Saturday, 9 April 2016

जिवन जल



महिनाको अन्तिम दिन थियो । तर उस्का लागि हरेक दिन उस्तै उस्तै हुन्थे । त्यहि भएर अरु जस्तै महिनाको अन्तिममा फुरुक्क हुनु पनि थिएन । ऊ खासमा लेखक हुन साह्रै जोड बल गर्दथ्यो अनि लेखकहरुको हूलमा मिसिएको थियो ।

हिजो मात्र होला उस्ले एउटा अनौठो बिषय बस्तुमा कथा लेखेको थियो । उसलाई लाग्थ्यो उ पनि सधैं राम्रो कथा रचनाहरु लेख्छु र पनि सम्पादकले उस्कै कथालाई किन मन पराउँदैनन, बास्तवमा दुनिया भनेको त्यहि सम्पादक मात्र हो र उस्ले जे बुझ्यो जे सोच्यो जे लाग्यो त्यहि हुने हो र भन्दै भुन्भुनिन्थ्यो पनि । दुनिया बिर्सेर, परिवार, समाज सबै बिर्सेर एकान्तमा बसेर लेखेको रचना पनि अब्बल ठहरिँदैनथ्यो हत्तपत्त ।

बच्चाले तिन महिना सम्म शुल्क नबुझाएर एसेम्बलीमा अगाडी उभ्याएर भनेको भन्दै मम्मी संग झ्याली पिट्दै अझै थप्यो भोलि सम्म तिरेन भने पर्सि देखि कक्षा छिर्न नदिने रे घाम मै बस्नु पर्ने दिन भरि उभिएर । अझै पनि उस्ले छोरोलाई घाममा पाइने भिटामिनको बारेमा भनेर अल्मल्याउँदै थियो । बच्चा पनि आजित भएरै होला एक छिन घोरिएपछि बिस्तारै भन्यो कि हजुर किन मेरा साथिहरुका बाबाहरु जस्तै काम गर्न सक्नु हुन्न । उनीहरु हरेक महिना फि तिरिदिन्छन, दिनहुँ मिठो मिटो टिफिन लिएर आउँछन म चाहि जहिले पनि चिउरा र भात मात्रै ।

एक लेखक जस्ले समाज बदल्न सक्छ, जस्ले कलमकै बलले इतिहास लेख्न सक्छ बनाउन सक्छ बिगार्न सक्छ । मैले मेरो छोरालाई यो कसरी सम्झाउँ छोड यो कुरा कसैले मेरो भावनालाई सम्झिनेवाला छैन भन्दै आफै संग झन्किएर ओछ्यानमा पल्टियो । उसै माथि घर मन्त्रीको अल्टिमेटम थियो सुन्नुहोस आज देखि भित्र दाल चामल अन्न सबै खानेकुरा सकियो । उता पसलवालाले पहिलेको बाँकी नतिरे सम्म दिन्न भन्दैछ । अन्नपात ल्याउनु भएन भने भोलि देखि भोकै सुत्नु पर्छ ।

तर ऊ के गरोस, नेपाली साहित्यमा एम ए पनि गरेकै हो । सानै देखि उसको साहित्यमा भाषामा शौख थियो तर यस्तो पढाईले उसलाई बैंकमा उपल्लो स्तरको नोकरी त पाईंदैन । जुन बिषयमा पढाई सकियो उसैमा त थियो ऊ । वास्तवमा यो दुनिया, यो प्रणाली उसलाई सम्झन बुझ्नै चाहँदैन झैं लाग्थ्यो । अचम्म लाग्थ्यो कहिलेकाही कि सबैले उसलाई लुजर्स भन्थे यत्तिकै हावामा उडाई दिन्थे ।

महिनामा दुइ चार वटा कथा कविता जे भए पनि छापिएकै हुन्थे, प्रकाशकहरु उसलाई माथि पुर्याउंथे कहाली लाग्ने ठाउँमा मख्ख हुन्थ्यो ऊ जुत्ता बजार्दै घर पुग्थ्यो तलुवा फाट्यो भने सिलाउने पैसा हुन्थेन साथमा । अनि सोच्थ्यो यि प्रकाशनवाला मानिसहरु शोषक हुन अपराधी हुन । म जस्ता अनेक लेखकहरुको लेख रचना ले भरेर किताब बनाउँछन लाखौँको बिज्ञापन बेच्छन आफू मालामाल हुन्छन अनि लेखकहरु मनको लड्डु घिऊ सँग मोलेर खान्छन अनि त्यसैमा अघाउनु पर्छ अझै डकार्नु पनि पर्छ ।

मन बुझाउने ठाउँ कहिले काहिँ ऊ जस्तै उस्का गुरु लेखक हुनु हुन्थ्यो, उहाँ बाचुन्जेल कहिले सुख भएन बिबाह भयो पहिलो बर्षमै सम्बन्ध बिच्छेद भयो । अनि घरभेटीले घरबाट निकाले अनि कहिले साथीकोमा कहिले पाटी पौवा गर्दै पनि झोला भरि लेख्दै प्रकाशनहरु लाई दिइरहनु भयो अनि ऊ जस्तै लुटिइरहनु भयो । सिगरेटको धुवाँ र रक्सीको मातले उहाँको क्यालेण्डर त्यति बाक्लो हुन पाएन मझौलामै सकियो । मरणोप्रान्त उहाँको कृति पुरस्कृत भयो र बेस्ट सेलिङ्ग मा दरियो आखिर एक दिन त आउँदो रहेछ नि भन्ने लाग्थ्यो ।

