Wednesday, 24 April 2013

यात्रा, सहयात्रा, जिवनयात्रा र म यात्री


ए भाउजु ! मिइइइठो चिया ख्वाउनुस न हो भन्दै किरण !! र चियावाल्नी भाउजु चाहिँ यस्तै हो सर कति बर्ष भयो यहि चिया पकाको पकाकै छु, जानेको मिठो गराउँला भनी चियाका भाँडाकुँडा टङ्गल्याङ्ग टुङ्गलुङ्ग बजाउँदै हुनुहुन्थ्यो । उता पट्टि डेक्चीमा अलिकम भरि दुध उम्लिरहेको थियो, त्यसैबाट चार डाडु दिउरीमा घोत्तियो, एक र आधा चमच चीनी, अनि पत्ति, चियामसला नजानिँदो अझ त्यसमा आधि तेजपत्ता राखेर मसीनी भाउजुले उमाल्दै घोट्दै पकाउँदै हुनु हुन्थ्यो । हैन ज्वाइँलाई मेजमानी गरे जस्तै चिया पकाउन पनि त्यति सारो उपद्रो गर्नु पर्छ र भाऊजु ? भनेर किरण फेरि च्यातियो, साहुनीकी तरुनी छोरी जिब्रो टोकेर मतिर हेर्दै थिई, मैले पनि आँखा झिम्क्याई दिएँ, जे सुकै मरोस लौ खा भनेर ।

समाचार आउने बेला त्यो पनि साँझको ८ बजे उज्यालो ९० एफ एम बाट राष्ट्रिय समाचार आउँथ्यो । त्यत्तिबेलै भित्तामा थोत्रो रेडियो झुण्डिएको हुन्थ्यो दुइचार थप्पर पारे पछि बज्ने, अझ कहिलेकाहिँ रेडियो नेपालको समाचार सुन्न खोज्यो भने यो रेडियो नेपा...... भनेर रोकिन्थ्यो अनि थप्पर मार्दा मार्दै ...ल त छुटिहाल्थ्यो । छोरीले "लौनुस् चिया" भनेर दिँदा किरण चाहिँ ट्वाल्ल पथ्र्यो, उस्ले चिया टेबलमा राखेर पर पुग्दा पनि ऊ एकोहोरिएकै हुन्थ्यो म चाहिँ चियाको सुर्कि लगाउँदा फरक  स्वाद जिब्रोले थाहा पाइहाल्यो रङ्ग कडा चीनी कम ।

रात्रीबसमा पिशाव फेर्न गएर फर्किँदा उपद्रो भयो, म गाडिमा चढ्नमात्र के लागेको थिएँ, हाम्रै यात्राकी सहयात्री एक्कासी म माथी घोप्टिन आइन, मैले सकि नसकी हात थामेँ अनि नसकेर दुबै हात छोडेँ दुबै जना बस चढ्ने खुड्किलाको भुइँमा लड्यौँ उनी त जुरुक्क उठिन र पहिला हातले नाक छोप्न के के खोज्दै थिइन केहि नपाएर हातैले छोपे जस्तो गरे पनि म लडिरहेकै देखेर हात समातेर उठाइन । के के भयो भयो यो एक मिनेट भित्र तर पनि आफूलाइ सम्हालेँ र उनलाई पनि सम्झाएँ यस्तै हो अँध्यारोमा, सानो तिनो दुर्घटनै भयो नि भने आफ्नो भने यता पछिपट्टि दुखेकै थियो । यो मामलामा केटि मान्छे सँग म छिट्टै घुलमिल पनि भइहाल्थेँ । मैले त उनीसँग बोल्नका लागि अवसर खोजेकै हो नि तर मलाई अवसर नै मिलेको थिएन तर मैमाथि घोप्टिन आएपछि अवसर त कति हुन कति । मेरो साथी कुरा बुझ्थ्यो, अनि मलाई वाक आउला जस्तो भयो भन्दै नाटक गर्न थाल्यो र तिनै सहयात्रीलाई आफ्नो ठाउँ साट्नका लागि अह्राएँ बल्ल जुर्यो हाम्रो बोल्ने अवसर ।

