Sunday, 10 March 2013

मेरी बहिनी


अस्ति भर्खर मात्र हो जस्तो लाग्छ, सिर्सेनीको भञ्ज्याङ्गमा बहिनीले र मैले स्याँ स्याँ गर्दै दाउरा ओसारेको । हजुरको बिहा भए पछि त पछि लाग्ने भाउजु हुनु हुन्छ, अनि म चेली लाई बिर्सने त होला नी भनेर प्यारी बहिनीले भनिरहँदा मैले दुइ चड्कन लगाएको अहिले पनि आफ्नै गालामा दुखिरहेछ, मनमा पड्कीरहेछ त्यति माया गर्ने बहिनीलाई मैले थप्पड हानेँ भनेर र पनि मैले मायाले सहन नसकेर उसलाई थप्पड हानेको थिएँ त्यतिबेला । ज्योति रुनु न हाँस्नु भएर मेरो अगाडि अगाडि हिँडिन र मैले आफूलाई धोइ पखाली गर्न पाइन बहिनी सँग सरी माग्न पनि पाइन । दाजु बहिनी भएकाले हामि मिल्यौँ हाँसो खुशी फेरि छायो र पनि त्यो थप्पडको बारेमा न मैले उक्काउन सकेँ न उनले नै मलाई ठाउँ दिइन, मन मा एउटा खिल पर्यो  र त्यहिँ बिलायो झिक्न पाइन त्यहि भएर बिझाउदो रहेछ कहिलेकाहीँ । 

बहिनीले भने झैँ मेरो पनि बिबाह भयो त्यहि पनि मागी बिबाह । बिहे गर्ने बेला केटा केटी हेराहेर गर्ने भने हेराहेर देखादेख मात्र भयो अनि न मैले हुन्न भन्न सकेँ न हुन्छ नै, तै पनि मौनम् समर्थनम् भन्ने चिनीया उखान त्यहाँ सिद्ध भयो । मैले केटी हेर्न जाँदा बहिनीलाई पनि लगेको थिएँ ऊ पनि केहि बोलिन म जस्तै भई त्यस पछि बिबाह भयो झ्याईँ झ्याईँ पारेर । दिनहरु बित्दै गए घरमा आमाको बर्चश्वमा हमला हुँदै गयो आमाका दिनानुदिन अधिकारहरु कटौती हुँदै जाँदा पनि आमा केहि बोल्नु हुन्नथ्यो बरु आफू बुहारी बनेर बुहारीलाई नै सासु बनाइदिनु हुन्थ्यो मतलब सानै छ भनेर उसलाई पनि असाध्यै माया गर्नु हुन्थ्यो । 

हाम्रो खानदान भन्दा ठूला खानदानबाट बहिनीको लागि हात माग्न आए, आमाले अमिलो मन बनाउँदै मान प्रसाद काकालाई अगाडि सार्नु भयो । आमाको मन छोरी बिहे गरेर दिन भन्दा पनि पहिला मैले छोरी दिएँ पनि भन्न नसकेर कति बोझिलो हुँदो रैछ भन्ने मैले अनुभूति गरें, अझै म पनि त एउटै थालमा खाएर हुर्केको उसैको दाई थिएँ । यो त झरनाबाट झर्ने पानीको जस्तो पीडा रहेछ जस्तो कि पानीलाई तल बजारिएर दुख्ने थाहा हुँदा हुँदै पनि आकाशबाट पातालमा बज्रिनु परे जस्तै हामि आमा छोरा त्यसै गरि बज्रिएका थियौँ । ज्योति त घरमा थिइन साथीको घरमा गएकी थिई, मैले केटा पक्षलाई कम से कम बहिनीको के बिचार छ त्यो त सोधौँ, उसका पनि कुरा होलान भन्दा पनि मान प्रसाद काकाले मेरो मुखमा बुजो कोचार्नु भयो अनि म पनि अवाक भएँ । मलाई यो पारा बोल्न नसके पनि कत्ति मन परेन, केटा पक्षका मान्छे सँग काकाले केके चोचोमोचो गर्नु भयो खास खुस गर्दै त्यति खास बुझिएन । कुरो चिना मिलाउने अनि दिन घर्याउने भन्ने रैछ सबै जना माइलाबा कहाँ गए, घरमा आमा र म मात्रै थियौँ त्यसै बेला बहिनीले दुई चुल्ठा कपालमा रातो रिवन हल्लाउँदै पिँढीमा आएर बसी लैनी पल्टेर आमाको नजिकै, आमा भित्ता फर्केर डाँको छोडेर रुनु भयो अनि म पनि सहन नसकेर बारी तिर हानिँएँ । 

सञ्जोगले त्यसै बेला ज्योतिकी भाउजु पनि माइत गएकीले उसलाई पनि सोध्न पाइएन, सबै खटन पटन मान प्रसाद काकाले मिलाउनु भएको थियो । बेहुलालाई दिने सुन, कपडाहरु अनि सासू अमाजुहरुलाई नन्दहरुलाई तथा परिवारका वल्ला पल्ला घरका आफन्तलाई कुटुम्बलाई केके गर्ने भनेर उनीहरु सँग बसेर काकाले सबै कुरा मिलाई सक्नु भएको थियो । उति सारो पैसा थिएन हामि सँग अनि आमाले इज्जत राखिदिनु पर्यो बरु तल्लो बारी हुर्याइदिउँला नसके भन्नु हुन्थ्यो । ज्योतिकी भाऊजु पनि आई अनि बिहको कुरो मलाई नसोधि गरिस भनेर घरभरी काकोहोलो मच्चाई अनि उस्का बालाई बोलाउन पठाई, झन थपिएर मान बहादुर काकाले मिलाउनु भएको खटन पटन सबै उल्टयाउने गरि आफै हालि मुहाली गर्न थाले ब्यबस्थाहरु बिगार्न थाले । मलाई कत्ति पनि पचेन त्यो खटन पटन मेरै घरमा आएर हाम्रै बिरुद्धमा खनिएको देखेर तै पनि अन्तिम सम्म त सहेकै थियौँ । ससुरा भनाउँदाले घरबाट बिहा गर्न हुन्न खुरुक्क मन्दिरमा लगेर टिको लगाइदिने अनि पठाईदिने भन्न थाले । 

एकातिर आमा रुने अर्को तिर बहिनी रुने तैपनि उनिहरुको ज्यादती बीस को उन्नाइस नहुने देखियो अनि आफ्नो इज्जतका खाँतिर पनि मैले बोल्नु पर्ने भयो । मैले पनि मेरो स्वाभिमानमा र हैसियतमा हमला भएको देखेर मुखै खोल्नु पर्यो । यो मेरो घर हो मैले आज सम्म केहि भनेको छैन हजुरहरुलाई्र । हजुरहरुको सम्मानमा कुनै कमी हुन दिएको छैन तर मेरै घरमा आएर हजुरले हालीमुहाली गर्न मिल्दैन, यो मेरो घर हो यसमा हाम्रो कुरा चल्छ हजुरको कुरा आफ्नै घरमा चलाउनु होला भनेर के भनेको थिएँ बाऊ छोरीका अवतार देखिए अझै ससुराबालाई देखाउँदै श्रीमतीले यो त मेरो पनि आधा हो भन्न पनि बाँकी राखिन । तर पनि मैले कुनै वास्ता गरिन आफ्नो कुरामा अडिग रहेँ । भोलिपल्ट बाउले छोरी च्यापेर घरतिर लागे मैले केहि बोलिन । श्रीमतीलाई मैले भनेँ तिमिले आफ्नो र अर्को छुट्टाउन नसक्ने मोति बिन्दु भएको रहेछ, पहिले आफ्नो मनको आँखा खोलेर आउनु अनि बल्ल छर्लङ्ग हुनेछ । तिमिले जस्तो ब्यबहार गरे पनि जस्तो अवतार देखाए पनि मैले तिमि प्रतिको धारणामा परिवर्तन ल्याएको छैन तर यस भन्दा पनि अगाडि बढेर आफ्नै परिवारको बारेमा नराम्रो सोच्यौ भने म र यो परिवार जति नराम्रो तिम्रो लागि कोहि हुने छैन भनेँ त्यस पछि केहि नबोलि दुबै जना ओझेल परे ।

बहिनी त्यहि दिन देखि रुँदा रुँदै आँखा ठूला ज्यान सानो हुँदै गएको थियो । न राम्रो सँग खाना खान्थी न राम्रो सँग बोलचाल गर्थी शून्यमा थिई ऊ । बिबाहको दिन भन्दा ३ दिन अगाडि हामि दाजु बहिनी र आमा राती २ बजे सम्म बसेर होस पाउने बेला देखि आज सम्मका दुख सुखहरु बिसायौँ, बल्ल हामि तिनै जनाको मन हलुका भयो बल्ल बिबाहको कुरा लाई सबैले बाध्यताकै रुपमा भए पनि स्विकार्यौँ । भाउजुको कुरा लाई लिएर ऊ चिन्तित थिई, म जस्तै थिई, कसैले बज्र नै हान्न आए पनि हाँसेर स्वीकार्ने । त्यहि दिन बहिनी एक्लै भाउजुको २ घण्टा परको माइती घर गएर स्थितिलाई उसैले सहज बनाई र भाउजु अनि सासुआमा बिबाहका लागि आए । बैदिक रीति अनुसार बिबाह भयो र बहिनी हामि सँगै खेलेको आँगन बाट बिदा भएर उस्को घर गई ।

समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ कहिले हँसाउँछ कहिले रुवाउँछ आँशु र हासो को सँगम पनि गराउँछ भन्ने गित सम्झिरहन्थेँ म मन हुँडलिँदा र आफैले आफैलाई चित्त बुझाउँथेँ । पहिलो पटक दशैँमा मात्र आएकी थिई टिका लगाउन, दुरान फर्काउन पनि आउन भ्याइन । दुब्लाएको ज्यान अनि त्यसमा पनि छुट्टै पेट गाँसे जस्तो देखिने गरि दुई जिउकी भएकी थिई । आमालाई देख्ने बित्तिकै काखमा घोप्टो परेर अलल्एिर रुँदा मैले बहिनीको घरको निको चाला मानेको थिइन । श्रीमान श्रीमतीका रथका पाँग्रा एकै दरका नभएका हुन कि झैँ ब्यबहार देखिएको थियो र पनि बहिनीले आफ्नो घर परिवारको बारेमा कसैको पनि नराम्रो भन्दिनथी । मैले ज्योतिका आँखामा आँखा पनि जुधाउन सक्दिनथें उसका बेदना आँखाभरी टिलपील गरिरहन्थे र म पनि आफ्नो दुख देखाएर बहिनीलाई अझ दुखी बनाउन चाहन्नथेँ । मानिसलाई ब्यबहारले टाढा बनाउँदो रहेछ र पनि मन चाहिँ बहिनी सँग झम्टेर पाखै हल्लाउने गरि कोकोहोलो मच्चाएर रुन मन लागेको थियो, के गर्नु म आफैलाई सम्हाली रहेको थिएँ । 

