Tuesday, 15 January 2013

जाडो भित्रको न्यानो


आथ्थु ! थु !! थु !!!

बिना सित्ति घर छोडेर हिडिएछ होऊ डल्ली, जाडोले मार्ने भयो । यो पटक त जाडो पनि कति सारो बढ्या हो भन्या हेर त ! भन्दै मुखबाट धुवाँ फुक्दै बात मार्दै थिएँ बुढि सँग । सिस्नेरी भञ्ज्याङ्गको उकालोमा हामिहरु हिँड्दै थियौँ दुइ जना सभ्यता र म दोपहरमा, त्यहि भएर भएका मलिना घाम पनि उसै अस्ताउँदै थिए, माघे सक्रान्तिमा सिस्नेरी भञ्याङ्गमा मेला हेर्न हिँडेका ।

सभ्यता बोल्नलाई ओठ चलाउँदै थिई, मैले तल्लो र माथ्लो ओठ समातेर च्याप्प पारेँ, यो जाडोमा मुख बाट हावा पस्छ मुख नखोल भन्दै थिएँ, उस्ले त झन नाकबाट हावा लिएर मुख हनुमानको जस्तो बनाएर फूऊऊऊ गरि, मेरा हातहरु उस्कै बेजोड धकेलाईमा हुत्तिए, म अवाक भएँ अनि उस्ले आफ्ना मिलेका बत्तिस दाँत लम्पसार पारी म पनि उस्को अगाडि भुतुक्कै भएँ अब के भन्नु र उसलाई ।

कुकुर सँग डरायो भने टोक्न आउँछ नि पतिदेब ! जाडो पनि त्यस्तै हो । हेर ! हेर !! खै !खै !! भिइइत्र एउटा सेण्डो गन्जी, त्यस माथि टि शर्ट, त्यस माथि हाइनेक, अनि ऊलनको शर्ट, तातो कपडाको पातलो ज्याकेट अनि त्यस माथि यो सगरमाथा चढ्ने भक्कु ज्याकेट ! जम्मा गरेर छ पत्रा, अनि आफ्नो छालाको पत्रो सँग त सात पत्रै भएछ नि बुढा ! मेरी आम्मै नि खच्चडको जस्तो कति भिर्न सक्या हुन यि मेरा बुढाले ! अझै जाडोले मरेँ भनेर आथु ! आथु !! गर्न पनि बाँकि राख्नुहुन्न फेरि ।

यि मेरो हेर्नुस त जम्मा तिन वटा ! भित्र हाइनेक, अनि त्यसमा माथि यो पातलो स्वीटर अनि यहि ज्याकेट त हो नि त्यहि पनि हजुरको जस्तो भुक्के हैन केरे । मेरो भने पातलो गन्जी समेत गन्छे आफ्नो पनि गन न झर्लाङ्ग झुर्लुङ्ग न सिँग न पुच्छर जस्ता भन्दा हाँस्दै उल्टै मलाई बिल्याउन थाली । सिँग र पुच्छर भएको त हजुरनै होइसिन्छ नि ! एक सिँगे गैँडाको पुच्छरको त के बयान गरुँ म !! हजुर सर्बज्ञान सम्पन्न ब्रम्हाजि होइसिन्छ नि, कहिँ नभाको पुच्छर हि ! हि !! हि !!!

भो छाड यो कुरा ! बरु अलि पाइला लम्का के, जिस्कीन पाए त बाटैमा मर्नु पार्छे, हिँड  छिटो !! नत्र यतै यो जाडोमा जङ्गलमा ओडारको बास होला फेरि, भन्दै हामि अलि अगाडि तन्कियौँ । थाहा छ बुढा ! पोहोर साल हामि यहिँ पदयात्रामा आउँदा एउटा धन्सारमा बसेर रात बिताएर गएका थियौँ नि । मैले मकै भुटेँ, सागको सब्जी बनाएँ, अनि टमाटरको चटनी ट्वाक्क पारेँ, अनि हजुरले बाहिर दाउरा जोडेर आगो बाल्नु भयो । धेरै बेर हामि गफ गर्यौ मकै खाएर पेट भर्यौ, आगो सँग लाज नमानीकन बस्यौँ अनि सुतेर अर्को दिन बिहान ९ बजे सम्म सुतेर उठ्यौँ । त्यहि ठाउँमा पुग्न पाए त झन अहिले हनीमूनै मनाउन हुन्थ्यो नि बुढा !! भन्दै डल्लीले मेरो आङ्गको मैन पगाल्दै थिई झन जाडोमा न्यानो पार्दै थिइ ।

