Thursday, 31 January 2013

यात्रा, सहयात्रा अनि जिवनयात्रा



मुम्वर्ईबाट गोवा जाने बातानुकूलित रेल यात्राको क्याबिनमा सवारीले द्रुत गतिमा भए पनि मन्द मन्द हल्लाइरहेको थियो । अगाडि टेबलभरी भएका सामग्रीहरु छरपष्ट थिए, मन चाहिँ टेबल तिर भन्दा पनि सभ्यता तिर नै थियो किनकी यो नै मेरो सभ्यता सँग प्राबिधिक रुपमा पहिलो भेट त्यसमा पनि पहिलो यात्रा थियो । बन्द क्याबिनमा भएकाले पनि सजिलो भयो सभ्यता सँग भलाकुसारी गर्न ।

ओइ काली नसुत न उठ भन्थेँ मैले उसले चाहि आफ्नै घरको बिस्तरामा सुते जस्तो मलाई एक छिन नउठाउनुस न कति कराको हजुर पनि, हजुर पनि सुत्नुस यति राती छ, हजुर पनि आउनुस न सुत्नुस भन्थी । ज्यान मडारेर फर्किँदा पृथ्वीनै कोल्टे फेरे जस्तो लाग्ने, उस्ले भने जस्तै बाहिर चकमन्न रात थियो अनि रेलको गति सँगै बत्तिहरु फुत्त फत्त भागिरहन्थे बिपरित दिशातिर मिलिक्क मिलिक्क गर्दै । मलाई उसलाई घर बनाउने गिलो माटो मुछे जस्तै गिथोलीरहुँ जस्तै हुन्थ्यो घरी घरी चलाइदिन्थेँ अनि उसले हात च्याप्प समातेर आफुतिर खिच्थी अनि मलाई पनि सुत्न करै लाग्थ्यो ।

धेरै बेर गुडेपछि रेलगाडि अब त गोवा आउने बेला पनि धेरै बाँकि थिएन अनि पूर्वबाट लालीकिरणहरु उचालिँदै थिए बिहानीलाई रातो पार्दै तर म रातभर तीनभागमा एक भाग मात्र निदाएँ सभ्यता भने दुइ भाग त निदाईहोला । मैले गुड मर्निङ्ग म्याडम जरा उठो भनेर हिन्दी पनि मिसाई टोपलेँ अनि आँखा बल्ल बल्ल खोल्दै अलि अलि हाँसो अलि अलि लाज अनि मायालु अनुहार लिएर जुरुक्क उठेर मेरो काखमा लिपिक्क टाँसिई । मेरो पति परमेश्वर म त हजुरको साथ पाए पछि यति ढुक्क भएँ कि बल्ल जिवनमा पहिलो पटक शान्ति मिल्यो अनि मज्जाले निदाएँ । मनले खोजेको खुशी अनि सुख मिले पछि मन यति शितलो भयो कि कसरी भनुँ मैले हजुरलाई भनेर गालामा चिमोटी ।

सभ्यता र मेरो भेट अनि सँयोग पनि अनौठो छ जुन म अझै पनि रहस्य मै राख्न चाहेँ । जुन कैयौँ बर्ष पछि मात्र खोल्ने छौँ हामि । हाम्रो जिवनको सबै यथार्थ अहिल्यै खुल्यो भने त के मतलब भयो र जस्तै हामि कपडा लगाउँछौ हाम्रा केहि कुराहरु लुकाउँछौ, केहि कुरा देखाउँछौ, त्यहि लुकाउने र देखाउनेको असल सँयोजन नै ब्यक्तित्व हो भन्ने लाग्दछ । सभ्यता केटि मान्छे हो म भन्दा उमेरमा पनि केहि बर्षहरुले सानी छ र पनि केहि कुराहरुमा म भन्दा पनि समझदार छ । समाज प्रति हेर्ने दृष्टिकोण उसको प्रष्ट छ, मेरो स्थान र उस्को जिवनमा मेरो भूमिका प्रति उ सजग अनि उत्तरदायि पनि छ ।

मैले उसले चाल नपाउने गरि उसको सिउँदोमा मिठो चुम्बन गरे अनि उ पनि मेरो काखमा लुपुक्क टाँसिई फेरि लाग्दथ्यो उसले सास पनि फेरेकै छैन । कति एकाग्र हुन सकेकी अनि कति ध्यान खिच्न सकेकी उस्ले । मैले उस्को नाकमा ओठमा हातले छामेँ र पनि त्यति चाल पाइन अनि ओइ डल्ली के भो मनकुन्दरी सास फेर्न पनि बिर्सीयौ कि क्या हो तिमिले भन्दा भन्दै मेरो छातीमा गहिरो चुम्बन गरिदिई एउटा जिल्ला नै तातो भयो । कति नशालु माया उस्को कत्रो उर्जा मायामा, मनमा आँधी नै चल्ने गरि उस्ले खिचेको हरकत म आफ्नै शरिर सँग हार्थेँ घरी घरी बरु उस्को साम्राज्य चाहिँ मेरो कब्जामा थियो यस्तै हुँदो रैछ मायामा भन्ने लाग्यो । एक अर्काको साम्राज्य फेरिँदो रैछ, अधिकार र क्षेत्र फेरिँदो रैछ ।

सूर्यको किरण पनि बिस्कुन सुकाए जस्तै भुइँभरी भयो अनि त्यसैमाथि चढ्दै चढ्दै रेलगाडी पनि गोवाको स्टेशनमा रोकियो । मान्छेहरु झुम्मिन थाले ब्यागहरु क्यारी गर्नका लागि तछाडमछाड गर्दै थिए । सभ्यताले रुफस्याक झोला अनि मैले अलि ठूलो ट्रलीवाला ब्याग अनि साथमा आफ्नो ल्यापटप ब्याग थियो । एक हप्ताको यात्रामा बन्दोबस्तीका सामान जोहो गर्नै पर्यो । रेलबाट बाहिर निस्किँदा चाहिँ एकदम ख्याल गर्नु पर्ने पकेटमार देखि अनि सामान कहिँ छोड्न नहुने भन्ने साथीहरुबाट सुनेको ठिकै जस्तो पनि लाग्यो ।

मैले अटोरिक्शा लाई जरा मिडियम टाइपका होटलकी ओर ले चलो भाई भनेर हिन्दीमै टोपलेँ अनि उस्ले एक सय पचास आइ सि मा मिलेनियम रोडमा सेञ्चुरी होटल मार्ट अगाडि लगिदियो । ब्याग बोकेर कता जानु भनेर हामि पनि त्यहिँ छिर्यौ र एउटा डबलबेड रुममा बस्यौँ । झोलाहरु बिसाए पछि बल्ल हल्का भयो गोवा आए जस्तो भयो नत्रत भरिया भन्दा बढि भइएन । ओइ डल्ली गरुङ्गो झोला त मलाई बोकाइहालिस बरु तिमि पनि त्यहि झोला माथि बुइ चढेको भए म बोकि हाल्थेँ नि भनेर एक मस्का दिई हालेँ मैले । हजुर पनि सबै झोला बोकेर मेरो बुई चढेको भए त भइहाल्थ्यो नि भनेर खितित्त गर्न थाली अनि दुबै जना हाँस्यौ र लपक्क टाँसियौँ ।

यहाँ त बीचमा विकनी मात्र लगाएर हिड्छन केटीहरु, सनबाथ गर्छन रोमान्स गर्छन कि तिमि र पनि त्यसै गर्ने हो र भनेर जिस्क्याएँ, अनि उस्ले पनि अलिकति लाजले अलिकति नशालु नजरले हजुरलाई मैले बिकनी लगाएको हेर्न उता किनारमै जानु पर्छ भन्ने छ र, छि बाहिर त म त्यस्तो लाउदिन लाज लाग्छ मलाई जे जे हेर्ने हो यहिँ हो हजुरको बीच भने पनि जे भने पनि हे हे हे हे मेरो कालु महाराज पति परमेश्वर । अब हजुर त मात्तिन त के पात्तिन पनि थाल्नु भएछ नि मेरो बुढो, नमरे बाँचे यस्तो दिन अनि यस्तो खुशी पनि देख्न पाइँदो रहेछ त ।

तिम्रो मायाका छालहरु जत्तिका यि समुन्द्रका छालहरु छैनन आँधिनै भएर आए पनि शायद, तर तिम्रो ममताले हरपल मेरो हृदयमा हानीरहेको हुन्छ । कुन समयले तँ सँग भेट भयो डल्ली म त यसैमा लुटुपुटु भएँ यार हारेँ म आफ्नो जिवनदेखि तिमिलाई जित्दा खेरी । हि हि हि गर्दै मलाई चोर औँलाले नाकैमा ठोक्कीने गरि जाली फटाहा मान्छे अनि मलाई जितेर पनि हारिन्छ कतै, कुरा गर्ने पनि दुइ पैसाको ढङ्ग भए पो हुन्छ, केटा मान्छे भएर पनि केटी मान्छे जस्तो हाऊ तपाई त  शँकै लाग्छ यार केटा हो कि केटि हो भनेर हि हि हि ।
अब के जाँच्न बाँकि छ र डल्ली म केटा हो कि हैन भनेर, नाटक नगर है धेरै फेरि बाटैमा हे हे हे, म त खतरा छु नि यस्तो कुरामा अब मेरो नया अबतार देखाउन पर्ला जस्तो छ मेरो कालु लाई । भो भो हनुमान कै अबतार लिएर आए पनि अन्तिममा म्याउँ गर्ने होला भनेर फेरि पनि खिसीट्युरी गर्न थाली । यो काली सँग मैले बोलेर नसक्ने भएँ भन्दै एक छिन म पनि नबोली हिँडे उ पनि जुत्ता घिसार्दै मेरो ध्यान खिच्दै थिई म देखो नदेखो गर्दै थिएँ ।

ए मेरो पति परमेश्वर हामि यहाँ रमाइलो गर्न आएको हो, सबैलाई भुलेर दुइजना मात्र रमाउन आएको हो, मैले मायाले जिस्क्याएको हो नि, मलाई हजुरलाई सताउन मन लाग्छ के त्यहि भएर हो नि, मैले हजुरलाई नसताएर कसलाई सताउनु को सँग जिस्कनु त मेरो नानु । हाँस्यो नानु हाँस्यो ऊ ऊ हि हि भन्दै गालामा ओठको एक चड्कन खाइहालेँ अनि म पनि साम्य भएँ पानी पानी भएँ उस्को अगाडि अनि मुसुक्क हाँसेर काखमा टाँस्नु बाहेक म सँग बिकल्पनै भएन ।

घाम भर्खर अस्ताउन समुन्द्रको पानीको माथी रातो भएर बसिसकेको थियो, साँझमा सिरसिर बतास छालहरुसँगै किनारमा पसारिँदै थियो । घाम पनि हेर्दा हेर्दै डुब्यो अनि वरिपरिका बत्तिहरुको चमक बढ्न थाल्यो । मैले आज सभ्यताको मुहारमा निकै फरक लालि उदाएको देखेँ, शायद अरु सबै दिन भन्दा फरक थियो । ऊ बल्ल फक्रेकी थिइ फुल्न लाई तिन पात बाहिर निकालेर बसेको थिई भमराको अगाडी । भमरा चाहिँ उसको भरिएको रसमा मस्त हुँदै थिएँ । के हुँदैछ किन यस्तो नशा आफैलाई डुबाउने गरि यति यति पानी गँगै रानी भन्दै टाउको भन्दा पनि माथि जाँदै थियो भन्ने पनि मलाई याद थिएन ।

मलाई म आफू र सभ्यता लाई सभ्यता हो भन्ने पनि बिर्सिने गरि हामि हराइ रहेको थियौँ । जिवनको पहिलो यात्रा सहयात्रा अनि त्यस पछि जिवनयात्राको साइत मा हामि थियौँ । कैयौँ बर्षदेखिका खुल्दुली अनि एक आपसका रहस्यहरु खोतल्दै थियौँ हामि । गोवाको वीचमा अरु धेरै जोडिहरु पनि पच्ने नपच्ने सबै हर्कत गर्दै थिए त्यसको पनि हामिलाई न कुनै मतलब थियो न कुनै लाज थियो । हामि पनि जवानीको रसमा महमा डुबेको मौरी जस्तै भएका थियौँ, त्यसमाथि झन वाइनले अलि अलि रँग अनि छालहरु उचाल्दै थियो । हामिहरु रेष्टुरेण्टबाट समुन्द्रको किनारमा गयौँ छालहरु सँग लुकामारी खेल्न, जिवन सँग लुकामारी खेल्न अनि जिवनको अबिस्मरणिय इतिहास कोर्न, मनहरु मिलाउन अनि मायाहरु मिसाउन अरु सबै सँसार भुलेर ।

Tuesday, 15 January 2013

जाडो भित्रको न्यानो


आथ्थु ! थु !! थु !!!

