Tuesday, 14 August 2012

रुझेको प्यासी मन


हिजो राती बाटै बाहिर पानी परिरहेको थियो । झ्याल बाट आएको सिरसिरेले मैले ओढेको पछ्यौरी उडाइरहेको थियो । घरी हावाले घरी पानीले अनि घरी मनका ज्वारभाटाहरुले मलाइ चिसो पारिरहेका थिए । यसै त मेरो मन चिसो छँदै थियो त्यसमा झरि, हावा अनि तिम्रो यादले म कठ्याङ्ग्रिइरहेकी थिएँ । तिम्रो न्यानो अँगालोको सपना बुनेर कौशीमा सुनसान रातमा अग्रात खोजिरहेकी थिएँ ।

मैले उसलाई धेरै समयको प्रतिक्षा ब्यग्रता पछि दोबाटोमा भेटेकी थिएँ । कहिले नभेटेको मान्छे नदेखेको मान्छे मात्र मनले देखेको मान्छे देख्दा सामान्य नर्भस भए पनि उ सँग म पहिले देखिनै भेटिराखेको र देखिराखेको जस्तै भयो कुनै नयाँ भएन मलाई । उस्को काख जन्मै देखि मेरो, उस्को निराकार मायामा म पनि उस्तै गरि घुलिएकी थिएँ । त्यसबेला मैले त आफैलाई पनि भुलेँ, मेरो उद्गम पनि भुलेँ । हामिले सँगै नास्ता गर्यौँ मन त शेयर गरेकै थियौँ एउटै खाजा पनि शेयर भयो एकै ठाउँमा तै पनि कुनै अनौठो लागेन बरु अझै केहि पुगेन झैँ लाग्यो ।

त्यसपछि हाम्रो यात्रा बाइकमा भयो, उ अगाडि बस्यो म पछाडि बसेँ, बाइकको यात्रा पनि जिवन यात्रा जस्तै थियो, तल ठूलो नदी अरठ्ठपरेर घरी सुलुलुलु घरी ढलीमली गर्दै थियो । लैनो भैसीको ब्याउँते दुध जस्तै पानी पनि अल्छि मान्दै ठेलिँदै थियो झन त्यसमा मेरो राजा सँग भेट भएको बेला मेरो मन लैनो भएर त्यसभन्दा पनि बाक्लो भएको थियो जुन आफैलाई पनि मत्मत्याउने भइसकेको थियो । आफैलाई म के गरुँ के गरुँ जस्तो भएको थियो । बाटैमा यात्रैमा हिँड्दा हिड्दै उसलाई समातेर चिमोटुँ जस्तो भएको थियो तर म आफैलाइ सम्हालिरहेकी थिएँ । बिभिन्न बहाना मा शारिरीक रुपमा पनि निशान सँग पौँठेजोरी खेल्दै थिएँ म, बाटोका जोल्टिङ्गहरु, खाल्डाखुल्डीहरु पनि कहिलेकाहिँ त काम लाग्दारहेछन झैँ लाग्यो, उफाथ्र्यो घरी घरी । उसको चलाउने स्पीड पनि अलि गरम नै थियो अनि घरी नरम पनि थियो, बाटोमा मेरो हाल सोधिरहन्थ्यो मेरो चाल सोधिरहन्थ्यो र बाटोका ऐतिहासिक स्थलहरु पनि दर्शन गराउँदै थियो जुन म पहिलो पटक भएपनि साक्ष्यात्कार गर्न पाएकी थिएँ ।

हाम्रो पाल्पा बजार पनि कम्ता राम्रो थिएन, काठमाण्डौ बिभिन्न टोलका नाउँमा यहाँका टोलका नाम राखिएका थिए अनि सँस्कृति पनि केहि मिल्दो जुल्दो थियो । पाल्पाको सिरानमा श्रीनगर उस्तै राम्रो अनि अलि टाढा रानी महल पनि यहि जिल्लामा कालीगण्डकीको किनारमा छ भन्ने सुनेकी हुँ तर जान पाएकी छैन । आफ्नी मनकी रानीको सँझनामा सुनसान ठाउँमा महल बनाएर सँझनालाई राणाकालीन शासकले इतिहास बनाए, म पनि एक छिन रानी भइ हेरेँ अनि निशानलाई सँझेँ, उस्ले पनि मलाई यस्तै माया गर्छ कालीगण्डकीको किनारमा न सही मनको किनारमा त रानीमहल बनाएकै छ, त्यो रानीमहलमा त के नै छ र भन्ने सँझेँ अनि एकपटक उसलाई हिँड्दा हिँड्दै मज्जाले च्यापेँ, उसले के भयोे बाबा डरलाग्यो भनेर सोध्यो स्पीड कम गरुँ भन्दै थियो मैले तिमिले सके जति गर भनेँ, म मा घरी घरी उर्लिएर आउँथ्यो खहरे अनि सम्हालिएर टार्थेँ ।

हामी भेट हुन भन्दा पहिले नै एक आपसमा समय मागिरहेका थियौँ तर बोल्न नसकेका प्वाक्क परेका थियौँ जुन गुनासोले बिस्तारै नजिक ल्यायो र एक दिन दुबैले दुबैसँग माग्यौँ भन्ने लाग्यो । म पाल्पा बाट काठमाण्डौँ हिँडेकी मान्छे र उ पनि पोखरा बाट हेटौँडा हिडेको मान्छे हामि मुग्लिङ्गमा भेट भयौँ र दिन शेयर गर्न मेरो फर्माइशमा सौराहा जाने कुरा भयो अनि हामि उता तिर हुईँकिएका थियौँ । उ पनि धेरै समय सौराहा नगएको रहेछ त्यसैले बाटो सोधेर हामि सौराहा तिर लाग्यौँ र बाटोमा सामान्य हुँदा हुँदै गन्तब्यमा पुगियो, बिसौनीमा बसियो र बल्ल आफ्नो परिवार जस्तो आफू सम्पन्न भए जस्तो लाग्यो ।

समयले यस पटक हामिलाई जिन्दगीको पयो बटार्न पहिलो पटक साइत जुराईदिएको थियो । हामि पनि अझै झ्याम्मिन खोज्दै थियौँ मनका तख्ताहरुमा दुखका कथाहरु एक्लो हुँदाका पीडाहरु सावीक जिन्दगीका आरोह अबरोहहरु शूलहरु अनि तुषहरु पनि निचोर्दै थियौँ । भेटहुँदा हामिहरुलाई बिसाउने चौपारी भेटेजस्तो जिवनका आफ्ना परिस्थिति र परिवेश भुलेर आफैमा हराइरहेका थियौँ । मायाका सर्जामहरु जोरजाम गर्नमै हाम्रो समय खर्च भइरहेको थियो तैपनि उत्ताउलो माया मौसमी माया हामिमा थिएन । हाम्रो त इँगेजमेण्टमात्र भएको थियो त्यहि पनि फेसबुकमा भेट त बल्ल पहिलो पटक भएको थियो र पनि बर्षौ पहिले बिबाह भैसकेको पुरानो जोडी धेरै बर्ष पछि भेट भए झैँ कस्को मनमा को पसेर हुँडल्ने भन्ने ध्याउन्नमै थियौँ ।

