर्यो ।
आँखाले भ्याउने क्षितिज भन्दा पनि पर एउटा दुबोले भरिएको चौर छ, यदि पुग्न सक्यौ भने म त्यहाँ हुने छु ।
Monday, 5 November 2012
Monday, 17 September 2012
मन चरी
आहा आज त कति मजा भको मलाई, मनलागे जहाँ पनि उडेर जान मिल्ने !!
हामिले चङ्गा उडाउने चौरको तल भिरपट्टि हेर्न पनि डरलाग्ने भिरको डिलबाट चराको तालमा मन लागेको ठाउँमा उड्न पाएको पाएकै थिएँ । मेरा पँखेटा पनि कति मुलायम अनि कति ठूला । यता बाट तुइइइँय उता अनि रुखको टुप्पामा बस्यो केहि खाने कुरा पायो भने लङ्गुरले झैँ कपाकप पार्यो अनि फेरि तुइइईँय अर्को रुखमा अनि घरी देउराली ढुङ्गा घरी उधिनढुङ्गा केके हो केके ।
हा हा हा !!! ऊ ऊ ऊ पल्लाघरे भाउजु टट्टि गर्न बसेकी, छि ! छि !! लाज पनि नभएकी नकच्चरी हि ! हि !! हि !!!, आज सँसार देख्न पाइने भयो बाबा भन्दा भन्दै अर्को बाज आएर मेरो पँखेटामा आक्रमण गर्न लागेपछि लाग्यो आकाशमा पनि लडाईँ हुँदो रहेछ, तैपनि उसलाई किन आक्रमण गरेको भनेर सोध्न मन लाग्यो तर उ त मलाई दादा गिरी देखाए जस्तो गरि फेरि आकाशमै कता बिलायो । अनि म पनि मेरै धरातलमा ओर्ले मेरो खोल पनि फेरियो अनि म पनि पहिलाको जस्तै भएँ ।
खै कता म कञ्चन तलाऊको किनारमा पुगेँ अनि किनारको चौतारीमा बास बसेँ ठुस्स । अगाडि भर्खर मैले उडेको आकाश त अहिले निकै माथि पुगिसकेको थियो । मैले चौपारीको खड्केरीमा बसेर के सुसाउन थालेको थिएँ, त्यति खेरै मेरा आँखा पनि बन्द भए म आधा चेतना गुमाएँ अनि सुस्ताएछु, मलाई कसैले सुम्सुम्याए जस्तो लाग्यो, कसैले मायाले चुम्बन गरे जस्तो लाग्यो, तातो हावाले मेरो अनुहारमा न्यानो बनायो । शायद महको चाकामा डुबेको मौरी झैँ भयो ।
लामो केश भएकी सभ्यताले मेरो चेहरामा पर्दा लगाएको देखेँ । कति घोलिएकी महले त मोरिले मलाई पनि डुबाकी रैछ भन्ने लाग्यो मनमनै केहि बोल्न सकिन हेरि मात्र रहेँ उस्को आँखामा अनि उस्को समग्र हुलियाको परिचय लिन थालेँ । ओइ कालु मैले तिमिलाई खोज्दै आएँ कि तिमिले मलाई खोज्दै आयौ मैले त पत्तै पाइन बाबा भने मैले मुख उक्काएँ तै पनि ऊ बोलिन हेरिरही मात्र । अनि धेरै बेर म पनि बोलिन ऊ पनि बोलिन, हेरेरै बस्यौँ दुबै जना । ऊ मह बनाइरहेकी थिई म त्यसमा डुब्दै थिएँ घाँटिसम्म आइसकेको अब त चिच्याउन मात्र बाँकि थियो ।
