Saturday, 24 March 2012

उहिलेको कथा




"पानको पात माया तिमिलाई सम्झिन्छु दिनको रात मस्र्याङ्ग्दी सलल ..." भन्दै मानबहादुर दाईले काँधमा कोदाली लिएर दिउसो पख गहुँबारीमा पानी लगाउन हिँड्दा म भर्खर स्कुल पढ्थेँ । मैले स्कुलबाट बिदा भएर खोले सिमल हुँदै आउँदा हरेक दिन जसो उनलाई म त्यहि इष्टकोट र कछाडमा देख्दथेँ । एैसेलु पाक्ने बेला, रुखमा तिँजु पाक्ने बेला अनि सिमलको गेडा खान पाइने बेला थियो तर म सानो मान्छे न तिजुँको बोटमा चढ्न सक्ने, न सिमलको गेडा झार्न सक्ने अनि एैँसेलु त ठूलाबडाहरुले बिहानै सकाएर भर्खर बाहिर निस्कन लागेका मचेल्टाहरु खाएर भए पनि धित मार्दथेँ । हावा चलेको बेला तिँजुको रुख मुनि बसेर अवसरको फाइदा उठाउँथे कि हावा लाग्दा झन पाकेर गुलिया भएका तिँजुहरु खान पाउँथेँ कहिले काहिँ त झोला भरि हुने गरि झर्दथे, सकि नसकी खायो अनि पालुवा चढेको तिजुँले ढलीमली हुँदै घर पुग्थेँ ।

माने दाई आज मलाई सिमल झारिदेउ न भनेर पानी लगाउन उँधोतिर बेस्मारी हिँडेकालाई अड्काएँ र दाईले रुखमा चढेर खुट्टाले दुई थर्चन मार्दा दुइ दर्जन भन्दा बढि सिमलको फूलका गेडा भुईमा लटरम्म झरे अनि मलाई यो मौसमको पहिलोे दशैँ आए जस्तै भयो, हत्त पत्त झोलामा राखेर दाईलाई नमस्कार गरेँ अनि दाई मज्जाले हास्नु भयो । हेर लाटा किन नमस्कार गरेको, अनि त्यसै भनेर सुइकुच्चा ठोकेँ ।

ए बाबु कृष्ण तँलाई लेख्न आउँछ है, म जे जे भन्छु त्यहि त्यहि लेख्दे है, भन्नु भयो अनि मैले हुन्छ भने ।

"तिमि लक्षीमा लाई मेरो धेरै धरै सँझना छ, म तिमिलाई हरेक समय सँझिरहन्छु । खेतमा पानी लाउन जाँदा पनि कुलोको रहमा तिम्रै छायाँ देख्छु, झलमल्ल तिमिनै देखिन्छ्यौ, यो के भयो मलाई, अस्ति मैले तिमिसँग कुरो अर्न खोजेको थेँ । तिमि मन्केर हिँड्यौ म नराम्रो माने भनेर होला, गरिव भयो भनेर हेला गरेकी तिमिले, जे भए पनि तिमिले लात्तिले कुचे पनि तिम्रै माने हुम । तिम्रो उत्तर कुरेर बसेको हुन्छु, लेखेर यहि किस्नको हातमा पठाइदिनु, तिम्रो मान बहादुर । "

मैले भनेको लेखेर सकिस् त्यसो भए यता ले भनेर दाइले म सँग कपि मागेर त्यो पानो च्याते र तिङ्कुशे पारेर पट्टयाये अनि नङले दोब्राएर मलाई गैराघरै लक्षिमा दिदिलाई कसैले थाहा नपाउने गरि खुसुक्क दिएस है फेरि कसैले यसलाई थाहा पाए भने त बर्बाद हुन्छ, ल तँ आज जा फेरि घर जान ढिला हुन्छ अनि म कहिले आम भनेर सोधेर फेरि लिन पनि जानु है फेरी, भोलि म तँलाइ लटरम्म एैँसेले भएको ठाउँमा लिएर जान्छु नि है भन्दै मानबहादुर दाइले ढाप मारे ।

यो के हो र दाई भनेर फेरि सोधेँ । दाइले हाँस्दै तैले बुझ्दैनस के पछि बुझिहाल्छस नि, अहिले लाई छोड्दे आफ्नो काम गर भने पछि म पनि हुन्छ भनेर लुरुक्क भएँ अनि दाइले गोजीबाट पिपलगेडी निकालेर मलाई दिए । पिपलगेडीको गुलियोमा दाइका सबै कुरा भुलेँ अनि चिठि लिएर लक्षिमा दिदिकाँ हानिँए ।

लक्षिमा दिदिकाँ हजुरबा हुनुहुन्थ्यो पिँढिमा बसेर खोक्दै हुनु हुन्थ्यो अनि म पनि लुसु लुसु गएँ । हैन यो किस्ने आज कताबाट बाटो बिराएच, आइजा कान्छा भन कति कामले आइस, महि खान्छस खरो भइच्च भने भन भोक ला भे मकै भट्ट भुट्दै छे हजुरआमाले भित्र गएर मागेर खा है कहिल्यै नहाउने नाती आको आज भन्दै हजुरबा फतफताउँदै कटेरा तिर लाग्नु भयो । मैले न मकै भट्ट, न महि लक्षीमा दिदि लाई खोजेको थिएँ, कसैलाई भन्न पनि भाको छैन । अनि म पनि भित्र हजुरआमा सँग गएँ र महि मागेँ अब ढुँग्रो किन लुकाउनु भन्ने लागेर लक्षीमा दिदी घाँस काट्न जानुभको हो र हजुरआमा ।

हो त नि दिउसै गकि हो घाम ढल्कन लागे अझै आकि छैन, अचेल घाँस पनि त्यति हुन्न खडेरीको बेला यस्तै हो बाबु नाती, किन चाहियो र लक्षीमा मही माग्नलाई हि हि हि भन्दै हजुरआमा खित्किन लाग्नु भयो । हैन नदेखेर भनेको के भनेर महि खाएर बाटोको मड्कुला मा कुरेर बसेँ दिदिलाई । धेरै बेर मैले चिठी लिएर मड्कुलामा चिठि लिएर एकोहोरो ध्याउन्नमा धोल्लिएर बसेको थिएँ । उता कुइनेटाबाट केटीहरु खितित्त हाँसेको आवाज आयो, जुरुक्क उठेर हेरेँ लक्षीमा दिदी सँग अरु दुइजना कान्छीआँ र फुल्की पनि थिए । उनिहरु मेरो नजीक आए, अनि फुल्कीले मेरो गालामा चिमोटी अनि ओठ गिथोलेर हिँडि केहि पनि भनिन तै फुल्की पनि म भन्दा चार बर्ष जेठी भए पनि हर्लक्क तरुनी भएकी थिई चार कक्षा पढ्दा पढ्दै छोडेकी अरे लेख्न पढ्न जान्दथी राम्रो सँग ।

म उनीहरुको पछि पछि हिँडिरहेको थिएँ हात मुठी पारेर, अनि मैले लक्षीमा दिदि भनेर बोलाएँ पाकेका खनिम भएका भए दिनुस न भने किनकी त्यहि बहानामा दिदिसाँ मेरो काम फत्ते गर्नु थियो । छैन किस्न आज हेरन घाँस नपाएर चाहार्द चाहार्दे ढिलो भयो भोलि ल्याइदिम्ला है भन्नु भयो त्यति बेला सम्म फुल्की र ठूली आमा पचास पाइला अगाडि गएका थिए अनि फेरि डराई डराई लक्षीमा दिदि, मान बहादुर दाइले मलाई हजुरलाई दिन भनेर एउटा पानो पट्टयाएर दिनु भइच्च यि लिनुस भनेर दिएँ अनि लक्षीमा दिदि म जान्छु है भोलि खनिम ल्याइदिनुहोला है यहिँ कुरेर बस्छु भनेर तारिख  थमाएर हिँडे ।

गाममा छोरी नछुने भई भने ठूली भई यस्लाई बिहादान गर्नु पर्छ, भन्ने हुँदा हुँदै पनि उ बाझिदै थिई उमेर पच्चीस भन्दा बढिनै भएको थियो । जो आए पनि उस्लाई कालि मोटी भनेर बिहा गर्न मान्दैनथे । तर प्राकृतिक देन उभार सँग उ लडिरहेकी थिई, जवानीका आँधिबेहरी लाई पन्छाउँदै प्यासी जिवन बाँचिरहेकी थिई । उस्को पिडासँग आत्मसाथ गर्ने कोहि पनि थिएन न उस्को भनेको कसैले सुन्थे उस्को परिवारमा । एक दिन त अझ के भयो भने उस्को लागि हेर्न आएको केटाले पल्ला घरकी फुल्कीलाई बिहा गर्छु भनेर हौसियो झन उस्लाई सिस्नुपानीले झटारे हाने जस्तै भयो । जिवन अब कुइनेटाको चौतारीमा सुकेको पिपल जस्तै लाग्न थाल्यो । उता फुल्की भर्खर १३ बर्षकी भए पनि कुन केटाले म यस सँग बिहे गर्छु के भनेको के थियो कुत्कुतिएर भइँमा खुट्टै थिएन । लक्षीमा लाई रात भरी निद लागेन मान बहादुर ले यो खोस्टो मलाई किन दियो, कसैलाई देखाउन पनि भएन आफूले पढ्न जान्दिनथी ।

अनि मान बहादुरले आफूलाई गाडिएर हेरेको भारी बोक्न सघाएको सबै सँझिन थाली, एक दिन फुल्की ले भनेकी थिई के त्यो बन्जाडेका बाहनले मलाई हेरन दिदी "म तिमि बिना मर्छु, तिमिले हुन्छ भन्देउ, तिमि असाध्यै राम्री लाउछ मलाई बिन्ति छ जति गालि गरे पनि गर जति पिटेपनि सहन्छु बरु तर हुन्छ भन्देउ भनेर लेखेको थियो" अनि मैले उस्लाई बाँसका कपेटाले हानेर लखेटेँ अनि कान समाते पछि छोडिदिएँ भन्थि । शायद यो पनि यस्तै होला भनेर अड्कल काटेकी थिई । एकसुरमा अँगेनाको डिलमा बसेर आगो सज्दा सज्दै त्यो चिठि पनि बलेको उस्ले पत्तै पाइन पछि हात खोतलेर हेर्दा रित्तो हात अनि अँगेनामा चिठ्ठीको खरानी भएका पानामा अक्षरका डाम मात्र थिए ।

भोलिपल्ट कुइनेटामा च्युँडोमा हात राखेर म भन्दा पहिल्यै लक्षीमा दिदि आएर बस्नु भको रैच अनि मैले सिरुको फूललाई कानमा सुर्र्रर्रर पारेर झस्काएँ, धत् के गरेको बजिया भनेर म सँग हाँस्नु भयो । खै खनिम आज पनि छैन भन्दा दिदिले पटुका बाट एकमाना जति खोल्सामा धोइवरी ल्याउनु भाको रैछ अनि सबै मलाई दिनुभयो । दिदि तपाईले पनि खानुस न सबै मलाई किन हो र आज भातै खान नपर्नी भओ भन्दै म कपाकप खान थालेँ बाँदरले जस्तै ।

