Tuesday, 10 June 2014

तिमि कहाँ छाै ?


एक हप्ता अगाडि देखि लगातार पानी परिरहेको थियो, यति सम्म कि हरेक दिन बिसाउँदैनथ्यो, त्यसैले धुम्म परेर बसिरहन्थ्यो । उनले म आउँदै छु भनेर फोन गरिन् मैले पनि दश एघार तिर आउनु भनेँ यत्तिकै, किनकी बिरामीपनले म समयमा उठ्नै नसक्ने भएको थिएँ, मेरा नित्य कर्म सकाउन नै करिब नौ देखि साढे नौ बजेको हुन्थ्यो । कति बेला आई पुगिछन थाहै भएन, आवाज बिनै हातमा रातो छाता लिएर ढोकामा उभिएको देखेँ अनि मैले बस भन्न पनि मेसै पाएनछु बरु उनैले मलाई आऊ भन्दैनौ भित्र भने पछि बल्ल झसङ्ग भएँ अनि हत्तपत्त आउन भित्र म त तिमिलाई हेरेको हेर्यै भएछु भने । पानी सँग दोस्ती भए जस्तो बलेनीको पछेटोमा हात पसार्दे खसिरहेको पानी मुसार्दै थिइन, शरीरमा न्यानो पार्ने कपडा पनि थिएन र पनि त्यसको कुनै वास्ता र महत्व भएको आभास नै पाइन मैले । 

घरमा त म एक्लै थिएँ, काकाको छोरो भाइ मनुज आउँथ्यो मलाई सघाउन, अनि बेलुका म सँगै बस्थ्यो । सानै भए पनि सकि नसकि मेरो सेवा गथ्र्यो । तिमिलाई गारो भयो भने कहिलेकाहिँ बिसञ्चो भयौ भने म कसरी आऊँ तिम्रोमा मलाई त हरपल तिम्रै चिन्ता भइरहन्छ पोलिरहन्छ मन यत्तिकै भनेको पनि मनमा ताजै थियो । मनुजले पनि म आज मामाघर जान्छु ल दाई हजुर आफ्नो ख्याल राख्नुस है भनेर हुईकियो । 

उस्ले थचक्क खाटमा बसेर आइ मिस यु इन इभ्री सेकेण्ड भनी म केहि पनि बोलिन टाउको हल्लाइरहेँ । बोलेका शब्द यिनै थिए र पनि हामि दुई बिचमा धेरै नै ठूलो गफगाफ भइसकेको थियो नबोलेरै । म बायाँ गोडा थिच्दै भान्सा तिर लागेँ एक्लै, प्रेसरकुकर हेरेँ खाली थियो तर जुठो अस्ति देखिको हत्तपत्त माझ्न पनि सकिएला जस्तो थिएन यसैमा अभ्यस्त थिएँ म, अरु भांडा पनि माथि भन्दा तल असरल्ल थिए । टोकरीमा ओइलाएको बन्दा, आलू भन्दा केहि रहेनछ, प्याज सकिएको त एक हप्ता अगाडि नै हो लसुन ले नै काम चलाउथ्यौँ । त्यहि बाटो म चर्पी लागेँ, फर्किदा चाहिँ उनले सबै देखेर अलिकति रिस अनि अलिकति खुशी मिसाएर अनुहारमा घोल्दै थिइन । 

उनले मलाई केहि पनि भनिनन खालि आफै भांडा मस्काउन थालिछन म पनि सघाइलाएँ दुबै जना भएर भाँडा माझ्यौँ घर सफा गर्यौ, खिर्चिमिर्चि राख्ने भाँडाहरु पनि पुछिदिईन बल्ल घर घर जस्तो भयो । उस्को हातको चुराको आवाजले घरका भित्ताहरु पनि खुशी भए र म पनि । घरमा सबै चीज काम चलाउने सतह सम्म मात्रै हुन्थ्यो । काम गरेर मलाई मिल्ने तलब भनेको जम्मा आठ हजार थियो, शरीरको अशक्तताले म अरु कमाउन सक्दिनथेँ अनि सबै कुरामा सम्झौता गर्नु पर्दथ्यो । 

आज तिमिलाई आफ्नै हातले बनाएर खुवाऊँ या तिम्रो हातले बनाएको खाऔँ भनेको आफ्नो चाला चाहिँ यस्तो छ भन्दा भन्दै अगाडि के भन्नु भनेर शब्दमै अड्किएँ म । उस्लाई मेरो सर्वश्व अबस्थाको पहिचान भयो, दुबैजना बाहिर गयौँ पसलमा खानेकुराको बन्दोबस्त भयो कोठामै खानलाई । म त सोच्दै मात्र थिएँ कतै बाहिर गएर खाऊँ तर भन्नै भ्याइन उस्ले सासै नफेरी एकाएक तारतम्य मिलाएको म टुलुटुलु हेदैैथिएँ ।

कराहीमा तरकारी बनाउँदा उस्का चुरा छमछम बज्थे, तरकारी बनाउँदा काट्दा मेरो नाक बज्थ्यो, तेरो घिरौँला जत्रो नाक नबजा घरी घरी भन्थी, म झन हाछ्यिूँ गरिदिन्थेँ अनि पिठ्यूँमा मुड्की बजार्थी र म ठुस्स पर्थेँ अनि फकाउँथी म चाहिँ उस्ले थाहा नपाउने गरि मख्ख पर्थेँ । जिवनमा पहिलो पटक दुई जना एकै ठाउँमा आफै पकाएर खाना खाएको अवसर स्मरणीय आनन्दित पल थियो । प्लेट दुइ ठाउँमा भए पनि भान्सा चाहिँ एउटै थियो घरी कस्को कता घरी कस्को कता हात हुन्थ्यो ।  

दिन भरिको बसाई पछि उस्को फर्किने बेला भयो । उस्को घर यहाँ भन्दा ५ घण्टा बस चढेर पुग्नु पर्ने झन बाटोमा जाम पर्यो भने त ८ १० घण्टा त लाग्थ्यो नै । जब दिन ढल्किन थाल्यो उस्को तन पनि तुलबुलाउन थाल्यो मैले मेसै पाइन दुई थरी अक्षर पढेँ म जान्छु बस है भने जस्तो पनि लाग्थ्यो अर्को तिर हेर न मलाई बस पनि भन्दैन कस्तो पराई जस्तो गरेको हो मलाई पाहुना जस्तै ब्यबहार गर्छ अर्धाङ्गिनीलाई भने जस्तो पनि लाग्यो । म चाहिँ दोश्रो बिकल्पको नजिक थिएँ तर जिवनमा पहिलो पटक कुनै केटि मानिसको अगाडि थिएँ प्रेमिकाको अर्थमा । फोनमा अन्य सञ्चारका सञ्जालहरुमा सबै कुरा हुन्थे भित्र बाहिरका तर मैले सबै भुलेँ, पहिलो पटक केटिको अगाडि छु के भन्ने हो बस भन्दा, भन्ने कुराले कुतकुती लगाई रह्यो । 

ऊ जुरुक्क उठी बिग्रेको लतारिएको कपाल मिलाई अनि पहिरन सजसाज गरेर हिँड्न लाई तयार भई छाता उघारी र पनि म केहि बोल्न सकिरहेको थिइन पीडा मनमा असाध्य थियो ब्यक्त गर्न सकिरहेको थिइन । लाग्थ्यो आजै बाट तिमि मेरी भयौ अब मलाई छोडेर नजाऊ तर पनि म कहाँ कहाँ अड्कीरहेको थिएँ । हामि बिचमा यति सहजता अनि सरसता हुँदा हुँदै पनि मायाको अथाह सागर र दुरी नहुँदा पनि पहिलो पटक भएर हो कि म अलिकता लजाएँ उस्ले भन्दा बढि । परिस्थिति उल्टो भयो ऊ म माथि हावि भई र पनि मलाई यहि परिस्थिति प्यारो थियो ।

म त डेरामा बस्ने मानिस सामान्य भन्दा पनि अति सामान्य हालत थियो र पनि म आज कुनै अमीर भन्दा कम थिइन । मेरा कानमा उसका चुरा बजिरहन्थे, उस्का पाउजुका टिन टिन ले कता कता कुतकती लगाउँथे नबुझ्ने भाषा बोल्थे म पनि बुझेको स्वाङ पार्थेँ । बजारमा पनि पछाडि पट्टिको कोठा बाहिर पट्टि करेसाबारी अलि पर खेत त्यस भन्दा पनि पर सानो खोला अनि खोला पारी चाहिँ स–सानो जङ्गल थियो र त्यो भन्दा शितल छहारी आज पाएको थिएँ भौतिक रुपमा । 

घर भन्दा अलि पर खोला थियो खोलाको किनारमा ठूलो चौर थियो, चौरको बिच बिचमा सफा सुकिला काला ढुङ्गाहरु ठुम्सिएका थिए । उनै दुई ढुङ्गामा अडेस लगाएर आमने सामने भएर बस्यौँ । यस्तो सुन्दर ठाउँमा कहिले म सँग यसरी सँगै बसेर कुरा गर्न पाउँछु भन्ने लागेको थियो भनेर ठट्टा गर्दै थिई मैले पनि यो कुरा त मलाई आमाको पेटमा अझ त्यो भन्दा पनि पहिला थाहा थियो भने पछि हावा अलि नशालु भयो । ढुङ्गामा बस्दा माथि सरेको उस्को कमीज तल सारीदिएँ अलिकति लजाई र पनि मलाई उल्टै के सारो लजाको हाऊ केटि जस्तो यसो कुरा सुरा गर्नु ट्वाल्ल परेर हेर्छ खाउँला जस्तो । 