हिजो राती बाल्यकालका साथीहरु मिलेर दारु पिउन थाले त्यो मध्ये उस्को साथी थियो एक जना ब्रजेश । कुरा गर्दै जाँदा क कस्को आम्दानी अनि जीवन शैली कस्ता भनेर तुलना गर्न थालियो उस्को पेट भित्र छिरेको दारु पनि उम्लेर आयो । जहाँ त्यहि ब्रजेशको महिनाको बेसिक तलब मात्रै ७०००० थियो जहाँ उस्को मुश्किलले बर्षको हुन्थ्यो त्यति रकम । उसका बच्चाहरु स्तरीय बिद्यालय मा पढ्थे, उस्को हातमा नोकिया लुमिया हुन्थ्यो जस्को सालाखाला ७० ८० हजार पर्दो हो जुन आफू संग २००० पर्ने लोकल फोन हुन्थ्यो । जसमा प्रकाशन वालाको भन्दा अरु कसैको घण्टी शायदै बज्थ्यो ।

घरमा घरभेटीको कचकच, सानो छोराको गनगन, बुढीको च्यालेन्ज, साथीहरुको चालढाल, प्रकाशनवालाहरुको ब्यबहारबाट आजित देखिन्थ्यो । घरमा सामान सकिएको ३ दिन भइसकेको थियो, छोरो स्कूल जान छोडेको २ दिन भइसकेको थियो । २ दिन देखि च्यूरा र पानीले पेट पनि प्लाटिकको थैलोमा पानी हल्लाए जस्तै भान हुन्थ्यो । रातको १ बजे तिर छोरो पखालाको बिरामी भयो अस्पताल लैजाने समेत पैसा थिएन जिवन जल समेत ल्याउने पैसा थिएन । यस्तै मा उसलाई भक्कानिएर रुन आयो रोयो पनि । साथमा श्रीमतिले घुच्याउँदै थिइन किन रुनु भएको यसरी नराम्रो सपना देख्नु भयो कि क्या हो ?

तुरुन्तै किचनमा गएर चामलको बोरा खाने कुराहरु हेर्यो । सबै चिज दुरुस्तै थिए केहि पनि अभाव थिएन । वास्तवमा ऊ नेपाली साहित्यको बिद्यार्थी थिएन ब्यबस्थापनको बिद्यार्थी थियो ।

Thursday, 8 January 2015

अामा नैनाकली


ढिकी र जाँतो गर्दैछु बाबु भन्छिन आमा नैनाकली
बिहानै कुँडो पानी गरिरेछु भन्छिन आमा नैनाकली
जिवन त यसै जाने भो घाँस पराल मै लैजाने भो
मन त पोको पारेर फालेँ भन्छिन आमा नैनाकली

बिझेको छ काँडा यो मुटु भित्र कहाँ गइ मेटाउँ म
टुटेको छ मन छिनछिनमा भन्छिन आमा नैनकली
त्यहि एउटा छोरो पनि मारियो देशको लडाईँ मा
उसैको रगतमा खेल्दैछन भन्छिन आमा नैनाकली

सिनो झैँ लुछिरहेछन ब्वाँसाहरु भिन्न खोल ओढेर
शहिदकी आमा धिक्कार छ भन्छिन आमा नैनाकली
एक दिन यिनै आँशुले पक्कै उनिहरुलाई बगाउने छ
कहिँ त होला मेरो भगवान भन्छिन आमा नैनाकली

हातपाखुरा पनि गल्न थाले आँखाहरु पनि बस्न थाले
मर्नेबेला पानी दिने कोहि छैन भन्छिन आमा नैनाकली
अझै पनि सुध्रिएको आफ्नो परानको सपना फक्रिएको
हेरेर सास जान पाए हुन्थ्यो भन्छिन आमा नैनाकली  

Wednesday, 12 November 2014

उप्केको तलुवा र चप्केको मन


जुत्ताको तलुवा आधा फुस्किएर दायाँ खुट्टाको चाल बिग्रिएको थियो । पदयात्राको तेश्रो दिनमै यो हालत अझै झेल्नु सात दिन कसरी हो भन्ने उत्सुकताले म भरिएको थिएँ त्यसै सँग मेरो चाहना पोखिन्छ कि भन्ने समेत मलाई डर थियो । हामि त बेशी मै थियौँ तै पनि तलुवा फुस्किसकेको थियो । ताल तालका साथीहरु देश बिदेशका साथीहरु भेट भएका थियौँ । जेरिया सँगको पहिलो भेट पनि अचम्मको थियो । 

डन्ट वरी गाइज आइ एभ वन सलुशन वेट अ मोमन्ट भन्दै जेरिया तम्सिई । आफै जुत्ता फुकालिदिई अनि फट्टिएको तलुवामा खाक्सीले घोटेर ग्ल्यु लगाएर एक छिन हावामा सुकाए पछि चप्काएर ढटाएर फेरि गोडामै भिराई त्यसमा आफै लेस बाँधे र पाइला अगाडि बढाएँ । हैन तिमोरु ह्वाँ देखि हाम्रो देशमा घुम्न आउँदा पनि जुत्ता टाल्ने गम पनि ल्यायौ है मान्नै पर्छ हो तिमिहरुलाई त । उस्ले पनि उस्कै भाषामा तिमिहरु पनि त्यति बेबकूफ त छैनौ होला नि, आफूलाई चाहिने सामान त लिएर हिँड्छौ होला त भन्दा त्यसको चिन्ता नगर न जेरी भनेर बिर्को लगाउन मन लाग्यो उसै त हाम्रो हगाई भन्दा पधाइ ठूलो किन सानो मुख गर्नु जस्तो लाग्यो । 

निकै लामो बाटो हिँडुन्जेल त औपचारिक भन्दा बाहेक कुनै कुरै भएको छैन आज । उहि जेरिया थिई दिन भरि हिँड्दा पनि बाटोमा सहारा हुन्थी, बोली मिलाउँथी अलिकति भए पनि हाँसिदिन्थी अनि त पसिना पनि भुलिन्थ्यो स्याँ स्याँ पनि छलिन्थ्यो । तर आज उसमा त्यसतो जाँगर देखिएन बोल्ने त के मुख उक्काउन पनि नपरोस झै मुख बाँधेर हिँडेकी थिई । शायद कसै सँग बोल्न र बोलाउन उस्को कुनै अपेक्षा नै थिएन कोहि नबोलोस कसैले आफूलाई नचलाओस कसैले नजिस्क्याओस भने झैँ गरि तम्सिएर हिँडेकी थिई । 