बिना सित्ति घर छोडेर हिडिएछ होऊ डल्ली, जाडोले मार्ने भयो । यो पटक त जाडो पनि कति सारो बढ्या हो भन्या हेर त ! भन्दै मुखबाट धुवाँ फुक्दै बात मार्दै थिएँ बुढि सँग । सिस्नेरी भञ्ज्याङ्गको उकालोमा हामिहरु हिँड्दै थियौँ दुइ जना सभ्यता र म दोपहरमा, त्यहि भएर भएका मलिना घाम पनि उसै अस्ताउँदै थिए, माघे सक्रान्तिमा सिस्नेरी भञ्याङ्गमा मेला हेर्न हिँडेका ।

सभ्यता बोल्नलाई ओठ चलाउँदै थिई, मैले तल्लो र माथ्लो ओठ समातेर च्याप्प पारेँ, यो जाडोमा मुख बाट हावा पस्छ मुख नखोल भन्दै थिएँ, उस्ले त झन नाकबाट हावा लिएर मुख हनुमानको जस्तो बनाएर फूऊऊऊ गरि, मेरा हातहरु उस्कै बेजोड धकेलाईमा हुत्तिए, म अवाक भएँ अनि उस्ले आफ्ना मिलेका बत्तिस दाँत लम्पसार पारी म पनि उस्को अगाडि भुतुक्कै भएँ अब के भन्नु र उसलाई ।

कुकुर सँग डरायो भने टोक्न आउँछ नि पतिदेब ! जाडो पनि त्यस्तै हो । हेर ! हेर !! खै !खै !! भिइइत्र एउटा सेण्डो गन्जी, त्यस माथि टि शर्ट, त्यस माथि हाइनेक, अनि ऊलनको शर्ट, तातो कपडाको पातलो ज्याकेट अनि त्यस माथि यो सगरमाथा चढ्ने भक्कु ज्याकेट ! जम्मा गरेर छ पत्रा, अनि आफ्नो छालाको पत्रो सँग त सात पत्रै भएछ नि बुढा ! मेरी आम्मै नि खच्चडको जस्तो कति भिर्न सक्या हुन यि मेरा बुढाले ! अझै जाडोले मरेँ भनेर आथु ! आथु !! गर्न पनि बाँकि राख्नुहुन्न फेरि ।

यि मेरो हेर्नुस त जम्मा तिन वटा ! भित्र हाइनेक, अनि त्यसमा माथि यो पातलो स्वीटर अनि यहि ज्याकेट त हो नि त्यहि पनि हजुरको जस्तो भुक्के हैन केरे । मेरो भने पातलो गन्जी समेत गन्छे आफ्नो पनि गन न झर्लाङ्ग झुर्लुङ्ग न सिँग न पुच्छर जस्ता भन्दा हाँस्दै उल्टै मलाई बिल्याउन थाली । सिँग र पुच्छर भएको त हजुरनै होइसिन्छ नि ! एक सिँगे गैँडाको पुच्छरको त के बयान गरुँ म !! हजुर सर्बज्ञान सम्पन्न ब्रम्हाजि होइसिन्छ नि, कहिँ नभाको पुच्छर हि ! हि !! हि !!!

भो छाड यो कुरा ! बरु अलि पाइला लम्का के, जिस्कीन पाए त बाटैमा मर्नु पार्छे, हिँड  छिटो !! नत्र यतै यो जाडोमा जङ्गलमा ओडारको बास होला फेरि, भन्दै हामि अलि अगाडि तन्कियौँ । थाहा छ बुढा ! पोहोर साल हामि यहिँ पदयात्रामा आउँदा एउटा धन्सारमा बसेर रात बिताएर गएका थियौँ नि । मैले मकै भुटेँ, सागको सब्जी बनाएँ, अनि टमाटरको चटनी ट्वाक्क पारेँ, अनि हजुरले बाहिर दाउरा जोडेर आगो बाल्नु भयो । धेरै बेर हामि गफ गर्यौ मकै खाएर पेट भर्यौ, आगो सँग लाज नमानीकन बस्यौँ अनि सुतेर अर्को दिन बिहान ९ बजे सम्म सुतेर उठ्यौँ । त्यहि ठाउँमा पुग्न पाए त झन अहिले हनीमूनै मनाउन हुन्थ्यो नि बुढा !! भन्दै डल्लीले मेरो आङ्गको मैन पगाल्दै थिई झन जाडोमा न्यानो पार्दै थिइ ।

आफूलाई चाहिँ यहाँ भोकले मर्नु पर्या छ ! उसलाई भने के के हो के के !! आफू चाहिँ खानेकुरामा वास्ता गर्दिन र त यस्ति पाल्पा जिल्ला जस्ती छ नि । मेरो यो डोल्पा जिल्ला जत्रो भुँडि हेरन ! त्यसै जिल्लै पार्छे भन्या । तेरो सँगतले त म भोक भोकै मर्ने भएँ बुढि, फेरि जे पायो त्यहि खाने पनि होइन, यो खान्न ऊ खान्न, तँलाई खानेकुरा रोजाउनु पर्छ । आफूलाई त एक थाल खानेकुरा बजाउन पाए जहाँ पाएनि लडिन्छ, शित र हिँउँ नपर्ने ठाउँ भए पुग्यो । सुत्नलाई स्लिीपिङ्ग ब्याग छँदैछ क्यार । तर एउटा कुरा गारो भयो के डल्ली !

के भन्नुस त ?

यो स्लीपिङ्ग ब्यागमा बुढा बुढी अँगालो मारेर सुत्नै नमिल्ने के, छुट्ठाछुट्ठैमा सुत्यो अनि एशिया र अमेरिकामा सुते जस्तो हुने बुढि, बित्यासै पार्ने भो । म पनि तिमि जस्तै पातलो भएको भए त एउटैमा अटिन्थ्यो क्यार है बुढि । डल्ली च्यास्सिई बोल्दै बोलिन एक छिन त । हजुरलाई मै सँग सुत्नै पर्छ भन्ने के छ र, घ्याम्पो भरे पछि निद आइहाल्छ क्यारे भइहाल्यो नि म सधैँ एक्लै त हो नि बालै छैन जे सुकै होस । अहिले फेरि मेरि डल्ली!!  मलाई भोक लाग्यो भनेर म सँग लुसुक्क नआउनु नि । मान्छेको जातै स्वार्थी के ! जति माया गरे पनि नहुने आफूलाई पुगे पछि अरुको त वास्तै छैन ।

मैले पनि डल्लीलाई अँगालोमा कसेर सासै फेर्न नमिल्ने गरि च्याप्प समाते अनि मायाले मिठो चुम्बन गरेँ अनि उस्को सबै गुस्साका सगरमाथाहरु ढले, अनि प्रशान्त महासागरको पानी बराबर भयो । छोडन बुढा, मलाई दिशा लाग्यो के । तिमि कहिँ नजाऊ ल, यहिँ बस मै सँग ऊता फर्केर, यस्तो जँगलमा बाघले लैजाला अनि रुँदै बसौला फेरि । ओइ डल्ली अलिकति पोइको पनि  लाज त मान मैल भनेँ । उस्ले झन हाँसेर तिमिलाई थाहा छ बुढा ? दिशा गर्ने लाई भन्दा देख्नेलाई लाज भनेको यहि हो नि, मलाई के को लाज बाँकि के छ र तिमि सँग लुकाउन । ऊ त्यो धुर्सुलको हाँगा भाँचेर ल्याइदेऊ न पुच्छ्नलाई मेरो प्यारो पति परमेश्वर भन्दै थिई ।

आफ्नै बुढि सँग लाज शरमको त कुरै भएन नि, यो त बुढा बुढी भाँडा कुटी खेलेको नि । नानी बाबु पाउँ भन्दा मान्दिनस, त्यहि भएर आफै खेल्नु पर्यो नि भाँडा कुटी । हे ! हे !! बुढा, कति हतारिएको पाउँला न त एक दुइ बर्ष पर्खन हो, नानी बाबु पाएको भए यसरी बुढा बुढी हिँड्न पाइन्थ्यो त लाटा, यसो रमाइलो पनि गर्न पर्यो नि तिमि त बैँशैमा बुढा भयौ हो पतिदेब, झन बुढेसकालमा मैले कसरी ततेर्नु होऊ तिमिलाई, भन्दै उल्याउन थाली म पनि उसै सँग हाँसे नहाँसेर पो के गर्नु र !

साँझ पर्न त अझै एक घण्टा भन्दा पनि बढि समय बाँकि थियो क्यार तर खुट्ठा गलेका, जाडोले फोक्सो पनि हुप्प भको महशूस भयो, अब अगाडि हिँड्न सक्दिन म मेरो त रुद्रघण्टी नै फुस्कला जस्तो भयो लौन भन्दै थिई, मैले पनि स्या स्याँ भए पनि पाको बेला भनेर भनिहालेँ, अन्त केटि मान्छको त रुद्रघण्टी हुने भए पो ! थाहा छैन तँलाई । मेरो मानी पनि गल्यो हिँड्न सकिएला जस्तो लागेन फत्रक्क गल्यो मन, यस्तो थकाई लाग्यो कि दुइ गिलास तताएर नारे पा खाएर सुतौँ जस्तो लाग्यो मनमनै तर मार्छे बुढिले भनेर त्यसै चाम्रिएर बसेँ । हामि गल्नु को अर्थ ज्यान छोड्नुको अर्थ, त्यत्रो नाटक गर्नुको अर्थ चाहिँ हाम्रै अगाडि जँगलको माझमा बाटो मूनि सानो पठार खेतीबाली अनि बाटोमै आँगन जोडिएको बाटो माथिको चिटिक्क परेको घर थियो । हामि चाहिँ बासै नमागी सिधै पिँढीको खाटमै गएर बस्यौँ ।

भित्र बाट नाकमा बुलाँकी लगाएकी, चौबन्दी चोलो लगाएकी, टाउकोमा पछ्यौरा घुमाउँदै सप्को हल्लाउँदै घरभेटी आमा आउनुभयो र सिधै बाहिर जाडो छ भित्रै आवो यता पट्ठि आगो तापेर बस, थाकिच्चौ होला । दुख सुख जस्तो भए पनि यस्तै हो केटाहाटी हो भन्दै डल्लीलाई हातमा समातेर भित्र लैजानु भयो अनि म पनि भित्र लागेँ । मैले बेहुली लिएर आएको अनि आफ्नै आमाले मेरी बेहुलीलाई भित्राएर हातमा समातेर लगे जस्तै भान भयो तै पनि आत्मियता अनि सौहार्दतामा कत्ति पनि कम थिएन । धेरै बर्षमा छोराले बुहारी ल्याएर आमाले भित्राए झैँ भयो मलाई । बास्तवमा गाउँ ठाउँमा अझै पनि पारिवारिक पन अझै मेटिएको रहेनछ । म त के गरुँ के गरुँ जस्तो भयो ।

मैले आमालाई सगुन ल्याउन नपाएर यसै थक्क थक्क भएको थियो । हामि त डुल्न आएका के दिऊँ, मन भारी भयो आमाको गुन तिर्न नसकेर, उता आमाकी बुहारी चाहिँ त कता हो कता हराएकी थिइ, उसका पनि आँखा भरी भरी थिए, यसै त नारीको मन केटाको भन्दा कोमल हुन्छ भन्थे, तर मैले सभ्यतालाई यति धेरै भावुक मुडमा कहिले पनि देखेको थिइन । उसले आमालाई झम्टेर रोई म पनि ओभानो रहन सकिन तर पनि आफूलाई केटा हुनुको नाताले सम्हालेँ तै ।

के भयो छोरी किन रोएकी तिमि ? म पनि तिम्रै आमा त हुँ नि । मलाई पनि तिमिहरुलाई देखेसी मेरा शहर पसेर उतै हराएका छोरा बुहारीको झल्को आओ, तिमिहरु पनि त मेरो छोरा बुहारी नै त हौ नि । तिमिहरु पाहूना हैनो घरका जहान हौ । नरो नरो नानी ! भन्दा आमा पनि आँखा भरी आशु टिलपिल गर्नु भएको थियो । त्यत्तिकैमा बा पनि बाहिरबाट दौरा सुरवाल कोट लगाएर काने टोपीको भेषमा भित्र छिर्नु भयो । मलाइ पनि आज यिनिहरुसँअ बसेर मज्जाले बात मारम जस्तो भको हो अगाडिनै बाटामा देख्याथेँ लगालग हिँडे, म पनि चा खाँदै थिएँ दोकानाँ । बल्ल आज यो घराँ सरेसी तिमिहरु आयौ घरका जहान भरी भए जस्तो भयो बाबु ।

हामि यता गुन्द्रीमाथि कम्बल ओछ्याएर आगो ताप्दै थियौँ । बाले मोहि पार्नु भयो, नौनी निकाल्नु भयो, आमा भने झिनुवाको चामल भिजाएर त्यहि घिऊमा कसौँडीमा कोर्दै फर्काउँदै भात पकाउँदै हुनु हुन्थ्यो, बास्ना चाहि घर भरि भयो झिनुवाको चामल । गिठा, आलु, बाह्रमासे सिमि अनि सुकाएको काउली अनि मूला पनि तातो पानीमा भिजाएर ओइरिँदै हुनु हुन्थ्यो । हाम्रो घरमा जस्तो बिकासी तेल नभएर सबै परिकार घ्यू मै पाक्दथे । मकै सँग नौनी, फापरको रोटी सँग कनिका परेको घ्यू खेतालालाई पनि त्यहि सबै मा त्यहि चल्दो रैछ । बाको छेऊमा किस्न बसेको थियो । बा आमालाई उहि नै हेरबिचार गर्दथ्यो दुख बिमार पर्दा, अनि गाउँले हरुले पनि सघाउँदा रैछन ।

सबै जना खाना खान बस्यौँ आमाले सबै लाई खाना पस्केर आफू चाहिँ कुरेर बस्नु भयो,   मान्नु भएन सँगै खान । भन्दै हुनु हुन्थ्यो लाज चाहिँ नमान है केटाहाटी हो । कहिँ मेलापात जानु छैन सञ्च सुबिस्ताले खाओ है जत्ति पनि छ थपी थपी खाओ है रहे भोलि बिहान किस्ने फेरि घिऊ हालेर खट्ठै जस्तै बनाएर भुटेर खान्छ, घिऊ त एक मानै खाए पनि पचाउँछ यस्ले । सत्ते भए मलाई त आज तिमोरु लाई देखेसी तेसै अघाइछु, भन्दै खोक्दै बाहिर तिर लाग्नु भयो ।
हामि पनि तो बेलाँ मन पराएर बिहा गरेका हुम छोरा, उस्को र मेरो जात मिल्दैनथ्यो म क्षेत्रीको छोरो ऊ चाहिँ खाट्ठि बाहूनी अनि हाम्लाई गाम मा बस्न दिएनन अनि यो गाममा आएर बसेम । पाखोबारी अलिकति खेतबारी स्याहारेम । छोरा छोरी भए तिनोटा सबैका बिहा पनि भए बजार गए, उतै घर बनाएर बसे, उनिहरु आम्दैनन, हामिलाई चाहिँ आवो भन्चन तर यहिँ स्वर्ग छ हामिलाई बाबु । तिमेरुकी आमा सँग भएँ भने त आधा बिसञ्चो पनि त्यसै ठिक हुन्छ बाबु, यो मया भन्ने कुरो पनि अजिवको हुँदो रैच, यसैका खाँतिर कति दुख पाइयो उस जमनामा तर हामि डगिएन बाबु, भगवानले दिएकै छन क्यार । साँचो माया गर्ने लाई त देवताले पनि माफ गर्दा रैछन बाबु । तिमिहरुको पनि जिवन सुखि हुन्छ चिन्ता नगर, हामि आमा बा को सधैँभरी तिमिहरुलाई आशिर्वाद छ ।

