"पानको पात माया तिमिलाई सम्झिन्छु दिनको रात मस्र्याङ्ग्दी सलल ..." भन्दै मानबहादुर दाईले काँधमा कोदाली लिएर दिउसो पख गहुँबारीमा पानी लगाउन हिँड्दा म भर्खर स्कुल पढ्थेँ । मैले स्कुलबाट बिदा भएर खोले सिमल हुँदै आउँदा हरेक दिन जसो उनलाई म त्यहि इष्टकोट र कछाडमा देख्दथेँ । एैसेलु पाक्ने बेला, रुखमा तिँजु पाक्ने बेला अनि सिमलको गेडा खान पाइने बेला थियो तर म सानो मान्छे न तिजुँको बोटमा चढ्न सक्ने, न सिमलको गेडा झार्न सक्ने अनि एैँसेलु त ठूलाबडाहरुले बिहानै सकाएर भर्खर बाहिर निस्कन लागेका मचेल्टाहरु खाएर भए पनि धित मार्दथेँ । हावा चलेको बेला तिँजुको रुख मुनि बसेर अवसरको फाइदा उठाउँथे कि हावा लाग्दा झन पाकेर गुलिया भएका तिँजुहरु खान पाउँथेँ कहिले काहिँ त झोला भरि हुने गरि झर्दथे, सकि नसकी खायो अनि पालुवा चढेको तिजुँले ढलीमली हुँदै घर पुग्थेँ ।
माने दाई आज मलाई सिमल झारिदेउ न भनेर पानी लगाउन उँधोतिर बेस्मारी हिँडेकालाई अड्काएँ र दाईले रुखमा चढेर खुट्टाले दुई थर्चन मार्दा दुइ दर्जन भन्दा बढि सिमलको फूलका गेडा भुईमा लटरम्म झरे अनि मलाई यो मौसमको पहिलोे दशैँ आए जस्तै भयो, हत्त पत्त झोलामा राखेर दाईलाई नमस्कार गरेँ अनि दाई मज्जाले हास्नु भयो । हेर लाटा किन नमस्कार गरेको, अनि त्यसै भनेर सुइकुच्चा ठोकेँ ।
ए बाबु कृष्ण तँलाई लेख्न आउँछ है, म जे जे भन्छु त्यहि त्यहि लेख्दे है, भन्नु भयो अनि मैले हुन्छ भने ।
"तिमि लक्षीमा लाई मेरो धेरै धरै सँझना छ, म तिमिलाई हरेक समय सँझिरहन्छु । खेतमा पानी लाउन जाँदा पनि कुलोको रहमा तिम्रै छायाँ देख्छु, झलमल्ल तिमिनै देखिन्छ्यौ, यो के भयो मलाई, अस्ति मैले तिमिसँग कुरो अर्न खोजेको थेँ । तिमि मन्केर हिँड्यौ म नराम्रो माने भनेर होला, गरिव भयो भनेर हेला गरेकी तिमिले, जे भए पनि तिमिले लात्तिले कुचे पनि तिम्रै माने हुम । तिम्रो उत्तर कुरेर बसेको हुन्छु, लेखेर यहि किस्नको हातमा पठाइदिनु, तिम्रो मान बहादुर । "
मैले भनेको लेखेर सकिस् त्यसो भए यता ले भनेर दाइले म सँग कपि मागेर त्यो पानो च्याते र तिङ्कुशे पारेर पट्टयाये अनि नङले दोब्राएर मलाई गैराघरै लक्षिमा दिदिलाई कसैले थाहा नपाउने गरि खुसुक्क दिएस है फेरि कसैले यसलाई थाहा पाए भने त बर्बाद हुन्छ, ल तँ आज जा फेरि घर जान ढिला हुन्छ अनि म कहिले आम भनेर सोधेर फेरि लिन पनि जानु है फेरी, भोलि म तँलाइ लटरम्म एैँसेले भएको ठाउँमा लिएर जान्छु नि है भन्दै मानबहादुर दाइले ढाप मारे ।
