Sunday, 23 December 2012

तृष्णा


जिन्सको पाइन्ट माथि ज्यानमा टाँसिने गरि टफ लगाएकी थिइ पूजाले पहिलो पटक गाउँमा छिरेकी तै पनि नर्सको रुपमा । बेन्चमा पडाडिबाट सानो बच्चाले कट्कटिएको मुखमा मुजा पारेर उस्को मुखमा ट्वाल्ल हेरेर बसिरह्यो । बिस्कुट खान्छस? मिठि खान्छस? भनेर सोधी खान्न भनेर टाउको हल्लायो । अनि के खाने त भनेर सोध्दा उस्ले बुबु खान्छु ममी बुबु खान्छु भन्दा पूजा झन वाल्ल परि कन्ये केटि अप्ठेरो मानी एक छिन अनि घरमा जाऊ, ममी सँग बुबु माग अनि दिनु हुन्छ भन्दा ममी त फा फुइइइई!!  भन्न मात्र जानेको थियो । अनि सहि नसक्नु भएर भित्रबाट त्यहि घरकी दिदी लाई बोलाई र बुबु भन्छ दिदि मलाई त पानी पानी पार्यो यस्ले ।
 

नानी हजुरलाई थाहा नभएर हो, बिचरा यस्की आमा सानैमा स्वर्गे भई, यो त बर्षिको पनि थिएन, एउटी बुढि हजुरआमा छन, यसलाई हेर्ने तै पनि बिहान भए पछि गाउँ तिर लगाइदिएर कता हिँड्छिन मेलापात गर्न, यो बिचरा कस्का घर जान्छ कता पस्छ, मनकारीले कहिले खान दिन्छन कहिले भोकै पनि बस्छ तर सन्तकी छ । यस्को घिडघिडो चाहिँ लाम्टो चुस्ने भयो अनि ठूला छाती भका केटि मान्छे देख्यो कि यसै भन्छ बैनी । यस्लाई हप्काउन भन्दा पनि फकाएर सम्झाउनु पर्छ नत्र रोयो भने फकाउनै सकिन्न । छातिमा दुध आउनेले त एक छिन खुवाएर जान्छन अनि दिनभरी लाई हुन्छ यसलाई ज्ञानी भएर बस्छ ।
 

धेरै जसो त यस्लाई ऊ पल्तिर आरने कान्छाबा कि बुहारीले दुध खुवाउँछे, लैनो दुध मज्जाले खान्छ उस्लाई देख्यो भने त टाढैबाट दौडिन्छ, नखाई मान्दै मान्दैन भन्या, अनि उल्ले पनि आफ्नै छोराछोरी लाई जस्तो दुध खुवाएर जान्छे अनि उसलाई अरु केहि खानै पर्दैन । कहिले काहिँ त राती राती पनि यतै तिर हिँडिरहन्छ आवोई पनि घरमा नगए पनि कतै सुत्यो होला भनेर बास्ता गर्दिनन् कुन दिन बाघले झम्टेर लानीहो भनेर पिर लाउँछ बैनी मलाई त । यत्रो लामो जिन्दगी कसरी काट्छ खै यस्ले भन्दै फतफताउँदै भित्र पसिन अनि पूजाले पनि उसलाई अहिले बस म भोली आउँछु है मिठी लिएर मेरो बुबु छैन बाबु आउँदैन भनेर भनी उस्ले पनि पाको मान्छेले झैँ बुझेँ भनेर टाउको हल्लायो अनि पूजा गएको बाटो आँखा नझिम्क्याएर हेरि रह्यो ।
 

धूलोमा हिलोमा खेल्दा खेल्दै ऊ आफ्नो उमेर पनि थप्दै दियो होश पनि पाउँदै थियो । यति सानो भएर पनि अभाव मा भएर पनि कसैको चोरुँ कसैलाई छलुँ भन्ने उस्को ब्यबहारमा देखिँदैनथ्यो । गाउँका सम्पन्न परिवारका मान्छेहरु बेला बेलामा लोकल खसि काट्थे अनि त्यहिँ भुटुवा बनाएर खान्थे पनि । एक दिन ऊ पनि खसि काट्ने ठाउँमा पुग्यो अनि सबै तारतम्य हेर्यो, अरु जसरी रमाए पनि ऊ आफ्नै तालमा रमायो । अनि भुटुवा बाँड्ने बेलामा सबैलाई पातको दूनामा बाँडे उसलाई त छ भन्ने पनि बिर्से सबैले । सबैले खाएर भ्याए उसले भएजति मान्छेका आँखामा आँखा जुधाउन खोज्यो, कतै दयामाया भन्ने छ कि भनेर हेर्यो, मान्छेहरु आँखा जुध्यो कि टाउको उता घुमाउथे अनि आँखा भरी आँशु बनाएर गम्डो ओल्र्यो बाल मगजमै उसको मन यति भारी भयो कि उस्को घरमा पालेको बाख्राले बरु उसलाई माया मान्थ्यो । अनि घरमा गएर चिसो सिन्कीको तिहुन मा मकैको आटो खायो आँखा नओभाउँदै ।
 

गाउँको पल्लो कुइनेटोमा स्कूल थियो त्यस्तै दश पन्ध्र मिनेट लाग्ने पुग्नलाई । उस्लाई एक पटक पाठ पढेर सकेपछि सबै खरर्र हुन्थ्यो अनि सरले जहाँ बाट सोधे पनि ऊ भन्न सक्थ्यो । सरले कक्षामा उसलाई सोध्दैनथे खास गरि तै बिसेक कहिले काहिँ सोधे भने खरर्र भन्थ्यो तैपनि स्यावास पाउँदैनथ्यो उसको क्षमताको कदर गर्न पनि स्कूलका सरहरु हिच्कीचाउँथे अनि केहि मेसो नपाएर बहुलाउँछ यो कुन दिन भनेर हतोत्साहित पार्थे । अरु स्कूलको पोशाकमा सफा भएर आउँथे तर ऊ भने कहिले देखि नधोएको कपडामा आउँथ्यो कहिले काहिँ त लाइन बाटै घरजा भनेर हप्काउँथे तै पनि ऊ कहिले पनि स्कूल छोडेर हिँडेन । उस्का आँखा सफा पोशाक लगाएका आफ्ना सैसाथेहरुमा हुन्थे । उनिहरुले हिँडेको, बोलेको उनीहरुको सफा चट्ट परेको जिऊडाल हेरेर बस्थ्यो, गम्थ्यो आफैलाई पनि म पनि यस्तै सफा हुन पाए तर आफू तिर फर्केर हेर्दा सन्सार अझै अँध्यारो थियो । अरुले स्कूलमा दिउसो खाजा खाँदा उस्ले नजिकैको पिपलका झरेका गेडा टोकेर नास्ता गथ्र्यो अनि चट्ट परेको पोशाकको साटो उस्को त हाफ पेन्टमा पनि प्वाल परेको हुन्थ्यो ।
 

कतै मान्छेको माझमा बोल्न मात्र पायो भने कति हो कति गफ लगाउन माहिर थियो तर ऊ सोचेर मात्र कुरा गर्दथ्यो खासमा तार्किक मात्र बोल्ने मौका पायो भने उस्को मुखै रोकिन्नथ्यो । एक दिन सबैको अगाडि कचहरीमा बस्दा उस्को पोष्ट अफिस खुलेको उसलाई थाहै भएनछ । सबै उसलाई हेरेर गिल्याएर हाँसे ऊ पनि हाँस्यो । मेरै कुरामा सहि थापेर हाँसेका भनेर ऊ पनि झन गम्किँदै हाँस्न थाल्यो । म पनि मान्छेका माझमा बोल्न जान्ने भएँछु भनेर मन कति ओजिलो भयो उस्को । कचहरीमा पाका मान्छेहरु पनि थिए, उपल्ला थरकी जमुना पनि थिई अनि भुरा भुरीहरु थिए । उठ्ने बेला उसकै कक्षामा पढ्ने चन्द्रीले हेर त कुरी कुरी भनेर जिल्याए पछि सबै पारो जति पानी पानी भएर नाक लुकाएर भाग्नु पर्यो । उसलाई अहिले सम्म गफ लगाएका मन ठूलो बनाएका सबै चिजहरु सबै मेची खोलाले बगाए जस्तै भयो । आफूले आफै पनि धिक्कार्यो तै पनि एक छिन पछि तुरुन्तै मन साम्य पारिहाल्यो अनि अगाडि भएका सबै कुराहरुलाई बिर्सिन प्रयत्न गर्यो । नियतिले पनि उसलाई यस्तै बनाइदिएको थियो, यस्ता कुराहरु त जिवनमा अनगिन्ति थिए । सँझिएर पिरोलीनु भन्दा बिर्सिनु बेश भन्ने बानी परिसकेको थियो । 
 

