एक हप्ता अगाडि देखि लगातार पानी परिरहेको थियो, यति सम्म कि हरेक दिन बिसाउँदैनथ्यो, त्यसैले धुम्म परेर बसिरहन्थ्यो । उनले म आउँदै छु भनेर फोन गरिन् मैले पनि दश एघार तिर आउनु भनेँ यत्तिकै, किनकी बिरामीपनले म समयमा उठ्नै नसक्ने भएको थिएँ, मेरा नित्य कर्म सकाउन नै करिब नौ देखि साढे नौ बजेको हुन्थ्यो । कति बेला आई पुगिछन थाहै भएन, आवाज बिनै हातमा रातो छाता लिएर ढोकामा उभिएको देखेँ अनि मैले बस भन्न पनि मेसै पाएनछु बरु उनैले मलाई आऊ भन्दैनौ भित्र भने पछि बल्ल झसङ्ग भएँ अनि हत्तपत्त आउन भित्र म त तिमिलाई हेरेको हेर्यै भएछु भने । पानी सँग दोस्ती भए जस्तो बलेनीको पछेटोमा हात पसार्दे खसिरहेको पानी मुसार्दै थिइन, शरीरमा न्यानो पार्ने कपडा पनि थिएन र पनि त्यसको कुनै वास्ता र महत्व भएको आभास नै पाइन मैले ।
घरमा त म एक्लै थिएँ, काकाको छोरो भाइ मनुज आउँथ्यो मलाई सघाउन, अनि बेलुका म सँगै बस्थ्यो । सानै भए पनि सकि नसकि मेरो सेवा गथ्र्यो । तिमिलाई गारो भयो भने कहिलेकाहिँ बिसञ्चो भयौ भने म कसरी आऊँ तिम्रोमा मलाई त हरपल तिम्रै चिन्ता भइरहन्छ पोलिरहन्छ मन यत्तिकै भनेको पनि मनमा ताजै थियो । मनुजले पनि म आज मामाघर जान्छु ल दाई हजुर आफ्नो ख्याल राख्नुस है भनेर हुईकियो ।
उस्ले थचक्क खाटमा बसेर आइ मिस यु इन इभ्री सेकेण्ड भनी म केहि पनि बोलिन टाउको हल्लाइरहेँ । बोलेका शब्द यिनै थिए र पनि हामि दुई बिचमा धेरै नै ठूलो गफगाफ भइसकेको थियो नबोलेरै । म बायाँ गोडा थिच्दै भान्सा तिर लागेँ एक्लै, प्रेसरकुकर हेरेँ खाली थियो तर जुठो अस्ति देखिको हत्तपत्त माझ्न पनि सकिएला जस्तो थिएन यसैमा अभ्यस्त थिएँ म, अरु भांडा पनि माथि भन्दा तल असरल्ल थिए । टोकरीमा ओइलाएको बन्दा, आलू भन्दा केहि रहेनछ, प्याज सकिएको त एक हप्ता अगाडि नै हो लसुन ले नै काम चलाउथ्यौँ । त्यहि बाटो म चर्पी लागेँ, फर्किदा चाहिँ उनले सबै देखेर अलिकति रिस अनि अलिकति खुशी मिसाएर अनुहारमा घोल्दै थिइन ।
उनले मलाई केहि पनि भनिनन खालि आफै भांडा मस्काउन थालिछन म पनि सघाइलाएँ दुबै जना भएर भाँडा माझ्यौँ घर सफा गर्यौ, खिर्चिमिर्चि राख्ने भाँडाहरु पनि पुछिदिईन बल्ल घर घर जस्तो भयो । उस्को हातको चुराको आवाजले घरका भित्ताहरु पनि खुशी भए र म पनि । घरमा सबै चीज काम चलाउने सतह सम्म मात्रै हुन्थ्यो । काम गरेर मलाई मिल्ने तलब भनेको जम्मा आठ हजार थियो, शरीरको अशक्तताले म अरु कमाउन सक्दिनथेँ अनि सबै कुरामा सम्झौता गर्नु पर्दथ्यो ।
आज तिमिलाई आफ्नै हातले बनाएर खुवाऊँ या तिम्रो हातले बनाएको खाऔँ भनेको आफ्नो चाला चाहिँ यस्तो छ भन्दा भन्दै अगाडि के भन्नु भनेर शब्दमै अड्किएँ म । उस्लाई मेरो सर्वश्व अबस्थाको पहिचान भयो, दुबैजना बाहिर गयौँ पसलमा खानेकुराको बन्दोबस्त भयो कोठामै खानलाई । म त सोच्दै मात्र थिएँ कतै बाहिर गएर खाऊँ तर भन्नै भ्याइन उस्ले सासै नफेरी एकाएक तारतम्य मिलाएको म टुलुटुलु हेदैैथिएँ ।