मैले निशानलाई निशान भन्दा पनि मेरो काले भनेर बोलाउँथेँ अनि ऊ पनि काली बज्यै भनेर चिमोट्थ्यो शायद काले भन्दा उसलाई कस्तो कस्तो लागेर होला । घरी उस्को चुम्बनले घरी उसको आलिङ्गनले मलाई तरङ्गीत पारीरहन्थ्यो, मलाई उस्को काखमा अहिले त रमाइलो गर्न भन्दा पनि रोएरै पुगेको थिएन । जिबनका कुइनेटाहरुमा मैले भोगेका अमिला समयहरु, नीम जस्तै तीता लाग्ने ति अरिमुठे यादहरु म झन आल्हादित हुन्थेँ र उस्को काखमा झम्टिएर रुन्थेँ घरी घरी । त्यो रुवाई मलाई पीलो निचोरे जस्तै हल्का हुन्थ्यो जस्ले फेरि अलिकति मनमा खुशी भएर हल्का हुन्थेँ अनि हावामा तैरिए जस्तै उसँग तैरिन्थेँ म अनि राप्ती खोलामा गोहीले बयेली खेले जस्तै हामी मायामा बयेली खेल्थ्यौँ ।

साँझ पख राप्ती खोलाको किनारमा हामिहरु डुल्न हिड्यौँ, अप्ठ्यारो ठाउँमा घरी मैले घरी उस्ले मलाई हात दिन्थ्यो अनि हातमा हात मिलाएर हामिहरु प्रकृतिको बिबिधताको पनि फूर्की लगाउँदै हिँड्दै उता परको ढिस्कोमा आराम कुर्चीमा बसेर कालो चिया पनि खायौँ । बिधिवत रुपमा रेष्टुरेण्टको कुर्चीमा बस्दा उस्को हस्पिटालिटी हुनु स्वभाविक नै थियो । बोलेर कहिले नसकिने हाम्रा कथाहरु सकिएकै थिएनन । फोनमा बोलेको फेसबुकमा च्याट गरेको अनि कमेण्टमा दोहोरी खेल्नु त के हो र यो सामिप्यता त स्वर्ग जस्तै भयो हामिलाई मनको धोको पु¥याउनलाई, अनि थाहा भयो त्यो बिजुली माया भन्नाले फेसबुक माया र यो साक्षात मायामा कति भिन्नता रहेछ भनेर तर माध्यम त त्यहि थियो फेरी ।

सँघर्ष गर्दा गर्दै  म यहाँ सम्म आइपुगेँ र अगाडि पनि त्यति सजिलो छैन तैपनि म निशान लाई साथ दिए र दिइरहन्छु पनि अब त जिवनको यो दैनिक होमवर्क जस्तै भयो समयले जुराइदिएको बिभिन्न अबस्थामा समय भन्दा हामी अगाडि थिएनौ अनि त्यहि समयका हामि दास थियौँ । सौराहा बजारमा रातभर राती नौ साढे नौ बजेसम्म डुल्यौँ अनि होटलमा आएर बिसायौँ आफ्नै बिस्तरामा अझ भनौ हाम्रा बिस्तराहरु मनहरु थिए मनको सिरानी राखेर मायाको सुकुलमा नै सुतिरहेका थियौँ । भन्थे केटा केटि भेटहुनु भनेको पहिलो शर्त केहि फरक हुन्थ्यो हामिमा त्यो बिषयले भन्दा पनि धेरै समयमा लामो पर्खाइमा भेटिएका प्रेमीहरु अझै माया साटेरै पुगिरहेको थिएन । चुम्बनमा हराउनु आलिङ्गनमा बिलाउनु फेरि भेटिनु त सामान्य भयो निशान सँगको बसाई मेरो लागी, उ एकदम असल मानिस हो असल जिवनसाथी हो कति समर्पीत छ कति निष्ठावान छ भनेर म शब्दमा ब्याख्या नै गर्न सक्दिनथेँ म ।

निशान पनि एक्लो छ, उसलाई उस्को नियतिले जहिले पनि सताइरहन्छ बिभिन्न नाउँमा, तै पनि उ समय सँग हार मान्ने मानिस होइन परिस्थिति सँग जुध्ने शक्ति उसँग मौजुद छ र त लडिरहेछ, लड्ने हिम्मत राख्छ मेरो बैशाखी टेक्न चाहन्छ, ऊ जे पनि गर्न समर्थ छ उसलाई हरपलमा मेरो साथ सदा सर्वदा रहन्छ, सँगै बस्नु रमाउनु मात्र जिन्दगी होइन यो बसाई ले धेरै समयको लागि पुग्छ यहि यादहरु साँचेर धेरै समय फेरी बाच्नु पर्छ त्यसमा मलाई कुनै बिस्माद छैन उस्को माया नै मेरो लागी हजार हो उस्को जिन्दगी मेरो लागी अमूल्य छ मेरो सास पनि त्यसैमा अड्किएको उस्को सास सँगै ।

यसरी हेर्दा यो कथा सभ्यताले लेखे जस्तो भए पनि मैले सभ्यताको धेरै पटकको गुनासो र अनि बार्तालापको आधारमा मैले कथात्मक रुपमा प्रस्तुत गरेको हुँ । बास्तवमा यस्तो भइदिए हुन्थ्यो भन्ने गुनासोका आधारमा तयार पारिएको हो । मैले र सभ्यताले आफूहरु बिचमा घुलाएका अनि घुल्न बाँकी कथाहरुको सँयोजन होला । अवसर अनि त्यस्तै परिवेशको खोजी होला भनेर बुझिदिनुहोला अझै मेरी सभ्यता काली डल्लीको तर्फबाट एउटा केटी भएर कथा लेख्दा केहि नपुग्नु स्वभाविक हो त्यसलाई यहि रुपले बुझिदिनु होला । यो हामी दुबैको मनको कथा हो अझै कथा भन्दा पनि मनोबाद हो अनि लेखन शैली मा नयाँ प्रयोग हो मेरो ।

Sunday, 5 August 2012

आँखाले रुनेहरु र मनले रुनेहरु


कपाल खौरेर कोहिले टाउकोमा रुमाल बाँधेका, कोहि ढाका टोपी हातमा पट्याएर खुइय गर्दै हिँडेका, हतारिइरहेको दृश्य मैले देखि रहेको थिएँ । म निदाएकै थिइन सबै कुरा मैले थाहा पाइरहेको थिएँ । मेरा हात खुट्टाहरु फेन्सी पसलेले कपडा पट्याए झैँ पट्याएर कसेर बाँधिएको थियो । हरियो बाँसमाथी टाउको अड्काएर बाँध्दा पनि मलाई आराम भइरहेकै थियो । हिजो सम्म पलङ्गमा अनि त्यसमाथि डसना अनि आरामदायी तकियामा बिसाउने ज्यान आज झन हिजो भन्दा सजिलो अनुभव भइरहेको थियो । मैले कहिल्यै नदेखेका अनुहार पनि मलिनो अनुहार बनाएर लुरुलुरु हिँडेको पनि देखेँ । राम राम सत्य हो भन्दै भट्याउँदै माइला दाई बाटोमा धानका फूल छर्दै थिए । अस्ति ओढेको मुलायम कम्बल (ब्लाँकेट) भन्दा आज यो कात्रोले कति न्यानो बनाएको मलाई, सोँचेँ म नमर्दै यो कात्रो ओढ्न पाएको भए कति न्यानो हुन्थ्यो होला, अभावमा जहिले पनि म सिरक भित्र कहिल्यै पनि तातिन कठ्याँग्रीइ रहेँ ।

एक हप्ता अगाडि म लमतन्न भएर सुतिरहँदा, कोल्टो फर्किन नमिल्दा श्रीमती उस्का सैँसाथेहरु सँग बजार गर्न गई, म कति असमटिएँ तिर्खा लाग्यो र पनि पानी खान पाइन, मलाई आफ्नै ज्यान भारी भयो, सोचेँ म नै यो पृथ्वीको भार रहेछु , यसरी त कोहि पनि नबाँचोस, आज उसैले मरे पछि मेरो सास गएपछि नरोएरै रुँदै मेरो मुत्युउप्रान्त मुखमा पानी हालिदिई र बल्ल अस्तिको तिर्खा मेटेँ मैले अनि ढिलै भए पनि धन्यवाद दिएँ श्रीमतीलाई पहिलो पटक उसले मेरो लागी भनेर एउटा काम गरिदिई । मैले भन्दै नभनेका कुराहरु निकालेर फूर्का हालेको अनि मेरो गुणगान गाएको मलाई कत्ति पनि पचेन तर थाहा पाएर पनि म केहि प्रतिक्रिया दिन सक्ने अबस्थामा थिइन । घरी घरी त मन छुन खोज्थी तर उस्कै अर्को नपच्ने कुराले मलाई पहिलेको कुरा बिर्सन बाध्य तुल्याउँथ्यो ।

