Sunday, 23 June 2013

लघुकथा - नियाश्रो




म पनि त कहाँ एक्लो छु र हजुर जस्तो सहयात्री भेटेको छु नि भनेर यसै के भनेछु उनले त मलाई नीलो कार्पेट बिछ्याइहालिछन । सपनामा उठेर हिँड्ने बानी भएको मानिस जस्तो म पनि उनको सत्कारलाई पन्छाउन सकिन अनि उनको छेउमै किनारमै पुगेँ । कस्तो सामिप्य थियो लाग्थ्यो हामिहरु अब कहिले पनि छुट्टिन पर्दैन तर २४ घण्टाको रेलयात्रा त २४ मिनेट भएन त्यति बेला । उनलाई लाग्ने मैले बीचैमा छोडेर हिँडे जस्तो अनि मलाई लाग्ने चाहिँ मलाई बिचैमा झारेर आफू एक्लै गई जस्तो पीडा एउटै थियो छुट्नु पर्ने ।

लामो समय भेट भएन, भेट घाट कुराकानी हरु पनि पातलिँदै गए, चासो खाँचो पनि पातलिँदै गयो । खै अब त उस्को पनि फोन आउन एसएम एस हरु केहि पनि आउन छाड्यो अनि म पनि मरिच र्झै चाम्रिन लागेँ ।

अब त समय पनि ७ बर्ष बितिसकेछ, सँझना मात्र बाँकि थियो माया सल्काउनलार्इृ फेरि परालको आगो मात्र बाँकि थियो । एक झट्काले जिवनभर कति बजार्दो रहेछ, नचाहेरै नसोचेरै अनि नसँझेरै पनि केहि चीज हराइरहे जस्तो केहि चीजलाई खोजीरहे जस्तो, कुनै तृष्णाको तृप्ति नभए जस्तो भइहन्थ्यो ।

मनको मैलो पखाल्न इलामको चिया बगानमा हराउँदै थिएँ पातहरुको शितसँग मैले सात बर्ष अगाडिको अतितलाई आँशु सँग साट्दै थिएँ । बास्तवमै मैले त्यसबेला उनको अभाव महशूस गरेको थिएँ ।

शितहरु सुक्न नपाउँदै आँखाहरु ओभाउन नपाउँदै मेरा आँखामा छोपिएका थिए । भिजेका परेलीहरु बाट चिसा कपडा निचोरे झैँ थिए आँशुहरु । मैले आँखा खोलाउन मरिहत्ते गरिन किनकी यहि अन्धकार थियो मेरो मन झलमल्ल पार्ने जुन मैले आफूले पाएको थिएँ । मैले कुनै चाल भुलेको रहेनछु उनका स्पर्शहरु भूलेको रहेनछु । उतिबेला जस्तो थिएँ आज म फरक भइन । मैले पनि छामेरै उनको अनुहार फेला पारेँ, कानहरु फेला पारेँ एक छिन चलाएँ, ओठहरुमा पनि एकछिन खेलेँ बच्चाको जस्तो, नाकमा आफ्नो किल्ला जमाएँ । उनका बग्रेल्ती पसारीएका केशलहरहरुमा चल्मलाएँ एक छिन र पनि मेरा आँखा बन्दि थिए । मैले आँखा खोलिन, अनि खोल्ने चाहना पनि भएन । यहि पल जोगाएर राखुँ शायद उनलाई भन्दा अब अरु कसैलाई नदेखुँ ।

Wednesday, 24 April 2013

यात्रा, सहयात्रा, जिवनयात्रा र म यात्री


ए भाउजु ! मिइइइठो चिया ख्वाउनुस न हो भन्दै किरण !! र चियावाल्नी भाउजु चाहिँ यस्तै हो सर कति बर्ष भयो यहि चिया पकाको पकाकै छु, जानेको मिठो गराउँला भनी चियाका भाँडाकुँडा टङ्गल्याङ्ग टुङ्गलुङ्ग बजाउँदै हुनुहुन्थ्यो । उता पट्टि डेक्चीमा अलिकम भरि दुध उम्लिरहेको थियो, त्यसैबाट चार डाडु दिउरीमा घोत्तियो, एक र आधा चमच चीनी, अनि पत्ति, चियामसला नजानिँदो अझ त्यसमा आधि तेजपत्ता राखेर मसीनी भाउजुले उमाल्दै घोट्दै पकाउँदै हुनु हुन्थ्यो । हैन ज्वाइँलाई मेजमानी गरे जस्तै चिया पकाउन पनि त्यति सारो उपद्रो गर्नु पर्छ र भाऊजु ? भनेर किरण फेरि च्यातियो, साहुनीकी तरुनी छोरी जिब्रो टोकेर मतिर हेर्दै थिई, मैले पनि आँखा झिम्क्याई दिएँ, जे सुकै मरोस लौ खा भनेर ।

समाचार आउने बेला त्यो पनि साँझको ८ बजे उज्यालो ९० एफ एम बाट राष्ट्रिय समाचार आउँथ्यो । त्यत्तिबेलै भित्तामा थोत्रो रेडियो झुण्डिएको हुन्थ्यो दुइचार थप्पर पारे पछि बज्ने, अझ कहिलेकाहिँ रेडियो नेपालको समाचार सुन्न खोज्यो भने यो रेडियो नेपा...... भनेर रोकिन्थ्यो अनि थप्पर मार्दा मार्दै ...ल त छुटिहाल्थ्यो । छोरीले "लौनुस् चिया" भनेर दिँदा किरण चाहिँ ट्वाल्ल पथ्र्यो, उस्ले चिया टेबलमा राखेर पर पुग्दा पनि ऊ एकोहोरिएकै हुन्थ्यो म चाहिँ चियाको सुर्कि लगाउँदा फरक  स्वाद जिब्रोले थाहा पाइहाल्यो रङ्ग कडा चीनी कम ।

रात्रीबसमा पिशाव फेर्न गएर फर्किँदा उपद्रो भयो, म गाडिमा चढ्नमात्र के लागेको थिएँ, हाम्रै यात्राकी सहयात्री एक्कासी म माथी घोप्टिन आइन, मैले सकि नसकी हात थामेँ अनि नसकेर दुबै हात छोडेँ दुबै जना बस चढ्ने खुड्किलाको भुइँमा लड्यौँ उनी त जुरुक्क उठिन र पहिला हातले नाक छोप्न के के खोज्दै थिइन केहि नपाएर हातैले छोपे जस्तो गरे पनि म लडिरहेकै देखेर हात समातेर उठाइन । के के भयो भयो यो एक मिनेट भित्र तर पनि आफूलाइ सम्हालेँ र उनलाई पनि सम्झाएँ यस्तै हो अँध्यारोमा, सानो तिनो दुर्घटनै भयो नि भने आफ्नो भने यता पछिपट्टि दुखेकै थियो । यो मामलामा केटि मान्छे सँग म छिट्टै घुलमिल पनि भइहाल्थेँ । मैले त उनीसँग बोल्नका लागि अवसर खोजेकै हो नि तर मलाई अवसर नै मिलेको थिएन तर मैमाथि घोप्टिन आएपछि अवसर त कति हुन कति । मेरो साथी कुरा बुझ्थ्यो, अनि मलाई वाक आउला जस्तो भयो भन्दै नाटक गर्न थाल्यो र तिनै सहयात्रीलाई आफ्नो ठाउँ साट्नका लागि अह्राएँ बल्ल जुर्यो हाम्रो बोल्ने अवसर ।