नजिकै बाख्रा थियो लैनो बोकेपाठी आएर लडेकै माऊ लाई लडाएर दुध चुस्दै थिए स्याँ स्याँ गर्दै अनि मैले पनि देख्यौ भोलि पर्सि तिमिलाई पनि केटाकेटीले त्यस्तै हालत त बनाउने होलान नि भन्दा बल्ल केटिको पाराले लजाउन थाली । नबोल्ने नै हो कि भन्या त एक्कै चोटिमा थला पार्ने पो रैछ त मेरो डल्ले भनेर हातका नङ्गहरु हेर्न थाली हत्केलाहरुमा आफ्ना हत्केलाहरु राखेर नाप्न थाली । कुनै कुनै स्पर्शहरु त कति भरोसा लाग्ने हुँदा रैछन कि मैले अब सँसारै जितेको छु जस्तो लाग्ने । बस्दा बस्दै दरर्र पानी प¥यो जुरुक्क उठेर घर तिर हानियौँ तर दौडिएर होइन पाइला लम्काएर मात्र । 

उस्को कुनै कपडा थिएन फेर्ने मैले मेरो टिशर्ट लगाऊ भने उसले त्यसै गरि मैले पनि अर्को ओभानो कपडा लगाएँ । फेरि पानी बिस्तारिए पछि बाहिर निस्कियौँ उहि खोलाको किनारमा । आकाश खुला थियो ताराहरु ढकमक्क थिए अनि बिचमा भर्खरै उदाउँदै गरेको जुन थियो नजिकमा कफी मार्ट थियो । काठले बनेको आराम कुर्ची तल पट्टि खोलाको किनार हातमा कफि धेरै न्यानो भएर गर्मी हुँदै गरेका मनहरु शायद चैत बैशाखको हिमाल झैँ पग्लिँदै थिए होला । हामि सन्नटामा एकान्तमा हरायौँ गफियौँ पनि । साँझ गहिरिँदै थियो जिवनमा पहिलो पटक मैले हातमा समातेर हिँड्दै थिएँ सहाराको र भरोसाको पहिलो पटक महशूस भएको थियो । 

साँझ पनि ढल्कियो रात भयो आवाजहरु पनि मसिनिँदै गए लाग्थ्यो जगतमा हामिहरु मात्र छौँ अरु सबै निदाई सके । जिवनमा सबभन्दा माया लाग्ने चिज सब भन्दा प्यारो चिज आफू सँग भएर पनि अघाउने गरि अँगाल्न सकिरहेको थिइन । अरु बेला कान्छी औँलामा पनि अटाउँछु भनेर फुईँ लगाउने मानिस यो पटक उस्को भूगोललाई नाप्नै सकिरहेको थिइन । हामि बोलिरहेका थिएनौँ र पनि आँखाहरु एकै ठाउँमा थिए अनायसै मैले उस्को निधारमा चुमिदिएँ । उस्को सौभाग्य म हुनुको टिका लाउने ठाउँमा पहिलो टिका आफैले लगाइँदिएँ अनि उस्ले पनि मलाई सानो बालक जस्तो आफ्नो काखमा टाँसेर चपक्कै पारी मैले ज्यान छोडिदिएँ त्यति बेला म त खाट बाट गर्लम्मै लडेछु । 

दाई ! सपना देख्नु भयो कि क्या हो ? भनेर मनुज हत्त पत्त मलाई उठाउन थाल्यो । हो त भाई कति मिठो सपना देखेँ । म त बिपनै भन्ठानेको सपना पो रैछ थक्क भयो बरु एक छिन देख्न पाएको भए टुप्पो मा त पुग्न पाउँथे त्यो पनि अधुरै रह्यो भाई भैगो छोड । तत्काल सभ्यतालाई सपनाको कुरा बताएँ उस्ले पनि केहि नबोलेरै आफ्नो जाजल्य माग तेस्र्याई । म पनि त त्यहि चाहन्थेँ महाराज तर मेरो त्यस्तो भाग्य कहाँ छ र एक्लै एक्लै परिस्थिति सँग जुध्ने अनि बाटो हेरेर बस्ने भन्दा बाहेक केहि छ र अरु भनेर रिस पोखी तर मायालु अक्षरले । 

तिमिलाई मायाले रुझाउने मै हुँ ओतमा तिमिलाई सुकाऊने मै हुँ 
एकान्तमा तिमि सँग हरपल खुसुक्क कानमा फुस्फुसाउने  मै हुँ

Friday, 14 February 2014

अर्को जुनी, सभ्यता र भ्यालेण्टाइन


बीच सडकमा मान्द्रोमा अन्न सुकाए जस्तो छिरलिएको थिएँ । छेऊ छाऊका गाउँवासीहरुले मलाई बिस्कुन उठाए जस्तै गरि छेऊमा लगेर हार गुहार माग्दै थिए । मेरो दिमाग भन्दा अरु केहि पनि चलेको थिएन, आँखा समेत एउटा बन्द थियो अर्को मात्र खुलेको त्यहि बायाँ आँखाले हेरिरहेको थिएँ तमाशा । यि दुइ चिज भन्दा बाहेक मेरो शरिरमा छन कि छैनन भन्नेमा पनि मेरो शंका थियो तर पनि मलाई कहिँ केहि दुखेको थिएन अरु दिन दुख्ने मन पनि आज आफै निदाएको भएर होला कुनै चालचूल थिएन उता पनि । 

केहि क्षण पछि मेरो नश्वर शरीरको त्यहि पाटो पनि शिथिल भयो र अघिका गाउँवासीहरु पनि मेरो नजरबाट हराए खै मलाई कहां कता कता लगे आफैलाई थाहा भएन । बाँच्ने अन्तिम समय सम्म पनि मैले बिभिन्न धर्मशास्त्रले तोकेका मैले जानेका जप पाठहरु गर्दै रहेँ तर म आफू मात्र बाँच्नका लागि भने थिएन कि मेरो अवसान पछि सभ्यताको के बिचल्ली हुन्छ भन्ने चिन्ता बढि भएर पनि आफ्नो दुखाई केहि जस्तो लाग्थेन । सडकमा बिस्कुन सुकाएर उठाएर ल्याएको मेरो दारपात गल्न थाले पछि अब टिकिँदैन भन्ने भयो, नजीकका केहि साथीहरुलाई बोलाएँ र अन्तिम बिदाई लिएको थिएँ जाने बेला । 

अर्को कुरा के सँझना छ भने केहि घण्टा पछि जुरुक्क उठेँ, मलाई सबै कुरा थाहा थियो । मेरो शरिर चाहिँ जहाँको तहिँ लडिरहेको थियो । मेरो वरिपरि अँध्यारो मात्र थियो र पनि मैले सबै कुरा छर्लङ्गै देखिरहेको थिएँ । मैले हल्का ढुङ्गा फ्याले र पनि कतै चोट लागेन लाग्यो मेरो असर अब यहाँ छैन । मलाई अहिले पनि दौडिएर चोकमा जाने साथीहरुसँग चिया पिउने गफ गर्ने हसि मजाक गर्ने तर यहि अफशोश लाग्यो । 

मेरो र इश्वरको आमुने सामुन्ने भयो, ध्यानमा लीन भएँ आफ्नो आत्माको बत्ति बालेँ अनि इश्वर सँग कुरा गर्न थालेँ । आफू भित्र अदभूत शक्ति उत्पन्न भएको महशूस भयो । मैले मेरा दिवँगत आफन्तहरु परिवारजन अनि आफ्नै बाबालाई मनले सँझे मनको बत्ति बालेर खोजेँ अन्तध्र्यान भएर अन्तस्करणमा खोजेँ, मेरो बिन्ति बिसाएँ दुख पोखेँ आफूलाई पोखें सबै ज्योतिकै भाषामा । त्यसमा भावना हुन्थ्यो अनौठो भाषा हुन्थ्यो अनि अर्को ज्योति सँग उस्कै भाषामा परिष्कृत भएर जान्थ्यो यसैको आधारमा मैले आरामले आफ्ना कुराहरु ब्यक्त गर्ने र उताका सूचनाहरु पनि बिस्तारै प्राप्त गर्न सक्ने भएँ अन्तराल जम्मा आधा घण्टा जतिको हुँदो हो ।  

सुन्दर बगैँचामा खेलिरहेको रमाइरहेका मानिसहरु न शोक न सुर्ता जस्ता मानिसहरुको बस्तीमा पुगेँ पत्तै भएनछ । मैले लामो निद्राबाट ब्युँझे झैँ गरि सामुन्नेको मानिस सँग सोधेँ, त्यो कल्की लगाएको ब्यक्तिले यो त मत्र्य लोक होइन बाबु तिमि स्वर्गमा आइपुग्यौ तिमि पृथ्वीलोकबाट बिदा भएर आयौ अब तिमि फर्कन सक्दैनौ भन्दा बल्ल झसँग भएँ । तिम्रो आत्मा केहि समय अझै पनि पृथ्वीमा सयर गर्न सक्छ तर तिमिले बोलेको कसैले सुन्दैन केबल तिमि मात्र महशूस गर्न सक्छौ भने पछि अलिकति साहस आयो । 