यो के हो र दाई भनेर फेरि सोधेँ । दाइले हाँस्दै तैले बुझ्दैनस के पछि बुझिहाल्छस नि, अहिले लाई छोड्दे आफ्नो काम गर भने पछि म पनि हुन्छ भनेर लुरुक्क भएँ अनि दाइले गोजीबाट पिपलगेडी निकालेर मलाई दिए । पिपलगेडीको गुलियोमा दाइका सबै कुरा भुलेँ अनि चिठि लिएर लक्षिमा दिदिकाँ हानिँए ।
लक्षिमा दिदिकाँ हजुरबा हुनुहुन्थ्यो पिँढिमा बसेर खोक्दै हुनु हुन्थ्यो अनि म पनि लुसु लुसु गएँ । हैन यो किस्ने आज कताबाट बाटो बिराएच, आइजा कान्छा भन कति कामले आइस, महि खान्छस खरो भइच्च भने भन भोक ला भे मकै भट्ट भुट्दै छे हजुरआमाले भित्र गएर मागेर खा है कहिल्यै नहाउने नाती आको आज भन्दै हजुरबा फतफताउँदै कटेरा तिर लाग्नु भयो । मैले न मकै भट्ट, न महि लक्षीमा दिदि लाई खोजेको थिएँ, कसैलाई भन्न पनि भाको छैन । अनि म पनि भित्र हजुरआमा सँग गएँ र महि मागेँ अब ढुँग्रो किन लुकाउनु भन्ने लागेर लक्षीमा दिदी घाँस काट्न जानुभको हो र हजुरआमा ।
हो त नि दिउसै गकि हो घाम ढल्कन लागे अझै आकि छैन, अचेल घाँस पनि त्यति हुन्न खडेरीको बेला यस्तै हो बाबु नाती, किन चाहियो र लक्षीमा मही माग्नलाई हि हि हि भन्दै हजुरआमा खित्किन लाग्नु भयो । हैन नदेखेर भनेको के भनेर महि खाएर बाटोको मड्कुला मा कुरेर बसेँ दिदिलाई । धेरै बेर मैले चिठी लिएर मड्कुलामा चिठि लिएर एकोहोरो ध्याउन्नमा धोल्लिएर बसेको थिएँ । उता कुइनेटाबाट केटीहरु खितित्त हाँसेको आवाज आयो, जुरुक्क उठेर हेरेँ लक्षीमा दिदी सँग अरु दुइजना कान्छीआँ र फुल्की पनि थिए । उनिहरु मेरो नजीक आए, अनि फुल्कीले मेरो गालामा चिमोटी अनि ओठ गिथोलेर हिँडि केहि पनि भनिन तै फुल्की पनि म भन्दा चार बर्ष जेठी भए पनि हर्लक्क तरुनी भएकी थिई चार कक्षा पढ्दा पढ्दै छोडेकी अरे लेख्न पढ्न जान्दथी राम्रो सँग ।
म उनीहरुको पछि पछि हिँडिरहेको थिएँ हात मुठी पारेर, अनि मैले लक्षीमा दिदि भनेर बोलाएँ पाकेका खनिम भएका भए दिनुस न भने किनकी त्यहि बहानामा दिदिसाँ मेरो काम फत्ते गर्नु थियो । छैन किस्न आज हेरन घाँस नपाएर चाहार्द चाहार्दे ढिलो भयो भोलि ल्याइदिम्ला है भन्नु भयो त्यति बेला सम्म फुल्की र ठूली आमा पचास पाइला अगाडि गएका थिए अनि फेरि डराई डराई लक्षीमा दिदि, मान बहादुर दाइले मलाई हजुरलाई दिन भनेर एउटा पानो पट्टयाएर दिनु भइच्च यि लिनुस भनेर दिएँ अनि लक्षीमा दिदि म जान्छु है भोलि खनिम ल्याइदिनुहोला है यहिँ कुरेर बस्छु भनेर तारिख थमाएर हिँडे ।
