न्वाईँ खाने दिन भन्दा ५ - ६ दिन पहिलै घरीमै पँहेलिएको धुर्से केरालाई बाक्लो काम्लोले बेरेर बाले भकारीको कुनामा राख्नु भएको थियो । त्यस दिन उखुमले भतक्कै पाकेको पयाँलै केराको घरी निकालेर बाले काईँया काइँया छुट्टाउनु भयो र पुष्टिएका मध्येबाट दुइ काईँया निकालेर दहिमा मिसाउनु भयो अनि चामल र चिनी मिसाएर भाँडोमा आमाले बिरालोले मुख हाल्छ भनेर दुध राख्ने झोलुँगामा राख्नु भयो । तल मस्यौरा र पिँडालुको तरकारीमा लप्सीको माडाको बाक्लो बाफ भन्दा पनि मलाई ध्याउन्न कतिबेला त्यो न्वाई खान पाइन्छ भन्ने थियो त्यहि भएर त हरियो ढाडे धान मैले नै काटेर मुठोपारेर टाउकोमा बोकेर पुरुषार्थ गरेको थिएँ ।
स्कूलमा कहिले हाफ छुट्टि कहिले बिदा नभए मन छुट्टि गरेरै भए पनि मन लाग्यो भने केहिले पनि छेक्थेन, सधैँ यस्तै बानी भएकाले घरकाले पनि किन आइस भनेर भन्थेनन् अनि हातमा आँसी लिएर गोरु फुकाएर चरन तिर लैजान्थेँ, झट्टपट्ट एक बड्का न्वाइँ र अझ ठेकी बाट माथि माथिको गुलियो दहि र केराको झोल समेत पिएर म मालीचौर तिर हानिएँ । उताबाट जमुना र कृष्ण पनि गोरु र बाख्रा लिएर आउदै थिए म पनि टक्क अडिएँ र पर्खिबसेँ । जमुनाले खै आज दाई रित्तै आउनु भछ त, म पनि आज आउन त मन थिएन यिनै कृष्णले जाम के जाम जमुना एक्लै घर के बस्छौ भने अनि बाख्रा लिएर आएकी क्या, बिना फोक्कै मा दुख दिन जान्या छन यि दाई त ।
कृष्णको गोरु मेरो गोरु अनि जमुनाका बाख्रा पनि चउरमा अरु डिँगा बाख्राको हुलमा मिसिए, बाली जोगाउन प्राय सबैतिर बान्नो अनि बार लगाएकाले खासै डर थिएन । जमुनाले नूनको ढिको अनि पाकेको हरियो खुर्सानी र आँखे टिमूर राखेर बान्नोको उधिन ढुँगामा पिस्न थाली तर मलाई बसन्ती नआएकी भएर त्यसै त्यसै फुस्रिएको थिएँ, त्यो जमुनाले थाहा पाई हाली अनि बोलाउन थाली ए ए ए ए बसीइइइ । उस्ले बसन्तीलाई चर्को स्वर जावोस भनेर बसी भनेर बोलाउँथी अनि चार पाँच पटकमा हजुर भन्ने प्रतिध्वनी पहिले मेरो कानमा पर्यो अनि मैले नै छिट्टै निउवा साध्न आउ के तित्तिन लायो झट्टै भने । हेर यो दाई त यतिञ्जेल किन टोलाको भन्या त अँ अँ त्यति सारो हुन हुन्न के भोलि फेरि अर्केले टिपेर लैजाला लाहुरेले अनि हेर्या हेर्यै हुनु होला फेरि । यो जमुना के भन्छे म किन टोलाउनु र तिमि नआएका भए तिम्लाई पनि यसै गरि बोलाउँथे नि, कस्तो कुरा गरेको तिमिले । अब तिमि बढि जान्ने भइछौ के, जस्ले लए पनि हाम्लाई बिर्सन्छौ र तिमिहरुले ।
त्यो त हो दाई कान समाते यि दाई, काली मैयाँ नखरा नपार फेरि खाल्डोमा परौली खुरुक्क निउवा साँध उस्लाई कुर्दा तित्तिन्छ फेरी, झन तिम्ले साँधेको निवुवा त यति मिठो हुन्छ भनि साध्यै छैन हे हे हे । दाइले मलाई उल्याउनु भको हो नि मलाई थाहा छ जति उल्याए पनि म मै हो तपैँ तपैँ हो केरे हैन्तनी । तर एउटा कुरा मलाई पनि थाहा छ म भन्दिन भन्दै भन्दिन मलाई यहिँ फुक्लुक्कै पारे नि भन्दिन जा भन्दै आँखा च्यातेर इस् गरि अब के भन्नु न गाली गर्नु कति कुरा नजानेर बिगार्छन अनि त्यत्तिकुरा नजानेरै सपार्छन ।