पोहोर साल हामि आउँदा ऊ त्यो धन्सारमा बसेर गएको नि आमा भनेर सबै बेलिबिस्तार लगाई डल्लीले । भए भरीका सबै कुरा छताछुल्लै हुने गरि पोखीई आमाको काखमा अनि आमाले उसको पोखिएको जवानी ओभानो हुने गरि सोहोर्नु भयो । तिमिले त हिरै पाइचौ नि पोइ त, तिम्रो फुलबारीमा राम्रो गोडमेल गर्ने माली भेटाइछौ नानी, यस्ता दामलीहरु लोकमा धेरै हुन्नन । बाले आमालाई आँखा मार्नुभयो उ बेलाको जवानी झल्किने गरि बा चाहिँ आमाको आँखामा गाडिनु भयो, सभ्यताले मलाई हेरेर खिसिट्युरी गरि म चाहिँ के गरुँ गरुँ भयो अनि अगाडि अगेनामा दाउरा फुकेर मज्जाले धुवाँ उडाएर बा र आमाको मायाको गाँठो फुकाएँ मैले ।

आमाले खाना खाइवोरी सुत्ने बेलामा फेरि एक गिलास तातो दुध अनि अनदीको तातो चाम्रे पनि सालको टपरीमा राखेर ल्याइदिनु भयो । अनि धुवाँ उड्ने गरि कोलमा पेलेको तोरीको तेल सानो दियालोमा तताएर ल्याइदिनु भयो । लौ त सुताओ तिमिहरु थाकेका हौला, दुइटा सिरक अनि काम्लो पनि खप्ट्याइदिएकी छु । जाडो भयो भने भन है मलाई म त गएँ लौ भोलि बिहान फेरि गहुँ छर्नु छ खेतमा लौ लौ । सभ्यताले पनि मेरो गोडा माडिदिई त्यो भन्दा बढि ऊ थाकेकी हुनाले मैले पनि उसलाई मज्जैले मालिस गरिदिएँ नत्र फेरि आफैले बोकेर हिँड्नु पर्छ ।

दिन भरि थाकेकी डल्ली मेरो काखमा लुपुक्क लागे पछि कति छिटो निदाई पत्तै भएन । मलाई तै पनि निद्रा लागिरहेको थिएन मैले धेरै पटक उसलाई कोट्याएँ, कत्ति हलचल गरिन । थाहा पाएको बेला पनि मलाई नै च्याप्प समातेर चल्न दिन्न थि । नचल न बुढा आज म एक दम थाकिछु के ! सुत न थुपुक्क मलाई मस्त निधाएको बेलामा नगिज्याऊ है म त चिच्याएर आमालाई बोलाई दिन्छु भन्थि ।

बाहिर जँगलमा रुखहरु लाई हावाले हल्लाएको बतासको मन्द आवाज अनि खोलामा बगेको पानीको चिसो सम्झेर मनमा कता कता चिसो भयो । बाटोमा खच्चडले भिरे जस्तो गरेर कपडा भिरेको याद पनि ताजै थियो । तर अहिले ति सबैले पनि थकाई मारेका थिए म सँग त केबल डल्ली मात्र थिई । बाहिर हिँउँ नै परे पनि, चिसो बतास चले पनि म चाहिँ सभ्यताको काखमा एकदम उखुममा थिएँ । उता बा आमाको मायाको न्यानो अनि घर भित्रको न्यानो अनि सभ्यताको न्यानो अझै उसको मायाको न्यानोले म तापिएको थिएँ । बल्ल जिन्दगीको न्यानोपन अनुभव गरेको थिएँ पहिलो पटक, खै कस्तो सँयोजन भयो जिन्दगीमा त्यो दिन, मुटु थर्थराउने गोडा ठिहिर्याउने  चिसोको बिचमा पनि म जाडो भित्रको न्यानोमा थिएँ ।



Sunday, 30 December 2012

उकाली ओरालीहरुमा (यात्रा सँस्मरण)

निशान भाई सुन्यौ ?

हजुर भन्नुस दाई ! म सुन्दै त छु हजुरको कुराहरु पोखरा देखि यहाँ सम्म ।

यो ठाउँलाई सल्यान भन्छ नि भनेर दाइले मलाई जिल्याई दिनु भयो । सल्यान त बुटवल हुँदै पश्चिम गए पछि आउँछ भन्ने सुन्या थेँ, हैन पोखरा बाट यति नजिक पर्छ र भन्या, हजुरले ठट्टा गर्नु भो होला ।

मैले तिमिलाई किन ठट्टा गर्थेँ र भाई बरु बुझिराख यो तिमिले भने जस्तो सल्यान जिल्ला होइन कि कास्कि जिल्लाको एक गाउँ बिकास समितिको नाम पनि हो सल्यान । यस्तै हो भाई छोड यो कुरा अब बाटोमा रमाइलो गर्दै जाने हो, बाटोमा हिँड्दा लजाउने नबोल्ने गर्यौ भने म तिमिलाई निको मान्दिन नि फेरि, यात्रामा यात्राकै नियम हुन्छ भनेर दाईले मलाई मेरो पारो नाप्न खोज्नुभयो मैले पनि मौन समर्थन गरेँ उहाँको कुरा ।

सल्यान गाबिस को काँठ थियो नयाँपुल बजार ठिक्कैको तर ब्यापारिक अनि सामाजिक रुपले भने चोटिलो बजार । दाई अलि मोटो अलि छोटो भएपनि म चाहिँ अलि पातलो तर लाम्चो थिएँ र पनि बाटोको अगाडि तम्सिने उहाँ नै हुनु हुन्थ्यो । एउटा झोलुँगे पुल तरेपछि क्यामरा म तिर तेर्साएर बिजुली पर्दामा मलाई उतार्नु भयो, मैले पनि उहाँको पैँचो तिरेँ, उहाँको पृष्ठभूमिमा तरुनी गुर्सिनीहरु कहाँ बाट झ्याप्प आइपुगे र मैले उहाँलाई देखाएर खुबै पुरुषार्थ गरे झैँ गरेँ तर मलाई जति छोयो उहाँलाई चाहिँ त्यस्तो उन्मादी हावा चलेन वा उहाँले बतासलाई रोक्नुभयो मैले थाहा नै पाइन ।

बिरेठाटी आइपुगेको पत्तै भएन, झन अस्ति मात्र एकाबिहानै सनक चढेर मैले पोखरा युवराज दाईलाई फोन गरको थिएँ, दाई हजुरलाई कत्तिको फुर्सद छ कुन्नि, हजुरले भन्नु भाथ्यो नि तिमिलाई म पदयात्रामा लैजान्छु भनेर, त्यहि भएर फोन गरेको, मलाई पनि यहाँ निकै दिक्क भएर हो, मिल्ने भए त आजैको रात्रीबस मा आउँथे भन्दा दाइले एक दम ठिक्क समयमा तिमिले फोन गर्यौ, जतिसक्दो छिटो आइहाल म पनि समय मिलाउन सक्छु  भनेकाले म पनि आजै बिहान मात्र पोखरा उत्रेको थिएँ ।

कुनै बेला बिरबहादुर भन्ने मान्छेले एऊटा ठाँटी बनाएका थिए र त्यस पछि भन्दा भन्दै सबै ले यसलाई बिरेठाँटी भनेका रे । घरी खुट्ठा उचालेर घरि हातका आकृतिमा फोटो खिचेका खिच्यै थियौँ अझ त्यस भन्दा पनि नयाँ ठाउँको अनुभवले मन चाहिँ बेलुन भन्दा पनि हल्का भएर उचालिएको थियो । त्यहाँबाट अलि लामो बाटो घोरेपानी हुँदै जोमसोम पुग्ने पदमार्ग थियो भने अर्को घान्द्रुक , छिमरुङ्ग हुँदै माछापुच्छ्रे आधार शिविर हुँदै करिब ४७०० फिटको उचाईमा पर्ने अन्नपूर्ण बेसक्याम्प जाने बाटो पनि थियो । त्यहाँबाट पनि २ दिनमा हिँडेर फेरि जोमसोम पुगिन्छ भन्ने जानकारी पाएका थियौँ खास गरि केहि समय अगाडि मलाई दाइले भन्नु भएको थियो । अघि सम्म देब्रे भएर बग्ने मोदी नदी अहिले दाहिने भएर उल्टो दिशामा बगिरहेको थियो ।

अलि अगाडि पुगे पछि बाटामै पर्ने स सानो होटलमा दाइले नेपाली खाना पाइन्छ भनेर सोध्नु भयो । छ न त छ क्यारे बजारको जस्तो ट्याक्क छैन हामिलाई भनेर पकाको भात दाल छ, एक थोक तरकाली त छ, पास्साई भुट्न बाँकी छ हजुर भन्नुहुन्छ भने ओल्स्याइदिन्छु भन्नु भो भाउजुले । म चाहिँ अचम्म परेँ दाई त हत्तपत्त ज्याकेट खोलेर भान्सातिर पस्नु भयो, साग चिमोट्नु भयो, कराई बसाल्नु भयो अलिकति घिऊ राखेर त्यसमा दुइवटा हरियो खुर्सानी पोलेर साग ओइरीनुभयो र त्यसमाथि नून र सिलौटोमा अदुवा थ्याच्च आँफैले थिचेर राख्नुभयो, एक छिनमै निकाल्नु भयो ।

अनि उहाँहरुको बोलिमा पनि आफ्नोपन लाग्यो होटलको दाजुले पनि आदरपुर्वक खानामा सहयोग गर्नु भयो । दाजु पनि हामि सँगै खान बस्नु भयो अनि दाइले पकाएको सागको बखान त उल्टै होटलवाला साहुजीले गर्नु भयो । जाऊ बुढा जाऊ सरको पछि पछि जाऊ कमसेकम मिठो त खान पाउँछौ, म त के पकाउँछु र फेरि बुढि खोज्ने बेलामा नौडाँडा पारी भएर रातभरी भुईँ कोपरेर बसौला फेरि हि हि हि । नबोल न धेरै अलि अलि लाज शरम पनि छैन तँलाई हेर तो यि सरहरुले के भन्नु होला । तिमि पनि बित्थामा डराउँछौ बुढा सरको पनि त उहि त होलानी हालत हि हि हि । ब्रम्हाचारी हैन होला क्यारे वहाँ पनि भनेर जिल्याउन सम्म जिल्याइन मलाई खटपट भयो खान लागेको आधा खाना पनि छोडेर हिँडौँ झैँ लाग्यो तर हाम्रो दाई चाहिँ अझै दाजु भाऊजुको खटपटमा घिऊ हाल्दै हुनु हुन्थ्यो । हो दाई हो भाउजुले भनेको सोह्रै आना ठिक हो अलि अलि त खुल्न पनि जान्न पर्यो क्या ! खै कुरा बुझेको ? भाउजुले यहाँ दाइँ हाल्न थालिसक्नुभो दाई चाहिँ कुनिममा निदाउनु हुन्छ, हैन त भाउजु ? मैले गल्ती भनेँ भन्नुस है भनेर दाइले उता तर्काउनुभयो कुरो । भाउजुले पनि आगोको रन्कोमा अर्को ठूटो जोत्नुभयो कहाँ भन्नु हजुरले गल्ती, यिनले त सहि कुरा पनि दिमाग सम्म पुग्दा गल्ती भनेर बुझ्छन के सर, जे भएनी दैबले जुराको यिनै बुढा रैछन तर कसरी ततेर्छन खै यत्रो जिन्दगी यिनले ।

हामि एक छिन खाना खाए पछि पनि त्यहिँ बस्यौँ र दाइले उनीहरुसँगै बसेर उनीहरुका असमझदारीहरुलाई बसेरै छलफल चलाउनु भयो र बास्तवमै बाताबरण सौहार्द भयो, हामि पनि बिदाबादी भएर हिँड्ने बेलामा भाउजुले ३ वटा कचौरीमा नयाँ चामलमा लोकल केरा राखेर बनाएको न्वाइँ ल्याउनु भयो, एक छिनको बसाई पनि कस्तो कहिल्यै नबिर्सिने झैँ लाग्ने भनेर भाउजु आल्हादित हुनु भयो, अनि दाइले पनि म सधैँको हजुरको देवर हुन पाउँ, मेरो प्यारो दाजुलाई सधैँ दाजु भन्न पाउँ यहि त हो नि आफन्त हुनुको नाता, नमरे बाँचे भेट भइहाल्छ नि भाउजु भनेर भन्नुभयो र म चाहिँ पछाडि पछाडि लागेँ साझसम्म घान्द्रुक पुग्न भनेर ।

अचेल सभ्यताको के छ खबर निशान भाई भनेर बिचैबाट कुरा शुरु गर्नु भयो मैले के भनुँ के भनुँ जस्तो भयो । मलाई थाहा थियो दाई बोल्नुहुन्छ एउटा तर बुझ्ने मानिसले अर्के भाषामा बुझ्ने गरि बीच धारमा पार्नु हुन्छ । ठिकै त होला नी दाई, त्यहि फोन र डिजिटल कम्युनिकेशनले त धानेको छ हाम्रो सम्बन्ध । अब म मेरो भावना हजुरलाई कुन तरिकाले पोखुँ जुन शब्दमा ब्यक्त गर्न सक्दिन नि म । बरु हजुरलाई कस्तो लाग्छ के धारणा बनाउनु भएको छ हाम्रो सम्बन्धको बारेमा भन्नुस न । केहि आवाज आएन उहाँ बाट मात्रै ओठ लेप्राएर हिँड्नु भयो म पनि नबोल्न ठिक मानेँ केहि बेर । करिब आधा घण्टा जति हाम्रो बोलचाल भएन ।