अर्कोले भिडमा थप्यो, हेर नखरा पारेकी यस्को त सप्पै मलाई थाहा छ, यो गोपाललाई यसैको कारणले यस्तो भएको हो, चिन्तै चिन्ताले रक्सीमा डुबेर मर्यो बिचरा भन्दै थियो अनि हो त नि भनेर सार लगाउने पनि हुलै भए । दुइचार जना आइमाइको हूलमा फेरि अर्को आवाज आयो, हेर बैँशैमा बिधुवा भई अब कसरी गरी खान्छे, जँड्याहा पोई परेसी यस्तै हो, धन्नै घर चलाएकी रैचे बिचरा पनि भने, अनि त्यसै माथि धन्दा नमान साइँली, हामि छम नी, कोहि नी नभएनी इश्वर भगवान त छन नि पाप धर्म उनैले हेर्छन पनि भन्न थाले ।

यस्तैमा गौँडामा चिप्लीएर मेरो लाश खोलामा झर्ने भिरबाट दुई बल्ड्याङ्ग तल खस्यो अनि हिलो धूलो भयो सब भन्दा पहिला हाँस्ने श्रीमती र उसका आसेपासेहरु भए अनि सुस्त मनस्थितिका गाम्नागे बा पनि हाँस्नु भयो अनि उत्तिखेरै थुतुनो चिमोटेर मुख बन्द गर्नुभयो तर अरु हरु खित्का नछोडेपनि थुतुनोमा लालि बालेकै थिए । अनि मैले फेरि आफैलाई छामेँ, भर्खरै गोहिका आँशु चुहाउने हरु हाँसेको देख्दा मनमा चिसो पसेर आयो । जस्का लागि  सबभन्दा धेरै समय खर्चेँ, धेरै माया दिएँ, जस्को फलिफापका लागि मैले मेरो आफ्नो फलिफाप हुने कामलाई नै छोडेर लागेँ, तिनिहरुनै भिडमा अमिला र अझ अमिलो पस्नु भन्दा अगाडिका कागती जस्ता नीला र तिता भए । अझै कोहि कोहि त मेरो लाशलाई पनि थिलो थिलो पारेर धूलो पारेर मलाई सिध्याउन चाहन्थे, उनीहरुको ओठ थर्थराइरहेको थियो, दुर्भाग्यबश हर्ताकर्ता फेरि उनिहरु नै थिए । मेरो लाशलाई काँध दिने मेरा मान्छेहरु भए हुन्थ्यो, अनि मलाई ओल्टाई पल्टाई गर्ने मायालू हातहरु भएपनि हुन्थ्यो जस्तो लाग्दथ्यो । एक छिन पछि त खरानी हुनु छ त्यो भन्दा पहिला स्पर्श मात्रै पाए पनि हुन्थ्यो झैँ लाग्दथ्यो घरी घरी, चिच्याउन मन लाग्दथ्यो अनि असतीहरु मेरो लाश लाई नछो भन्न मन लाग्थ्यो तर के गर्नु यस्तै भइरहेको थियो ।

सप्कोमा मुखलाई थुनेर आँखाले नरोएर धुरु धुरु रुनेहरु पनि भिडमा मैले देखेँ । मनलाई कागती जस्तै निचोरेर मेरो लाशको पछाडी लाग्ने त्यस्ता मन हरु अगाडिका मनहरु भन्दा भिन्दै थिए धेरै थिए, जस्ले मलाई मनै बाट पढेका थिए तिनीहरुले मलाई चाहेर पनि बिर्सिन नसकेको अनि घाटमा बिदा गर्नै नमान्ने अनि नचाहने हरु पनि देखिए । एक दुइजनाको त भक्कानो पनि फुटेको देखेँ, म आँशु पुछ्न चाहन्थेँ र पनि म सक्दिनथेँ । मलाई थक्क लागेको कुरा मैले त्यस्ता मनहरुलाई आफ्नो बनाउन सकिन । जिवनको कुनै कालखण्डमा उनीहरुको सुख दुख साट्न सकिन । म बाध्य नहुनु थियो मैले बेलैमा बिद्रोह गर्नु पर्दथ्यो सकिन मैले यो मेरो कम्जोरी थियो, तै पनि अरुले के भन्लान आफ्नो इज्जत के होला भन्ने नाउँमा म फगत लतारिइरहेँ । अब फेरि बाँच्न पाए म पक्कै बिद्रोह गर्थेँहोला जस्तो लाग्थ्यो ।

मलाई घाटमा लगियो सर्वाङ्ग नाङ्गेझार पारेर दाउरा र परालले छोपियो अनि तलबाट माइला दाईले दागबत्ति दिनुभयो, माइला दाई भने मज्जाले रुनुभयो, इलामबाट आउने माइखोला भन्दा पनि बढि रुनु भयो । मलाई पनि रुवाउनु भयो अरु पनि रोए, कोहि आँखाले मात्र रोए, कोहि नरोएरै मनले रोए । आँखाले रुने र मनले रुनेको हूल छुट्टियो ।  आँखाले रुनेहरु उता म खरानी नहुँदै, अस्तु सेलाउन नपाउँदै माइला दाईलाई भागवण्डाको बारेमा ख्यार ख्यार पार्दै थिए । खर्चपानीको कुरा गर्दै थिए मलाई बिरक्त लाग्यो, बोझ लाग्यो आफ्नो मृत्यु पछि पनि । मेरो चितामा आगो बलिरहँदा एक्कासी ठूलो आवाज आयो म झस्केँ, सभ्यता भनेर चिच्याएँछु, अनि दिदिले के भयो निशान भनेर बोलाउनु भयो, केहि हैन दिदि भनेर टारेँ ।

तर यस्तो बिषय मेरो सपनामा कसरी आयो न मेरो पारिवारीक हुलिया मिल्छ, न मेरो जिवन सँग मेल खान्छ, तर गोपाल भन्ने मान्छे को यस्तो कहाली लाग्दो यथार्थले मलाई पनि छोयो, जिवनको अर्थको गहिराईमा पुगेँ म । यस्ले सिकाएको पाठ भनेको मलाई दिलै देखि पढ्ने, माया गर्ने मान्छे, असल साथीलाई आफ्नो जिवन बाँड्न पाउँ, भलै एक दिन बाँच्न पाइयोस तर उस्कै काखमा हराउन सकुँ, जिवनका भए भरका माया उस्लाई दिन सकुँ । मायाको अर्थ अनि जिवनको परिभाषा म आफै बनाउन सकुँ भन्ने कुरा मैले सिकेँ । आँखाले रुनेहरु र मनले रुनेहरुको बिचमा पर्खाल लगाउन सकुँ । मैले तिमिलाई दिएको माया मात्र होइन सम्पूर्ण जिवन नै हो भनेर सगर्व भन्न सकुँ । मेरो अगाध माया तिमिलाई, मेरी सभ्यतालाई अनि हाम्रो अर्थपूर्ण साथलाई । तिमि जहाँ रहे पनि मन हाम्रो एकै ठाउँमा छ भनेर भनिरहेकै छु, सास रहुन्जेल यहि मन्त्र जप्न पाइयोस सधैँ सधैँ तिम्रो मनको राजा बन्न पाइयोस अनि आफ्नो सिँहासनमा तिमिलाई रानी बनाएर राख्न पाइयोस । तिमि म भित्र अनि म तिमि भित्र हराउन पाउँ, एउटा स्पर्शले सधैँ छोइरहोस, एउटा चुम्बनले सधैँ चुमिरहोस, हर खुशीमा अनि हरु कठिनाइहरु तिम्रो साथको डोरी समातेर छिचोल्न सकुँ ।