हेरन किस्न तिम्ले दिएको कागज त मैले ऐनामा आगो सज्दा भुलेर हरर्रै बल्यो के थियो कुन्नि थाहा छ, अनि माने दाइले मलाई केहि भनित्ते र भनेर दिदिले सोध्नु भयो तर मैले पनि लेख्न त लेखेँ तर के लेखेँ भन्ने त्यति थाहा थिएन । केहो र भनेर सोधेको तैँले अहिले बुझ्दैनस पछि आँफै बुझिहाल्छस् नि भनेर भन्नु भओ तर "लक्षिमा तिमि अस्ति रिसाएर हिँड्यौ म नराम्रो मान्छे" अनि के के हो मैले सँझिन दिदि, फेरि भनम मान बहादुर दाई लाई भन्दा दिदिले पर्दैन बरु लक्षिमा रिसाएकी हैनन अरे भन्दिनु है जे सोध्न मन लाग्छ सोधे हुन्छ भनेर भन्देउ है, म किन रिसाउनु र मान बहादुर दाई सँग हैन्तनि किस्न क्यारिच्चन र बिचरा मान बहादुर दाईले ल जौ तनि आज त्यहि भन्देउ है भन्ने खबर लिएर म बाटो लागेँ ।

आज मान बहादुर दाई उहि समयमा सधैँ तल हानिने मान्छे तर बाट उकालो आउँदै थिए मलाइ देखेछन क्यार प्mवाँ प्mवाँ गर्दै आएका थिए । अनि आलिमा बसेर लामो हकारो ताने अनि टोपी झिकेर पसिना पुछे । अनि किस्न आज एँसेलु खान जाने हैन त कि तिँजु खान जाने भन भनेर मलाइ रोजाए तर म ऐँसेलु रोजेँ अनि मज्जाले ऐँसेलु खान पाएँ पहिलो पटक, दाइले दिएको एक पसार मेरो अँजुली भरी हुन्थ्यो अनि म त्यस्लाई दुइ पसार बनाएर खान्थेँ । धेरै एैँसेलु खाएकाले म त्यसै झुम्म भएको थिएँ ।
अनि दाई तपाई ले हिजो दिनु भएको कागज थियो नि त्यो त लक्षीमा दिदिले आगो बाल्दा भुलेर हरर्रै भएच ।

दाइले झस्किँदै हो र भनेर सोधे, अनि हो दाई अनि अरु के भनिन त लक्षीमाले, मलाई गाली त गरिनन् अनि मैले दिदिले सोधेको कुरा मैले भनेको सबै कुरा दाई लाई बेलि बिस्तार लगाइदिए पछि बल्ल दाइको थुतुनोमा बसन्त ऋतु जस्तै मौसम फेरिए जस्तै भयो । टोपी फुकाले अनि टाउकोको कपाल मिलाए अनि टक्क मिलाएर टोपि लगाए अनि हतास पतास दारी पनि सुम्सुम्याए अनि फुरुक्क हुँदै कप्काएको कोदाली निकालेर काँधमा भिरे अनि फेरि भुइँमा राखे इष्टकोट खोले अनि झट्कारेर धुलो झारे अनि कमेजको धुलो पनि टौटक्याए अनि कान्लाको कुनामा गएर कछाड पनि टौटक्याए अनि मुजा मुजा पारेर मिलाएर कछाड लगाए अनि त्यस माथि इष्टकोट लगाए अनि सधैँ काँधमा राख्ने कोदाली आज हातैमा लिएर हिँड्न थालेँ अनि म हेरेको हेर्यै भएँ । अनि इष्टकोटको भित्रबाट रारा चाउचाउको खोल निकालेर त्यसबाट दुइ रुपैयाँ मलाइ दिए । म आज अचम्मै परेँ कि आज म परिक्षा नदिइकन पुरस्कार पाए जस्तो भयो अनि त्यो दुइ रुपैयाँ पनि कसरी मास्ने के मा खर्च गर्ने भनेर अर्को झमेला आइलाग्यो ।

मान बहादुर घरमा खासै श्री सम्पत्ति नभए पनि सानो घर थियो घरमा उनि एक्लै थिए । गाउँ भरिका सहयोगी थिए कसैको घरमा पुजा आजा पर्दा बिबाह ब्रतबन्ध मर्दा पर्दा सब भन्दा पहिला आउने उनै थिए तर उनको आफ्नै जिवनका लागि सोचिदिने कोहि थिएन । समयले घर्केको थियो जवानी असौज कार्तिकका खोल्सा जस्तै पातलिँदै थियो न कसैसँग खुलेर कुरा गर्न सक्थे शायद जिवनमा उनले आफ्नो कुरा भन्नै पाएनन । कति बिहामा जन्त गए होलान तर निस्तो खाजा जस्तै थियो सबै उनलाई पछिल्ला दिनहरुमा उनलाई पनि साथको अभाव महशुस भएको थियो ।

तोरीमा पानी लाउन जाँदा तलबाट घाँस लिएर आउँदै गरेकी लक्षीमा सँग मान बहादुरको जम्काभेट भयो । लक्षीमाले पनि मान बहादुर लाई टाढैबाट देखेकी थिइ उस्लाई जम्काभेट थिएन अनि कान्लोमा घाँसको भारी बिसाएर भनि आज अलि गारो भयो मान बहादुर सघाउँछौ भनेर कुरा शुरु गरिहाली उसलाई मान बहादुर सँग बोल्न केहि आइतबार थिएन । तिम्रा कागजका खोस्टाले म रातभरी निदाइन, यसै पढ्न आउन्न भन्नी तिमिलाई थाहा हुँदा फेरि किन पठाका हौ नि फिरी के लेखित्यौ त भनन त ।

तलबाट कान्छी काकी पनि घाँसको भारी लिएर आउँदै थिइन अनि नबिसाइकन सरासर हिँडिन अलि एकोहोरी स्वभावकी काकी जे काम गर्यो नसकिए सम्म गरेको गर्यै गर्थिन तर सुस्त मनस्थिति चाहिँ हैनन । हैन लक्षीमा अस्ति मैले तिमिलाई बोलाउन इशारा गरेर कति पटक ट्याक ट्याक गरे तिम्ले हेरिनौ नि अरु पनि थिए फेरि बोलाउँदा रिसाउली कि भनेर बोलाइन भनेर मान बहादुरले पोल खोल्न थाले कहिँ नभाको कहिल्यै लक्षिमा सँग नबोले जस्तै गरि । यहि बर्षामा खेतमा रोप्दा तल्ला गरामा खेत रोप्दै गरेकी लक्षीमा लाई उठेको बेलामा अगाडिबाट हिलोपानी छ्यापेर उस्का सबै लाजलाई लिछिप्प पार्दा पनि उस्ले केहि नभनी घोप्टो परेर रोपिरहेकी अनि मानबहादुर पनि रातो पिरो भएर आली लगाउन छोडेर कान्लो खन्न दौडेको धेरै भएकै थिएन र पनि उ कत्ति पनि रिसाएकी थिइन ।

मान बहादुर दाई हजुरले बोल्न मात्र के हो र मनमौजी अर्नु भएकै छ क्यार ढुँगाले हान्ने, हिलाले भिजाउने, गोरु चराउन जाँदा बाघ कराएको बहाना पारेर मलाई डराउन दिएर तिम्लाई नै झम्टन गएको के पो बाँकि छ र भन न । तर तिम्ले जे भने पनि जे गरे पनि म तिमि सँग कहिल्यै रिसाइच्चु भने भन क्यारे अनि केका लागि हो । यसै पनि मलाई गन्ने मान्छे को छन र कहाँ गई के खाई कि खाइन, सञ्चो आराम छ कि छैन को छन र ?

त्यस्तो हैन लक्षीमा अरु बेला म तिमिलाई जसरी ब्यबहार गर्थे भन्दा अल्लि अर्कै भएर हो के । अचेल मलाई पनि कसैको खाँचो भएको छु एक्लै भएँ भन्ने दिमाखमा आएको छ के त्यहि भअर हो, तिमि रिसाउँछौ कि फेरि एउटा कुरा भन्ने थिएँ, तिमिलाई मन नपरे मन परेन भन, तर मन नपरे पनि ठिकै छ तर नरिसाउ है त । लक्षीमाले टाउको हल्लाएर इशारा गरी ।

लक्षीमा भित्र पनि फुल्कीले भनेको चिठीको कुरा अनि उस्को कुराले त्यहि कथा दोहोर्याएको थियो । त्यहि भएर बोल्न छोडेर इशारा बदलिएकी थिई । उता मान बहादुर पनि के भनम भनेर मनमा उखरमाउले भइरहेको थियो मन त सेल रोटी पकाउने कराइमा सेल रोटी जस्तै घुमिरहेको अनि घुम्दा घुम्दै कतै रोटी टुक्रिन्छ कि भनेर फन्किरहेको थियो ।

खास्सा कुरो किन तिमि सँग किन लुकाउन परो र , हेर म गरिव छु नराम्रो छु पढेलेखेको पनि छैन, हेर्दा पनि बुढै जस्तै भएँ चालिस हुन अब चार पाँच बर्ष मात्र बाँकि छ । इलम भनेको यस्तै छ तिम्लाई पनि थाहा छ । अहिले सम्म म जे जस्तो भए पनि कसैको कुभलो अरेको छैन, सुबिस्ता हुने नै काम अर्या छु । तिमिलाई म कस्तो लाम्च भन त्यस पछि कुरो अगाडि बढाम्ला ।

लक्षीमाको अनुहारमा कहिल्यै नझुल्केको चाँदनी आज झुल्किएको थियो । धेरै समय सम्म नबोलिकन छेस्काले भुइँमा कोप्दै चित्र बनाउँदै बसिरही घरी बाटुलो घरी चेप्टो घरी चारकुने बनाउँदै बिगार्दे थिई । त्यत्तिबेला म पनि त्यहाँ पुगेँ अनि मान बहादुर दाई मलाई सोध्दै थियौ नि कोट्याई कोट्याइ आज त आफै सँगै भएचौ दइटै अब भन न आफै मलाई मात्रै । तर मलाई त उता गए खनिम महि मकै यता तिजु, ऐँसेलु अनि पिपलगेडी है दाई ।

खै किन हो दुबै जना दुइ किनार भएर बसेका थिए । म सँग कोहि बोलेका पनि थिएनन तर रिसाएका पनि थिएनन् दुबै जना कता हो कता हराएका थिए । साँच्चै तिम्ले नभन्नी नै हो त लक्षीमा त्यसो भयो म तिम्लाई राम्रो लाम्दो रैन्छ भन्नी जानेँ भओ मैले । ठिकै छ जहाँ जाला जोगी भातै खाला त हुम्ला नि म तर तिम्रो ख्याल अर्नी मान्छे हुम केरे म पनि तिम्ले मलाई चिनेकै रैन्च्यौ । दाइले यसो भनो भनेर नरिसाउ है ।

लक्षीमा दिदिले घाँसको भारी उठाउन डोको सोझो पार्नु भओ अनि मान बहादुर दाइले पछाडिबाट उठाइदिए अनि जुरुक्क उठ्नु भयो । मानबहादुर दाइले पनि अस्तिको जस्तै काँधमा कोदाली भिरेर लक्षीमा दिदिको अगाडि हिँडे म बिचमा थिएँ म प्यार प्यार कराइरहँदा पनि कोहि पनि बोलेनन् । म बिलखबन्दमा परेँ आज के भयो दुइ जनालाई भनेर अलमल्ल पनि परेँ । एक छिन उकालो हिँडे पछि समीको रुखको चौतारी आयो ।