परबाट कोट पाइण्ट शर्ट लगाएर ओजस्वी मानिस आएको देखेँ र पनि त्यति वास्ता भएन म टहलिँदै थिएँ स्वर्गको फूलबारीमा घुम्न डुल्न रुचाउने मान्छे । बाबु निशान मेरो छोरा भन्दा मैले बाबालाई चिन्न गाह्रो भएन । भक्कानो छोडेर रोएँ काखमा मडारिएँ, छातिमा मुठीले सुस्त सुस्त पिटेँ पनि र एक छिन पछि दुबै जना साम्य भयौँ । मैले थाहा नपाएको कुरा पनि त्यस बेला बाबाले मलाई भन्नु भयो मैले पुरा गर्न नसकेको काम तैँले पुरा गर्नु पर्छ निशान । तलाई म यहाँ बस्न दिन्न तैँले मेरो सपना पुरा गर्नु पर्छ । मानिसका अनेक अबस्थाहरु अनि परिस्थिति हुन्छन त्यसलाई आफ्नो अनुकूल बनाएर भए पनि अगाडि बढ्नु पर्छ । 

सभ्यता र तेरो सम्बन्ध सफल भएको हेर्न चाहन्छु, तिमिहरु फूलेको फक्रेको देख्न चाहन्छु, यहि समस्या मैले पनि भोगेँ तर मायामा सफल भईन अझ भनौँ मैले परिवारमा बिद्रोह गर्न सकिन अनि परिस्थिति सँग सम्झौता गरे र फेरि यहि नियती दोहोरिएको हेर्न चाहन्न म । तैंले रोएका हर आँशुहरुले म भिज्ने गर्छु, आत्मग्लानी हुन्छ मलाई कि भर्खर गएर तँलाई सुम्सुम्याऊँ यति धेरै माया गरुँ, तँ ठूलो भए पनि काखमा खेलाउँ तर म सक्दिनथेँ आज एक छिन भए पनि मेरो इच्छा पुगेको छ । मैले ताते ताते गराएका हातहरु, कतै टाढा गएर फर्किँदा पहिलो पटक चुम्ने यि प्यारा आँखाहरु अझै पनि उस्तै भए पनि आँखाको सागरमा पानी कम छ अचेल, तैंले आफूलाई आपद् पर्दा बाबा भनेको सुन्छु तर पनि तेरो सामु उभिन नपाउँदा भक्कानो छोडेर रुन्छु तर के गर्नु म सँग कुनै हैसियत नै छैन भन्दै बाबा धेरै बेर गन्गनाउनु भयो । मैले पनि भने तपाईँको अबसान पछि मैले कहिले पनि जन्मदिन मनाएको छैन, मिठो मुख गरेको छैन अनि नयाँ कपडा पनि लगाएको छैन मन लाग्दैन हजुर हुनुहन्न । 

गेटबाट कोही मान्छे लिन आयो मलाई, मलाई बाबा सँग अलग गरायो तै पनि बाबाको आँखामा बिस्माद भन्दा पनि खुशि थियो कि छोरो मृत्यु लाई पनि जितेर फर्किँदैछ भनेर अनि म पनि सुक्सुकाइन उहाँको हसिलो मुहार देखेर । 

म बाटोमा आफ्नो सवारी चलाएर हिंडिरहेको हुन्थें मनमा नानाथरिका तरंग हरु पैदा हुन्थे, सवारी चलिरहेको हुन्थ्यो बाटोको जटिल ट्राफिक छल्दै पनि । तरकारी किन्न जाँदा ३ रुपैयामा कुरा नमिलेर छोडेर हिँडेको, बसमा भाडा पुगेन भनेर आधाबाटो हिँडे पछि कन्डक्टरले हपारेर झारेको अनि २ घण्टा हिंडेर घर पुगेका कुराहरु पनि आइरहन्थे । एक पटक याद छ पैसा नभएर सात दिन सम्म पातलो मुसुरको दाल र भात खाएर बसेको र संजोगले कोटको खल्तीमा ६० रुपैया भेटाउँदा आधा किलो मासु किनेर खर्लप्पै खाएको पनि याद आयो । आफ्नै नश्वर शरिरबाट अलग भएको मेरो अन्तस्करणले अतीतका पानाहरु पल्टाउँदै थियो । 

जब मैले यो बिषाक्त बिछोडबाट दुबै जनालाई बाहिर निकालेँ यहि ठूलो कुरा हो मेरो लागि । प्रकृतिको पनि आफ्नै नियम हुन्छ पहिले बिनाश हुन्छ पहिरो जान्छ अनि केहि समयको अन्तरालमा उस्तै भएर ठडिन्छ उस्तै जङ्गल । सबभन्दा ठूलो रहस्य भनेको जिवन भनेको चातुर्यताको एक सानो भाग हो, ब्रम्हाण्ड भन्दा पनि हाम्रो सोच बिचार महत्वपूर्ण हो जब म मृत्युको अनुभव गरेर फर्केँ त्यहाँ मैले आत्मज्योतिको नियम बुझेँ अब पनि त्यो भाषामा कसरी आफूलाई योग साधनाको माध्यमबाट कुनै पनि बेला त्यस ठाउँसम्म इश्वरको सामिप्य सँग पुर्याउने भनेर अनुभव भयो । कोहि पनि पहिले मर्नको लागि तयार नहोऊ त्यो त पहिलेनै अनुबन्धित छौ कहिले र कसरी भन्ने मात्र हो । मन भित्रको आत्मज्योतिको इश्वरसँगको सम्बन्ध कायम गर्ने पाटो चाहिँ योग साधना नै रहेछ । तिमि आफै महशूस गर्ने छौ मृत्यू केहि पनि होइन रहेछ यो त स्थान परिवर्तन मात्रै हो । हामिले इश्वर सँग सञ्चार गर्न जरुरी छैन न कि उसैले हरपल हाम्रो जानकारी खटन पटन गराइरहेको हुँदोरहेछ ।

आत्मज्योतिको भाषामा इश्वर सँग भलाकुसारी गर्दा गर्दै उहाँले सोध्नु भयो, निशान तिम्रो केहि सपना थियो जुन तिमिले पूरा गर्न बाँकि थियो भन्दा मैले मेरो एउटै सपना मेरी सभ्यता हो मेरो भविष्य पनि उहि हो अनि उस्को पनि म नै हुँ मात्र भनेको थिएँ एक्कासी ज्योति बन्द भयो अन्धकार भयो एक छिन । झलमल्ल भयो झन धेरै उताबाट जवाफ भयो तिमि त धेरै कम्जोर भएछौ । सभ्यता बाहेक तिम्रा अरु सबै प्रतिकूल परिवेशहरु छन कोहि भौतिक रुपले प्रतिकूल छन कोहि मानसिक रुपले प्रतिकूल छन यि सबै सँग लड्न सक्छौ तिमि भनेर सोधिएको प्रश्नको उत्तर दिन मलाई एक निमेष पनि लागेन । मेरो सम्पूर्ण शक्ति भनेको उहि सभ्यता हो उस्को साथ र भरोसा पाए म लड्छु सँसार सँग अरु मलाई केहि सँग चासो र सरोकार पनि छैन । शायद ऊ नभएको भए म फर्किन पनि कुनै अनुनय बिनय गर्ने थिइन अरु मेरो पृथ्वीमा केहि छ जस्तो लाग्दैन मलाई । 

हेर बालक तिमि सँग जता पनि चूनौतिहरु छन, के तिमि सभ्यतालाई बाहुपासमा राख्न सक्छु भन्ने साहस छ भने फर्केर जाऊ नत्र यस्तै अबस्था हो भने तिमि अहिले त एक पटक मरेर पनि यहाँ आराम सँग बस्न सक्छौ तर त्यहाँ गएर हरपल मरिरहनु पर्छ तिमि भन्ने सान्त्वनालाई पनि तर्काएँ, सभ्यताकै एकोहोरो घिडघिडो रहि रह्यो मनमा । मलाई बरु जे सुकै होस जतिसुकै पटक मर्नु परोस मर्छु बरु उसलाई कहिले दुख नहोस, खुशी राख्न पाउँ भन्दा तथास्तु भने पछि मन फुरुँग भयो, अब यो भ्यालेण्टाइन दिवसमा उसको साथमा हुने भएँ । 

इश्वरसँगको भलाकुसारी पछि हाम्रो मनमा पनि इश्वर रहेछ जस्ले हामिलाई चलाई रहेछ आफ्नालाई मिलाई दिएको छ, त्यहि भएर फेरि एक पटक खुशी हुन पाएको थिएँ । म त्यतिबेला आश्चर्यचकित भएँ कि जब मैले त्यस पछि पहिलो पटक आत्मा खोलेँ जब म आफ्नै नश्वर शरीरमा प्रबेश गरिसकेको थिएँ । म आफ्नै कोठामा प्रबेश गरिसकेको थिएँ र पनि आँखा खुलिसकेका थिएनन तै पनि मेरो आडमा बसेर सभ्यता रोइरहेको मनले देखेँ । म यस भन्दा अगाडि करिब डेढ घण्टा पहिले मरिसकेको सबैले आश मारेको मानिस थिएँ यत्रो बेर त म लाशमा गनिएँ । सभ्यता भने हामिले गरेका बाचा अनि भविष्यका योजनाहरु सँझिदै घुक्क घुक्क गर्दै थिई । 