बाटैमा उहाँका पोखराका साथीहरु पनि उताबाट पुगेर फर्किँदै थिए, बाटोको होटलका बसेर मादल बजाएर नाच्दै थिए, अनि दाई लाई देखेर हच्किए सतर्क पनि भए मादल बजाउन छाडे अनि एक दुइ जना हुर्रिएर दाई सामु आएर नमस्कार गरे, हात मिलाए अनि मलाई पनि परिचय गराउनु भयो । समूहका अन्य सबै नानी बाबुहरु स्थीर भए, त्यहि भएर दाई गाली गर्नुको साटो हौसला दिनु भयो, एक छिन ठट्टा पनि गर्नु भयो, अनि सबैलाई सतहमा ल्याएर शितल पारेर हिँड्नु भयो । यो मेरो पोखरा होइन, यो मेरो अफिस होइन अनि मेरो पेशा पनि होइन, यात्रामा हिँड्ने यात्री सबै साथी साथी हौँ, के हो ठुस्स परेर बस्ने, सकेको मादल बजाऊ म नाच्छु भन्नु भयो सबै हाँसे, बल्ल बातावरण उर्बर भयो अनि हात हल्लाएर हामि उकालो तिर लाग्यौँ ।

हूलका हूल बाँधिएर लठारिएर घरी छुट्टिएर घरी ओइलिँदै मौलाउँदै हिँड्दै थिए । हातमा लट्ठी, पिठ्यूँमा रुफस्याक झोला अनि पदयात्राका लागि उस्तै जुत्ताहरु कसेर हिँडेका अनि कसैले भरिया लगाएर झोला अनि बन्दोबस्तीका सामान पनि बोकाएका भेटिए । तर हामि चाहिँ हाम्रै गाउँमा हिँडेजस्तो गरि न हातमा लट्ठी न भरिया तर झोला र जुत्ता चाहिँ खाइलाग्दा थिए हाम्रा पनि । चैतको घामले उखर्माउलो थियो, मैले लगाएको पातलो ज्याकेट पनि फुकालेँ एक पत्रो पहिरन पनि झोलामा घुसारेँ, दाई चाहिँ टसको मस नभइकन हिँडिरहनु भको थियो शायद म तराईबासी भएकोले पनि होला ज्यानले गर्मी नसहेको ।

पदयात्राको लागि प्रख्यात त्यो पदमार्ग पनि अचेल त मोटरबाटोको हावाले छोएछ क्यार हिँड्ने बाटो त घरि बाटोमाथि घरि बाटो तल देखिन्थ्यो, त्यसैले पदयात्राको अनि पदमार्गमा पर्ने पृथक शैली भने मेटिँदै गएको रहेछ । उकालिमा पुरानो बाटोले मोटरबाटो काटेर उँभोतिर लाग्ने ठाउँमा आइएछ, ससानो बजार दुइ चार वटा खाजा खाना खाने होटलहरु देखिए ।

ढोकाको मुखैमा बसेर गुर्सिनी भरे खानका लागि चामल केलाउँदै थिई, उसले बल्ड्याङ्ग्रे आँखाले मलाई हेर्दै "यो घाँटीमा लक्कन लाएको हूलले भात कहाँ खान्छ?" "खै बहिनी हामि लक्कन सक्कन परिएन, हामि त दुइ जना भात त अघिनै खाइयो तल भाउजुकोमा, अब यसो चिया खाजा गर्ने हो के खुवाउँछ्यौ हाम्लाई । त्यसरी डेरा आँखाले नहेरन हो डर लाग्छ के" भनेर दाई अगाडि सर्नु  भयो । अनि "दाई पनि के भन्छ मेरो त आँखै बल्ड्याङ्ग्रो छ नि, त्यहि नि मान्छेले पत्याएकै छन अझसम्म हि ! हि ! हि ! भन्दै हाम्रो सत्कार पनि राम्रै सँग गरि । दाई पनि कुरा गर्न चाहिँ खप्पिस उसलाई समेत मुखमा बुझो लगाएर हिँड्नु भयो म भने बालख र्झै भएँ जतिबेला पनि ।

एउटा कुरा सोधुँ दाई ?

भन न भाई तिमि त बोलेकै छैनौ खासै केहि रमाइला कुरा गर, भन्न मिल्ने भए आफ्ना जिन्दगीका कुरा गर, खुशीका अनि दुखका कुरा गर मन हल्का हुन्छ । म त एक्लै हुँदा मन भाँडिदा दिक्क लाग्दा यि यसरी नै हिँड्ने गर्थै तर अहोभाग्य यो पटक तिमिले मलाई जगायौ, तिमिले नभनेको भए पनि म एक्लै पनि आउँथे सत्ते । अब हामि मोटरबाटो छोडेर पुरानै बाटोमा थियौँ,  मापाको  घाममा  खच्चडको लिदिको हरक नाकैमा ठोकिन्थ्यो ।

दाई यति हसिलो मिजासको हुनुहुन्छ, अरु सबैको बारेमा निकै ख्याल गर्नु हुन्छ जस्तो लाग्छ हजुरको घर परिवारमा त खुशी नै खुशी होला जस्तो लाग्छ, कमेडी हाउस होला जस्तो कि हैन र दाई ?

दाई एक छिन घोरिनु भयो, केहि बोल्नु भएन । अलि अगाडि भित्तामा पानीको मूल अनि त्यसमा कटूसको पातलाई ढुङ्गाले अँठ्याएर सानो तुरुरु धारो झरेको पानीलाई धेरै बेर लगाएर पिउनु भयो मुखमा पानी सँगाल्दै निल्दै गरेर र पनि उहाँको अनुहारमा भाव शून्य थियो । उहाँलाई यो प्रश्न गरेर थक्क लाग्यो किन सोधेँछु शायद मैले उहाँको मन दुखाएँ क्यार भनेर । म पनि के बोलुँ के नबोलुँ जस्तो भयो कर्कलाको पात ओइलाए जस्तो भएँ एक निमेषमै ।

निशान भाई तिमि त ओइलाएर लुटुपटु भयौ नि के भयो ? म रिसायो जस्तो लाग्यो हैन तिमिलाई ? म थाहा पाउँछु तिम्रो कुरा । हैन भाई म रिसाएको हैन मैले तिम्रो प्रश्नको उत्तर कसरी दिउँ भनेर यसो सोचेको मात्र हो । तर तिमिले चाहिँ पाठ्यक्रममै नभएको कुरा सोध्यौ र म सोच्दै थिएँ तिमि त मेरो गुरु भयौ आज देखि नयाँ कुरा सिक्ने भएँ मैले पनि जुन मैले सोचेकै थिइन ।

तपाई अरुको मनको भाषा कसरी पढ्नुहुन्छ ?

मैले जिन्दगीका धेरै पाटाहरु भोगेको छु, धेरै पात्रहरुको अन्तरङ्ग सम्बन्ध अनि तिता मिठा ब्यबहारले कस्तो मान्छेमा कुन बेला कस्तो भावना उब्जिन्छ भन्ने कुरा मलाई थाहा हुन्छ भाई । मैले त मान्छेहरुका अनुहारका रेखाहरुबाट उनिहरुको म प्रतिको हेराई ब्यबहार पढेको छु । जुन मैले स्कूल क्याम्पसमा पढे त्यो भन्दा बढि डिग्रि त मैले मेरै जिन्दगी बाट हासिल गरेँ । रह्यो तिम्रो सवालको कुरा म मेरो जिन्दगीको यिनै नमीठा तीता भन्दा पनि तीता क्षणहरुलाई निस्तेज पार्न खुशी हुन यो प्रयास गरिरहेछु । तिमिले मलाई मेरो ब्यबहार हेरेर जे पायौ नि खासमा मेरो जिवनको नीजि पाटो त्यस्तो छैन भाई । मैले त होस नसम्हाल्दै सिकेँ बिभिन्न चुनौतीहरु सँग लड्न, म दुई बर्षको नहुँदै आमाको दुध कहाँ पाइन्छ भनेर खोज्न सिकेँ अनि माग्न पनि सिकेँ, भोक लागेर पेटको मानी शिथिलहुँदा केहि नपाएर चहूरका फट्याङ्ग्रा टिपेर खाएर भोक मार्न पनि सिकेँ, भुईँ काफल अनि अमिलो नूनिलो स्वाद आउने रुखका बोक्रा अनि पात खान सिकेँ त्यसैले समग्र जिन्दगीको सिकाई त्यो अबस्थाबाट शुरु भयो । अहिले त समय डिजिटलमय भएको छ त्यहि भएर अझै धेरै सिक्दै छु भोग्दै छु नयाँ रुपमा अनि फरक आवरणमा फरक पात्रहरु सँग ।

सरि दाइ ! मैले हजुरको पूरानो घाउलाई कोट्याएर हजुरलाई दुखाएँ । मेरो चाहिँ त्यस्तो छैन बास्तवमा, मेरो जिवनमा सिकाईहरु पछिल्ला दिन बाट शुरु भएका हुन । कमिलाको हूलमा हिँड्ने एउटा सदस्य कमिला जस्तै अरु जसरी जिवन बिताएका छन म पनि त्यस्तै हो दाई । मैले जिवनमा शायद धेरै सिक्न बाँकि छ । तै पनि मैले सभ्यताबाट धेरै जिवनशैली सिकेको छु, जिवनका भित्रि अन्तरङ्ग तथ्य सिकेको छु, बास्तवमा ऊ मलाई जति माया गर्छे शायद त्यत्तिनै माया मैले उसलाई दिन सकिनकी भ्याइन कि झैँ लाग्छ ।

हो भाई मलाई सब थाहा छ तिम्रो र सभ्यताको बारेमा तर पनि कहिले काहिँ मनमा कुनै सँकोच त लाग्दो हो नि । कहिलेकाहिँ कुनै बिषयमा दुबैको झगडा हुँदोहो अनि मिलती पनि हुँदो हो के छ यो बारेमा सोचेर एक छिन भन्नु है कुनै समयमा मिलाएर ल हामि त पदयात्री हौँ बाटोको बिबिधतालाई पनि त सम्मान गर्न पर्यो नि कसो भनेर दाइले बिट मार्नु भयो अनि म पनि टाउको हल्लाएँ ।

अलि माथि उकालीमा गए पछि दैलाको पोथ्रामा बाख्राका पाठा मुसारिहेकी गुर्सिनीलाई दाइले अब घान्द्रुक पुग्न कति समय लाग्छ भन्दा उस्ले रेडिमेड मुस्कान छर्दै अब तीन घण्टा लाग्छ भन्दै पाठाका आँखामा चिप्रा पुछि । तिम्लाई कि हाम्लाई हो भने दाईले अर्को झटारो मुक्र्याउनु भयो, हजुरहर्लाइ नि हाम्लाई त के पोर हिजै गअर आको माथि सोल्टी सँग । हो है आज जाने काम छैन तिम्रो ? भनेर दाइले मन चोर्न खोज्नु भयो । छैन नि ! दिन दिनै जान त बा आमाले मार्छन, हिजो रात भर कत्रो गन्थन अरे भो बाई मत जान्न । भो भो ! नजाऊ पाठो खेलाएरै बस हुन्छ, भनेर दाइले मलाई अगाडि हिँड भनेर इशारा गर्नु भयो ।

मान्छेका आ आफ्नै जिन्दगीका सोचाई अनि समस्याहरु हुन्छन भाई, तिमिले सोच्यौ होला दाइले यो नानीले जान्छु भनेको भए लिएर आउनु हुन्थ्यो भनेर । यो त तिमिले भन्ने कुरा हो मैले सुनेर बस्नु पर्ने तिमि त अझै बासेका रहेनछौ अनि मैले नै बास्नु पर्यो । केहि बुझ्यौ कि बुझेनौ यो हाम्रो बोलचालबाट तिमिले ।

मलाई दाजुले कति ढुक्क भएर बोल्नु भको होला, कता त्यो केटि रिसाउँछे कि भनेर डर लागिराथ्यो तर कति सजिलै उसको मनमा पसेर बाहिर निस्कनु भयो म त हेर्या हेर्यै भएँ । म त्यो केटिले जान्छु भनेको भए हजुरले ल्याउनु हुन्छ झैँ लागेको थियो । 

हे ! हे ! हे ! तिमि यसैले केटाकेटि नै छौ, उस्ले जान्छु भनिसकेकि हुनाले मैले पाठा खेलाएर बस नजाऊ भनेको पनि तिमिले बुझेनौ, भो छोड यो कुरा ।

तल मोदि सुसाई रहेको, माथि पाखामा सिमलका सेता फूल पाखाभरि देखिन्थे, वरपर खेतीबाली पनि मसक्क सप्रेको थियो काँठ काँठमा । बनका ओशेपमा गुराँसको लस्करै देखिन्थ्यो । पातलो बस्तीमा गोरेटाहरु भने बाक्लै घरहरु हाँडिबाट उछिट्ठिएका मकै जस्ता देखिन्थे । त्यसैमा घसेनीका डोकाहरु पखेराहरुबाट घरतिर लम्किएका पनि देखिन्थे फाट्ठफुट्ठ जस्तो । कतै कुइनेटामा अनि घुम्तिहरुमा हिमालको हिस्सिपर्दो रुप घरी बादलले पुछेर हिउँचूलीलाई सिँगाथ्र्यो घरी उहि बादलले घुम्टो ओढाएर बेहुली जस्तै बनाउँथ्यो ।

हातमा लट्ठि थिएन, झोला गहु्रङ्गो थियो ढाडैमा टाँसिएर ज्यान भरि पसिनिएको थियो । पसिनाले त ज्यान मात्र होइन परेला पनि भिज्थे पटक पटक । तेरपाएँ बाटोमा घरी घरी चकमन्न हुन्थ्यो एकसुरले हिडिरहँदा लुइचे चरा बासेर ब्युँझाउँथ्यो हामिलाई । अब त दाई पनि त्यति बोल्न छाड्नु भयो थाक्नु भएछ क्यार । बाटैमा एउटा गतिलो पसल देखे पछि दाइले भाइको बियर चल्छ कि चल्दैन भनेर सोध्नु भयो मैले चल्दैन भने । दाइले २ वटा क्यान बियर अनि २ क्यान रेडबुल किनेर एक एक वटा खाँदै अनि बाँकि झोलामा राख्यौँ ।