दिदिले भारी बिसाउनु भयो मान बहादुर दाइले डोको अड्याएर मिलाई दिए । अनि लक्षीमा दिदिले फेरि एक माना खनिम आधा मलाई आधा मान बहादुर दाइलाई दिनु भयो । खनिम राख्न खोल्तीमा हात हाल्दा चुहिने भएकोले बेस्मारी हास्नु भयो र झोलामा हालिदिनु भयो । अनि मान बहादुर दाइले पनि आज त खल्तीका सप्पै एक पसार पिपलगेडी इष्टकोट टक्टक्याएर दिनु भयो ।

जे भए पनि यो किस्न नै हो मेरो साथी भनेर खुइय गरे अनि लक्षीमा पनि हुन हुन त भनेर लेघ्रो तान्दा नजानिँदो गरि मान बहादुर दाइसँग टाँसिएर मैले तिम्ले जे गर्दा पनि कहिले रिसाइछु र तिम्ले जे भने नि नमानेइ कहिले हुम र हाम्ले तिम्राअस्तो भन्न काँ सक्चम त नी माने दाई भनेर बल्ल पहिलो पटक आँखा कहिल्यै नछुट्ने गरि जुधे अनि हामि फेरि सुनसान भएर हिँड्यौँ । सिम्लेका गौँडाबाट लक्षीमा दिदि जानु भयो घरतिर अनि मान बहादुर दाइले मलाई कँधार कुट्टिी हालेर बोक्नु भयो उफ्रिँदै उफ्रिँदै ।

Friday, 9 March 2012

केरिज कटेज



केरिज कटेज नदीको किनारमा नदिको हावाले नभेट्टाउने गरि त्यहि नदीलाई नै खुच्चिङ गर्दै दक्षिण हानिएको नदिको पुर्व पट्टीको सानो प्रकृतिको टुटुल्कोमा टुप्लुक्क एउटा मात्रै छ शायद माझिदाइले आप्नी प्रेमिकालाई आँखा लगाउने मर्द लाई ढुँगाले हान्दा उठेको टुटुल्को जस्तो देखिन्छ शायद मेरो आँखामा । दिनभरी सकेजति काम गरेर अनि झल्याक झुलुक अनलाइन मा च्याटमा बसेर मौकाको फाइदा उठाउँदै प्याट्ट फुट्ट सन्देश पठाउँदै पनि भ्याइएकै हुन्छ । खास गरी म कम्तीमा पनि हप्ताको एक पटक सोमबार अफिस बाट छुटेर ठाउँ जहाँ साँझ सकिएको पत्तै हुँदैन । मेरो नियमित बस्ने ठाउँमा अर्के एक जना घमण्डी खालकी केटि देखेर मेरो रिसको पारो ताते पनि सम्हालिएर त्यहाँको मालिक्नी लाई मेरो सिट खाली गराइदिन भनेँ तर त्यो सँभव भएन त्यस पछि हातमा झोला लिएर उता पर पट्टीको माथि हावाले उडाएर सर्वाङ्ग बनाएको रित्तो कटेजमा हानिएँ । 

मालिक्नी टुप्लुकिइन सरी सर बसेको मान्छे लाई कसरी उठाउँ मैले अर्को कुनै ठाउँ रोजेर बस्नुहोला, सर ले म आउँदै छु भन्नु भएको भए पनि म सबै टेवलनै रिजर्व गरेर राखिदिन्थेँ । के मलाई कहिले काहिँ आउने बटुवा ठान्नु भएको हो तपाइँले हेलाँ गरेको मलाई मालिक देखि माली सम्म सबैलाई थाहा छ म हरेक सोमबार यहाँ आएकै हुन्छु, मलाई याद छ म बर्षको ५० वटा सोमबार यहाँ आएको छु । शायद अब यो क्रम भङ्ग पनि हुन सक्छ, मलाई यहिँ नै आउन पर्छ भनेर कस्ले तोकेको छ र भन्दै झर्किए पछि मालिक्नीले मेनेजरलाई, मेनेजरले वेटर क्याप्टेनलाई, वेटर क्याप्टेनले वेटरलाई, वेटरले जुनियर वेटरलाई अनि जुनियर वेटर चाहिँ अब कसलाई भन्ने भनेर जिल्ल पर्दै थियो । रेष्टुरेण्टमा बबाल भयो, हल्लिखल्ली पनि भयो अनि सबैले कारण पनि थाहा पाए कतिले मलाई घमण्डी भने कतिले त्यो केटिलाई तमीज नभएकी भने .... नमजा लाग्यो आफैलाई अनि साम्य पार्न आफै गएँ अनि सबै जना सँग सरि मागेँ अनि रेष्टुरेण्टको कर्नरमा अर्को टेबलमा गएर बसेँ, आप्नो ल्यापटप निकाले अनि इन्टरनेट ब्राउजिङ्ग गर्न थाले सानो म्यूजिक पनि लगाएँ मन्द मन्द । 

किरणलाई फोन लगाएर त्यहिँ बोलाएँ अनि म फेसबुकमा टहलिन थालेँ पहिले अरेञ्ज जुस मगाएँ किरणलाई पर्खिन एक छिनमै उ पनि आइपुग्यो अनि हामि सामान्य ड्रिक्स तिर पनि लाग्र्यौ स्न्याक्स पनि आयो अनि फेसबुक, जीमेल इत्यादि बन्द ध्यान जति अगाडि आयो टेवलमा खानपिन थपिँदै जाँदा पर्दा पनि धमिलो हुँदै गयो । मैले सभ्यताको यादमा बिताएका दिनहरु, सँझना अनि सम्बन्ध प्रबृत्तिका श्रृँखलाहरु भनेर भ्याएपछि उ पनि हौसियो । 

निशान दाई हजुरको त जन्म जन्मको अटूट कथा छ तर खै मेरो जिन्दगी त यस्तै लोडसेडिङ्ग जस्तै कहिले झलमल्ल हुने कहिले झ्याप्प निभ्ने जस्तो भाछ दाई तर ठिकै छ नि जिवनमा रमाइलो भइराख्या छ यस्तै रुपमा लिनु पर्ला नि दाई । थाहा छ दाई एक महिना अगाडि यहि कटेजमा एउटी केटी सँग मेरो भेट भयो । मोरि त कस्ती घमण्डी रैछ भने मलाई पनि त्राही त्राही पारी, मान्नै पर्छ बा अजिव हो केटि त ।

मैले थपे त्यसो भए के भयो भन न त किरण यसो हाम्ले पनि सुनौ अजिवकी केटिको कथा हाम्रो किरण लाई पनि हराउन खोज्ने कस्ति रहिछ मैयाँ थाहा पाउन पर्यो नि, के थाहा फेरि यहिँ जम्का भेटपो हुन्छ कि फेरि । 

त्यसो भए सुन्नुस दाजु, कुरो आज भन्दा ठ्याक्कै १५ दिन पहिला हो म यहि टेबलमा बसेको थिएँ अनि ल्यापटपमा गेम खेलिरहेको थिएँ मेरो सबै ध्यान गेम तिर मस्त थियो । त्यत्तिकैमा एक्युज मि भन्दै मेरी पडोसीले मेरो ल्यापटपको ध्यान आप्mनो पामटप तिर तानी शायद त्यतिबेला सम्म मैले उस्लाई राम्रो सँग अनुहारमा हेरेको पनि थिइन । उस्को गगल्समा पहिला आफैलाई दुइटा देखेँ, सलक्क परेको कपाल शायद स्ट्रेट गरेको होला, कानमा पहिरन रँगमा सुहाउने गहना, बाटुलो र पोटिलो अनुहार, मध्यम आकारका ओठमा हल्का पिँक कलरको लिपिष्टीक लाई सुहाउन हरियो भित्री कपडा माथि पिँक कलरकै टप अनि कटनको पाइण्टमा देख्दा लाग्थ्यो न्वारनको बल लगाएर चिटिक्क भएकी हो आज जस्तो लाग्यो । मैले हेरि राखेँ उस्को गगल्समा प्वालै पर्ने गरि जस्ले उस्को गगल्स निकाल्न बाध्य पारोस । 

के खाउँला जस्तै हेरेको मलाई भनेर भन्दा बल्ल मेरो आँखा उस्को आँखामा जुध्यो तैपनि घुरेर हेरिरहेँ, तिमीसँग बाट आँखा हटाउनै मन लागेन एक छिन हेरिरहन मन लाग्यो, साँच्चै हेर्न मन लाग्यो इश्वरले तिमिलाई रचना गर्दाका रणसुत्रहरु फेला पार्न अझै गहिरिएर हेर्न मन लाग्यो । सरी सरी म पनि कस्तो सरी मैले हजुरलाई तिमि भनेर सम्बोधन गरेकोमा भन्दै थक्थकिएँ म । 

उस्कोमा इटालियन डिश आयो म चाहिँ फुक्कै थिएँ त्यतिबेलासम्म । वेटरलार्ई मैले २ ग्लास वाइन लिन को लागि अह्राएँ अनि त्यसमा स्न्याक्सहरु पनि मगाएँ त्यसो त म फर्मल डिश भन्दा पनि यस्तै जँकफूड, स्न्याक्स खाएरै बस्ने बानी परेको दाजुलाई थाहै छ । उ फेरि उत्ताउलिई हैन अर्को त कोहि देख्दिन नि, कसैको पर्खाइमा हो तपाई, हैन भने मैले । एक छिन गमे जस्तो गरि टाउको हल्लाई केहि सँझे जस्तो गरि लाग्थ्यो उस्को नक्शा फेरिइराखेको थियो । मैले हजुरको लागि समेत मगाएको हो साँझका पाहुना भगवान सरह हुन्छन भन्छन त्यहि भएर भन्दै मैले आफ्नै कुरामा मसाज गरेँ । मेरो अर्डरको खाना पनि आयो वाइन पनि आयो अनि एउटा ग्लास उचालेर उसलाई इशारा गरेँ लिनको लागि र उ पनि सँकोच नमानिकन मेरो हातबाट लिई र टेबलमा नराखिकन चियर्स गरे पछि चुस्की शुरु भयो । वाइनको ग्लास हस्तान्तरण गर्दा हाम्रो पहिलो सान्दर्भिक स्पर्श थियो । 

मैले कहिले पनि मेरा खासगरि केटी साथीहरुले के खानु हुन्छ भनेर सोधेर मलाई पनि ल्याइदिएर मात्र आफूले खाने गर्दथे आज नयाँ अनुभव भयो हजुर सँग साच्चै केटि साथीहरु हजुर जस्ता हुनु पर्ने है भन्दै बिच्काउन थालेँ । सरी भने फेरि कपाकप खान थाली लगत्तै अर्को एक बोतल वाइन मागी र पहिले आप्mनो ग्लास मा राखी अनि खान उठाएको ग्लास पनि टेवलमा राखेर मेरो ग्लासमा पनि खन्याएर मलाई खानको लागि इशारा गरि । मैले आफैले एक वोतल वाइन खाए पनि खासै भूत चढ्दैनथ्यो मलाई । अलि अलि नशामा चल्मलाउन थाले पछि म बादलसँग खेल्न थालेँ, आज कटेजमा खासै ग्राहकहरु थिएनन र भएका पनि जाँदै थिए खाली हुँदै थियो । 

तिमिले बिबाह गर्यौ भनेर फेरि तिमि भनेरै सम्बोधन गरेँ तपाई भन्दा कुनै मजानै आएन । यसको हजुरलाई कुनै प्रयोजन छ र भनेर कस्तो अडबाङ्गे प्रश्न निल्नु न ओकेल्नु जस्तो भयो झन रिस उठ्यो म पनि त्यस भन्दा पनि बाङ्गो हुने निधो गरेँ । हेर्दा तिमि यति राम्री छौ चिटिक्क परेको जिउडाल छ मस्त जवानी छ कतैबाट असुरक्षा महशूस गर्दिनौ तिमि भन्दा उस्ले ओठ लेप्र्याइ अनि हाँसी । शायद केटामान्छेहरु बढि असुरक्षित छन केटि मान्छे भन्दा आफूलाई त्यस्तो बलवान ठान्नु भएको छ ति जमाना गए हजुर .......