गाममा छोरी नछुने भई भने ठूली भई यस्लाई बिहादान गर्नु पर्छ, भन्ने हुँदा हुँदै पनि उ बाझिदै थिई उमेर पच्चीस भन्दा बढिनै भएको थियो । जो आए पनि उस्लाई कालि मोटी भनेर बिहा गर्न मान्दैनथे । तर प्राकृतिक देन उभार सँग उ लडिरहेकी थिई, जवानीका आँधिबेहरी लाई पन्छाउँदै प्यासी जिवन बाँचिरहेकी थिई । उस्को पिडासँग आत्मसाथ गर्ने कोहि पनि थिएन न उस्को भनेको कसैले सुन्थे उस्को परिवारमा । एक दिन त अझ के भयो भने उस्को लागि हेर्न आएको केटाले पल्ला घरकी फुल्कीलाई बिहा गर्छु भनेर हौसियो झन उस्लाई सिस्नुपानीले झटारे हाने जस्तै भयो । जिवन अब कुइनेटाको चौतारीमा सुकेको पिपल जस्तै लाग्न थाल्यो । उता फुल्की भर्खर १३ बर्षकी भए पनि कुन केटाले म यस सँग बिहे गर्छु के भनेको के थियो कुत्कुतिएर भइँमा खुट्टै थिएन । लक्षीमा लाई रात भरी निद लागेन मान बहादुर ले यो खोस्टो मलाई किन दियो, कसैलाई देखाउन पनि भएन आफूले पढ्न जान्दिनथी ।
अनि मान बहादुरले आफूलाई गाडिएर हेरेको भारी बोक्न सघाएको सबै सँझिन थाली, एक दिन फुल्की ले भनेकी थिई के त्यो बन्जाडेका बाहनले मलाई हेरन दिदी "म तिमि बिना मर्छु, तिमिले हुन्छ भन्देउ, तिमि असाध्यै राम्री लाउछ मलाई बिन्ति छ जति गालि गरे पनि गर जति पिटेपनि सहन्छु बरु तर हुन्छ भन्देउ भनेर लेखेको थियो" अनि मैले उस्लाई बाँसका कपेटाले हानेर लखेटेँ अनि कान समाते पछि छोडिदिएँ भन्थि । शायद यो पनि यस्तै होला भनेर अड्कल काटेकी थिई । एकसुरमा अँगेनाको डिलमा बसेर आगो सज्दा सज्दै त्यो चिठि पनि बलेको उस्ले पत्तै पाइन पछि हात खोतलेर हेर्दा रित्तो हात अनि अँगेनामा चिठ्ठीको खरानी भएका पानामा अक्षरका डाम मात्र थिए ।
भोलिपल्ट कुइनेटामा च्युँडोमा हात राखेर म भन्दा पहिल्यै लक्षीमा दिदि आएर बस्नु भको रैच अनि मैले सिरुको फूललाई कानमा सुर्र्रर्रर पारेर झस्काएँ, धत् के गरेको बजिया भनेर म सँग हाँस्नु भयो । खै खनिम आज पनि छैन भन्दा दिदिले पटुका बाट एकमाना जति खोल्सामा धोइवरी ल्याउनु भाको रैछ अनि सबै मलाई दिनुभयो । दिदि तपाईले पनि खानुस न सबै मलाई किन हो र आज भातै खान नपर्नी भओ भन्दै म कपाकप खान थालेँ बाँदरले जस्तै ।
हेरन किस्न तिम्ले दिएको कागज त मैले ऐनामा आगो सज्दा भुलेर हरर्रै बल्यो के थियो कुन्नि थाहा छ, अनि माने दाइले मलाई केहि भनित्ते र भनेर दिदिले सोध्नु भयो तर मैले पनि लेख्न त लेखेँ तर के लेखेँ भन्ने त्यति थाहा थिएन । केहो र भनेर सोधेको तैँले अहिले बुझ्दैनस पछि आँफै बुझिहाल्छस् नि भनेर भन्नु भओ तर "लक्षिमा तिमि अस्ति रिसाएर हिँड्यौ म नराम्रो मान्छे" अनि के के हो मैले सँझिन दिदि, फेरि भनम मान बहादुर दाई लाई भन्दा दिदिले पर्दैन बरु लक्षिमा रिसाएकी हैनन अरे भन्दिनु है जे सोध्न मन लाग्छ सोधे हुन्छ भनेर भन्देउ है, म किन रिसाउनु र मान बहादुर दाई सँग हैन्तनि किस्न क्यारिच्चन र बिचरा मान बहादुर दाईले ल जौ तनि आज त्यहि भन्देउ है भन्ने खबर लिएर म बाटो लागेँ ।