सलक्क परेको लामो कपाल लाई लेबन्टी ले बाँधेर अनि फुरुक फुरुक गर्दे आउँदै थिई नदौडिकन तर सके सम्म लस्केर तर म उ आउने बाटोको उल्टो फर्केर जमुना सँग कुरा गरिरहेको थिएँ । ओइ ठुल्दाई आज पनि स्कुल बाट भागेर आएचौ नि के हो भन्दै चिलाउने स्याउलाको झुम्काले मेरो कन्नामा प्याट्ट हान्दै मेरो अगाडि आएर ठ्याक्कै सामुन्ने आएर बसि अनि लाजै नमानि ओल्टाई पल्टाई हेर्न थाली धेरै बर्ष लाहुर बसेर फर्केको आफ्नो स्वामी घर फर्केर आए जस्तै । जमुनाले के हो भेडो नदेखे बाख्रो कराउनी बाख्रो नदेखे भेडो कराउनी एक्कै ठाममा भअसी दुइटै हराउने हि हि हि हि भन्दै खिसी गरि तै पनि सधैँ यस्तै भन्ने भएकाले खासै केहि जस्तो लागेन ।
हैन के जमुना स्कूलबाट भागेर यि गोपाल दाई किन आउँछन भनेर नि मेरो बानी तँलाई थाहा छ नि म त फ्याङ्गफुङ्ग हो बाई अरु कुरै छैन तर म गोपाल दाई सँग खै किन हो किन त्यस्तो गर्न सक्दिन के है दाई । मैले कहिले नराम्रो भन्चु र तिम्लाई आफ्नै जस्तो लाग्छ के । खै ले त्यो अमिले यि पाताँ अब घर गअर मकै खान पर्च दाँत कुँडिने भए ।
अनि हामि सबै जना उठ्यौँ कृष्ण अगाडि थियो अनि जमुना र बसन्ती को पछाडि म थिएँ । आज हेर न बसन्ती मेरो तल्लो पेट मर्नु गरेर दुखेर कस्तो भअच भने शाँदी छैन । के खाइस र त्यस्तो चिसो भात खाइस होला बेल्काको नतताइकन अनि दुख्यो भन्दा हैन के मोरी आज अर्कै दुखिच्च के कहिल्यै पनि नदुखेको जस्तो ढाड पनि कटक्क खाइच्च के भनेर बात मार्दे थिए अगाडि अगाडि म पछाडिबाट जमुनाका सुरवाल पनि छेडेर कुर्थामै देखिएका रगतका साना साना टाटा देखेँ अनि मलाई शँका लाग्यो भन्न पनि लाज लाग्यो र बसन्ती लाई बोलाएँ ।
कानैमा मुख जोडेर तिम्ले ख्याल गरिनौ बसन्ती त्यो जमुना त पन्छिइछ केरे टाटै टाटा छन कुर्थामा, बसन्तीले मेरो कपालमा च्याप्प समाती र दरै भई अनि उत्निखेरै छोडि होओओओ र भनेर सकेसम्मको जिब्रो तानेर दँग परि तर बसन्ती भने अहिले सम्म पन्छिएकी नभएर पनि होला । उस्ले जमुनालाई तल्लो कान्लामा लिएर गई र जमुना रोएको प्रष्टै सुनिएको थियो यो यति हुँदा पनि किष्नले सुइँको पनि थिएन, जमुना तिमिलाई सन्च भअन कि क्याहो के भओ भनेर दौडन लागेको मान्छेलाई मैले तिमी जाने ठाउँ हैन त्यो भनेर रोकेँ ।
उनिहरु खोल्सामा गएर नुहाईवरी आए अनि टाटा परेको कुर्था छोप्न जमुनाले पछ्यौराको सप्कोले बेरेर आउँदा शायद मलाई एउटा जुनि नै फेरिए जस्तो लाग्यो भर्खरै निउवा साँधेकी जमुना अब निकै ठूली भए जस्तो भान भयो हुन त उस्को ज्यान पनि अलि हट्टा कट्टा नै थियो बाहुनी भए पनि कसिली मोटी डल्ली मगर्नी जस्तै भएकी थिई मुर्रा भैँसी जस्तै सप्रेकी तर मिलेको ज्यान थियो, हावा भरेको बेलुन जस्तै पुष्ट थिई । केटि मान्छे पन्छिए पछि उनीहरुको जनेन्द्रीय प्रकृया शुरु हुन्छ भन्ने पनि मलाई थाहा थियो अनि सँगै बोल्ने खेल्ने चल्ने अनि दकुर्ने लड्ने जस्ता कुरामा बन्देज आउने भयो अब उ पनि ठूली भई, अब जे पायो त्यहि बोल्न पनि भएन, खेल्न चल्न पनि केके हो भनेर मनमा कुरा खेलिरहे, पहिलो पटक आफ्नै किशोराबस्थाको सैसाथे हर्लक्कै बढेको अनुभूति भएको थियो मलाई ।