मलाई औडाहा भएको थियो जुरुक्क उठूँ अनि उस्लाई नरो काली भनुँ तर मेरो स्मरण शक्ति अनि माँशपेशीहरुमा शक्ति सञ्चय हुँदै थियो शुन्यबाट । कम्तिमा पनि डेढ घण्टा भए पनि मैले मृत्यूको अनुभव गरेँ । जब मैले पहिलो पटक आँखा खोलेँ शुरुमा मलाई अनुभवको केहि सँझना थिएन, मलाई यत्ति मात्र थाहा थियो कि म केहि समयका लागि भए पनि साँच्चै संसार छोडेर बाहिर गएकै हो त्यस पछि सोधेँ म साँच्चै ज्यूंदै छु आखिर जिवन भन्नु पनि त एउटा सपना जस्तै त रहेछ उता बाट यता हेर्दा । 

मेरा आँखा खुले जुरुक्क उठेँ, टेबलमा भएको जग बाट पानी पिएँ । आफैलाई छामे हात खुट्टाहरु जस्ताको तस्तै थिए, बाहिर निस्केँ सडक भरि बिस्कुन भएको मेरो सवारी हेरेँ त्यो पनि उस्तै थियो केहि भएको थिएन । आँखा छामे चिम्लिंदै हेर्दै गरेँ सबै सकुशल थिएं । सबै बेला मैले सपनाको यति याद गर्ने थिइन तर आज जिवनमा नयाँ खालका कुराको सिकाई भयो । मैले मेरो दिवँगत बाबाको काखमा सपनामै भए पनि एक छिन बस्न पाएँ बोल्न पाएँ सँगै रोयौँ हामि । सपनामै भए पनि मेरो लागी अर्को जुनीको अनुभव भयो । 

सभ्यतालाई फोन गरेँ हजुर खसम भनेर टोपलिई फोनमा । ह्याप्पी भ्यालेण्टाइन डे माइ डियर भ्यालेण्टाइन भने उसले मोबाइल फोन मै मिठो खाने कुरा पस्किदिई मख्ख भएँ । उस्ले पनि सेम टु यू बुढा मेरो प्यारो भ्यालेण्टाइन मेरो डल्ले भनी । अब अरु भन्नु पर्ने केहि बाँकि थिएन इशारा काफी थियो । म फेरि हावामा उडिरहेको थिएँ, घरी घरी चिमोट्थेँ फेरि यो पनि सपना त हैन भनेर ! 

Friday, 13 December 2013

अलबिदा


मचानमा सुकाएका बदाम केश्राहरु खानलाई काँचै पनि झुरुम झुरुम त थिए नै । घरमा बुढि हजुरआमा हुनुहुन्थ्यो, आफ्नै आँखा अगाडि एक पसार निकालेर रुमालको फुर्कोमा सबैले देख्ने गरि लुकाउनु भयो यसमा पनि म मख्ख नै थिएँ रमाइलो महशूस भयो । साँच्चै मागेको भए पनि हुन्थ्यो हामि दिई हाल्थ्यौँ नि भन्ने पनि भयो अलि बढि नै दिन्थ्यौँ होला । फेरि उस्की बहिनी आई उस्ले पनि भिना लौ है घरमा चोर पसे भन्दै एक माना जति गोजिमा भित्र्याई हाली म त्यो देखेर पनि बेखुशी भइन, जो सुकै पनि मेरो घरमा आऊन खाऊन बसुन रमाइलो गरुन भन्ने ठान्दथेँ म । 

साँझ अफिसबाट फर्किँदा हजुरआमा घरमा हुनु हुन्थेन, हजुरआमाको चासो घरमा मलाई मात्र हुन्थ्यो । मैले हजुरआमा कहाँ जानुभयो भनेर सोधेँ उस्ले ठस्किएर बुहारीले यसो गरि उसो गरि खान दिइन भन्दै चाहार्दै गइहोलिन नि शत्तुर हँसाउन । बिहान बेलका सबैले भन्दा पहिला हाम्रा भन्दा ठूला भाऊ खाँदा पनि मैले कहिले जस नपाउने भएँ । कस्तो दिन बिहा गरेर आइएछ कसैको राम्रो हुन सकिएन फुटेको कर्म भन्दै एक्लै फतफताउन थाली म चाहिँ केहि बोल्न उचित लागेन । 

साँझ पर्नै आँट्यो सिम सिम पानी परिरहेको थियो, कहिल्यै घर नछोडेकी मान्छे, कतै गए पनि म आफै पु¥यादिन्थेँ र लिन पनि आफै जान्थेँ तर आज सँभावित ठाउँमा सबैतिर सोध खोज गरेँ कतै पनि गएको सुइँको पाइएन । अनि साथीहरु लगाएर कोहि कता कोहि कता खोज्न गयौँ अन्त उहाँ शुक्रबारे हाट लाग्ने पालमा ओत लागेर काँप्दै रुँदै बस्नु भएको फेला पारियो, मन थाम्नै सकिन, आँखाभरी आँशु भए र पनि आफूलाई सम्हालेँ । म जान्न बाबु छोड्दै बरु यतै बृद्दाश्रम छ भने उहिँ लगेर छोड्दे मलाई भन्दै रुनुभयो तै पनि फकाएर लगेँ घरमा । पछि थाहा पाएँ मैले कि उस्ले त्यहि एक पसार बदाम दाना खाएको निहुँमा तथानाम गाली गरेको बचन छोडेको सहन नसकेर घर छोडेर हिँड्नु भएको रहेछ । 

मेरो सदासयता र सँयम रहने बानीले बास्तवमा मेरो नीजि पक्षलाई लतार पतार पार्यो र पनि निरन्तर यसलाई सहि ट्रयाकमा ल्याउन धेरै प्रयास गरेँ मैले गल्ती यसैमा भयो मैले सोचे जस्तो सँसार छ अथवा सबैले मेरै जस्तो सहज किसिमको धारणा राख्दछन, होइन रहेछ म चाहिँ गलत रहेछु । मैले अरुलाई भन्दा पहिले आफैलाई चिन्न सकिन समय अनुसार हिँड्न सकिन । जिवनमा जे गर्दछु भन्ने सपना बोकेको थिएँ सबै क्षत बिक्षत भए, जिवन भित्रका सिर्जशीलताहरु पनि बिस्तारै भाइरस ग्रस्त हुँदै गए । 

धेरै नमिठा क्षणहरु रहे, जहिले पनि अति साना भन्दा साना कुरामा मनमुटाव हुन्थ्यो । कहिले ५ बजे घरमा नआएको निहुँमा कि त भनेको कुरा समयमा नपु¥याएको निहुँमा यस्तै यस्तैमा कहिलेकाहिँ त एक हप्तासम्म पनि बोलचाल बन्द हुन्थ्यो यसमा पनि मैले नै सहजीकरण गर्नु पर्दथ्यो । म भित्र के चलिरहेछ, म के सोच्छु के चाहन्छु भन्ने कुरा उस्ले कहिले पनि सँझिने प्रयास गरिन अथवा भनौँ मलाई एकादुई अर्थमा बाहेक समग्र सामाजिक रुपमा आफ्नो श्रीमानको रुपमा ग्रहण गर्नै सकिन । मेरा यस्ता निर्मम अतितहरु त कति हो कति छन किन सबै एकै पटक पस्किनु समय भएमा पस्किँदै गरौँला । शायद यस्को मर्म बुझ्ने अर्को म छैन होला जस्तो लाग्छ किनकी यहाँ कोहि पनि अरुको भन्दा पनि आफ्नै दुख ठूलो ठान्दछन, यसमा पनि मेरो केहि गुनासो छैन । 

अहिले म स्वतन्त्र छु जे भए पनि जति बाँचेको छु खुशीले बाँचेको छु । यहाँका बा आमा दाजु भाईहरुले मलाई दिएको अपार माया नै मेरो उर्जा हो । स्कूलमा मैले पढाउने यिनै बालकहरु अब मेरा छोरा छोरी हुन जस्तो लाग्छ । मैले गाउँमा साना तिना सिर्जनशील कामहरुमा यहाँको समाजलाई सघाउने मौका पाएको छु । कति गर्न सकेँ वा सकिन यो त गाउँलेहरुले भन्ने कुरा हो तर उहाँहरुले जुन गुन म माथि लगाउनु भएको छ त्यसको पैचो तिर्न त म कहिले पनि सक्दिन । अब त मेरो घर परिवार समाज जे भने पनि यहि गाउँ हो । अब म यसलाई छोडेर कहिँ पनि जान्न जिबन पर्यन्त । 

बिकल दाईले लेखेको डायरीको अँश थियो यो, डायरीमा यस्ता फड्केहरु अरु धेरै थिए र पनि सबै उस्तै मर्माहत थिए । अस्ति बिहान जसो कुन्साङ्ग काकाले मलाई सर लाई बिमारले च्यापो निशानलाई बोलाइदिनु भने पछि बक्के बस्यो तिमि तुरुन्तै आऊ भन्नु भयो र घरमा नभनीकन यता हानिएको थिएँ । पक्की मोटरबाटोको बस यात्रा पछि कच्ची मोटरबाटो अनि पैदल यात्रा गर्दा छिटोमा पनि २ दिन लाग्यो आइ पुग्न तर मैले दाइको सासलाई पनि भेट्टाउन सकिन लाशलाइ पनि भेट्टाउन सकिन । गाउँको पुछारमा भएको अरुण नदी किनारमा धुवाँको मुस्लो आइरहेको थियो, गाउँमा कोहि थिएन केटा मान्छे । उहि बसन्तीलाई भेटेँ सबै जनाका आँखा ओभाना थिएनन उस्ले मलाई रिभानघाटमा पुर्याइदिई  ।