कराहीमा तरकारी बनाउँदा उस्का चुरा छमछम बज्थे, तरकारी बनाउँदा काट्दा मेरो नाक बज्थ्यो, तेरो घिरौँला जत्रो नाक नबजा घरी घरी भन्थी, म झन हाछ्यिूँ गरिदिन्थेँ अनि पिठ्यूँमा मुड्की बजार्थी र म ठुस्स पर्थेँ अनि फकाउँथी म चाहिँ उस्ले थाहा नपाउने गरि मख्ख पर्थेँ । जिवनमा पहिलो पटक दुई जना एकै ठाउँमा आफै पकाएर खाना खाएको अवसर स्मरणीय आनन्दित पल थियो । प्लेट दुइ ठाउँमा भए पनि भान्सा चाहिँ एउटै थियो घरी कस्को कता घरी कस्को कता हात हुन्थ्यो ।
दिन भरिको बसाई पछि उस्को फर्किने बेला भयो । उस्को घर यहाँ भन्दा ५ घण्टा बस चढेर पुग्नु पर्ने झन बाटोमा जाम पर्यो भने त ८ १० घण्टा त लाग्थ्यो नै । जब दिन ढल्किन थाल्यो उस्को तन पनि तुलबुलाउन थाल्यो मैले मेसै पाइन दुई थरी अक्षर पढेँ म जान्छु बस है भने जस्तो पनि लाग्थ्यो अर्को तिर हेर न मलाई बस पनि भन्दैन कस्तो पराई जस्तो गरेको हो मलाई पाहुना जस्तै ब्यबहार गर्छ अर्धाङ्गिनीलाई भने जस्तो पनि लाग्यो । म चाहिँ दोश्रो बिकल्पको नजिक थिएँ तर जिवनमा पहिलो पटक कुनै केटि मानिसको अगाडि थिएँ प्रेमिकाको अर्थमा । फोनमा अन्य सञ्चारका सञ्जालहरुमा सबै कुरा हुन्थे भित्र बाहिरका तर मैले सबै भुलेँ, पहिलो पटक केटिको अगाडि छु के भन्ने हो बस भन्दा, भन्ने कुराले कुतकुती लगाई रह्यो ।
ऊ जुरुक्क उठी बिग्रेको लतारिएको कपाल मिलाई अनि पहिरन सजसाज गरेर हिँड्न लाई तयार भई छाता उघारी र पनि म केहि बोल्न सकिरहेको थिइन पीडा मनमा असाध्य थियो ब्यक्त गर्न सकिरहेको थिइन । लाग्थ्यो आजै बाट तिमि मेरी भयौ अब मलाई छोडेर नजाऊ तर पनि म कहाँ कहाँ अड्कीरहेको थिएँ । हामि बिचमा यति सहजता अनि सरसता हुँदा हुँदै पनि मायाको अथाह सागर र दुरी नहुँदा पनि पहिलो पटक भएर हो कि म अलिकता लजाएँ उस्ले भन्दा बढि । परिस्थिति उल्टो भयो ऊ म माथि हावि भई र पनि मलाई यहि परिस्थिति प्यारो थियो ।
म त डेरामा बस्ने मानिस सामान्य भन्दा पनि अति सामान्य हालत थियो र पनि म आज कुनै अमीर भन्दा कम थिइन । मेरा कानमा उसका चुरा बजिरहन्थे, उस्का पाउजुका टिन टिन ले कता कता कुतकती लगाउँथे नबुझ्ने भाषा बोल्थे म पनि बुझेको स्वाङ पार्थेँ । बजारमा पनि पछाडि पट्टिको कोठा बाहिर पट्टि करेसाबारी अलि पर खेत त्यस भन्दा पनि पर सानो खोला अनि खोला पारी चाहिँ स–सानो जङ्गल थियो र त्यो भन्दा शितल छहारी आज पाएको थिएँ भौतिक रुपमा ।
घर भन्दा अलि पर खोला थियो खोलाको किनारमा ठूलो चौर थियो, चौरको बिच बिचमा सफा सुकिला काला ढुङ्गाहरु ठुम्सिएका थिए । उनै दुई ढुङ्गामा अडेस लगाएर आमने सामने भएर बस्यौँ । यस्तो सुन्दर ठाउँमा कहिले म सँग यसरी सँगै बसेर कुरा गर्न पाउँछु भन्ने लागेको थियो भनेर ठट्टा गर्दै थिई मैले पनि यो कुरा त मलाई आमाको पेटमा अझ त्यो भन्दा पनि पहिला थाहा थियो भने पछि हावा अलि नशालु भयो । ढुङ्गामा बस्दा माथि सरेको उस्को कमीज तल सारीदिएँ अलिकति लजाई र पनि मलाई उल्टै के सारो लजाको हाऊ केटि जस्तो यसो कुरा सुरा गर्नु ट्वाल्ल परेर हेर्छ खाउँला जस्तो ।