निशान मेरो काले, हजुरको मायाले मेरो जिवनमा एउटा नयाँ र अजम्बरी उर्जा थपिएको छ । लाग्छ यो शक्तिले म जस्तो बोझ पनि उठाउन सक्छु । मैले नचिनेको त समयलाई हो तर हजुरलाई त मैले जन्मदेखिनै चिनेको हो भन्ने लाग्छ । हाम्रो परिचय भर्खर भएको हो भन्ने कुरामा म बिश्वास गर्नै सक्दिन । अब त म हजुरलाई छोड्द्रै छोड्दिन जाँ गए पनि पछि पछि जान्छु बरु भोक भोकै बस भने पनि मान्छु भन्दै लाडिन थाली । मलाई झन के भो र आफू झन त्यस्तै होस भन्ने मान्छे मुसुमुसु हाँसिरहेँ ।
हामि बसेको भूगोल पनि आँखा चिम्लेर खोल्दा एक निमेशमै फेरिएछ, हामि त समुन्द्री तटीय क्षेत्रमा थियौँ । पहिरन पनि सुहाउँदो थियो तर त्यहाँ हामिदुई भन्दा बाहेक कोहि पनि थिएन लाग्थ्यो यो पृथ्वी नै होइन अरुकुनै ग्रह हो जस्तै लाग्दथ्यो तै पनि हामिलाई बाल मतलब थिएन । लामो समयको बालुवा अनि पानीको छ्यापाछयाप पनि हामि किनारमा चहुरमा सुस्तायौँ । माया साट्ने माया बाँड्ने तरिका सिक्दा सिक्दै समय बितेको पत्तै भएन । दिन पनि ढल्केछ अनि चिसो हुन थाले पछिमात्र थाहा भयो अनि फेरि त्यहाँ बाट हिँड्यौँ । साँझ परिसकेको थियो, तैपनि कहाँ जाने पत्तो नभई नभई हिँडिरहेका थियौँ । रात त निकै छिप्पीयो तैपनि हामि हिँडिरहेकै थियौँ, हाम्रो भेट छायाँ सँग भेट भयो, सभ्यता डराएर चिच्याएर म सँग टासिएर अँगालो मारी । मैले पनि ओइ कालु के भयो बाबा, के भयो तिमिलाई भन्दा त आफ्नै बेडमा सिरानीलाई चिरिप्प पारेर समातेको थिएँ ।
उसससससस् कस्तो सपना देखेको होला, यो काली किन चिच्याउन परेको होला, एक छिन नडराइकन चुप लागेर हिँडेको भए पनि त हुन्थ्यो नि, कमसे कम सपना मै भए पनि भेट त भाथ्यो । एक ग्लास पानी खाएँ अनि पीश गर्न शौचालय गएँ अनि फर्केर आएर घडी हेरेँ २ बजेको रहेछ फेरि सपना देख्न कामना गरेँ । तर के निद्रा लाग्थ्यो र झन झस्केको झस्केई पो भयो । अनि सभ्यतालाई फोन गरेँ, जति गरे पनि उस्ले फोन पनि उठाइन, फेरि म्यासेज पठाएर फेरि सुतेँ ।
जति गरे पनि निद्रा लागेन, यस भन्दा एक हप्ता अगाडि सभ्यताले मलाई आफ्नो सपनाका बारेका मलाई बताएकी थिइन । मेरो आमा सहितको मान्छेहरुको उपस्थितिमा कुनै मन्दिरमा हाम्रो बिबाह भएको बारेमा अनि त्यसैले म डिस्टर्ब छु भन्दा मैले ठिकै त भएछ नि एक दिन त हुने नै हो नि भनेर उसलाई सम्झाएको थिएँ । उस्को सपना धरातलमा आधारित थियो तर मेरो सपना त कस्तो कस्तो म त कहिले त्यस्तो सपना खास देख्दिन, तर जिवनका खास अबस्थाहरुमा मलाई तिनै सपनाहरुले मार्ग निर्देश पनि गरेका हुन बिगतमा ।
जे भए पनि सभ्यता मलाई तिम्रो नजरमा अनि मनमा डुब्न देऊ । सपना नै सहि बिपनामा पुग्ने भर्याङ्ग पनि त हो यो ।
Tuesday, 14 August 2012