अफिसमा एकोहोरिएर काम गरिरहेको, बिहान अफिस आउँदा हाँस्दै पस्ने मान्छे घर फर्कने बेला टाउको धान्न नसके जस्तो झोलिएको गर्धन बोकेर घर फर्केको, जँगलमा फेला पारेको, कुन्साङ्ग काकाको गाउँमा ल्याएको, नाचगान गरेको यि सबै दृश्यहरु चिताको धुँवामा जल्दै बादलमा मिसिएको जस्तो भान भयो । म यता आउने बेलामा पनि भाउजुले मलाई देखेर उँधोमुण्टो लगाएर घुरेर हेरेको पनि त्यसैमा मिसिँदै थियो । उसका आसेपासे हरुको आफन्तहरुको भीडभाडमा कतै पनि दाजुको परछायाँ देखेको थिइन मैले । बरु केटा केटिहरु आफ्ना निर्दोष निस्वार्थी आँखाहरुले अझै पनि बाबाको बाटो हेर्दै थिएकि जस्तो भान भयो मलाई किनकी ति अन्जान हेराईमा अनौठो पीडा थियो । उमेरमा साना भए पनि भाउजु जस्तो उनीहरु रमाएका थिएनन प्राय सधैँ मौन बसेको देखिन्थे धेरथोर उनीहरुको भाषा म बुझ्थेँ होला । उस्तै रवाफ, उस्तै मचान, हाँसीखुशी बातावरण चलिरहँदा यता दाजूले सँसारबाट बिदा लिइसक्नु भएको थियो । 

कुन्साङ्ग काका भक्कानिएर बोल्नै सक्नु भएको थिएन, गाउँलेहरु पनि कोहि ओभाना थिएनन, गाउँनै सबै रिभानघाटमा थिए । मलाई सबभन्दा बढि पछूतो भयो कमसेकम बिकलदाईलाई उहाँको दिवँगत शरिरलाई समेत अँगालो हालेर अन्तिम पटक रुन पनि पाइन मैले यो अधूरो पन सधैँ रहिरहने भयो, उहाँलाईलै न मैले सबै भन्दा बढि माया गर्न थालेको थिएँ, जिवनको एउटा अभिन्न हिस्सा बनाइसकेको थिएँ । बिधिको बिधानलाई कसले टार्न सक्थ्यो र मेरा लागि जे भए पनि बिकल दाजुले अन्तिममा मिठो जिन्दगी बाँच्न पाउनु भयो शायद उहाँको असल कर्मको फल होला भन्ने पनि लाग्यो । मैले घाटमा कुन्साङ्ग काकालाई कमसेकम एक दुई घण्टा कुरेको भए हुन्थ्यो भन्दा उहाँले आज सम्म कुरियो तर खबर खाबर केहि भएन लाश राखेको २ दिन भयो अब रात पर्ने भयो तिन दिन राख्न हुँदैन भनेर लगेको भन्नु भयो यसमा मैले कुनै उत्तर फर्काउन जायज ठानिन । 

हरेक शनिबार बिहान २ घण्टा बिद्यालयमा गाउँका सबैजना आएर जति सकिन्छ त्यसको भौतिक सँरचना बनाउने जस्तै कहिले पर्खाल लगाउने, कहिले भत्केको गारो मर्मत गर्ने त कहिले काठको काम गर्ने, कहिले नयाँ कोठाको लागि ढुङ्गा बोक्ने काम गर्ने नियम नै बनेको थियो । काम सके पछि सबै जना आ–आफ्नो घर जान्थे जाने बेला दाजुले मेरा लागि त सबै गाउँ आफ्नै घर हो बरु कुन चाहिँ दूलामा पसुँ म भन्दा कुन्साङ्ग काकाले दूलो फेर्नु हुँदैन सर भनेर अँगालो हाल्नु हुन्थ्यो अनि सबै जना हाँसेर रमाइलो हुन्थ्यो । हँसि मजाक गर्ने बिकलदाइको बानीमा काकाले झन घिऊ थपिदिनु हुन्थ्यो । 

बसन्तीले आज हजुर हाम्रो घरमा आऊनु है खाना खान आमाले बोलाउनु भको छ भनेर काकाको आँगनमा सबैले सुन्ने गरि भनेर दुई गौँडा फँगाल्दै आफ्नो घर तिर लागि मैले हुन्छ भन्न नपाउँदै । कुन्साङ्ग काकाले पनि आँखाको इशारा बाहेक म सँग केहि बोल्न सक्नु भएन शायद उहाँ सँग यो प्रसङ्गमा यो भन्दा बोल्ने अरु केहि थिएन होला । मलाई पनि जाऊँ कि नजाउँ भयो कसरी कुरा गरुँ के भनुँ के नभनुँ । यहाँ जिन्दगी दोसाँधमा अल्झिएको थियो, उस्को मायामा केहि खोट थिएन मैले पनि म सभ्यता सँग लीपिबद्ध भइसकेको छु उस्कै कबितामा मैले लय भरेको छु भनेकै थिएँ र पनि नेपथ्यबाट अर्कै लय गुञ्जिरहेको थियो न मैले कान थुनेर नसुन्न सक्थेँ न बसन्तीले मुख थुनेर रोक्न सक्थी । कस्तो अबस्था आउँछ कहिले काहिँ जस्को उत्तर आफै सँग हुँदैन कहिले काहिँ ।


मैले काकालाई सँगै जाउँ भने काकाले आफै अगाडि हिँडेर सहमति जनाउनु भयो उहाँकै पछाडि लागेँ । 

नमस्कार आमा सञ्चै हुनु हुन्छ भनेर कुरा शुरु गर्न मै तम्सिएँ बसन्तीले पनि काकालाई नमस्कार गरि हात जोडेर तर मलाई इशाराले मात्रै । जिन्दगी के रैछ र माइली दिदी हिजो यि निशान बाबुलाई एक छिन पर्खेको भए यिनको पनि धोको पुरा हुने रैछ, हामि त अन्यौलमा पर्यौ, टाढाको बाटो कमसेकम काका म आउँदैछु है भनेर खबर गरेको भए तिमिलाई त हामि एक हप्ता पनि कुर्न तयार थियौँ यसैमा भूलभयो अब यस्तै हुन लेखेको भयो के गर्छौ त भन्दै मलाई थुम्थुम्याउनु भयो । सबै जना मिलेर खाना खायौँ कुराकानी गर्यौँ रमाइलो पनि भयो एक छिन । अगाडि जति बोझ महशुस अहिले चाहिँ भएन । 

हजुरले सभ्यतालाई लिएर आएको भए हुन्थ्यो नि देख्न पाइन्थ्यो दिदि कस्तो हुनु हुँदो रैछ भनेर आफू बहिनी भएको पारा पनि बसन्तीले तेस्र्याइ । लाग्थ्यो दिदिको भाग बाट मलाई आधा नभए पनि अलिकति भाग दिए हुन्थ्यो भन्ने आशय देखिन्थ्यो । कसरी ल्याउनु बिहे नगरिकन उसलाई गारो हुन्छ नि बसन्ती खै कुरा बुझेको । हामि त एक अर्काका लागि आफ्ना हौँ तर समाजको अगाडि झ्याई झ्याईँ त पार्न बाँकि नै छ नि त्यो पनि समय आउनु पर्यो पछि ल्याउँछु चिन्ता नमान अनि तिमिलाई सँगै बजार घुमाउन लैजाउँला ।

हेर कुन्साङ्ग भाई जति केटा आए पनि उस्ले मन पराउने हैन म बिहा गर्दिन तपाईँहरुकै सेवा गरेर बस्छु, म एक्ली छोरा भने पनि मै छोरी भने पनि मै भनेर कसैलाई पनि अगाडि पर्नै दिन्न । यस्को दिन नजुरेको हो कि कुनै दशा शशा छुन यस बेला कुन चाहिँले पक्कै रोकेको छ भन्छु म त भनेर आमाले मै माथि अनि बसन्ती माथी अदृश्य प्रहार गर्नु भयो । मैले बसन्तीलाई हेरेर तिमिले यसो नगर बिबाह गर्नु पर्छ नत्र पछि पछूतो हुन्छ भनेँ उस्ले चाहिँ उहि जिद्दी प्रकट गरि म किन बिबाह गर्नु यत्तिकै जान्छ जिन्दगी बिबाह गर्नका लागि बाँकि हुनु पनि त पर्यो नि कोहि केटा मान्छे । म निस्सासिएँ त्यहाँ बाट उम्किन मन लाग्यो बसन्ती जोर जबर्जस्ती उस्को ठाउँमा ठिकै भए पनि मलाई अप्ठेरो लाग्यो । तत्काल सभ्यतालाई म्यासेज गरेर आइ मिस यू बुढी मिस यू सो मच भनेर उत्तिखेरै मोबाइलमा म्यासेज कत्ति छिटो गरेँ मलाई पत्तै भएन र पनि नेटवर्क नभएकाले पेण्डिङ्गमा गएर बसिरह्यो र पनि मन अलि हल्का भयो । म जसका लागि समर्पित छु उस्को याद मलाई काफि थियो । 