उस्को त्यो सन्नाटालाई चिर्न मन लाग्यो, उस्को तुम्लेटमा पानी सकिएछ मेरोमा भर्खर मुलपानीमा भरेको ताजै थियो निकालेर दिएँ आधाजसो पिएर मलाई फिर्ता गरिदिई । कहिलेकाहिँ मनको तलुवा पनि उक्किँदो रैछ बरु त्यसलाई के ले टाल्ने होला है जेरि भनेर उसलाई झस्काएँ पहिला अनि पुरानै ठाउँमा आई पुगी । शायद तिम्रो उक्केको जुता टाले जस्तो मन टाल्न पाए त कति मजबुत हुँदो हो जिवन, तर तिमि सँग यस्तो कुरा गरेर के फाइदा । मैले जसलाई यसै गरि टाल्न खोज्थेँ उस्ले मेरो कुरा कहिल्यै बुझ्दैन । मेरो कुरालाई हावामा उडाउँछ, म जमीनको अनि यथार्थको अनि मायाको कुरा गर्छु ऊ चाहिँ खाली हावा कुरा मात्र गर्छ । खालि जिन्दगी भनेको त वाहियात मात्र हो, त मेरै त होस नि कहाँ जान्छेस र मलाई छोडेर भनेर सके सम्म होच्याएर कुरा गर्छ । 

हामि केटा मान्छेहरु केटि मान्छेहरु देख्यो भने जति नै साधु भए पनि मनमा कता कता उल्टा सिधा कुराहरु ल्याई हाल्छौँ । तिमिहरुलाई हामि जस्ता लक्का जवान केटा देख्दा केहि केहि भए जस्तो लाग्दैन भनेर प्रश्न उस्लाई नै तेस्र्याएँ । उस्ले जवाफ फर्काई तिमिले एक दम ठिक भन्यौ यहाँ त अझै निकै कम रहेछ मानिसहरु एकदम लजाउँदा रहेछन । हामि कहाँ यत्तिकै भेट हुँदा पनि अँकमाल गर्ने किस गर्ने त चलन नै रहन्छ । एउटा अचम्मको कुरा के भने नि अस्ति धनकुटामा प्याराग्लाईडिङ्गमा अति राम्रो सँग मनोरञ्जन गराएकाले त्यसको चालकलाई किस गरेँ अनि उसले म सँग फोन नं. माग्यो त्यो पनि दिएँ अनि साँझमा फोन गरेर त होल नाइट गेटटुगेदरको प्रस्ताव राख्छ बा । अनि मैले पनि उसलाई बोलाएँ र उसकै अगाडि हाम्रो सँस्कृतिको बारेमा सम्झाएर पठाएँ । उस्ले पनि मैले भनेको कुरालाई गलत सम्झेन र अहिले पनि उ मेरो अनलाइन फ्रेण्ड छ । नेपाल आउँदा कमसे कम कफी चाहिँ सँगै बसेर पिउँ है भन्छ म पनि नाई भन्दिन । 

तिमिहरु त पश्चिमा सँस्कृतिमा हुर्केका मानिसहरु दारु पिउनु अथवा रक्सि पिउनु सामान्य नै हुन्छ होला यस्तो होश हराएको बेला त जे पनि हुन सक्छ शायद आफूलाई सम्हाल्न सकिँदैन होला, म त मेसै पाउँदिन हाऊ जेरी को सँग के गरिन्छ के बोलिन्छ पत्तै हुँदैन । 

खित्का छोडेर हाँस्छे, तिमि गलत छौ त्यस्तो होइन । तिमि आफै भन जति मात्तिए पनि आफ्नो घर बिर्सेर कहिल्यै अरुको घर त पस्दैनो पक्कै पनि । आफ्नो सवारी साधन छोडेर अर्काको त कहिल्यै चढ्दैनौ त अनि तिमिले भन्ने अरु कुरा चाहिँ तिम्रो आपराधिक मानसिकताको उपज हो । यो सहि कुरा हो तिमिलाई तितो लाग्ला तर अमला खाँदा तितो भए पनि खाइसके पछि त्यसले मुख मिठो बनाउँछ त्यो पनि कहिल्यै नभुल्नु ।

मथिङ्गल चाहिँ एक पटक बिद्युतीय झड्का लागे झैँ भयो तै पनि जेरिया लाई पत्तो भएन शायद । अनि तिमिलाई जेम्सले कुन तरिकाले मन पराउँछ त अथवा अर्को अर्थमा तिमिहरुको सम्बन्ध कुन गहिराईमा पुगेको हो भन्न मिल्छ कि हुन त त्यो तिम्रो ब्यक्तिगत कुरा हो अप्ठेरो लाग्यो भने नभन्नु नी मलाई । त्यत्तिकैमा कोदोबारीबाट एउटा हरियो फट्याङ्ग्रा आएर उसको टिशर्टमा झुण्डियो अगाडि ऊ डराउन थाली अनि मैले पुछारमा च्याप्प समातेर उस्को कपडामा टाँस्सिएका नँग्रा तानिदिएँ अनि फेरि उस्कै आकाशमा बिस्तारै उडाइदिएँ । 