किरणले यस्तै तर उल्टो कथा सुनाएको थियो मलाई । भर्खर एस एल सि पास गरेर उच्च शिक्षा पढ्ने शिल्शीलामा उ पोखरा बाट नारायणगढ आउने बेलामा भर्खरकी नानी सँग एउटै सिटमा बसेर दमौली आउँदा सम्म त बोलचाल पनि भएन रे, अनि त्यहि नानीको सानी बहिनीले बाक्के बिक्के गर्न थालेपछि भने बल्ल बोलचाल भएछ । अनि बल्ल एक आपसमा भएका चाउचाउ फलफूल साटासाट गरेर खाएछन अनि त्यतै कताहो भन्थ्यो बिच बाटोमै गाडि बिग्रेर तीन घण्टा रोकिएपछि आँबु खैरेनी नीरै साँझ परेछ । उनीहरु नारायणगढ हुँदै ज्यामीरे सम्म जाने भनेर हिँडेका केटि मान्छे अनि अचेल जस्तो गाडि नपाइने भएकाले तपाइँ कहाँ बस्नुहुन्छ हामि पनि त्यहिँ बस्छम भन्दा त केटाको होसको चल्लै उडेछ, अनि पिशाव फेर्ने निहुँमा छोडेर भागेछ र भन्छ अहिले पनि शायद उनीहरुलाइ त म अब देखेर पनि चिन्दिन तर जिवनमा गरेको सबभन्दा पहिलो गल्ती त्यहि थियो जुन उनीहरु लाई चिन्न सक्ने भए अहिले पनि गएर माफ माग्थेँ भन्ने गर्दछ । उनीहरु सुरक्षित रुपले घरमा पुगेका भए त हुन्थ्यो यहि कारणले तल माथि भएका भए त्यसको प्रायश्चित गर्नलाई मलाई अव अबसर पनि छैन भन्थ्यो अहिले पनि सुनाई रहन्छ बस चढ्दा बित्तिकै ।

केटि मान्छे सँग बोलि हाल्दैमा सँगै बस्दैमा गलत सोच्नु पनि उस्को समस्या होला वा उस्का आफन्तकहाँ लैजाँदा के भन्लान उडाउलान गिज्याउलान भनेर हो कि अथवा उनीहरुकै घरमा गएका भए पनि केहि बिग्रिन्नथ्यो र अथवा नजिकै कतै होटलमा बसेर भोलिपल्ट आ आफ्नो बाटो लागेका भए पनि हुन्थ्यो होला । खासमा मेरो बुझाइमा यो अनुभवको कमि थियो वा बुझाई को कमी थियो । तर मेरो दारपात अर्कै काठले बनेको हुँदा त्यसका खजाना पनि फरक त हुने नै भए ।

मलाई त तल पारेरै छोड्नुभयो है भनेर मैले कुरा शुरु गरेँ अनि उनी मज्जाले आवाज नआउने गरि हासिन अनि कता कता आफ्नै हुन कि झैँ गरि कान समातेर एक चोइटो बटारिहालिन मलाई झन सहिनसक्नु भयो तर सबै चोट अनि प्रहार आँखालेनै गरी हेरिरहेँ, लाग्थ्यो उनी लाजले अनि मेरो पाराले पानी   पानी भइन क्यार । यति छोटो बसाइमा म पनि आफ्नो भइसकेको थिएँ सामिम्यता थियो, लाग्थ्यो साइत जुराएर हिँडिएछ क्यार ।

हजुरहरु कहाँसम्म नि ? भनेर पहिलो बाक्य सुन्न पाउँदा बल्ल कुराको दोहोरी शुरु भयो । हजुरलाई त बोल्न पनि आउँदो रैछ नि म त आज बाटो भरि लाटि सँग हिँड्नु पर्ने भयो आफूलाई इशाराले बोल्न आउँदैन भन्ने कत्रो पिर पर्याथ्यो भन्दै पाएको बेला दुई चार बचनले लछारेँ ।

मलाई लाटी ठान्नु भाछ कि क्याहो भनेर ज्यान बँग्याएर बसिन । फेरि बोल्न उत्तर फर्काउन नसकेर छोकडा जस्तै चाम्रीन पर्ला नि फेरि । मलाई जसो तसो चलाउन गाह्रो छ । म केटि मान्छे उत्ताउली भएर यत्तिकै कसरी बोल्नु हजुर सँग अब वारपारको लडाई हुन्छ हेर्छु म पनि । लौ अब फसाद पर्ने भो साँच्चै बाठिको फेला परिएछ । केहि छैन म पनि के कम हेरौँला म पनि । केटा केटि भनेका रथका दुई पाँग्रा हुन फुकालेर कुनै पनि बलवान हुँदैनन सँगै भए पछि फेरि सिँह जस्तै हुन्छन । त्यसैले ऊ पनि म सँग जोडिएर गर्जिएकी हो भन्ने कुरा मानचित्र मनमा सजाएँ र मलाई अलि सजिलो भयो ।

नाम थाहा नभएपनि नबोल्दा सम्म लाटि अनी बोल्ने भएपछि कान्छी भन्न त पर्ला नि । तर म चाहिँ नाम सोध्ने पक्षमा छैन हाऊ । नाम सोधे पछि ठेगाना सोध्नु पर्यो । ठेगाना सोधे पछि घरमा कोको छन भनेर सोध्नु पर्यो । अनि फेरि फेसबुक आईडि स्काइप आइडि सोध्न पर्यो । अनि फोन नं. माग्नु पर्यो । अनि फेरि च्याटिङ्ग गर्नु पर्यो, हाई कहाँ छौ मिस यू यार रियल्ली मिस यू भन्न पर्यो बेकार छ यो सोध्ने कुरा मलाई नाम नभन्नु है म पनि भन्दिन । मलाई फोन नं. पनि नदिनु कुनै आई डि साइ डि केहि पनि नदिनु है भनेर भन्दै थिएँ ।