कुन्साङ्ग काकाले बिकलदाईको सर सामान मलाई हस्तान्तरण गर्नु भयो आँखा भरी आँशु पार्दै । टिनको बाकसमा सानो चावी लगाइएको थियो त्यो चावी काकाले उहाँको प्राण पखेरु उडेपछि बन्धनहरु फुकाउने बेला जनै बाट निकाल्नु भएको रे । त्यहि चावीले बाकस खोलेँ, त्यसमा डायरीहरु थिए, लत्ता कपडाहरु थिए । दाई र म अफिसमा सँगै बसेर खिचेको छ बर्ष अगाडिको फोटो पनि थियो, छोरा छोरीको पासपोर्ट साइजको फोटो आफ्नो नागरिकताको प्लाष्टिकको खोल भित्र आफ्नै फोटोको लाइनमा मिलाएर राख्नु भएको थियो । लेख्दा लेख्दै मसि सकिएका डटपेनका खोराहरु पनि थिए र मैले एक पटक दाजुलाई उहाँको जन्मदिनमा दिएको सुनौलो कलम चाहिँ नलेखी राख्नु भएको रहेछ अझै पनि खोल भित्रै थियो । 

दाजुको जन्मदिनको दिनको याद गर्न मन लाग्यो । मलाई थाहा थियो उहाँको जन्मदिन र पनि उहाँलाई यो अवसर हो भनेर भनेको थिइन । दाजुलाई मैले कन्याम जाउँ भने किनकी झापाबाट सबभन्दा नजीकको रमणीय ठाउँ त्यहि थियो । घुमियो वरियो अनि साँझ बस्न फिक्कल बजार पुगियो, बजार सानै भए पनि चोटिलो थियो । साँझ अलिकति सोमरस पनि भिजाइयो ज्यानमा अनि दाजुलाई बल्ल यहि कलम अनि डायरी दिएर ह्याप्पी बर्थडे वीश गरेको थिएँ दाई एक्कासी झस्किए झैँ गर्नु भएको खुशी पीडा बिश्मय माया जति सबै मिसाएर अनुहार बिगार्नु भएको थियो ।

तिमिले याद दिलाई दियौ आफ्नै जन्मदिन जुन म आफैले बिर्सिसकेको थिएँ भनेर मलाई धन्यवाद दिनुहुन्थ्यो, म आफू मख्ख पर्न भन्दा उहाँको मनमा खुशी कसरी हुन्छ भन्ने ध्याउन्न मा हुन्थेँ सकेको लाइपरी गर्थेँ । उहाँको बाबा हुञ्जेल हरेक बर्ष पण्डित बोलाएर पुजा गरेरै जन्मदिन मनाउनु हुन्थ्यो रे । नयाँ कपडा जुत्ता ढाका टोपि अनि रसवरी, लालमन मिठाईहरु खुवाऊनु हुन्थ्यो रे जिवनको हरेक यस्ता १२ औँ खुड्कीला यसरीनै पार भएका अनि १३औँ खुड्कीला आउन भन्दा एक महिना पहिला आफ्नो बाबा लाई गुमाउनु भएको उहाँको कथाले मलाई पनि चिसो बनायो, कठ्याङ्ग्रिए म पनि । तर पनि यो श्रृँखला सकिएको धेरै बर्ष पछि तिमिले मलाई अमूल्य उपहार दियौ निशान यस्को म केहि सँग तुलना गर्न सक्दिन । मैले आफ्नो जन्म दिनको झल्को छोराछोरिहरुको जन्म दिन पारेर मेटाउँछु भन्दै रापिनुहुन्थ्यो मैले उहाँको ग्लासमा आइसको एउटा ढिको थपेर अलि सेलाउँथेँ ।  

आज उहि दाजु मेरो साथ छोडेर कहिले नफर्किने यात्रामा महा प्रस्थान गर्नु भएको छ । सँझेर सँझिनसक्नु पहिरो गएको छ मनमा अब म के गरु कसो गरुँ भन्ने सोच्न पनि सकिरहेको छैन म । बाकसमा भएका उहाँका नीजि सामानहरु मैले काकालाई नै फिर्ता गरेँ बाकस सहित मैले मात्र उहाँले लेखेका डायरीहरु अनि कापिहरु मात्र साथमा लिएँ अनि कलम पनि काकालाई नै दिएँ किनकी मैले दिएको निशानी आफैले फिर्ता लिन मन मानेन । काकाले पनि उहाँले चलाएका सबै सामानहरु शिशाको दराज बनाएर सबैले देख्ने गरेर राख्ने भन्नु भयो यसमा भने मलाई गौरव अनुभूति भयो किनकी यो गाउँबासीहरुले उहाँलाई मृत्युपर्यन्त पनि याद गरिरहेको र गरिरहोस भन्ने लाग्यो । अब बिकल सरको नियाश्रो तिमिले मेटिदिनु पर्छ निशान भलै तिमि बर्षमा कम्तीमा एकपटक मात्र भए पनि आऊ, हामिलाई यत्ति भए पुग्छ हामिले केबल तिमिमा मात्र बिकल सरको झल्को पाउँदछौँ भन्नु हुँदा मैले पनि सहर्ष स्वीकारेँ । किनकी म पनि यो गाउँको एउटा अभिन्न हिस्सा हुन पाएँ भनेर । 
मलाई कति बेला यहाँ बाट फर्कुँ अनि सभ्यतालाई सबै यो गाउँको कथा अनि बिकल दाजुको कथा सुनाउँ जस्तै भएको थियो । सभ्यता नियाश्रो मानीरहन्थी म कतै बाहिरफेर हिँडे भने, कहाँ गयो के गर्यो भन्ने चिन्ता उसलाई भइरहन्थ्यो । उसले लिएको चासो र मायाले मलाई उर्जा थपिदिन्थ्यो अनि त काममा पनि मन लगाउन सक्थेँ । सबै दिनहरु यस्तै बित्दैनथे, स सानो कुरामा भनाभन भइरहन्थ्यो । हाम्रा कुराका कन्थाहरुले त लाग्थ्यो हामिले एक अर्कालाई चिनेकै रहेनछौँ जस्तो लाग्दथ्यो । 

उस्ले घर छोडेर कतै बजार तिर वा काममा हिँडि भने वा कार्यालयको काममा हिँडेको बेला मलाई लामो समय सम्म पनि वास्ता नगरे जस्तो लाग्थ्यो, सञ्चारका बिभिन्न माध्यमहरु हुँदा पनि उस्ले नजाने जस्तो गरेर टारिदिन्थी तर मलाई असह्य हुन्थ्यो । म टुट्थेँ घरी घरी अनि जोडिन्थेँ बडा सकसले मात्र । कहिलेकाहिँ मनभरी भएर गुनासो गर्दा उल्टै म सँग चित्त बुझेन भने अर्कै खोज भन्न पनि पछि हट्दिनथी तर म चाहिँ त्यसो भन्न आँट नै गर्दिनथेँ । आफ्नै जिवन अनि परिवेशहरुलाई हेर्ने मानिसको आ–आफ्नै तौर तरिका हुँदो रैछ र पनि यसमा म नै कमलो मन भएको कम्जोर मानिस हुँ जस्तै लाग्थ्यो । 

गाउँबाट बिदा लिएर म घर फर्किने जोहो गर्न थालेँ गह्रुँगो मन लिएर, बिकल दाईको अधूरो याद लिएर । डायरीका हरेक पन्नाहरुमा हरेक उपकथाहरु थिए उहाँका जिवनका वास्तविक भोगाईहरु । बास्तवमै दाजु हँसिमजाक गर्ने जिवनलाई सरल बनाएर बाँच्न खोज्ने मानिस हुनु हुन्थ्यो र उहाँलाईनै जिवनको कठिन यात्रा भोग्नु पर्यो । हुन त जन्मोप्रान्त नै उहाँका एक खाले ग्रहणहरु शुरु भइसकेका थिए र पनि बैबाहिक जिवन सफल हुन सकेन, जिवनदेखि बिक्षिप्त भएर बैबाहिक जिवनबाट सन्यास लिनु भयो र केहि समयको कष्टता पछि रिभान गाउँको साथले उहाँको उत्तरार्ध चाहिँ अति सफल अनि सार्थक रह्यो । उहाँका सबै प्रयासहरु जिवन बनाउने सफल नभएपछि आफ्नै कपालमा कात्रो भिरेर आफ्नै मलामी हिँड्नु भएका मेरा अतिप्रिय दाजु साँच्चिकै महा प्रस्थान गर्नु भएको छ । गाउँलेहरुलाई दुख नदिईकन ३–४ घण्टाको अन्तरालमा जानुभो रे भन्दा सुनेँ उहाँले आफूले जिउँदो हुँदा त कसैलाई दुख दिनु भएन प्राण त्याग्ने बेला पनि केहि सुसार गर्न परेन कसैले हाँसि हाँसि बिदा हुनु भएछ ।  