लटरम्म सिमलका फूलले जवानी मनमा ओर्लन्थ्यो, मनका गराहरुमा सभ्यताको दर्पण छायाँ दुरुस्तै हुन्थ्यो । बाटोको वरिपरि तीनचारपाते मकै कल्कलाउँदै थिए खेतका गराहरुमा अनि तल खोलातिरका गरामा बर्खे धानको रोपो सरेको हरियो सुन्दरता आँखामा आउँदा मन चाहिँ शितल हुन्थ्यो । मोदिका हरेक छालहरुमा हजार चित्र कोरिन्थे, अनि मेटिन्थे उनै छालहरुले । पोहोर साल कोशी किनारमा घुम्न जाँदा यसै गरि मैले आफ्नो नाम बालुवामा लेख्थेँ तर लेख्न नपाउँदै छाल आएर लैजान्थ्यो तर यो पटक मोदिको छालले सभ्यताको मायालाई सुम्सुम्याउँदै थियो । हिमाल, खोला अनि पहाडका कुइनेटाहरु छल्दै जाँदा जिन्दगीका पृष्ठहरु पल्टाए जस्तो पनि भयो ।

अर्को बिसौनीमा थकाई मारियो मज्जैले । एकजना रौसेले गीत गाएर सबैलाई रमाइलोमा भुलाए, उकालोमा इन्जिन तात्दा खेरी बसमा पानी राखे जस्तै एक एक बोतल पानी ज्यानमा छिराइयो आँतै चिसीने गरि । मैले जीऊ फालेर गीतमा बग्न दिएँ शरीरको रगतलाई । फेरि शुरुभयो उकालो बाफ रे, जेमराजै रैछ नि उकालो त ।
कन्पारामा एक डोको मयलले कालै पल्टेका केटाकेटीले हामिसँग पैसा मागेर हात पसारे । हेरिनसक्नु तिनका नाक, सिँगानका पाप्राले सानातिना पहाड जस्तै थिए कट्कटिएका । फेरि केटाकेटीका अर्को लर्को फेला पर्यो ।

दाई दाई पैसा दिनुस न एउटा केटाले भन्यो,

कलम किन्न पैसा दिनुस न अर्कि केटिले नाकबाट तल झरेको सिँगानको लर्को स्वाँक्क तान्दै भनि ।

मैले तिनिहरुका अनुहार पढेँ, भरोसाका कुनै रेखाहरु थिएनन । खुट्ठामा जुत्ता थिएन, आङ्गका लुगा धुजा धुजा भएका थिए, कपाल चाहिँ जिँग्रिङ्ग थियो सबैको । मुखमा बासी कोते बासी चार बाक्ली मयल थियो अनि नङ्ग चाहिँ तिन वित्ते फोहोरी थिए ।

तिमिहरु कतिमा पढ्छौ दाइले सोध्नु भयो ।
सानी केटीले चम्केर भनी म त दशमा ।
म त तीनमा केटोले गम्कँदै भन्यो ।

कहाँ हुनु ? तिमिहरुको उमेर मिलेन कि क्या हो, मिलेन हो मिलेन भुराभुरी हो, तिमिहरुले हामिलाई उल्लू बनाउन खोजका भनेर दाइले खार्नु भयो ।

एक अक्षर पनि पढेका जस्ता नलाग्ने उनीहरु एक आपसमा झगडा गर्न थाले । कसैले घोकाएको कुरा बोलेका रहेछन हामिले परैबाट सुन्यौँ । मैले भन्नु पर्ने किलास तैँले किन भनिस् भन्दै थियो अनि अर्को ले मेरो किलास म आफै भन्छु अब भनेर झर्किँदै थियो । हामि पनि हाँस्यौँ तिनिहरुको चालामाला देखेर अनि अगाडि बढ्यौँ वास्तै नगरी ।

हाम्रो अगाडि एक जना एक्स आर्मि जस्ता देखिन सेतै फुलेको बा हाम्रा अगाडि ठम ठम गर्दै हिड्दै थिए, बाटोको बिचैमा एउटा बट्ठा देखियो मैले लात्तले हानेँ । बुढा त अत्तालिएर ओइ भाग भाग अब पड्कन्च पड्कच्न । दाइले पनि ख्याल गरिरहनु भएको रहेछ अनि बाजेलाई च्याप्प समात्नु भयो अनि नबोल्नुस् यसरी तर्सने होइन जमानामा सँसार जितेको मान्छे पनि यसरी डराउँछन धत् बुवा । मैले हातमा लिएँ बाजे अझ पनि थर्थराएकै थिए, मैले भुईँको झारमा घसारेर पुछेँ नङ्गपालिस को बट्ठापो रैछ । अनि बाजे पनि हास्नुभयो करैले हो त रैछ नि क्यानाम बज्जिया एउटो बट्ठोले पनि झस्कायो बाबु क्यार्चौ । मेरै आँखा अगाडि घरका दुइटा नातीहरु यस्तै बट्ठा जस्तो देखिने पड्केर आँखा अगाडि स्वर्गे भए त्यहि आउँछ बाबु आँखामा झल्झली नत्र त आफ्नै हातले कति दुश्मनलाई मारियो ।

उनको डर मत्थर भए पछि दाजुले सोध्नु भयो यो घान्दु्रक भन्ने नाम कसरी भयो बुवा ।

क्यानाम तो त एक दम सजिलो छ नि बाबु । बाबुलाई बन जङ्गल त थाहा छ नि । उसो भए घना भनेको बाक्ला रुख भएको जङ्गल पनि त थाहा होला । पहिला खेरी यहाँ एकदम घना रुखहरु थिए रे । अनि कति जुगमा मान्छेहरुले बोल्दा बोल्दै सपार्दै बिगार्दै हो त्यै घना रुख लाई घान्द्रुक भनेका अरे बाबु हाम्लाई पनि बाऊ बाजेले भनेका हुन । तै पहिला जस्ता घना रुख अहिले छैनन बाबु उसबेलाको नाम पनि फेरियो रुखहरु पनि पातलिए बाबु भन्दा भन्दै बा बाटोबाट खुत्रुक्क तल झर्नु भयो कानमा जनै भिरेर ।

अलिकति अगाडि पुगेपछि पहाडको पखेरामा खामरुङ्ग बराह मन्दिर भेटियो सानो मन्दिर तल पट्ठि सानो ओडार थियो । तल पट्ठि तिन चारवटा घर भए पनि चालचुल चाहिँ केहि थिएन मान्छेको । अझै पनि घान्द्रुक भेटिएको थिएन हाम्रो पाइतालामा । अनेक रुप अनि ब्यबहारका दाँवलहरु सँग हाम्रो भेट हुन्थ्यो । छिनमा छुट्ठिन्थे छिनमै भेटिन्थे कता कता अझै झोलामा गुराँस सिउरेर राम्रिएका थिए उनीहरु । कुनै युवतीहरुले मेरो पिठ्यूँमा ढाप मार्दै आफ्नैै भाषामा बोलेर मलाई कायल पार्थे अनि दाइले मलाई सघाउनु हुन्थ्यो । एउटी युवतीले मेरो हात समातेको बेला दाइले मौका छोपेर उसलाई तिमिले घरजम गर्यौ भनेर सोध्नु भयो अनि उस्ले नाईँ भनेर टाउको हल्लाई अनि ए त्यसो भए मेरो भाई पनि तिमि जस्तै हो घरजम गर्ने हो भनेर सोध्नु हुन्थ्यो ऊ म तिर पुलुक्क हेरेर आँखा जुधाएर लजाउँथी अनि खै भनेर मेरो हात सुलुत्त छोड्थी । म चाहिँ उस्को हात मेरो हातमा जोल्टिँदा सभ्यतासँग मिलाप भए जस्तो लाग्थ्यो उस्को अनुहारमा सभ्यताको छायाँ देख्थेँ अनि झस्क्न्थिेँ ।

तीन घण्टा भन्दा भन्दा नौ घण्टा हिडिसकेका थियौँ हामि तै पनि झोलाझ्याम्टा थन्क्याएर आङ्ग तन्काउनको त सुरसार नै थिएन अझै । अनि राम्रै उकाली छिचोले पछि देखा पर्यो बाक्लो बस्ती । ढुङ्गेनी छानाका घरहरुमा रमाउन थाले हाम्रा आँखा । निकै तलसम्म हिउँका तह देखिन्थे मास्तिर कुहिरोको घेरोले छोपेको थियो अन्नपूर्ण र हिमचुली हिमाललाई दोसल्ला ओढाएझैँ गरि । अन्तिम उकालोको अन्तिम खुड्किला उक्लिए पछि चौतारी भेटियो । घाम त हिमालमा मात्र बाँकि थियो तल भने रातको अँध्यारो बर्किएको थियो । होटल नपुग्दै अन्तिम पटक हामि त्यहि चौतारीमा ढुस्स बस्यौँ । हाम्रो पछाडि एउटी केटि मान्छे कसैको पर्खाइमा कुरेर बसेको भेट्यौँ अनि दौडिँदै एक जना केटा मान्छे आयो । खै के नाम बोलाएर भन्यो तीन जना गेष्ट छन रुम बाँकी छ कि नाईँ भनेर आयो । फरेन हो कि नेपाली हो भनेर मुख कहिले नचाहिने जस्तो गरि फालेर सोधी अनि नेपाली भए पनि राम्रो छ के भने जति तिर्छ भन्दा पनि त्यति उक्सिइन अनि एक छिन को भलाकुसारी पछि बल्ल हुन्छ ले भनि अनि खुशी हुँदै आए र रिसिप्सन मा घुस्रिए हामि हेरेको हेर्यै भयौँ । कमसेकम ब्यबसायको मर्म अनुसार पनि अलि सोमत हुनु पर्ने खै के खै के भयो घान्द्रुकको पहिलो पाइला नै ।

अलि अगाडि गएर एउटा होटलमा रुम लियौँ सानो भए पनि हिमाल तिर फर्केको हुनाले राम्रै लाग्यो खासै महङ्गो पनि थिएन त्यो । हिमालको अगाडि बसेर चिया पिउँदाको मज्जानै अर्कै थियो । मैले भनेँ दाई मलाई त यहाँ आइपुग्दा जे जसो भए पनि यहाँ चाहिँ स्वर्गमै आए जस्तो भयो वास्तवमा मैले यतिबेला मेरी सभ्यतालाई मिस गरिरहेको छु । सँगै हुन पाएको भए कति रमाउथी होला म सँग अनि यो रमणीय प्रकृति सँग ।

अँममममम बल्ल खुल्न थाल्यो मेरो भाइको ढोका, अन्त तिम्रो मनको ढोका खुलाउन त स्वर्गकै पाउ पर्न पर्ने रैछ होई, यसरी आफ्नी प्रीयतमा लाई मिस गर्नु पनि एउटा माया हो भाई सँगै सँधै हुनु र टाढा हुन भनेको त आफ्नो परिबेश र परिस्थिति हो यसलाई त स्वीकार्नु अनि यहि परिस्थिति अनुसार चल्न सक्नु पनि त जिवनको अर्को सिद्धान्त हो भाई ।

एउटा कुरामा चाहिँ डर लागिरहन्छ दाई, ऊ कहिलेकाहिँ बोल्दा बोल्दै म के बोलेँ भन्ने पनि थाहा पाउँदिन । कसैसँग च्याटमा कुरा हुँदा हुँदै आई लभ यू डियर आइ मिस यू भन्न पनि पछि हट्दिन । उसका लागि त सामान्य होला तर सबै केटा मान्छे उ जस्ता हुँदैनन भन्ने पनि थाहा पाउँदिन । मेरो जोड त केहो भने सभ्यतालाई यस्तै कुराले कसैले पनि हल्का नठानोस । कसैले अलग नजरले चियाउन पनि नसकून तर उस्को कामको शिल्सीलामा उस्ले गर्ने ब्यबहार प्रति चाहिँ मेरो केहि गुनासो छैन । जिवनमा एउटा शब्दले एउटा बोलीले कति फरक पार्दो रहेछ त्यो त मलाई थाहा छ दाई त्यो पनि सभ्यताले नै सिकाएकी हो । उस्ले मलाई गर्ने माया र समर्पणको त कुरै नगरौँ दाई मैले अन्यथा सोचेँ भने पनि मलाई पाप लाग्छ उस्को आँशुको श्राप लाग्छ मलाई ।

ऊनी त अब तिम्रो अर्धाङ्गिनी हुन, सहि बाटोमा ल्याउने सिकाउने घर सल्लाह गर्ने पनि त तिमिहरु दुबैको दायित्व हो भाई । तिमिहरुको सम्बन्ध पनि मेरो जिन्दगीको अर्को एउटा बटमालाइन हो जो मायामा मानिसहरु कति सम्म त्याग गर्न सक्छन भन्ने । तिमिले ठिक कुरा गर्यौ यतिबेला भने यो त सभ्यताले पनि अब तिम्रो सहयात्री भए पछि केहि स्वतन्त्रताहरु परित्याग गर्नु पर्छ ।

दाई लाई त मैले केहि सोध्नै डर लाग्छ हजुरलाई, म कहाँ बाट सोधुँ के भनेर सोधुँ, त्यहि भएर सोध्दिन म हजुरलाई मेरो सानो मुखबाट हजुरको मन नदुखोस, मलाई सबै भन्दा प्यारो मेरो दाजु हो अनि हाम्रो अन्तरङ्ग सम्बन्ध हो ।

होइन भाई तिमिले त अरिँगालको गोलामा ढुङ्गा हानेर पनि बच्न सिक्नु पर्छ म त के हो र, सोध न केके सोध्न मन लाग्छ, अन्तरङ्ग सम्बन्ध पनि भन्छौ अनि सोध्न पनि डराउँछौ यो कस्तो सम्बन्ध हो तिम्रो र मेरो तिम्रो बुझाईमा कुन्नी त्यहि कुरा मैले बुझिन । तै पनि केहि छैन अझै समय लाग्छ तिमिलाई बुझ्न त्यसप्रति मेरो केहि गुनासो छैन ।