रुझेको प्यासी मन
हिजो राती बाटै बाहिर पानी परिरहेको थियो । झ्याल बाट आएको सिरसिरेले मैले ओढेको पछ्यौरी उडाइरहेको थियो । घरी हावाले घरी पानीले अनि घरी मनका ज्वारभाटाहरुले मलाइ चिसो पारिरहेका थिए । यसै त मेरो मन चिसो छँदै थियो त्यसमा झरि, हावा अनि तिम्रो यादले म कठ्याङ्ग्रिइरहेकी थिएँ । तिम्रो न्यानो अँगालोको सपना बुनेर कौशीमा सुनसान रातमा अग्रात खोजिरहेकी थिएँ ।
मैले उसलाई धेरै समयको प्रतिक्षा ब्यग्रता पछि दोबाटोमा भेटेकी थिएँ । कहिले नभेटेको मान्छे नदेखेको मान्छे मात्र मनले देखेको मान्छे देख्दा सामान्य नर्भस भए पनि उ सँग म पहिले देखिनै भेटिराखेको र देखिराखेको जस्तै भयो कुनै नयाँ भएन मलाई । उस्को काख जन्मै देखि मेरो, उस्को निराकार मायामा म पनि उस्तै गरि घुलिएकी थिएँ । त्यसबेला मैले त आफैलाई पनि भुलेँ, मेरो उद्गम पनि भुलेँ । हामिले सँगै नास्ता गर्यौँ मन त शेयर गरेकै थियौँ एउटै खाजा पनि शेयर भयो एकै ठाउँमा तै पनि कुनै अनौठो लागेन बरु अझै केहि पुगेन झैँ लाग्यो ।
त्यसपछि हाम्रो यात्रा बाइकमा भयो, उ अगाडि बस्यो म पछाडि बसेँ, बाइकको यात्रा पनि जिवन यात्रा जस्तै थियो, तल ठूलो नदी अरठ्ठपरेर घरी सुलुलुलु घरी ढलीमली गर्दै थियो । लैनो भैसीको ब्याउँते दुध जस्तै पानी पनि अल्छि मान्दै ठेलिँदै थियो झन त्यसमा मेरो राजा सँग भेट भएको बेला मेरो मन लैनो भएर त्यसभन्दा पनि बाक्लो भएको थियो जुन आफैलाई पनि मत्मत्याउने भइसकेको थियो । आफैलाई म के गरुँ के गरुँ जस्तो भएको थियो । बाटैमा यात्रैमा हिँड्दा हिड्दै उसलाई समातेर चिमोटुँ जस्तो भएको थियो तर म आफैलाइ सम्हालिरहेकी थिएँ । बिभिन्न बहाना मा शारिरीक रुपमा पनि निशान सँग पौँठेजोरी खेल्दै थिएँ म, बाटोका जोल्टिङ्गहरु, खाल्डाखुल्डीहरु पनि कहिलेकाहिँ त काम लाग्दारहेछन झैँ लाग्यो, उफाथ्र्यो घरी घरी । उसको चलाउने स्पीड पनि अलि गरम नै थियो अनि घरी नरम पनि थियो, बाटोमा मेरो हाल सोधिरहन्थ्यो मेरो चाल सोधिरहन्थ्यो र बाटोका ऐतिहासिक स्थलहरु पनि दर्शन गराउँदै थियो जुन म पहिलो पटक भएपनि साक्ष्यात्कार गर्न पाएकी थिएँ ।