तिमिलाई पौडिन आउँछ पानीमा भनेर सोधि किन नआउनु ससानो छँदा कुलोमा कति हो कति पौडेको भनेर कुराको फाँक हालेँ । नभन्दै त्यसको केहि अगाडि ढूलो खोला तर्नु पर्ने थियो शायद मेरो त कम्मर सम्म आउँथ्यो तर ऊ चाहिँ अलि अग्लिनै थिई उसको त थाइसम्म मात्रै आउँथ्यो होला । आपद चाहिँ मलाई पर्यो भित्री कपडा समेत भिज्ने भयो भनेर अरु कोहि थिएनन बाटोमा ऊ र म मात्रै थियौँ । म पहिले खोला तर्छु अनि तिमि आउनु भनेर उ खोलामा हेलिई र एकतमासले आरामले खोला पार गरि सजिलै । खोला बेगिलो नभए पनि गहिरो चाहिँ थियो । ऊ फेरि वारी आएर मलाई बुइ बोकेर पारी तारिदिई शायद केटो भएर गर्व गर्ने ठाउँ थिएन र पनि उस्ले मलाई मन दुख्ने गरि केहि पनि भनिन । 

साँझ पनि पर्यो बाटोकै घरमा बास बसियो । गाउँले खाना खाई वरी आ–आफ्नै बिस्तारामा पल्टियो कतिबेला निदाइएछ पत्तै भएन । 

तिमिले आकाशमा उड्दै हराउँदै गर्ने गौँथली देखेका छौ भनेर सोध्न थाली तर मैले उस्ले के सोध्न चाहेकी हो भनेर भेऊ पाउनै सकिन अलमलमा परेँ । खुल्दुली प्रकट गरे पछि बल्ल मलाई समेत बेरेर केटा मानिसहरु यस्तै हुन गौँथली जस्ता कतिबेला देखिन्छन कतिबेला हराउँछन पत्तो हुँदैन, यो मैले जिवनमा भोगेको कुरा हो तर तिमिलाई भन्यो भनेर नठान है भनेर अलिकति सान्त्वना पनि भेटियो । उस्को भोगाई मैले तेल खन्याउन मन लागेन छोडिदिएँ यसै । 

लामो कुरा पछि थाहा भयो कि जेरिया अलि घमण्डी केटि भए पनि सामाजिक रुपमा सम्बन्धहरु बनाउन र त्यसलाई निभाउन तत्पर अति निडर केटि मान्छे रहिछ जुन महशूस पनि भएकै हो । जेम्स उसलाई अति माया गर्ने शायद उस्को कम्जोरी भनेकै जेरिया थिई र शक्ति भनेकी पनि उहि थिई । कहिलेकाहिँ शक्ति र कम्जोरीमा सन्तुलन नमिल्दा खटपट भएको पनि बुझियो । धेरै नै पटक जेरियाले जेम्सलाई भन्दा अरुलाई नै सबभन्दा बढि माया गर्छु भन्दा यहि कुरा उसमा बिझिरहने यहि कुरामा झिकी कटक गरिरहने र फेरि जेरिया उस्को बारेमा कुनै कुरा पनि सुन्न नचाहने कुराले आफैमा अत्याधिक हिनताबोध भए जस्तो हुने कुरा पनि बुझियो । 

धेरै पटक जेरियाले जेम्स सँग कुरा भइरहेको बेलामा उस्को फोन आयो भने कुरा तुरुन्तै फोन काटेर उता बोल्ने गर्दा पनि मन दुखिरहँदो रैछ उस्को । जेरिया मुखले जे जसो भने पनि जेम्स बिना एक क्षण पनि बस्न नसक्ने तर पनि उस्कै अगाडि उसैको उपेक्षा गर्ने जस्ता देखिने ब्यबहारले जेम्सको दैनिकीलाई नै बिगारी रहेको थियो र यो कुरा पनि सबै तेरिजा थाहा पाउँथी र पनि उस्को मनको बादल उघार्न चाहन्नथी किनकी उस्को गुन जेम्सको गुन भन्दा दशौँ गुना बढि थियो । सम्बन्धमा जेम्स नजिक भए पनि दुरीमा ऊ चाहिँ नजिक थिएन जुन उसले भन्न चाहेर पनि नचाहेर पनि यथार्थ चाहिँ यहि थियो । 

मलाई जेम्स सँग पनि कुरा गर्न मन लाग्यो, अनि एलिजाकै फेसबुक आइ डि बाट जेम्सलाई पनि एड गरेँ कुराकानी भयो । उनिहरु दुबै जनाको बिचमा छिर्न चाहेँ र जेम्सलाई कुरा नलुकाईकन भनेँ साथसाथै आग्रह पनि गरेँ । 

जिवनमा धेरै सम्बन्धहरु हुन्छन, उस्तै खाले मिल्दाजुल्दा सम्बन्धहरु धेरै हुन्छन । माया सदभाव पनि सबैले आ–आफ्नो हिस्साको देखाएकै हुन्छन र पनि सबै चीजहरुलाई निस्तेज पार्दै हामि एउटै गोलका लागि समर्पित हुन्छौँ । ल मानौँ म पनि यसै गरि अर्कै केटि मान्छेलाई वा उस सँगको सम्बन्धलाई माया त सबभन्दा बढि उसलाई मान्छु, तिम्रो मेरो सम्बन्ध अरु सँग दाँज्न मिल्दैन भनेर भने भने के होला, उस्को दिमागमा केहि कुरा खेल्ला कि नखेल्ला । भलै हाम्रो सम्बन्ध नैतिक खालकै हुन्छ र पनि मायामा वा यस्को नाप जोखमा आफू तल परेको कसैले पनि सुन्न चाहँदैन यहि कुराले मलाई पोलिरहन्छ भन्दै जेम्सले म्यासेज बक्समा एउटा एसएमएसको हुल पठायो । 

नेटवर्कले पनि काम गर्न छोड्यो गल्छेडोमा आइएछ क्यार । जेम्स सँग यस्तो उस्तो कुरा नगर है, ऊ त कुराले तिमिलाई भुतुक्कै पार्छ अनि त्यहि पत्याउला तिमि चाहिँ अनि गल्ती जति मेरै थाप्लोमा आउला नि । 