आफूलाई चाहिँ यहाँ भोकले मर्नु पर्या छ ! उसलाई भने के के हो के के !! आफू चाहिँ खानेकुरामा वास्ता गर्दिन र त यस्ति पाल्पा जिल्ला जस्ती छ नि । मेरो यो डोल्पा जिल्ला जत्रो भुँडि हेरन ! त्यसै जिल्लै पार्छे भन्या । तेरो सँगतले त म भोक भोकै मर्ने भएँ बुढि, फेरि जे पायो त्यहि खाने पनि होइन, यो खान्न ऊ खान्न, तँलाई खानेकुरा रोजाउनु पर्छ । आफूलाई त एक थाल खानेकुरा बजाउन पाए जहाँ पाएनि लडिन्छ, शित र हिँउँ नपर्ने ठाउँ भए पुग्यो । सुत्नलाई स्लिीपिङ्ग ब्याग छँदैछ क्यार । तर एउटा कुरा गारो भयो के डल्ली !

के भन्नुस त ?

यो स्लीपिङ्ग ब्यागमा बुढा बुढी अँगालो मारेर सुत्नै नमिल्ने के, छुट्ठाछुट्ठैमा सुत्यो अनि एशिया र अमेरिकामा सुते जस्तो हुने बुढि, बित्यासै पार्ने भो । म पनि तिमि जस्तै पातलो भएको भए त एउटैमा अटिन्थ्यो क्यार है बुढि । डल्ली च्यास्सिई बोल्दै बोलिन एक छिन त । हजुरलाई मै सँग सुत्नै पर्छ भन्ने के छ र, घ्याम्पो भरे पछि निद आइहाल्छ क्यारे भइहाल्यो नि म सधैँ एक्लै त हो नि बालै छैन जे सुकै होस । अहिले फेरि मेरि डल्ली!!  मलाई भोक लाग्यो भनेर म सँग लुसुक्क नआउनु नि । मान्छेको जातै स्वार्थी के ! जति माया गरे पनि नहुने आफूलाई पुगे पछि अरुको त वास्तै छैन ।

मैले पनि डल्लीलाई अँगालोमा कसेर सासै फेर्न नमिल्ने गरि च्याप्प समाते अनि मायाले मिठो चुम्बन गरेँ अनि उस्को सबै गुस्साका सगरमाथाहरु ढले, अनि प्रशान्त महासागरको पानी बराबर भयो । छोडन बुढा, मलाई दिशा लाग्यो के । तिमि कहिँ नजाऊ ल, यहिँ बस मै सँग ऊता फर्केर, यस्तो जँगलमा बाघले लैजाला अनि रुँदै बसौला फेरि । ओइ डल्ली अलिकति पोइको पनि  लाज त मान मैल भनेँ । उस्ले झन हाँसेर तिमिलाई थाहा छ बुढा ? दिशा गर्ने लाई भन्दा देख्नेलाई लाज भनेको यहि हो नि, मलाई के को लाज बाँकि के छ र तिमि सँग लुकाउन । ऊ त्यो धुर्सुलको हाँगा भाँचेर ल्याइदेऊ न पुच्छ्नलाई मेरो प्यारो पति परमेश्वर भन्दै थिई ।

आफ्नै बुढि सँग लाज शरमको त कुरै भएन नि, यो त बुढा बुढी भाँडा कुटी खेलेको नि । नानी बाबु पाउँ भन्दा मान्दिनस, त्यहि भएर आफै खेल्नु पर्यो नि भाँडा कुटी । हे ! हे !! बुढा, कति हतारिएको पाउँला न त एक दुइ बर्ष पर्खन हो, नानी बाबु पाएको भए यसरी बुढा बुढी हिँड्न पाइन्थ्यो त लाटा, यसो रमाइलो पनि गर्न पर्यो नि तिमि त बैँशैमा बुढा भयौ हो पतिदेब, झन बुढेसकालमा मैले कसरी ततेर्नु होऊ तिमिलाई, भन्दै उल्याउन थाली म पनि उसै सँग हाँसे नहाँसेर पो के गर्नु र !