हेर भाई जिवनमा सुख दुख भइरहन्छ, आरोह अनि अबरोह पनि हुन्छन । प्रकृतिको त आधा दिन आधा रात हुन्छ अनि अझै त्यहि रातमा आधा पुर्णिमा अनि आधा औँसि हुन्छ । त्यस्तै जिवनका हरेक पक्षहरुमा त्यसका सकारात्मक र नकारात्मक पक्षहरु हुन्छन भाइ हेर । सटिक शब्दमा भन्ने हो भने जिवनमा म नितान्त एक्लै छु मेरो भावनामा मिल्न सक्ने मेरो स्वाभिमान लाई सम्मान गर्ने अनि मेरो हैसियत लाई बचाइदिने जिवन साथी छैनन भाइ । मैले तिमि जस्ता मेरा अतिप्रिय साथिहरुको कुरा गरिन जुन साथीहरु कम्तीमा मेरो भावना सँग मिल्नुहुन्छ ।

खाना खाने बेला भयो, नजिकै महि मथ्दै हुनु हुन्थ्यो होटल साहुनी उता साहू चाहिँ सुकुटीको शितनमा नारेपा लगाउँदै थिए । हामि खाना खायौँ गफ गर्दै, होटलवाला दाइले घरी घरी फोहोरी शब्द बोल्नु हुन्थ्यो भाउजुलाई म चाहिँ पानी पानी हुन्थेँ उता अँगेनामा दाइकि साली आगो बालेर बस्दै थिइ, शायद यस्तो कुरामा उस्को बानी परि सकेको थियो, वास्तै गर्दिन थि बरु हाम्रो दाई चाहिँ खाना दाल तरकारी थप्ने निहुँमा घरी घरी गिज्याउनु हुन्थ्यो, एक पटक त कति छुच्ची हो दाइकी साली कति थोरै देकि भन्दा भन्दै भाउजु लाई पनि नराखी सप्पै तरकारी दाइको थालमा ल्याएर खन्याइदिई, म त वाल्ल भएँ । मेरो दाइ भने होटल्नी भाउजु तिर हेर्दै मुसुक्क हाँस्नु भयो अनि भए भरिका सबै एक्कै चोटि हाँस्यौँ झन रमाइलो पो भयो ।

दाइको घडिमा आलार्म बज्यो साढे चार बजे । म पनि ब्युँझिएँ अनि बाहिर गयौँ हिमाल हेर्नका लागि । वरिपरि चकमन्न अँध्यारो तर चाँदिको मक्कल ठड्याए झैँ हिमाल रातमा पनि उज्यालो भएर बसेको थियो अलग्ग देखिने हिउँ अनि हिमालको आकृति । पूर्व तिरबाट प्रकाश हिमालको टुप्पामा फैलिँदै केहिबेरमा सुर्योदय पनि भयो अनि भुइँ भरि छिरलियो घाम रापिँदै रापिँदै झन झन । बिहान को समयमा हामि घान्द्रुक बजार घुम्न हिँड्यौँ । पूर्व पट्ठि अलिकति मात्र तल तिर गुरुङ्ग गाउँ थियो अनि बजारको फेदपट्ठि एउटा माध्यमिक बिद्यालय थियो र काखैमा एकदम मनोरम तरिकाले बनाएको अन्नपूर्ण क्षेत्र सँरक्षण आयोजनाको इकाई कार्यालय पनि थियो । बारीमा लेकाली साग, कञ्चन पानीको मूल धारा, उवाको खेती आदी आदी नयाँ थिए हाम्रा लागि । बिहानभर घुमेर फर्के पछि नास्ता गरेर हामि त्यहाँ बाट छुमरुङ्ग हिडियो फेरि अझै हिमचूली हिमालको फेदी तिर ।

बाटोमा अत्यन्तै झोल्लिएको झोलुङ्गे पुल, एउटै पानी बाट लगालग चल्ने चारवटा पानी घट्ठ, भैँसी गोठ र गोठालाहरु खच्चरहरुको लाम लस्कर हुँदै हामि अर्को डाँडामा पुग्यौँ जुन घान्दु्रक र छिमरुङ्गको बीचमा ठडिएको थियो । चौपारीबाट उत्तर तिर हेर्दा चाहिँ घान्द्रुक बाट देख्दा जस्तो नजिक थिएन छिमरुङ्ग, तल खोलामा झरेर उत्ति भन्दा पनि अझ दोब्बर माथि पुगे पछि मात्र छिमरुङ्ग आउँदो रहेछ । दाई लाई छुर्पी अति मन पर्ने र पनि बाटो भरी सोध्दा समेत भेटिएन छुर्पी अनि त्यहिँ मुखैको पसलमा दाई छिर्नु भयो र केके कुरा गर्नु भयो कुन्नी अनि रित्तै फर्किनु भयो । अनि भोक लागेकाले कटेजमा बसेर खाना खायौँ । अगाडिकी पसल वाली बहिनि अहिले त ओठ भरि लिपीष्टिक लगाएर चिन्नै नसक्ने भएर बसेकी कस्तो अचम्म । अनि यो पटक चाहिँ दाई भाइ हिँड केटाकेटी मान्छे मिठी किनौँ त्यहि बहिनिको पसलमा भन्नु भयो ।

अनि दाईले अगाडि एउटा बहिनि हुनु हुन्थ्यो नि अहिले कता जानु भएछ कति जना हुनुहुन्छ र पसल हेर्ने दिदि बहिनी भनेर दाइले दह्रो बचन दिनु भयो । ऊ पनि बोल्न तिख्खर रैछिन मै त हो नि कस्तो न चिन्नु भको हजुरले हेर्दा त जवानै हुनु हुन्छ बैँशैमा बुढेसकाल लाग्यो कि क्याहो भनेर उ पनि दरी भई । दरो दोहोरी हुने भयो दाई पनि बोलेर हार्न नजान्ने मान्छ अब के हुने हो भनेर म चाहिँ अचाक्लि खुल्दुलीमा थिएँ । अनि हजुरले यसरी मिनेट मिनेटाँ काँचुली फेर्नु होला भनेर मैले नचिताएर होला नि । अनि यति राम्रो रुप भएर पनि घसी घसी राम्री हुन पर्छ र चिन्ने ले असली चिज नघसेरै पनि चिन्छन क्यारे हेहे भन्दै बिल्याउनु भयो उसैलाई । उस्ले कुरो अल्मल्याउन कति दिउँ हजुरलाई भनी ।

के कति भन्नु भाको बैनी बुझिन मैले त आफू त सोझो मान्छे भनेर चश्मा माथिबाट उसलाई हेर्नु भयो । मिठाई माग्नु भको हैन त्यहि भनेको नि अरु त के दिम त नि मैले यो बेला न कुबेला भनेर भुतुक्कै पारी । भो तिमि सँग बोलेर सकिने भएन बहिनि बस है बेलामा आइएछ भने अरु पनि मागौँला दिन्न नभन्नु ल भने पछि भने अलि मत्थर भई अनि हामि पनि ओराली लाग्यौँ । दाइले नयाँ सूचना जारी गर्नु भयो अब हामि छिमरुङ्गको योजनामा अलिकति फेरबदल गरिएको छ भन्दै सिधै झिनु डाँडा जानका लागि अगाडि होटल बाल्नी दिदिले बताएको बाटो जाने निश्चय भयो त्यसै अनुसार हामि मूलबाटो बाट मोडियौँ ।

अगाडि दिदिले भने अनुसारको बाटो पहिल्याइएन थाहा भयो जँगलको मुखमा आइ पुग्यौँ हामि, तल पट्ठि गाइ भैँसी अनि खच्चर चराउने चौर अनि वरपर २ , ३ वटा गाइका र खच्चरका बाघले छोडेका अस्थिपञ्जर थिए झन एउटा गोरुको जस्तो लाग्ने करङ्ग आलै थियो एक हप्ता यतै खाएको हुनु पर्छ । तल खोला थियो मैले दाइलाई साउति गरेँ, म डरले मन हल्लिरहे पनि दाई चाहिँ ढुक्कले मिजासले नआत्तिइकन हिड्दै रोकिँदै हुनु हुन्थ्यो मलाई चाहिँ कति बेला बाघ आउने हो भन्ने मनमा डर थियो ।

तिमि डरायौ निशान हो मलाई थाहा छ कतै बाट बाघ फुत्त निस्कला अनि खाला भनेर डरायौ तिमि हो ? हामि यत्रो बेर हिजो दिनभर आज बिहान भर हिड्यौँ गाउँ चाहार्यौ कतै बाघले मान्छे खाएको सुन्यौ ? भन्दा मैले नाईँ भनेर टाउको मात्र हल्लाएँ बोल्ने गरि ममा अझै सास भरिएको थिएन । जनावरको पनि एउटा नियम हुन्छ, बहुलाएको अबस्थामा बाहेक आफूलाई अप्ठयारो महशुस नभए सम्म कसैलाई केहि गर्दैन भाई अझै हामि त दुइ जना छौँ । तर बाघ देखेर भाग्न अत्तालिन थालियो भने उसले पनि म माथि खतरा छ भनेर जाइलाग्न सक्छ हो यहि समस्या हो भाई । मानिस सँग मात्र होइन जनावर सँग पनि मिल्न सिक्नु पर्छ । घरमा पालेको जनावरले पनि राम्रो नराम्रो चिन्छ भाई । तै बाघैले खाइहालेछ भने पनि खावोस न के भो र एक पटक त मर्नु छँदै छ । पर्यो भने बाघ सँग पनि लड्छु भन्ने हिम्मत राख निशान । तिम्रो कन्फिडेन्स देखेर बाघ डराएर भाग्न परोस त्यत्ति हो मेरो कुरा ।

दाई मात्र बोलिरहनु भयो अनि कतै बाघले खाएका अस्थिपञ्जर देख्यो कि एक छिन रोकिएर हेर्ने दाजु चाहिँ म चाहिँ कति छिटो तल पुगिएला भन्ने मै समय जान्थ्यो । खोलामा पुगियो माथिबाट सानो देखिएको खोला त एकदम ठाडो अनि पानी पनि अति चिसो अनि तर्नै नसकिने पो रैछ । अलि माथि एउटा फड्के भेटियो । पारी पुगे पछि दश मिनेट त अब कता जाने मै गयो । खोलाको किनारबाट सानो मान्छे हिँडेको जस्तो लाग्ने सानो डोरेठो भेटियो अनि त्यहि समातेर तल जाने निधो भयो र हामि तल तिर लाग्यौँ । अलि अगाडि बढे पछि त्यो खोला त अग्लो छाँगो भएर खसेको पो रहेछ । माथि पैरो तल छाँगो तै बिषेक एउटा झर्ने ठाउँ भेटियो, जुत्ता खोल्न पर्ने जस्तो भयो एउटा रह पार गर्न लाई अनि दाइले झटपट उत्तिसको मुढो लतारेर रहको पारी पुग्ने गरि गुल्टाउनु भयो अनि हामि त्यहि मुढोमाथि टेकेर रह पार गरेर ढुँगाको चेप बाट तल छहराको सतहमा पुग्यौँ ।

देख्यौ निशान हरेक अप्ठेरो पार गरे पछि मनमा आनन्द मिल्छ, प्रकृति सँग डराउने होइन यससँग त समाहित हुनु पर्दछ । जिन्दगी यसैको देन हो भने यसैमा मिल्न यसै सँग लुकामारी खेल्न के को डर मान्नु यसै त शास्त्रमा हावा पानी को शरीर भनेर ब्याख्या गरेको होइन नि भाई । शायद तिमिले त यो छहरामा पनि उहि सभ्यतालाई देख्छौ होला । कस्ती छन तिम्री सभ्यता, अरु बेला नबोलाए पनि तिमिहरुको औपचारिक लगनगाँठो कस्ने बेला सके सम्म यो दाजुलाई नभुले, तिमि प्रति पनि मेरो धेरै घिडघिडो छ, कहिले काहिँ लाग्छ तिमी मेरै सास फेरि रहेछौ, मेरै रगतमा बगिरहेछौ तिमि अनि घरी घरी मेरै मुटुमा ढुक्ढुकी बनेर ब्युँझाउन आउँछौ मलाई । मलाई किन त्यस्तो लाग्छ थाहा छैन ।

हजुरकै मनको फूलबारीमा त हुर्के बढेको छु त्यहि न्यानो आश्रम नै मेरो घर हो दाई यहाँ भन्दा म सँग हजुरलाई भन्नु पर्ने अरु शब्द छैनन । अरु सबै हजुर नै जानकार हुनु हुन्छ । भौतिक परिवेश जे भए पनि आत्मिय रुपमा म हजुरकै शाखा हुँ म यत्ति भन्छु अहिले । हिँड्दै जाँदा अर्को फड्के पनि आयो त्यो पनि तर्यौँ । कति मनोरम प्रकृति एक्लै भए डर लाग्ने अनकण्टार खोचमा दाइको प्रकृति प्रतिको अटल बिश्वास ले मलाई पनि अहिले त हौस्याएको थियो । बाटो हराए पछिको पहिलो जघन्य समस्या आइपर्यो त्यत्रो खोलामा फड्के भेटिएन एकोहोरो पार गर्ने बाटो पनि भेटिएन । मैले दाई फर्कौ दाइ भने तर उहाँ मान्नु भएन उल्टै दाइले यात्रामा फर्किन सजिलो छैन निशान, यति सानो अप्ठेरो पनि सामना गर्ने साहस गर्न हामि सकेनौ भने भोलि लाई गाह्रो हुन्छ भने पछि अलि माथि फराकिलो जँघार भएको ठाउँबाट पाइन्ट खोलेर हातमा लिए जुत्ता पनि हातमा लिएर चिसो न चिसो खोलाको पानीमा तर्यौ यो पनि नयाँ अनुभव भयो ।