आज मान बहादुर दाई उहि समयमा सधैँ तल हानिने मान्छे तर बाट उकालो आउँदै थिए मलाइ देखेछन क्यार प्mवाँ प्mवाँ गर्दै आएका थिए । अनि आलिमा बसेर लामो हकारो ताने अनि टोपी झिकेर पसिना पुछे । अनि किस्न आज एँसेलु खान जाने हैन त कि तिँजु खान जाने भन भनेर मलाइ रोजाए तर म ऐँसेलु रोजेँ अनि मज्जाले ऐँसेलु खान पाएँ पहिलो पटक, दाइले दिएको एक पसार मेरो अँजुली भरी हुन्थ्यो अनि म त्यस्लाई दुइ पसार बनाएर खान्थेँ । धेरै एैँसेलु खाएकाले म त्यसै झुम्म भएको थिएँ ।
अनि दाई तपाई ले हिजो दिनु भएको कागज थियो नि त्यो त लक्षीमा दिदिले आगो बाल्दा भुलेर हरर्रै भएच ।
दाइले झस्किँदै हो र भनेर सोधे, अनि हो दाई अनि अरु के भनिन त लक्षीमाले, मलाई गाली त गरिनन् अनि मैले दिदिले सोधेको कुरा मैले भनेको सबै कुरा दाई लाई बेलि बिस्तार लगाइदिए पछि बल्ल दाइको थुतुनोमा बसन्त ऋतु जस्तै मौसम फेरिए जस्तै भयो । टोपी फुकाले अनि टाउकोको कपाल मिलाए अनि टक्क मिलाएर टोपि लगाए अनि हतास पतास दारी पनि सुम्सुम्याए अनि फुरुक्क हुँदै कप्काएको कोदाली निकालेर काँधमा भिरे अनि फेरि भुइँमा राखे इष्टकोट खोले अनि झट्कारेर धुलो झारे अनि कमेजको धुलो पनि टौटक्याए अनि कान्लाको कुनामा गएर कछाड पनि टौटक्याए अनि मुजा मुजा पारेर मिलाएर कछाड लगाए अनि त्यस माथि इष्टकोट लगाए अनि सधैँ काँधमा राख्ने कोदाली आज हातैमा लिएर हिँड्न थालेँ अनि म हेरेको हेर्यै भएँ । अनि इष्टकोटको भित्रबाट रारा चाउचाउको खोल निकालेर त्यसबाट दुइ रुपैयाँ मलाइ दिए । म आज अचम्मै परेँ कि आज म परिक्षा नदिइकन पुरस्कार पाए जस्तो भयो अनि त्यो दुइ रुपैयाँ पनि कसरी मास्ने के मा खर्च गर्ने भनेर अर्को झमेला आइलाग्यो ।
मान बहादुर घरमा खासै श्री सम्पत्ति नभए पनि सानो घर थियो घरमा उनि एक्लै थिए । गाउँ भरिका सहयोगी थिए कसैको घरमा पुजा आजा पर्दा बिबाह ब्रतबन्ध मर्दा पर्दा सब भन्दा पहिला आउने उनै थिए तर उनको आफ्नै जिवनका लागि सोचिदिने कोहि थिएन । समयले घर्केको थियो जवानी असौज कार्तिकका खोल्सा जस्तै पातलिँदै थियो न कसैसँग खुलेर कुरा गर्न सक्थे शायद जिवनमा उनले आफ्नो कुरा भन्नै पाएनन । कति बिहामा जन्त गए होलान तर निस्तो खाजा जस्तै थियो सबै उनलाई पछिल्ला दिनहरुमा उनलाई पनि साथको अभाव महशुस भएको थियो ।