मानिसलाई अभावले अनि तृष्णाले सधैँ प्यासी बनाइरहदो रहेछ यस्को उदाहरण हामिले उस्को जिवनमा खोजिरहेका थियौँ । पेट भर्नु मात्र अघाउनु होइन अघाउन लाई त मन पनि अघाउन पर्दो रहेछ । उस्ले धेरै देख्यो होश सम्हाले देखि आजसम्म कति कति तै पनि देख्नलाई मात्र भयो, एक पटक पनि मन अघाउने गरि मनले चाहेका कुरा खान पाएन र त सधैँ प्यासी देखिइरहन्थ्यो ऊ । एक दिनको कुरा हो एकजना आफन्त पर्नेले दिदिले उसलाई खाना खान आफ्नो घरमा बोलाउनु भयो अनि भान्सामा लगेर बस भनेर आफूचाहिँ करेसाबारीमा साग टिप्न जानुभयो । उस्को आँखा शिसामा राखेको मूलाको अचारमा पर्यो । उस्ले त्यहाँ मूलाको अचार मागेर खान सक्छु भन्ने लागेन अनि सुटुक्क चोरेर खाने निधो गर्यो । जिवनमा पहिलो पटक चोर्न हौसियो अनि कुर्चि माथी चढ्यो र चिप्लो सिसा समात्यो त्यतिबेला कुर्ची पनि हल्लियो अनि शिसा पनि भुइँमा थेचारीएर चकनाचूर भयो । दिदि दौडिँदै आउनु भयो भुइँभरी पँहेलै थियो मुलाका चाना उसलाई हेरेर गिज्याइरहेका थिए, तै पनि उहाँले गालि चाहिँ गर्नु भएन । एक छिन नबोलि बस्नु भयो अनि नडरा बाबु म गालि गर्दिन नि तँलाई, मलाई भनेको भए पनि त तलाई खान सके जति दिन्थेँ नि केहि छैन त्यस्तो अचार त म भोलि बनाइहाल्छु नि । अर्को भाँडामा पनि छ निकालिदिन्छु खानु है बाबु कुन खान्छस लप्सीको कि अमलाको भन्दा पनि उस्को जिब्रो रसाएन । भैगो दिदि म केहि पनि खान्न आज कुनै दिन खाउँला । मेरो सुद्धि के भयो के दिदि मन थाम्नै सकिन खान मन लाग्यो, यत्रो असरल्ल भयो के गरम दिदी । दिदिले पनि  हाँसेर टारिदिनु भयो र पहिलो पटक उसलाई मनमा शान्ति मिल्यो । अनि त्यहिँ खाना खाएर आफ्नो घर फर्क्यो  । उहाँ त्यहि दिदि हुनुहुन्थ्यो जस्ले सानै देखि राम्रो ब्यबहार गर्नु हुन्थ्यो उसलाई । आफ्नो वरिपरि देख्यो भने ल्याएर खानेकुरा खुवाउनु हुन्थ्यो र केटाकेटी देखिनै ऊ दिनमा एक पटक दिदिको घरमा पुगेकै हुन्थ्यो ।
 

स्कूलको वाताबरणले उस्को पढ्नु पर्छ भन्ने मनको हौसला पनि खडेरीमा खरबारी सुके जस्तै सुक्दै गयो । न उस्लाई पढ्नु पर्छ भनेर सम्झाउने कोहि थिएन । ढिलै भए पनि पढ्न शुरु गरेको उस्ले १५ बर्षको हुँदा बल्ल बल्ल सात कक्षा पढ्दा पढ्दै छोड्यो । अब त कापी किताब किन्न पनि पैसाको जोहो गर्न गारो हुन थाल्यो । अझ त्यसमा सबै परिस्थितिहरुले उसलाई स्कूल सम्म तानेर लान सकेन । उस्का गोडा स्कूल तिर भन्दा पनि बाख्रा चराउन तिर लागे । जमूनाले पनि ५ कक्षा पास गरेर ६ कक्षामा दुइ तिन महिना पढेर छोडी त्यहि भएर पनि उस्लाई स्कूल जान मन लागेन । 

समय पनि बायुपँखी घोडा जस्तै दौडिए जस्तो लाग्यो किनकी अब त ऊ पनि १९ बर्षको पनि भयो । जवानीका रङ्गहरु पनि देखिन थाले, बोली मोटो भयो, हात पाखुरा अनि पिडुँला पनि गाँठिए, जुँगाका रेखी पनि बसे शरीरको आकृति पनि बदलियो अनि बिस्तारै जवानी भरियो । कति छिटो हर्लक्कै भाको ऊ पनि, अस्ति भर्खर सम्म सानै भए जस्तो लाग्थ्यो । घरमा बाहिरफेर लगाएर हिँड्ने कपडा थिएनन, आफै ले किनेर नयाँ जुत्ता अझै लगाएको थिएन । परार साल साइला लाहुरेले पल्टन बाट ल्याएका आफ्ना जुता जडाउरी दिएकाले दुइटा जाडो फाल्यो तर उसका गोडा पनि बढे जुत्ता पनि फाटे । एक महिना भरी भारी बोकेर आफूलाई गतिला २ जोर कपडा र कपडाका जुत्ता किन्यो मेला मा जाँदा कतै चाडबाडमा लगाउन लाई ।


समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ भने जस्तै ऊ पनि उपल्ला थरकी बाहुनकी छोरी जमुनालाई एकोहोरो मन पराउँथ्यो । हुन त ऊ पनि क्षेत्रिको छोरो थियो बाहुन बाटै खसेको भन्थे । उस्का चालढालमा आफूलाई समाहित गर्न खोज्थ्यो घरी घरी । भर्खर सत्र नाघेकी जवानीले भरिएकी जमुना गोरी राम्री थिई तर ऊ पनि छ क्लास पढ्दा पढ्दै घरमा काम गर्ने कोहि नभएर पढाई  छोडेकी थिई । घाँसपात गर्न जाँदा ऊ पनि आफ्ना घरका बाख्रा चराउने निहुँमा सँगै सँगै जान्थ्यो । जमुनाले आफूलाई अप्ठेरो पर्दा उसलाई गुहार्थी नत्र सजिलो पर्दा मिठो खाँदा भने उसलाई सम्झिन्नथी दयामाया उ प्रति एक रती पनि थिएन भनौँ । अझै भनौ जमुना चाहि आफ्नो काम सकिएपछि उस्को सबै गुन एक निमेषभरमा बिर्सिदिन्थि अनि उल्टै उसलाई उल्याउन जिल्याउन बाँकि राख्दिनथी एक दम मातेकी थिई भन्दा पनि हुन्थ्यो । एकोहोरो रुपमा उसलाई मन पराउँथ्यो ऊ चाहिँ । उसलाई मन पर्ने खानेकुराहरु अझ रुखमा अप्ठेरोमा फल्ने फलहरु तिँजु, अम्बा, अमला अनि जामुन टिप्न एक निमेषमै हुर्रिन्थ्यो ऊ ज्यान फालेर तै पनि उसमा केहि असर हुदैनथ्यो । एक दिन अमलाको बोटको हाँगा भाँचिएर भुइँमा हातका भर पर्दा लछारेको निस्सा अहिले पनि छ दाग ।


एक दिन जमुनाको घरमा उस्लाई पनि काममा बोलाए, किन हो जमूनाका घरमा धेरै मानिस आएको भन्ने उसलाई थाहा थिएन । अरु दिन जस्तै ऊ गयो तर जमुनाको बिहाको टिका टाला गर्न पो रैछ । ऊ छाँगाबाट खसे झैँ भयो तेरपाएँ खरबारी सिधै हामफाल्दै तल तिर हान्नियो मानौ कुनै दैबी बिपत्तिबाट बच्न ऊ भाग्दै थियो । उसलाई बिजुलीको करेण्ट लागे जस्तै भयो झन्झनियो अनि मार हान्न लाग्दा नलाग्ने हतियारले घाऊ लागेको पशु झैँ रन्थनियो । ७ दिन पछि जमुना को बिबाहको लगन थियो, उसलाई त्यो दिन पनि बोलाए काम गर्न तर ऊ गएन, घरबाटै बाहिर निस्केन । 