Sunday, 22 April 2012

बसन्तीले दिएको लाइन



न्वाईँ खाने दिन भन्दा ५ - ६ दिन पहिलै घरीमै पँहेलिएको धुर्से केरालाई बाक्लो काम्लोले बेरेर बाले भकारीको कुनामा राख्नु भएको थियो । त्यस दिन उखुमले भतक्कै पाकेको पयाँलै केराको घरी निकालेर बाले काईँया काइँया छुट्टाउनु भयो र पुष्टिएका मध्येबाट दुइ काईँया निकालेर दहिमा मिसाउनु भयो अनि चामल र चिनी मिसाएर भाँडोमा आमाले बिरालोले मुख हाल्छ भनेर दुध राख्ने झोलुँगामा राख्नु भयो । तल मस्यौरा र पिँडालुको तरकारीमा लप्सीको माडाको बाक्लो बाफ भन्दा पनि मलाई ध्याउन्न कतिबेला त्यो न्वाई खान पाइन्छ भन्ने थियो त्यहि भएर त हरियो ढाडे धान मैले नै काटेर मुठोपारेर टाउकोमा बोकेर पुरुषार्थ गरेको थिएँ ।

स्कूलमा कहिले हाफ छुट्टि कहिले बिदा नभए मन छुट्टि गरेरै भए पनि मन लाग्यो भने केहिले पनि छेक्थेन, सधैँ यस्तै बानी भएकाले घरकाले पनि किन आइस भनेर भन्थेनन् अनि हातमा आँसी लिएर गोरु फुकाएर चरन तिर लैजान्थेँ, झट्टपट्ट एक बड्का न्वाइँ र अझ ठेकी बाट माथि माथिको गुलियो दहि र केराको झोल समेत पिएर म मालीचौर तिर हानिएँ । उताबाट जमुना र कृष्ण पनि गोरु र बाख्रा लिएर आउदै थिए म पनि टक्क अडिएँ र पर्खिबसेँ । जमुनाले खै आज दाई रित्तै आउनु भछ त, म पनि आज आउन त मन थिएन यिनै कृष्णले जाम के जाम जमुना एक्लै घर के बस्छौ भने अनि बाख्रा लिएर आएकी क्या, बिना फोक्कै मा दुख दिन जान्या छन यि दाई त ।

कृष्णको गोरु मेरो गोरु अनि जमुनाका बाख्रा पनि चउरमा अरु डिँगा बाख्राको हुलमा मिसिए, बाली जोगाउन प्राय सबैतिर बान्नो अनि बार लगाएकाले खासै डर थिएन । जमुनाले नूनको ढिको अनि पाकेको हरियो खुर्सानी र आँखे टिमूर राखेर बान्नोको उधिन ढुँगामा पिस्न थाली तर मलाई बसन्ती नआएकी भएर त्यसै त्यसै फुस्रिएको थिएँ, त्यो जमुनाले थाहा पाई हाली अनि बोलाउन थाली ए ए ए ए बसीइइइ  । उस्ले बसन्तीलाई चर्को स्वर जावोस भनेर बसी भनेर बोलाउँथी अनि चार पाँच पटकमा हजुर भन्ने प्रतिध्वनी पहिले मेरो कानमा पर्यो अनि मैले नै छिट्टै निउवा साध्न आउ के तित्तिन लायो झट्टै भने । हेर यो दाई त यतिञ्जेल किन टोलाको भन्या त अँ अँ त्यति सारो हुन हुन्न के भोलि फेरि अर्केले टिपेर लैजाला लाहुरेले अनि हेर्या हेर्यै हुनु होला फेरि । यो जमुना के भन्छे म किन टोलाउनु र तिमि नआएका भए तिम्लाई पनि यसै गरि बोलाउँथे नि, कस्तो कुरा गरेको तिमिले । अब तिमि बढि जान्ने भइछौ के, जस्ले लए पनि हाम्लाई बिर्सन्छौ र तिमिहरुले ।

त्यो त हो दाई कान समाते यि दाई, काली मैयाँ नखरा नपार फेरि खाल्डोमा परौली खुरुक्क निउवा साँध उस्लाई कुर्दा तित्तिन्छ फेरी, झन तिम्ले साँधेको निवुवा त यति मिठो हुन्छ भनि साध्यै छैन हे हे हे । दाइले मलाई उल्याउनु भको हो नि मलाई थाहा छ जति उल्याए पनि म मै हो तपैँ तपैँ हो केरे हैन्तनी । तर एउटा कुरा मलाई पनि थाहा छ म भन्दिन भन्दै भन्दिन मलाई यहिँ फुक्लुक्कै पारे नि भन्दिन जा भन्दै आँखा च्यातेर इस् गरि अब के भन्नु न गाली गर्नु कति कुरा नजानेर बिगार्छन अनि त्यत्तिकुरा नजानेरै सपार्छन ।

सलक्क परेको लामो कपाल लाई लेबन्टी ले बाँधेर अनि फुरुक फुरुक गर्दे आउँदै थिई नदौडिकन तर सके सम्म लस्केर तर म उ आउने बाटोको उल्टो फर्केर जमुना सँग कुरा गरिरहेको थिएँ । ओइ ठुल्दाई आज पनि स्कुल बाट भागेर आएचौ नि के हो भन्दै चिलाउने स्याउलाको झुम्काले मेरो कन्नामा प्याट्ट हान्दै मेरो अगाडि आएर ठ्याक्कै सामुन्ने आएर बसि अनि लाजै नमानि ओल्टाई पल्टाई हेर्न थाली धेरै बर्ष लाहुर बसेर फर्केको आफ्नो स्वामी घर फर्केर आए जस्तै । जमुनाले के हो भेडो नदेखे बाख्रो कराउनी बाख्रो नदेखे भेडो कराउनी एक्कै ठाममा भअसी दुइटै हराउने हि हि हि हि भन्दै खिसी गरि तै पनि सधैँ यस्तै भन्ने भएकाले खासै केहि जस्तो लागेन ।

हैन के जमुना स्कूलबाट भागेर यि गोपाल दाई किन आउँछन भनेर नि मेरो बानी तँलाई थाहा छ नि म त फ्याङ्गफुङ्ग हो बाई अरु कुरै छैन तर म गोपाल दाई सँग खै किन हो किन त्यस्तो गर्न सक्दिन के है दाई । मैले कहिले नराम्रो भन्चु र तिम्लाई आफ्नै जस्तो लाग्छ के । खै ले त्यो अमिले यि पाताँ अब घर गअर मकै खान पर्च दाँत कुँडिने भए ।

अनि हामि सबै जना उठ्यौँ कृष्ण अगाडि थियो अनि जमुना र बसन्ती को पछाडि म थिएँ । आज हेर न बसन्ती मेरो तल्लो पेट मर्नु गरेर दुखेर कस्तो भअच भने शाँदी छैन । के खाइस र त्यस्तो चिसो भात खाइस होला बेल्काको नतताइकन अनि दुख्यो भन्दा हैन के मोरी आज अर्कै दुखिच्च के कहिल्यै पनि नदुखेको जस्तो ढाड पनि कटक्क खाइच्च के भनेर बात मार्दे थिए अगाडि अगाडि म पछाडिबाट जमुनाका सुरवाल पनि छेडेर कुर्थामै देखिएका रगतका साना साना टाटा देखेँ अनि मलाई शँका लाग्यो भन्न पनि लाज लाग्यो र बसन्ती लाई बोलाएँ ।