मलाई लाग्यो अब सामान्य केटि होइन जब्बर छ भन्ने लाग्यो । तिमिले आफैले आफैलाई एैनामा हेर्दा लोभ लाग्दैन खेलौँ रमाउँ नभन्दै किन नलाग्नु तर मानिसको जात आप्mनो भन्दा अर्काको राम्रो देख्ने इष्र्यालु जात, त्यसो त बिबाह भएका केटा मानिसहरु अरुका श्रीमतिहरु को राम्रो छ भन्ने नजिक हुने सम्बन्ध सम्पर्क राख्ने त छँदै छ नि हा हा हा हा अनि म मान्छे हैन र म बाँदर्नी जस्ती छु र म मेरो पुच्छर छ र अनि अनुहार भरि भुत्ला छन र केटाहरुले जिस्क्याएको सिठी बजाएको अनि पिछा गर्दा म मा पनि केहि रहेछ भन्ने लाग्दछ कहिलेकाहिँ । म पो पानी पानी भएँ मैले भन्ने कुरा उसैले पहिल्यै भनिदिई । 

तिमिलाई केटा मानिसको कुन पक्ष मन पर्छ भनेर सोध्दा उस्ले सिधै आँखा मन पर्छ त्यसमा पनि इच्छुक आँखा मन पर्छ, अनि इच्छुक आँखा भनेको के हो नि भन्दा उ मस्त हाँसि शायद केटा भएर जन्मिने सबैलाई थाहा हुने कुरा हो खै कुरा बुझेको केटा हैन कि क्या हो भनेर सके सम्मको ठट्टा गरि । 

मैले तिम्रो आँखामा इच्छा देखेको छैन तिम्रा आँखाहरु उदास छन, थाहा छ चिसो दाउरामा मट्टितेल हालेर बाले पनि त्यसमा धुवाँ आउन छाड्दैन अनि मट्टितेल सकिएपछि निभ्छ हो तिमि पनि त्यस्तै देख्छु मैले किन यति धेरै ओसिएकि छौ कि तिमी शायद तिमिलाई त जेष्ठको प्रचण्ड गर्मीमा एक हप्ता सुकाए पनि तिमिलाई तताउन एकदम गारो जस्तो लाग्छ मलाई त । तिम्रो हार्डवयर यति राम्रो छ कि म तिम्रो बारेमा शब्दमा ब्याख्या गर्नै सक्दिन तर त्यसको सप्टवयर तिम्रो हार्डवयर सँग मिल्दो जुल्दो छैन त्यहि भएर तिमि आफैलाई पनि आफै सँग आनन्द लिन सकेको छैन पक्कै पनि । 

तिम्रा आँखा तिम्रो केश राशी तिम्रो गोल अनुहार को नक्शा अनि नशै नशामा मदमस्त तिम्रा अधरहरुको त म के बयान गरुँ । यो जगतमा जहाँ पनि सुन्दरता छ त्यो आँखामा भर पर्ने कुरा हो तर तिम्रो सुन्दरता अजिव छ तिमिले मलाई नाम भनिनौ र पनि अलि गारो भयो तर केहि छैन भन्दै मैले मेरो हात उत्तानो पारेर थापेँ अनि उस्ले के मागेको म सँग भनेर सोधि मैले पनि थपेँ निशान दाजु त्यहि भएर मैले पहिले भनेँ नि तिमि सँग यौवन छ तर जवानी छैन त्यहि भएर तिमि चिसो छौ, तिमिले मेरो इशारा बुझ्नै सकिनौ मैले तिम्रो हात मागेको हो छुनको लागि यस्ले पनि तिमि भित्रको चिसो पनलाई तताउने काम गर्दछ । त्यस पछि उस्ले बिस्तारै उस्को हात मलाई दिई, मैले पनि उस्को हात सुम्सुम्याएर उसलाई तरङ्गित पार्ने खोजेँ, उस्का सुकेका छहराहरुलाई जिवन दिने प्रयासको थालनी गरेँ । लाग्यो गाग्री रित्तो भयो भने धेरै बज्छ भन्ने कुरा मैले उसमा पाएँ । 

दाजु त्यस पछि त भन्दिन भो त्यत्ति मात्र भन्छु मैले उसलाई आँशिक रुपमा तताउन सफल भएँ र पनि त्यो काम मेरो कार्यसूचीमा सुरक्षित छ र अझै पनि उस्को ब्यबहार किन त्यस्तो भयो भन्ने कुराको पनि म अनुसन्धान गर्दै छु दाई तर के गर्नु तपाईको भाई भएर पनि म आज यस्तो जतै भयो तर मलाई आशा छ दाइले मलाई गलत सँझिनु हुन्न । 

दुइ
अगाडि स्याम्पेन भन्ने अँग्रजी वाइनको वोतल आवाज नआउने गरि वेटरले सुस्तरी राखेर गयो अनि कति कति खेपमा टेबलमा भरा भरी बनायो । स्न्याक्सहरु, सलादहरु, चिसो तातो पानिको जारहरु, मिनी भ्याकुममा धेरैबेर राख्न मिल्ने गरि आइस क्युवहरु अनि पिँक कलरको एष्ट्रे, त्यसमा पनि केटि मान्छेको स्वादिलो तस्वीर राखेर प्रिण्ट गरेको । सिगरेटमा धुवाँ भन्दा पहिले एष्ट्रेबाट नियाल्न शुरु गरेँ मैले । हैन मानिसहरुले पनि केटि मान्छेलाई कति सिँगार्न सकेका, पातलो कपडामा पारदर्शी तस्वीर एष्ट्रेमा राखेर के ग्राहकलाई मादक बनाउन खोजेका होलान ब्यापार बढाउन खोजेका होलान भन्ने लाग्यो ।

मैले एक दिन सभ्यतालाई जिस्क्याएर सर्लक्क परेको केटा देख्दा फेरि कतै मलाई बिर्सिने हौ कि तिमि भन्दा रिसाएको सिँह जस्तै झम्टिन आएको बिर्सेको थिइन मैले । म सभ्यता प्रति प्रतिबद्ध छु उसको मायाको सहारामा नै मेरो जिवनको खोलामा पानी बगेको छ, मैले पोष्टमा जे कमेण्ट गरे पनि जे अपलोड गरेपनि उस्को स्थानको कुनै प्रतिस्थापन छैन म सँग सोच्न पनि सक्दिन ।

फेसबुक च्याटमा अनलाइन म्यासेज आएर ल्यापटपको बटममा ट्राफिकको जस्तो रातो बत्ति बलिरहेको रहेछ । मेरो अष्ट्रेलियाकी नेपाली साथीले हाई निशान के छ तिम्रो खबर भनेर आप्mनै राजीनामा गरेको कित्ता जस्तै भन्दै थिई, तिम्रो के छ भन, कत्तिको झकास छ त तिम्रो जिन्दगी भने अनि किशोर लाई फोन लगाएँ आज अस्तिको कथाको अँश पुरा गर्छु भनेको थियो तर न उस्को फोन लाग्यो न अनलाइन मा भेटियो तै पनि म केरिज कटेज मा छु भनेर म्यासेज पोष्ट गरिदिएँ ।

किशोरका लागि मगाएको स्न्याक्सहरु समेत मैले नै रित्याएँ तर स्याम्पियन भने आधा बोतल बाँकि नै थियो अनि ग्लासभरी राखेर निस्तै चुस्की लाउने निधो गरेँ । लाग्यो शितन त फेसबुक छँदै छ नि कमसेकम अनलाइन मा एक दर्जन भन्दा बढि साथी हरु चौबिसै घण्टा उठेर हेरे पनि टुट्दैनन । सभ्यतालाई फोन लगाएँ मेरो गुन के थियो कि जति वाइन वा अन्य ह्विस्की हरु खाए पनि बोलि चाहि बिग्रिदैनथ्यो ।

सभ्यता, मिस यु यार हेरन, म केरिज कटेजमा

तिम्रै यादमा बसेर टोलाई रहेछु, तिमीलाई आप्नै बाहुपासमा बोलाई रहेछु
तर के गर्ने र खै आफू त जहिले नि बुङ्गो तिमि आउने दिनको दिन सँझेर लोलाई रहेछु ,

हे हे हे भन्दै ठट्टा गरेँ, उता बाट केहि पनि आवाज आएन, एक छिन म पनि बोलिन, अनि एक्कासि फोन मै कुरुरुरुरुरुरु गर्न थाली, अनि काली मलाई नझस्का न यार फेरि मलाई सातो गयो र फर्केन भने जिन्दगी भरि छेरपाटी लाग्ला अनि सम्हालेर बस्नु पर्ला नि भन्दै ठट्टा गरेँ । कस्ती छ भने जति ठट्टा गरेनि हास्दिन भन्या तर फेरि कतिबेलै रिसाउन्न फेरि भाउन्न हुने कुरा भन्दा बाहेक ।

बु......ढा भन्छे २ मिनेट पछि कति राम्रो शब्द उस्ले भन्दा, मनमनै म पनि रावणको बायुपँखीमा उडे जस्तै हुन्छ अनि कहाँ हराको हजुर भनेर नारीको असली रुप झल्काउँछे । अरे म कहाँ हराउँछु तँलाई थाहा छैन हे हे हे मेरो चुण्टी पखन तँलाई एक पटक भेटन मात्र त पाउँ चिरीप्प पारेर छोड्दै छोड्थिन के गर्नु र भन्दा पाखै हल्लिने गरि हाँसि शायद यो खुशी मेरो जिवनमा यसरी नै छाइरहोस भन्ने कामना पनि गरेँ । अनि पुरानो गित सुनाएर ठट्टा गरेँ

तिम्रो बाउलाई सलाम छ आमालाई नमस्ते अरुलाई सोध्या छ भन्दिनु हे हे हे ......