उसको घरै अगाडि आएर पञ्चे बाजा अनि कानैमा जाली फुट्ने गरि उसैको झ्यालमा फर्काएर सनाई बजाउँदा उस्को ब्रम्ह सन्कियो अनि जुरुक्क उठेर बाहिर आयो अनि बजाई राखेको सनाई मुख बाट खोसेर मज्जाले ढुँगामा बजार्यो अनि ३ टुक्रा भयो अनि दिल च्यातेर मज्जाले रोयो आज सम्म नफुटेको भक्कानो फुट्यो उस्को, गावै हल्लाउने गरि रोयो शायद आजसम्म गाउँमा यस्तो गरि कोहि पनि रोएको थिएन । ऊ रुँदै गाउँका पाटा पाटा चाहार्यो बहुलाएको कुकुर जस्तो गरि तर बिहा घरको बाटो नाघेर हिँड्यो । रुँदा रुँदै घाँटी बसे पछि उस्को स्वर सुनिन छाड्यो । शान्त भयो त्यतिबेला गाउँ त्यसबेला सम्म बिबाह पनि सकिएको थियो ।
रात भरी रुँदा रुँदा लखतरान भएर उसकै घरमा पीँढीमा लम्पसार पर्यो । भोलिपल्ट बिहानै घरमा बुढिआमा अनि भेडा बाख्राको हूल छोडेर ऊ आफ्ना  कपडाहरु झोलामा कसेर, भएको दाम पैसा लिएर लिस्नोलाई ढोगेर घर छोडेर हिँड्यो । आफ्नी बुढी भएकी आमासँग जान्छु भनेर बिदा माग्न पनि सकेन माया लागेर पनि उसलाई त्यो गाउँमा बस्न मन लागेन । जुन झरेको आकाश झैँ भयो त्यो गाउँ, जता हेरे पनि त्यहि जमुना आगो भएर दन्किन्छे अनि शूल भएर बल्झिन्छे । गोजीमा धेरै पैसा नभएकाले ऊ पल्लो गाउँ गयो अनि एउटा घरमा काम माग्यो अनि अलिकति पैसा बनायो अनि बसमा लामो यात्रा गरेर निकै टाढा पुग्ने जहाँसम्म पुगिन्छ भनेर सोच्दै थियो ।
 

पर बाट जमूना हो कि होइन जस्तो देख्यो, नजिकै आए पछि चिन्यो बल्ल, कपाल जिँग्रीँग पारेकी पहिरन पनि भता भूग भएकी त्यति राम्री मान्छे कुरुप भएर आएकी थिई । उस्ले पनि के भयो जमुना भनेर सोध्न सकेन, जमूनाले पनि कहाँ हिडीस तँ भनेर सोध्न सकिन दुबै जना वाल्ल परे, एक आपसमा हेरिरहे । दुबै जना जिन्दगी देखि थाकेर ज्यूँदो लाश जस्तो भएका थिए । सोध्न खोज्थे दुबै जना बोल्न शब्द दुबैको फुट्थेन । उस्ले बिबाहकै बेला ऊ रुँदै हिँडेको सुनेकी थिई, बिहामा फन्केर गएपछि फर्केर नआएको पनि थाहा पाएकी थिई । उस्लाई थाहा थियो कमलले उसलाई मन पराउँछ भनेर तर ढिला भइसकेको थियो । जहाँ बिबाह भयो त्यो उसको चाहना थिएन, अझै दाइँजोको निहुँमा बिबाहकै रातमा घरमा कोकोहोलो मच्चियो अनि सासुले भित्राउन समेत आनाकानी गरिन अनि ऊ भागेर माइत आई, माइतमा पनि आफ्नै आमा बा ले सौतेलो ब्यबहार गरे पछि अनि ऊ पनि जिन्दगी देखि थाकेकी थिई ।
 

"मैले उताबाट फर्के पछि तिमिलाई कति खोजेँ, तिम्रा घर पनि आएँ तिमि त गाउँ छोडेर हिँडेछौ, तिम्री आमा दैलाको ठेलामा बसेर रुँदै हुनु हुन्थ्यो, मैले एक छिन सँझाएँ । मलाई थाहा त्यतिबेलै थियो कि तिमि हानिएर घरबाट भाग्यौ अनि फर्केर पनि आएनौ । मैले तिमिलाई मन पराउँथेँ या पराउँदिनथेँ तो त थाहा छैन तै पनि मैले तिमि मेरो वरीपरी भएको हेर्न चाहन्थेँ । ठिकै छ कमसेकम फेला त पर्यौ ।
 

तपाईँले पनि एक छिन मात्र ढिला भएको भए मलाई जिन्दगीभर शायद भेटन पाउनु हुने थिएन किनकी म त अब सकेजति टाढा जान लागेको थिएँ, त्यसो भए अब के गरम त नि म फर्किम भन्दै कमलले पनि आफ्नो कुरा तेस्र्यायो । तिमि जहाँ हिडेका हौ हामि अब सँगै जाम, यता फर्केर हामिलाई हेर्ने टेर्ने को छन र । जहाँ पुगिएला त्यहाँ बसम्ला जे पाइएला त्यहि खाम्ला बाँचुन्जेल बाचम्ला नत्र मर्दाका भोलिपल्ट दुइ दिन हुन्चन भन्न थाली जमुना । अनि त्यहि दिन दुइजना सुदूर पश्चिमका लागि बस चढे, जे भए पनि मनको सँसार जोडियो सुख दुख भनेको त जिवनको यथार्थ हो ।

Thursday, 29 November 2012

जिन्दगीको कुइनेटो

बतासले उसको छोटो कपाल सकिनसकी हल्लाइरेको थियो सकेसम्म म उसलाई छेकिरहेकी हुन्थेँ तर ऊ चाहिँ मेरो लामो त्यसमा पनि हावाले लछारीरहेको केशलहरको भेलमा डुबुल्की मार्दै थियो धस्सिएर र त सँसार सुन्दर थियो । आकाश आकाश जस्तो नलाग्ने धरती पनि टेक्ने ठाउँनै नभएजस्तो लाग्ने, छाति भित्र मुटूनै नभएजस्तो लाग्ने, कसैलाई सापटी दिए जस्तो कस्तो कस्तो भइरहेको थियो । रातको समय जस्तो लाग्ने जून पनि घामझैँ गरि झलमल्ल भएका, कस्तो मात्तिएको मन्द उज्यालो भूईँ, कस्तो कस्तो लागि रहेको थियो । अझै शरीरमा प्राण नभएजस्तो लाग्ने सजाएर राखिएको प्यारो गुडिया जस्तै महूशुस भइरहेको थियो ।

अनि म गिज्याउँथेँ "ए मेरो शिरिश अब तँ मायाजाल भित्र छिरीस्, तेरो त अब माछाको चाल हुने भो" भन्थेँ, गाला चिमोटीदिन्थेँ । उसलाई जति गिथोले पनि सञ्चो मानेर बसिरहन्थ्यो, उसलाई रिस उठाउन म रुमालको फुर्को घुमाउँदै मठ्ठ्याएर नाकमा घुसारीदिन्थेँ अनि ऊ निधाएको बाघ ब्युँझिए झैँ गरि झम्टिन आउँथ्यो, ले ले को मैदानमा फणिन्द्र सँग कुस्ती खेल्ने झैँ गरि मलाई केटि मान्छे हो पनि नभनी गर्नु नगर्नु शास्ती दिन्थ्यो तर मायाले अनि ज्यानमा मार नपर्ने गरि । मलाई उस्ले यस्तै कुस्ती धेरै बेर खेलिरहे हुन्थ्यो झैँ लाग्थ्यो तर कति बेर पोर उ पनि त थाकेर स्याँ स्याँ गथ्र्यो, म चाहिँ लजाएर, हराएर टोलाइरहेकी हुन्थेँ ।

खोलाको किनारमा हिँडिरहँदा मेरो खुट्टामा ठेस लाग्यो अनि म घुन्तुनिँदै अगाडि लडेँ मरेँ बाबा भन्दै, ऊ पनि हतारिएर मलाई बचाउन आएको मै माथि पसारियो । "ओए डल्ले ! तँ चाहिँ मलाई बचाउन आको कि मार्न आको ? यहाँ आफूलाई कस्तो सास्ती भइराछ झन घोडामाथि चढे झैँ गर्छ" भनेर बाझे पछि उठेर मेरो पाखुरा समातेर कम्मरमा समातेर उठायो, छिरलिएको केश मिलाईदियो, अनि पहिले अनुहारमा लागेको माटो धूलो सफा गरिदियो । लड्दाखेरी उठेको ढुङ्गो छातिमा परेछ र सास फेर्न पनि एक छिन त कति गारो भयो । मैले यहाँ छातिमा लाग्यो बेस्सरी भनेँ उस्ले सुम्सुम्याएर मायाको मल्हम दलिदियो, आधि पिडा अनि आधि रोग त मलाई उस्को मायाले उस्को उपस्थितिले नै सञ्चो हुन्थ्यो ।