खै बोलेको म सँग ।

किन बोल्नु तपाईँ सँग ? बोले पछि माया लाग्छ, हालखबर सोध्न मन लाग्छ, घरको अबस्था सोध्न मन लाग्छ, घरका मान्छे पनि आफ्ना जस्तै लाग्छन । हजुरको पेशा आफ्नो लाग्छ हजुरको पीडा मलाई दुख्छ त्यहि भएर केहि पनि सोध्दिन म बोल्न पनि बोल्दिन । धेरै माया लाग्यो भने झुक्किएर आइ लभ यू भनिएला, आइ मिस यू भनिएला मायाले मन भरिएर अँगालो मारिएला भो म त केहि पनि भन्दिन मलाई नछोइकन सिटमा अलग्ग बस्नुस । भनेर भित्रभित्रै सल्किएको थाहा पाउँथेँ म । रात्री बस गुडिरहेको थियो घरि घरी बाटोको उज्यालो उस्को मुखमा पर्दा मैले उस्को नक्शा नियाल्थेँ ।

बसको आवाज एकोहोरो रुपमा र्याईँ र्याईँ गरिरहेकै थियो । फाल्गुणको महिना रातिमा अलि अलि जाडो हुन्थ्यो झन सिसा आफै सरेर चिसो हावाले सेक्थ्यो घरि घरि, म शिशातिर थिएँ कक्रक्क हुँदै थिएँ जाडोले तै पनि खटाएकै थिएँ । उस्ले ओढेको सल तन्काएर ओढ्न मन लागेन, मुखले जे जति भने पनि सिमा त सम्बन्धको बिचमा राख्नु पर्छ । सिमा बिहीन सम्बन्ध भनेको त प्रेमी र प्रमीका बिच हुन्छ, कहिले काहिँ श्रीमान श्रीमती मा पनि सिमा कायम हुन्छ भन्ने कुरा मैले देखे सुनेको थिएँ ।

बस गुडिरहँदा एक्कासि बाटोको खाल्डोमा उफ्रियो सबै जना झस्किए म पनि झस्किएँ तर त्यो भन्दा पहिला ऊ मेरो काखमा लुपुक्क टाँसिएर मलाई च्याप्प समातेकी थिई । मैले पनि मेसो पाएनछु, के भयो सानु तिमिलाई भन्न आएछ यसै । उस्ले पनि मेरो शरिरबाट आफ्नो शरिर छुटाई रेलगाडिले डिब्बा छुटाएजस्तै अनि लाज मानेर सरी म त गाडि पल्टियो भनेर हजुरलाई झम्टेकी भनेर आफ्नै पोजिशन मा बसि । वाताबरण बदलियो सँभवत म पनि बदलिएँ उसले रेलको डिब्बा छुटाए जस्तै आफूलाई छुटाए पनि मेरो मनको डिब्बा उस्को रेलबाट छुटेन ।

अब म हारेँ हजुर तपाईँ सँग, मेरो हजुर सँग प्रतिबाद गर्ने कुनै सामर्थ्य छैन र अर्थ पनि भएन अब भन्दै थिई ।

मैले बुझिन न हजुरको कुरा, आफू त सोओओझो मान्छे लौन हजुर भनेर चिप्लो पारेँ ।

लड्न लाई त दुइ पक्ष हुनु पर्यो नि तर म त हजुरकै पक्षमा हजुरकै कित्तामा आइ पुगेँ अनि के को लडाइँ को कुरा भयो र भन्या छिर्यो खोपडीमा । 

हो त ! म त त्यति टाढा पुगेकै थिइन साँच्चै भन्ने हो भने, मैले त जिवनलाई टुक्रा टुक्रा पारेको मान्छे, कहिले काहिँ जोडिँदा पत्तै पाउँदिन । मलाई टुक्रिएको, टुटेको बढि थाहा हुन्छ किनकी मैले आफूलाई कतै जोडिएको वा समेलिएको थाहा पाएकै छैन । आज पहिलो पटक महशूस गर्दैछु । बाइ द वे, म निशान, ब्यबस्थापन मा पोष्ट ग्रयाजुएट डिग्री गरेको केटो हुँ । हजुरले आफ्नो नाम भन्न असजिलो लाग्यो भने नभन्दा पनि हुन्छ तर म चाहिँ बचाएर राख्न सकिन आफूलाई र भनि हालेँ । उस्को मुहारमा इन्द्रेणीका धर्काहरु प्रष्ट देखिन्थे बिभिन्न रङ्गहरुमा । ऊ एकै पटक धेरै कुरा भन्न खोज्दै थिई तर मुखमा अड्किरहेको थियो । खाना खाने बेला भएछ क्यार गाडि बाटो छोडेर होटलको अगाडि गएर रोकियो अनि हामि तिन जना खाना खान तल झर्यौँ ।

के हो ? निशान दाई सकस धेरै भयो कि क्या हो जस्तो छ नि ! भन्दै उडाउन थालिहाल्यो कुनै कुरा पनि सिरियस रुपमा लिएको अहिले सम्म थाहा पाएको छैन यस्को मैले । कसरी जिन्दगी बिताउने होला यस्ले कहिले सुध्रिएला खै । हामि तिनै जना खाना खान बस्यौँ, बाटोको खाना ठिकै थियो मटन करी सहित को खाना आयो तिनै जना लाई । उस्ले आफूलाई एक पिस मात्र राखेर बाँकि मलाई र किरणलाई भातको माथि पर्ने गरि खन्याइदिई ।

खाना खाई वरी बाहिर पट्टिको टेबलमा बस्दै थियौँ किरणले आफू त जहाँ गए पनि एक्लै भइन्छ के ! भन्दै च्याट्ठिँदै थियो ।

अनि उस्ले साथी खोज्नु पर्यो नि ! यि हामि दुइ जना साथि भयौँ भनेर मेरो पछाडिबाट टाँसिएर किरणलाई कायल पार्दै थिई म चाहिँ कता कता जिवनमा नयाँ साथी भेटिएकोमा मख्ख थिएँ । फेरि बस स्टार्ट भयो हामि चढ्यौँ उहि सिट उस्तै बसाई । खाना खाए पछि एक छिन मलाई निद्रा लाग्ने बानी म निदाएँछु लुपुक्क, सधैँ भन्दा आज अलि आराम महशूस भएको थियो कि उस्ले मलाई आफ्नो काखमा राखेर आफू ननिदाईकन बसेकी रहिछ जब म ब्युँझे बल्ल थाहा पाएँ र पनि सँकोच लागेन अझै दश पाँच मिनेट उस्कै छातिमा टाउको अड्याएर सुतिरहेँ । त्यस पछि उठ्न खोजेँ उसैले टाउको समातेर उठाइदिई अनि आफ्नो पोजिशन मा बसेँ तर पछ्यौरा चाहिँ दुइजना को एउटै थियो ।