हाम्रो पाल्पा बजार पनि कम्ता राम्रो थिएन, काठमाण्डौ बिभिन्न टोलका नाउँमा यहाँका टोलका नाम राखिएका थिए अनि सँस्कृति पनि केहि मिल्दो जुल्दो थियो । पाल्पाको सिरानमा श्रीनगर उस्तै राम्रो अनि अलि टाढा रानी महल पनि यहि जिल्लामा कालीगण्डकीको किनारमा छ भन्ने सुनेकी हुँ तर जान पाएकी छैन । आफ्नी मनकी रानीको सँझनामा सुनसान ठाउँमा महल बनाएर सँझनालाई राणाकालीन शासकले इतिहास बनाए, म पनि एक छिन रानी भइ हेरेँ अनि निशानलाई सँझेँ, उस्ले पनि मलाई यस्तै माया गर्छ कालीगण्डकीको किनारमा न सही मनको किनारमा त रानीमहल बनाएकै छ, त्यो रानीमहलमा त के नै छ र भन्ने सँझेँ अनि एकपटक उसलाई हिँड्दा हिँड्दै मज्जाले च्यापेँ, उसले के भयोे बाबा डरलाग्यो भनेर सोध्यो स्पीड कम गरुँ भन्दै थियो मैले तिमिले सके जति गर भनेँ, म मा घरी घरी उर्लिएर आउँथ्यो खहरे अनि सम्हालिएर टार्थेँ ।
हामी भेट हुन भन्दा पहिले नै एक आपसमा समय मागिरहेका थियौँ तर बोल्न नसकेका प्वाक्क परेका थियौँ जुन गुनासोले बिस्तारै नजिक ल्यायो र एक दिन दुबैले दुबैसँग माग्यौँ भन्ने लाग्यो । म पाल्पा बाट काठमाण्डौँ हिँडेकी मान्छे र उ पनि पोखरा बाट हेटौँडा हिडेको मान्छे हामि मुग्लिङ्गमा भेट भयौँ र दिन शेयर गर्न मेरो फर्माइशमा सौराहा जाने कुरा भयो अनि हामि उता तिर हुईँकिएका थियौँ । उ पनि धेरै समय सौराहा नगएको रहेछ त्यसैले बाटो सोधेर हामि सौराहा तिर लाग्यौँ र बाटोमा सामान्य हुँदा हुँदै गन्तब्यमा पुगियो, बिसौनीमा बसियो र बल्ल आफ्नो परिवार जस्तो आफू सम्पन्न भए जस्तो लाग्यो ।
समयले यस पटक हामिलाई जिन्दगीको पयो बटार्न पहिलो पटक साइत जुराईदिएको थियो । हामि पनि अझै झ्याम्मिन खोज्दै थियौँ मनका तख्ताहरुमा दुखका कथाहरु एक्लो हुँदाका पीडाहरु सावीक जिन्दगीका आरोह अबरोहहरु शूलहरु अनि तुषहरु पनि निचोर्दै थियौँ । भेटहुँदा हामिहरुलाई बिसाउने चौपारी भेटेजस्तो जिवनका आफ्ना परिस्थिति र परिवेश भुलेर आफैमा हराइरहेका थियौँ । मायाका सर्जामहरु जोरजाम गर्नमै हाम्रो समय खर्च भइरहेको थियो तैपनि उत्ताउलो माया मौसमी माया हामिमा थिएन । हाम्रो त इँगेजमेण्टमात्र भएको थियो त्यहि पनि फेसबुकमा भेट त बल्ल पहिलो पटक भएको थियो र पनि बर्षौ पहिले बिबाह भैसकेको पुरानो जोडी धेरै बर्ष पछि भेट भए झैँ कस्को मनमा को पसेर हुँडल्ने भन्ने ध्याउन्नमै थियौँ ।
मैले निशानलाई निशान भन्दा पनि मेरो काले भनेर बोलाउँथेँ अनि ऊ पनि काली बज्यै भनेर चिमोट्थ्यो शायद काले भन्दा उसलाई कस्तो कस्तो लागेर होला । घरी उस्को चुम्बनले घरी उसको आलिङ्गनले मलाई तरङ्गीत पारीरहन्थ्यो, मलाई उस्को काखमा अहिले त रमाइलो गर्न भन्दा पनि रोएरै पुगेको थिएन । जिबनका कुइनेटाहरुमा मैले भोगेका अमिला समयहरु, नीम जस्तै तीता लाग्ने ति अरिमुठे यादहरु म झन आल्हादित हुन्थेँ र उस्को काखमा झम्टिएर रुन्थेँ घरी घरी । त्यो रुवाई मलाई पीलो निचोरे जस्तै हल्का हुन्थ्यो जस्ले फेरि अलिकति मनमा खुशी भएर हल्का हुन्थेँ अनि हावामा तैरिए जस्तै उसँग तैरिन्थेँ म अनि राप्ती खोलामा गोहीले बयेली खेले जस्तै हामी मायामा बयेली खेल्थ्यौँ ।