त्यसको ४ बर्ष पछि बल्ल बहिनी माइती आई साथमा भाञ्जो लिएर त्यति बेला म घरमा थिइन काममा अर्को ठाउँमा गएको थिएँ । एक हप्ता बस्ने भनेर आएकी ज्योति भोलिपल्ट बिहानै नगई नहुने भयो भनेर अमिलिएर हिँड्दा मनमा चिसो पसे पनि कसैलाई दोष नदिईकन हिँडेकी थिई । मैले उसलाई भञ्याङ्गको चौतारीसम्म छोड्न गएँ, आमा चाहिँ आँखा नझिम्क्याईकन जुठेल्नाको ऐठोमा बसेर हामि हिँडे तिरै हेरिरहनु भएको थियो पछ्यौरीको सप्कोले मुख छोपेर शायद रुन होला नदेख्ने गरि । पाँच बर्ष  पहिला ऊ र म हिँड्दा उसका पाइलाले ठम ठम गर्दा मैले पनि हल्लेको महशुस गर्थे, त्यत्रो बिश्वास थियो आफ्नो भूमि प्रति तर आज ऊ हिँडेको झारले पनि थाहा पाएन कि झैँ भएको थियो । त्यहि बाटोले त्यहि पाखाले अनि यिनै पदचापहरुले पनि बाटो बिर्से जस्तो भयो ।

ज्योति तिमिले र मैले हिँडेको खेलेको रन बन बाटो घाटो भञ्जाङ्ग चौतारी यिनै हुन, अहिले यिनै बिराना जस्ता भए । तिमि भने पनि नभने पनि म सबै कुरा बुझ्छु म तिम्रो मनलाई भित्रैबाट पढ्न सक्ने दाई हो बहिनी पीडालाई यसरी नलुकाऊ भन्दा ऊ थचक्क ढुँगामा बसेर बलिन्धारा खसेका आँसुलाई पनि रोक्न खोजेको नमानेर झरको यस्तो अनौठा दृश्य मैले अनुभव गरेँ र पनि घर नजा भन्न सकिन र उस्ले पनि मेरो मनसायमा सहमतिको कुनै आशय देखाइन । उतिबेला मैले एक शब्द बोल्दा उछिनेर दश शब्द बोल्ने मान्छे आज बाक्य त शब्दहरु पनि बल्ल बल्ल झर्दे थिए । बोल्दा फेरि आफ्नो दुखको कुनै कुरा फुस्किएला कि भन्ने डरले उसले कम कम बोलेकी भन्ने पनि म प्रष्ट थिएँ र पनि तत्काल कोट्याउन चाहिन ।

दाई जानुस भो उहाँ आमाले हजुरको बाटो हेरिरहनु भएको होला, आमा आत्तिनु भएको होला जानुस भो भनेर मलाई फकाउँदै थिई । यस्तै हो दाई मलाई पनि हजुरको काख छोडेर नौ डाँडा पारी जाने रहर त थिएन नि तर हाम्रो परम्परा रीतिथिति पनि मान्नै पर्यो । भाउजु सँग मिलेर बस्नु होला । आमाको भाउजुको अनि छोरीको हेरचाह गर्नु होला । अब त हामि सबैको भरोसा भनेकै हजुर हो भन्दै मेरो निहुरीएको चिउँडाले हातले उचालेर सोझो पारी दिएकी थिई । मैले उसको अनुहारमा हेर्नै सकिरहेको थिइन तै पनि हेरेँ बहिनीलाई उस्लाई बिदा गर्ने बेला अब कहिले होला उस्लाई देख्न पाउने दिन भनेर सम्हाले आफैलाई । जाने बेलामा भान्जाले मामा भनेर आमालाई चटक्कै छोडेर मेरा काखमा लुटुपुटु गर्दा बच्चाहरुलाई आमा भन्दा मामा प्यारो अनि मामाघर प्यारो हुन्छ भन्ने कुराको ताजा याद दिलाएको थियो । 

बहिनीलाई भञ्ज्याङ्गमा छोडेर आउँदा आमा घरमा हुनु हुन्थेन बाख्रा पनि थिएनन घरमा । म पनि गोरु फुकाएर चराउन लगेँ चरन तिर आमा पनि त्यहिँ हुनु हुँदो रहेछ, चौतारीमा यसै पल्टिनु भएको अनि बाख्राका पाठा आफ्नो माऊ आमा छोडेर आमाको काखमा आड लाएर निदाएका थिए । आमा उठ्नु भयो र पाठाका कान खेलाउँदै कस्तो दिन देख्न परो बाबु तँ र ज्योती जस्ता दाई बहिनी छुट्टिएर कस्तामा कुटुम्ब जोडियो नानी भनेर पहिलो पटक बुहारीको दुखेसो मलाई घुमाएर सुनाउनु भयो । मैले के भयो र सोध्दा सिधै केहि भन्नु भएन तै पनि फेरि मनमा चिसो भयो, लाग्यो मैले नै सधैँ यस्तो सहेर बस्नु भन्ने के छ भन्ने लाग्यो । तै पनि रिसाएर हैन सम्झाएर आमा ऊ र म बसेर सँझाएर भन्ने सोचेँ र हामि तिन जना खाना खाई वोरी अँगेनाको डिलमा बस्यौँ ।
 
तँलाई मैले बुहारी भने पनि छोरी भन्दा फरक ब्यबहार गरेकी भए यि यहि आगोमा भष्म हुम, मलाई तिमिहरुले अड्कलेको दिए पुग्छ, मलाई यस भन्दा केहि चाहिँदैन अब म बुढि भएँ डाँडा माथिको घाम हो हेर । सबैलाई सबै कुरो पुगी सरी कहाँ आउँछ र त्यसैमा चित्त बुझाउनु पर्छ । हाँसी खुशी राजी भएर बस्न पर्छ, मेरो चिन्ता तो छोरी ज्योति अनि तिमिहरुको त हो अरु त मलाई केहि चिन्ता छैन, हात खुट्टा चलुन्जेल तिमिहरुलाई दुख दिन्न, नसक्दाका घडिमा मेरा सास भेट्टाउने तिमिहरुले हो । म बुढिले भन्ने बेलामा केहि बिराएँ भने नि आमा यसो नभन्नुस न भन म मानिहाल्छु नि तर बुहारी तिमि यसरी म सँग नरिसाऊ नानी ।

आमा यत्ति भन्दै हुनु हुन्थ्यो ऊ म के रिसाएँ तपाईँ सँग भन्दै च्याट्ठिई अनि जुरुक्क उठेर उपल्लो तलामा गई लिस्नो चढेर अनि माथि गएर एऊटी मलाई देख्या छन जल्ले पनि मरी मरी काम गर्दा पनि अझ चित्त नबुझेर मलाई घुमाएर भन्न पर्दैन बरु सिधै भने हुन्छ नि । तिमिहरु आमा छोरा भएर मलाई देखि नसहेका हैनौ ? बरु के गर्न मन लाछ सिधै भने हुन्छ नि, सारै भए के होला म माइत गइदिन्छु अनि तिमिहरुलाई हाइ सुख हुन्छ नि भन्दै हामिलाई नै सराप्दै थिई । आमा धरधरी रुनु भयो मैले सहन सकिन र आटि मै गएर उसलाई तल घिस्याएर आएँ र आमा सँग माफ माग के भनिस भनेर हपारेँ पहिलो पटक । उस्ले माफ माग्न त के मलाई आमा छोराले मारे गुहार गुहार भन्न थाली झन गुहुमा हानेर मुख भरी छिटा जस्तै भयो ।

भोलि पल्ट बिहान घरमा भात पनि पाकेन धेरै बेर सम्म आमा आफैले खाना बनाउन थाल्नु भयो उस्ले छोरीलाई च्यापेर झोलामा कपडा कोचारेर माइत हिड्न घुर्की लगाई मैले केहि पनि भनिन जे सुकै गरोस तर पनि आमा बुहारी यसो नगर बरु म नै घर छोडेर तल मन्दिरमा पाटीमा गएर बस्छु तँ जान पाउन्नस भन्दै हुनुहुन्थ्यो मैले आमा तपाई नकराउनुस यसलाई मन लागि गर्न दिनुहोस के के गर्दि रछे म पनि हेर्दै जान्छु । कुकुरलाई घिऊ नपचेपछि यस्तै हुन्छ आमा बस यत्ति हो कुरा अब भने । एक हप्तामा उस्का बा र काका लिएर फेरि घरमा आई र पनि म बोलिन कसै सँग पनि । त्यो दिन घरमा खाना पाकेन, उसका पाहुनाहरु अनि घरका सबै जना भोकै भयौँ तर पनि कसैलाई भोकले च्यापेन । भोलि पल्ट उस्का पाहुना पनि फर्किए र अनि ऊ आफै भान्सामा पसि र काम गर्न थाली । 

मैले बहिनीलाई धेरै खबर पठाएँ तर पनि ऊ आइन घरमा अनि एक दिन म आफै बहिनीको घरमा गएँ २ दिन लगाएर । बहिनीको घरमा ब्यबस्था हाम्रो भन्दा राम्रो थियो । परिवारका सबै सँग भेट घाट भयो सतहमा हेर्दा त केहि नराम्रो लागेन आदर सत्कार पनि राम्रै लाग्यो । तर बहिनीको अनुहारका रेखाहरु पटक्कै त्यसो भन्दैनथे जुन म मात्र बुझ्दथेँ तै पनि परिवारको खुशीको लागि ऊ असाध्यै लागि पर्दथि । समाजको अगाडि आफन्त को अगाडि आफ्नो परिवार अनि रीतिरिवाज एवँ परम्परा लाई राम्रो सँग धानेकी रहिछ खुशी लाग्यो । मेरो ३ दिनको बहिनी को घरको बसाईभर भान्जा बाबु नै मेरो साथी भयो हरपल मलाई समय गएको पत्तै भएन । एक दिन सबै जना सुते पनि बहिनी र म धेरै बेर सम्म बस्यौँ दुख सुखका कुरा गर्यौँ, पहिला भन्दा धेरै सहज लाग्यो ज्योति अनि मनमा अलि शितल त भयो तर जुन पारिवारिक तरलता हुनु पर्दथ्यो त्यो नभएकामा भने मन झरिले छोडेको दिनको घाम जस्तो उघारो भएको थिएन र पनि यस भन्दा अगाडि जान्न सक्ने सामर्थ्य  ममा थिएन ।

फर्किने बेला भान्जा रोएर एक छिन बसेर ऊ निदाए पछि हिँड्न परेको अनि बहिनीको साथ छोडेर हिँड्न परेको त्यो नियाश्रो बाटो भरि रहिरह्यो सोच्दा सोच्दै आधा बाटो काटिसकेछु । घरमा आइपुग्दा साँझ पर्न आँटेको थियो, आमा चाहिँ बहिनी लाई छोड्न आएको चौतारीमा मलाई कुरेर बसिरहनु भएको थियो । बहिनी कस्ति छ अचेल उस्तै छ कि अल्लि भरिएकी छ बाबु भनेर सोधिहाल्नु भयो शायद आमाको घिडघिडो थियो बहिनीको मैले अहिले त एकदम राम्रो रहेछ आत्तिन पर्दैन घरमा फुर्सद नमिलेर आउन नपाएकी रहिछ अहिले उस्को घरमा गएर आएपछि मेरो पनि मन शितल भयो भने पछि मेरो खुशी चालामाला देखेर आमा पनि धेरैनै बौरिनु भयो । 