साँझ पर्न त अझै एक घण्टा भन्दा पनि बढि समय बाँकि थियो क्यार तर खुट्ठा गलेका, जाडोले फोक्सो पनि हुप्प भको महशूस भयो, अब अगाडि हिँड्न सक्दिन म मेरो त रुद्रघण्टी नै फुस्कला जस्तो भयो लौन भन्दै थिई, मैले पनि स्या स्याँ भए पनि पाको बेला भनेर भनिहालेँ, अन्त केटि मान्छको त रुद्रघण्टी हुने भए पो ! थाहा छैन तँलाई । मेरो मानी पनि गल्यो हिँड्न सकिएला जस्तो लागेन फत्रक्क गल्यो मन, यस्तो थकाई लाग्यो कि दुइ गिलास तताएर नारे पा खाएर सुतौँ जस्तो लाग्यो मनमनै तर मार्छे बुढिले भनेर त्यसै चाम्रिएर बसेँ । हामि गल्नु को अर्थ ज्यान छोड्नुको अर्थ, त्यत्रो नाटक गर्नुको अर्थ चाहिँ हाम्रै अगाडि जँगलको माझमा बाटो मूनि सानो पठार खेतीबाली अनि बाटोमै आँगन जोडिएको बाटो माथिको चिटिक्क परेको घर थियो । हामि चाहिँ बासै नमागी सिधै पिँढीको खाटमै गएर बस्यौँ ।

भित्र बाट नाकमा बुलाँकी लगाएकी, चौबन्दी चोलो लगाएकी, टाउकोमा पछ्यौरा घुमाउँदै सप्को हल्लाउँदै घरभेटी आमा आउनुभयो र सिधै बाहिर जाडो छ भित्रै आवो यता पट्ठि आगो तापेर बस, थाकिच्चौ होला । दुख सुख जस्तो भए पनि यस्तै हो केटाहाटी हो भन्दै डल्लीलाई हातमा समातेर भित्र लैजानु भयो अनि म पनि भित्र लागेँ । मैले बेहुली लिएर आएको अनि आफ्नै आमाले मेरी बेहुलीलाई भित्राएर हातमा समातेर लगे जस्तै भान भयो तै पनि आत्मियता अनि सौहार्दतामा कत्ति पनि कम थिएन । धेरै बर्षमा छोराले बुहारी ल्याएर आमाले भित्राए झैँ भयो मलाई । बास्तवमा गाउँ ठाउँमा अझै पनि पारिवारिक पन अझै मेटिएको रहेनछ । म त के गरुँ के गरुँ जस्तो भयो ।

मैले आमालाई सगुन ल्याउन नपाएर यसै थक्क थक्क भएको थियो । हामि त डुल्न आएका के दिऊँ, मन भारी भयो आमाको गुन तिर्न नसकेर, उता आमाकी बुहारी चाहिँ त कता हो कता हराएकी थिइ, उसका पनि आँखा भरी भरी थिए, यसै त नारीको मन केटाको भन्दा कोमल हुन्छ भन्थे, तर मैले सभ्यतालाई यति धेरै भावुक मुडमा कहिले पनि देखेको थिइन । उसले आमालाई झम्टेर रोई म पनि ओभानो रहन सकिन तर पनि आफूलाई केटा हुनुको नाताले सम्हालेँ तै ।