साँझ पख राप्ती खोलाको किनारमा हामिहरु डुल्न हिड्यौँ, अप्ठ्यारो ठाउँमा घरी मैले घरी उस्ले मलाई हात दिन्थ्यो अनि हातमा हात मिलाएर हामिहरु प्रकृतिको बिबिधताको पनि फूर्की लगाउँदै हिँड्दै उता परको ढिस्कोमा आराम कुर्चीमा बसेर कालो चिया पनि खायौँ । बिधिवत रुपमा रेष्टुरेण्टको कुर्चीमा बस्दा उस्को हस्पिटालिटी हुनु स्वभाविक नै थियो । बोलेर कहिले नसकिने हाम्रा कथाहरु सकिएकै थिएनन । फोनमा बोलेको फेसबुकमा च्याट गरेको अनि कमेण्टमा दोहोरी खेल्नु त के हो र यो सामिप्यता त स्वर्ग जस्तै भयो हामिलाई मनको धोको पु¥याउनलाई, अनि थाहा भयो त्यो बिजुली माया भन्नाले फेसबुक माया र यो साक्षात मायामा कति भिन्नता रहेछ भनेर तर माध्यम त त्यहि थियो फेरी ।
सँघर्ष गर्दा गर्दै म यहाँ सम्म आइपुगेँ र अगाडि पनि त्यति सजिलो छैन तैपनि म निशान लाई साथ दिए र दिइरहन्छु पनि अब त जिवनको यो दैनिक होमवर्क जस्तै भयो समयले जुराइदिएको बिभिन्न अबस्थामा समय भन्दा हामी अगाडि थिएनौ अनि त्यहि समयका हामि दास थियौँ । सौराहा बजारमा रातभर राती नौ साढे नौ बजेसम्म डुल्यौँ अनि होटलमा आएर बिसायौँ आफ्नै बिस्तरामा अझ भनौ हाम्रा बिस्तराहरु मनहरु थिए मनको सिरानी राखेर मायाको सुकुलमा नै सुतिरहेका थियौँ । भन्थे केटा केटि भेटहुनु भनेको पहिलो शर्त केहि फरक हुन्थ्यो हामिमा त्यो बिषयले भन्दा पनि धेरै समयमा लामो पर्खाइमा भेटिएका प्रेमीहरु अझै माया साटेरै पुगिरहेको थिएन । चुम्बनमा हराउनु आलिङ्गनमा बिलाउनु फेरि भेटिनु त सामान्य भयो निशान सँगको बसाई मेरो लागी, उ एकदम असल मानिस हो असल जिवनसाथी हो कति समर्पीत छ कति निष्ठावान छ भनेर म शब्दमा ब्याख्या नै गर्न सक्दिनथेँ म ।
निशान पनि एक्लो छ, उसलाई उस्को नियतिले जहिले पनि सताइरहन्छ बिभिन्न नाउँमा, तै पनि उ समय सँग हार मान्ने मानिस होइन परिस्थिति सँग जुध्ने शक्ति उसँग मौजुद छ र त लडिरहेछ, लड्ने हिम्मत राख्छ मेरो बैशाखी टेक्न चाहन्छ, ऊ जे पनि गर्न समर्थ छ उसलाई हरपलमा मेरो साथ सदा सर्वदा रहन्छ, सँगै बस्नु रमाउनु मात्र जिन्दगी होइन यो बसाई ले धेरै समयको लागि पुग्छ यहि यादहरु साँचेर धेरै समय फेरी बाच्नु पर्छ त्यसमा मलाई कुनै बिस्माद छैन उस्को माया नै मेरो लागी हजार हो उस्को जिन्दगी मेरो लागी अमूल्य छ मेरो सास पनि त्यसैमा अड्किएको उस्को सास सँगै ।