कानैमा मुख जोडेर तिम्ले ख्याल गरिनौ बसन्ती त्यो जमुना त पन्छिइछ केरे टाटै टाटा छन कुर्थामा, बसन्तीले मेरो कपालमा च्याप्प समाती र दरै भई अनि उत्निखेरै छोडि होओओओ र भनेर सकेसम्मको जिब्रो तानेर दँग परि तर बसन्ती भने अहिले सम्म पन्छिएकी नभएर पनि होला । उस्ले जमुनालाई तल्लो कान्लामा लिएर गई र जमुना रोएको प्रष्टै सुनिएको थियो यो यति हुँदा पनि किष्नले सुइँको पनि थिएन, जमुना तिमिलाई सन्च भअन कि क्याहो के भओ भनेर दौडन लागेको मान्छेलाई मैले तिमी जाने ठाउँ हैन त्यो भनेर रोकेँ ।

उनिहरु खोल्सामा गएर नुहाईवरी आए अनि टाटा परेको कुर्था छोप्न जमुनाले पछ्यौराको सप्कोले बेरेर आउँदा शायद मलाई एउटा जुनि नै फेरिए जस्तो लाग्यो भर्खरै निउवा साँधेकी जमुना अब निकै ठूली भए जस्तो भान भयो हुन त उस्को ज्यान पनि अलि हट्टा कट्टा नै थियो बाहुनी भए पनि कसिली मोटी डल्ली मगर्नी जस्तै भएकी थिई मुर्रा भैँसी जस्तै सप्रेकी तर मिलेको ज्यान थियो, हावा भरेको बेलुन जस्तै पुष्ट थिई । केटि मान्छे पन्छिए पछि उनीहरुको जनेन्द्रीय प्रकृया शुरु हुन्छ भन्ने पनि मलाई थाहा थियो अनि सँगै बोल्ने खेल्ने चल्ने अनि दकुर्ने लड्ने जस्ता कुरामा बन्देज आउने भयो अब उ पनि ठूली भई, अब जे पायो त्यहि बोल्न पनि भएन, खेल्न चल्न पनि केके हो भनेर मनमा कुरा खेलिरहे, पहिलो पटक आफ्नै किशोराबस्थाको सैसाथे हर्लक्कै बढेको अनुभूति भएको थियो मलाई ।

बसन्तीले मलाई टाढैबाट आँखा नझिम्काई कन हेरिरही, तर किस्न अझै पनि लाटीले केरा हेरे जस्तै भएको थियो, वाल्ल र जिल्ल परेको थियो न केहि सोध्न सक्थ्यो न बुझ्न सक्थ्यो । हेर गोपाल दाई मलाई पनि डर लाउन थालो अब त आबुई केटी मान्छे भएसी के के बेहोर्न पर्नि हो, हारेकै जुनी भनेको ठिकै हो कि क्या हो, भए जति जम्मे केटि मान्छे ले अर्न पर्नि अनि केटाहरु भने हाइसञ्चो क्यार्नु र यस्तै हो जे होला होला है, यो काली तल कान्लामा डाँको छोडेर रोकी थिई अघि सुनेनौ तिमेरुले,

किन नसुन्नु नि यो किस्ने त उतै दौडँदै थियो मैले समातेको नत्र सातो गअर जमुना भन्दा यो झन डाँको छोडेर रुन्थ्यो हि हिहि सबै जना हाँस्यौँ तर किस्न अझै पनि जिल्ल नै थियो तैपनि मुख अलि अलि चेतेकै थियो ।
जाम अब मेरो गोरु त तअअअल छ म लिएर आउँछु किस्न दाई यो जमुने सँगै जानुस उस्का बाख्रा पनि लगि दिनुस है आज अलि बिरामी छ के हि हि ख्याल गर्नु होला आफ्नीको भन्दै खुच्चिङ्ग गरि अनि दुइजना गोरु र बाख्रो डोर्याएर उँभोतिर लागे । मैले बसन्तीको गोरुलाई आफ्नै भाषमा बोलाएँ आ आ  आ माले आ आ  माले आ आ  भनेर बोलाए पछि फूरुक्क हुँदै आइहाल्थ्यो खै किन हो बसन्तीको त गोरुले पनि मेरो कुरा मान्थ्यो, अरु जो सुकै देखे पनि सिँगले हान्ने गोरु मलाई सिँगमै बसे पनि केहि गर्दैनथ्यो शायद पशु भएर पनि बफादार थियो ।

धेरै बेर बसन्ती केहि पनि बोलिन, चोलो को खल्तीबाट दुइटा कसार निकालेर पसारमा राखी अनि एउटा खाउ भनेर आँखाले इशारा गरि मैले पनि निकालेर खाएँ, मलाई बसन्ती र म दुइजना मान्छे हो छुट्टाछुट्टै मान्छे हो जस्तै लाग्थेन घरी घरी । मैले अहिलेको अबस्थाको आँकलन त्यतिबेला गरेकै थिइन शायद हामि दुबैजना मकैका दुध पस्न बाँकि भएका भर्खरका बुआँ जस्तै भएका थियौ । बसन्ती भनेर मैले बोलाएँ उस्ले झस्किएर हँ भनि । हेरत जमुना त पन्छिई अब के होला है । अब त्यो पनि ठूली भई तिमिहरु सँग यसरी लडाभाँती गर्ने कुस्ती खेल्ने लड्ने दिन पनि सकिन लाए , अब तिमि पनि ठूली हुन्छ्यौ, अनि न मैले कुइँयाउन पाउँछु न डुम खेल्न पाउँछु अब त लाज मान्नु पर्ने बेला पनि आउँछ बाबै भन्दा बसन्ती भसङ्ग भई ।

हामिले खेल्ने रनबन, हाम्रै भावना सँग बटारिएका हाम्रा डिँगा बाख्राहरु, यि सबै त अहिले याद हरु मात्रै छन उति बेला बसन्तीले दिएको लाइन मैले समाउन नसक्दा मेरै आँखा अगाडि उस्को पनि बिहा भयो, उस्को बिहामा उस्लाई डोलिमा चढाएर घर छोड्ने बेलामा गोपाल दाई भनेर चिच्याएर रुँदा मैले पनि डाँको छोडेर रोएको म अहिले पनि भुल्न सक्दिन ।

Saturday, 24 March 2012

उहिलेको कथा




"पानको पात माया तिमिलाई सम्झिन्छु दिनको रात मस्र्याङ्ग्दी सलल ..." भन्दै मानबहादुर दाईले काँधमा कोदाली लिएर दिउसो पख गहुँबारीमा पानी लगाउन हिँड्दा म भर्खर स्कुल पढ्थेँ । मैले स्कुलबाट बिदा भएर खोले सिमल हुँदै आउँदा हरेक दिन जसो उनलाई म त्यहि इष्टकोट र कछाडमा देख्दथेँ । एैसेलु पाक्ने बेला, रुखमा तिँजु पाक्ने बेला अनि सिमलको गेडा खान पाइने बेला थियो तर म सानो मान्छे न तिजुँको बोटमा चढ्न सक्ने, न सिमलको गेडा झार्न सक्ने अनि एैँसेलु त ठूलाबडाहरुले बिहानै सकाएर भर्खर बाहिर निस्कन लागेका मचेल्टाहरु खाएर भए पनि धित मार्दथेँ । हावा चलेको बेला तिँजुको रुख मुनि बसेर अवसरको फाइदा उठाउँथे कि हावा लाग्दा झन पाकेर गुलिया भएका तिँजुहरु खान पाउँथेँ कहिले काहिँ त झोला भरि हुने गरि झर्दथे, सकि नसकी खायो अनि पालुवा चढेको तिजुँले ढलीमली हुँदै घर पुग्थेँ ।