तोरीमा पानी लाउन जाँदा तलबाट घाँस लिएर आउँदै गरेकी लक्षीमा सँग मान बहादुरको जम्काभेट भयो । लक्षीमाले पनि मान बहादुर लाई टाढैबाट देखेकी थिइ उस्लाई जम्काभेट थिएन अनि कान्लोमा घाँसको भारी बिसाएर भनि आज अलि गारो भयो मान बहादुर सघाउँछौ भनेर कुरा शुरु गरिहाली उसलाई मान बहादुर सँग बोल्न केहि आइतबार थिएन । तिम्रा कागजका खोस्टाले म रातभरी निदाइन, यसै पढ्न आउन्न भन्नी तिमिलाई थाहा हुँदा फेरि किन पठाका हौ नि फिरी के लेखित्यौ त भनन त ।
तलबाट कान्छी काकी पनि घाँसको भारी लिएर आउँदै थिइन अनि नबिसाइकन सरासर हिँडिन अलि एकोहोरी स्वभावकी काकी जे काम गर्यो नसकिए सम्म गरेको गर्यै गर्थिन तर सुस्त मनस्थिति चाहिँ हैनन । हैन लक्षीमा अस्ति मैले तिमिलाई बोलाउन इशारा गरेर कति पटक ट्याक ट्याक गरे तिम्ले हेरिनौ नि अरु पनि थिए फेरि बोलाउँदा रिसाउली कि भनेर बोलाइन भनेर मान बहादुरले पोल खोल्न थाले कहिँ नभाको कहिल्यै लक्षिमा सँग नबोले जस्तै गरि । यहि बर्षामा खेतमा रोप्दा तल्ला गरामा खेत रोप्दै गरेकी लक्षीमा लाई उठेको बेलामा अगाडिबाट हिलोपानी छ्यापेर उस्का सबै लाजलाई लिछिप्प पार्दा पनि उस्ले केहि नभनी घोप्टो परेर रोपिरहेकी अनि मानबहादुर पनि रातो पिरो भएर आली लगाउन छोडेर कान्लो खन्न दौडेको धेरै भएकै थिएन र पनि उ कत्ति पनि रिसाएकी थिइन ।
मान बहादुर दाई हजुरले बोल्न मात्र के हो र मनमौजी अर्नु भएकै छ क्यार ढुँगाले हान्ने, हिलाले भिजाउने, गोरु चराउन जाँदा बाघ कराएको बहाना पारेर मलाई डराउन दिएर तिम्लाई नै झम्टन गएको के पो बाँकि छ र भन न । तर तिम्ले जे भने पनि जे गरे पनि म तिमि सँग कहिल्यै रिसाइच्चु भने भन क्यारे अनि केका लागि हो । यसै पनि मलाई गन्ने मान्छे को छन र कहाँ गई के खाई कि खाइन, सञ्चो आराम छ कि छैन को छन र ?
त्यस्तो हैन लक्षीमा अरु बेला म तिमिलाई जसरी ब्यबहार गर्थे भन्दा अल्लि अर्कै भएर हो के । अचेल मलाई पनि कसैको खाँचो भएको छु एक्लै भएँ भन्ने दिमाखमा आएको छ के त्यहि भअर हो, तिमि रिसाउँछौ कि फेरि एउटा कुरा भन्ने थिएँ, तिमिलाई मन नपरे मन परेन भन, तर मन नपरे पनि ठिकै छ तर नरिसाउ है त । लक्षीमाले टाउको हल्लाएर इशारा गरी ।
लक्षीमा भित्र पनि फुल्कीले भनेको चिठीको कुरा अनि उस्को कुराले त्यहि कथा दोहोर्याएको थियो । त्यहि भएर बोल्न छोडेर इशारा बदलिएकी थिई । उता मान बहादुर पनि के भनम भनेर मनमा उखरमाउले भइरहेको थियो मन त सेल रोटी पकाउने कराइमा सेल रोटी जस्तै घुमिरहेको अनि घुम्दा घुम्दै कतै रोटी टुक्रिन्छ कि भनेर फन्किरहेको थियो ।