यसरी हेर्दा यो कथा सभ्यताले लेखे जस्तो भए पनि मैले सभ्यताको धेरै पटकको गुनासो र अनि बार्तालापको आधारमा मैले कथात्मक रुपमा प्रस्तुत गरेको हुँ । बास्तवमा यस्तो भइदिए हुन्थ्यो भन्ने गुनासोका आधारमा तयार पारिएको हो । मैले र सभ्यताले आफूहरु बिचमा घुलाएका अनि घुल्न बाँकी कथाहरुको सँयोजन होला । अवसर अनि त्यस्तै परिवेशको खोजी होला भनेर बुझिदिनुहोला अझै मेरी सभ्यता काली डल्लीको तर्फबाट एउटा केटी भएर कथा लेख्दा केहि नपुग्नु स्वभाविक हो त्यसलाई यहि रुपले बुझिदिनु होला । यो हामी दुबैको मनको कथा हो अझै कथा भन्दा पनि मनोबाद हो अनि लेखन शैली मा नयाँ प्रयोग हो मेरो ।
Sunday, 5 August 2012
आँखाले रुनेहरु र मनले रुनेहरु
कपाल खौरेर कोहिले टाउकोमा रुमाल बाँधेका, कोहि ढाका टोपी हातमा पट्याएर खुइय गर्दै हिँडेका, हतारिइरहेको दृश्य मैले देखि रहेको थिएँ । म निदाएकै थिइन सबै कुरा मैले थाहा पाइरहेको थिएँ । मेरा हात खुट्टाहरु फेन्सी पसलेले कपडा पट्याए झैँ पट्याएर कसेर बाँधिएको थियो । हरियो बाँसमाथी टाउको अड्काएर बाँध्दा पनि मलाई आराम भइरहेकै थियो । हिजो सम्म पलङ्गमा अनि त्यसमाथि डसना अनि आरामदायी तकियामा बिसाउने ज्यान आज झन हिजो भन्दा सजिलो अनुभव भइरहेको थियो । मैले कहिल्यै नदेखेका अनुहार पनि मलिनो अनुहार बनाएर लुरुलुरु हिँडेको पनि देखेँ । राम राम सत्य हो भन्दै भट्याउँदै माइला दाई बाटोमा धानका फूल छर्दै थिए । अस्ति ओढेको मुलायम कम्बल (ब्लाँकेट) भन्दा आज यो कात्रोले कति न्यानो बनाएको मलाई, सोँचेँ म नमर्दै यो कात्रो ओढ्न पाएको भए कति न्यानो हुन्थ्यो होला, अभावमा जहिले पनि म सिरक भित्र कहिल्यै पनि तातिन कठ्याँग्रीइ रहेँ ।
एक हप्ता अगाडि म लमतन्न भएर सुतिरहँदा, कोल्टो फर्किन नमिल्दा श्रीमती उस्का सैँसाथेहरु सँग बजार गर्न गई, म कति असमटिएँ तिर्खा लाग्यो र पनि पानी खान पाइन, मलाई आफ्नै ज्यान भारी भयो, सोचेँ म नै यो पृथ्वीको भार रहेछु , यसरी त कोहि पनि नबाँचोस, आज उसैले मरे पछि मेरो सास गएपछि नरोएरै रुँदै मेरो मुत्युउप्रान्त मुखमा पानी हालिदिई र बल्ल अस्तिको तिर्खा मेटेँ मैले अनि ढिलै भए पनि धन्यवाद दिएँ श्रीमतीलाई पहिलो पटक उसले मेरो लागी भनेर एउटा काम गरिदिई । मैले भन्दै नभनेका कुराहरु निकालेर फूर्का हालेको अनि मेरो गुणगान गाएको मलाई कत्ति पनि पचेन तर थाहा पाएर पनि म केहि प्रतिक्रिया दिन सक्ने अबस्थामा थिइन । घरी घरी त मन छुन खोज्थी तर उस्कै अर्को नपच्ने कुराले मलाई पहिलेको कुरा बिर्सन बाध्य तुल्याउँथ्यो ।