मान बहादुर काकाको घरमा म त्यति जाँदैन थिएँ तर त्यो दिन काकीले बोलाउनु भयो उतै खाना खाएँ । बेलुका धेरै बेर बसियो र उहाँले पनि मेरी बुढीको बारेमा अनि आमाले पाएको दुखको बारेमा धेरैनै दुख बिसाउनु भयो मैले टाउको हल्लाउनु भन्दा बाहेक केहि बाँकि थिएन उपाय म सँग । एक पटक धेरै पहिले आमाले काकीसँग ज्योतिले आमालाई भनेको कुरा काकीलाई सुनाउनु भएको रहेछ । ४ बर्ष पहिले बहिनी एक हप्ता बस्न भनेर पनि भोलिपल्टै गएको कारण चाहिँ बुढिले उस्ले सुन्दिन कि भनेर यसका साहान माहान लाई घिचाउन मै मात्रै छु र बरु आफ्नै घर मुण्टिए पनि हुन्थ्यो नि भनेको सुनेर बहिनी गएकी भन्ने थाहा पाएँ । मलाई आफै प्रति धिक्कार लाग्यो, आफ्नै दाईको घरमा बहिनी लाई यस्तो ब्यबहार ले मलाई काकी सँगै पनि लज्जित बनायो तर धेरै पहिलेको कुरा लाई लिएर फेरि हुडल्न मन लागेन आफै भित्र पचाएर राखेँ । बहिनी किन आउन मानिन घरमा भन्ने कुरा थाहा भयो । 

बहिनी काम गर्ने भिषामा क्यानडा जाने भई र त्यस बेला भने घरमा आई अनि एक दिन मात्रै बसेर गई म पनि उसलाई पुर्याउन उसको घरै सम्म पुगेँ । फेरि उहि गन्तब्यमा फर्केँ । एक दिन काकीले के कुरा भन्ने निहुँ मा उसलाई सुनाई दिनु भएछ उसैमा निहुँ खोजेर उल्टै घरमा आएर तिमिहरु आमा छोरा भएर गाउँ भरि मेरो बेइज्जत गर्ने भन्दै बाझ्न थाली मलाई तिमिहरु सँग बस्नु छैन मेरो अँश चाहियो । यसरी बेइज्जत भएर म यहाँ बस्न सक्दिन भन्दै थिई । हामिले के गर्या छौँ र तँ किन यसो गर्छेस त्यो मलाई पनि थाहा छ, दिन्न अँश के गर्छेस गर, घरकी बुहारी भएर मिलाउली भन्दा झन झन पो निहुँ खोज्छेस किन ? हामि मात्र होइन सबै गाउँ ले पनि चिन्छन के अन्न खाने हरुले बिचार गर तेरो खुशी मन लागी गर म केहि भन्दिन भनेर आफ्नो कुरा टुँगाइदिएँ । 

त्यसको हप्ता दिनमा उसका माइतिहरु ८ - १० जना नै हुल बाँधेर आएर र मलाई र आमालाई केर कार पार्न थाले । अर्कि केटि तिर लागेर मेरी छोरि लाई यस्तो ब्यबहार गरिस भन्न पनि पछि परेनन । मुखमा आएको तथानाम बोले, मलाई कुटुम्बको सिमाबाट बाहिर गएर बोल्न थाले पछि मैले पनि तिमिहरुलाई जसरी सजिलो हुन्छ त्यहि गर भनिदिएँ । अब देखि मलाई तिमीहरुकी छोरी सँग नाम जोडेर बोल्ने तिमिहरुको कुनै हैसियत बाँकि रहेन अब । मेरो सदासयताको, सरल पनको फाइदा उठाएको तिमिहरुले ? मेरो कुरा सकियो भनेर काकाको घर तिर लागेँ सहिनसक्नु भएर । 

घरमा अब आमा र म मात्रै थियौँ । बहिनी बिदेश गएको पनि एक बर्ष बितीसकेछ कहिले काहिँ फोन हुन्थ्यो बहिनी सँग तर बहिनी लाई चिठी पनि पठाउने निधो गरे त्यहिँ जाने मान्छे भएकाले पठाउन पनि सजिलो थियो । 

मेरी प्यारी बहिनी !

तिमिलाई शुभ आशिर्वाद अनि मिठो सँझना !!

भगवानको कृपाले अहिले सम्म आमा र म निका आराम छौँ । टाढा भए पनि तिम्रो सुखको खबर ले देख्न नपाए पनि आमाको मन पनि शितल भएको छ । घरमा अहिले ६ महिना देखि आमा र म मात्र छौँ । भाउजु ले अँश लिएर छुट्टिएर उतै माइत बसेकी छ यसमा मलाई कुनै दुख मनाऊ छैन तिमि यो कुरामा चित्त नदुखाउनु बहिनी ।

मैले र तिमिले जिन्दगी दुखजीलो गरेर यहाँ सम्म ल्याएका छौँ । सानैमा तिमि र मैले बिताएको अतितको त्यो मिठा पलहरुले  नै हामिलाई बचाएको छ । अहिले दुख परे पनि तिनै सुखका क्षणहरु  सँझेर अहिले बाच्न तिमि र म दुबैलाई सजिलो भएको छ । मलाई तिमि टाढा छौ भन्ने कुरामा कुनै दुख मनाऊ छैन, तिमि खुशी छौ अचेल, शायद पिँजडा बाट छुटेको सुगा जस्तै खुल्ला छ तिम्रो जिवन बल्ल फक्रिएको छ तिम्रो उमँग । जिवनमा खुशी र सुखको पाटो एकदम थोरै हुन्छ ज्योति । हुन त समयले अनि समस्याले तिमिलाई धेरै कुरा सिकाएको छ कसरी आफूलाई अरु सँग जोगाउने भन्ने तर धेरै खुशी हुँदा हुने दुर्घटनाहरु सँग पनि तिमि सजग हुने छौ भन्ने मेरो आशय हो ।

मैले पनि आफ्नो जिवनलाई कसरी लैजाने भनेर सोच्दै छु, मेरो सँघर्ष अब बिराममा आएर थन्किएको छ । आमाको सेवा गर्नु र आमाको आँखामा आँशु आउन नदिनु नै मेरो ठूलो कर्तब्य हो बहिनी । समयले फेरेको जिवनको परिदृश्यलाई तिमिले स्थाई रुपमा खुशीमा बदल्न सक्नु, जस्ले तिम्रो खुशीलाई सधेँ भरी ताजा र दिगो राख्न सकोस । मनै देखि खुशी हुने पलहरु जिवनमा सितिमिति आउँदैनन, तर यस्ता पल अनि पात्रहरुलाई कहिले पनि टाढा नराख्नु बहिनी । आफ्नो जिन्दगीको डुब्न लागेको डुँगालाई सकुशल रुपमा पारी पुर्याउने माझिदाई को गुन र त्यसको महत्वलाई  नभुल्नु कहिले । हुन त तिमिले सबै कुरा मलाई भन्न बाँकि पनि होला तर यस पत्रको उत्तरमा आउने तिम्रो जवाफमा मैले केहि थाहा पाउने अपेक्षा गरेको छु ।

तिम्रो दाजु सँसारको जुन सुकै कुनामा रहे पनि तिम्रै मन भित्र छ भनेर सम्झिनु, तिम्रो दाजुको माया तिम्रो लागि उर्जा बन्ने छ, तिम्रो सँझना मेरो पनि उर्जा हो बहिनी । 

तिम्रो सधैँ खुशी देख्न चाहने 
उहि तिम्रो दाजु ।।।।

चिठी पठाएको ४ दिनमा मैले लेखेको चिठि पढ्दै बहिनीले रुन्चे स्वरमा फोन गरि मैले उसलाई सम्झाएँ । अनि आमा सँग बहिनीलाई बोल्न दिएँ आमा पनि पहिले रुनु भयो पछि अनुहार उज्यालो पार्दे अन्तिममा त हाँस्दै फोन मलाई दिनु भयो । आमाको धेरै समय पछि अनुहारमा हाँसो देखेको थिएँ मैले । मेरो मन पनि आज हलुका भएको थियो । समय यसरी नै बित्दै थिए । त्यसको ठिक एक महिना पछि फणिन्द्र दाइको बा बिदेशबाट फर्किनु भयो । बहिनिले मलाई, आमालाई पैसा अनि सामानहरु पठाएकी रहिछ । आमा चाहिँ आँखा भरी आँशु टिलपील पार्नु भयो र फेरि सम्हालिनु भयो । त्यस पोको भित्र उस्ले पठाएको चिठि पनि थियो ।

मेरी प्यारी आमा र प्राण प्यारो दाजु !

दर्शन गरेँ हजुरहरुलाई !!

म यहाँ ठिकै छु खुशी छु । मान्छेको जिवन भनेको यस्तै रहेछ दाजु । मलाई मेरो दुखलाई मेरो खुशीलाई नाप्न र जोख्न सक्ने भनेको हजुर हो र हजुरको यो स्थान मेरो सास रहे सम्म सुरक्षित रहिरहने छ । म त्यहाँ छँदा हजुरहरुको काखमा रहँदा सम्म पाएको अपार खुशी दुध उम्लिएर पोखिए जस्तै भएकै हो र पनि अबस्था परिस्थिति ले हजुरहरुलाई मैले भन्न सकिन । मैले आफ्नो दुख देखाएर भन्दा जति सक्दो लुकाएर हजुरहरुलाई सुख दिन सक्थे धेरथोर भए पनि । तर जन्म दिने आमा र हजुरले मेरो दुखको भाषा बुझ्नु हुन्थ्यो र पनि यस भित्रबाट पनि मैले हजुरहरुलाई मेरा जिवनमा केहि दुखहरु लुकाएकै थिएँ  ।

सबै कुरा अब भनेर फाइदा पनि छैन किनकी कमसे कम मैले ज - जसलाई आफ्नो जिवनमा जुन धारणा राख्दछु, हजुरहरुले पनि उस्तै धारणा राख्नुहोस भन्ने चाहँदिन अहिले पनि म । अरुले गलत गरे भनेर म पनि उनिहरु जस्तै हुनु पर्छ भन्ने चाहिँ छैन दाजु, त्यसैले साह्रै झिना मसिना कुरा भन्दिन मलाई माफ गर्नु होला । बिबाह भन्ने कुरा मन मिले पछि गर्ने कुरा रैछ तर मलाई त आफ्नो बिबाह छिनेको पनि थाहा भएन । तै पनि हजुरहरुको खुशीको लागि मैले कुनै नाईँ नास्ती गरिन र आफ्नो दुख पनि लुकाएँ भरसक ।

पात्र अनुसारको ब्यबहार नभएपछि जिवन निकै अपूरो हुँदो रैछ । मैले पिएका आँशुहरुको ब्यथा सँझेर त अहिले पनि उदेक लाग्छ शायद म अहिले यो अबस्थामा नआएको भए मैले आफ्नो जिन्दगी धिक्कार गर्नु भन्दा बाहेक केहि बाँकी रहन्नथ्यो र पनि कसै सँग मेरो गुनासो अहिले पनि छैन । मेरो भाग्यमा त्यहि दिनहरु भोग्नु थियो भोगेँ अहिले सजिलो ठाउँमा छु, कमसे कम मैले चाहेको गर्न सक्ने ठाउँमा छु । यसको मतलब मैले आफ्नै नैतिक र सामाजिक घेरा नाघ्ने भनेको होइन दाजु,  म तपाईँकी बहिनी हुँ, म बाट हजुरहरुको प्रतिष्ठामा आँच आउने कुनै काम हुँदैन । सँसारको जुन कुनै ठाउँमा बसे पनि म आफ्नो धर्म रीति रीवाज एवँ अनुशासन लाई पालना गरेकी छु गर्ने छु । 