"सृष्टि खै देखाऊ कतै घाउ लाग्यो कि भित्र पट्टि ?" भनेर लाज पचाउन थाल्यो, "नकचरा बन्ठे हि ! हि !! हि !!! सुद्धि पनि कता हरायो तिम्रो ? यो मूलबाटोमा कसैले कपडा खोल्छन ? सकिन बा ! यस्तो बुढो छ कसरी पाल्ला मलाई ! दुइ पैसाको सुद्धि छैन " भन्थेँ मैले । अनि ऊ अलिअलि ठुस्किन्थ्यो म झन निहूँ खोज्न थाल्थेँ, साच्चै म ऊ रिसाएको अनि मैले फकाउन अनि त्यसपछि खुशीहुन मन लाग्थ्यो ।

"अझ त्यसमाथि नि माथि, उता ढुङ्गामा परेर मर्नु परेका बेला मै माथि घोडा चढेर हट हट गर्छ बालख जस्तो, त्यसको जात जनाएको होला नि लाज नभको कहिँको !" भन्थेँ । झन रातो पिरो हुन्थ्यो अनि ऊ रिसाउँदा नाकका छुसी हल्लिने गरि छिटो छिटो सास फेथ्र्यो अनि मलाई अब बाली पाक्न थालेछ रिसाउने खेतिको भन्ने जान्दथेँ अनि उसलाई फकाउन थाल्थेँ ।

पछाडि पनि केहि नदेखिने अगाडि पनि केहि नदेखिने, देखिने त केबल कन्दमूलका झ्याङ्गहरु, बनकेराका पाखाहरु, ऐँसेलु घारी अनि गजुल्टापरेका बाटो फनक्क पार्ने खाल्डाहरु । तल खोलाको पानी एकसरो सुसाइरहेको आवाजमा हाम्रा गफहरु पनि फितला हुन्थे घरी घरी । पानी खाँदै कन्दमूल खाँदै गिल्याउँदै जिल्लीँदै हिड्दा हामिलाई नकुनै जनावरको डर थियो न कुनै चिजको । हिँड्दा हिँड्दा यति थाकियो कि खुट्टामा कैँडा लागेर पिँडौलाको, तिघ्राको मासूको ढिक्को नै भक्कु पाउरोटी जस्तो खुट्टाबाट छुट्टिएजस्तो हुन्थ्यो घरी घरी ।

"ओए डल्लु, हेरन मेरो खुट्टाको मासु नै छुट्टिएर भक्कु पाउरोटी जस्तो भयो, कि मलाई बोक नत्र म त अब हिँड्न सक्दिन के , कस्तो दुख्या छ आफूलाई" भन्दै थिएँ । "पख न बेलुका म मालिस गरिदिन्छु नि ! कमसेकम बस्ने ठाउँ सम्म त पुग्नु पर्यो नि भुण्टी । तँ आफै हेर्दा नै भक्कु जस्तै छस अनि छुट्टिन्छ नि !" भन्दै गललल्ल गरेर पाखो हल्लाउन थाल्यो भुण्टेले ।

"पखन तँलाई ! मलाई हेपेर गिज्याएको हैन तैँले ? मेरो पनि पालो आउँछ के  भोलि ! मेरो डल्ली भन्दै आउन पर्ला नि ! ठिकै छ ! अहिले सके जति हास न तिमि म चाहिँ रोएर बस्नु ?

"तेरो फुस्कन लागेको पाउरोटी कसरी ल्याउनु पिँडुलाको मासु भनेर यसो सोचिरा नि!  हे ! हे !!

"अझै हाँस्छस चुप !!!" भनेर म पनि कराएँ अनि एक छिन चुपलाग्यो । मेरो रुफस्याक पनि आफ्नो झोला माथि खप्ट्याएर पसिना पुछ्दै नबोलि हिँड्न थाल्यो । हामि त नबोलि एक घण्टा हिँडेछौँ, मत हिँड्नै नसक्ने गरि फत्रक्कै भएँ अनि चौतारी मा थचक्क बसेँ तर शिरिश भने मलाई छोडेर अलि अगाडि गइकन कुइनेटोले छेलिइसकेको थियो ।

नेपथ्यबाट सृष्टि भन्ने आवाज आयो, मलाई लाग्यो उस्लाई के अप्ठ्यारोमा पर्यो अनि म पनि सबै भुलेर दौडिँदै गएँ, अनि म "शिरिश डल्ले कता छौ भन त" भन्दै चिच्याउँदै थिएँ उ त नजिइकै बाट भए जस्तो कता कता बाट कराएको सुनियो झन म अत्तालिएँ, ओए बुढा कहाँ छौ तिमि भन त भन्दै थिएँ, "यता थोरै तल हेर त म त सिस्नो भएको खाल्डोमा खसेँ, ऐइया ! आथ्थाथा !! छिटो तान न बुढि म त मर्ने भएँ " भन्दै थियो अनि मैले पनि हतारिँदै उसलाई मैले बेरेको शल पुग्न दिएँ र माथि आयो तर हात र गाला रातै बनाएर सहिनसक्नु भयो मलाई उसलाई मेरो काखमा लुपुक्क टाँसे ।

"तलाई डल्ले अगाडि मन्किँदै हिँड्याथिस नि, मलाई छोडेर हिँड्यौ भने यस्तै हुन्छ, इश्वरले तिमिलाई पाठ सिकाका हुन केहि हुन्न ल !"

"नबोल न डल्ली तँलाई मैले घुर्कीपो लाको हो इश्वरले हैन, तिम्रै बारेमा सोचिहिँड्दा खाल्डो पनि नदेखेर हो के !" भन्दा दुबैजना गललल्ल हास्यो सबै कुरा अब मैदा झैँ मसिना भए ।

एक छिन सुस्ताएर चौतारीमा बसिरहँदा धेरैबेरमा दाउरा लिएर आमाछोरी आए अनि बासको बारेमा सोध्दा "खै बाबु यता त बास पाइँदैन कता बस्छौ र हाम्रो पनि ओडारको बास छ तिमिहरुलाई कसरी बस भन्नु बरु मान्छे नभएनी उता अल्किति पर काठको गोठ छ कहिलेकाहिँ त आउँछन बस्न । नभएनी दाउरा छन अलि अलि अन्नपात पनि होला भाँडा कुँडा छन आँफै पकाएर खाओ दुइजना रचौ । "

काठको घर, डुब्न लागेको घाम, खोलाको सिरेटोको कानै छेऊबाट बग्ने सिर्सिरे बतासले  केश फहराइरहेको थियो । शिरिशले आगो बालिसकेको थियो घर अगाडि आँगनमा साना ठुला दाउरा मिलाएर । म घरी भित्र घरी बाहिर गरिरहन्थेँ । भित्र ओदानमा मैले मकै र भट्ट भुट्न तयारी गर्दै थिएँ । साथमा भएको टर्च लाइट बालेर बाहिर करेसाबारीमा म साग टिप्दै थिएँ । कति मज्जा, उता बजारमा एक मुठा सागलाई कम्तीमा ३० रुपैयाँ तिर्नु पर्छ यहाँ सित्तिमा त्यहि पनि ताजा अनि काँच्चै खाउँ जस्तो । गोठमै भएको मरमसला बटुलेर ढुङ्गाको सिलौटामा पिसेँ अनि मकै र भट्ट, सागको सब्जी अनि लोकल गोलभेँडा आगोमा पोलेर त्यसमा जीरे खुर्सानी नून अनि टिमूर राखेर ट्वाक्क बनाएँ ।

"मनभरी यति माया भएर पनि मैले किन निकाल्न नसकेको होला मेरो बुढी भन त, खै आजसम्म त यता हिँड्या उता हिँड्यो केहि कुराको मतलब थिएन, के गर्यो तिमिले मलाई मेरो त मुटुको डल्लो नै बाहिर छ पो जस्तो लाग्न थाल्यो सानु, तँ ढ्याउँसे काली ।"

"अन्त बुढा मैले भन्नेकुरै तिमिले पहिला भन्यौ अब के उत्तर दिउँ तिमिलाई म तिमि आफै खोज मेरो मन भित्र तिम्रो उत्तर अब के बाँकि छ र ।" आगो पनि दन्किएर सकियो मुढामा राप र त झन गाढिँदै थियो, रात निकै परेछ त्यसैले हामि गोठको धन्सारमा सुत्नका लागि गयौँ । मालिस गर्नका लागि तेल नभए पनि मेरो गोडामा, तिघ्रामा शिरीशले मालिस गरिदियो, मैले पनि उस्को पैँचो तिरेँ । दिनभरीको थकानले अनि जाडोले पनि हामि लुपुक्क सुत्यौँ उत्निखेरै निधाइएछ, भोलिपल्ट बिहान उज्यालो हुन्जेल सुतिएछ, चराहरुको चिरबीरले हामिलाई ब्युँझायो अनि उठेर बेलुकाको असरल्ल मिलाएर हामि फेरि त्यहाँ बाट हिड्यौँ ।