नजिकै बाख्रा थियो लैनो बोकेपाठी आएर लडेकै माऊ लाई लडाएर दुध चुस्दै थिए स्याँ स्याँ गर्दै अनि मैले पनि देख्यौ भोलि पर्सि तिमिलाई पनि केटाकेटीले त्यस्तै हालत त बनाउने होलान नि भन्दा बल्ल केटिको पाराले लजाउन थाली । नबोल्ने नै हो कि भन्या त एक्कै चोटिमा थला पार्ने पो रैछ त मेरो डल्ले भनेर हातका नङ्गहरु हेर्न थाली हत्केलाहरुमा आफ्ना हत्केलाहरु राखेर नाप्न थाली । कुनै कुनै स्पर्शहरु त कति भरोसा लाग्ने हुँदा रैछन कि मैले अब सँसारै जितेको छु जस्तो लाग्ने । बस्दा बस्दै दरर्र पानी प¥यो जुरुक्क उठेर घर तिर हानियौँ तर दौडिएर होइन पाइला लम्काएर मात्र ।
उस्को कुनै कपडा थिएन फेर्ने मैले मेरो टिशर्ट लगाऊ भने उसले त्यसै गरि मैले पनि अर्को ओभानो कपडा लगाएँ । फेरि पानी बिस्तारिए पछि बाहिर निस्कियौँ उहि खोलाको किनारमा । आकाश खुला थियो ताराहरु ढकमक्क थिए अनि बिचमा भर्खरै उदाउँदै गरेको जुन थियो नजिकमा कफी मार्ट थियो । काठले बनेको आराम कुर्ची तल पट्टि खोलाको किनार हातमा कफि धेरै न्यानो भएर गर्मी हुँदै गरेका मनहरु शायद चैत बैशाखको हिमाल झैँ पग्लिँदै थिए होला । हामि सन्नटामा एकान्तमा हरायौँ गफियौँ पनि । साँझ गहिरिँदै थियो जिवनमा पहिलो पटक मैले हातमा समातेर हिँड्दै थिएँ सहाराको र भरोसाको पहिलो पटक महशूस भएको थियो ।
साँझ पनि ढल्कियो रात भयो आवाजहरु पनि मसिनिँदै गए लाग्थ्यो जगतमा हामिहरु मात्र छौँ अरु सबै निदाई सके । जिवनमा सबभन्दा माया लाग्ने चिज सब भन्दा प्यारो चिज आफू सँग भएर पनि अघाउने गरि अँगाल्न सकिरहेको थिइन । अरु बेला कान्छी औँलामा पनि अटाउँछु भनेर फुईँ लगाउने मानिस यो पटक उस्को भूगोललाई नाप्नै सकिरहेको थिइन । हामि बोलिरहेका थिएनौँ र पनि आँखाहरु एकै ठाउँमा थिए अनायसै मैले उस्को निधारमा चुमिदिएँ । उस्को सौभाग्य म हुनुको टिका लाउने ठाउँमा पहिलो टिका आफैले लगाइँदिएँ अनि उस्ले पनि मलाई सानो बालक जस्तो आफ्नो काखमा टाँसेर चपक्कै पारी मैले ज्यान छोडिदिएँ त्यति बेला म त खाट बाट गर्लम्मै लडेछु ।
दाई ! सपना देख्नु भयो कि क्या हो ? भनेर मनुज हत्त पत्त मलाई उठाउन थाल्यो । हो त भाई कति मिठो सपना देखेँ । म त बिपनै भन्ठानेको सपना पो रैछ थक्क भयो बरु एक छिन देख्न पाएको भए टुप्पो मा त पुग्न पाउँथे त्यो पनि अधुरै रह्यो भाई भैगो छोड । तत्काल सभ्यतालाई सपनाको कुरा बताएँ उस्ले पनि केहि नबोलेरै आफ्नो जाजल्य माग तेस्र्याई । म पनि त त्यहि चाहन्थेँ महाराज तर मेरो त्यस्तो भाग्य कहाँ छ र एक्लै एक्लै परिस्थिति सँग जुध्ने अनि बाटो हेरेर बस्ने भन्दा बाहेक केहि छ र अरु भनेर रिस पोखी तर मायालु अक्षरले ।
तिमिलाई मायाले रुझाउने मै हुँ ओतमा तिमिलाई सुकाऊने मै हुँ
No comments:
Post a Comment