किरणले यस्तै तर उल्टो कथा सुनाएको थियो मलाई । भर्खर एस एल सि पास गरेर उच्च शिक्षा पढ्ने शिल्शीलामा उ पोखरा बाट नारायणगढ आउने बेलामा भर्खरकी नानी सँग एउटै सिटमा बसेर दमौली आउँदा सम्म त बोलचाल पनि भएन रे, अनि त्यहि नानीको सानी बहिनीले बाक्के बिक्के गर्न थालेपछि भने बल्ल बोलचाल भएछ । अनि बल्ल एक आपसमा भएका चाउचाउ फलफूल साटासाट गरेर खाएछन अनि त्यतै कताहो भन्थ्यो बिच बाटोमै गाडि बिग्रेर तीन घण्टा रोकिएपछि आँबु खैरेनी नीरै साँझ परेछ । उनीहरु नारायणगढ हुँदै ज्यामीरे सम्म जाने भनेर हिँडेका केटि मान्छे अनि अचेल जस्तो गाडि नपाइने भएकाले तपाइँ कहाँ बस्नुहुन्छ हामि पनि त्यहिँ बस्छम भन्दा त केटाको होसको चल्लै उडेछ, अनि पिशाव फेर्ने निहुँमा छोडेर भागेछ र भन्छ अहिले पनि शायद उनीहरुलाइ त म अब देखेर पनि चिन्दिन तर जिवनमा गरेको सबभन्दा पहिलो गल्ती त्यहि थियो जुन उनीहरु लाई चिन्न सक्ने भए अहिले पनि गएर माफ माग्थेँ भन्ने गर्दछ । उनीहरु सुरक्षित रुपले घरमा पुगेका भए त हुन्थ्यो यहि कारणले तल माथि भएका भए त्यसको प्रायश्चित गर्नलाई मलाई अव अबसर पनि छैन भन्थ्यो अहिले पनि सुनाई रहन्छ बस चढ्दा बित्तिकै ।

केटि मान्छे सँग बोलि हाल्दैमा सँगै बस्दैमा गलत सोच्नु पनि उस्को समस्या होला वा उस्का आफन्तकहाँ लैजाँदा के भन्लान उडाउलान गिज्याउलान भनेर हो कि अथवा उनीहरुकै घरमा गएका भए पनि केहि बिग्रिन्नथ्यो र अथवा नजिकै कतै होटलमा बसेर भोलिपल्ट आ आफ्नो बाटो लागेका भए पनि हुन्थ्यो होला । खासमा मेरो बुझाइमा यो अनुभवको कमि थियो वा बुझाई को कमी थियो । तर मेरो दारपात अर्कै काठले बनेको हुँदा त्यसका खजाना पनि फरक त हुने नै भए ।

मलाई त तल पारेरै छोड्नुभयो है भनेर मैले कुरा शुरु गरेँ अनि उनी मज्जाले आवाज नआउने गरि हासिन अनि कता कता आफ्नै हुन कि झैँ गरि कान समातेर एक चोइटो बटारिहालिन मलाई झन सहिनसक्नु भयो तर सबै चोट अनि प्रहार आँखालेनै गरी हेरिरहेँ, लाग्थ्यो उनी लाजले अनि मेरो पाराले पानी   पानी भइन क्यार । यति छोटो बसाइमा म पनि आफ्नो भइसकेको थिएँ सामिम्यता थियो, लाग्थ्यो साइत जुराएर हिँडिएछ क्यार ।

हजुरहरु कहाँसम्म नि ? भनेर पहिलो बाक्य सुन्न पाउँदा बल्ल कुराको दोहोरी शुरु भयो । हजुरलाई त बोल्न पनि आउँदो रैछ नि म त आज बाटो भरि लाटि सँग हिँड्नु पर्ने भयो आफूलाई इशाराले बोल्न आउँदैन भन्ने कत्रो पिर पर्याथ्यो भन्दै पाएको बेला दुई चार बचनले लछारेँ ।