किन यस्तो हुन्छ मान्छेको मन यात्रि ज्यू हजूरले त मलाई पनि आफ्नै बाटोमा हिँडाउनु भयो । हजुर यो बाटोमा हुनु हुन्छ कि नाई हजुरको कुरा हो म चाहिँ हिँडे हजुर यात्री भए पनि म चाहिँ सहयात्री बनेँ म सहिँ बोले या गलत बोलेँ मलाई बेलैमा सच्यादिनुहोला प्लीज भन्दै अलिकति माया अलिकति बिश्वास अनि अलिकति अधिकार मिसाएर भनेको कुरालाई गलाउने मेरो सामर्थ्य नै भएन र गलाउनु पनि किन म पनि त त्यहि यात्रामा थिएँ उसै सँग उहि यात्रामा थिएँ ।

किन हजुरलाई म प्रति बिश्वास नै छैन भने एक्लै यस्तो निर्णय लिनु गलत हुन्छ । म कस्तो मान्छे हुँ मेरो पृष्ठभूमि केहो भन्ने कुराले पनि हजुरलाई असर पार्ला । बास्तवमा बुझाई चाहिँ हजुरको सहि हो दुइजना बिचको सम्बन्धमा प्रमाणहरु भनेका आँखाहरु हुन अनि मन हरु हुन । यस्ता प्रमाणहरु दृश्य हुँदैनन तर बलिया प्रमाण चाहिँ यिनै हुन । शरिरको  भाषा  अनुहारको  भाषा आँखाको भाषा यि सबै भाषाहरुको एउटै भाषा मायाको भाषा हो भन्थे, साँच्चै हो रै छ कि क्या हो । म पनि हजुरको यात्रामा सँगै छु अब हामि सँगै रहिरहने छौँ । 

सँगै त एउटै बसमा सँगै सिटमा बसे पछि सबै सँगै हुन्छन नि । हाम्रो अगाडि हाम्रो पछाडि कति जना सँगै बसेका छन ति सबै यात्री मात्र हुन सहयात्री होइनन तर हामि सहयात्री हौँ । यहि भन्न मात्र खोजेकी मैले । कुरा गर्दा गर्दै उस्ले आँखा लोलाउन थालि म ऊ ननिदाउँदै आफ्नो काखमा उसलाई राखेँ अनि ऊ मस्त निधाई म पनि निधाएँ । माटोको भर ढुङ्गो अनि ढुङ्गोको भर माटो जस्तो कस्तो यात्रा रहेछ यो पटक जस्ले जिवनयात्रा नै बदलिदियो । यो यात्रा त उज्यालो हुँदा सकिएला तर जिवनयात्राको यो शुरुवाती अन्तिम सम्म रहने भयो । देखेर मात्र हुँदैन लेखेर आउनु पर्छ भन्थे शायद आज त्यो पुरा भएको छ । करिब दुइ घण्टा निधाए पछि दुबै जना ब्युझियौँ ।

उस्ले मेरो मोबाइल मागि, त्यसैबाट आफ्नो नँबरमा डायल गरि अनि उता आफ्नोमा निशान भनेर सेभ गरि म नबोलि हेरेरै बसेको थिएँ । मेरो मोबाइलमा फेस बुक एकाउण्ट लग अन नै भएकाले खोली अनि आफ्नो नाम एड गरि । तुरुन्तै आफ्नौ मोबाइल लग अन गरेर एसेप्ट गरि मेरोमा नयाँ म्यासेज आयो । अनि फेरि मोबाइलमा उस्को आइ डि लाई इङ्गेजमेण्टको सम्बन्ध सेट गरि अनि उस्को मा पनि उस्तै भयो । तै पनि उस्को नाम चाहिँ अझै मलाई थाहा थिएन । उस्को आइ डि चाहिँ पाल्पा भनेर सेभ थियो तै पनि मैले नाम सोधिन । मैले हजुरको स्वतन्त्रतालाई अनि रित्तो पनमा केहि कुरा भरेर छोडेँ यो मेरो सम्पत्ति हो, जतिबेला पनि चाहिन्छ जोगाएर राखिदिनु होला । मलाई मेरो जिवनमा हजुरको नाम चाहिन्छ हजुरको साथ चाहिन्छ म त हजुरकै हुँ । परिस्थिति र परिबेशले भ्याए सम्मको साथ रहिरहन्छ तर मनको साथ चाहिँ मायाको साथ चाहिँ हमेशा रहन्छ ।

मलाई आपत्ति हैन म हुनुमा बल्ल आज गर्व छ, बस यत्ति भन्छु । म सँग जे जति छ त्यसमा हजुरको हक लाग्छ त्यो अधिकार मैले हजुरलाई दिएको छु खुशी जे गर्नु हुन्छ । म चाहिँ आज बास्तवमा गद्द् गद्द् छु खुशीले कसरी शब्दमा भन्नु मैले । 

बिहान पख चिया पिउनका लागि गाडि रोकियो हामि पनि झर्यौ, तर किरण चाहिँ निदमा मस्त थियो झरेन । हामि चिया का कप हरु साट्दै खाँदै गर्यौ, कस्तो मनोरम समय कति पूर्ण जिन्दगी जस्तो । हामिहरु त हिजो बेलुका मात्र होइन कैयौँ बर्ष अगाडि भेटेको बिबाहित जोडि जस्तो लाग्थ्यो घरि घरि । बस गुड्यो बाहिर घामको उज्यालो भुइँ भरि छरिँदै अँध्यारो भाग्दै थियो। हामि गन्तब्यमा पुग्यौँ, झर्ने बेला मलाई फोन गर्नुस है म पनि पुगे पछि फोन गर्छु, अनि बाँकि कुरा गरौँला धेरै कुरा भन्न बाँकि छ धेरै गुनासो गर्न बाँकि छ हजुरलाई !! भन्दै थिई, म बोल्नै सकिरहेको थिइन अब छुट्ने बेला भयो भनेर । हुन्छ नि मेरो पनि गुनासो धेरै छ तर पछि भन्छु ल भनेँ ।

हामि गाडि बाट ओर्लियौँ । ओर्लिन भन्दा पहिला उस्ले मेरो हात समातेर बसिरही उता किरणले खै खै बाटो ? भनेर भाँजो हाल्यो तै पनि केहि थिएन । एक छिन गाडिबाट ओर्लेर बाटोको पेटिमा उभियौँ । उस्को गाडि आयो, निशान जी आफ्नो ख्याल गर्नु होला म हजुरकी सभ्यता अहिले लाई बिदा चाहन्छु, जिवनयात्रामा त हामि सँगै छौँ नि हरपल ।

बाई ! बाई !!