यो चाहिँ हो कि समयले मलाई नयाँ ठाउँमा ल्याएर उभ्याएको छ । हजुरले भने जस्तै मलाई गुन लगाउने माझिदाईको महत्वलाई मैले बिर्सेकी छैन । अब म पहिले जस्तो कम्जोर छैन । म अब केहि गरेर देखाउँछु, मैले मेरो जिवनलाई नयाँ शिराबाट माथि लैजान्छु । खुशीहरुको माला नछिन्ने गरि फूलहरु उन्दै जाने छु यसरी उन्ने नयाँ फूल नयाँ खुशीको माला लाई जिवनको दर्शन अनि भरोसाको रुपमा उभ्याउने छु । अनि जुन दिन त्यो खुशीको माला गलामा पहिर्याउन सक्ने छु त्यो दिन मेरो लागि सम्पूर्ण हुने छ । बरु एक दिन एक छिन मात्र बाँच्न पाउँ त्यहि दिनको पर्खाई मा छु दाजु । 

जिवनमा केहि नयाँ काम गर्नु पर्यो भने म हजुरहरुलाई नसोधी केहि गर्दिन । यो खुशी जोगाउनु नै मेरो जिवनको कर्तब्य पनि हो लक्ष्य पनि हो ।  साराँशमा यो खुशी के हो भनेर कुनै दिन म भनौँला । आमाको राम्रो ख्याल राख्नु भएकै छ भन्ने त मेरो कर्तब्य मात्रै हो । सक्नु हुन्छ भने भाउजु लाई मनाएर घरमा ल्याउनुस होइन भने अर्को जिवनसाथी खोजेर पनि जिवनलाई पुर्ण भएको हेर्न चाहन्छु म । म हरदम हजुरहरुको सेवामा तत्पर छु । अब घरको आँगन पोलेर दिएको चेली होइन म पहिलाकै ज्योति हुँ हजुरकी बहिनी हुँ । त्यो घरको हर सुख दुखमा मेरो हात र साथ रहन्छ । केहि आबश्यक पर्यो भने पनि अहिले त म सक्ने ठाउँमा छु, हजुरलाई र जन्म दिने आमालाई सेवा गर्नु भन्दा मेरो ठूलो काम केहि होइन ।
 
हजुरकै बहिनी
 
ज्योति ।।।।।।

Monday, 25 February 2013

आफ्नै मलामी



सर ! सर !! बिकल सर त बाथरुम जान खोज्दा अचानक गधरम्म ढल्नु भयो लौन !! भन्दै रिसेप्सनिष्टले आफ्नो हाकिमलाई फोन गरे पछि बल्ल सबैलाई थाहा भयो, गर्याम गुरुम झुम्मिए सबै जना तर पनि उहाँ होशमै हुनुहुन्थ्यो, हातले सबैलाई आ आफ्नो काममा जान इशारा गर्दै खुट्टा फर्केर हो केहि भा छैन भनेर टार्नु भएको थियो । कलेठी परेका अनि रगत सकिएर निला भएका ओठहरु, टक्टक्याए धूलो झर्ने जस्ता फुस्रा आँखिभौँहरु अनि फुस्फुसाएको अपूरो स्वरले उहाँको बयानलाई अधूरो बनाएको थियो । अघिल्लो दिन सम्म पनि अफिस आएर सकि नसकि काम गरेकै देखेको थिएँ । कति दिन त काम नभ्याएर अफिसमै राती अबेर सम्म काममा बस्नु हुन्थ्यो अनि त्यहिँ सोफामा पानी पिएर पनि सुत्नुहुथ्यो कहिलेकाहिँ । भोक भन्नु, कामको बोझ भन्नु अनि थकाई भन्न नै बिर्सिसकेको अबस्थामा सिर्फ कम्तीमा ४ घण्टा सुत्न पाए खाए भन्दा पनि बढि हुन्थ्यो । थाहा नै थिएन कसैलाई कति हैरान छ, कति थकित छ अनि कति कम्जोर छ भनेर शायद उहाँ कसैलाई आफ्नो दुख देखाउन चाहनुहुन्नथ्यो । 

रात भर सोफामै सुतेर भोलि बिहान अफिसकै शौचालयमा टट्टि गर्न जाँदा मैले उहाँलाई धेरै पटक फेला पारेको थिएँ । म बिहान उठेर एकछिन डुलीवोरी चिया खाएर अलिक छिटो अफिस जाँदा पनि काँचा आँखा लिएर बाथरुम बाट बाहिर निस्केको देख्थेँ । अनि हात मुख धोएर हिजोकै कपडा फेरि त्यहि शरीरमा उनेर लगाउन पाए हुन्थ्यो । हैन घरमा गएर सुतेको भए पनि त हुन्थ्यो, घरमा भाउजुले खोज्नु हुन्न तपाईँलाई भन्दा चाहिँ खिन्न हुनुहुन्थ्यो त्यतिबेला तै पनि अफिसमा काम हुँदा हुँदै घरमा गएर कहाँ निद्रा लाग्छ र भाई छोड यो कुरा भनेर मलाई थुम्थुम्याउनु हुन्थ्यो र पनि म थाहा पाउँथेँ । 

भर्खरै गएको दशैँमा पनि कामको लोड छ भन्दै अघिल्लो दिन सम्म अफिसमै देखेको थिएँ । हुन त म पनि उहाकै अफिसको कर्मचारी तर अर्को शाखामा काम गर्थेँ । दशैँको दिन सम्म पनि सपिङ्ग गर्न भनेर हिँडेको वा सपिङ्ग गरेको कुनै छनक पाइन मैले । कल्लरबाट उध्र्रेको कमीज अनि आइरनले बनाएको बाटो मेटिएको पाइन्ट लगाउनु हुन्थ्यो र पनि मैले नयाँ कपडा लगाउन पाइन यो पूरानो भयो भन्ने हिच्किचाहट हुन्नथ्यो । पछिल्ला दिनहरुमा बिस्तारै अरु सँग बोल्ने रमाइलो गर्ने गर्न छोडिसक्नु भएको थियो, म एउटा जो बाँकि थिएँ जो सँग आफ्ना एकदम नीजि कुराहरु पनि म सँग पोख्नुहुन्थ्यो । यो साल मेरो घरमा टिका नभएकाले गाउँ गइन, बजार तिरै बसेँ र बिकल दाई सँग बस्ने अनि उहाँलाई बहलाउन कोशिस गर्छु भनेर लागेँ । 

जुन दिन दशैँ थियो उहि दिन मैले उहाँलाई सँजीवनी उद्यानमा लिएर गएँ जहाँ दुइ चार रेष्टुराँहरु पनि थिए । दाजुको पृष्ठभूमि मलाई सबै थाहा थियो  र त म नजीक बाट चिन्दथेँ, त्यसैले माया गर्थेँ असल साथीका नाताले । हामिले अर्डर गरेको चीजहरु पनि आए बस्तु हरु पनि आए सद्ये पनि आए मद्ये पनि आए दुइ जना मिलेर खायौँ पियौँ । त्यत्रो बेर पनि दाजु केहि बोल्नु भएन, अबस्था देखेर म पनि केहि बोल्न सकिन । निशान भाई यत्ति बाँकि तिमि जो छौ जस्ले मेरो ख्याल राख्छौ भनेर आवाज ननिकालेर पनि बलिन्धारा चुहाएको म अहिले पनि भुल्न सकिरहेको छैन । केटा मान्छे त्यसरी रोएको त्यसरी आँशु बगाएको देखेको मैले शायद पहिलो पटक होला । मैले उहाँलाई सम्झाएँ औपचारिकतामा तर उहाँको कहिल्यै सञ्चो नहुने घाउमा मैले दिएको शान्त्वनाले कुनै मल्हम लगाउँदैनथ्यो, त्यो पनि मलाई थाहा थियो । 

उहाँ त माटोमा हिलोमा खेल्दा खेल्दै हुर्किनुभयो आफ्नै बल बुताले, तै पनि मैले हुर्काको भन्नेहरुको लावा लश्कर नै हुन्थ्यो । कसरी ठूलो भयो कसरी पढ्यो अनि यो ठाउँ सम्म आयो भन्ने सबिस्तार पनि मलाई थाहा थियो तर फेरि यसमा पनि जिम्मेवारी लिने, जस लिन खोज्नेहरु पनि उल्लेख्य रहे, जसले उहाको जिवनमा सिन्को पनि भाँचेनन बरु दाजुसँगै भएका सिन्काहरु समेत पनि खोसेर लगे । आफन्तहरुबाट ठगिनुको, हेला हुनुको अतिसार सिमा उहाँले पार गर्नु भएको थियो । त्यहि बिचमा  बिबाह बन्धनमा पनि बाँधिनु भयो, अनि कहाँनिर बुझाई मिलेन पहिले पहिले मिलेजस्तो देखिए पनि अनन्तकालसम्म उहि हालतमा रहेन । माया ममताले पारिवारिक सम्बन्ध बाँधिन सकेन खाली अधिकार र जिम्मेवारीमा गएर रोकियो जिन्दगीको रथ ।

त्यहि भएर बिकल दाजु अन्तिम समयमा टुट्दै टुट्दै जानु भएको थियो । उहाँलाई यो मेरो मान्छे हो भनेर दुख बिमार हुँदा आउने पनि कोहि थिएनन फेरि उहाँले पनि मेरा कोहि छन भनेर पनि मान्नु हुँदैनथ्यो । जब दोपहर गोधूली तिर लम्किन थाल्यो, घाम पनि राता हुन थाले, मनमा आगो लाग्दा निस्केको धुवाँ जस्तै भयो पश्चिमको आकाश बादल अनि निभ्न लागेको घाम । मैले यस्ता आगोहरु त धेरै निलेको छु र पनि धुवाँ मन भित्रै मडारिएर मलाई उखरमाउलो हुन्छ भाई भन्दै ग्लासमा कडा पेय पदार्थ थप्दै हुनु हुन्थ्यो । आफ्नै भनाउँदाहरुले मलाई खुट्टा भाँचेर लडाउँछु भन्दा त तिम्री भाउजु भनाउँदीले तमाशा हेरेर बसी । मनमा बह उर्लिएर कसैलाई नभनी घर छोडेर हिँडेर फर्किँदा उस्का आसे पासेहरुले मुखमा गुहु कोचाउनु पर्यो यस्लाई भन्दा पनि झन हौसिएर बसी । त्यसका बाऊ भनाउँदाले मेरी छोरीले नाठा खेलाएर पाएकी हो र यी छोरा छोरी, खुरुक्क बजारमा एउटा घर ठड्याइदे अनि यिनीहरुलाई खाने खर्चको ब्यबस्था गरिदे अनि तँ जहाँ जाने हो जा भन्दा पनि रमिते भएर बसि भाई, अब तिमि आफै भन म कसरी भाऊजु मानुँ त्यसलाई, भन्दै दाइले गहभरी आँशु गिलासको रक्सी भन्दा बढि छचल्क्याउँदै मलाई ट्वाल्ल हेरेको पनि बिर्सेको छैन मैले ।