दाइ सँग हिँडियो भने त सगरमाथा पनि पुगिन्छ क्यारे हिँडेपछि पछाडि फर्केर हिड्न जान्नु भा छैन । दाइ मुसुक्क हाँस्नु भयो अनि ऊ त्यो लक्ष्मि प्रसाद देबकोटाको श्लोक था छैन तिमिलाई लक्ष्य के लिनु भन्ने ? हे हे हे दाइको कुरा अलिकति भए पनि सिक काम लाग्छ के कहिले काहिँ । अर्को कुइनेटोमा तल बिशाल रहको माथी बाटैमा पहिरोले ठूलो रुख ल्याए तेर्साएको रहेछ, पहिले रुखको तल पट्ठि दाजु छिर्नु भयो अनि हाँगा बिँगा भाँचेर पस्न मिल्ने बनाउनु भयो म पनि त्यहिँ बाट छिरेँ र अगाडि लाग्यौँ पदयात्रा बल्ल सान्दर्भिक हुँदै थियो पदयात्रा मात्र नभएर साहसिक यात्रा पनि हुँदै थियो ।

दाइ अगाडि हिँड्दै हुनु हुन्थ्यो म अलि पछाडि थिएँ । दाइले मतिर फर्केर सुस्केरा हाल्नु भयो अनि अब बाटो साच्चै बन्द भयो यस बाट पार गर्नु नै हाम्रो पदयात्राको परिक्षा हो हेर भाइ निशान तिमि पनि हेर यो प्राकृतिक समस्या यो चुनौती त हो नै यो त जिवन बाँच्ने कला सिक्ने अबसर पनि हो अब तिमि नै भन अब के गरुँ भने दाजुले सबै आकाशले मलाई नै थिच्नु भयो । दुबै तिरबाट पार गर्ने बाटो छैन माथि पाखामा लागौँ भिर मात्रै छन, अगाडी पनि कुनै बस्तिको न दृश्य छ न चालमाल छ अब के गर्ने भन्ने कुराले अल्मल्यायो मलाई अनि ढुँगामा झोला फालेर थचक्क बसेँ । दाइ चाहिँ भित्ता तिर हेरेर केके गम्दै हुनु हुन्थ्यो ।

निशान के सोच्दै छौ तिमि ? अब तिमि एक छिन सोचिराख तर मैले जे भन्छु त्यहि मान हामि सफल हुन्छौँ यो पार गर्न लाई बुझ्यौ दाइ छ नि दाई चिन्ता नमान न यार । ल सुन म छोटो मान्छे तिमि अग्लो मान्छे त्यहि भएर तिमिले तलबाट मलाई उचाल पहिला म जान्छु, अनि म झोला तान्छु अनि तिमिलाई तान्छु । लेट्स मुभ । भिरको झाडीको काँठोमा चढेपछि मेरो सास बल्ल खुल्यो तै पनि कहिले पनि कोहि पनि नहिँडेको तेर्सो झाडि फाँड्नु थियो र त्यसमा पनि दाजु नै अगाडि सर्नु भयो । करिव आधा घण्टा झाडि फाँडेपछि बल्ल सानो ठाडो खोल्सामा पुगियो मेरो भन्दा पनि दाजुको हात चाहिँ घरी ऐसुलुको काँडा ले घरी सिस्नुले बिझेर एकदम रातै भएको थियो तै पनि ऐया भन्नु भएको थिएन ।

अन्तिम लर्को फेरि बाँकि रह्यो । अब तब गाउँमा पुगिन्छ भनेर हिँडेको त कहालि लाग्दो  पैरोको सिरानमा खुट्ठामात्र अड्याउने बाटोमा पुगियो आँगै सिरिङ्ग हुने गरि त्यस पछि बल्ल झिनु डाँडाको चहल पहल देखियो । फेरि तल झर्ने अर्को पहिरोको बाटो रहेछ, यस्तो कि यसो खुट्ठा हल्लियो कि गल्र्याम गुर्लुम हुँदै खोलैमा पुगिने दाजु चाहिँ पहिरो तिर बाट झर्नु भयो म चाहिँ यता पनि झाडि भएको खोल्सो बाट झर्ने निधो गरेँ अरु नभए पनि यस्तो झाडिमा चाहिँ अजिँगर बस्ने खतरा हुँदा हुँदै पनि मैले खतरामोलेँ एक छिनमै खोलाको किनारमा पुर्गे दाजु चाहिँ चार हात खुट्ठा टेकेर बल्ल तल्ल आधार पहिरो झर्दै हुनु हुन्थ्यो म चाहिँ खोला मा पुगिकन सुस्ताइसकेको थिएँ ।

बढिमा जम्मा एक घण्टाको बाटो चार घण्टा लगाएर छिचोलियो, मैले दाजुको अटल बिश्वास र दिगो साहसको मनै देखि तारिफ गरेँ मेरो जिवनमा पनि ठूलो सिकाई भयो । जिवन भनेको माया प्रिति मात्र होइन दुख रोदन मात्र होइन प्रकृति पनि जिवनको एक अँग हो अनि प्रकृतिमा अरु धेरै जिवहरु छन उनिहरु सँग पनि मित्रताको खाँचो हुन्छ माया तिनिहरुलाई पनि चाहिन्छ भन्ने सिकेँ मैले । अनि मैले आज त निकै थाकियो दाई म त हिँड्न पनि नसक्ने भएँ भने मैले दाई चोर औँलो ठड्याएर हाँसिरहनु भयो । अनि हामि त्यो रात झिनु डाँडा मा बितायौँ । बिचैमा तल मोदीको किनारमा तातोपानीको धारामा नुहायौँ अर्को मज्जा आयो दिन भरीको थकान दूर भयो फर्केर फेरि डाँडामा आयौँ रमाइलो गर्दै बस्यौँ । भोलिपल्ट सबै योजनाहरुलाई छोटो पारेर सिधै पोखराका लागि हानियौँ दाजु र म । बाटोमा हासो ठट्ठाहरु पनि कम भए ज्यान नयाँपूल सम्म ल्याउनै धौ धौ भयो । कस्तो आनन्द भयो पदयात्राबाट थाकेर पहिलो पटक पोखराका लागि बस चढ्दा ।


Sunday, 23 December 2012

तृष्णा


जिन्सको पाइन्ट माथि ज्यानमा टाँसिने गरि टफ लगाएकी थिइ पूजाले पहिलो पटक गाउँमा छिरेकी तै पनि नर्सको रुपमा । बेन्चमा पडाडिबाट सानो बच्चाले कट्कटिएको मुखमा मुजा पारेर उस्को मुखमा ट्वाल्ल हेरेर बसिरह्यो । बिस्कुट खान्छस? मिठि खान्छस? भनेर सोधी खान्न भनेर टाउको हल्लायो । अनि के खाने त भनेर सोध्दा उस्ले बुबु खान्छु ममी बुबु खान्छु भन्दा पूजा झन वाल्ल परि कन्ये केटि अप्ठेरो मानी एक छिन अनि घरमा जाऊ, ममी सँग बुबु माग अनि दिनु हुन्छ भन्दा ममी त फा फुइइइई!!  भन्न मात्र जानेको थियो । अनि सहि नसक्नु भएर भित्रबाट त्यहि घरकी दिदी लाई बोलाई र बुबु भन्छ दिदि मलाई त पानी पानी पार्यो यस्ले ।
 

नानी हजुरलाई थाहा नभएर हो, बिचरा यस्की आमा सानैमा स्वर्गे भई, यो त बर्षिको पनि थिएन, एउटी बुढि हजुरआमा छन, यसलाई हेर्ने तै पनि बिहान भए पछि गाउँ तिर लगाइदिएर कता हिँड्छिन मेलापात गर्न, यो बिचरा कस्का घर जान्छ कता पस्छ, मनकारीले कहिले खान दिन्छन कहिले भोकै पनि बस्छ तर सन्तकी छ । यस्को घिडघिडो चाहिँ लाम्टो चुस्ने भयो अनि ठूला छाती भका केटि मान्छे देख्यो कि यसै भन्छ बैनी । यस्लाई हप्काउन भन्दा पनि फकाएर सम्झाउनु पर्छ नत्र रोयो भने फकाउनै सकिन्न । छातिमा दुध आउनेले त एक छिन खुवाएर जान्छन अनि दिनभरी लाई हुन्छ यसलाई ज्ञानी भएर बस्छ ।
 

धेरै जसो त यस्लाई ऊ पल्तिर आरने कान्छाबा कि बुहारीले दुध खुवाउँछे, लैनो दुध मज्जाले खान्छ उस्लाई देख्यो भने त टाढैबाट दौडिन्छ, नखाई मान्दै मान्दैन भन्या, अनि उल्ले पनि आफ्नै छोराछोरी लाई जस्तो दुध खुवाएर जान्छे अनि उसलाई अरु केहि खानै पर्दैन । कहिले काहिँ त राती राती पनि यतै तिर हिँडिरहन्छ आवोई पनि घरमा नगए पनि कतै सुत्यो होला भनेर बास्ता गर्दिनन् कुन दिन बाघले झम्टेर लानीहो भनेर पिर लाउँछ बैनी मलाई त । यत्रो लामो जिन्दगी कसरी काट्छ खै यस्ले भन्दै फतफताउँदै भित्र पसिन अनि पूजाले पनि उसलाई अहिले बस म भोली आउँछु है मिठी लिएर मेरो बुबु छैन बाबु आउँदैन भनेर भनी उस्ले पनि पाको मान्छेले झैँ बुझेँ भनेर टाउको हल्लायो अनि पूजा गएको बाटो आँखा नझिम्क्याएर हेरि रह्यो ।
 

धूलोमा हिलोमा खेल्दा खेल्दै ऊ आफ्नो उमेर पनि थप्दै दियो होश पनि पाउँदै थियो । यति सानो भएर पनि अभाव मा भएर पनि कसैको चोरुँ कसैलाई छलुँ भन्ने उस्को ब्यबहारमा देखिँदैनथ्यो । गाउँका सम्पन्न परिवारका मान्छेहरु बेला बेलामा लोकल खसि काट्थे अनि त्यहिँ भुटुवा बनाएर खान्थे पनि । एक दिन ऊ पनि खसि काट्ने ठाउँमा पुग्यो अनि सबै तारतम्य हेर्यो, अरु जसरी रमाए पनि ऊ आफ्नै तालमा रमायो । अनि भुटुवा बाँड्ने बेलामा सबैलाई पातको दूनामा बाँडे उसलाई त छ भन्ने पनि बिर्से सबैले । सबैले खाएर भ्याए उसले भएजति मान्छेका आँखामा आँखा जुधाउन खोज्यो, कतै दयामाया भन्ने छ कि भनेर हेर्यो, मान्छेहरु आँखा जुध्यो कि टाउको उता घुमाउथे अनि आँखा भरी आँशु बनाएर गम्डो ओल्र्यो बाल मगजमै उसको मन यति भारी भयो कि उस्को घरमा पालेको बाख्राले बरु उसलाई माया मान्थ्यो । अनि घरमा गएर चिसो सिन्कीको तिहुन मा मकैको आटो खायो आँखा नओभाउँदै ।
 

गाउँको पल्लो कुइनेटोमा स्कूल थियो त्यस्तै दश पन्ध्र मिनेट लाग्ने पुग्नलाई । उस्लाई एक पटक पाठ पढेर सकेपछि सबै खरर्र हुन्थ्यो अनि सरले जहाँ बाट सोधे पनि ऊ भन्न सक्थ्यो । सरले कक्षामा उसलाई सोध्दैनथे खास गरि तै बिसेक कहिले काहिँ सोधे भने खरर्र भन्थ्यो तैपनि स्यावास पाउँदैनथ्यो उसको क्षमताको कदर गर्न पनि स्कूलका सरहरु हिच्कीचाउँथे अनि केहि मेसो नपाएर बहुलाउँछ यो कुन दिन भनेर हतोत्साहित पार्थे । अरु स्कूलको पोशाकमा सफा भएर आउँथे तर ऊ भने कहिले देखि नधोएको कपडामा आउँथ्यो कहिले काहिँ त लाइन बाटै घरजा भनेर हप्काउँथे तै पनि ऊ कहिले पनि स्कूल छोडेर हिँडेन । उस्का आँखा सफा पोशाक लगाएका आफ्ना सैसाथेहरुमा हुन्थे । उनिहरुले हिँडेको, बोलेको उनीहरुको सफा चट्ट परेको जिऊडाल हेरेर बस्थ्यो, गम्थ्यो आफैलाई पनि म पनि यस्तै सफा हुन पाए तर आफू तिर फर्केर हेर्दा सन्सार अझै अँध्यारो थियो । अरुले स्कूलमा दिउसो खाजा खाँदा उस्ले नजिकैको पिपलका झरेका गेडा टोकेर नास्ता गथ्र्यो अनि चट्ट परेको पोशाकको साटो उस्को त हाफ पेन्टमा पनि प्वाल परेको हुन्थ्यो ।
 

कतै मान्छेको माझमा बोल्न मात्र पायो भने कति हो कति गफ लगाउन माहिर थियो तर ऊ सोचेर मात्र कुरा गर्दथ्यो खासमा तार्किक मात्र बोल्ने मौका पायो भने उस्को मुखै रोकिन्नथ्यो । एक दिन सबैको अगाडि कचहरीमा बस्दा उस्को पोष्ट अफिस खुलेको उसलाई थाहै भएनछ । सबै उसलाई हेरेर गिल्याएर हाँसे ऊ पनि हाँस्यो । मेरै कुरामा सहि थापेर हाँसेका भनेर ऊ पनि झन गम्किँदै हाँस्न थाल्यो । म पनि मान्छेका माझमा बोल्न जान्ने भएँछु भनेर मन कति ओजिलो भयो उस्को । कचहरीमा पाका मान्छेहरु पनि थिए, उपल्ला थरकी जमुना पनि थिई अनि भुरा भुरीहरु थिए । उठ्ने बेला उसकै कक्षामा पढ्ने चन्द्रीले हेर त कुरी कुरी भनेर जिल्याए पछि सबै पारो जति पानी पानी भएर नाक लुकाएर भाग्नु पर्यो । उसलाई अहिले सम्म गफ लगाएका मन ठूलो बनाएका सबै चिजहरु सबै मेची खोलाले बगाए जस्तै भयो । आफूले आफै पनि धिक्कार्यो तै पनि एक छिन पछि तुरुन्तै मन साम्य पारिहाल्यो अनि अगाडि भएका सबै कुराहरुलाई बिर्सिन प्रयत्न गर्यो । नियतिले पनि उसलाई यस्तै बनाइदिएको थियो, यस्ता कुराहरु त जिवनमा अनगिन्ति थिए । सँझिएर पिरोलीनु भन्दा बिर्सिनु बेश भन्ने बानी परिसकेको थियो । 
 