माने दाई आज मलाई सिमल झारिदेउ न भनेर पानी लगाउन उँधोतिर बेस्मारी हिँडेकालाई अड्काएँ र दाईले रुखमा चढेर खुट्टाले दुई थर्चन मार्दा दुइ दर्जन भन्दा बढि सिमलको फूलका गेडा भुईमा लटरम्म झरे अनि मलाई यो मौसमको पहिलोे दशैँ आए जस्तै भयो, हत्त पत्त झोलामा राखेर दाईलाई नमस्कार गरेँ अनि दाई मज्जाले हास्नु भयो । हेर लाटा किन नमस्कार गरेको, अनि त्यसै भनेर सुइकुच्चा ठोकेँ ।

ए बाबु कृष्ण तँलाई लेख्न आउँछ है, म जे जे भन्छु त्यहि त्यहि लेख्दे है, भन्नु भयो अनि मैले हुन्छ भने ।

"तिमि लक्षीमा लाई मेरो धेरै धरै सँझना छ, म तिमिलाई हरेक समय सँझिरहन्छु । खेतमा पानी लाउन जाँदा पनि कुलोको रहमा तिम्रै छायाँ देख्छु, झलमल्ल तिमिनै देखिन्छ्यौ, यो के भयो मलाई, अस्ति मैले तिमिसँग कुरो अर्न खोजेको थेँ । तिमि मन्केर हिँड्यौ म नराम्रो माने भनेर होला, गरिव भयो भनेर हेला गरेकी तिमिले, जे भए पनि तिमिले लात्तिले कुचे पनि तिम्रै माने हुम । तिम्रो उत्तर कुरेर बसेको हुन्छु, लेखेर यहि किस्नको हातमा पठाइदिनु, तिम्रो मान बहादुर । "

मैले भनेको लेखेर सकिस् त्यसो भए यता ले भनेर दाइले म सँग कपि मागेर त्यो पानो च्याते र तिङ्कुशे पारेर पट्टयाये अनि नङले दोब्राएर मलाई गैराघरै लक्षिमा दिदिलाई कसैले थाहा नपाउने गरि खुसुक्क दिएस है फेरि कसैले यसलाई थाहा पाए भने त बर्बाद हुन्छ, ल तँ आज जा फेरि घर जान ढिला हुन्छ अनि म कहिले आम भनेर सोधेर फेरि लिन पनि जानु है फेरी, भोलि म तँलाइ लटरम्म एैँसेले भएको ठाउँमा लिएर जान्छु नि है भन्दै मानबहादुर दाइले ढाप मारे ।

यो के हो र दाई भनेर फेरि सोधेँ । दाइले हाँस्दै तैले बुझ्दैनस के पछि बुझिहाल्छस नि, अहिले लाई छोड्दे आफ्नो काम गर भने पछि म पनि हुन्छ भनेर लुरुक्क भएँ अनि दाइले गोजीबाट पिपलगेडी निकालेर मलाई दिए । पिपलगेडीको गुलियोमा दाइका सबै कुरा भुलेँ अनि चिठि लिएर लक्षिमा दिदिकाँ हानिँए ।

लक्षिमा दिदिकाँ हजुरबा हुनुहुन्थ्यो पिँढिमा बसेर खोक्दै हुनु हुन्थ्यो अनि म पनि लुसु लुसु गएँ । हैन यो किस्ने आज कताबाट बाटो बिराएच, आइजा कान्छा भन कति कामले आइस, महि खान्छस खरो भइच्च भने भन भोक ला भे मकै भट्ट भुट्दै छे हजुरआमाले भित्र गएर मागेर खा है कहिल्यै नहाउने नाती आको आज भन्दै हजुरबा फतफताउँदै कटेरा तिर लाग्नु भयो । मैले न मकै भट्ट, न महि लक्षीमा दिदि लाई खोजेको थिएँ, कसैलाई भन्न पनि भाको छैन । अनि म पनि भित्र हजुरआमा सँग गएँ र महि मागेँ अब ढुँग्रो किन लुकाउनु भन्ने लागेर लक्षीमा दिदी घाँस काट्न जानुभको हो र हजुरआमा ।

हो त नि दिउसै गकि हो घाम ढल्कन लागे अझै आकि छैन, अचेल घाँस पनि त्यति हुन्न खडेरीको बेला यस्तै हो बाबु नाती, किन चाहियो र लक्षीमा मही माग्नलाई हि हि हि भन्दै हजुरआमा खित्किन लाग्नु भयो । हैन नदेखेर भनेको के भनेर महि खाएर बाटोको मड्कुला मा कुरेर बसेँ दिदिलाई । धेरै बेर मैले चिठी लिएर मड्कुलामा चिठि लिएर एकोहोरो ध्याउन्नमा धोल्लिएर बसेको थिएँ । उता कुइनेटाबाट केटीहरु खितित्त हाँसेको आवाज आयो, जुरुक्क उठेर हेरेँ लक्षीमा दिदी सँग अरु दुइजना कान्छीआँ र फुल्की पनि थिए । उनिहरु मेरो नजीक आए, अनि फुल्कीले मेरो गालामा चिमोटी अनि ओठ गिथोलेर हिँडि केहि पनि भनिन तै फुल्की पनि म भन्दा चार बर्ष जेठी भए पनि हर्लक्क तरुनी भएकी थिई चार कक्षा पढ्दा पढ्दै छोडेकी अरे लेख्न पढ्न जान्दथी राम्रो सँग ।

म उनीहरुको पछि पछि हिँडिरहेको थिएँ हात मुठी पारेर, अनि मैले लक्षीमा दिदि भनेर बोलाएँ पाकेका खनिम भएका भए दिनुस न भने किनकी त्यहि बहानामा दिदिसाँ मेरो काम फत्ते गर्नु थियो । छैन किस्न आज हेरन घाँस नपाएर चाहार्द चाहार्दे ढिलो भयो भोलि ल्याइदिम्ला है भन्नु भयो त्यति बेला सम्म फुल्की र ठूली आमा पचास पाइला अगाडि गएका थिए अनि फेरि डराई डराई लक्षीमा दिदि, मान बहादुर दाइले मलाई हजुरलाई दिन भनेर एउटा पानो पट्टयाएर दिनु भइच्च यि लिनुस भनेर दिएँ अनि लक्षीमा दिदि म जान्छु है भोलि खनिम ल्याइदिनुहोला है यहिँ कुरेर बस्छु भनेर तारिख  थमाएर हिँडे ।

गाममा छोरी नछुने भई भने ठूली भई यस्लाई बिहादान गर्नु पर्छ, भन्ने हुँदा हुँदै पनि उ बाझिदै थिई उमेर पच्चीस भन्दा बढिनै भएको थियो । जो आए पनि उस्लाई कालि मोटी भनेर बिहा गर्न मान्दैनथे । तर प्राकृतिक देन उभार सँग उ लडिरहेकी थिई, जवानीका आँधिबेहरी लाई पन्छाउँदै प्यासी जिवन बाँचिरहेकी थिई । उस्को पिडासँग आत्मसाथ गर्ने कोहि पनि थिएन न उस्को भनेको कसैले सुन्थे उस्को परिवारमा । एक दिन त अझ के भयो भने उस्को लागि हेर्न आएको केटाले पल्ला घरकी फुल्कीलाई बिहा गर्छु भनेर हौसियो झन उस्लाई सिस्नुपानीले झटारे हाने जस्तै भयो । जिवन अब कुइनेटाको चौतारीमा सुकेको पिपल जस्तै लाग्न थाल्यो । उता फुल्की भर्खर १३ बर्षकी भए पनि कुन केटाले म यस सँग बिहे गर्छु के भनेको के थियो कुत्कुतिएर भइँमा खुट्टै थिएन । लक्षीमा लाई रात भरी निद लागेन मान बहादुर ले यो खोस्टो मलाई किन दियो, कसैलाई देखाउन पनि भएन आफूले पढ्न जान्दिनथी ।