साँच्चै तिमि कस्तो भाछौ आइ रियल्ली मिस यु यार काली तर समय सँग को सक्छ र जित्न । मलाइ नसुनाउनुस यो कुरा हजुरको पर्खाइले मेरो सबै दिनचर्या समेत खलबल भएको छ तैपनि यसलाई मैले मिलाएर हिँडेकै छु । म त बढेकी छोरी हुँ, घरमा कुरा चलाई रहन्छन, तर मैले अझै चार पाँच बर्ष त कुरै नगर्नुस भनेर टार्दै आएकी छु तर मनमा कता कता डर त लाइहाल्छ नि हजुर तैपनि हजुरको पढाइ नसकिउञ्जेल म यताको सबै चाँजो पाँजो मिलाउँछु चिन्ता लिनु पर्देन भनेर मलाइ समेत अभिभावकत्व दिन्थी । अनि म फोन राख्छु है आप्mनो स्वास्थ्यको ख्याल गर्नु भन्दै मेरा श्रवण बाट टाढा भई ।

एष्ट्रेमा आधि भएको सिगरेटबाट पुत्पुताउदै गरेको धुवाँको बयेली मेरै नाकमा ठोक्किँदै थियो अनि एउटा लाआआमो सर्को तानेर ठोसिदिएँ । अब त वाइन पनि झन निस्तै भयो अनि वेटरलाई थप स्न्याक्सको लागि फेरि अह्राएँ । मैले सभ्यता सँग रक्सि सिगरेट केहि पनि खान्न, बोतलको त कोल्ड डिँक्स त के पानी पनि खान डर लाग्छ भनेर ढाँटेको थिएँ । तर शायद उसैको अभाव पुरा गर्न म झन लीन थिएँ तलतल भएर होइन कि अभाव मेटाउन मात्र हो भन्ने पनि मलाई बिश्वास थियो ।


शायद मैले तिमि जस्तो खुलेर कुरा गर्ने साथी नै पाएको छैन, रियल्ली मिस यु यार, भन्दै रिप्लाई दिई केहि समय पछि । माने अचेलको जमाना हल्का फुल्का भइसकेको छ र केटि हरु अझै खुला भएका छन, मैले बचाएर राखेको आप्नो नेपाली सभ्यता अनि सँस्कारलाई अहिलेको पुस्ताले मर्लक्कै भुलेको छ । अनि म कसरी तिमिलाई साथ सक्छु र अहिले म त नेपालमा छु तिमि सिड्नीमा छौ शायद एकै ठाउँमा भएको भए भन्दै मेरो रिप्लाई दिएँ । शायद निशान म यत्रो शहरमा एक्लै भएकी छु, शायद साथ दिने साथीहरु पनि छैनन, सबै एक क्षणको स्वार्थ मात्र हेर्छन, न मन पर्ने कुरा गर्छन, न चित्त बुझ्ने ब्यबहार गर्छन, आजीत भइसकेँ जीवन देखि ।

किशोरले फोन गरेको रहेछ, रिसिभ गरेँ सरी दाई म त मेरो बाइक बनाउन दिएको केहि समय लाग्यो के गरौँ दाजु आइ एम रियल्ली सरी दाई के म आउँ सरासर आए पनि आधा घण्टा जती लाग्ला म के गरु दाई आज्ञा होस भन्दै थियो भैगो किशोर ठिकै छ नि तिमि आज नआऊ अबेला राती हुन्छ, घर जाउ आराम गर अर्को दिन बसौँला नि के भयो र सरी भन्नु पर्देन नि यस्तो त भैहाल्छ नि कहिलेकाहिँ भनेर उस्को बोझलाई हल्का तुल्याएँ ।

बरु दाई मैले भनेकी त्यो केटि पनि आज त्यहिँ आएको हुनु पर्छ उसलाई चिन्न लाई उस्को गलामा डायमण्डको सिक्रिमा गौतम बुद्धको आकृतिको मणिको लकेट छ पिँक कलरको शायद तपाइँलाई चिन्न सजिलो होला । अनि तिम्रो पैत्रिक सम्पत्तिमा मैले कुरा गर्नु र हेहेहेहे भन्दै थिएँ । कुरा गर्न पनि के को सम्पत्ति हो र मेरो पनि के हो र दाजु एक पटक कुरा गरि त हेर्नुस अनि मलाई भन्नु होला । ए हो गरौँ त कुरा हेरौँ प्रयास गर्छु उस्को फेसबुक आइ डि छ कि छैन भन्दा छ Pink Sareen मा सर्च गर्नुस अनि पिँक कलरको लकेट अनि ग्रिन सर्टमा देखि हाल्नु हुन्छ नि अनि सुन्नु टाइमलाइन को कभर पेजमा यहि केरिज कटेजको सन सेटको फोटो छ ।

नभन्दै मैले पनि उस्को नाममा फ्रेण्डसिप रिक्ेस्ट पठाएँ अनि उत्तिखेरै एसेप्ट भएर आइहाल्यो । आउन नपाउँदै .... "हाइ गाइज हाउ यू मिट मि" अनि मैले एनी प्रोब्लम भनेर उस्लाई रिप्लाई दिएँ

"नो नो प्लीज डन्ट वोरी डियर निशान ह्वेर आर यू

मैले पनि वीथ यू हा हा हा भन्ने रिप्लाई पठाएँ

नो नट इट इज नट पोशिवल हा हा एनी वे यू आर सो स्वीट एण्ड योङ्ग फनी स्मार्ट पर्सन आइ लाइक यू, आई एक्सपेक्ट टु मिट वीद यू

साँच्चै हो भेट्ने दम छ हा हा हा भनि दिएँ ला जे सुकै होला भनेर अनि उताबाट अर्को च्याट म्यासेज आयो पहिले भन्नुस तपाई कहाँ हुनु हुन्छ म त्यहिँ आइपुग्छु को जवाफमा मैले हेहे द लाष्ट सिट टु द लेफ्ट कर्नर, अ सिँगल पर्सन वीथ ह्वाइट ल्यापटप हा हा हा त्यस्को रिप्लाइमा वाआआऊ आइ वील बी दियर प्लीज थ्याँक्स ।

ल्यापटप लिएर वेटर आयो अनि टक टक टक आवाज पनि उदाउदो आवाजमा म तिर आयो अनि रोकियो म पनि रोकिएँ उस्को पहिलो रिसिप्सन कस्तो हुँदो रैछ भनेर । एक्स्क्युज मी निशान जी भन्दै पछि बाट आएको आवाज लाई मैले पनि जुरुक्क उठेर नो थ्याँकस यू आर हर्टली वेलकम हियर प्लीज हेभ सिट भनेर अँग्रेजीमै बस्न इशारा गरेँ । मेरो अपोजिट साइडमा बसेर म तिर टोलाउन थाली लाग्थ्यो उस्को र मेरो सम्बन्ध पहिले देखि नै थियो ।

निशान जी अरु केहि थप्नुहुन्छ मेरो तर्फबाट, नयाँ साथी भेटिएको खुशियालीमा,

होइन नो थ्याँक्स् सरीन, मलाई पनि घर जानु पर्छ आराम गरेर फेरि भोलिका लागि रिफ्रेस हुनु परेन बरु यहाँको केहि बाँकि भएको भए म साथ दिउँला नि आज नयाँ साथी सँग भेट भएको छ सरीन, शायद फेसबुक मा भेट भएको एक मिनेटमै भौतिक रुपमा भेट हुने शायद हामी नै पहिलो होला है सरीन ।

तपाईँ एकदम ह्याण्डसम पुरुष मान्छे म अहिले सम्म देखेको थिइन अनि तपाईको म्यारिज भयो भन्ने सरीनको च्याट बक्समा आयो अरे सरिन के हो म सँग आमने सामने गर्ने हिम्मत छैन कि क्याहो दम त अहिल्यै झरिसक्यो क्या हो सरीन हा हा हा मैले पनि रिप्लाई दिएँ नाउ आइ एम वीथ यू नीयर बाई अ फिट डिस्टान्स, नाउ इट्स टाइम्स टु स्लीपी बाई सी यू एगेन गुड नाइट सरिन नाइस टु मिट यू बाई भनेर फेसबुक लग अफ गरेँ उस्ले टाइप गर्न लागेको प्रष्टै देखिएको भए पनि मैले डिस्कनेक्ट गर्न हतार गरेँ ।

बब्बाल मान्छे यार निशान जी अफ् भैदिएको यत्ति छिट्टै, क्या बोर गराइदिनु भयो नि भन्दै चाम्रिँदै थिइ । ठ्याक्कै किशोरले बर्णन गरे जस्तै पहिरन मा सजिएकी थिई तर आज उस्को ओठमा लिपिष्टीक भने थिएन । स्ट्रेट गरेको कपाल माथी घरी घरि तल झर्ने गगल्स लगाएकी, कपडा पनि साँघुरा लगाएर त्यस्तै उत्तेजक मुडमा थिई । मलाई अडिनु पनि थियो अनि उ भित्र भएको चिसोको रहस्य पत्ता लगाउनु थियो ।

फेसबुकमै कुरा गरेर हुने भए उताबाटै च्याटिङ्ग गरेको भए भइहाल्थ्यो नि, यसो कुराकानी गर्ने भलाकुसारी गर्ने चिनाजानी गर्ने सञ्चोबिसञ्चो सोध्ने खोई मैले भनेँ

मैले हजुरलाई जुन रुपमा सोचेको थिएँ तपाईँ निकै फरक हुनु हुँदो रहेछ भौतिक रुपमा पनि प्रोफाइलमा पनि । अनि यो सभ्यता हजुरको जिवन साथी एक दम राम्रो लाग्यो मलाई, तपाइँ आप्mनो अडानमा अनि मायामा प्रष्ट हुनु हुन्छ भन्ने थाहा भयो । अनि फेरि बिभिन्न सुन्दर केटिहरुका फोटाहरुको कलेक्शन किन नि सभ्यता ले गालि गर्दिनन पख्नुस न म भन्दिन्छु सभ्यतालाई । यता म पट्टि आउनुस यो के नि फेरि सपना रे रुमानी रे अनि अर्को कथामा बोच रसीयन केटी समुन्द्रको किनार रे के के सोच्न सक्नुहुन्छ तपाई, झन कन्प्mयुज बनाउनु भयो मलाइ हजुरले म के सोचुँ ।

हेर हेर यो सरिन तिमि त साँच्चे लाटी रैछौ यार के भनेको सभ्यतालाई सबै कुरा थाहा छ उस्लाई म प्रति बिश्वास छ मलाइ उस प्रति बिश्वास छ नत्र त दुइ जनाको मात्र सँसार हुन पर्यो नि । के भनेकोे नत्र तिमिसँग पनि म नबोलुँ यो त मानवीय सम्बन्धको बिशेषता हो सरिन तिमी शायद अझै आधुनिक केटि देखिन्छ्यौ खै कुरा बुझेको । तिम्रो सोच्ने कुरामा मैले लगाम लगाउन मिल्दैन नि मलाई राम्रो नराम्रो दुबै जे पनि सोच्न सक्छौ । यो तिम्रो स्वन्त्रता हो । हुन त तिमि देखिन्छौ पनि त्यस्तै शायद चाहिने भन्दा बढि स्वतन्त्र छौ । तर सरिन म तिमिलाई तिम्रो साथीको नाताले भन्छु स्वतन्त्र हुन सोच स्वतन्त्र हुनु पर्दछ मन भरी बाँधिएर नाँगै हिडेर पनि कोहि स्वतन्त्र हुँदैन । बिचार अनि दृष्टिकोण स्वतन्त्र भयो भने बल्ल सार्थक स्वन्त्रता मिल्दछ नपत्याए मलाई हेरन ।