किरण त हेरेको हेर्यै भयो, म पनि उस्को गाडिको गए तिर हेरिरहेँ, उस्ले अलि परि पुगेर पनि ढोकामा आएर हात हल्लाउँदै थिई मैले पनि हल्लाएँ र हामि पनि गन्तब्य तिर लाग्यौँ । 


Monday, 1 April 2013

काँचको एक्यूरियम


हाँस्न पनि मज्जैले हाँसियो अचम्म पनि परियो घरी घरी । यो सबै मानव निर्मित कृतिम परिवेश हो भनेर भुलियो पनि कति कति बेला त हराउँदै भेट्टाउँदै आफैलाई । समुन्द्र सतह भन्दा तल काँचको सुरुङ्गमा भइन्थ्यो घरि वरिपरिबाट सामुद्रिक जिवहरुले चुम्न आइ पुग्थे । अरु यात्रीहरु त त्यहाँ जाँदा जाँदा खप्पीस भएका काँच रहेछन बाहिरबाटै माछाहरु सँग म्वाइँ खान्थे । काँच बाहिरबाटै जिव्रो समेत चटाउँथे, म पनि जिब्रै न सहि हात भए पनि दिन्थेँ टुप्लुक्क डल्फिन आइपुग्थ्यो मेरो हातमा चाटेर पुच्छर हल्लाउँथ्यो, आँखाका परेला नभए पनि गेडा हल्लाएर तरेली हान्न सिकेको ऊ पनि, मैले पनि अनायसै आँखा मार्दा उसले पुच्छर हल्लाएर काँचमा मडारिन्थ्यो र त झन मनमा खट्पटी पो भयो ।
नभन्दै जिवन किन यस्तो अपूरो अपूरो लाग्दैछ कुन्नि कतै पनि मन बसिरहेको छैन । बसेको होटलको कोठामा पनि बसिरहन मन लाग्दैन रातभर निद्रा पनि पर्दैन आफैलाई थाहा हुन छाड्यो यो के भएको हो । मेरो यात्राको साथी जीवन मेरो साह्रै चियो चर्चो गथ्र्यौ र पनि केहि लछारपाटो लाउँदैनथ्यो, भन्न नमिलेर मात्रै नत्र म एक्लै एक्लै घुम्थेँ उ बिना ऐँसेलु को घोप्टो काँडा जस्तो जति बेला पनि मलाई अल्झाई रहन्छ । न मनको कुरा मिल्छ न छोडेर हिँड्न मिल्छ । मलाई उस्ले खाना खाने बेलामा पनि एक दम रिस उठ्छ, चार दिन नखाएको मान्छे जस्तो ल्याउन पाछैन हसुर्न थाल्छ, आफूलाई चाहिँ त्यो खानामा हात लगाउन पनि मन लाग्दैन तै पनि उसैले गालि गर्छ फेरि देखाउन पनि नखाई भएन ।
मोबाइलमा फेसबुक चलाउँदा पनि मेरै मा झुम्मिएर वाऊ तेरो चाला ठिक छैन है भन्छ घरि अनि कसैको अनलाई म्यासेज आयो भने हेर हेर त कस्को रैछ हाम्ले पनि हेरौँ कस्ता आउँदा रैछन तेरा एस एम एस भन्छ घरी । कसैको फोन आयो भने अनि अलि अलि हाँसेर बोल्यो भने हेर मस्केको कुन तरुनी सँग बोलेको होला भन्थ्यो घरि । कस्को फोन हो कस्को हो को हो भनेर सोधेर हैरान पाथ्र्यो । हुन त उस्को झन मेरो भन्दा बबाल मोबाइल सेट छ, इन्टरनेट सुबिधा छ र पनि पिछा गर्न छाड्दैन । कपाल कोर्न थाल्यो कि हेर हेर आज कहाँ सेटिङ्ग छ पख तँलाई एक छिन पनि छोडेँ भने भन्छ । दारी बनाउन त हुँदै नहुने अनि इस्त्री लगाएर कपडा पनि लगाउन नहुने खोइरो खनि हाल्ने उस्को बानी नै हौ । आफू भने कमीजमा पाइण्टमा काट्ला जस्तो धारिलो बनाएर इस्त्री लगाएका कपडा लगाउँछ दिनमा १७ पटक कपाल कोर्छ, गालामा ज्यानमा के कोहो घस्छ छर्कन्छ त्यो अत्तर हो कि के हो ?