अरे जेरिया तिमिले जिवनलाई सधैँ आफ्नो मात्रै अर्थमा नहेर अनि आफ्नो मात्रै अर्थमा नबुझ । हरेक कुराको फरक फरक अर्थ हुन्छ अनि हरेक प्रतिक्रियाको पनि फरक मतलब हुन्छ । सँसारमा आफ्नो मान्छे एक जना मात्रै हुन्छ र हरेक उच्चारणमा ब्यबहारमा उसले प्राथमिकता पाउनु पर्छ । कहिलेकाहिँ बिचार पुर्याउनु पर्छ, उस्को खुशी बेखुशीको बारेमा पनि अलिकति ध्यान पुर्याइदिनु पर्छ । उसमा पनि केहि कमजोरीहरु छन उस्ले पनि सच्याउनु पर्छ ।

जस्लाई तिमिले नै नराम्रो मान्छे भनेर कहानी सुनाउँछौ रिस उठेको बेला उ भन्दा पनि तल झारेर भन्नु हुँदैन । मानिसले आफ्नो हैसियत खस्केको सोचेर दिमागमा लघुताभाष घुस्यो भने त्यसलाई धपाउन निकै गाह्रो हुन्छ । थाहा छ तिमि तथानाम भनेर पनि उत्तिखेरै ठिकठाक भइहाल्छौ मनमा केहि राख्दैनौ तर पनि सबै तिम्रो जस्तो खन्याउन मिल्ने मन हुँदैन । शायद जेम्स हरेक कुराको जोड घटाऊ गरेर बस्छ अनि धेरै कुराहरु लाई बिश्लेषण गरेर अर्थ निकाल्छ र यिनै बिश्लेषणहरुमा बढि जसो सहिनै हुन्छन । यो भन्दा मसिना कुरामा म जान चाहिन जेरिया जे भए पनि ऊ तिमिलाई औधि माया गर्छ अहिले पनि र शायद तिमिले उस्को मन दुखायौ या उसलाई फालिदियौ मनबाट भने पनि तिम्रो लागि दिएको ठाउँ अरु कसैलाई दिन चाहँदैन अझ दिनै सक्दैन । बास्तवमा यो उस्को कम्जोरी जस्तो देखिए पनि तिम्रो लागि शक्ति हो भन्छु म । 

भोलि कथँ कदाचित उसलाई केहि भइहाल्यो वा उस्को मृत्यु भयो भने त्यसबेला उसका यि जिज्ञासाहरु लाई पुरा नगरिदिएकोमा वा उसको मनका खुल्दुलीहरुलाई नमेटाएकोमा तिमिलाई पल पल पोलिरहने छ । 

जेरियाले शायद आफ्नो जिन्दगीको रीललाई उल्टो घुमाइरहेकी जस्तो लाग्यो शारीरिक भाषाले चाहिँ उ गहिरै शोकमा डुबे जस्तो लाग्यो । 

दशौँ दिन थियो हामि पदयात्रा सकेर मोटरमा चढ्दै थियौँ, केहि क्षणको यात्रा पछि ठूलो बजार इटहरी आइपुगियो । ऊ चाहिँ काठमाण्डौ उड्नका लागि बिराटनगर बिमानस्थल तिर लागि म चाहिँ एक दिन त्यतै बस्ने निधो गरेँ । मेरो यत्रो पाठमा पनि कुनै प्रतिक्रिया दिन चाहिन ऊ मैले पनि केहि बुझिन आधा आधी जस्तै भयो मेरो बुझाई । 

त्यसको दुई दिन पछि दुबै जनाको म्यासेज एकै पटक आयो । 

तिमिलाई धन्यवाद दिन चाहन्छौँ हामि दुबै जनाले, बास्तवमा हामि दुई बिचमा आउन सक्ने अरु कोहि मानिस पनि थिएन तर बोलाई र शब्द चयनले हामि दुबैलाई असर पाथ्र्यौ कहिले काहिँ तर यि सबै दुर भएका छन । सम्बन्ध बन्ने पनि सानो कुराले हो र बिग्रने पनि सानो कुराले हो । ठूला कुराहरुमा त बिबाद हुन्छ अनि मिलिन्छ तर स–साना कुराहरु सबै भन्ने कुरा पनि भएन तर पनि कुवामा पानी धमिलो पार्छन यिनै कुराहरुले । धन्यवाद फेरि पनि भन्दै कुरा सकाएछन । त्यस सँगै दुबैजनाको सेल्फी पनि आइपुग्यो टुप्लुक्क अनि अनलाइनबाट हरियो बत्ति पनि हरायो ।  

नजिकै क्याफेमा छिरेँ कफि पिएँ अनि उठ्न के लागेको थिएँ स्वदेशी जेरियाको पनि एसएमएस आयो ह्वार्रै । अनि आफै पनि घम्साघम्सीमा तल्लिन हुन थालेँ । त्यतिबेलै भाइबरमा जेरियाको फोन आयो र पनि मैले उसको फोन रिसिभ गरिन किनकी म आफ्नै मान्छे सँग कुरा गरिरहेको थिएँ । मलाई ऊ जत्तिको महत्वपुर्ण कोहि हुनै सक्दैनथे । यता कुरा सकिएपछि भने जेरियालाई पनि कल ब्याक गरेँ ।  

Sunday, 27 July 2014

नबिझ्ने काँढाहरु ले दुखेको मन


सबै कुराहरु जिवनपरन्त रहिरहँदैनन, परिवेश बिर्सिन्छ, मानिसहरु भुलिन्छन, हराएर जान्छन आकाशमा तुँवालो हराए झैँ । सबै तुँवालोहरु उडेर जान्छन भन्ने पनि छैन । कता बाट छिर्छन भन्ने पनि थाहा हुँदैन, कहिले काहिँ त आकार पनि महशूस गर्न नसकिने रहेछ त । मनमा बिझाई रहेकै थियो खै के हो आफैलाई पनि थाहा थिएन खास तै पनि खटपटी नजानीँदो थियो । 