त्यसैले बल्ल दाजुको जिन्दगी किन यसरी खुकुलो हुँदै गएको रहेछ भन्ने लाग्यो । मलाई झन रहस्य अनि खुल्दुली बढ्दै गयो । उहाँको जिवनमा कमसे कम केहि परिवर्तन ल्याउँ भन्ने लाग्यो र झन खोतल्न लागेँ । तर जव रक्सिको नशाले छोड्यो बिकल दाजुले फेरि मनका अरु ढोकाहरु बन्द गर्नुभयो र उहि दैनिकीमा लाग्नु भयो । यस्तैमा मैले सोधेको थिएँ बिकल दाई जिन्दगी सधैँ यसरी चल्ला र कमसे कम जिवनका सबै ढोकाहरु यसरी बन्द नगर्नुस न । जिवनलाई डोर्याउने अरु धेरै उपायहरु पनि छन यस्लाई पहिचान गर्नु पर्छ । तपाईले यसरी ढोका बन्द गर्नु भयो र त केहि देख्नु भएन भन्दा उहाँले खोल्ने ढोकामा पस्ने कोहि पनि त हुनु पर्यो नि भाई  म आफै यसै त क्षत बिक्षत छु र मैले कसरी सहारा दिन सकौँला र भाई छोड यो कुरा, फेरि पनि त एकान्तमा एक्लै रुने नियती त जहिले पनि म सँग रहिरहन्छ नि । मन नलाई नलाई भिडभाडमा, जमघटमा हाँस्नु भन्दा बेहत्तर मलाई एकान्तमा रुन लाग्छ भनेको पनि हिजो जस्तै लाग्छ । 

दाइले कहिलेकाहिँ मलाई आफ्ना मनमा लागेको कुरा रक्सि नपिएकै बेलामै पनि भन्नु हुन्थ्यो कहिलेकाहिँ कि जिवनमा थाहा नपाएरै मनमा पस्ने मानिसहरु पनि हुँदा रहेछन भाइ, त्यसैले अब त बाँचौ जस्तो पनि लाग्छ जीवनमा केहि उर्जा पलाएर आउँदो रहेछ निशान भन्नु हुन्थ्यो । मैले सोधेर कहिले नभन्ने तर उहाँले भन्न मन लागेको बेला कुरेर बस्नु पर्ने बाध्यता थियो मलाई । एक दिन बतासे चौतारीमा गफ गरिरहेको बेला उहाँले म जब अशक्त हुन थाल्छु मेरा हात गोडाले काम गर्न बिस्तारै छोड्छन, अनि म यि सबैलाई छोडेर प्रकृतिको कसैले नछोएको एकान्त अनि पवित्र ठाउँमा जान्छु भाई, जहाँ कम से कम खोलामा बगेको पानी हुन्छ त्यहि पिएर पनि म सास धान्न सकुँ, मेरो अन्तिम अबस्थामा यसको मुख हेर्न त के यस्को हातको पानी पनि खान नपरोस । अझ आफ्नो मलामी आफै हुन पाइयोस भनेर लामो सुस्केरा फालेको सुनेको पनि हिजो जस्तै लाग्छ । 

दाई कम्जोर भएर लडेको पनि एक महिना भइसकेको थियो । पन्ध्र दिन अगाडि दाई सँग अन्तिम भेट भएको थियो अनि भेट भएको छैन । मोबाइल फोन पनि बन्द छ अरु कुनै सञ्जालहरु पनि चलेका छैनन उहाँका । मनमा खट्पटी भइरहेको छ मलाई । म दाइको घरमा गएँ सोधेँ र पनि खै कता मुण्टेको हो थाहा छैन बुढेसकालमा बैँश आएको होला नि जहाँसुकै जावोस भनेर भाउजु च्याँट्ठिएको मलाई सर्द परेन र पनि गुहुमा ढुँगा हानेर मुखमा छिटा पर्ने डरले म केहि नभनी लुसुक्क फर्केँ । मलाई थाहा थियो दाईको मर्म दाईको पीडा उहाँको छटपटी । मनमा उखरमाउलो छुटेको थियो, नभन्दै दाई कहाँ जानु भयो । मनमा शँका र भय पैदा हुन थाल्यो उहाँको शारीरिक अवस्था र भनाई लाई मान्ने हो भने उहाँकै भाषामा आफ्नै मलामी बनेर अरुलाई भन्दा पनि मलाई छोडेर जानु भयो कि भन्ने कुराले पोलीरह्यो मलाई ।
जताततै खवर गरेँ मैले पुलिसमा खबर गरेँ सबै तिर सोध खोज भयो तर पनि  दाईको कतै  अत्तो  पत्तो लागेन । दाइले ३ महिनाको तलब लानु भएको रहेनछ । भाउजु आएर अफिसमा हल्लाखोर मच्चाएर लिएरै जानुभयो दाइको पसिनाको फल । कति निर्दयी हुन्छन कोहि कोहि त दाइको जिवनको असफलतामा भाउजुको हात रहेछ भन्ने देखेर आफै प्रति अझै बैबाहिक जिवन प्रति पनि बितृष्णा जागेर आयो । आखिर दाइले यस्ताको बिकल्पमा किन पाइला चाल्नु भएन यो कम्जोरी रह्यो दाइमा अरु सबैमा अब्बल भए पनि भन्ने लाग्यो । फेरि अर्को अर्थमा बैगुनीलाई गुनले मार्छु भन्दा भन्दा आज आफै कता हराउनु भयो । अरुलाई त के भयो थाहा भएन, मेरो बुवाको मृत्युले भन्दा पनि दाई हराएको पिडाले मलाई सताइरह्यो ।

जति टिप्छु आफूलाई छरिएको हुन्छु झन
पोले पनि नपोलिने खरानी झैँ भयो मन

Thursday, 14 February 2013

भ्यालेण्टाइन हाम्रो पर्व


भर्खर जाडोले छोडेको छ, जाडोमा गुम्सिएको जीऊ पनि अलि खुकुलो हुन थालेको छ । एकजोडी हप्ता पनि बितेको छैन त्यहि पल्लो चूचूरोमा हिउँ परेको तर बिर्साउने गरि उखुम पनि हुँदैछ । रात भरि, हप्ताभरि झरिले छोडेर दिनहरु जब पहिलो पटक उघारिन्छन अँशी कति खुशी हुन्छ मन, कति चञ्चल हुन्छ मन, भँगेरा को चाल जस्तै फुट्टफुट्ट गर्न मन लाग्ने । औँसिको रातको भोलिपल्ट आकाशमा घाम र जून सँगै उदाउँदा रहेछन मिर्मिरेमा अनि बिस्तारै घाम बल्दै जाने अनि जून ढल्दै जाने रहेछन । आज मलाई पनि त्यस्तै भएको छ, कति नर्भस छु म आफैसँग । आस्थाहरुका महलहरु अनि बिश्वासका पहाडहरु त झन सगरमाथा छोउँला झैँ उचालिइरहेछन । खटपटी भइरहेछ मन म कहा जाउँ के गरुँ को सँग यो खुशी पोखुँ झैँ भइरहेछ । मलाई साँच्चै आफै सँग पनि आफैलाई बिश्वास छैन कि म काम सहि गर्छु कि बिराउँछु भनेर ।

सभ्यताले हिजै बिहान, आज त भ्यालेण्टाइन दिवस हो नि बुढा भन्दै थिइ मैले सुनो नसुनो गरेँ । तर मन त मेरो पनि उसलाई त्यस भन्दा बढि मायाले पुर्ने बिचार छ । मलाई सिँदूर टिका पोते अनि कानमा मारवाडी ल्याइदिनु है बुढा भन्थि मलाई तर मैले त सामान्य गिफ्ट पनि पठाउन सकिन अनि मैले मेरो अबिरल माया छ बुढि तँलाई, मारवाडी त बिहेमा ल्याइहाल्छु नि भनेँ, ऊ सुँक्क गर्न थाली, कुरौटे बुढो खाली नखरा मात्र पार्छ बरु दिन्न भन न, लाउन त मेरै छन नि भनेर घुर्की पनि लगाउँथी । मैले पनि अब भेट्दा म आफैले लगाई दिन्छु काली धेरै नकरा न डल्ली भनेर थम्कारेको थिएँ । हाम्रा यस्ता भ्यालेण्टाइन दिवसहरु धेरै बिते फुत्त फुत्त चालै नपाई तर यो चाहिँ अलि बिकसित भयो दुबैको लागि ।

हिजोको दिन छोडेर अस्ति मात्र उस्ले भ्यालेण्टाइन दिवस २ दिन बाँकि भनेर मोबाइलमा राती बाह्र बज्न एक मिनेट छँदा पठाएकी थिई तै पनि अरु धेरै म्यासेजले ठेलेर दुई तीन पेज पछाडी हटिसकेछ । म पूर्व नेपालको मान्छे ऊ चाहिँ पश्चिम नेपालकी मान्छे दूरी टाढा हुँदा पनि हामि रत्तिभर पनि टाढा छैनौँ । मैले समयमा खाना खायो कि खाएन अनि समयमा घर आयो कि आएन भने उस्लाई चासो हुन्छ । केहि समय फोन एस एम एस भएन भने मनमनै पिर मान्छे तर मलाई भने सताएर नभए कहिले त मोबाइलनै बन्द गरेर बसेर कायल पार्दछे निचोरेको कागती भन्दा पनि बेहाल हुन्छ मेरो तै पनि ख पारिरन्छे मलाई । मैले कति माया गर्छु भनेर मैले यहाँ कतै पनि उल्लेख गर्दिन किनकी यो मैले भन्दा पनि उस्ले गर्ने मुल्याँकन हो तर बेला बेला तिमि मलाई हेला गर्छौ बुढा भन्छे अनि मैले ख पार्न थाले पछि हैन हैन सरि भन्न पनि पछि पर्दिन फेरि ।

मेरो कथा लेखनमा मेरो ब्लगमा जुन सुकै पात्रमा कथा लेखे पनि उस्को र मेरो प्रेमालापको कुरा कुनै न कुनै रुपमा आइरह्यो । मैले मेरो दृष्टिमा, मेरो पाइलामा, मेरो मष्तिष्कमा त छँदै थियो अब कलममा पनि उसलाई अछुतो राख्न सकिन । सभ्यता त मेरो जिवनको उर्जा हो, मेरो जिवनभरीको गृहकार्य हो जुन बिधाताले मलाई सुम्पिएको छ जुन मैले भगवान साँक्षी राखेर आफ्नो बाचा पूरा गर्ने छु अब्बल तरिकाले गृहकार्य सम्पन्न गर्ने छु । खास गरि ब्यबसायिक लेखक भन्दा पनि मनको भावनाहरुलाई ब्यबस्थापन एवँ लिपीबद्ध गर्नका लागि पनि पछिल्ला दिनहरुमा मैले यो ब्लगमा केहि कथाहरु सँकलन गरेको छु । स साना मुक्तकहरु एवँ छोटा कविताहरु त यदाकदा फेसबुकमा पनि आउँछन तर यसरी ब्लगमा राखेको छैन मैले ।