अनि मान बहादुरले आफूलाई गाडिएर हेरेको भारी बोक्न सघाएको सबै सँझिन थाली, एक दिन फुल्की ले भनेकी थिई के त्यो बन्जाडेका बाहनले मलाई हेरन दिदी "म तिमि बिना मर्छु, तिमिले हुन्छ भन्देउ, तिमि असाध्यै राम्री लाउछ मलाई बिन्ति छ जति गालि गरे पनि गर जति पिटेपनि सहन्छु बरु तर हुन्छ भन्देउ भनेर लेखेको थियो" अनि मैले उस्लाई बाँसका कपेटाले हानेर लखेटेँ अनि कान समाते पछि छोडिदिएँ भन्थि । शायद यो पनि यस्तै होला भनेर अड्कल काटेकी थिई । एकसुरमा अँगेनाको डिलमा बसेर आगो सज्दा सज्दै त्यो चिठि पनि बलेको उस्ले पत्तै पाइन पछि हात खोतलेर हेर्दा रित्तो हात अनि अँगेनामा चिठ्ठीको खरानी भएका पानामा अक्षरका डाम मात्र थिए ।

भोलिपल्ट कुइनेटामा च्युँडोमा हात राखेर म भन्दा पहिल्यै लक्षीमा दिदि आएर बस्नु भको रैच अनि मैले सिरुको फूललाई कानमा सुर्र्रर्रर पारेर झस्काएँ, धत् के गरेको बजिया भनेर म सँग हाँस्नु भयो । खै खनिम आज पनि छैन भन्दा दिदिले पटुका बाट एकमाना जति खोल्सामा धोइवरी ल्याउनु भाको रैछ अनि सबै मलाई दिनुभयो । दिदि तपाईले पनि खानुस न सबै मलाई किन हो र आज भातै खान नपर्नी भओ भन्दै म कपाकप खान थालेँ बाँदरले जस्तै ।

हेरन किस्न तिम्ले दिएको कागज त मैले ऐनामा आगो सज्दा भुलेर हरर्रै बल्यो के थियो कुन्नि थाहा छ, अनि माने दाइले मलाई केहि भनित्ते र भनेर दिदिले सोध्नु भयो तर मैले पनि लेख्न त लेखेँ तर के लेखेँ भन्ने त्यति थाहा थिएन । केहो र भनेर सोधेको तैँले अहिले बुझ्दैनस पछि आँफै बुझिहाल्छस् नि भनेर भन्नु भओ तर "लक्षिमा तिमि अस्ति रिसाएर हिँड्यौ म नराम्रो मान्छे" अनि के के हो मैले सँझिन दिदि, फेरि भनम मान बहादुर दाई लाई भन्दा दिदिले पर्दैन बरु लक्षिमा रिसाएकी हैनन अरे भन्दिनु है जे सोध्न मन लाग्छ सोधे हुन्छ भनेर भन्देउ है, म किन रिसाउनु र मान बहादुर दाई सँग हैन्तनि किस्न क्यारिच्चन र बिचरा मान बहादुर दाईले ल जौ तनि आज त्यहि भन्देउ है भन्ने खबर लिएर म बाटो लागेँ ।

आज मान बहादुर दाई उहि समयमा सधैँ तल हानिने मान्छे तर बाट उकालो आउँदै थिए मलाइ देखेछन क्यार प्mवाँ प्mवाँ गर्दै आएका थिए । अनि आलिमा बसेर लामो हकारो ताने अनि टोपी झिकेर पसिना पुछे । अनि किस्न आज एँसेलु खान जाने हैन त कि तिँजु खान जाने भन भनेर मलाइ रोजाए तर म ऐँसेलु रोजेँ अनि मज्जाले ऐँसेलु खान पाएँ पहिलो पटक, दाइले दिएको एक पसार मेरो अँजुली भरी हुन्थ्यो अनि म त्यस्लाई दुइ पसार बनाएर खान्थेँ । धेरै एैँसेलु खाएकाले म त्यसै झुम्म भएको थिएँ ।
अनि दाई तपाई ले हिजो दिनु भएको कागज थियो नि त्यो त लक्षीमा दिदिले आगो बाल्दा भुलेर हरर्रै भएच ।

दाइले झस्किँदै हो र भनेर सोधे, अनि हो दाई अनि अरु के भनिन त लक्षीमाले, मलाई गाली त गरिनन् अनि मैले दिदिले सोधेको कुरा मैले भनेको सबै कुरा दाई लाई बेलि बिस्तार लगाइदिए पछि बल्ल दाइको थुतुनोमा बसन्त ऋतु जस्तै मौसम फेरिए जस्तै भयो । टोपी फुकाले अनि टाउकोको कपाल मिलाए अनि टक्क मिलाएर टोपि लगाए अनि हतास पतास दारी पनि सुम्सुम्याए अनि फुरुक्क हुँदै कप्काएको कोदाली निकालेर काँधमा भिरे अनि फेरि भुइँमा राखे इष्टकोट खोले अनि झट्कारेर धुलो झारे अनि कमेजको धुलो पनि टौटक्याए अनि कान्लाको कुनामा गएर कछाड पनि टौटक्याए अनि मुजा मुजा पारेर मिलाएर कछाड लगाए अनि त्यस माथि इष्टकोट लगाए अनि सधैँ काँधमा राख्ने कोदाली आज हातैमा लिएर हिँड्न थालेँ अनि म हेरेको हेर्यै भएँ । अनि इष्टकोटको भित्रबाट रारा चाउचाउको खोल निकालेर त्यसबाट दुइ रुपैयाँ मलाइ दिए । म आज अचम्मै परेँ कि आज म परिक्षा नदिइकन पुरस्कार पाए जस्तो भयो अनि त्यो दुइ रुपैयाँ पनि कसरी मास्ने के मा खर्च गर्ने भनेर अर्को झमेला आइलाग्यो ।

मान बहादुर घरमा खासै श्री सम्पत्ति नभए पनि सानो घर थियो घरमा उनि एक्लै थिए । गाउँ भरिका सहयोगी थिए कसैको घरमा पुजा आजा पर्दा बिबाह ब्रतबन्ध मर्दा पर्दा सब भन्दा पहिला आउने उनै थिए तर उनको आफ्नै जिवनका लागि सोचिदिने कोहि थिएन । समयले घर्केको थियो जवानी असौज कार्तिकका खोल्सा जस्तै पातलिँदै थियो न कसैसँग खुलेर कुरा गर्न सक्थे शायद जिवनमा उनले आफ्नो कुरा भन्नै पाएनन । कति बिहामा जन्त गए होलान तर निस्तो खाजा जस्तै थियो सबै उनलाई पछिल्ला दिनहरुमा उनलाई पनि साथको अभाव महशुस भएको थियो ।

तोरीमा पानी लाउन जाँदा तलबाट घाँस लिएर आउँदै गरेकी लक्षीमा सँग मान बहादुरको जम्काभेट भयो । लक्षीमाले पनि मान बहादुर लाई टाढैबाट देखेकी थिइ उस्लाई जम्काभेट थिएन अनि कान्लोमा घाँसको भारी बिसाएर भनि आज अलि गारो भयो मान बहादुर सघाउँछौ भनेर कुरा शुरु गरिहाली उसलाई मान बहादुर सँग बोल्न केहि आइतबार थिएन । तिम्रा कागजका खोस्टाले म रातभरी निदाइन, यसै पढ्न आउन्न भन्नी तिमिलाई थाहा हुँदा फेरि किन पठाका हौ नि फिरी के लेखित्यौ त भनन त ।