हजुर म निशान बोल्दैछु भन्नुस भनेर कुरा शुरु गरेँ उताबाट एकोहोरो बोलि आइरह्यो रेडियो नेपालको बिहान ७ बजेको समाचार जस्तो अनि मैले पनि रातो स्वीच थिचे पछि रेडियो को भोल्युम बन्द गरे झैँ भयो । फेरि आयो उठाइन लगातार ५ पटक सम्म आएकाले अन्तिम पटकको घण्टि सकिनै लागेको बेला उठाईदिएँ । 

साले .............. को सन्तान, तँ आफूलाई के ठान्या छस, एक छिनमै पिटिक्क पारिदिन्छु, म को हुँ चिन्या छस भन्दै अधबैँशे लाग्ने आइमाई जाइलागि म माथि मानौँ मैले ठूलै सामाजिक अपराध गरेको हुनु पर्छ । श्लील भन्दा पनि बढि अश्लिल शब्द धेरै वाकी र पनि म नबोलि बसेँ किनकी उसको मानसिक हालत ठिक नहोला या मलाई अर्कै मान्छे सँझेर फोन गरेको होस भनेर त्यता तिरको ध्यान दिनै छोडेँ । 

ला आ आ आ आ आ । मेरो रङ नम्बर, छोड्दे सबै उस्तै कौडीका हुन जुन जोगी आए पनि कानै चिरेका भनेर एक मन बन्द गरेँ तब मात्र महशूस भयो कि यो रङ नम्बरले नै म भित्र तरँग ल्याएको हो भन्ने र पनि हात उठेन । खाना खाएर एक निद्रा सुतेर फेरि उठेँ फेरि मोबाइल खेलाएँ मैले उसलाई डायल गरेको नम्बर त कल लग बाट हटिसकेछ । अब न रहे बाँस न बजे बाँसुरी झैँ पो भयो । 

म चाहिँ बुधबारे बाट दमक चारआली हुँदै भित्र चिसापानी भन्ने गाउँमा जानु थियो साथमा थियो भटभटे । दिउसोको टण्टलापुरे घाम एउटा मानिस बोरी बोकेर पसिना चुहाउँदै आफ्नै दिशाबाट हिँडिरहेको देखेँ नजिकै पुगेर रोकेँ र दाई कहाँ पुग्ने हो यतै अगाडि जाने भए म पुर्याई दिऊँला भन्दै थिएँ काच्चै खाउँला झै मलाई हेर्यो यसरी कि म ठूलै अपराधी लाई भेटे जस्तो तै केहि बोलेन, म पनि हुँइकिएँ अगाडि । 

मेरो पछाडि पछाडि ३ वटा प्रहरीका भ्यानहरु साइरन बजाउँदै अगाडि पछाडि गर्न थाले अलि अगाडि प्रहरी चेक पोष्टमा गएर मेरो अगाडि रोकिए, एक हुल प्रहरीको जत्थाले मलाई घेरा हाल्यो र जबर्जस्ती कठालोमा समातेर भित्र कार्यालय तिर लगेर राखे । त्यस बेला सम्म म पनि केहि बोलिन अचम्म भयो के हो यो सपना हो कि बिपना जस्तो पनि भयो । 

भित्र गजधम्म परेर त्यहि बोरीवाला मान्छे फुलेर बसेको रैछ, म भित्र छिर्दा साथ हो यहि हो सहि साप मलाई अपहरण गर्न खोज्ने अपराधी यसलाई नछोड्नुस है म टाँठो बाठो भएर मात्रै आज बाँचे सोझो भएका भए त ..... । ए केटा हो यस्को तलासी ले भनेर जुँगा बटार्न थाल्यो सहि पनि र पनि म केहि बोलिन, तलासी लिन दिएँ, केहि भेटिएन । जवानले सर कि त्यो हाम्रो कटुवा पेस्तोल साथमा थियो भन्दिऊँ भनेको प्रष्ट सुने पछि बल्ल मेरो रिस उठ्यो र सतर्क पनि भएँ । प्रहरीलाई आफ्नो बृतान्त शालिन तरिकाले बताएपछि उल्टै त्यो मानिस एक हप्ताका लागि थुनामा पो पर्ने भयो तै पनि आफै जमानी बसेर उसलाई तारिखमा छोडिदिन अनुरोध गर्दै त्यहाँ बाट निस्केँ । 

घरमा पनि बस्न मन लागेन साथीको घरले पनि मलाई डोर्याएन आज नयाँ ठाउँमा जान्छु भनेर निस्केँ । हुइँकिँदै इटहरी त्यहाबाट धरान अनि भेडेटार अनि त्यसभन्दा पनि सात किमि माथि पुगेर भैँसी बाँध्ने गोठमा भटभटे बाँधेर उपल्लो बस्ति तिर लागेँ । सम्साँझमा पुगेँ बस्तिमा छिरलिएका घरहरु तैपनि कुनै न कुनै घरमा बास त माग्नु नै पर्ने भयो । त्यहिँ नजिक आफ्नै उमेरका भाई साथीहरुलाई आजको बास को ब्यबस्था गरिदिन भनेँ । दुइ तले काठै काठले बनेको घर, तल सानो पसल माथि बार्दली सहितको घर, पछाडि पट्टि भान्सा कोठा त्यसको उता पट्टि भैँसिको गोठ, वरीपरि डाले घाँसका रुखहरु कत्ति मन पर्दो वातावरण । 