मैले देखेको सपनामा, मैले सोचेको सँसारमा मैले शिरीशलाई पाएँ, उसको बिगत प्रति उसको अतित प्रति अनि उस्को परिबेश प्रति मेरो कुनै पूर्वाग्रह छैन । मैले सपनामा चिताउँदा, मनले मिस गर्दा टुप्लुक्क आइपुग्छ, जुन माध्यमबाट जसरी भए पनि । मैले सोचेकी थिएँ यस्तो कसरी सँभव हुन्छ तर उस्ले सबै सँभव तुल्याई दिएको छ, सँसारलाई अनि दुरीलाई सुगम बनाईदिएको छ । मलाई उस्को मायाप्रति को बिश्वास प्रगाढ छ, बास्तवमा म उसैका लागि जन्मिएकी हुँ, उसैकी भएर रहने छु अनन्तकालसम्म र जुनी जुनी सम्म पनि ।

Saturday, 10 November 2012

यात्रा, सहयात्रा अनि जिवनयात्रा


मुम्वर्ईबाट गोवा जाने बातानुकूलित रेल यात्राको क्याबिनमा सवारीले द्रुत गतिमा भए पनि मन्द मन्द हल्लाइरहेको थियो । अगाडि टेबलभरी भएका सामग्रीहरु छरपष्ट थिए, मन चाहिँ टेबल तिर भन्दा पनि सभ्यता तिर नै थियो किनकी यो नै मेरो सभ्यता सँग प्राबिधिक रुपमा पहिलो भेट त्यसमा पनि पहिलो यात्रा थियो । बन्द क्याबिनमा भएकाले पनि सजिलो भयो सभ्यता सँग भलाकुसारी गर्न ।

ओइ काली नसुत न उठ भन्थेँ मैले उसले चाहि आफ्नै घरको बिस्तरामा सुते जस्तो मलाई एक छिन नउठाउनुस न कति कराको हजुर पनि, हजुर पनि सुत्नुस यति राती छ, हजुर पनि आउनुस न सुत्नुस भन्थी । ज्यान मडारेर फर्किँदा पृथ्वीनै कोल्टे फेरे जस्तो लाग्ने, उस्ले भने जस्तै बाहिर चकमन्न रात थियो अनि रेलको गति सँगै बत्तिहरु फुत्त फत्त भागिरहन्थे बिपरित दिशातिर मिलिक्क मिलिक्क गर्दै । मलाई उसलाई घर बनाउने गिलो माटो मुछे जस्तै गिथोलीरहुँ जस्तै हुन्थ्यो घरी घरी चलाइदिन्थेँ अनि उसले हात च्याप्प समातेर आफुतिर खिच्थी अनि मलाई पनि सुत्न करै लाग्थ्यो ।

धेरै बेर गुडेपछि रेलगाडि अब त गोवा आउने बेला पनि धेरै बाँकि थिएन अनि पूर्वबाट लालीकिरणहरु उचालिँदै थिए बिहानीलाई रातो पार्दै तर म रातभर तीनभागमा एक भाग मात्र निदाएँ सभ्यता भने दुइ भाग त निदाईहोला । मैले गुड मर्निङ्ग म्याडम जरा उठो भनेर हिन्दी पनि मिसाई टोपलेँ अनि आँखा बल्ल बल्ल खोल्दै अलि अलि हाँसो अलि अलि लाज अनि मायालु अनुहार लिएर जुरुक्क उठेर मेरो काखमा लिपिक्क टाँसिई । मेरो पति परमेश्वर म त हजुरको साथ पाए पछि यति ढुक्क भएँ कि बल्ल जिवनमा पहिलो पटक शान्ति मिल्यो अनि मज्जाले निदाएँ । मनले खोजेको खुशी अनि सुख मिले पछि मन यति शितलो भयो कि कसरी भनुँ मैले हजुरलाई भनेर गालामा चिमोटी ।

सभ्यता र मेरो भेट अनि सँयोग पनि अनौठो छ जुन म अझै पनि रहस्य मै राख्न चाहेँ । जुन कैयौँ बर्ष पछि मात्र खोल्ने छौँ हामि । हाम्रो जिवनको सबै यथार्थ अहिल्यै खुल्यो भने त के मतलब भयो र जस्तै हामि कपडा लगाउँछौ हाम्रा केहि कुराहरु लुकाउँछौ, केहि कुरा देखाउँछौ, त्यहि लुकाउने र देखाउनेको असल सँयोजन नै ब्यक्तित्व हो भन्ने लाग्दछ । सभ्यता केटि मान्छे हो म भन्दा उमेरमा पनि केहि बर्षहरुले सानी छ र पनि केहि कुराहरुमा म भन्दा पनि समझदार छ । समाज प्रति हेर्ने दृष्टिकोण उसको प्रष्ट छ, मेरो स्थान र उस्को जिवनमा मेरो भूमिका प्रति उ सजग अनि उत्तरदायि पनि छ ।

मैले उसले चाल नपाउने गरि उसको सिउँदोमा मिठो चुम्बन गरे, अनि उ पनि मेरो काखमा लुपुक्क टाँसिई फेरि लाग्दथ्यो उसले सास पनि फेरेकै छैन । कति एकाग्र हुन सकेकी अनि कति ध्यान खिच्न सकेकी उस्ले । मैले उस्को नाकमा ओठमा हातले छामेँ र पनि त्यति चाल पाइन, अनि, ओइ डल्ली के भो मनकुन्दरी सास फेर्न पनि बिर्सीयौ कि क्या हो तिमिले?  भन्दा भन्दै मेरो छातीमा गहिरो चुम्बन गरिदिई एउटा जिल्ला नै तातो भयो । कति नशालु उस्को माया, कत्रो उर्जा मायामा, मनमा आँधी नै चल्ने गरि उस्ले खिचेको हरकत म आफ्नै शरिर सँग हार्थेँ घरी घरी बरु उस्को साम्राज्य चाहिँ मेरो कब्जामा थियो यस्तै हुँदो रैछ मायामा भन्ने लाग्यो । एक अर्काको साम्राज्य फेरिँदो रैछ, अधिकार र क्षेत्र फेरिँदो रैछ ।

सूर्यको किरण पनि बिस्कुन सुकाए जस्तै भुइँभरी भयो अनि त्यसैमाथि चढ्दै चढ्दै रेलगाडी पनि गोवाको स्टेशनमा रोकियो । मान्छेहरु झुम्मिन थाले ब्यागहरु क्यारी गर्नका लागि तछाडमछाड गर्दै थिए । सभ्यताले रुफस्याक झोला अनि मैले अलि ठूलो ट्रलीवाला ब्याग अनि साथमा आफ्नो ल्यापटप ब्याग थियो । एक हप्ताको यात्रामा बन्दोबस्तीका सामान जोहो गर्नै पर्यो । रेलबाट बाहिर निस्किँदा चाहिँ एकदम ख्याल गर्नु पर्ने पकेटमार देखि अनि सामान कहिँ छोड्न नहुने भन्ने साथीहरुबाट सुनेको ठिकै जस्तो पनि लाग्यो ।

मैले अटोरिक्शा लाई जरा मिडियम टाइपके होटलकी ओर ले चलो भाई भनेर हिन्दीमै टोपलेँ अनि उस्ले एक सय पचास आइ सि मा मिलेनियम रोडमा सेञ्चुरी होटल मार्ट अगाडि लगिदियो । ब्याग बोकेर कता जानु भनेर हामि पनि त्यहिँ छिर्यौ र एउटा डबलबेड रुममा बस्यौँ । झोलाहरु बिसाए पछि बल्ल हल्का भयो गोवा आए जस्तो भयो नत्रत भरिया भन्दा बढि भइएन । ओइ डल्ली गरुङ्गो झोला त मलाई बोकाइहालिस बरु तिमि पनि त्यहि झोला माथि बुइ चढेको भए म बोकि हाल्थेँ नि भनेर एक मस्का दिई हालेँ । हजुर पनि सबै झोला बोकेर मेरो बुई चढेको भए त भइहाल्थ्यो नि भनेर खितित्त गर्न थाली अनि दुबै जना हाँस्यौ र लपक्क टाँसियौँ ।