आज त्यहि भ्यालेण्टाइन दिवस मेरो अगाडि छ, मैले सभ्यतालाई यस बखत मिस गरिरहेको छु । नेपालको क्यालेण्डरका केके जाति जति सुकै बिदा सहितका दिवस भए पनि त्यसमा मेरो कुनै चासो रहेन तर यो अलि फरक महत्वको छ किनकी म सभ्यतालाई औधि माया गर्छु यो भन्दा अर्को बिषय के हुन सक्छ हाम्रा लागि यो त दिवस होइन पर्व नै हो भन्छौँ हामि । कहिलेकाहीँ मैले उसमाथी बिश्वास नभए झैँ गरेर सोधेँ भने ऊसलाई बिझाउँछ म थाहा पाउँछु । मनमा अथाह माया हुँदा हुँदै पनि घाटीमा अड्काएर बोल्दा आफैलाई कहिलेकाही निल्नु न ओकेल्नु भएका घटना हरु पनि हामि सँग छन । खोजी रहन्छौँ हामीहरु एक एर्कालाई न थाहा पाउने गरि । कहिले काहिँ त यस्तो हुन्छ कि उस्ले भन्न मुख उक्काउन खोजेको कुरा म बोलिदिन्छु अनि मैले भन्नु भन्दा पहिला उस्ले प्वाक्क बोलिदिन्छे ।

यो त हामिले एक आपसमा पढेको मन हो । म के चिताउँछु भन्ने पनि सभ्यतालाई थाहा छ अनि ऊ के चिताउँछे, के मा खुशी हुन्छे के मा दुखी हुन्छे भन्ने पनि थाहा छ । ऊ त मेरो अर्धाङ्गिनी मात्र नभएर मेरो अभिभावक पनि हो जहाँ म लरबराएर बाटो बिराएँ भने । कहिले काहिँ म लरबराएको बेलामा उस्ले पनि केटाकेटी पन देखाउँछे र झन समस्या पर्दछ र पनि अन्तमा ठिक भैहाल्छ, शायद उस्लाई लाग्दोहो मैले खेलाँची गरेको होला भन्ने तर त्यसो नभएको थाहा पाएपछि ऊ आफै कूल हुन्थी अनि मलाई सँझाउन थाल्छे आफ्नै आमाले जस्तै । हो ! यहि हो माया भनेर मैले सिकेँ उसबाट !! बर्षौँदेखिको हाम्रो सम्बन्ध यहि मान्यता बिश्वासमा अझ मायाको उर्जामा अझै मजवूत भएको छ ।

कस्तो गहिरो आस्था कति गहिरो माया, अनि मायाको सागर भित्र मायाको कस्तो मिठो प्यास त्यहि प्यास मिठो त्यहि काकाकूल को स्वर मिठो .......

भ्यालेण्टाइन दिवसको अवसरमा तिम्रो सम्झनामा लेखेको शब्दहरु तिम्रो पोल्टामा राखेको छु, तिम्रो मनको किस्तीमा सजाउनका लागि,

उहि तिम्रो भ्यालेण्टाइन
तिम्रो मायालु निशान

Saturday, 9 February 2013

YOU ARE MY VALENTINE & MORE

मलाई लाग्दैन सभ्यताको र मेरो सम्बन्ध कुनै कथा जस्तो हो तै पनि मैले हाम्रा अनुभव एवँ अनुभूतिहरुलाई कैयन कथाहरुमा कहिँ आधा कहिँ साठी बनाएर मिसाएँ । सत्य तथ्य अनुभूतिहरुलाई अनि मनका तरङ्गहरुलाई मायाका छालहरुमा हल्लाई दिएँ । कहिले सपनामा देखेँ त कहिले बिपनामै आत्मसाथ गरेँ उसलाई । तर यो प्रेम दिवस अर्थात भ्यालेण्टाइन डे अबसरमा सँझन योग्य पात्र भने मेरा लागि नृपेश र आयुशी हुन । मैले बुझेको परिबेश र परिस्थिति अनि मेरो नजरबाट देखिएको परिदृश्यलाई शब्दमा डोर्याउने कोशिशमा छु म ।

कति तितो जिन्दगी भोगेको छ नृपेशले जन्मै देखि । कोहि मान्छेहरु जहिले पनि दुख पाउनकै लागि मात्र जन्मन्छन भन्ने जस्तो लाग्दथ्यो जहिले देखि म उसलाई चिन्दथेँ । उसको मानसिकतामा अथवा ज्ञान चच्छुले आफ्नी आमाको बात्सल्यता त अनुभव गर्नै पाएन त्यहि भएर अहिले पनि अपूरो देखिन्थ्यो ऊ । उसका बाबु पनि ऊ सानै हुँदा स्वर्गे भए, मैले पनि अलिअलि जान्दछु कडा मिजासका तर मनमा पाप केहि नभएका अनि सबैको गरि पुर्याउन खोज्ने र गरिपुर्याउँथे पनि ।

नृपेशले त्यहि चोटै चोटले भरिएको चारै तिरबाट कुच्चिएर कुरुप भएको गाग्री जस्तो मनस्थितिमा पनि आफ्नो जिन्दगी यस्तो होस भनेर सोचिरहन्थ्यो । आफ्नो घरमा आफन्तहरुको आवत जावत भइरहने निकै चहल पहल अनि सबै गाउँ छिमेकीहरुको सेवामा हरपल उपलब्ध भइरहन पाउने अबस्था अनि घरपरिवारको सहयोग होस भन्ने पनि चाहन्थ्यो ऊ । अरुका परिवार देखेर राम्रा कुराहरु मेरा पनि यस्तै भइदिए भनेर सोच्दथ्यो । जिवन यसै गरि बित्दै थियो नृपेशको अब त ऊ पनि १२ कक्षा पढेर पनि पास भइसकेको थियो ।

एक दिन पल्लो गाउँ जाँदा हिँड्दा हिँड्दै कमजोरीले ऊ बिच बाटोमै ढल्यो, अरु साथीहरु अगाडि थिए ऊ ढलेको कसैले पत्तो पाएनन । एक छिनमा ब्युझिँदा एउटी नानीले कर्कलो को पातमा पानी ल्याएर खुवाउँदै थिई अनि ब्युँझे पछि ऊ पनि फुत्त भागी लाजले हो कि के ले हो थाहा भएन । दुबैले दुबैलाई देखे एक आपसमा चिने तर को कसको छोरो को कस्की छोरी कहाँ हो घर केहि थाहा भएन तै पनि नृपेश चाहिँ धेरै बेर सम्म उस्को बारेमा घोरिइरह्यो । यसो नाम भनेर गएको पनि त हुन्थ्यो कतै बाटो घाटोमा भेट हुँदा नाम बोलाएर तिमिलाई मूरी मूरी धन्यवाद छ भन्न त हुन्थ्यो, भैगो भनेर जुरुक्क उठेर हिँड्यो । तै पनि मनमा चिसो बनेर बसिरह्यो उस्को तस्वीर केहि भन्न नपाएर मन पोलिरह्यो ।

उस्ले सोचेको उस्को भविष्यकी ऊ पात्र बन्न लायक थिई उस्को नजरमा तै पनि एक छिनभरमै कता हराई कता, के भनेर खोज्नु कहाँ खोज्न जानु, न साइनो न सम्बन्ध अझ नाम समेत थाहा नभएको मान्छेलाई खोज्न अगाडि कुनै मुख्र्याइँ गरेन उस्ले । समयले पनि अनेकौँ डाँडाकाँडाहरु मा उकाली ओराली गर्दै थियो, जुँगाका रेखी पनि अब त परिपक्व पनि हुँदै थिए । उसका आफन्तहरुले बिबाहको कुरा चलाए र पनि ऊ एउटामात्र शर्त राख्यो कि ऊ एक्लो मान्छे लाई सम्पूर्ण सदस्य भएको परिवारमा गर्नु पर्छ मात्र अरु चाहिँ उस्को कुनै शर्त थिएन । सानै देखि उसले ख्याल गर्ने कुरा उस्को आफ्नो स्वाभिमान र हैसियत थियो ।

समय फेरियो परिस्थिति फेरियो जिवनको नक्शा पनि फेरियो जिम्मेवारी र दिनचर्या हरु पनि फेरिए । शायद उसलाई उस्को जिवन पूर्ण भए जस्तो पनि लाग्यो र सबै छोडेर एकोहोरो परिवार प्रति नै पूर्ण जिम्मेवार भयो हद भन्दा पनि बढि । बिस्तारै बिस्तारै उसको सदासयता अरुका लागि उस्को कम्जोरी ठहरियो । उस्ले सोचेको गाउँ छिमेकमा नाता गोतामा नाता सम्बन्धहरु टाढा टाढा हुँदै जान थाले । सोचेको ठिक उल्टो हुन थाल्यो, अनि आफ्ना हरेक तर्कहरु परिवारबाट कुतर्क सावीत हुन थाले अनि बोल्नु भन्दा नबोल्नु ठिक ठानेर बिस्तारै पारिवारिक सम्बन्धको छेऊ बाट पहिरो जान थाल्यो । ऊ मन भक्कानिएर रुन खोज्दा पनि आँखाबाट आँशु बगाउन नसकेर कति पीडित भएर बस्यो । कति दिन खाइ नखाई पनि बस्यो तर उस्को कन्तबिजोगमा सान्त्वना दिने कोहि भएनन, खेदो खन्ने नै धेरै भए ।

खपि नसक्नु भयो जिन्दगी यो त फोर्न नसकेको पिलो जस्तो हरपल बल्किरह्यो । फेरि उहि अतितको अर्को पाटोमा पुग्यो ऊ उहि पात्र लाई सम्झियो, शायद जिवनमा यस्तो त कसैलाई पनि नपरोस भनेर दश औँला जोडेर चिताउनु बाहेक ऊ सँग केहि बाँकि रहेन । कोहि त्यस्तो हात भेटिएन जसमा समातेर जँघार तर्न सकियोस । खोलाको बिचमा आएर जिन्दगी दोधारमा पर्यो उसको, धेरै समय सोचे पछि उसमा नयाँ अबधारणा आयो कि जिवन अब आफैमा पनि बाँड्न सिक्यो उसले । जिवनलाई सार्वजनिक र नीजि जीवनमा दुइ चिरा पार्यो, नीजि कुराहरुलाई र सार्वजनिक कुराहरु एक आपसमा छुट्टिए अनि बल्ल उसलाई हल्का भयो उस्को बाँच्ने आधार अब सार्वजनिक जिवन होइन नीजि जीवन हो भनेर बल्ल मन स्थिर भयो र सोच्न सक्ने शक्ति मनमा आयो ।

नृपेशको जिवन प्रतिको फरक परिभाषा सँगै उसको बैबाहिक जिवन अब सँझौतामा परिणत भएको थियो । जिम्मेवारी र कार्यसूचीहरु लिखीत बुँदामा भएका शर्तहरु जस्ता भएका थिए । तर जिवन साँच्चे खस्रु जस्तै अररो भएको थियो उस्को । उस्ले आफ्नो नियमित रुपमा अफिसमा १० देखि ५ को जागिर पनि छोडेर आफ्नै काम गर्न लाग्यो जस्ले उसलाई कहिलेकाहिँ बहकिन घर छोड्न सजिलो हुन्थ्यो । उसलाई सबभन्दा मन पर्ने एकान्त भयो, उसको सृजनशीलता एकान्तमै फुर्दथ्यो । उसले पनि अब फरक जिवनशैलीमा आफूलाई ढाल्न थाल्यो । अब त नसोचेरै पनि उसलाई खोजीरहने उसको बानी भयो । बिहानै उठेर सोच्ने बिषय बन्दथि आयुषी ।