भदौको अन्तिम तिर हुँदोहो बाहिर फेर घरी घरी भ्यागुता कराउँथे अलि परि झ्याउँकिरी कराएको आवाज पनि सुनिँदै थियो । पहिला घरपाला घ्यु को वासना वार्तलीमा आएपछि बल्ल ए बा खाना खान आउनुस अरे अँकललाई पनि बोलाउनुस अरे भन्दै दिई छोरी चाहिँ । चरेसको थाल मा घिऊ राखेको भात, अग्लो स्टीलको गिलासमा बाक्लो महि चरेशको खुट्टे कचौरामा गिठ्ठा, हरियो बोडि अनि घिरौँलाको तरकारी, सानो प्लेटमा लोकल गोलभेँडाको अचार ट्वाक्क अनि हरियो खुर्सानीको घोगा आफ्नो भागमा थियो अरु सबै घरका सदस्यहरु लावा लस्कर थियो । सबैले मेरो पहिलो गास कुरेका थिए कि त्यस पछि उनिहरुले पनि खान पाउन, मैले भान्सा चलाई दिएँ ।

पश्चिम पट्टि फर्केको बार्दली हुँदै छेऊको कोठामा बास थियो । भुइँमा चर्को टेक्न पनि नहुने भित्तामा मज्जाले अडेस लगाउन पनि नहुने बडो मिजासले बस्नु पर्ने घर भए पनि अनौठो चाहिँ महशूस भएको थिएन । भित्ता भरी पत्रिका टाँसेर कोठा झिलिमिली रैछ एक छिन आँखा डुलाएँ र पनि फेरि निद्रा लागेन । छेऊमा टेलिभिजन रैछ तार सार मिलाएर खोलेँ अनि तिजको रमझम आइरहेको रैछ हेरेँ एक छिन । त्यस पछि बृत्तचित्र आउँदैछ भनेर तल सुचना दिँदै थियो । थाकेको मन अब बन्द गर्नु पर्यो भनेर भन्दै थियो पाल्पा एक झलक भने पछि झस्किएँ एकै चोटि, एकटकले हेर्न थालेँ । 

एउटा बिद्यालयमा बिद्यार्थीहरु सँग अन्तरवार्ता जस्तो थियो सुन्दै रहेँ । सबै जसो १२ पढ्ने बिद्यार्थीहरु थिए तँछाड मछाड गर्दै थिए । हामिलाई पढ्न मन लाग्छ तर भनेको किताब अनि पुस्तकालय छैन । कक्षा कोठाहरु साँघुरा छन झ्यालमा खापाहरु छैनन बाछिटो पानी सबै छिर्छ । डेस्क बेञ्चहरुले सधैँ कपडा च्यात्छ अनि किन्न सकिँदैन टालेर आयो भने सबैले गिज्याउँछन यस्तो छ हाम्रो प्यारो स्कूलको बयान भनेर उछिट्टिई माइकबाट क्यामरा पनि उसबाट भाग्यो । कानका भित्ताहरु टिनीनीनी भइरहे धेरै बेर कार्यक्रमको बिचमा स्कूलको कोठाहरु देखाउने बेला नेपथ्य बाट उहि आवाज आयो, ए रजनी तँलाई यो झापा कहाँ हो भन्ने थाहा छ भन्दै थिई खै कुन्नी हाम्लाई के था बरु तँलाई चाहिँ किन चाहियो नि उतै पोइल जाने बिचार छ कि क्याहो भनेसी सबै चिल्याई चिल्याई हाँसेको आवाज पनि मत्थरियो, कार्यक्रम पनि सकियो, बिज्ञापन आउन लाग्यो, अनि टेलिभिजन बन्द गरिदिएँ । 

कि त भेटै नहुनु कि त नाता गाँस्नु यो कस्तो सम्बन्ध हो बालुवाको घर जस्तो । मैले जति लडाउँछु फेरि ढड्याउन मन लाग्छ र जति पटक बनाउँछु फरक फरक आकारको हुन्छ । भर्खर १२ पढ्दै गरेको नानीको फेसबुक आई डि पनि त नहोला अनि भए पनि के नाममा खोज्नु तै पनि मोबाइलमा ४–५ स्न्याप चाहिँ टि भि बाटै भए पनि खिचेर राखेको थिएँ कतै थोपडा मिल्छ कि भनेर । राति बाह्र बजेको हुँदोहो मोबाइलमा म्यासेज आयो थाहा थियो तर वास्ता भएन यस्ता म्यासेज स्यासेज आइरहन्छन थाक न थल्लाका सन्देशहरु कति पढ्नु बाँदरको पुच्छर लौरो न हतियार जस्तो । 

साँझको बेला ढोका ढक्ढक्याउन पुगेको थिएँ केहि खबर नगरी सुटुक्क पुगेको थिएँ उस्को घर । भित्रबाट चुकुल खुल्यो अनि बन्द भयो त्यसमा चुकुल खुल्नु अनि बन्द हुनुमा फरक सिर्फ म मात्र थिएँ । म हरेक सफलतामा तिम्रो हात रहेको हुन्छ, म जे छु तिम्रै देन हो भन्दै मेरो पेशाको सफलता अवार्ड टफी उस्को हातमा राखिदिएँ । कोपिला देखि बयस्क फुल हुने बेला सम्मको त्यो भावनात्मक बिकासमा उस्को अनुहारमा चलचित्र झैँ झल्कियो अत्याधिक खुशी हुँदा हुँदै पनि अन्तिममा अलिकति पिलीत्त भई । 

मलाई मनपर्ने खानेकुराहरु भान्सामा पाक्दै थिए, ऊ र म मात्रै थियौँ र पनि उसलाई ठूलै भोजको जस्तो धपडी देख्दथेँ म । भन्थी मैले आज आकाशमा उड्ने बादललाई समातेकी छु थाहा छैन कतिबेला फेरि आफ्नो रुप बदलेर म बाट टाढा हुने हो अनि त फेरि उहि आकाशका तारा गनेर बादलको आकृतिमा हजुरलाई हेरेर बस्ने त हो नि म भन्दै घरभित्रै दगुर्दैै थिई । म भन्दै थिएँ म हरदम तिमि सँगै त छु किन यस्तो भनेकी यसरी भन्ने होइन, मानिसका बिभिन्न बाध्यताहरु हुन्छन बिभिन्न धपडीहरु हुन्छन यि सबै बाट बचाएर ससाना पलहरु साँच्ने त हो नि ।