यहाँ त बीचमा विकनी मात्र लगाएर हिड्छन केटीहरु, सनबाथ गर्छन रोमान्स गर्छन कि तिमि र पनि त्यसै गर्ने हो र भनेर जिस्क्याएँ, अनि उस्ले पनि अलिकति लाजले अलिकति नशालु नजरले हजुरलाई मैले बिकनी लगाएको हेर्न उता किनारमै जानु पर्छ भन्ने छ र, छि बाहिर त म त्यस्तो लाउदिन लाज लाग्छ मलाई जे जे हेर्ने हो यहिँ हो हजुरको बीच भने पनि जे भने पनि हे हे हे हे मेरो कालु महाराज पति परमेश्वर । अब हजुर त मात्तिन त के पात्तिन पनि थाल्नु भएछ नि मेरो बुढो, नमरे बाँचे यस्तो दिन अनि यस्तो खुशी पनि देख्न पाइँदो रहेछ त ।

तिम्रो मायाका छालहरु जत्तिका यि समुन्द्रका छालहरु छैनन आँधिनै भएर आए पनि शायद, तर तिम्रो ममताले हरपल मेरो हृदयमा हानीरहेको हुन्छ । कुन समयले तँ सँग भेट भयो डल्ली म त यसैमा लुटुपुटु भएँ यार हारेँ म आफ्नो जिवनदेखि तिमिलाई जित्दा खेरी । हि हि हि गर्दै मलाई चोर औँलाले नाकैमा ठोक्कीने गरि जाली फटाहा मान्छे अनि मलाई जितेर पनि हारिन्छ कतै? कुरा गर्ने पनि दुइ पैसाको ढङ्ग भए पो हुन्छ, केटा मान्छे भएर पनि केटी मान्छे जस्तो हाऊ तपाई त  शँकै लाग्छ यार केटा हो कि केटि हो भनेर हि हि हि ।

अब के जाँच्न बाँकि छ र डल्ली म केटा हो कि हैन भनेर, नाटक नगर है धेरै फेरि बाटैमा हे हे हे, म त खतरा छु नि यस्तो कुरामा, अब मेरो नया अबतार देखाउन पर्ला जस्तो छ मेरो कालु लाई । भो भो हनुमान कै अबतार लिएर आए पनि अन्तिममा म्याउँ गर्ने होला भनेर फेरि पनि खिसीट्युरी गर्न थाली । यो काली सँग मैले बोलेर नसक्ने भएँ भन्दै एक छिन म पनि नबोली हिँडे उ पनि जुत्ता घिसार्दै मेरो ध्यान खिच्दै थिई म देखो नदेखो गर्दै थिएँ ।

ए मेरो पति परमेश्वर हामि यहाँ रमाइलो गर्न आएको हो, सबैलाई भुलेर दुइजना मात्र रमाउन आएको हो, मैले मायाले जिस्क्याएको हो नि, मलाई हजुरलाई सताउन मन लाग्छ के त्यहि भएर हो नि, मैले हजुरलाई नसताएर कसलाई सताउनु को सँग जिस्कनु त मेरो नानु । हाँस्यो नानु हाँस्यो ऊ ऊ हि हि भन्दै गालामा ओठको एक चड्कन खाइहालेँ अनि म पनि साम्य भएँ पानी पानी भएँ उस्को अगाडि अनि मुसुक्क हाँसेर काखमा टाँस्नु बाहेक म सँग बिकल्पनै भएन ।

घाम भर्खर अस्ताउन समुन्द्रको पानीको माथी रातो भएर बसिसकेको थियो, साँझमा सिरसिर बतास छालहरुसँगै किनारमा पसारिँदै थियो । घाम पनि हेर्दा हेर्दै डुब्यो अनि वरिपरिका बत्तिहरुको चमक बढ्न थाल्यो । मैले आज सभ्यताको मुहारमा निकै फरक लालि उदाएको देखेँ, शायद अरु सबै दिन भन्दा फरक थिइ । ऊ बल्ल फक्रेकी थिइ, फुल्न लाई तिन पात बाहिर निकालेर बसेको थिई भमराको अगाडी । भमरा चाहिँ उसको भरिएको रसमा मस्त हुँदै थिएँ । के हुँदैछ, किन यस्तो नशा आफैलाई डुबाउने गरि यति यति पानी गँगै रानी भन्दै टाउको भन्दा पनि माथि जाँदै छ भन्ने पनि मलाई याद थिएन ।

मलाई म आफू र सभ्यता लाई सभ्यता हो भन्ने पनि बिर्सिने गरि हामि हराइ सकेका थियौँ । जिवनको पहिलो यात्रा सहयात्रा अनि त्यस पछि जिवनयात्राको साइत मा थियौँ हामि । कैयौँ बर्षदेखिका खुल्दुली अनि एक आपसका रहस्यहरु खोतल्दै थियौँ हामि । गोवाको वीचमा अरु धेरै जोडिहरु पनि पच्ने नपच्ने सबै हर्कत गर्दै थिए त्यसको पनि हामिलाई न कुनै मतलब थियो न कुनै लाज थियो । हामि पनि जवानीको रसमा महमा डुबेको मौरी जस्तै भएका थियौँ, त्यसमाथि झन वाइनले अलि अलि रँग अनि छालहरु उचाल्दै थियो । हामिहरु रेष्टुरेण्टबाट समुन्द्रको किनारमा गयौँ छालहरु सँग लुकामारी खेल्न, जिवन सँग लुकामारी खेल्न अनि जिवनको अबिस्मरणिय इतिहास कोर्न, मनहरु मिलाउन अनि मायाहरु मिसाउन अरु सबै सँसार भुलेर ।

Monday, 5 November 2012

खुशी एक पलका लागि

चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै गरेको समाचार थियो । समाचारमा नासालाई उद्धृत गर्दै त्यस ग्रहको गतिअनुसार सोह्र दिनमा पृथ्वीसम्म आइपुग्ने र ठोक्किने बताइँदै थियो। समाचारले उनको दिमाग नै एकाग्र रुपमा तान्यो । टेबुलको कफी समेत खान बिर्सिएर समाचारमा आँखा लगाइरहे । उनको दिमागले विविध कुरा सोच्न थाल्यो। अर्को ग्रह आएर पृथ्वीमा ठोक्किएर सबै खत्तम हुने विनाश हुन सक्ने कल्पनाले उनी चिन्तित पनि भए।

त्यत्तिकैमा उनले सुप्रियालाई सम्झिए । घडी हेरे, दिउँसोको ११ बजेर सत्र मिनेट गएको रहेछ । सुप्रियाको प्लेन ल्याण्ड भैसके होला भन्ने सोचेर मोवाइल थिचे। अर्को ध्यान भने टिभीमा आइरहेको समाचारतिर थियो । 

सुप्रियाले मोवाइलमा 'तिम्रो फ्लाइट त भोलि आइपुग्ने भनेको आजै आइसकेको हो र?' भनेर सोधिन् । चिन्तामणिले आफ्नो साथीले अलि सञ्चो नभएको बताएर 'मेरो प्लाइट उसले ल्याउने भनेकोले उसको फ्लाइट मैले ल्याएकोले एकछिनअघि म घरमा आइपुगेको हुँ' –भने । 'सिड्नीबाट उड्ने बेला हत्तपत्त भएकोले तिमीलाई पहिले खवर गर्न पाइँन भन्दै 'छिटो घर आऊ' भनेर फोन सहमतिमा दुबैले काटे। सुप्रियाले पनि आफ्नो अर्को फ्लाइटको रोटामा सही धस्क्याएर सीधै घर हुत्तिइन् । 

टिभीले त्यही ग्रहको विषयमा समाचार केन्द्रित गर्दै विभिन्न विद्वान, समाजशास्त्री र खगोलशास्त्रीहरुको अन्तरवार्ता दिन थाल्यो । चिन्तामणि भने ब्रेकफास्ट खान समेत बिर्सेर समाचार हेर्दै गरे । वैज्ञानिकहरु र खगोलशास्त्रीहरुले पृथ्वीको र मानव समाजको आयू १६ दिन मात्र बचेको र त्यो ग्रह पृथ्वीमा ठोक्किएर सबै ध्वस्त हुने तर्क बताउँदै थिए। राजनीतिज्ञहरु पृथ्वीलाई बचाउँने विकल्प अपनाउन विभिन्न प्रयास गर्न मिटिङ हुँदैगरेको र वैज्ञानिकहरुले ग्रहलाई पृथ्वीमा ठोक्किन नदिने वाचा गर्दै जनतालाई धैर्य हुन आग्रह गर्दै सान्त्वना दिँदै थिए। तर उनीहरुका अनुहारले १६ दिन मात्र आयू रहेको थाहा पाएर उनीहरु आफै पनि अत्ताल्लिएको देखाइरहेको थियो । 