बसन्तीले मलाई टाढैबाट आँखा नझिम्काई कन हेरिरही, तर किस्न अझै पनि लाटीले केरा हेरे जस्तै भएको थियो, वाल्ल र जिल्ल परेको थियो न केहि सोध्न सक्थ्यो न बुझ्न सक्थ्यो । हेर गोपाल दाई मलाई पनि डर लाउन थालो अब त आबुई केटी मान्छे भएसी के के बेहोर्न पर्नि हो, हारेकै जुनी भनेको ठिकै हो कि क्या हो, भए जति जम्मे केटि मान्छे ले अर्न पर्नि अनि केटाहरु भने हाइसञ्चो क्यार्नु र यस्तै हो जे होला होला है, यो काली तल कान्लामा डाँको छोडेर रोकी थिई अघि सुनेनौ तिमेरुले,
किन नसुन्नु नि यो किस्ने त उतै दौडँदै थियो मैले समातेको नत्र सातो गअर जमुना भन्दा यो झन डाँको छोडेर रुन्थ्यो हि हिहि सबै जना हाँस्यौँ तर किस्न अझै पनि जिल्ल नै थियो तैपनि मुख अलि अलि चेतेकै थियो ।
जाम अब मेरो गोरु त तअअअल छ म लिएर आउँछु किस्न दाई यो जमुने सँगै जानुस उस्का बाख्रा पनि लगि दिनुस है आज अलि बिरामी छ के हि हि ख्याल गर्नु होला आफ्नीको भन्दै खुच्चिङ्ग गरि अनि दुइजना गोरु र बाख्रो डोर्याएर उँभोतिर लागे । मैले बसन्तीको गोरुलाई आफ्नै भाषमा बोलाएँ आ आ आ माले आ आ माले आ आ भनेर बोलाए पछि फूरुक्क हुँदै आइहाल्थ्यो खै किन हो बसन्तीको त गोरुले पनि मेरो कुरा मान्थ्यो, अरु जो सुकै देखे पनि सिँगले हान्ने गोरु मलाई सिँगमै बसे पनि केहि गर्दैनथ्यो शायद पशु भएर पनि बफादार थियो ।
धेरै बेर बसन्ती केहि पनि बोलिन, चोलो को खल्तीबाट दुइटा कसार निकालेर पसारमा राखी अनि एउटा खाउ भनेर आँखाले इशारा गरि मैले पनि निकालेर खाएँ, मलाई बसन्ती र म दुइजना मान्छे हो छुट्टाछुट्टै मान्छे हो जस्तै लाग्थेन घरी घरी । मैले अहिलेको अबस्थाको आँकलन त्यतिबेला गरेकै थिइन शायद हामि दुबैजना मकैका दुध पस्न बाँकि भएका भर्खरका बुआँ जस्तै भएका थियौ । बसन्ती भनेर मैले बोलाएँ उस्ले झस्किएर हँ भनि । हेरत जमुना त पन्छिई अब के होला है । अब त्यो पनि ठूली भई तिमिहरु सँग यसरी लडाभाँती गर्ने कुस्ती खेल्ने लड्ने दिन पनि सकिन लाए , अब तिमि पनि ठूली हुन्छ्यौ, अनि न मैले कुइँयाउन पाउँछु न डुम खेल्न पाउँछु अब त लाज मान्नु पर्ने बेला पनि आउँछ बाबै भन्दा बसन्ती भसङ्ग भई ।
हामिले खेल्ने रनबन, हाम्रै भावना सँग बटारिएका हाम्रा डिँगा बाख्राहरु, यि सबै त अहिले याद हरु मात्रै छन उति बेला बसन्तीले दिएको लाइन मैले समाउन नसक्दा मेरै आँखा अगाडि उस्को पनि बिहा भयो, उस्को बिहामा उस्लाई डोलिमा चढाएर घर छोड्ने बेलामा गोपाल दाई भनेर चिच्याएर रुँदा मैले पनि डाँको छोडेर रोएको म अहिले पनि भुल्न सक्दिन ।
No comments:
Post a Comment