मलाई लाटी ठान्नु भाछ कि क्याहो भनेर ज्यान बँग्याएर बसिन । फेरि बोल्न उत्तर फर्काउन नसकेर छोकडा जस्तै चाम्रीन पर्ला नि फेरि । मलाई जसो तसो चलाउन गाह्रो छ । म केटि मान्छे उत्ताउली भएर यत्तिकै कसरी बोल्नु हजुर सँग अब वारपारको लडाई हुन्छ हेर्छु म पनि । लौ अब फसाद पर्ने भो साँच्चै बाठिको फेला परिएछ । केहि छैन म पनि के कम हेरौँला म पनि । केटा केटि भनेका रथका दुई पाँग्रा हुन फुकालेर कुनै पनि बलवान हुँदैनन सँगै भए पछि फेरि सिँह जस्तै हुन्छन । त्यसैले ऊ पनि म सँग जोडिएर गर्जिएकी हो भन्ने कुरा मानचित्र मनमा सजाएँ र मलाई अलि सजिलो भयो ।

नाम थाहा नभएपनि नबोल्दा सम्म लाटि अनी बोल्ने भएपछि कान्छी भन्न त पर्ला नि । तर म चाहिँ नाम सोध्ने पक्षमा छैन हाऊ । नाम सोधे पछि ठेगाना सोध्नु पर्यो । ठेगाना सोधे पछि घरमा कोको छन भनेर सोध्नु पर्यो । अनि फेरि फेसबुक आईडि स्काइप आइडि सोध्न पर्यो । अनि फोन नं. माग्नु पर्यो । अनि फेरि च्याटिङ्ग गर्नु पर्यो, हाई कहाँ छौ मिस यू यार रियल्ली मिस यू भन्न पर्यो बेकार छ यो सोध्ने कुरा मलाई नाम नभन्नु है म पनि भन्दिन । मलाई फोन नं. पनि नदिनु कुनै आई डि साइ डि केहि पनि नदिनु है भनेर भन्दै थिएँ ।

खै बोलेको म सँग ।

किन बोल्नु तपाईँ सँग ? बोले पछि माया लाग्छ, हालखबर सोध्न मन लाग्छ, घरको अबस्था सोध्न मन लाग्छ, घरका मान्छे पनि आफ्ना जस्तै लाग्छन । हजुरको पेशा आफ्नो लाग्छ हजुरको पीडा मलाई दुख्छ त्यहि भएर केहि पनि सोध्दिन म बोल्न पनि बोल्दिन । धेरै माया लाग्यो भने झुक्किएर आइ लभ यू भनिएला, आइ मिस यू भनिएला मायाले मन भरिएर अँगालो मारिएला भो म त केहि पनि भन्दिन मलाई नछोइकन सिटमा अलग्ग बस्नुस । भनेर भित्रभित्रै सल्किएको थाहा पाउँथेँ म । रात्री बस गुडिरहेको थियो घरि घरी बाटोको उज्यालो उस्को मुखमा पर्दा मैले उस्को नक्शा नियाल्थेँ ।

बसको आवाज एकोहोरो रुपमा र्याईँ र्याईँ गरिरहेकै थियो । फाल्गुणको महिना रातिमा अलि अलि जाडो हुन्थ्यो झन सिसा आफै सरेर चिसो हावाले सेक्थ्यो घरि घरि, म शिशातिर थिएँ कक्रक्क हुँदै थिएँ जाडोले तै पनि खटाएकै थिएँ । उस्ले ओढेको सल तन्काएर ओढ्न मन लागेन, मुखले जे जति भने पनि सिमा त सम्बन्धको बिचमा राख्नु पर्छ । सिमा बिहीन सम्बन्ध भनेको त प्रेमी र प्रमीका बिच हुन्छ, कहिले काहिँ श्रीमान श्रीमती मा पनि सिमा कायम हुन्छ भन्ने कुरा मैले देखे सुनेको थिएँ ।