त्यत्तिकैमा मोवाइलको घण्टी बज्यो। स्कि्रनमा सुप्रियाको फोटो देखियो र फोन उठाउँदै 'अँ .....भन डार्लिङ' भन्दै चिन्तामणिले कुरा सुरु गरे । उताबाट सुप्रियाले आफूले पनि ब्रेकफास्ट नखाएकोले चिन्ताले पनि खाने भए बाटोमा कतैबाट लिएर आउने बताएपछि बल्ल चिन्ताले आफ्नो भोक अनुभव गर्दै हुन्छ भन्ने सहमतिमा सुप्रियालाई कतैबाट ब्रेकफास्ट लिएर घर आउन आग्रह गरे । उनको मनमा त्यो सन्सनीपूर्ण समाचार सुप्रियालाई बताउँजस्तो लाग्यो । तर सुप्रिया बेकारमा आत्तिन्छिन् भनेर तत्काल नभन्ने विचारले केही भनेनन् । घरमा आएपछि बताउने सोचेर फोन काटे । 

समाचारमा विश्लेषण गर्न स्टुडियो ल्याइएका कतिपय ब्यक्तिले भने पृथ्वी ध्वस्त हुने कुरा वाहियात भएको र अमेरिका र यूरोपतिरको आर्थिक संकटलाई नयाँ मोड दिन यो हल्ला सुनियोजित रहेको तर्क गर्दै थिए । अर्काथरिले कन्स्पिरेसी थ्योरीमा रनभुल्ल पर्ने होइन वैज्ञानिकहरुले अन्तरिक्षमै बम हानेर त्यो ग्रहको मार्ग परिवर्तन गर्नुपर्ने बताउँदै थिए । अर्काथरि विशेषज्ञले वैज्ञानिकहरुले केही उपाय लगाएर आकासमै ध्वस्त पार्न सक्ने वा बाटो अन्तै मोडेर पृथ्वीमा ठोक्किन नदिने उपाय अपनाउन सक्ने स्थिति भएको भए जनताहरु आत्तिने त्यस्तो समाचार नासाले दिने नै थिएन भनेर तर्क प्रस्तुत गरे । पृथ्वी र मानिसको आयू अब १६ दिन मात्र भएको बताउँदैगर्दा ढोका घरक्क गरेको आवाजले चिन्तामणि झस्किए। झस्किँदै ढोकातिर हेर्दा सुप्रिया रहिछन्। चिन्ता झस्किएको देखेर सुप्रिया पनि अचम्म पर्दै 'तिमीलाई के भयो? किन यसरी झस्केको?' भनेर सोधिन्। 

'हेर न .... समाचारमा सेन्टिमेन्ट भएको रहेछु, तिमीले ढोका खोल्दा झस्किएँ' उनले भने। 'के त्यस्तो समाचार छ र ? तिमी त्यस्तो सेन्टिमेन्ट भएको?' सुप्रियाले सोधिन्।

'टिभीतिर इसारा गर्दै एउटा प्लानेट पृथ्वीमा ठोक्किन आउँदै छ भनेर नासाले भनेको छ, अब १६ दिनमा ठोकिन्छ रे' चिन्ताले भने । सुप्रियाले प्रतिक्रिया दिइन् 'त्यसो भए सोह्र दिनसम्म खाने पिउने मस्ती गर्ने, प्लेन उडाउन पनि नजाने क्या मस्ती !' 

चिन्तालाई सुप्रियाको ठट्यौली कुरा चित्त बुझेन। उनले भने- 'ठट्टा होइन साँच्चै हो, अब १६ दिनमा सबै खत्तम ।' 

आठ महिनाअघि मात्र चिन्तामणिसँग विवाह गरेकी पाइलट सुप्रियाले आफ्नो पाइलट श्रीमान साँच्चै चिन्तित भएको देखेर सिरियस भइन्। ब्रेकफास्टको 'टेक–अवे' कफी टेबुलमा राख्दै चिन्ताको काखमा बसेर चिन्तामणिको चिन्ता भगाउन थालिन् । एकछिन दुवै जना लडीबुडी गरे त्यहीँ सोफामा । अलि चिसो भएको चिन्तामणिको कफी देखेर सुप्रियाले चिन्तालाई जिस्काउँदै ब्रेकफास्ट प्लेटमा खन्याएपछि दुबैले खाए। ब्रेकफास्ट खाँदै बीच–बीचमा कीस खाँदै पृथ्वी ध्वस्त हुन लागेको चिन्ता बिर्सने असफल प्रयासमा दुवैजना लागे । टिभीमा समाचार आइरह्यो । सबै विषय त्यही ग्रहको वरिपरि नै घेरिएको थियो । १६ दिनमा सबै खत्तम हुन्छ भनेर चिन्तित भएर झोक्रिएका थिए कतिपय मान्छेहरु । त्यही झोक्रिएका मान्छेलाई पनि टिभीले देखाइरहेको थियो । कतिपय भने अब १६ दिन त छ नि भन्दै रमाइलो गर्न पार्टी गर्ने, नाच्ने गर्दैगरेको दृष्य टिभीमा देखाइँदै थियो । 

बीचबीचमा पत्रकारहरुले आम नागरिक बाटोमा हिँड्दै गरेका बटुवाहरु, ट्राफिक जाममा रोकिएका ड्राइभरहरुसँग १६ दिनमा पृथ्वी ध्वस्त हुने समाचारका विषयमा प्रतिक्रिया लिँदै थिए । 

यत्तिकैमा ल्याण्डलाइन फोनको घन्टी बज्यो। चिन्तामणिले फोन उठाउँदा कामबाट रोटा मिलाउने म्यानेजरको फोन रहेछ। म्यानेजरले अचानक प्लेनको सबै टिकट बुक भएकोले भोलिपल्टको एक्स्ट्रा फ्लाइट चिन्तामणिले उडाउन आग्रह गर्दै रोटा मिलाउन अनुमति माग्यो । तर चिन्तामणिले उसको आग्रह ठाडै अस्वीकार गरिदिए। उसलाई उत्तर दिँदा उनले झर्केर उत्तर दिएको पनि उनलाई होस भएन। 'संसार ध्वस्त हुन लाग्यो भनेर अरुलाई घर फर्कन हतार भएको छ त मलाई पनि बाँकी दिन मेरी प्यारी श्रीमतीसँग बस्ने मन छ, प्लेन उडाउने त्यो पनि एक्स्ट्रा–फ्लाइट उडाउन..., दोहोर्‍याएर फोन नगर्नु' भन्दै उनले फोन काटिदिए। 

सुप्रियालाई पनि त्यो समाचारले अत्याएको त थियो तर चिन्तामणिलाई कसरी सम्हाल्ने भन्नेमा उनको मन केन्द्रित भयो। उनले अनेक ठट्टा गर्दै उनलाई भुलाउने प्रयास गरिन् । आखिर सोह्र दिन त बाँकी छ नि भन्दै समुन्द्र किनारामा घुम्न जान चिन्तालाई मनाएपछि दुबै जना निस्किए । पहिला त फ्लाइट उडाएर आजै आएको भन्दै टालटुल पार्न प्रयास गरे चिन्ताले । तर सुप्रियाले धेरै कर गरेपछि आफूलाई पनि मन भुलाउन बाहिर निस्के ठीक होला भन्दै बाहिर निस्कन तयार भए । ग्यारेजबाट सेतो विएमडब्लु–कार निकालेर सुप्रियाले नै ड्राइभ गर्न थालिन् । समुन्द्र किनारको एउटा रेष्टुरेन्टमा पसेर दुबैले ड्रिङ्क्स खान थाले । जताततै चर्चा त्यही बाँकी सोह्र दिनको थियो । रेष्टुरेन्टमा काम गर्ने सेफ र वेटर लगायतका मान्छेहरु पैसा अब किन कमाउनु पर्‍यो भन्दै मस्तीमा डुब्न थालेकोले मालिक आफै भ्याईनभ्याई ब्यापारमा मस्त भएर ग्राहकको सेवा गर्दै थिए । चिन्ता र सुप्रियाका छेवैका टेबुलमा बसेका जोडीले यी मालिकहरुलाई १६ दिन बाँकी हुँदा पनि पैसा थुपार्न हतार छ भन्दै ब्यङग्य गर्दै थिए। अर्काथरिले चाहिँ १६ दिनमा पैसा कमाएर बैंकको ऋण तिर्न रेष्टुरेन्ट मालिक कस्सिएको भन्दै खिसी गर्दै थिए । तर रेष्टुरेन्ट खचाखच भरिएको थियो । काम गर्ने वेटरको कमीले गर्दा पनि ग्राहकहरु आफ्नो पालो पर्खेर बसिरहेका छन् । 