मानिसलाई अभावले अनि तृष्णाले सधैँ प्यासी बनाइरहदो रहेछ यस्को उदाहरण हामिले उस्को जिवनमा खोजिरहेका थियौँ । पेट भर्नु मात्र अघाउनु होइन अघाउन लाई त मन पनि अघाउन पर्दो रहेछ । उस्ले धेरै देख्यो होश सम्हाले देखि आजसम्म कति कति तै पनि देख्नलाई मात्र भयो, एक पटक पनि मन अघाउने गरि मनले चाहेका कुरा खान पाएन र त सधैँ प्यासी देखिइरहन्थ्यो ऊ । एक दिनको कुरा हो एकजना आफन्त पर्नेले दिदिले उसलाई खाना खान आफ्नो घरमा बोलाउनु भयो अनि भान्सामा लगेर बस भनेर आफूचाहिँ करेसाबारीमा साग टिप्न जानुभयो । उस्को आँखा शिसामा राखेको मूलाको अचारमा पर्यो । उस्ले त्यहाँ मूलाको अचार मागेर खान सक्छु भन्ने लागेन अनि सुटुक्क चोरेर खाने निधो गर्यो । जिवनमा पहिलो पटक चोर्न हौसियो अनि कुर्चि माथी चढ्यो र चिप्लो सिसा समात्यो त्यतिबेला कुर्ची पनि हल्लियो अनि शिसा पनि भुइँमा थेचारीएर चकनाचूर भयो । दिदि दौडिँदै आउनु भयो भुइँभरी पँहेलै थियो मुलाका चाना उसलाई हेरेर गिज्याइरहेका थिए, तै पनि उहाँले गालि चाहिँ गर्नु भएन । एक छिन नबोलि बस्नु भयो अनि नडरा बाबु म गालि गर्दिन नि तँलाई, मलाई भनेको भए पनि त तलाई खान सके जति दिन्थेँ नि केहि छैन त्यस्तो अचार त म भोलि बनाइहाल्छु नि । अर्को भाँडामा पनि छ निकालिदिन्छु खानु है बाबु कुन खान्छस लप्सीको कि अमलाको भन्दा पनि उस्को जिब्रो रसाएन । भैगो दिदि म केहि पनि खान्न आज कुनै दिन खाउँला । मेरो सुद्धि के भयो के दिदि मन थाम्नै सकिन खान मन लाग्यो, यत्रो असरल्ल भयो के गरम दिदी । दिदिले पनि  हाँसेर टारिदिनु भयो र पहिलो पटक उसलाई मनमा शान्ति मिल्यो । अनि त्यहिँ खाना खाएर आफ्नो घर फर्क्यो  । उहाँ त्यहि दिदि हुनुहुन्थ्यो जस्ले सानै देखि राम्रो ब्यबहार गर्नु हुन्थ्यो उसलाई । आफ्नो वरिपरि देख्यो भने ल्याएर खानेकुरा खुवाउनु हुन्थ्यो र केटाकेटी देखिनै ऊ दिनमा एक पटक दिदिको घरमा पुगेकै हुन्थ्यो ।
 

स्कूलको वाताबरणले उस्को पढ्नु पर्छ भन्ने मनको हौसला पनि खडेरीमा खरबारी सुके जस्तै सुक्दै गयो । न उस्लाई पढ्नु पर्छ भनेर सम्झाउने कोहि थिएन । ढिलै भए पनि पढ्न शुरु गरेको उस्ले १५ बर्षको हुँदा बल्ल बल्ल सात कक्षा पढ्दा पढ्दै छोड्यो । अब त कापी किताब किन्न पनि पैसाको जोहो गर्न गारो हुन थाल्यो । अझ त्यसमा सबै परिस्थितिहरुले उसलाई स्कूल सम्म तानेर लान सकेन । उस्का गोडा स्कूल तिर भन्दा पनि बाख्रा चराउन तिर लागे । जमूनाले पनि ५ कक्षा पास गरेर ६ कक्षामा दुइ तिन महिना पढेर छोडी त्यहि भएर पनि उस्लाई स्कूल जान मन लागेन । 

समय पनि बायुपँखी घोडा जस्तै दौडिए जस्तो लाग्यो किनकी अब त ऊ पनि १९ बर्षको पनि भयो । जवानीका रङ्गहरु पनि देखिन थाले, बोली मोटो भयो, हात पाखुरा अनि पिडुँला पनि गाँठिए, जुँगाका रेखी पनि बसे शरीरको आकृति पनि बदलियो अनि बिस्तारै जवानी भरियो । कति छिटो हर्लक्कै भाको ऊ पनि, अस्ति भर्खर सम्म सानै भए जस्तो लाग्थ्यो । घरमा बाहिरफेर लगाएर हिँड्ने कपडा थिएनन, आफै ले किनेर नयाँ जुत्ता अझै लगाएको थिएन । परार साल साइला लाहुरेले पल्टन बाट ल्याएका आफ्ना जुता जडाउरी दिएकाले दुइटा जाडो फाल्यो तर उसका गोडा पनि बढे जुत्ता पनि फाटे । एक महिना भरी भारी बोकेर आफूलाई गतिला २ जोर कपडा र कपडाका जुत्ता किन्यो मेला मा जाँदा कतै चाडबाडमा लगाउन लाई ।


समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ भने जस्तै ऊ पनि उपल्ला थरकी बाहुनकी छोरी जमुनालाई एकोहोरो मन पराउँथ्यो । हुन त ऊ पनि क्षेत्रिको छोरो थियो बाहुन बाटै खसेको भन्थे । उस्का चालढालमा आफूलाई समाहित गर्न खोज्थ्यो घरी घरी । भर्खर सत्र नाघेकी जवानीले भरिएकी जमुना गोरी राम्री थिई तर ऊ पनि छ क्लास पढ्दा पढ्दै घरमा काम गर्ने कोहि नभएर पढाई  छोडेकी थिई । घाँसपात गर्न जाँदा ऊ पनि आफ्ना घरका बाख्रा चराउने निहुँमा सँगै सँगै जान्थ्यो । जमुनाले आफूलाई अप्ठेरो पर्दा उसलाई गुहार्थी नत्र सजिलो पर्दा मिठो खाँदा भने उसलाई सम्झिन्नथी दयामाया उ प्रति एक रती पनि थिएन भनौँ । अझै भनौ जमुना चाहि आफ्नो काम सकिएपछि उस्को सबै गुन एक निमेषभरमा बिर्सिदिन्थि अनि उल्टै उसलाई उल्याउन जिल्याउन बाँकि राख्दिनथी एक दम मातेकी थिई भन्दा पनि हुन्थ्यो । एकोहोरो रुपमा उसलाई मन पराउँथ्यो ऊ चाहिँ । उसलाई मन पर्ने खानेकुराहरु अझ रुखमा अप्ठेरोमा फल्ने फलहरु तिँजु, अम्बा, अमला अनि जामुन टिप्न एक निमेषमै हुर्रिन्थ्यो ऊ ज्यान फालेर तै पनि उसमा केहि असर हुदैनथ्यो । एक दिन अमलाको बोटको हाँगा भाँचिएर भुइँमा हातका भर पर्दा लछारेको निस्सा अहिले पनि छ दाग ।


एक दिन जमुनाको घरमा उस्लाई पनि काममा बोलाए, किन हो जमूनाका घरमा धेरै मानिस आएको भन्ने उसलाई थाहा थिएन । अरु दिन जस्तै ऊ गयो तर जमुनाको बिहाको टिका टाला गर्न पो रैछ । ऊ छाँगाबाट खसे झैँ भयो तेरपाएँ खरबारी सिधै हामफाल्दै तल तिर हान्नियो मानौ कुनै दैबी बिपत्तिबाट बच्न ऊ भाग्दै थियो । उसलाई बिजुलीको करेण्ट लागे जस्तै भयो झन्झनियो अनि मार हान्न लाग्दा नलाग्ने हतियारले घाऊ लागेको पशु झैँ रन्थनियो । ७ दिन पछि जमुना को बिबाहको लगन थियो, उसलाई त्यो दिन पनि बोलाए काम गर्न तर ऊ गएन, घरबाटै बाहिर निस्केन । 


उसको घरै अगाडि आएर पञ्चे बाजा अनि कानैमा जाली फुट्ने गरि उसैको झ्यालमा फर्काएर सनाई बजाउँदा उस्को ब्रम्ह सन्कियो अनि जुरुक्क उठेर बाहिर आयो अनि बजाई राखेको सनाई मुख बाट खोसेर मज्जाले ढुँगामा बजार्यो अनि ३ टुक्रा भयो अनि दिल च्यातेर मज्जाले रोयो आज सम्म नफुटेको भक्कानो फुट्यो उस्को, गावै हल्लाउने गरि रोयो शायद आजसम्म गाउँमा यस्तो गरि कोहि पनि रोएको थिएन । ऊ रुँदै गाउँका पाटा पाटा चाहार्यो बहुलाएको कुकुर जस्तो गरि तर बिहा घरको बाटो नाघेर हिँड्यो । रुँदा रुँदै घाँटी बसे पछि उस्को स्वर सुनिन छाड्यो । शान्त भयो त्यतिबेला गाउँ त्यसबेला सम्म बिबाह पनि सकिएको थियो ।
रात भरी रुँदा रुँदा लखतरान भएर उसकै घरमा पीँढीमा लम्पसार पर्यो । भोलिपल्ट बिहानै घरमा बुढिआमा अनि भेडा बाख्राको हूल छोडेर ऊ आफ्ना  कपडाहरु झोलामा कसेर, भएको दाम पैसा लिएर लिस्नोलाई ढोगेर घर छोडेर हिँड्यो । आफ्नी बुढी भएकी आमासँग जान्छु भनेर बिदा माग्न पनि सकेन माया लागेर पनि उसलाई त्यो गाउँमा बस्न मन लागेन । जुन झरेको आकाश झैँ भयो त्यो गाउँ, जता हेरे पनि त्यहि जमुना आगो भएर दन्किन्छे अनि शूल भएर बल्झिन्छे । गोजीमा धेरै पैसा नभएकाले ऊ पल्लो गाउँ गयो अनि एउटा घरमा काम माग्यो अनि अलिकति पैसा बनायो अनि बसमा लामो यात्रा गरेर निकै टाढा पुग्ने जहाँसम्म पुगिन्छ भनेर सोच्दै थियो ।
 

पर बाट जमूना हो कि होइन जस्तो देख्यो, नजिकै आए पछि चिन्यो बल्ल, कपाल जिँग्रीँग पारेकी पहिरन पनि भता भूग भएकी त्यति राम्री मान्छे कुरुप भएर आएकी थिई । उस्ले पनि के भयो जमुना भनेर सोध्न सकेन, जमूनाले पनि कहाँ हिडीस तँ भनेर सोध्न सकिन दुबै जना वाल्ल परे, एक आपसमा हेरिरहे । दुबै जना जिन्दगी देखि थाकेर ज्यूँदो लाश जस्तो भएका थिए । सोध्न खोज्थे दुबै जना बोल्न शब्द दुबैको फुट्थेन । उस्ले बिबाहकै बेला ऊ रुँदै हिँडेको सुनेकी थिई, बिहामा फन्केर गएपछि फर्केर नआएको पनि थाहा पाएकी थिई । उस्लाई थाहा थियो कमलले उसलाई मन पराउँछ भनेर तर ढिला भइसकेको थियो । जहाँ बिबाह भयो त्यो उसको चाहना थिएन, अझै दाइँजोको निहुँमा बिबाहकै रातमा घरमा कोकोहोलो मच्चियो अनि सासुले भित्राउन समेत आनाकानी गरिन अनि ऊ भागेर माइत आई, माइतमा पनि आफ्नै आमा बा ले सौतेलो ब्यबहार गरे पछि अनि ऊ पनि जिन्दगी देखि थाकेकी थिई ।
 

"मैले उताबाट फर्के पछि तिमिलाई कति खोजेँ, तिम्रा घर पनि आएँ तिमि त गाउँ छोडेर हिँडेछौ, तिम्री आमा दैलाको ठेलामा बसेर रुँदै हुनु हुन्थ्यो, मैले एक छिन सँझाएँ । मलाई थाहा त्यतिबेलै थियो कि तिमि हानिएर घरबाट भाग्यौ अनि फर्केर पनि आएनौ । मैले तिमिलाई मन पराउँथेँ या पराउँदिनथेँ तो त थाहा छैन तै पनि मैले तिमि मेरो वरीपरी भएको हेर्न चाहन्थेँ । ठिकै छ कमसेकम फेला त पर्यौ ।
 

तपाईँले पनि एक छिन मात्र ढिला भएको भए मलाई जिन्दगीभर शायद भेटन पाउनु हुने थिएन किनकी म त अब सकेजति टाढा जान लागेको थिएँ, त्यसो भए अब के गरम त नि म फर्किम भन्दै कमलले पनि आफ्नो कुरा तेस्र्यायो । तिमि जहाँ हिडेका हौ हामि अब सँगै जाम, यता फर्केर हामिलाई हेर्ने टेर्ने को छन र । जहाँ पुगिएला त्यहाँ बसम्ला जे पाइएला त्यहि खाम्ला बाँचुन्जेल बाचम्ला नत्र मर्दाका भोलिपल्ट दुइ दिन हुन्चन भन्न थाली जमुना । अनि त्यहि दिन दुइजना सुदूर पश्चिमका लागि बस चढे, जे भए पनि मनको सँसार जोडियो सुख दुख भनेको त जिवनको यथार्थ हो ।