अर्कोले भिडमा थप्यो, हेर नखरा पारेकी यस्को त सप्पै मलाई थाहा छ, यो गोपाललाई यसैको कारणले यस्तो भएको हो, चिन्तै चिन्ताले रक्सीमा डुबेर मर्यो बिचरा भन्दै थियो अनि हो त नि भनेर सार लगाउने पनि हुलै भए । दुइचार जना आइमाइको हूलमा फेरि अर्को आवाज आयो, हेर बैँशैमा बिधुवा भई अब कसरी गरी खान्छे, जँड्याहा पोई परेसी यस्तै हो, धन्नै घर चलाएकी रैचे बिचरा पनि भने, अनि त्यसै माथि धन्दा नमान साइँली, हामि छम नी, कोहि नी नभएनी इश्वर भगवान त छन नि पाप धर्म उनैले हेर्छन पनि भन्न थाले ।
यस्तैमा गौँडामा चिप्लीएर मेरो लाश खोलामा झर्ने भिरबाट दुई बल्ड्याङ्ग तल खस्यो अनि हिलो धूलो भयो सब भन्दा पहिला हाँस्ने श्रीमती र उसका आसेपासेहरु भए अनि सुस्त मनस्थितिका गाम्नागे बा पनि हाँस्नु भयो अनि उत्तिखेरै थुतुनो चिमोटेर मुख बन्द गर्नुभयो तर अरु हरु खित्का नछोडेपनि थुतुनोमा लालि बालेकै थिए । अनि मैले फेरि आफैलाई छामेँ, भर्खरै गोहिका आँशु चुहाउने हरु हाँसेको देख्दा मनमा चिसो पसेर आयो । जस्का लागि सबभन्दा धेरै समय खर्चेँ, धेरै माया दिएँ, जस्को फलिफापका लागि मैले मेरो आफ्नो फलिफाप हुने कामलाई नै छोडेर लागेँ, तिनिहरुनै भिडमा अमिला र अझ अमिलो पस्नु भन्दा अगाडिका कागती जस्ता नीला र तिता भए । अझै कोहि कोहि त मेरो लाशलाई पनि थिलो थिलो पारेर धूलो पारेर मलाई सिध्याउन चाहन्थे, उनीहरुको ओठ थर्थराइरहेको थियो, दुर्भाग्यबश हर्ताकर्ता फेरि उनिहरु नै थिए । मेरो लाशलाई काँध दिने मेरा मान्छेहरु भए हुन्थ्यो, अनि मलाई ओल्टाई पल्टाई गर्ने मायालू हातहरु भएपनि हुन्थ्यो जस्तो लाग्दथ्यो । एक छिन पछि त खरानी हुनु छ त्यो भन्दा पहिला स्पर्श मात्रै पाए पनि हुन्थ्यो झैँ लाग्दथ्यो घरी घरी, चिच्याउन मन लाग्दथ्यो अनि असतीहरु मेरो लाश लाई नछो भन्न मन लाग्थ्यो तर के गर्नु यस्तै भइरहेको थियो ।
सप्कोमा मुखलाई थुनेर आँखाले नरोएर धुरु धुरु रुनेहरु पनि भिडमा मैले देखेँ । मनलाई कागती जस्तै निचोरेर मेरो लाशको पछाडी लाग्ने त्यस्ता मन हरु अगाडिका मनहरु भन्दा भिन्दै थिए धेरै थिए, जस्ले मलाई मनै बाट पढेका थिए तिनीहरुले मलाई चाहेर पनि बिर्सिन नसकेको अनि घाटमा बिदा गर्नै नमान्ने अनि नचाहने हरु पनि देखिए । एक दुइजनाको त भक्कानो पनि फुटेको देखेँ, म आँशु