उ बोल्नै सकिन र मेरो काखमा हाम फालेर रुन थाली मलाई झन उखुम हुन थाल्यो तर मेरो मनले समयलाई पर्खन आदेश दियो यसलाई यस्ले रुन सके जनि रुन देउ, आँखाबाट आँशु बाहिर जानु भनेको पनि जीवनको एउटा उपचार हो । कोहि मान्छे रुन नपाएर आँशु पोख्न नपाएर बिरामी हुन्छन । बास्तवमा धित खोलेर हाँस्ने र डाँको छोडेर रुने मानिसको मनको मैलो अनि अल्झिएको खुशी दुबै बाहिर आउँछ अनि मानिस शायद नयाँ परिस्थितिमा पनि पुग्न सक्छ जे होस मनोबैज्ञानिक रुपमा एउटा उपचार नै हो भन्छु म । शायद जिवनमा धेरै दुखहरु रुन नपाएर धेरै समय सम्म बल्झिरहे । यसलाई पनि म रुन दिन्छु अनि यस भित्रको चिसो बाहिर निकाल्छु ।

शायद निशान जी जिवनमा पहिलो पटक यसरी रुन पाएँ त्यहि पनि हजुरको काखमा, मलाई थाहा छैन म यो गल्ती वा सहि के गर्दै छु तर मैले ममा भएको बर्षौदेखिको बल्झिएको दुखको गाँठो फुकाउन सफल भएको छु । मैले हजुरको अन्य केहि कुराको अपेक्षा गरेको होइन निशान जी मैले मेरो जिवनमा एउटा छायाँ खोजेको हुँ साँच्चै म हजुरको कटाको पात्र बोचको स्थितिमा पुगेको छु, जीवनमा पहिलो पटक प्रभाव पार्ने पुरुष तपाइँ नै हो र पनि मेरो हजुर प्रति कुनै गुनासो छैन । एउटा साथीको नाता रहिरहोस म सँग कस्तो बेलामा मलाई हजुरले फ्रेण्डसीप एड गर्नु भयो मैले एसेप्ट गरेँ अनि हाम्रो भेट भयो धन्य छ मेरो भगवान !

लौ लौ त्यत्रो पगरी नगुथाउ है फेरि मलाई एक छिनमा मानिस कहाँ चिनिन्छ र सरिन मैले तिमिलाई बास्तविकता पो भनेको हो, तर एउटा कुरा केहो भने अत्याधिक खुशी वा रुवाई परिवर्तनका सँकेत हुन शायद तिमिमा पनि केहि परिवर्तन हुनु भएको हुनु पर्दछ । म तिमि परिवर्तन भएको हेर्न चाहन्छु, तिम्रो घरजम भएको सानो परिवार सुखी परिवार भएको देख्न चाहन्छु सरिन रियल्ली । तर मलाई यो काममा तिम्रो साथ चाहिन्छ अनि समर्थन चाहिन्छ । तर तिमि यत्ति छिट्टै हाम फालेर रोइहालौला भन्ने चाहिँ सोचेकै थिइन मैले ।

शायद तपाईँ सँग नभेटेको भए म कहिल्यै यसरी रुन पाउन्नथे होला, यो मेरो अवसर अनि भाग्य पनि दुबै हो ।

उस्को फोनमा कल आइरहेको थियो किशोरको नम्बर लाई उस्ले एक नम्बर फन्टुस भनेर सेभ गरेकी रहिछ, कौतुहलता जाग्यो कसरी बोल्दी रहिछ, भाइ किशोर सँग भनेर । म आज अलि ब्यस्त छु फन्टुस मान्छे तर तपाईले मसँग भनेको कुरा हरुको अर्थ बल्ल थाहा भएको छ मलाई शायद आजको दिन मेरो लागि कोशेढुँगा सावित भएको छ बाँकि कुरा पछि गरौँला बाइ भनेर राखी दिई ।

को सँग कुरा गरेको नाम पनि कस्तो एक नम्बर फन्टुस तिमिलाई धेरै नै हैरान पार्छ कि क्या हो भन्दा हैन निशान जी म घमण्डी मान्छे नाम नसोधेर जहिले पनि फण्टुस भन्थे तर आज थाहा भयो को फण्टुस रहेछ भनेर भनेर मलाई नशालु कर्के नजरले हेरी लाग्थ्यो म उस्कै पोइ हुँ जस्तो गरि ।




Tuesday, 21 February 2012






अनौठो सफर 

बिहानै कफि अनि हल्का नास्ता गरेर टहलिन मन लाग्यो । तैपनि आइटिनरी मा औपचारिक कुनै कार्यक्रम थिएन मतलब सप्ताहान्त थियो । तैपनि हामि एक हप्ताका लागि बङ्गलादेशको चटगाउँमा मानव सँशाधन बिकास सम्बन्धि तालिमका लागि बिभिन्न सात वटा देश बाट भेला भएका ब्बस्थापकीय तहका कर्मचारी हरु थियौँ । खास आज साथीहरु सँग भन्दा पनि एक्लै टहलिन भन्दा पनि एक्लै हिँड्न मन लागेको थियो । 

म सँगै रुसबाट आएकी मोनास्की वोच पनि म सँगै जान्छु भनेर जिकीर गरि हुन पनि उ कसैसँग पनि मिल्न सक्दिनथी उ कस्ती कस्ती जस्ती लाग्दथ्यो मलाइ पनि अनि खासै उसँग झ्याम्मिन चाहन्नथेँ । म मेरो रुममै गएरै आराम गर्छु तिमी घुम्न जाउ भनेँ तैपनि मानीन म तिमी जहाँ जान्छौ आज म तिमीलाई छोड्दिन भन्थी अनि कता कता डर पनि लाग्दथ्यो । सोचेँ यो जावी केटिले मलाई के पो गर्ली र लड्नै परे पनि समातैरै पनि यसलाई म ठिक पारिहाल्छु नि भनेँ अनि अगाडि हिँड भनेर सँकेत गरेँ म आज तिमिसँगै दिनभर घुम्छु के भनेको थिएँ उस्ले मेरो दाहिने गालामा आधा मिनेट सम्म चुम्वन गरि मलाई त सहि नसक्नु भयो अनि भने यो के गरेको तिमीले मैले तिमिबाट यस्तो अपेक्षा गरेको होइन वोच भनेर न्याच्चिए पछि शायद उस्ले गल्तिको महशूस भएछ क्यार अनि सरि भन्दै कान समाति अनि प्रमिश भन्दै फेरि मेरो हात समातेर उस्को मनमाथि लगेर राखि मलाई अहिले त झन रिस भन्दा पनि हाँसो पो उठ्यो । 

मैले पश्चिमी सभ्यताका मेरा स्मृतिहरुलाई मेरो मानसपटलमा नियालेँ यो सबै त वोचलाई सामान्य जस्तै हो सँगै खेल्ने सँगै हिड्नै सँगै सुत्ने अनि हाम्रो अश्लिलता र उनिहरुको अश्लीलताको परिभाषा अनि लक्ष्मण रेखाहरु पनि फरक नै थिए । मैले तिमीलाई नितान्त नीजि कुरा सोध्न मन लागेको छ अनुमति दिन्छ्यौ तिमी भन्दा किन नहुनु नि बरु तिमी पो अनि लाज मान्छौ नि त्यसै त्यसै भन न । तिमी कहिल्यै नेपालको भ्रमण गरेकी छौ कि छैनौ भन्दा उस्ले छैन भनि एशियाली देशहरुमा यो पहिलो भ्रमण हो भन्दै कसिएका भित्री लुगा पनि यताउता तानेर खुकुलो पारी लाग्थ्यो उ कुनै दौडका लागी तयारी गरिरहेकी छ । उस्को अनुहारको छाला सेतो भए पनि जिउडाल चाहिँ नेपालका गुरुङ्गसेनी को जस्तै कस्सिएको थियो शायद लाग्थ्यो अलि अलि गहुँगोरी भा भएत आज रोदी गाउँन जाने भनेका भए हुन्छ भन्ने जस्तै लाग्दथ्यो । तौल पनि ७० भन्दा कम थिएन अनि उचाइ पनि म भन्दा एक इन्च जति अग्लि देखिन्थि चप्पल भने २ ईन्च हिल भएका लगाउँथि । 

हामि दिउँसोको समय सकाएर लन्च ब्रेकका लागि क्याफेमा पस्यौँ त्यहाँको चलन अलि फरक लाग्यो अहिले सम्म कि कार्ड किन्नु पर्ने अनि जुन काउण्टरमा गए र जे पनि माग्न पाइने र अन्तमा बाँकि भएको रकम उहि काउण्टरबाट फिर्ता पनि दिने र बाँकि रह्यो भने अर्को दिन पनि आउन मिल्ने रिचार्ज पनि गर्न पाइने राम्रो लाग्यो मैले पनि के थाहा महङ्गै होलानि भनेर ३००० टाकाको कार्ड किनेँ अनि वोच लाई आज तिमी अर्डर गर रस्सियन खाना खुवाउ तिमी आज भनेँ । उस्ले दुइ पेग ह्विस्की र स्न्याक्सहरु लिएर आई अनि दुइजना रेष्टुरेण्टको कुनामा गएर बस्यौँ । 

मैले कुरा उक्काएँ तिमीले अगाडि जुन चुम्बन गर्यौ नि वोच ! यो हाम्रो देशमा छाडा मान्छन !! अझ म त झन बिबाह नभएको तर इङ्गेजमेण्ट भइसकेको मान्छे हुँ .. यस्ता कुरा थाहा भयो भने त मेरो नियत माथि नै शँका गर्छन । शायद मेरो सम्बन्ध पनि तोडिन सक्थ्यो खैर यो नेपाल नभएर अर्कै ठाउँ भयो भन्दा उ यस्तो गललललल हाँसी । के भयो भन्दै ३ - ४ जना वेटरहरु आइहाले अनि नो थ्याङ्कस!! भन्दै पठाएँ शायद अलि अलि ह्विस्कीको पनि कमाल होला भन्ने लाग्यो । अनि पानी खाँदा उस्ले सबै कपडा भिज्ने गरि उस्को छातिमा पानी पोखी उस्का नशा नशा देखिने गरि पानीले बाटो बनाउँदै हिड्यो र पनि मलाई जे भयो उसलाई पात पनि हल्लिएन । त्यहि भएर केटिहरु शँका गर्दा रहेछन कतै अन्तै पो लाग्छकि भनेर लोभी जात हो केटाहरुको । आफूले आफैलाई नसम्हाल्ने हो भने कुनै कुरा पनि असँभव छैनन भनेर उस्को एक छिनको बसाइमा अड्कल गरेँ । समय क्रमको बिकास सँगै अनेक जटिलताहरु पनि सहज र सरल भएका छन । ब्यक्तिगत सम्बन्धहरुका सिमा रेखाहरुमा बिबिधता छाएको छ । पहिला देश भरि दुइ लेनको एउटा मात्र राजमार्ग भए कस्तो होला भन्ने समयबाट अहिले ६ लेनको बाटोमा भएका छनौट गर्न पाउने अवसरहरु पनि जिवनमा धेरै रहेछन ।