तपाई बुझ्नुहुन्न शायद मेरो कुरा जुन मैले भन्न चाहिरहेकी छु, मैले आधा आकाश हैन पुरै आकाश खोजेकी हुँ । आधा आकाश मात्र सम्हाल्नुको पिडा कस्तो हुन्छ मलाई सोध्नुस यदि महशूस गर्न सक्नुहुन्न भने । मलाई एक पल मात्र एक पल भए पनि पुरा आकाश दिनुहोस म यहि पल साँचेर जिवन पर्यन्त आफ्नो जिन्दगी बाँच्ने छु । शायद लोग्ने मानिस र स्वास्नी मानिसमा यहि कुरा फरक हुन्छ होला कि सम्बन्धलाई ग्रहण गर्ने तरिका र भावनालाई वजन दिने तरिका चाहिँ फरक हुन्छ होला । 

डाइनिँङ टेबलमा खाना लागि सकेको थियो हामि दुई जना आमने सामने थियौँ । खाना कतिबेला भ्याइयो थाहा भएन पाइलाहरु सुस्ताउन हिँडे । मैले उसलाई कानमा साउती गरेर आऊ आज रातमा बजार घुम्न जाउँ मध्यरातमा बजार कस्तो हुँदो रैछ । हामि जस्तो बजार मात्तिँदो रैछ कि रैनछ त्यो पनि हेरौँ भन्दै घरबाट बाहिर लागियो । अँध्यारो उज्यालो भइरह्यो साँझ भर, शायद हामिहरु पनि मात्तिएकै थियौँ क्यार, नजानिँदो पाराले सम्झिने बिर्सिने भइरहेकै थियो । 

अलि पर सडक बत्तिहरुलाई पछ्याउँदै जाँदा एक दम रमणिय बगैँचामा पुगिएछ क्यार मनमा रमाइलो लाग्न थाल्यो । ठाउँ ठाउँमा बस्ने बेञ्चहरु राखिदिएको थियो सुत्न पनि मिल्थ्यो । म अडेस लागेर बसेँ ऊ चाहिँ मेरो काखमा सिरानी गरेर आकाशमुख फर्केर पल्टिई, म उसैलाई हातले सजाउँदै थिएँ तिम्रो मात्र के भन्दै थिएँ एउटा चरा आएर झ्याम्म हाम्रो काखमा हाम्फाल्यो झसँग भएँ । उठ्दा खेरि त उहि भेडेटारको गाउँमा मै माथि पर्ने गरि मुसो पो हाम फालेको रहेछ, उठेर घडि हेरेँ जम्मा ५ बजेको रहेछ, कुखुराका भालेहरु बास्दै थिए । मोबाइल मा म्यासेजको नोटिफिकेशन रैछ । 

मलाई बिर्सनु भयो होला नि उसदिन राम्ररी बिदा हुन पनि पाइएन सन्चै हुनु हुन्छ होला । मिल्यो भने फोन एस एम एस जे भएनी गर्नु होला नत्र भने ठिकै छ पाल्पाली नानी भन्ने एस एम एस पढे पछि त मेरो भुईँमा खुट्टै रहेन कहाँ जाउँ कता जाउँ जस्तो भयो । जिन्दगीमा ठुलै आपद परे जस्तो कसैको गुहार चाहिए जस्तो असिन पसिन भएँ हाऊ म त । तेस्का बाजे ले अलि छिटो एस एम एस पठाएका भए हिजै हेर्थे नि राती १२ बजे एस एम एस पठाइछ उससससस । 

अनि फोन नँ ९८४७१ ......... मा फोन लगाएँ त्यो भन्दा पहिला आफू बसेको कोठाको ढोका अनि चुकुल लगाएँ । २ घण्टी मै फोन उठ्यो बिहान ५ बजेको हुँदो हो । नमस्ते नानी भनेर सम्बोधन गरेँ उस्ले पनि हजुरलाई पनि नमस्ते छ है । मैले एस एम एस पठाएर हजुरलाई अप्ठेरो त भएन नि तै पनि मन मानेन ठूलो साहस बटुलेर यत्ति दुई धर्का लेखेर पठाएको मैले । 

किन डराउनु नि मोबाइलबाट फुत्त निस्केर म पिट्न आउँथिन क्यार हजुरलाई धन्दै हजुरले एस एम एस पठाउनु भयो अब टेन्सन भएन भने पछि मेरो बोली रोकियो । कस्तो टेन्सन भन्नु भको हजुरले मैले बुझिन नि अब झापाली सँग पाल्पाली ले कसरी सक्नु भन्दै हाँसि अनि ऊ पनि बोल्न छोडि फोन अनलाइनमै थिए दुबै जनाका तै पनि एक डेढ मिनट सम्म यत्तिकै सास फेरेको आवाज मात्रै सुनेर बस्यौँ । दुबै जनाले एक्कै पटक बोल्नुस न भनिएछ फेरि हाँस्यौँ । नेपथ्यमा पहिला जस्तै आवाज आयो नानी छिटो आइज भान्सामा म मेलामा जाने बेला भयो भरे कुरा गरम है सर अहिले म गएँ है भनेर बिदा भई बल्ल मनको काँढा निकाले जस्तै भयो । 

आकाश भन्छ सबै त उज्यालो तिम्रै हो अँध्यारो बरु मलाई देऊ घाम तिम्रै हो 
के थाहा उसलाई हराइरहेछु आफै  अाकाशमा सूर्य अँध्यारै भन्छ घाम तिम्रै हो 

बाँकी अर्को सिक्वेलमा ....................