जिवनमा अँश हुँदा हुन, धेरै बर्ष लाग्दो हो यो इहलिला समाप्त हुन तर साराँशमा जिवनको अर्थ भनेको मृत्यु रहेछ अनि त्यस भन्दा पछि सँझनाहरु नै रहेछन त्यसको पछि पछि सहनु पर्ने बाध्यता रहेछ । दाजु बाँचुञ्जेल यस्तो दिनको म कल्पना पनि गर्न सक्दिनथे आज त्यहि भोग्न परिरहेछ । दाजुका पनि पर्दा पछाडिका जिन्दगी हरु थिए होलान, रोमाण्टिक जिन्दगीका केहि छालहरु थिए होलान तैपनि यि सबैलाई निस्तेज पार्नु भयो । म मा अहिले पनि यो प्रश्न किन यत्ति धेरै तिरष्कार गर्नु भयो आफ्नै चाहना हरुलाई किन तिलाञ्जली दिनु भयो आफ्नै जिन्दगीलाई । उहाँ जस्तो सक्षम मानिसको खाँचो थियो देशलाई मैले दाजुको जिवनबाट सिकेको के हो भने मानिस आफैमा खुशी र सुखी हुन सकेन भने उस्ले केहि गर्न सक्दैन रहेछ, मनको खुशी जस्तो केहि पनि रहेनछ । जिन्दगी नाताले बाँधिदैन मायाले सद्भावले बाँधिन्छ भन्ने सावित गरिदिनु भयो । मैले दाइको जस्तो बैबाहिक जिन्दगी भोग्न नपरोस, सभ्यताले मेरो अन्तरमनलाई चिनोस म उ भित्र समाहित हुन सकुँ नत्र यसमा पनि केहि खटपट भयो भने म पनि भाँडिन्छु भन्ने ज्ञान भयो । 

मेरो आदरणिय बिकल दाजुलाई हार्दिक श्रद्धान्जली दिन चाहन्छु उहाँको आत्माले स्वर्गमा पनि राम्रो सम्मानित ठाउँ पावोस । दाजुका पाण्डुलीपिहरुलाई यहाँहरु माझ म उचित समयमा कथाको रुपमा होइन सम्पूर्ण पुस्तककाकार रुपमा पस्किने प्रयासमा छु । हजुरहरुको साथ पाएमा यो अभिभारा पक्कै पुरा गर्ने छु । प्यारी सभ्यताको अपार माया ममताले मेरो यो अभिभारालाई पुरा गर्न सहयोग पुग्ने छ, उसै सँग उसैका लागि समर्पित यि हरफहरु फेरि भन्छु म उसै भित्र खेलिरहन पाउँ जुनी भर । 







Friday, 6 December 2013

कञ्चनजङ्घा एक्सप्रेस



कन्चनजङ्घा एक्सप्रेसको वातानुकूलित डिब्बामा करिब १०० किमि प्रतिघण्टाको गतिमा हुईँकिएको थियो रेलगाडि । नेपाल पनि आज भन्दा २० बर्ष अगाडि त के थियो र पूर्व मेचीबाट पश्चिम महाकाली सम्म पुग्दा पुगनपुग दुइ दिनै लाग्दथ्यो । एउटा डिब्बा बिचमा डाइनिङ्ग डेस्क उता तृष्णाको बेड यता चाहिँ आफ्नो तै पनि उताको बेड खाली थियो । खालि हाम्रा झोलाहरु, झोला बाट निकालिएका लुगा कपडाहरु उस्का सौन्दर्य सामग्रीहरु बिस्तरा भरि भाँडा कुटी खेलिरहेकै थिए । 

मानिसहरु पहिले पहिले गुन्यू चोलो लगाउँथे रे, कपाललाई चुल्ठी पारेर डोरीमा फुर्को पारेर बाँध्थे रे भनेर कथा हाल्दै थिएँ । रेलगाडी पहाडको सुरुङ्गमा पस्यो चकमन्न मनमा भए पनि त्यो भन्दा उज्यालो हुन्थ्यो भित्र भरि । ऊ भने आधि होशमा ए हो र बुढा मलाई पनि त्यस्तै किन्देऊ न लगाउंछु कस्तो हुँदो रैछ भन्दै थिई । मैरै पलङ्गमा मलाई नै अचेटेर उत्तानाट््याङ्ग लगाएकी थिई अरु त बुढाबुढीको नीजि क्याबिन भएकाले यसलाई सार्वजनिक किन गर्नु । 

कन्यामको चियाबारीमा एउटा रिजोर्ट त्यसको पनि डिलक्स कोठामा एक दिनको पुरा चक्र बिताइयो । उता चियाबारीमा श्रमीकहरुले चियाको मुना टिपेको देखेर सोध्थी म चाहिँ मुण्टा चिमोटेर चुँडेको भन्दा वाल्ल परेर लजाएझैँ गर्थि । फेरि लजाउनु पनि किन माइखोलामा नट बोल्टले कसेर झोलुङ्गे पुल बनाए जस्तो उस्को जिउडाल पहिरन हुन्थ्यो, आफै अलमल्लमा पर्थेँ कि कुन चाहिँ देखाएकी अनि कुन चाहिँ लुकाएकी हो, झन मेरो साथमा यसरी हिँडदा झन बहुलाउँछे, बैशले उन्मत्त हुन्छे उसैमा म पनि कुन चाहिँ ब्रम्हाचारी परेँ र फेरि । 

कन्यामको सुख्खा डाँडामा तल खोलाबाट लिफ्ट गरेर पानी तानेको रैछ,  हामि बसेकै रिसोर्टमा स्वीमिङ्ग पुल सँगै वाटर फन पार्क रैछ , प्राइभेट केजमा रमाइलो गरियो त्यहिँ ज्यान सुकाएर पाट्टिएपछि ओझेलतिर को वाइ क्याफे कर्नरमा बसेर स्न्याक्स सँगै बियर चुस्की लगायौँ । आष्ट्रिच चराको मासुको परिकार मिठो तर मासू चाहिँ निकै चाम्रो हुने चपाउनु मजै आउने रैछ । तृष्णाले म त अब बियर पिउँदिन बुढा एक ग्लास ग्रेप वाइन पिउँछु ल मलाई रुम सम्म तिमिले नै बोकेर लैजाऊ है भन्दै थिई म चाहिँ तँलाई घिसार्दै घिसार्दै लैजान्छु भन्दा कोपर्न आउँथि तर नँग्रा देखाएर किस खाएर जान्थी के भन्नु । 
हिजो बेलुका त म कति बेर निदाएँ के के भयो केहि थाहा पाइन डल्ले तिमिले बोकेर ल्यायौ कि घिसाररै ल्यायौ साँच्चै भनेर आँखा पल्टाउँदै थिई मैले भैँसिलाई बोक्छन कि घिसार्छन भनिरहनु पर्छ भन्दा कानमा रातै पार्ने गरि टोक्थी ऐया भने पछि सरि बाबा भन्दै मुसार्थि फेरि मलाई हाइसञ्चो यस्तैमा हुन्थ्यो । अलिबेर जिस्क्याएर सताएर माया गर्न मन लाग्ने भुक्तमान म पनि ऊ झन मेरो दोब्बर थिई कहिलेकाहिँ त ख्याल ख्याल गर्दा स्यालै पल्टन्थ्यो भन्या । ऊ रिसाउँदा चाहिँ अब फेरि कहिले यस्तो गर्दिन भन्थेँ तर गल्दै नगल्ने, मै सँग पराइको ब्यबहार गर्ने यो पीडा सहनु पथ्र्यो मैले । आफ्नो मान्छे रिसाउँदा वा मन दुखाउँदा उस्लाई भन्दा मलाई बढि मलाई पीडा हुन्थ्यो । 

तलाई त लिएर हिँड्यो कि एउटा न एउटा बितण्डा गरेकै हुन्छे अब देखि यो वियर सियर वाइन स्वाइन पि त मात्रै ।

के भयो ए बुढा अन्त तिमि यत्रो घोर्ले भएर के काम भयो त एउटी प्यारी हिस्सी परेकी बुढी पनि ततेर्न सक्दैनौ भने, तिमि छौ र त म रमाएकी छु, कहिले काहिँ त मलाई पनि वाइल्ड बन्न देऊ न यार तिम्रो साथ त मेरो लागि सँसार हो नि तिम्रो काख मेरो खेल्ने मैदान हो बुझ्या हो कि नाईँ 
तँलाई मैले कति सँझाए मेरी प्यारी तृष्णा यसरी नमात आफ्नो बस्त्र पहिरन खोलेर जताततै नफ्याल भनेर मान्ने होइन, ज्यान मा एउटा केहि नराखी कोहि ढोका तिर कोहि वाशरुमको ढोका तिर कोहि झ्याल तिर, पेण्टी त तेरो डस्ट बिनमा थियो झ्याल खुला भएका भए त एक दुइवटा बाहिरै गइसक्थे । अनि गफ गरुँ होशमा छैन सुत भन्दा मान्ने होइन जाडो छ कपडा ओढाउँदा ओढ्ने हैन । अनि सकि नसकि नाङ्गै वाशरुम जान खोज्छे तर जाने चाहिँ कोठाको ढोका तिर उस्स अनि समातेर वाशरुममा ल्यायो सबै पानीका धारा खोलेर अनि सावर खोलेर आफू पनि निथ्रुक्क भिजेर आइछ यति गर्दा पनि थाहा पाउन्नस भने पछि के भयो होला हालत आफै भन । 