पुछ्न चाहन्थेँ र पनि म सक्दिनथेँ । मलाई थक्क लागेको कुरा मैले त्यस्ता मनहरुलाई आफ्नो बनाउन सकिन । जिवनको कुनै कालखण्डमा उनीहरुको सुख दुख साट्न सकिन । म बाध्य नहुनु थियो मैले बेलैमा बिद्रोह गर्नु पर्दथ्यो सकिन मैले यो मेरो कम्जोरी थियो, तै पनि अरुले के भन्लान आफ्नो इज्जत के होला भन्ने नाउँमा म फगत लतारिइरहेँ । अब फेरि बाँच्न पाए म पक्कै बिद्रोह गर्थेँहोला जस्तो लाग्थ्यो ।
मलाई घाटमा लगियो सर्वाङ्ग नाङ्गेझार पारेर दाउरा र परालले छोपियो अनि तलबाट माइला दाईले दागबत्ति दिनुभयो, माइला दाई भने मज्जाले रुनुभयो, इलामबाट आउने माइखोला भन्दा पनि बढि रुनु भयो । मलाई पनि रुवाउनु भयो अरु पनि रोए, कोहि आँखाले मात्र रोए, कोहि नरोएरै मनले रोए । आँखाले रुने र मनले रुनेको हूल छुट्टियो । आँखाले रुनेहरु उता म खरानी नहुँदै, अस्तु सेलाउन नपाउँदै माइला दाईलाई भागवण्डाको बारेमा ख्यार ख्यार पार्दै थिए । खर्चपानीको कुरा गर्दै थिए मलाई बिरक्त लाग्यो, बोझ लाग्यो आफ्नो मृत्यु पछि पनि । मेरो चितामा आगो बलिरहँदा एक्कासी ठूलो आवाज आयो म झस्केँ, सभ्यता भनेर चिच्याएँछु, अनि दिदिले के भयो निशान भनेर बोलाउनु भयो, केहि हैन दिदि भनेर टारेँ ।
तर यस्तो बिषय मेरो सपनामा कसरी आयो न मेरो पारिवारीक हुलिया मिल्छ, न मेरो जिवन सँग मेल खान्छ, तर गोपाल भन्ने मान्छे को यस्तो कहाली लाग्दो यथार्थले मलाई पनि छोयो, जिवनको अर्थको गहिराईमा पुगेँ म । यस्ले सिकाएको पाठ भनेको मलाई दिलै देखि पढ्ने, माया गर्ने मान्छे, असल साथीलाई आफ्नो जिवन बाँड्न पाउँ, भलै एक दिन बाँच्न पाइयोस तर उस्कै काखमा हराउन सकुँ, जिवनका भए भरका माया उस्लाई दिन सकुँ । मायाको अर्थ अनि जिवनको परिभाषा म आफै बनाउन सकुँ भन्ने कुरा मैले सिकेँ । आँखाले रुनेहरु र मनले रुनेहरुको बिचमा पर्खाल लगाउन सकुँ । मैले तिमिलाई दिएको माया मात्र होइन सम्पूर्ण जिवन नै हो भनेर सगर्व भन्न सकुँ । मेरो अगाध माया तिमिलाई, मेरी सभ्यतालाई अनि हाम्रो अर्थपूर्ण साथलाई । तिमि जहाँ रहे पनि मन हाम्रो एकै ठाउँमा छ भनेर भनिरहेकै छु, सास रहुन्जेल यहि मन्त्र जप्न पाइयोस सधैँ सधैँ तिम्रो मनको राजा बन्न पाइयोस अनि आफ्नो सिँहासनमा तिमिलाई रानी बनाएर राख्न पाइयोस । तिमि म भित्र अनि म तिमि भित्र हराउन पाउँ, एउटा स्पर्शले सधैँ छोइरहोस, एउटा चुम्बनले सधैँ चुमिरहोस, हर खुशीमा अनि हरु कठिनाइहरु तिम्रो साथको डोरी समातेर छिचोल्न सकुँ ।
Subscribe to:
Posts (Atom)