तलबाट कान्छी काकी पनि घाँसको भारी लिएर आउँदै थिइन अनि नबिसाइकन सरासर हिँडिन अलि एकोहोरी स्वभावकी काकी जे काम गर्यो नसकिए सम्म गरेको गर्यै गर्थिन तर सुस्त मनस्थिति चाहिँ हैनन । हैन लक्षीमा अस्ति मैले तिमिलाई बोलाउन इशारा गरेर कति पटक ट्याक ट्याक गरे तिम्ले हेरिनौ नि अरु पनि थिए फेरि बोलाउँदा रिसाउली कि भनेर बोलाइन भनेर मान बहादुरले पोल खोल्न थाले कहिँ नभाको कहिल्यै लक्षिमा सँग नबोले जस्तै गरि । यहि बर्षामा खेतमा रोप्दा तल्ला गरामा खेत रोप्दै गरेकी लक्षीमा लाई उठेको बेलामा अगाडिबाट हिलोपानी छ्यापेर उस्का सबै लाजलाई लिछिप्प पार्दा पनि उस्ले केहि नभनी घोप्टो परेर रोपिरहेकी अनि मानबहादुर पनि रातो पिरो भएर आली लगाउन छोडेर कान्लो खन्न दौडेको धेरै भएकै थिएन र पनि उ कत्ति पनि रिसाएकी थिइन ।

मान बहादुर दाई हजुरले बोल्न मात्र के हो र मनमौजी अर्नु भएकै छ क्यार ढुँगाले हान्ने, हिलाले भिजाउने, गोरु चराउन जाँदा बाघ कराएको बहाना पारेर मलाई डराउन दिएर तिम्लाई नै झम्टन गएको के पो बाँकि छ र भन न । तर तिम्ले जे भने पनि जे गरे पनि म तिमि सँग कहिल्यै रिसाइच्चु भने भन क्यारे अनि केका लागि हो । यसै पनि मलाई गन्ने मान्छे को छन र कहाँ गई के खाई कि खाइन, सञ्चो आराम छ कि छैन को छन र ?

त्यस्तो हैन लक्षीमा अरु बेला म तिमिलाई जसरी ब्यबहार गर्थे भन्दा अल्लि अर्कै भएर हो के । अचेल मलाई पनि कसैको खाँचो भएको छु एक्लै भएँ भन्ने दिमाखमा आएको छ के त्यहि भअर हो, तिमि रिसाउँछौ कि फेरि एउटा कुरा भन्ने थिएँ, तिमिलाई मन नपरे मन परेन भन, तर मन नपरे पनि ठिकै छ तर नरिसाउ है त । लक्षीमाले टाउको हल्लाएर इशारा गरी ।

लक्षीमा भित्र पनि फुल्कीले भनेको चिठीको कुरा अनि उस्को कुराले त्यहि कथा दोहोर्याएको थियो । त्यहि भएर बोल्न छोडेर इशारा बदलिएकी थिई । उता मान बहादुर पनि के भनम भनेर मनमा उखरमाउले भइरहेको थियो मन त सेल रोटी पकाउने कराइमा सेल रोटी जस्तै घुमिरहेको अनि घुम्दा घुम्दै कतै रोटी टुक्रिन्छ कि भनेर फन्किरहेको थियो ।

खास्सा कुरो किन तिमि सँग किन लुकाउन परो र , हेर म गरिव छु नराम्रो छु पढेलेखेको पनि छैन, हेर्दा पनि बुढै जस्तै भएँ चालिस हुन अब चार पाँच बर्ष मात्र बाँकि छ । इलम भनेको यस्तै छ तिम्लाई पनि थाहा छ । अहिले सम्म म जे जस्तो भए पनि कसैको कुभलो अरेको छैन, सुबिस्ता हुने नै काम अर्या छु । तिमिलाई म कस्तो लाम्च भन त्यस पछि कुरो अगाडि बढाम्ला ।

लक्षीमाको अनुहारमा कहिल्यै नझुल्केको चाँदनी आज झुल्किएको थियो । धेरै समय सम्म नबोलिकन छेस्काले भुइँमा कोप्दै चित्र बनाउँदै बसिरही घरी बाटुलो घरी चेप्टो घरी चारकुने बनाउँदै बिगार्दे थिई । त्यत्तिबेला म पनि त्यहाँ पुगेँ अनि मान बहादुर दाई मलाई सोध्दै थियौ नि कोट्याई कोट्याइ आज त आफै सँगै भएचौ दइटै अब भन न आफै मलाई मात्रै । तर मलाई त उता गए खनिम महि मकै यता तिजु, ऐँसेलु अनि पिपलगेडी है दाई ।

खै किन हो दुबै जना दुइ किनार भएर बसेका थिए । म सँग कोहि बोलेका पनि थिएनन तर रिसाएका पनि थिएनन् दुबै जना कता हो कता हराएका थिए । साँच्चै तिम्ले नभन्नी नै हो त लक्षीमा त्यसो भयो म तिम्लाई राम्रो लाम्दो रैन्छ भन्नी जानेँ भओ मैले । ठिकै छ जहाँ जाला जोगी भातै खाला त हुम्ला नि म तर तिम्रो ख्याल अर्नी मान्छे हुम केरे म पनि तिम्ले मलाई चिनेकै रैन्च्यौ । दाइले यसो भनो भनेर नरिसाउ है ।

लक्षीमा दिदिले घाँसको भारी उठाउन डोको सोझो पार्नु भओ अनि मान बहादुर दाइले पछाडिबाट उठाइदिए अनि जुरुक्क उठ्नु भयो । मानबहादुर दाइले पनि अस्तिको जस्तै काँधमा कोदाली भिरेर लक्षीमा दिदिको अगाडि हिँडे म बिचमा थिएँ म प्यार प्यार कराइरहँदा पनि कोहि पनि बोलेनन् । म बिलखबन्दमा परेँ आज के भयो दुइ जनालाई भनेर अलमल्ल पनि परेँ । एक छिन उकालो हिँडे पछि समीको रुखको चौतारी आयो ।

दिदिले भारी बिसाउनु भयो मान बहादुर दाइले डोको अड्याएर मिलाई दिए । अनि लक्षीमा दिदिले फेरि एक माना खनिम आधा मलाई आधा मान बहादुर दाइलाई दिनु भयो । खनिम राख्न खोल्तीमा हात हाल्दा चुहिने भएकोले बेस्मारी हास्नु भयो र झोलामा हालिदिनु भयो । अनि मान बहादुर दाइले पनि आज त खल्तीका सप्पै एक पसार पिपलगेडी इष्टकोट टक्टक्याएर दिनु भयो ।

जे भए पनि यो किस्न नै हो मेरो साथी भनेर खुइय गरे अनि लक्षीमा पनि हुन हुन त भनेर लेघ्रो तान्दा नजानिँदो गरि मान बहादुर दाइसँग टाँसिएर मैले तिम्ले जे गर्दा पनि कहिले रिसाइछु र तिम्ले जे भने नि नमानेइ कहिले हुम र हाम्ले तिम्राअस्तो भन्न काँ सक्चम त नी माने दाई भनेर बल्ल पहिलो पटक आँखा कहिल्यै नछुट्ने गरि जुधे अनि हामि फेरि सुनसान भएर हिँड्यौँ । सिम्लेका गौँडाबाट लक्षीमा दिदि जानु भयो घरतिर अनि मान बहादुर दाइले मलाई कँधार कुट्टिी हालेर बोक्नु भयो उफ्रिँदै उफ्रिँदै ।