समयले आयुषीको तनलाई पनि हर्लक्कै बनाइदियो । ऊ पनि केटीबाट तरुनी भई, चियापसलमा घर घरमा उसको मिजास देखेर उसको लगन जुराइदिने अनि कालान्तरसम्म जस लिइरहन उस्को बिहाको कुरा प्रतक्ष्य अनि अप्रतक्ष रुपमा लिएर आउने धेरै भए । उसको घरमा अब त बिहाको रन्को छुट्न थाल्यो । आयूषीको मन पनि उस्तै पोलिरहेको थियो जुन नृपेशको हालत थियो । उनीहरु आपसमा एक शब्द नबोलेरै पनि एक आपसमा खोजिरहेका थिए । अब त नृपेश सँग छुट्टिएको पनि पाँच बर्ष बितेछ तै पनि उसले मनबाट नृपेशलाई हटाउन सकिन । मनमा अठोट थियो मेरो प्रथम पुरुष छ भने उहि हो नत्र म बिबाहनै नगरि बस्छु भनेर घरमा पनि भनिदिई जे हो त्यहि । उसको मिजास अनि अहिले सम्मको ब्यबहारले घरमा पनि उस्को कुरा कसैले हारेनन अनि बहिनीको बिबाहको कुरा चल्न थाल्यो बिहे पनि भयो तर पनि उसको रौँ पनि हल्लिएन ।

उसले आफ्नो स्नातकको पढाई सकाएर एउटा परियोजनामा सामाजिक परिचालकमा काम पाई अनि त्यसैमा दिलो ज्यान दिएर लागि । उसलाई आफ्नो भूमिका र सुरक्षा प्रति बढि चासो हुन्थ्यो । अब उसलाई कामकै शिल्शीलामा पनि नृपेशलाई खोज्न सजिलो हुने भयो । तर के भनेर खोज्ने, कुन ठाउँमा खोज्ने भन्ने सन्नाटा मनमा छाइ रह्यो अझै रहस्यमय मँगलग्रहको कथा जस्तो पनि हुन्थ्यो घरी घरी । उस्का आँखा पत्रिका पानामा हरेक फोटोहरुमा छिरलिन्थे अनि टिभिमा पनि त्यस्तै थियो ।

एक दिन आयुषी भाउजुको माइत गइ भाउजु सँग अनि त्यहाँ एल्बममा नृपेशको फोटो देखि अनि भाउजुलाई सोधी । भाउजुले बेलिबिस्तार लगाइदिनु भयो नाम घर ठेगाना सहित र उसलाई अलिकति समाउने हाँगो फेला परेजस्तो पनि भयो त्यतिबेला । अनि उस्ले त्यहि ठेगानामा पत्र लेखी र हुलाकमा राखिदिई । अनि दुई हप्ता पछि त्यहि पत्र फिर्ता भएर आयो घरमा कोहि नभएर । अनि फेरि भाउजुलाई सोधी सबै कुरा बताई, भाउजुले पनि चासो दिएर ऊ घरमा भए नभएको छिमेकीको मोबाइलमा फोन गरेर सोध्नु भयो तर उनीहरु त ४ बर्ष अगाडिनै गाउँ छोडेर हिँडेका रे कहाँ बसाईँ सरे गाउलेलाई कसैलाई पनि थाहा नभएको बताउनु भयो ।

उसले साथीहरुले फेसबुक एकाउण्ट खोलेको साथीहरु खोजेको च्याट गरेको म्यासेज गरेको देख्दथी तर आफूलाई फेसबुकको कुनै काम नभएको ठान्दथी । चाहिने नचाहिने मानिसले उर्मिलालाई ट्याग गरेर फोहोरी तस्वीरहरु राखेको पनि हेर्थि कहिलेकाहीँ र त फेसबुक मन पर्दैनथ्यो उसलाई । उसलाई नृपेश भन्दा अरु सँग च्याट गर्नु म्यासेज गर्नु केहि थिएन । तर अब आबश्यक भयो कतै खोज्दा फेसबुकमा नृपेश भेटिन्छ कि भनेर उर्मिलाको सहयोगमा नयाँ फेसबुक खाता खोली अनि दुबै जना मिलेर नृपेशलाई खोजे । अब त उसको टोलभरी थाहा थियो ऊ नृपेशलाई मन पराउँछे भनेर तै पनि उसलाई कसैले गलत रुपमा लिँदैनथे । नृपेश भेटिएन कतै पनि, कुनै पनि नृपेश नामको मान्छे उसको हुलिया सँग मिलेन फेरि निराश भई उत्निखेरै एकमनले फेसबुक एकाउण्ट बन्द गरौँ जस्तो भयो तर सम्हालिई एक छिन ।

यता नृपेशले पनि नयाँ फेसबुक एकाउण्ट खोल्यो अनि उसकी पात्रलाई खोज्न थाल्यो तर उस्को अझै नाम सम्म थाहा थिएन तै पनि उस्को ठेगाना भएका ठाउँका आई डि हरुको खोज गर्न थाल्यो सबै फोटोहरुमा आँखा बिछ्यायो तै पनि उसकी पात्र भेटिइन । यो सँसार पनि कति ठूलो रहेछ जस्तो लाग्यो उसलाई तै पनि हरदम प्रयास छोडेन एक दिन त कसो नभेटिएला । हेर्दै जाँदा अर्कै साथीको पिकनिकको फोटोमा उसकी पात्रलाई देख्यो पहिलो पटक र त्यो आई डि को मान्छेलाई सोध्यो च्याटमा अनि उसले पनि नाम र अन्य सामान्य जानकारी दियो, तर अफशोच आयुषी ३ बर्ष अगाडि देखि घर नआएको थाहा पायो । नृपेशको मनमा चिसो भयो, कतै बिहा गरेर पो गई कि भन्ने तै पनि के भयो र मैले पनि त बिबाह गरेँ नि भनेर चित्त बुझायो । जेहोस भेट्न मात्रै पाए पनि हुन्थ्यो झैँ भयो उसलाई । अनि आयूषी भन्ने नामबाट खोज्दा फेसबुकमा उसको आई डि फेला पार्यो, उसले हिजो मात्र खाता खोलेको पनि थाहा पायो अनि मन अलि हलुका भयो अब भेटिने सुत्र त फेला पर्यो । अनि फ्रेण्डशीप एड गरेर लग आउट गर्यो ।

आयूषीले एक दिन नृपेश एउटा तालिममा पढाउँदै गरेको फोटो पत्रिकामा छापिएको देखि तर कुन ठाउँ भन्ने तस्विरमा खुलेन अझै पनि उस्तै लाग्यो नृपेश उस्तै रैछ कत्ति नफेरिएको जस्तो लाग्यो । उसले मनमनै म त हर्लक्कै बढेँ पहिला जस्ती छैन ज्यान पनि चौडा भएको छ भनेर गम्दै थिई । फेरि पनि नृपेशको बारेका ठोस जानकारी थिएन उसलाई आशाहरु मनमा हुँदा हुँदै पनि ऊ अझै खोजीमा भौँतारिइरहेकी थिई । उस्का लागि उस्को जीवन त रातोमाटोको डल्लो जस्तै भएको थियो तै पनि फेसबुकमा, पत्रिकामा टेलिभिजनमा एफ एममा सुन्न र हेर्न बाँकि राख्दिनथी । एक दिन टिभिमा एउटा सानो अन्तरवार्तामा नृपेश झुलुक्क देखियो अनि पलेटी कसेर बस्न नपाउँदै बत्ति झ्याप्प गयो अनि फेरि कहाँ के भनेर जान्न पाईन यो बत्ति पनि यहि बेला जान्छ कत्ति बेइमानी अनि निष्ठूरी झैँ लाग्यो ।

पर्सि पल्ट फेसबुक पोष्टमा छोटो चिठि लेखेर नेपाली युनिकोडमा पोष्ट गरि । त्यतिबेला पनि धेरै फ्रेण्डशिप रिक्वेष्टहरु थिए चाङ्ग भरि उसको त्यता ध्यान गएन अझै भन्दा जहाँ नृपेश छैन त्यहाँ आयुषिको ध्यान हुँदैनथ्यो । उस्ले साइनआउट नगर्दै एउटा म्यासेज आयो र खोलेर हेरि यसै यसै हेरिहालौँ के रैछ भनेर ।

मेरी प्रिय साथी आयूषी, मैले तिमिलाई कहाँ कहाँ खोजिन, खोज्दा खोज्दै लखतरान हुँदा पनि म तिमिलाई भेट्टाउन जहिले पनि असमर्थ भएँ तर आज म धन्य छु लाग्यो म आज सफल भएँ, शायद जिवनको सबभन्दा अप्ठेरो परिक्षा पास गरेँ । अझै खुशी त्यतिबेला हुने छु जतिबेला तिमि मेरो फ्रेण्डशीप एसेप्ट गरेर म सँग अनलाइनमा कुरा गर्ने छौ या मलाई यसको जवाफ को म्यासेज पठाउने छौ ।

अब त आयूषिको खुशीको सिमानै रहेन तै पनि त्यतिबेला नृपेश भने अफलाइनमा थियो । उसलाई नृपेशको औधि माया लागेर आयो भेटेँ भने त दौडिँदै गएर झम्टौँ झैँ लाग्यो उसलाई अनि भाउजुलाई अनि आमालाई फोन गरि मेरो नृपेश फेला पर्यो भनेर । आज उस्को अनुहारमा अर्के चमक छाएको थियो बास्तवमा जिवनमा पहिलो पटक यति धेरै खुशी थिई । अनि उस्ले पनि त्यहि म्यासेज बक्स मा नृपेशलाई उत्तर लेख्न थाली । उसले नृपेशलाई लेखेको पहिलो पत्र फर्केको अनि मन अमिलिएको यादहरुलाई खुच्चिङ्ग गर्न पाई आज ऊ ।

मेरो प्रिय हजुर, म आज अति खुशी छु, बल्ल आज जिवन ज्यूँदो र सार्थक भएको छ, म आज हजुरको म्यासेजले मौलाएकी छु । हजुरसँगको सम्बन्ध मेरो लागि सम्बन्ध मात्र रहेन । मैले हजुरको जिवनमा अधिकार जमाउन खोजेकी होइन, मैले त हजुरको मनमा सानो ठाउँ खोजेकी हुँ । हजुरको नीजि जीवन प्रति अनि बाध्यताहरुमा अनि जिम्मेवारीहरुमा कुनै अप्ठेरो पार्न चाहेकी हैन तै पनि हजुरको उपस्थिति र स्थान सर्वोच्च हो मेरा लागि । हजुर जहाँ भए पनि जस्तो अबस्थामा भए पनि हजुर मलाई आफ्नो लाग्छ खै किन हो थाहा छैन । यो म्यासेज पढ्दा हजुरलाई अचम्म लाग्ला । मलाई कहिले पनि गलत नसम्झनु होला । म हजुरको स्टुपीड साथी हुँ, मलाई मात्र हजुरको मनमा एउटा साथीको स्थान दिन होला त्यति भए मलाई पुग्छ, एक्लै ज्यूँन त मैले सिकेको छु आफ्नै अतितबाट ..............
उहि हजुरकै स्टुपीड साथी आयूषी