अर्को दिन बिहान पनि समाचार १५ दिन बाँकी भन्दै त्यही विषयमा केन्द्रित थियो । संसार ध्वस्त हुन्छ भनेर सबैजना या त मस्ती गर्नमा या त चिन्तित भएर आ–आफ्ना काममा ध्यान नदिएकोले शहरको फोहोर पनि उठेन । जतततै फोहर थुप्रिन थाल्यो । रेष्टुरेन्टहरु लथालिङ्ग हुन थाले । दुकानहरु बन्द रहेकाले उपभोक्ताहरुलाई अप्ठेरो हुन थालेकोमा काममा फर्कन नागरिकहरुलाई सरकारले आग्रह गर्दै सूचना टिभीमा दिन थाले । पत्रिकाहरुका सबै समाचार र लेखहरु बाँकी १५ दिनमै केन्द्रित थिए । 

क्रमशः १४–१३–१२–११ हुँदै दिनहरु कम हुँदै गए। आ–आफ्ना घर फर्कन चाहनेहरुले गर्दा एयरपोर्टहरु खचाखच भए । पेट्रोल पम्पहरुमा पेट्रोल सकिँदै गयो । सप्लाई रोकिँदै गयो । त्यो ग्रह पृथ्वीमा ठोकिनुभन्दा पहिला नै शहरहरु लथालिङ्ग हुन थाले । दुकानका कामदारहरु नआएपछि भोका ग्राहकहरुले दुकान फोरेरै आ–आफूलाई आवश्यक सामान लिएर जान थाले । कसैले सामानमा लेखेको मुल्य टिलमा छाडेर जान्थे, कसैले पैसा नै नतिरी त्यसै सामान बोकेर जान थाले । 

दुकानहरुका ढोकाका साइरनहरु बजिरहँदा कसैलाई केही मतलव थिएन । कसैले सामान लगेपछि दुकानका ढोका त्यसै छोडिदिन थाले । कसैले भने लगाएर छाड्थे । 

अब चार दिन बाँकी छ भन्ने हुँदा ब्यांकका क्यास मेसीनहरु पनि रित्ता भैसकेका थिए । पाउरोटी र खाने सामानहरुको हाहाकार मच्चिन थाल्यो । खाना पकाउन जान्नेहरुले त पकाउने खाने गरे । तर धनाढ्यहरुका र ऐयासी र सेलीब्रीटीहरुका नोकरहरु आ–आफ्नै मस्तीमा हिँडेकोले उनीहरुलाई निकै समस्या पर्न थाल्यो । न पकाउने ढंग छ न त विन र फोहोर कहाँ फाल्नु उनलाई थाहा छ । न त कतै रेष्टुरेन्ट गएर खाने अवस्था छ। 

हुँदा हुँदा टिभीमा काम गर्ने मान्छेहरुको पनि कमी हुँदै गयो । यता चिन्ता र सुप्रिया दुबैजना पाइलट भएकाले उनीहरुले आफ्नो छुट्टै योजना बनाए । नासाले ग्रह ठोक्किने भनेर तोकेको समयभन्दा साढे दुई घण्टा अगाडि एयरपोर्ट गएर ठूलो जेट प्लेनमा पुरै तेल भरे। सेक्युरिटीको त कुनै चिन्ता हुने कुरै भएन । घर जान नपाएर एयरपोर्टमा आएर रक्सी खाएर मस्त भएका मान्छेहरु फाट्टफुट्ट थिए त्यहाँ । 

तेलले ट्याङ्की भरिएको प्लेनको पाइलट सिटमा चिन्ता र सुप्रिया चढेर प्लेन उडाए । ग्रह पृथ्वीमा ठोक्किने भनेको ठीक समयमा उनीहरुको प्लेन पृथ्वीबाट ३६ हजार फिट माथिको आकासमा उड्न थाल्यो । हेर्दा हेर्दै आकासमा चन्द्रमा जत्रो डल्लो उछिट्टिएको देखे दुबै जनाले । चिन्तामणिले पृथ्वीमा ग्रह ठोक्किएर चोइटा उडेको होला भन्न नपाउँदै ठूलो आवाजको तरङ्ग प्लेनको एउटा स्कृनमा देखियो । प्लेनमा जोडिएका पृथ्वीको सम्पर्कका सबै यन्त्रहरु चल्न छाडे । अब केवल ती दुई जना मात्र आपसमा कुरा गर्न सक्छन् । बाँकी दुनियाँ के भयो उनीहरुलाई पनि थाहा थिएन । त्यत्तिकैमा पानी आएर प्लेनमा ठोक्कियो । सुप्रियाले समुन्द्रको पानी उछिट्टिएर आएर आफ्नो प्लेनमा ठोकिएको तर्क गरिन् । चिन्तामणिले पनि त्यो तर्कमा सहमति जनाए । एकैछिनपछि पानी पृथ्वीतिरै तल झर्दै गयो। पानी आएर प्लेनमा ठोकिनुभन्दा एकै छिन पहिले बुङ्गबुङ्गती उडेको प्लेनदेखि तलको धुलो पनि पानीले भिजाएर तल लग्यो। उनीहरुले प्लेन लगातार उडाइरहे । दश घण्टापछि दुबै जनाले अब के गर्ने विस्तारै प्लेनको तेल पनि सकिन्छ । पृथ्वीमा त कोही पनि जिउँदा छैनन् होला । ल्याण्ड गर्न एयरपोर्ट पनि छैन होला । अन्तरिक्षमा गएका केही मान्छे मात्र बाँकी होलान् तर उनीहरु पनि त पृथ्वीमा ओर्लने उपाय छैन होला भन्ने तर्क वितर्क गर्न थाले । त्यो अवस्थामा पनि उनीहरुलाई भने त्यही प्लेनमा पनि किस खाने र जिस्कने गर्नुपर्ने कस्तो अचम्मको मान्छेको स्वभाव । 

समय आकासमा वित्दै गयो । प्लेनको मिटरले ट्याङ्कीमा भएको तेलले चार घण्टा मात्र उडान गर्न सकिने बताएपछि उनीहरुले प्लेनलाई विस्तारै पृथ्वीतिर ओराल्दै स्थिति बुझ्न थाले । 

पृथ्वीभन्दा पन्ध्र सय फिट जति माथि उड्दै गरेको प्लेनबाट उनीहरुले धेरैजसो ठाउँमा पानी र कतै कतै आगो बलेको देख्न थाले। आगो बलेका ठाउँहरु पहिलेका शहर हुन सक्ने अनुमान गरे । प्लेन उडाउँदै उनीहरुले अब पानी नभएको र आगो पनि नबलेको ठाउँमा प्यारासुटबाट हाम फाल्ने सल्लाह गरे । दुबै जनाले पहिला नै प्यारासुटबाट झर्न सामान्य तालिम लिएका थिए । 

प्यारासुटबाट हाम फालेपछि फरक फरक ठाउँमा पुगिन्छ होला अनि कसरी भेट गर्ने ? न मोवाइलले काम गर्छ भन्दै सुप्रियाले चिन्ता व्यक्त गरिन् । चिन्तामणिले 'धेरै टाढा भइँदैन त्यसैले जहाँ पुगिन्छ त्यहाँ तिमीले राखेको लाइटरले आगो सल्काउनु । म त्यही आगो हेरेर तिमीसँग आउँछु' भने । त्यत्तिकैमा प्लेनबाट एउटा ठूलो नदी बगेको देखियो । कुन देश, कुन शहर भन्ने कतै कुनै नाम निसान थिएन । सबै ध्वस्त भएको थियो । अन्तमा प्लेनमा तेल सकिनै लागेपछि दुबैले प्लेन त्यही नदीमा ल्याण्ड गराए । ल्याण्ड गराउनुभन्दा पहिला नै दुबैले प्लेनबाट झरेर लेफ्ट (बायाँ)तिरको भूमिमा पौडेर निस्कने सल्लाह गरे । ल्याण्ड गर्नुभन्दा पहिले पानीमा हाम फाल्ने पहिरन तथा सामान पहिरिएर आपतकालीन ल्याण्ड गरेकोले उनीहरू योजनाअनुसार जमिनमा पुगे । 

तर न त कतै हरियाली देखिन्थ्यो न कतै सडक थिए । न त कतै घर थिए । अन्योलमा दुबै जना थचक्क भुइामा बसेर सन्तान जन्माउने र पृथ्वीमा मानव बस्ती विकास गर्ने योजना बनाउन थाले । तर चिन्ता थियो त– आफ्ना सन्तानलाई आफूले देखे भोगेको विज्ञान उन्नति र आधुनिक समाज बारेको ज्ञान कसरी हस्तान्तरण गर्ने ? कसरी सिकाउने? 

खोलाका माछा मार्ने, खाने नै उनीहरुको दैनिकी बन्यो । उनीहरुले अव पृथ्वीमा मानव समाजको फेरिबाट विकास गर्नु पर्ने थियो । त्यो सवै कुरा चिन्तामणि र सुप्रियाको जिम्मामा पर्‍यो ।