अनि उ र म लन्च पछि बीचमा घुम्न गयौँ त्यहिबेला मेरो उसँगै आएकि अर्कि साथीको फोन आयो कि कहाँ हो तिमिहरु भन्दै वोच लाई कत्ति पनि ह्विस्की खान नदिनु है अलि खायो कि आफूलाई सम्हाल्नै सक्दिन है म त्यहि भएर तिमिलाई तिम्रो फोनमा फोन गरेकी भन्दै सि यु सुन भन्दै उत्निखेरै फोन काटि म त बोल्नै पाइन । अनि फर्केर हेरेँ उ त लिक्वेर शपमा रक्सीहरुको रेटहरु सोध्दै थिई । हत्त पत्त म उस्को नजिक गएँ र पछि भन्दै उस्लाई त्यो ध्यान अन्तै तिर खिचेँ तर उ चाहि मलाई भन्दा पनि अर्का त्यस्तै पसलहरुको ध्याउन्न मै ब्यस्त थिई । मैले उसलाई हातमा समातेर बीचमा लिएर गएँ अनि कोकाकोलाको छत्रीले छोपेको आराम कुर्चिमा एकातिर म बसेँ र उ अर्कोमा बसि । 


अनि तिमीले मलाई किन रक्सि ल्याउन नदिएको अब के गरेर बस्ने भनेर सोधी । कुनै किताब पढ म्युजिक सुन या कुरा गर तिमिलाई ह्विस्की नभइ के बाँच्नै सक्दिनौ त कि क्या हो भने अनि म तर्फ फर्केर मन्द मुस्कुराई लाग्थ्यो यस्तो हाँसो सभ्यताले म सँग बस्दा हाँस्नु पर्दथ्यो तै पनि मैले सभ्यतालाई त कति हो कति मिस गरिरहेको थिएँ नत्र यस्ती पगली लाइ लिएर न कुरा मिल्छ निचोरेर फ्यालेकी कागति जस्ति रसै नभएकी जस्ती लाग्थ्यो । लाग्दथ्यो मासु पनि प्रेशरकुकरमा सिठ्ठि लगाएपछि बल्ल पाक्छ सिठि त यौवनको सँकेत हो त्यस्तै हो माया पनि । यो पनि पाक्नु पर्छ अनि म पाकेँ भनेर सँकेत नगरुञ्जेल प्रतिक्षा पनि गर्न सक्नु पर्दछ । यो वोच त कहिले पनि पाक्दिन हो यो त काँचै छ वा पाक्न नपाएर गिजोल्टिएकी हो कि झैँ लाग्दथ्यो घरि घरी । अनि त्यति बेला अघि रुझेको कटनको टिशर्ट खोलि अनि बिकनी मात्र लगाएर उता फर्केर सुती । एक मन लाग्यो यसलाई छोडेर जाउँ जे सुकै होस भन्ने लाग्यो फेरि अर्को तर्फ फेरि एक्लै केटि मान्छे लाई छोडेर कसरी जानु भन्ने लाग्यो नै पनि आधा घण्टा जति वरि परि टहलिएँ । 

उस्ले घोप्टो परेर अगाडिको ह्विस्की वाकिरहेकी थिई मैल हतपत उसलाई समातेर बिस्तारै उठाएँ अनि मेरो काखमा राखेर एक छिन अड्याएँ उ अर्ध बेहोस जस्ति भएकि थिई वाक्दा वाक्दै । पानीको वहावमा लिएर गएँ अनि उस्का हात खुट्टामा पानीले भिजाएँ अनि बल्ल पूरा होसमा आइ म उसलाई अझै समातिरहेको थिएँ पछि आफै तङ्ग्रिएर उठि । के भयो तिमिलाई भनेर सोधेँ किन वाकेको के तिमिलाई सञ्चो छैन कि क्याहो हिड जाउँ चेक अप गर्न । शायद तिमिलाई आरामको खाँचो छ हेर माइ डियर फ्रेण्ड वोच आफ्नो अनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्छ । झन तिमि त एक्लै छौ । उस्ले मेरो अनुहारमा आँखै झिमिक्क नपारीकन एकटकले हेरिरहि म भने तिनचार पटक आँखा झिम्काइ सकेको थिएँ अन्तमा उस्का आँखाबाट तरर बगेका आशुले आफैलाई पनि सम्हाल्न गार्हो भयो तैपनि थामिएर उस्का आँसु पुछेँ अनि अर्को सफा कुर्चिमा लगेर राखेँ । 

मैले जिन्दगीमा यति धेरै मायाले मेरो केयर गर्ने तिमिनै पहिलो मान्छे हौ निशान । हुन त मलाई थाहा छैन तिम्रो ब्यक्तिगत जिवन कस्तो छ तर तिमि सँसारका असल मानिसहरु मध्ये एक चाहिँ पक्कै हौ । मेरो जिवनकालमा म जान्ने भए देखि मेरा बारे केयर गरिदिने मेरा बारेमा सोच्ने मानिस नै कोहि छैन बाबु आमा ब्यापारि हुन उनिहरु पैसा नै सबै माया हो भन्छन पैसाकै मातमा मलाई सानै देखि मलाई आवासिय स्कुलमा भर्ना गरिदिए । परिवार माया ममता भन्ने चीजनै मैले बिर्सेँ । 

तिमि पत्याउन्नौ होला म त मेरो ड्याडलाई जीवनभरी चार पाँच पटक भन्दा देखेको छैन शायद पहिलो पटक देख्दा चिन्दीन पनि होला । मेरो के चीजले केटाहरु लाई आकर्षण गर्छ भन्ने पनि मलाई थाहा छैन र मलाई खानु हिड्नु बरालिनु भन्दा बाहेक कुनै चीज थाहा छैन । अफिसमा पनि मेरा समकक्षिहरु मलाइ माया दया सिल स्वभाव नभएकि भनेर डाक्छन । म रक्शी खाएर बाटैमा पल्टौँ कि त पुलिस थाना भित्र हुन्छु नत्र बाटामै हुन्छु त्यस भन्दा अरु कोही छैन मेरो केही छैन मेरो निशान प्रमिश भनेर थ्याच्च बालुवामा फुङ्ग धूलो उड्ने गरि बसी । 

मैले उसलाई पाखुरामा समातेर उठाएँ अनि अब हिँड जाउँ कतै गएर फ्रेश लेमन जुश खाउँ अलि हल्का हुन्छ भन्दै उस्ले अगाडि सुकाएको टिशर्ट ल्याउर लगाउ भने । तिमि त सार्है बिन्दास रैछौ यार वोच ! तर सम्हाल्नु पर्छ आफुलाइ तिमिले । तिमिसँग भेट भएर पनि मैले जीवनमा केहि सिकेको छु, तिमी चिन्ता नगर तिम्रो जिवन यात्रामा एउटा असल साथीको हैसियतले म तिमिलाई हरदम सहयोग गर्न तयार छु । तर म तिमिलाई श्रीमतिको रुपमा स्वीकार्न सक्दिन किनकी म पहिले नै सभ्यता सँग ईङ्गेजमेण्ट भैसकेको छ । ऐ ! ऐ !! तिम्रो इङ्गेजमेण्ट पनि भैसक्यो राम्रो !! शायद सभ्यता निकै भाग्यमानी केटि हो तर केहि छैन म तिम्रो असल साथि त बन्न सक्छु नि निशान !! त्यो त म पनि तिमिलाई यत्तिकै त अब कहाँ छोड्न सक्छु र यदि मैले तिमीलाई प्रोपोज गरेको भए तिमि स्विकार गर्थ्यौ भन्दा उस्ले ऐठन बाहिर निकाल्दै भनी सब भन्दा भाग्मानी म आफूलाई ठान्ने थिएँ । तर केहि छैन म मा केहि लोभ छैन । तिम्रो लागि जे का लागि जहिले पनि खुल्ला छु सम्झ म तिमि सँग बिबाह नगरेपनि अरु कसै सँग बिबाह गरेपनि पहिलो पुरुषको रुपमा मैले तिमिलाई नै सम्झिने छु । 

त्यसो नभन वोच जस सँग बैबाहिक सम्बन्ध हुन्छ तिम्रो पहिलो पुरुष पनि त्यहिनै हो मनमा एक जना सजाउने अनि सम्बन्ध राख्नु भन्दा एक्लै बस्नु बेश हुन्छ कुरा बुझ्यौ भन्दा उस्ले भनि त्यसो भए म जिवनभर एक्लै बिताउने छु भन्दा मलाई कता कता चिसो पस्यो तर एक हप्ता पछि यो रुस गइहाल्छे अनि म नेपाल जान्छु अनि समयले सबै कुरा आफै ठाउँमा ल्याइदिन्छ जस्तै लाग्यो । जीवनको मोडहरुमा केहि गणना गर्न योग्य मानिसहरु मध्ये वोच पनि एक हो मेरो लागि उ त मेरो लागि एसाइनमेण्ट पनि हो त्यो के भने उस्लाई माया के हो जीवन के हो जीवनका अपार सुख अनि अविस्मरणीय दुख हरु कस्ता हुन्छन भनेर सिकाउनु थियो उसलाइ असल साथिको हैसियत ले मैले त्यत्तिकै छोड्नु मेरो मानवीयता नै रहँदैनथ्यो । 

दिन भरि गाइ बाख्रा चरनमा छोड्दा घरि घरि दशैँ आए जस्तै बुरुक्क बुरुक्क गरे जस्तै म पनि त्यस बेला चरनमा बङ्गलादेशमा उफ्रिँदै थिएँ बुरुक्क बुरुक्क कहाँबाट त्यो रसियन केटि वोच आई अनि जीवनमा नया एसाइनमेण्ट थपियो । अरु त सामान्य जस्तै लाग्यो त्यहाँ बसुञ्जेल पनि मैले उसलाई जीवनका यथार्थहरु सिकाएँ अनि छुटने बेला भयो आ आफ्नो गन्तब्य तिर उसले मलाई अरु एक दिन बसिदिनका लागि आग्रह गरि म हार्न सकिन अनि हाम्रो करिव एकै समयको फ्लाइट थियो । हामि ढाका बिमानस्थलको टर्मिनलमा थियौँ मेरो भन्दा उस्को जहाजको फ्लाइट आधा घण्टा अगाडि भएकाले उ म बाट छुट्ने बेला भयो । 