खास्सा कुरो किन तिमि सँग किन लुकाउन परो र , हेर म गरिव छु नराम्रो छु पढेलेखेको पनि छैन, हेर्दा पनि बुढै जस्तै भएँ चालिस हुन अब चार पाँच बर्ष मात्र बाँकि छ । इलम भनेको यस्तै छ तिम्लाई पनि थाहा छ । अहिले सम्म म जे जस्तो भए पनि कसैको कुभलो अरेको छैन, सुबिस्ता हुने नै काम अर्या छु । तिमिलाई म कस्तो लाम्च भन त्यस पछि कुरो अगाडि बढाम्ला ।
लक्षीमाको अनुहारमा कहिल्यै नझुल्केको चाँदनी आज झुल्किएको थियो । धेरै समय सम्म नबोलिकन छेस्काले भुइँमा कोप्दै चित्र बनाउँदै बसिरही घरी बाटुलो घरी चेप्टो घरी चारकुने बनाउँदै बिगार्दे थिई । त्यत्तिबेला म पनि त्यहाँ पुगेँ अनि मान बहादुर दाई मलाई सोध्दै थियौ नि कोट्याई कोट्याइ आज त आफै सँगै भएचौ दइटै अब भन न आफै मलाई मात्रै । तर मलाई त उता गए खनिम महि मकै यता तिजु, ऐँसेलु अनि पिपलगेडी है दाई ।
खै किन हो दुबै जना दुइ किनार भएर बसेका थिए । म सँग कोहि बोलेका पनि थिएनन तर रिसाएका पनि थिएनन् दुबै जना कता हो कता हराएका थिए । साँच्चै तिम्ले नभन्नी नै हो त लक्षीमा त्यसो भयो म तिम्लाई राम्रो लाम्दो रैन्छ भन्नी जानेँ भओ मैले । ठिकै छ जहाँ जाला जोगी भातै खाला त हुम्ला नि म तर तिम्रो ख्याल अर्नी मान्छे हुम केरे म पनि तिम्ले मलाई चिनेकै रैन्च्यौ । दाइले यसो भनो भनेर नरिसाउ है ।
लक्षीमा दिदिले घाँसको भारी उठाउन डोको सोझो पार्नु भओ अनि मान बहादुर दाइले पछाडिबाट उठाइदिए अनि जुरुक्क उठ्नु भयो । मानबहादुर दाइले पनि अस्तिको जस्तै काँधमा कोदाली भिरेर लक्षीमा दिदिको अगाडि हिँडे म बिचमा थिएँ म प्यार प्यार कराइरहँदा पनि कोहि पनि बोलेनन् । म बिलखबन्दमा परेँ आज के भयो दुइ जनालाई भनेर अलमल्ल पनि परेँ । एक छिन उकालो हिँडे पछि समीको रुखको चौतारी आयो ।
दिदिले भारी बिसाउनु भयो मान बहादुर दाइले डोको अड्याएर मिलाई दिए । अनि लक्षीमा दिदिले फेरि एक माना खनिम आधा मलाई आधा मान बहादुर दाइलाई दिनु भयो । खनिम राख्न खोल्तीमा हात हाल्दा चुहिने भएकोले बेस्मारी हास्नु भयो र झोलामा हालिदिनु भयो । अनि मान बहादुर दाइले पनि आज त खल्तीका सप्पै एक पसार पिपलगेडी इष्टकोट टक्टक्याएर दिनु भयो ।
जे भए पनि यो किस्न नै हो मेरो साथी भनेर खुइय गरे अनि लक्षीमा पनि हुन हुन त भनेर लेघ्रो तान्दा नजानिँदो गरि मान बहादुर दाइसँग टाँसिएर मैले तिम्ले जे गर्दा पनि कहिले रिसाइछु र तिम्ले जे भने नि नमानेइ कहिले हुम र हाम्ले तिम्राअस्तो भन्न काँ सक्चम त नी माने दाई भनेर बल्ल पहिलो पटक आँखा कहिल्यै नछुट्ने गरि जुधे अनि हामि फेरि सुनसान भएर हिँड्यौँ । सिम्लेका गौँडाबाट लक्षीमा दिदि जानु भयो घरतिर अनि मान बहादुर दाइले मलाई कँधार कुट्टिी हालेर बोक्नु भयो उफ्रिँदै उफ्रिँदै ।
No comments:
Post a Comment