बस गुडिरहँदा एक्कासि बाटोको खाल्डोमा उफ्रियो सबै जना झस्किए म पनि झस्किएँ तर त्यो भन्दा पहिला ऊ मेरो काखमा लुपुक्क टाँसिएर मलाई च्याप्प समातेकी थिई । मैले पनि मेसो पाएनछु, के भयो सानु तिमिलाई भन्न आएछ यसै । उस्ले पनि मेरो शरिरबाट आफ्नो शरिर छुटाई रेलगाडिले डिब्बा छुटाएजस्तै अनि लाज मानेर सरी म त गाडि पल्टियो भनेर हजुरलाई झम्टेकी भनेर आफ्नै पोजिशन मा बसि । वाताबरण बदलियो सँभवत म पनि बदलिएँ उसले रेलको डिब्बा छुटाए जस्तै आफूलाई छुटाए पनि मेरो मनको डिब्बा उस्को रेलबाट छुटेन ।

अब म हारेँ हजुर तपाईँ सँग, मेरो हजुर सँग प्रतिबाद गर्ने कुनै सामर्थ्य छैन र अर्थ पनि भएन अब भन्दै थिई ।

मैले बुझिन न हजुरको कुरा, आफू त सोओओझो मान्छे लौन हजुर भनेर चिप्लो पारेँ ।

लड्न लाई त दुइ पक्ष हुनु पर्यो नि तर म त हजुरकै पक्षमा हजुरकै कित्तामा आइ पुगेँ अनि के को लडाइँ को कुरा भयो र भन्या छिर्यो खोपडीमा । 

हो त ! म त त्यति टाढा पुगेकै थिइन साँच्चै भन्ने हो भने, मैले त जिवनलाई टुक्रा टुक्रा पारेको मान्छे, कहिले काहिँ जोडिँदा पत्तै पाउँदिन । मलाई टुक्रिएको, टुटेको बढि थाहा हुन्छ किनकी मैले आफूलाई कतै जोडिएको वा समेलिएको थाहा पाएकै छैन । आज पहिलो पटक महशूस गर्दैछु । बाइ द वे, म निशान, ब्यबस्थापन मा पोष्ट ग्रयाजुएट डिग्री गरेको केटो हुँ । हजुरले आफ्नो नाम भन्न असजिलो लाग्यो भने नभन्दा पनि हुन्छ तर म चाहिँ बचाएर राख्न सकिन आफूलाई र भनि हालेँ । उस्को मुहारमा इन्द्रेणीका धर्काहरु प्रष्ट देखिन्थे बिभिन्न रङ्गहरुमा । ऊ एकै पटक धेरै कुरा भन्न खोज्दै थिई तर मुखमा अड्किरहेको थियो । खाना खाने बेला भएछ क्यार गाडि बाटो छोडेर होटलको अगाडि गएर रोकियो अनि हामि तिन जना खाना खान तल झर्यौँ ।

के हो ? निशान दाई सकस धेरै भयो कि क्या हो जस्तो छ नि ! भन्दै उडाउन थालिहाल्यो कुनै कुरा पनि सिरियस रुपमा लिएको अहिले सम्म थाहा पाएको छैन यस्को मैले । कसरी जिन्दगी बिताउने होला यस्ले कहिले सुध्रिएला खै । हामि तिनै जना खाना खान बस्यौँ, बाटोको खाना ठिकै थियो मटन करी सहित को खाना आयो तिनै जना लाई । उस्ले आफूलाई एक पिस मात्र राखेर बाँकि मलाई र किरणलाई भातको माथि पर्ने गरि खन्याइदिई ।

खाना खाई वरी बाहिर पट्टिको टेबलमा बस्दै थियौँ किरणले आफू त जहाँ गए पनि एक्लै भइन्छ के ! भन्दै च्याट्ठिँदै थियो ।