खित्का छोडेर धित मारेर हाँस्न लागि कन्ट्रोल गर्न गारो पो भयो मलाई त उस्को खित खित धेरै बेर सम्म रोकिएन र शायद उ यति धेरै खुशी भएको पल मैले देखेको आजै थियो । ओइ डल्ली धेरै नहाँस फेरि पानी आउँछ आकाशबाट चरा खस्छन है बिचार गर भनेको बल्ल रोकियो हाँसो । त्यहि पनि बिसाउँदै खित्काउँदै थिई थाहा नपाउलान भनेर फुस्फुसाउँदै थिई । 

चुरियामाईको मन्दिरलाई दाहिने पार्दै देऊराली पुमपुम हेटौँडाको बजारमाथि स्टीलको फ्लाईओभर हुँदै शहिद स्मृति उद्यानको पीँधमा रहेको चामटारी स्टेशनमा रोकियो । रेलगाडिको सेवा पनि अति राम्रो सुरक्षा पनि भरपर्दो लाग्यो अनि त्यहिँ नेर होटलबाट भ्यान हामिलाई लिन आइसकेको थियो । तै पनि हामि आफ्नै तवरले होटलमा पुग्यौँ प्रायोजित भ्यानलाई फिर्ता पठाईदियौँ । उद्यानबाट रापती नदीको बेसिन सम्म आऊने सुपरफास्ट फ्लायरमा बसेर ४ मिनेटमै तल झर्न पाइयो, बाबै झण्डै सास खुस्केको ओरालोमा कति छिटो झारेको भन्या भन्दै खुइइय गर्दै थिई । यो आइमाईको जात कहिले डराउने कहिले हराउने यस्तै हुन तर घुम्न चाहिँ निकै मन पराउने भन्दै तृष्णालाई मायाको पप्पीले फकाउँदै थिएँ म ।

पुमपुम बाट चामटारीमा झरेपछिको पलहरु पनि अविष्मरणीय नै रहे, अझै बिर्सन भन्दा पनि भुल्न गारो हुँदो रहेछ त्यस्ता कुराहरु । तृष्णासँग बिताएका सेकेण्डहरुको पाई पाई हिसाब किताब हुन्छ यो पिरतीको कार्यालयमा उनैको जोड घटाऊ उसैको बखान उसैमा निहुँ त्यसैमा खिचलो अनि फेरि मिलन कत्ति मिठा यी भाँडाकुटीका भौचरहरु । पार्कको पहाडभित्रै सुरुङ्ग मार्ग त्यसमा चोइटिएका क्याफेहरु जता हेरुँ अनौठो अनि जति घुमियो भन्यो एकै छिनमा उहि ठाउँमा आइने रैछ कस्तो बेजोड बिज्ञान अनि कला कौशलता शायद हामिले कहिले भेटेनौँ । तुलनामा क्षेत्रफल सानै भए पनि दोब्बर सुबिधा र सञ्चयले पनि चकित नै पार्यो । चिडियाखाना, पार्क, फुलबारी, रमाइलो पानी खोप्पी जस्ता कत्ति हो कत्ति रमाउन लाइ तर चाहेर पनि हामि दुइजना समय अभावले पानी खोपीमा मज्जाले खेल्न पाइएन अर्को पटकका लागि निम्तो लिएरै आएको सहि । 

मैले तृष्णालाई मात्तिएको सम्हालेको अनुभव त थियो तर उसै गरि म आफू मात्तिएर उस्ले सम्हालेको देख्न भोग्ने इच्छा पुरा गर्न रहर जाग्यो अनि मलाई सम्हाल है आज त न पिउनु म टन्न पिउँछु तिम्रै काखमा भन्दा च्यास्सिँदै थिई । यस्तो भुस्तिघ्रे लड्यौ भने म कसरी उठाउनु नाईँ भो धेरै होसै नपाउने गरि चाहिँ नपिऊ ल भन्दै सँझाउँदै थिई ।

तिमि आइमाई हरु जस्तो हो र म सुँघ्दा बित्तिकै ढलीमली गर्ने किन पिउनु यस्ताहरुले ज्यानमा एउटा कपडा पनि नराखीकन हुर¥याउने हरुले । आज पख म पनि त्यस्तै गर्छु भन्दा धित खोलेर हाँसी तिमिलाई कपडा फाल्न पिउनै पर्छ र ? छोड यो कुरा किन बिबाद गर्नु पिऊ जति पिउन मन छ पिऊ म आज पिउँदिन उठाउन सकिन भने म पनि तिमि जहाँ लड्छौ त्यहिँ सुत्छु भनेर ओजस्वी जिम्मेवारी प्रकट गरि त्यो भन्दा बढि गर्व चाहिँ मलाई भयो कि आफ्नो मनको भाषा बुझ्ने बुढि पाएकोमा ।   

पहिला सुर्खेतमा बुलबुल ताल भनेको एउटा कुण्डहो भन्ने सुनेको थिएँ किताबमा पढेको थिएँ र पनि उति सारो मनमा तात्पर्यता थिएन ताल पुग्नलाई तर सुर्खेत आफैमा सुन्दर ठाउँ रमणीय उपत्याका भन्ने भएरै तृष्णालाई लिएर देश दर्शनमा हिँडेको थिएँ । लामो रेलको यात्रा भयो पटक पटक गरि जस्ले गर्दा उस्को ब्याक पेन हुन थालेकाले मैले अलिकति मालिस गरिदिए पछि आराम भयो । जति लुकामारी खेले पनि जति ठूलो युद्ध गरे पनि चाहिने यहि माया लाग्ने यसैलाई । कहिलेकाहिँ त भन्नु नभन्नु भन्छे भनाभन हुन्छ बोलचाल बन्द हुन्छ झन सँझिने कस्तो सम्बन्ध भयो थाहै भएन त्यसको एउटै औषधि दुइ जना एक ठाउँमा भए पछि अरु सबै साम्य हुन्थे न रिस न राग साम्य हुन्थ्यौँ दुबै जना । कामको शिल्सिलामा हामि अलग हुन्थ्यौँ अनि बिदा मिलाएर भेट्नु पथ्र्यो । 

सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल भन्ने गित झलक्क मनमा आयो जतिबेला उहि कृतिम ताल माथिबाट हाम्रो रानीबन शुभयात्रा रेलगाडी मडारिँदै थियो मन अलि शितल भयो सोचे भन्दा । भर्खर बिहानी हुँदै थियो चरा चुरुङ्गीहरु आफ्नै भाषामा दिनको स्वागत गर्दे थिए । घामको लाली टाकुराहरुमा ओर्लिँदा हामि पनि गाडिबाट ओर्लियौँ । तृष्णा आफै प्यासी थिई नामैले त्यसैले त म ठिक्क परिदिन्थेँ उसको प्यास मेटाउन पानीको वा अरु कुनै तरल पदार्थहरुको बाहेक । 

मेरा केहि उसँग गुनासाहरु थिए र पनि भन्न सक्दिनथेँ किनकी मेरा गुनासाहरु उस्ले सुन्न चाहदिनथी ठाडै आउँथी कुनै कुरामा र पनि आफैले पचाएर सुकाएर भन्नै छोडिदिएको थिएँ र अहिले त ति गुनासाहरु पनि छैनन । अब मेरो गुनासो भने आफू सवल हुने हो मात्रै थियो । वास्तवमा म उस प्रति कस्तो भएको हेर्न चाहन्छु भन्ने कुरामा नै अभिमत बाझिन्थ्यो र म नै पछाडि हटिदिन्थेँ किनकी मलाई सबै भन्दा प्यारो उसैको साथ थियो । 

यति धेरै खुशी, यतिसारो उदण्डता अनि यतिसारो मायाको प्रयोग पहिलो पटक गरिएको थियो । अबिकसीत देशमा जन्मेकाे मान्छे, ६ ७ कक्षा सम्म पनि जाँगे र चप्पलमा बिद्यालय धाएकाे मान्छेलाई यि सबै कुरा अलाैकिक नै थिए, शायद अर्कै लोकमा पुगे जस्तो भयो । समाजमा भएका सबै चलन चल्ती मान्छेले नै बनाएका हुन । अाँगनबाट मूलबाटाे सम्म पनि अाउन नसक्ने मनस्थिती बोकेर हामि कञ्चनजङ्घा एक्स्प्रेसमा देश भरी कुद्याैँ । मानिसको सपना नै त हो बिकसीत देशकाे नागरीक हुन कस्लाई मन लाग्दैन र . चार खुट्टालाई किला ठोकेर ठम्क्याएको फलिका ठोकेकाे खाटमाथि पनि बिकसीत नेपालको नामुद कञ्चनजङ्घा एक्सप्रेशकाे अत्यन्तै मिठो ब्यूँझनै नमिल्ने सपना देखिरहेकाे रहेछु । 

सपना देखेपछि, हिजो सम्म चढेकाे म्याजिक गाडोको पछिल्लाे सीटमा बस्न मन लागेकै छैन । खुट्टामा लाएका म्याजिक चप्पल अचेल पड्किन थालेका छन । अरु सबै चीज सङ्ग या जीवनको यो दैनिकी सँगै तालमेल मिलिरहेको छैन । अब फेरी पनि अाँखाले, मनले त्यहि कञ्चनजङ्घा एक्सप्रेस कहिले अाउला भनेर मनको प्लेट फार्ममा पर्खिरहेको हुने छ ।