म :         जिवन केहि कुरा भन्छु नरिसाऊ ल !
जिवन :  के भन न ...
म:          तिम्रो घरमा कार छ, बाइकहरु छन महल छ सुख सयल छ केहि कुराको चिन्ता छैन हो ?
जिवन:   हो किन यस्तो कुरा सोधेको तिमिले आज ...
म :        तिमि सँग भर्खर निस्केको सामसुङ्ग एस फोर मोबाइल पनि अरुले राम्रसी देख्न नपाउँदै तिमिले      हात   पारिहाल्यौ हो ?
जिवन :  हो यसमा के छ ?
म :        हप्ता हप्तामा तिमि कहिले को सँग कहिले को सँग नयाँ नयाँ रेष्टुरेण्ट हरुमा अनि डेटिङ्गमा हुन्छौ हो ?
जिवन : यि सब कुराहरु सोधेर तिमि के साबित गर्न खोज्दै छौ
म :       तिमि हप्तामा २ पटक फेस मसाज गर्छौ सफा सुग्घर पार्छौ अनुहार महिनामा एक पटक त कपाल स्ट्रेट गर्छौ हो ?
जिवन :  हो नि किन नहुनु अलि अलि जवानीमा गरिएन भने कहिले गर्नु मतलब
म :        मैले तिमिलाई सोधेका हरेक सवालहरुको उत्तरमा म सँग केहि पनि छैनन । तर तिमि मेरो चियो चर्चो किन गर्छौ फेरि ?
जिवन :  मैले त साथी सँग मजाक पो गरेको त  !
म :         मैले तिमि सँग मजाक त गरेको छैन नि
जिवन :  त्यसो भए अब म पनि गर्दिन तर तिमि एक्कासी यस्तो प्रश्न कि सोध्यो निशान मलाई
म :       त्यो के भने म सँग धन नभए पनि सम्पन्नता नभए पनि अरुलाई चोट लाग्दा आफूलाई दुख्ने मन छ जुन तिमि सँग छैन ......
जिवन घोत्लिन थाल्छ, हाम्रो सँवाद त उस्को मनको दलदलमा चाणक्य नीति जस्तो झन झन गहिराईमा फसिरहेको उस्को शारीरिक भाषा बताइरहन्छ । तै पनि म सँग जान्छु पनि नभनी बाइक लिएर सुईँकिन्छ । एक निमेष भरमै आँखाको ओझेल पर्छ म चाहिँ आँखाको पर्दा सरक्क अर्को तिर सर्काउँछु ।
चैतमासको रापिलो घाम दिन नढल्किँदा सम्म चरक्कै पाथ्र्यो अनि ढल्किन थाले पछि फेरि हावा हुरीले बारीको धूलो भरी ज्यानभरि ओइरिन्थ्यो तै पनि काठमाण्डौको धुवाँ जस्तो बिषालु थिएन त्यो । घरमा खेताला हुँदा हुँदै पनि म रहरले बाउसो खन्न तम्सिएको थिएँ, खाएको पानी भन्दा बढि पसिना चुहेकै थिए र पनि मज्जा आइरहेको थियो काममा उर्जा थियो म माथि खै के को हो थाहा थिएन । दिउसोको खाजामा मञ्जरीले कोइरालो र आलुको तोरीले साँधेको अचार, दुइ दुइ वटा सेल रोटी अनि थपी थपी खानलाई पुरी थिए अनि गोरस चाहिँ आजै बिहान पारेको महि थियो । काइला दाइले हलो जोत्नु हुन्थ्यो, गोरुलाई खनिम राखिदिएर आउनु भयो अनि माटैमाटोले अररीएका हातमा दुइ गोप्चा पानी ले धोए जस्तो गरि कछाडमा पुछेर एउटा पूरी दुइटा पारेर आधा पुरी एक फाँक अचार अनि एउटा जिरे खुर्सानी सँगै चपाउनु भयो । यो त उहाँ लाई भन्दा पनि उहाँले खाएको पारा देखेर अरुलाई पो मिठो भयो मैले पनि देखा सिकि गरेर जिरे खुसार्नी खाइ टोपलेँ उत्तिखेरै हिक्क हिक्क पो भयो ।
मञ्जरी हाँस्न थाली मलाई रिस उठ्यो उस्ले चाल पाई अनि शान्त भएर एक गिलास महि लिएर मेरो दाहिने टाँसिएर बसि महि थप्न लाई ट्यामी लिएर । काइँला दाइले पनि मुसुक्क हाँस्नुभयो अनि मलाई दाहिने आँखाको आँखिभौँ उचालेर के हो भनेर त्यस भन्दा पनि माथि उचाल्नु भयो । कत्ति मिठो अचार बनाकी कान्छी अझै लेऊ त छ भने धितै मरेन भन्या तिम्रो अचारले, आफ्नो घराँ त मिठो मसिनो खानु त्यस्तै हो चिज भअर पनि बनाउन जान्दयान के अर्नु र जाहान उस्तै परेसी के भन्नु । मासु पकाई भने गुन्द्रुकको झोल जस्तो बनाउँछे झन गुन्द्रुक झन कस्तो बनाउली, जरो आका बखताँ सिल्टीमूर र मरहटीको झोल चाहिँ ट्वाक्क पार्छे है फेरि । त्यै हो खान जस्तो पकाये नि घरमा सबैलाई माया गर्छे सबैको ख्याल गर्छे त्यहि भएर खानेकुरा जस्तो भए पनि उस्को मया मिसाआर खाँदा जे पनि मिठो हुँदो रैछ । 

उत्निखेरै काँइली भाउजु पनि आउनु भयो अनि मञ्जरीले र भाउजुले बाँकी खानेकुरा बाँडेर खाए भाउजुलाई पनि टपरीमा ठ्याक्क पारेर दिई, एउटा बाँकि सेलरोटी, ४ वटा पुरी अनि मनग्गे अचार, काइलादाइले खाएको गिलास मा महि दिई कत्ति खुशी हुनु भयो भाउजु तै पनि तिमिहरुलाई अड्कलेर बनाको अर्नि मलाई यत्ति थोओओरै ले है कान्छी भन्न चाहिँ छोड्नु भएन । उता काइला दाई चाहिँ भाउजु लाई तँ पनि यस्तै पकाहै भनेर हातको इशारा गर्दै हुनु हुन्थ्यो । 

साँझ काम सकेर थाकेको ज्यान सुस्ताउनै धौ हुने तै पनि खाना खानै पर्यो, घरको धन्दा गर्ने पर्यो । मञ्जरीको चूलो चौको सक्दा साढे नौ पनि भइ सक्थ्यो म पनि सघाउँथेँ । मञ्जरीले पछ्यौरीको सप्को फाल्दै यसो कहिलेकाहिँ त बजार तिर जान पाए पनि घरका लागि किन कान गर्नु थियो । मटर चढ्न पाइन्थ्यो भन्दै गर्थि म नसुने झैँ गर्थेँ । भो नकरा तँ र म भएर शहर हैन १० १५ दिनको यात्रामा जानु पर्छ के कान्छी काम धाम छोडेर भन्थेँ उ मसक्क मस्किन्थी गमक्क फुल्थी अनि उस्को फुलेको जवानीको फोकामा मैले सिन्काले कोपेर खुकुलो बनाइदिन्थेँ । ठुस्स परेर बस्थि दैलाको ठेलामा अनि मैले उसलाई मायाले पाखुरीमा उचालेर भित्र बिस्तारा सम्म ल्याउँथेँ, ऊ पनि सञ्चो मानेर ज्यान लतक्कै छोडिदिन्थी । यो दिन भरीको अन्नको खेतीमा लोत भएको ज्यान मञ्जरीको मायाको खेतीले उर्जावान हुन्थ्यो, म आकाशको कथा भन्थेँ ऊ धरतीको गित सुनाउँथी मनका तारहरु सारँगी बन्थे र हृदयका पलेटाहरु मादल बन्थे । मेरो र्याइँ र्याइँ मा उसको घिन्ताङ्ग ले मिठास बनाउँथ्यो । सधैँ अनि सबै सारँगीले बिरहको गित गाउँदैनन, मनको आनन्दका लागि मनकै घिन्ताङ्ग चाहिँदो रैछ । 

फेरि उहि बिहान अनि उहि खेति पाती उस्तै काम उस्तै दैनिकी जहिले पनि दोहोरिन्थ्यो । मलाई आफ्नै भेष भूषा देखि आफैलाई अचम्म लाग्दै थियो कि यो म आफै त हुँ भन्ने शँका पनि हुन्थ्यो मनमा । मञ्जरीको माया अनि दिनचर्या सँझेर हिँडिरहेको बेला कूलोको डिलबाट म तल खसेँ गुहार भन्दै थिएँ म त आफ्नै बिछ्यौना पो रहेछु । यति मिठो सँसार यस्तो चोखोमाया अनि मञ्जरी अरु पात्रहरु त्यो परिबेश एक निमेशमा भताभुङ्ग भयो । मलाई सपनाले अरु नभए पनि म किन बेचैन रहेछु भन्ने कुराको सँकेत दियो भन्ने लाग्यो । जिवनमा यस्तै मञ्जरीको जस्तो माया नपाएर पो भौँतारिएको म भने जस्तै लाग्यो ।