बत्ति नआएको पनि आज त ५ घण्टा बितेछ ल्यापटपमा पनि चार्ज थिएन, उसलाई खुल्दुली थियो आफ्नो म्यासेजको रिप्लाई कतिबेला आउँछ भनेर । अनि झट्टपट्ट मोबाइल पसलमा गएर इन्टरनेट एक्टिभेट गरायो मोबाइलमा फेसबुक चलाउन । पहिलो पटक मोबाइलमा फेसबुकमा लग इन गर्यो, नोटिफिकेशनमा र म्यासेजमा अँकहरु थिए त्यस मध्ये आयुषीले उसको फ्रेण्डशीप एसेप्ट गरिसकेकी थिइ र म्यासेज पनि थियो साथमा । आयूषि त्यति बेला पनि अनलाइनमै थिई । पहिला आयूषिले उ सँग फोन नं. मागी अनि दुबै जनाले फोनमा कुरा गरे बल्ल उघ्र्यो दुबैको मनको ढोका अनि खुलेर कुरा गरे आज मोबाइलमा दुबै तिरको पैसा सकिने गरि ।

आयुषीको कामको दौरानमा कहिले कहाँ कहिले कहाँ हिडिरहनु पर्ने हुन्थ्यो । त्यहि दौरानमा आयुषी र नृपेशको पनि भेट भयो । आ आफ्ना मनका भारीहरु बिसाए दुबै जना । समस्या अनि परिस्थितिहरु पनि बिसाए । यस्तै क्रममा अरु एक दुइ पटक पनि भेट भयो । भेटमा नितान्त घर सल्लाहका जस्ता कुरा बुढा बुढी बिच हुने जस्ता कुरा हुन्थे दुबैको एक आपसमा कुनै सँकोच थिएन । नृपेश पनि कामको शिल्शीलामा १५ दिनका लागि कर्णाली जानु पर्ने भयो र आयुषी सँग बिदा मागेर हिँड्यो ।

यता एक हप्ता देखि नृपेश सँग फोन म्यासेज केहि पनि भएको थिएन आयूषीको । उराठे डाँडा जस्तै हुन्थ्यो मन उसलाई अनलाइनमा नदेख्दा तर आज दुइ हप्दा बितिसक्दा पनि नृपेशसँग कुरा हुन पाएको थिएन । फोन गरुँ फोन लाग्दैन, न फेसबुक चल्छ न मोबाइलमा कुनै म्यासेज जान्छ । मन हुर्हुरी हुन थाल्यो आयुषीको । आयूषीले उस्को साथी मार्फत उस्को घरमा सोध्न लगाई त्यहाँ त एक हप्ता त के एक महिना एक बर्ष नआए पनि हाइ सञ्चो रैछ । उस्ले नृपेशले भनेको झल्झली सम्झी मनले मनलाई नचिने पनि यस्तै हो भनेर चित्त बुझाई ।

आयूषीले फेरि उस्को साथी मार्फत उस्लाई तािलममा पठाउने सँस्थाको फोन नं लिएर कुन ठाउँ हो भनेर पत्ता लगाएर त्यहाँको गाउँ बिकास समितिको कार्यालयमा भएको एक मात्र सिडिएमए फोन गरेर दुइ घण्टामा फोन गर्छु बोलाइदिन भनी । दुइ घण्टा पछि एउटा भोटे दाई बोल्नु भयो, मास्टरबाबु त १० दिन देखि लेक लागेर इन्तु न चिन्तु भाछ, अबो त लामाले पनि सकेन अनि आजै बिहानै डोकोमा बोकेर बेसी झारेछ बैनी, मलाई त तो बाबुको सारै माया लागो, निदैमा बर्बराएर आउसी आउसी भन्थो के भनेको हो । उसका आफ्ना मुन्छे पनि हैन्चन कि के हो भन्दै हुनु हुन्थ्यो । उसले बिचैमा कुरा काटेर त्यो ठाउँमा आउने बाटो सबै सोधी र फोन राखीदिई ।

उसलाई झन सहि नसक्नु भयो, अनि झोलामा २ जोर कपडा हाली अनि दराजबाट भएका सबै गहना पैसा पोको पारेर हिँडी तार्घाबेँसी तिर । एक दिनभरको यात्रा पछि एउटा बजारमा पुगी साँझ पनि झमक्कै पर्यो । भोलि बिहान ५ बजे मात्र त्यहाँ बाट जिप चल्दो रहेछ अनि एक दिन त्यहिँ बसी । मन त चिरा चिरा भइरहन्थ्यो आयूषीको घरी घरी, निदाउनु त परै जावोस एक रात पनि एक जुनी जस्तै भयो । बिहानै जिप चढेर सैली खोला पुगी अनि आधा दिनको बाटो हिँडेर तार्घा बेँसी पुगी र झटपट त्यहाँको स्वास्थ्य केन्द्र पुगी ।

उसलाई भेटे पछि लामा दाइले अनि दिपक ले तपाईँ नै हो आयूषी बैनी भनेर सोध्नु भयो उस्ले नधानिएको टाउको पनि धानेर हल्लाई हो भनेर ।  अनि दाइले बल्ल मास्टरबाबुको परान छिर्ने भयो आँगमा नत्र बैनी २  ३ दिन पनि के हो के हो जस्तो थियो भको थ्यो भनेर भन्नु भयो । दिपक र लामा दाइको अनुहारमा पनि अलि चमक भरियो, निधारमा आशाका रेखीहरु तैरिए त्यो सबै पहिले पढि आयूषीले अनि मनमनै धन्यवाद दिई ।

हेर्नुस त म आएँ भनेर उस्ले नृपेशको निधारमा मुसारी, उस्का आँखाका परेली अलि अलि नजानिँदो चल्मलाए, खुट्टाका कान्छि औँला थरथराए, ओढहरु कलेठी हल्लिने गरि काम्न थाले । पहिलो पटक बोलेको ऊ गए पछि उस्कै नाम थियो आयूषी । आयूषी सम्हालिन नसकेर भक्कानिई एक छिन, अलिकति खुशीले, त्यो भन्दा धेरै बेदनाले अनि त्यो भन्दा पनि धेरै मायाले ।
 
अर्ध चेतन अबस्थामा पनि नृपेशले निधारमा न्यानो स्पर्शले छामेको अनुभव गर्यो । उसका आँखा अहिले पनि बन्द थिए चाहेर पनि उघार्न सकिरहेको थिएन तै पनि स्पर्शको शक्तिले अर्ध बेहोशीमै मन जुर्मुराउँदै थियो, उसलाई थाहा थियो यो अनुभव अरु दिन भन्दा फरक थियो साँच्चै ओखती भन्दा पनि बढि उपचार थियो यो स्पर्श । मन पलाउँदै आउन थाल्यो बल्ल जिवन प्रति आशा पलाएर आयो, अनि आफूसँग बचेको तागत जम्मा पारेर बल्ल बल्ल सकि नसकि आँखा उघार्यो । उस्को अगाडि उहि लामा दाई र दिपक भाई थिए तै पनि उस्को मन मानेर अर्को सिरानी राखेर टाउको अग्लो गराइदिन इशारा गर्यो ।

उता उल्टो फर्केर एउटी केटी मान्छे रोइरहेकी देख्यो शायद आफ्नो हालत देखेर होला भन्ने ठान्यो अनि आयूषी यता आऊ म ठिक भएँ हेर त भनेर पहिलो पटक पूरा बाक्य बोल्यो धेरै दिनमा । नृपेशले आयुषी भनेर बोलाउँदा उस्को मन हलुका भयो । आँशु पनि कति बग्न सकेका गण्डकी बगे जस्तै, यो त मायाको मूल पो रहेछ जुन मनको सागरमा गएर बिलिन हुन्छ अनि हरपल डुबाइरहन्छ जुरो सम्म भन्ने लाग्यो उसलाई । अझै पनि नृपेश पुरा होशमा आइसकेको थिएन उसका आँखा अझै बन्द थिए । आयूषी बिरामीकै खाटमा गएर उस्को काखमा राखेर बिरामी भए देखि काट्न नसकेका दाह्री मुसार्दै बसी ।

आज कति सुन्दर भएको मेरो नृपेश मेरो मनको सँसारको पति देव झै लाग्यो आयूषीलाई । सयौँ बर्ष पहिले देखि उनीहरु श्रीमान श्रीमति नै हुन झैँ लाग्यो । एक घण्टा जति आयूषीकै काखमा निदायो नृपेश अनि आफ्नो सपना बिपना मा सजाउने नृपेशलाई यो हालतमा पनि भेट्न पाउँदा सँसारकै भाग्यमानी मान्छे सम्झि आफूलाई आयूषीले । जब ऊ आयूषीको काखमा निदाएको थियो, उसलाई जीवनको अति सूनौलो स्वर्गमा प्रवेश गरेझैँ भयो । जिवनलाई जस्तो बनाउँछु भनेर उहिले सोच्दथ्यो त्यो साकार भए जस्तो आभास भयो । ऊ आँखाले निधाए पनि मनले निधाएको थिएन ।

कति दिन देखि अन्न नखाएको मान्छे निद्राबाट ऊ ब्यूँझिए जस्तो गरेर आयूषी मलाई त भोक लाग्यो भन्यो । अब छिट्टै निको भएर यहि हामि आएको बाटो तिमि सँग हात मिलाएर हिँड्न अनि डुल्न मन लागेको छ भन्दै थियो । नृपेशले खाना माग्दा आयूषीलाई उस्की पत्नी हुनुको जिम्मेवारी थपियो । एक मुठी चामल मा दाल सबै मिसाएर जाउलो अनि लेकाली साग पुरुक्क पारेर ल्याइदिई र धेरै दिनमा अन्न र नून उसको शरिरमा छिर्यो । अनि ३ ४ दिनमा नृपेश अलि उठ्न अनि हिड्न सक्ने भयो ।

उसले तालिम दिएका बिद्यार्थि तथा अभिभावकहरु पनि बेशी झरे । उनीहरु दुबैलाई फूल माला लगाइदिए अनि फेरि माथि गाउँ जान कर गरे । उनीहरुले पनि नकार्न सकेनन । एक दिनका लागि भए पनि माथि हिँडे । सानो साँस्कृतिक कार्यक्रम पनि भयो आयूषी पनि नाची अनि नृपेशलाई पनि नचाई थोरै थोरै । अन्तमा आयूषीले सबै गाउँलेहरुलाई उस्को नृपेशलाई बचाइदिएकोमा हजुरहरु प्रति जिवनभरी ऋणी छु भन्दै आँखाभरी आँशु पार्दै धन्यवाद दिई गाउँलेहरु पनि रसाए । लामा दाइले अर्धाङ्गिनी हुनु त यस्तो अनि बुढाबुढी हुनु त यस्तो भनेर उनिहरुलाई शुभकामना र आशिर्वाद दिनु भयो ।

सबै सँग बिदा बादी भएर हात हल्लाउँदै उनीहरु पनि भोलिपल्ट साँझमा बेसी झरे । बेसीमा उहि दिपक भाई र लामा दाई हुनु हुन्थ्यो । निकै रात सम्म पनि दुख सुखका कुरा भए रुँदै हाँस्दै । त्यहि दिन थियो आयूषीले श्रीमान सँग वास्तविक भ्यालेण्टाइन दिवस मनाइरहेकी थिई । नृपेशले बिरामी हालतमै मोबाइलमा नेटवर्क नभएर पेण्डीङ्गमा रहेको Happy Valentine my Aayushi !! You are my Valentine, You are my life & more ...  भन्ने म्यासेज देखायो । आयूषी पनि नृपेशको नाक समातेर Same to you & More ... भनी अनि बाँकी दुइ जनाले ताली बजाए त्यति बेला सम्म रातको २ बजिसकेको थियो ।