के भयो छोरी किन रोएकी तिमि ? म पनि तिम्रै आमा त हुँ नि । मलाई पनि तिमिहरुलाई देखेसी मेरा शहर पसेर उतै हराएका छोरा बुहारीको झल्को आओ, तिमिहरु पनि त मेरो छोरा बुहारी नै त हौ नि । तिमिहरु पाहूना हैनो घरका जहान हौ । नरो नरो नानी ! भन्दा आमा पनि आँखा भरी आशु टिलपिल गर्नु भएको थियो । त्यत्तिकैमा बा पनि बाहिरबाट दौरा सुरवाल कोट लगाएर काने टोपीको भेषमा भित्र छिर्नु भयो । मलाइ पनि आज यिनिहरुसँअ बसेर मज्जाले बात मारम जस्तो भको हो अगाडिनै बाटामा देख्याथेँ लगालग हिँडे, म पनि चा खाँदै थिएँ दोकानाँ । बल्ल आज यो घराँ सरेसी तिमिहरु आयौ घरका जहान भरी भए जस्तो भयो बाबु ।

हामि यता गुन्द्रीमाथि कम्बल ओछ्याएर आगो ताप्दै थियौँ । बाले मोहि पार्नु भयो, नौनी निकाल्नु भयो, आमा भने झिनुवाको चामल भिजाएर त्यहि घिऊमा कसौँडीमा कोर्दै फर्काउँदै भात पकाउँदै हुनु हुन्थ्यो, बास्ना चाहि घर भरि भयो झिनुवाको चामल । गिठा, आलु, बाह्रमासे सिमि अनि सुकाएको काउली अनि मूला पनि तातो पानीमा भिजाएर ओइरिँदै हुनु हुन्थ्यो । हाम्रो घरमा जस्तो बिकासी तेल नभएर सबै परिकार घ्यू मै पाक्दथे । मकै सँग नौनी, फापरको रोटी सँग कनिका परेको घ्यू खेतालालाई पनि त्यहि सबै मा त्यहि चल्दो रैछ । बाको छेऊमा किस्न बसेको थियो । बा आमालाई उहि नै हेरबिचार गर्दथ्यो दुख बिमार पर्दा, अनि गाउँले हरुले पनि सघाउँदा रैछन ।

सबै जना खाना खान बस्यौँ आमाले सबै लाई खाना पस्केर आफू चाहिँ कुरेर बस्नु भयो,   मान्नु भएन सँगै खान । भन्दै हुनु हुन्थ्यो लाज चाहिँ नमान है केटाहाटी हो । कहिँ मेलापात जानु छैन सञ्च सुबिस्ताले खाओ है जत्ति पनि छ थपी थपी खाओ है रहे भोलि बिहान किस्ने फेरि घिऊ हालेर खट्ठै जस्तै बनाएर भुटेर खान्छ, घिऊ त एक मानै खाए पनि पचाउँछ यस्ले । सत्ते भए मलाई त आज तिमोरु लाई देखेसी तेसै अघाइछु, भन्दै खोक्दै बाहिर तिर लाग्नु भयो ।
हामि पनि तो बेलाँ मन पराएर बिहा गरेका हुम छोरा, उस्को र मेरो जात मिल्दैनथ्यो म क्षेत्रीको छोरो ऊ चाहिँ खाट्ठि बाहूनी अनि हाम्लाई गाम मा बस्न दिएनन अनि यो गाममा आएर बसेम । पाखोबारी अलिकति खेतबारी स्याहारेम । छोरा छोरी भए तिनोटा सबैका बिहा पनि भए बजार गए, उतै घर बनाएर बसे, उनिहरु आम्दैनन, हामिलाई चाहिँ आवो भन्चन तर यहिँ स्वर्ग छ हामिलाई बाबु । तिमेरुकी आमा सँग भएँ भने त आधा बिसञ्चो पनि त्यसै ठिक हुन्छ बाबु, यो मया भन्ने कुरो पनि अजिवको हुँदो रैच, यसैका खाँतिर कति दुख पाइयो उस जमनामा तर हामि डगिएन बाबु, भगवानले दिएकै छन क्यार । साँचो माया गर्ने लाई त देवताले पनि माफ गर्दा रैछन बाबु । तिमिहरुको पनि जिवन सुखि हुन्छ चिन्ता नगर, हामि आमा बा को सधैँभरी तिमिहरुलाई आशिर्वाद छ ।