एक हप्ता पछि जिवन फेरि म सँग आयो, मलाई बाइकमा जाउँ भन्यो म पनि गएँ धेरै टाढा लग्यो म पनि कहाँ लैजान्छौ भनेर सोधिन । उस्को बोली बाइक चलाउने तरिका नै भिन्न थियो आज त म उस्ले हजार किलोमिटर कुदाए पनि उस्को पछाडी बस्न कुनै पर्वाह थिएन तर अचम्म यो थियो कि जिवन कसरी यस्तो रुपमा फेरियो भन्नै गम्दै बसिरहेँ तर सोध्न मन चाहिँ लागेन । तै पनि ऊ फेरिएकोमा नजानिँदो रुपमा मनमा आनन्द आयो बल्ल मैले सहि साथी पाएँ जस्तो पनि लाग्यो कता कता ।
जिवन : निशान म आज तिमिलाई केहि कुरा भन्छु ल अस्ति तिमिले सोधेको साटो
म :       भन न जति सोधे पनि सोध किन एउटा मात्र
जिवन:  जिवनमा कुनै कुराहरुले आफूलाई १८० डिग्रीमा मोड्छन र यस्को दिशानै परिवर्तन हुन्छ हो
म :       थाहा छैन तर आफू मोडिएको कुरा तत्काल आफूलाई थाहा नहुन पनि सक्छ
जिवन :  अरुलाई आफ्नो स्वार्थका लागि झुटो बोल्नु अपराध सरह हो
म :       यो भने मलाई चित्त बुझ्यो तिमिले यसमा सुधार गर्नु पथ्र्यो आज चेत पायौ अरु पनि बताऊ न किन यत्ति मात्र  ?? 

जिवन :  अस्ति तिमिले मलाई तेस्र्याएका प्रश्नहरु आज आफ्नै दैनिकीका तगारो बने निशान मलाई कर लाग्यो मैले हिँडेको बाटो उल्टो गरि हेर्न लाई । हरेक घुम्तीहरुमा मैले धेरै गल्ती गरेको रहेछु म यसमा प्रायश्चित गर्न चाहन्छु तर मेरो यो बिग्रेको अवस्थालाई तिमिले मात्र बुझेका छौ त्यसैले तिम्रो भूमिका अपरिहार्य छ म माथि । म हरेक चिज त्यागेर समर्पित हुन चाहन्छु आफ्नो जिवन प्रति अनि आफ्ना हरु प्रति अनि जिवनमा आर्जन गरेका हरेक सम्बन्धहरुको आ आफ्नो ठाउँमा सम्मानित गराएर राख्न चाहन्छु । वास्तवमा म तिमि जस्तो हुन चाहन्छु । 

म :  यो ठूलो कुरा हो कि तिमिले बल्ल आज आफूलाई चिन्यौ नत्र आज सम्म त तिमि आफैबाट पनि पराई भएका थियौ । तिमि म जस्तोे होइन तिमि तिमि जस्तै हुने हो म पनि त के हुँ र तै पनि मनको अनुशासनमा बसेको मान्छे चाहिँ हुँ । म भित्र पनि धेरै पीडाहरु छन धेरै दुख हरु छन । मैले यि सबै दुख पीडाहरु भोलि रुनलाई चाहिएला भनेर साँचेर राखेको हो जिवन । मलाई लाग्दैन मेरो जिवनमा त्यति लामो सुख आउँछ, रुनु पिरोलीनु त छँदैछ तै पनि तिमी बल्ल मेरो लाइन मा आयौ म खुशी छु ।
उस्को फत्रक्क गलेको हाउभाऊ देखेर मलाई गर्व पनि भयो, किनकी मनको कुनामा छुने पनि कुराहरु हुँदा रहेछन भन्ने लाग्यो । तै पनि सभ्यताको बारेमा उ सँग अझै पनि बताएको थिइन र बताउँदिन पनि त्यति बेला कालीको फोन पानी आयो म एक छिन लामै कुरा गरेँ ऊ हेरेर बसिरह्यो केहि प्रतिक्रिया दिएन आज र पनि ऊ साँच्चै फेरिएछ झैँ लाग्यो । अनि मैले आज त कस्को फोन हो भनेर मरिहत्ते गरेनौ नि तिमि भनेँ । उस्ले पनि मैले बुझेको छु अब त बुझ्ने भएको छु तर तिमिले नभने सम्म म सोध्दिन किनकी हरेक मानिसको नीजि जिवनको घेरा हुँदो रहेछ त्यो बनाई राख्नु पर्दो रहेछ ।
हो बल्ल खाट्टि कुरा गर्यौ तिमिले आज म भन्छु तिमिलाई कुनै दिन यो कुरा तिमिलाई अलिकति हल्का गराए पछि मात्र ल । हामिले चिया पियौँ त्यस पछि अर्कै खालका हसिमजाक भयो अब त्यो मजाकमा कुनै मन नदुख्ने भएको थियो । साथीहरुको मनको धरातल समान भएपछि बल्ल कुनै कुराको टेन्सन नहुँदो रैछ बल्ल चियामा चिनी घुले जस्तो भयो उस्को र मेरो सम्बन्ध ।
बास्तवमा सभ्यताको र मेरो सम्बन्ध काँचको एक्यूरियम जस्तो भएको छ । ऊ कुन सँसारमा कुन परिवेश मा छ म कुन सँसारमा छु कुन परिवेश मा छु । मनको दैलो उघारेको पनि धेरै भयो, जति रुँघेर बसेर आँखा पाट्टिएको पाट्टिएकै छ । काँचको स्क्रीनमा देखेको अनुहार त्यहि डल्फिन सँग म्वाइँ खाए जस्तो मात्र हुँदो रैछ । हामिले यस्ता दरारहरु धेरै बर्ष भोगेका छौँ शायद अब त यूग पनि बित्न लागेहोला अब त यूग पनि हुन लाग्यो हामिहरु काँचको शिशाबाट माया साटिरहेका छौँ । उस्को पीडामा म दुख्छु मात्र त गर्न केहि सक्दिन यो भन्दा ठूलो पीडा केहि नहुँदो रैछ तर समयको पावन्दीलाई मैले तोड्न सक्दिन सभ्यता पनि सक्दिन तै पनि हाम्रा आँखाहरु आफैसँग भए पनि दृश्यहरु साटिन्छन घरी घरी उस्को दृश्य म देख्छु र मन दुख्छ मेरो दृश्य ऊ देख्छे र चित्त दुखाउँछे ।