अनि उस्ले साथी खोज्नु पर्यो नि ! यि हामि दुइ जना साथि भयौँ भनेर मेरो पछाडिबाट टाँसिएर किरणलाई कायल पार्दै थिई म चाहिँ कता कता जिवनमा नयाँ साथी भेटिएकोमा मख्ख थिएँ । फेरि बस स्टार्ट भयो हामि चढ्यौँ उहि सिट उस्तै बसाई । खाना खाए पछि एक छिन मलाई निद्रा लाग्ने बानी म निदाएँछु लुपुक्क, सधैँ भन्दा आज अलि आराम महशूस भएको थियो कि उस्ले मलाई आफ्नो काखमा राखेर आफू ननिदाईकन बसेकी रहिछ जब म ब्युँझे बल्ल थाहा पाएँ र पनि सँकोच लागेन अझै दश पाँच मिनेट उस्कै छातिमा टाउको अड्याएर सुतिरहेँ । त्यस पछि उठ्न खोजेँ उसैले टाउको समातेर उठाइदिई अनि आफ्नो पोजिशन मा बसेँ तर पछ्यौरा चाहिँ दुइजना को एउटै थियो ।

किन यस्तो हुन्छ मान्छेको मन यात्रि ज्यू हजूरले त मलाई पनि आफ्नै बाटोमा हिँडाउनु भयो । हजुर यो बाटोमा हुनु हुन्छ कि नाई हजुरको कुरा हो म चाहिँ हिँडे हजुर यात्री भए पनि म चाहिँ सहयात्री बनेँ म सहिँ बोले या गलत बोलेँ मलाई बेलैमा सच्यादिनुहोला प्लीज भन्दै अलिकति माया अलिकति बिश्वास अनि अलिकति अधिकार मिसाएर भनेको कुरालाई गलाउने मेरो सामर्थ्य नै भएन र गलाउनु पनि किन म पनि त त्यहि यात्रामा थिएँ उसै सँग उहि यात्रामा थिएँ ।

किन हजुरलाई म प्रति बिश्वास नै छैन भने एक्लै यस्तो निर्णय लिनु गलत हुन्छ । म कस्तो मान्छे हुँ मेरो पृष्ठभूमि केहो भन्ने कुराले पनि हजुरलाई असर पार्ला । बास्तवमा बुझाई चाहिँ हजुरको सहि हो दुइजना बिचको सम्बन्धमा प्रमाणहरु भनेका आँखाहरु हुन अनि मन हरु हुन । यस्ता प्रमाणहरु दृश्य हुँदैनन तर बलिया प्रमाण चाहिँ यिनै हुन । शरिरको  भाषा  अनुहारको  भाषा आँखाको भाषा यि सबै भाषाहरुको एउटै भाषा मायाको भाषा हो भन्थे, साँच्चै हो रै छ कि क्या हो । म पनि हजुरको यात्रामा सँगै छु अब हामि सँगै रहिरहने छौँ । 

सँगै त एउटै बसमा सँगै सिटमा बसे पछि सबै सँगै हुन्छन नि । हाम्रो अगाडि हाम्रो पछाडि कति जना सँगै बसेका छन ति सबै यात्री मात्र हुन सहयात्री होइनन तर हामि सहयात्री हौँ । यहि भन्न मात्र खोजेकी मैले । कुरा गर्दा गर्दै उस्ले आँखा लोलाउन थालि म ऊ ननिदाउँदै आफ्नो काखमा उसलाई राखेँ अनि ऊ मस्त निधाई म पनि निधाएँ । माटोको भर ढुङ्गो अनि ढुङ्गोको भर माटो जस्तो कस्तो यात्रा रहेछ यो पटक जस्ले जिवनयात्रा नै बदलिदियो । यो यात्रा त उज्यालो हुँदा सकिएला तर जिवनयात्राको यो शुरुवाती अन्तिम सम्म रहने भयो । देखेर मात्र हुँदैन लेखेर आउनु पर्छ भन्थे शायद आज त्यो पुरा भएको छ । करिब दुइ घण्टा निधाए पछि दुबै जना ब्युझियौँ ।