निशान तिमि जे सुकै सोच ! मलाई सँसार भरिकै नराम्री केटि भनेर सोच !! तर मैले मेरो जिवनकालमा तिमि जस्तो असल मान्छे पहिलो पटक भेटेँ र शायद यहि अन्तिम रहिरहोस ! सँगै जीवन बिताउन नपाएनी सहि कम्तिमा बर्षमा एक पटक रुस आउनका लागि निम्तो गर्न चाहन्छु जसद्धारा मैले बर्षको महान चाड मनाउँन पाउँ मेरो प्रभूको दर्शन गर्न पाउँ । मेरो घरका परिवारलाई तिम्रै साक्षात्कारमा सगर्व भन्न सकुँ कि तिमिनै यस्तो मानिस हौ जस्ले मेरो जीवनको शैली नै फेरिदियौ सिस्टम नै बदलिदियौ लाग्छ मेरो त रगत नै बदलिदियौ । तिमि मेरो नशा नशामा दौडिरहने छौ अनि हामि दुबै जना मुटुमा भेट हुनेछौँ अनि मुटुका भित्ताहरु ठोकेर ढुक्ढुकीलाई निरन्तरता दिने छौँ । सक्छौ भने तिम्रि सभ्यतालाई पनि लिएर आउ । म तिमिलाई देख्न पाए मात्रै पनि पुग्छ तिमिहरुको दाम्पत्य जीवन सफल रहोस भनेर पनि म हरदम मेरो येशु सँग कामना गर्ने छु । मिल्छ भने अर्को क्रिष्मश मा तिमि सके दुबैजना नमिले पनि तिमि एक्लै भए पनि मेरो र मेरो परिवारको साथमा हुने छौ मलाई येशु को पुजा गर्दा प्रभूको उपहारको रुपमा तिमिलाई ग्रहण गर्न पाउँ भन्दै उसले रातो गुलावको फूल मेरो हातमा थमाई अनि मेरो मुठीमा चुम्बन गरेर जहाज तिर लागि । म हेरि रहेकै थिएँ उ हात हल्लाइ रहेकि थिइ म पनि हात हल्लाइ रहेको थिएँ म आफैलाई बिर्सि रहेको थिएँ त्यतिबेला । जहाज उड्यो अनि मेरो जहाजको टर्मिनल पनि खुला भयो म पनि जहाज भित्र गएँ ।

Monday, 20 February 2012





म हिजो र आज 


अचेल हामिहरु जिवनयापनका लागि अलि बढि नै शौखिन हुन थालेछौँ भन्ने कुरा धेरै बर्षपछि म गाउँमा जाँदा मलाई थाहा भयो करिव १५ बर्ष भइसकेछ गाउँ छोडेको पनि । कहिलेकाहीँ जाने गरेपनि कसैसँग मन अघाउने गरि कुरा गर्नै पाइँदैनथ्यो तर यसपालि म एक हप्ताका लागि बस्न मेरो गाउँमा गएको थिएँ । शहरको कोलाहल अनि शहरमा बस्ने सुक्दै गएका इनार जस्ता फुस्रिएका मानिसहरुको सँगतबाट दिक्क भएर खातका खात कामहरु छोडेर म गाउँ पसेको थिएँ । त्यो मेरो आफ्नो गाउँ भएर पनि समयको अन्तरालमा म त्यहाँ बाट बिरानीएको थिएँ तर मेरो आफ्नै घर भने त्यहाँ थिएन आजकल । 
बाटैमा पर्ने मुखिनी आमैले मलाई घोरिएर हेर्नु भयो खैर आँखा बसेछन क्यार अनि चुरोटले मक्याएको घाँटीले "यो त मास्टरको छोरो हो कि क्याहो ?" भनेर "एता आइजा" भनेर बोलाउनु भयो म पनि गएँ अनि कुखुरो थुनेको डोको माथी ठुस्स बसेँ अनि हर्लक्क बढेकी नानीले महि ल्याइदिइ, खाएँ अनि सोधेँ "को हो यो ?" "अनि नातिनि हो नि साइला कि छोरी" भन्नु भयो अनि म आफैलाइ म गाउँ नआएको समयको सिमा थाहा भयो । एक छिन बसियो मकै पनि फेरि महि सँग खाइयो चिया पनि खाइयो खुब कुरा भए मुखीनी आमै सँग । 
मलाई पिशावले च्यापेर मर्नु भएको तर शहरको बानीले होला चर्पी कता छ भन्दा "हाम्रो चर्पी त उतै झ्याङ्गतिर त हो नि पाखामा !" भनिरहँदाखेरी मैले मेरो इतिहासलाई पनि सँझेँ । अहिले पिज्जा, बर्गर, चाउमिन, सेकुवा, तास, चिल्लि सिल्ली, के के हो खाँदा खाँदा दिनमा २ -३ पटक चर्पी जान पर्ने त्यहि पनि खल्लास नहुने त ब्यथानै भएको छ । अस्पतालहरुमा अनि क्लिनीकहरुमा धाउनेहरुको भिडनै लाग्दछ । तर त्यतिबेला न हाम्रा घरमा फिल्टर थिए न अरुनै त्यस्ता आधुनिक भाँडाकुँडाहरु थिए । गोरु चराएर घरमा आउँदा आमाले आजै महि पारेको घ्यूमा चुहिने गरि बनाएको कोदोको रोटि अनि टमाटर अनि पदिनाको चटनी खाट्टि दुध सँग खाँदाको मज्जा त अहिलेका पाँचतारेका पनि हुन्नन होला । 
घाँस काट्न जाँदा पाकेका खनिउँ माटामुनी बाट उक्काएर पुछेर खाँदाको स्वाद अहिलेको फ्रुट सलादमा कहाँ पाइन्छ र अनि पहेँलेको भातमा टिमुर र मरहटि राखेर पकाएको मस्यौराको तरकारीमा साना फुर्लुँगे पिँडालु अनि पाक्ने बेलामा लौसीको माडा राखेपछि अहिलेको के के हो के के राखेको मिक्स भेज भन्दा अनि उत्कृष्ठ लाग्दथ्यो । अहिले पेटमा थोरै बिकासी चिल्लो परेपनि औषधी खाइहाल्नु पर्ने यहि ज्यानले आमा नभएका बेला काठको ठेकीमा दाविलोले कोट्टयाएर डल्ला डल्लै खाएको घ्यू बालुवामा पानी हाले झैँ हुन्थ्यो । अनि स्वास्थ्यको समस्या त नगन्य थियो अहिले जस्तो चर्पी र ट्वाइलेट पेपरको सट्टा खेतबारीको कान्लामा गएर काम तमाम गर्यो अनि त्यहि भित्ताबाट झुस तान्यो अनि पुछ्यो आहा कति मज्जा पेट पनि निमेष भरमै सर्लक्कै हुन्थ्यो । 
अनि बाटा मुन्तिरकी मिठू भाउजुले बोलाउनु भयो हजुर आउनु भइच्च भनेर केटाले भनित्तो आज यतै भात खान आम्नु है मिठो नमिठो जस्तो भए पनि दुख सुख यस्तै हो आम्नु होला नि भनेर तल बाट बोलाउनु भयो अनि मैले पनि हुन्छ भनेँ । अनि बजार गए पछि मान्छेहरु यसरी गामलाइ बिर्सिन्छन भनेर अब हजुरलाई हेरे हुनी भओ भन्दा मैले होइन त भने तर मेरो आफ्नै मगज रिवाइन्ड भयो । मैले नै पल्टन डाँडाको चौतारीमा बसेर शहर तिर अनि लाहूर तिर पसेर हराएका अनि धेरै बर्षमा आउने मानिसहरुलाई देख्दा यसै भन्ने गर्दथेँ अनि गोरु बाटोमा दौडिँदा डराएर भाग्न खोज्दा स्याँ स्याँ र फ्याँ फ्याँ गरेको थुचुक्क बसेको अबस्थामा म आफै थिएँ ।
यसै गरि म एक हप्ताका लागि आए पनि तिन दिनमै अघाएर आफ्नो गन्तब्य तर्फ फर्किँदै थिएँ । धेरै समय पछि पनि मेरो गाउँ अहिले पनि खास अगाडि बढेको थिएन । मानिसको मनस्थितिमा परिवर्तन गर्न केहि समयको आबश्यक पर्ने देखेँ मैले । म अहिले जिवनको यस्तो घडिमा छु कि म चाहेर पनि आफ्नो यथार्थलाई भुलेर फेरी यो सँसारमा फर्किन त सक्दिन तर अर्को यथार्थ पनि केहो भने शहरको बिकास मात्र देश बिकाश होइन । अहिले कोदोको रोटीको अनि मकैको तल आगो अनि माथि भुङ्ग्रो राखेर पकाएको आटोको मर्म हराएको छ अनि त्यो मरहटी र टीमुर त कहाँ हो कहा पुग्यो । अब रोक्नु पर्छ अतिक्रमण गाउँ माथिको जोगाउनु पर्दछ मरहटि र टिमुरलाई । अझ दुख लाग्दो कुरा त के भने शहरको बिकासले गाउँलाइ पनि अहिले अपाङ्ग बनाएको छ । घरमा काउली नलगाएर अधियाँमा कमाउन दिएर बजार बाट तराइदेखि आएको फोस्रो काउली र गोलभेँडा समेत गाउँ पसेको छ । बर्ष भरि लगाएर पालेको बोको बेचेर टेलिभिजन अनि मासिक २५० को केबल भाडा तिर्न बाध्य भएको छ बिकास । आफ्नो प्वाल परेको कपडा हातले छोपेर कपडाका डिजाइन हेर्दैछन मानिसहरु । 
मैले मेरो पोष्टहरुमा खाली माया प्रीतिका कुरा अनि यस्तै सपना बिपना हरुको प्रसँग ल्याउँदै गरेकोमा एक्कासी म गाउँ पस्दा साथिहरुलाइ अनौठो पनि लाग्न सक्छ तर अहिले हामि जहाँ छौ त्यसको बैशाखी त्यहि जन्म भूमि हो भनेर भूल्नु भनेको आफ्नो इतिहासलाई मेटाउनु जस्तै हो । अरु देशहरुमा आफ्नो मौलिकता हुन्छ आफ्नो राष्ट्रियता हुन्छ आफ्नो चिनारी हुन्छ तर हामिहरु त हामिहरुसँग भएका पृथक चिनारीहरुलाई पनि मेट्दै गएका छौँ । अरु त के कुरा लुम्बिनी समेत हाम्रो हो भन्न थालिसके छिमेकीले तर आवाज उठाउने कुनै नेपाली देखिएन भने अरु त झन झिना मसिना भए । उता कर्णालिमा अछूत भएर पिटेर मरेको ब्यक्तिको भन्दा दादागिरीको निहुँमा जेल पर्नेलाई उस्को आफ्नै कारणले उस्कै शत्रुले जेलमा पिटाइ गर्दा उस्को मृत्यु हुँदा नेपाल बन्दभयो सदन बन्द भयो अनि शहिद घोषणा मुद्धा फिर्ता के के हो के के । धिक्कार छ नेपालको राजनितीलाई आफ्नो कुर्ची जोगाउन बाबुरामले गरेको फोहोरी खेलले जिवनमै नउकासिने गरि बितृष्णा फैलिएको छ मेरो मानसपटलमा । 
बास्तवमा केहि समस्यानै छैन, जनतामा समस्या छैन तर नेतामा समस्या छ, नीतिमा समस्या छ । दृष्टिकोणमा समस्या छ, त्यसभन्दा बढि समस्या स्वार्थमा छ ! ब्यक्तिगत, पार्टिगत अनि गुट, उपगुटगत । अब त समाचारका पानाहरु पनि ज्वरो परेको खान्की जस्तै भएका छन नेपाली जनताका लागी शायद अब यिनै नेताका लागि कोहि जनताहरु पनि राजीहुने छैनन पछि लाग्नका लागि खाली पैसाले किनेका भरौटेहरु बाहेक अनि ब्यक्तिगत स्वार्थमा लिप्त जुकाहरु बाहेक ।