पोहोर साल हामि आउँदा ऊ त्यो धन्सारमा बसेर गएको नि आमा भनेर सबै बेलिबिस्तार लगाई डल्लीले । भए भरीका सबै कुरा छताछुल्लै हुने गरि पोखीई आमाको काखमा अनि आमाले उसको पोखिएको जवानी ओभानो हुने गरि सोहोर्नु भयो । तिमिले त हिरै पाइचौ नि पोइ त, तिम्रो फुलबारीमा राम्रो गोडमेल गर्ने माली भेटाइछौ नानी, यस्ता दामलीहरु लोकमा धेरै हुन्नन । बाले आमालाई आँखा मार्नुभयो उ बेलाको जवानी झल्किने गरि बा चाहिँ आमाको आँखामा गाडिनु भयो, सभ्यताले मलाई हेरेर खिसिट्युरी गरि म चाहिँ के गरुँ गरुँ भयो अनि अगाडि अगेनामा दाउरा फुकेर मज्जाले धुवाँ उडाएर बा र आमाको मायाको गाँठो फुकाएँ मैले ।

आमाले खाना खाइवोरी सुत्ने बेलामा फेरि एक गिलास तातो दुध अनि अनदीको तातो चाम्रे पनि सालको टपरीमा राखेर ल्याइदिनु भयो । अनि धुवाँ उड्ने गरि कोलमा पेलेको तोरीको तेल सानो दियालोमा तताएर ल्याइदिनु भयो । लौ त सुताओ तिमिहरु थाकेका हौला, दुइटा सिरक अनि काम्लो पनि खप्ट्याइदिएकी छु । जाडो भयो भने भन है मलाई म त गएँ लौ भोलि बिहान फेरि गहुँ छर्नु छ खेतमा लौ लौ । सभ्यताले पनि मेरो गोडा माडिदिई त्यो भन्दा बढि ऊ थाकेकी हुनाले मैले पनि उसलाई मज्जैले मालिस गरिदिएँ नत्र फेरि आफैले बोकेर हिँड्नु पर्छ ।

दिन भरि थाकेकी डल्ली मेरो काखमा लुपुक्क लागे पछि कति छिटो निदाई पत्तै भएन । मलाई तै पनि निद्रा लागिरहेको थिएन मैले धेरै पटक उसलाई कोट्याएँ, कत्ति हलचल गरिन । थाहा पाएको बेला पनि मलाई नै च्याप्प समातेर चल्न दिन्न थि । नचल न बुढा आज म एक दम थाकिछु के ! सुत न थुपुक्क मलाई मस्त निधाएको बेलामा नगिज्याऊ है म त चिच्याएर आमालाई बोलाई दिन्छु भन्थि ।

बाहिर जँगलमा रुखहरु लाई हावाले हल्लाएको बतासको मन्द आवाज अनि खोलामा बगेको पानीको चिसो सम्झेर मनमा कता कता चिसो भयो । बाटोमा खच्चडले भिरे जस्तो गरेर कपडा भिरेको याद पनि ताजै थियो । तर अहिले ति सबैले पनि थकाई मारेका थिए म सँग त केबल डल्ली मात्र थिई । बाहिर हिँउँ नै परे पनि, चिसो बतास चले पनि म चाहिँ सभ्यताको काखमा एकदम उखुममा थिएँ । उता बा आमाको मायाको न्यानो अनि घर भित्रको न्यानो अनि सभ्यताको न्यानो अझै उसको मायाको न्यानोले म तापिएको थिएँ । बल्ल जिन्दगीको न्यानोपन अनुभव गरेको थिएँ पहिलो पटक, खै कस्तो सँयोजन भयो जिन्दगीमा त्यो दिन, मुटु थर्थराउने गोडा ठिहिर्याउने  चिसोको बिचमा पनि म जाडो भित्रको न्यानोमा थिएँ ।



No comments:

Post a Comment