उस्ले मेरो मोबाइल मागि, त्यसैबाट आफ्नो नँबरमा डायल गरि अनि उता आफ्नोमा निशान भनेर सेभ गरि म नबोलि हेरेरै बसेको थिएँ । मेरो मोबाइलमा फेस बुक एकाउण्ट लग अन नै भएकाले खोली अनि आफ्नो नाम एड गरि । तुरुन्तै आफ्नौ मोबाइल लग अन गरेर एसेप्ट गरि मेरोमा नयाँ म्यासेज आयो । अनि फेरि मोबाइलमा उस्को आइ डि लाई इङ्गेजमेण्टको सम्बन्ध सेट गरि अनि उस्को मा पनि उस्तै भयो । तै पनि उस्को नाम चाहिँ अझै मलाई थाहा थिएन । उस्को आइ डि चाहिँ पाल्पा भनेर सेभ थियो तै पनि मैले नाम सोधिन । मैले हजुरको स्वतन्त्रतालाई अनि रित्तो पनमा केहि कुरा भरेर छोडेँ यो मेरो सम्पत्ति हो, जतिबेला पनि चाहिन्छ जोगाएर राखिदिनु होला । मलाई मेरो जिवनमा हजुरको नाम चाहिन्छ हजुरको साथ चाहिन्छ म त हजुरकै हुँ । परिस्थिति र परिबेशले भ्याए सम्मको साथ रहिरहन्छ तर मनको साथ चाहिँ मायाको साथ चाहिँ हमेशा रहन्छ ।

मलाई आपत्ति हैन म हुनुमा बल्ल आज गर्व छ, बस यत्ति भन्छु । म सँग जे जति छ त्यसमा हजुरको हक लाग्छ त्यो अधिकार मैले हजुरलाई दिएको छु खुशी जे गर्नु हुन्छ । म चाहिँ आज बास्तवमा गद्द् गद्द् छु खुशीले कसरी शब्दमा भन्नु मैले । 

बिहान पख चिया पिउनका लागि गाडि रोकियो हामि पनि झर्यौ, तर किरण चाहिँ निदमा मस्त थियो झरेन । हामि चिया का कप हरु साट्दै खाँदै गर्यौ, कस्तो मनोरम समय कति पूर्ण जिन्दगी जस्तो । हामिहरु त हिजो बेलुका मात्र होइन कैयौँ बर्ष अगाडि भेटेको बिबाहित जोडि जस्तो लाग्थ्यो घरि घरि । बस गुड्यो बाहिर घामको उज्यालो भुइँ भरि छरिँदै अँध्यारो भाग्दै थियो। हामि गन्तब्यमा पुग्यौँ, झर्ने बेला मलाई फोन गर्नुस है म पनि पुगे पछि फोन गर्छु, अनि बाँकि कुरा गरौँला धेरै कुरा भन्न बाँकि छ धेरै गुनासो गर्न बाँकि छ हजुरलाई !! भन्दै थिई, म बोल्नै सकिरहेको थिइन अब छुट्ने बेला भयो भनेर । हुन्छ नि मेरो पनि गुनासो धेरै छ तर पछि भन्छु ल भनेँ ।

हामि गाडि बाट ओर्लियौँ । ओर्लिन भन्दा पहिला उस्ले मेरो हात समातेर बसिरही उता किरणले खै खै बाटो ? भनेर भाँजो हाल्यो तै पनि केहि थिएन । एक छिन गाडिबाट ओर्लेर बाटोको पेटिमा उभियौँ । उस्को गाडि आयो, निशान जी आफ्नो ख्याल गर्नु होला म हजुरकी सभ्यता अहिले लाई बिदा चाहन्छु, जिवनयात्रामा त हामि सँगै छौँ नि हरपल ।

बाई ! बाई !!

किरण त हेरेको हेर्यै भयो, म पनि उस्को गाडिको गए तिर हेरिरहेँ, उस्ले अलि परि पुगेर पनि ढोकामा आएर हात हल्लाउँदै थिई मैले पनि हल्लाएँ र हामि पनि गन्तब्य तिर लाग्यौँ । 


No comments:

Post a Comment