जब मनको चौतारीमा दुइ जनाको भेट हुन्छ अनि दुखहरु साटिन्छन, मनहरु हलुका हुन्छन अनि भोलिको सजिलो दिन अनि क्षण सँझेर हामिहरु फेरि खुशी हुन्छौँ पाइलाहरुमा उर्जा भरिन्छ फेरि जिवनयात्राको बाटोमा नजिकिँदै अगाडि बढिरहन्छौँ । साथमा नभएर पनि उ प्रति मेरो केहि गुनासो छैन माया त एउटा अनुभव मात्र त हो न यो देख्न सकिन्छ न जोख्न सकिन्छ जुन हामिले सेकेण्ड सेकेण्डमा मुटुमा चल्ने धड्कन जस्तै साटिरहेका हुन्छौँ ।



















Sunday, 10 March 2013

मेरी बहिनी


अस्ति भर्खर मात्र हो जस्तो लाग्छ, सिर्सेनीको भञ्ज्याङ्गमा बहिनीले र मैले स्याँ स्याँ गर्दै दाउरा ओसारेको । हजुरको बिहा भए पछि त पछि लाग्ने भाउजु हुनु हुन्छ, अनि म चेली लाई बिर्सने त होला नी भनेर प्यारी बहिनीले भनिरहँदा मैले दुइ चड्कन लगाएको अहिले पनि आफ्नै गालामा दुखिरहेछ, मनमा पड्कीरहेछ त्यति माया गर्ने बहिनीलाई मैले थप्पड हानेँ भनेर र पनि मैले मायाले सहन नसकेर उसलाई थप्पड हानेको थिएँ त्यतिबेला । ज्योति रुनु न हाँस्नु भएर मेरो अगाडि अगाडि हिँडिन र मैले आफूलाई धोइ पखाली गर्न पाइन बहिनी सँग सरी माग्न पनि पाइन । दाजु बहिनी भएकाले हामि मिल्यौँ हाँसो खुशी फेरि छायो र पनि त्यो थप्पडको बारेमा न मैले उक्काउन सकेँ न उनले नै मलाई ठाउँ दिइन, मन मा एउटा खिल पर्यो  र त्यहिँ बिलायो झिक्न पाइन त्यहि भएर बिझाउदो रहेछ कहिलेकाहीँ । 

बहिनीले भने झैँ मेरो पनि बिबाह भयो त्यहि पनि मागी बिबाह । बिहे गर्ने बेला केटा केटी हेराहेर गर्ने भने हेराहेर देखादेख मात्र भयो अनि न मैले हुन्न भन्न सकेँ न हुन्छ नै, तै पनि मौनम् समर्थनम् भन्ने चिनीया उखान त्यहाँ सिद्ध भयो । मैले केटी हेर्न जाँदा बहिनीलाई पनि लगेको थिएँ ऊ पनि केहि बोलिन म जस्तै भई त्यस पछि बिबाह भयो झ्याईँ झ्याईँ पारेर । दिनहरु बित्दै गए घरमा आमाको बर्चश्वमा हमला हुँदै गयो आमाका दिनानुदिन अधिकारहरु कटौती हुँदै जाँदा पनि आमा केहि बोल्नु हुन्नथ्यो बरु आफू बुहारी बनेर बुहारीलाई नै सासु बनाइदिनु हुन्थ्यो मतलब सानै छ भनेर उसलाई पनि असाध्यै माया गर्नु हुन्थ्यो । 

हाम्रो खानदान भन्दा ठूला खानदानबाट बहिनीको लागि हात माग्न आए, आमाले अमिलो मन बनाउँदै मान प्रसाद काकालाई अगाडि सार्नु भयो । आमाको मन छोरी बिहे गरेर दिन भन्दा पनि पहिला मैले छोरी दिएँ पनि भन्न नसकेर कति बोझिलो हुँदो रैछ भन्ने मैले अनुभूति गरें, अझै म पनि त एउटै थालमा खाएर हुर्केको उसैको दाई थिएँ । यो त झरनाबाट झर्ने पानीको जस्तो पीडा रहेछ जस्तो कि पानीलाई तल बजारिएर दुख्ने थाहा हुँदा हुँदै पनि आकाशबाट पातालमा बज्रिनु परे जस्तै हामि आमा छोरा त्यसै गरि बज्रिएका थियौँ । ज्योति त घरमा थिइन साथीको घरमा गएकी थिई, मैले केटा पक्षलाई कम से कम बहिनीको के बिचार छ त्यो त सोधौँ, उसका पनि कुरा होलान भन्दा पनि मान प्रसाद काकाले मेरो मुखमा बुजो कोचार्नु भयो अनि म पनि अवाक भएँ । मलाई यो पारा बोल्न नसके पनि कत्ति मन परेन, केटा पक्षका मान्छे सँग काकाले केके चोचोमोचो गर्नु भयो खास खुस गर्दै त्यति खास बुझिएन । कुरो चिना मिलाउने अनि दिन घर्याउने भन्ने रैछ सबै जना माइलाबा कहाँ गए, घरमा आमा र म मात्रै थियौँ त्यसै बेला बहिनीले दुई चुल्ठा कपालमा रातो रिवन हल्लाउँदै पिँढीमा आएर बसी लैनी पल्टेर आमाको नजिकै, आमा भित्ता फर्केर डाँको छोडेर रुनु भयो अनि म पनि सहन नसकेर बारी तिर हानिँएँ । 

सञ्जोगले त्यसै बेला ज्योतिकी भाउजु पनि माइत गएकीले उसलाई पनि सोध्न पाइएन, सबै खटन पटन मान प्रसाद काकाले मिलाउनु भएको थियो । बेहुलालाई दिने सुन, कपडाहरु अनि सासू अमाजुहरुलाई नन्दहरुलाई तथा परिवारका वल्ला पल्ला घरका आफन्तलाई कुटुम्बलाई केके गर्ने भनेर उनीहरु सँग बसेर काकाले सबै कुरा मिलाई सक्नु भएको थियो । उति सारो पैसा थिएन हामि सँग अनि आमाले इज्जत राखिदिनु पर्यो बरु तल्लो बारी हुर्याइदिउँला नसके भन्नु हुन्थ्यो । ज्योतिकी भाऊजु पनि आई अनि बिहको कुरो मलाई नसोधि गरिस भनेर घरभरी काकोहोलो मच्चाई अनि उस्का बालाई बोलाउन पठाई, झन थपिएर मान बहादुर काकाले मिलाउनु भएको खटन पटन सबै उल्टयाउने गरि आफै हालि मुहाली गर्न थाले ब्यबस्थाहरु बिगार्न थाले । मलाई कत्ति पनि पचेन त्यो खटन पटन मेरै घरमा आएर हाम्रै बिरुद्धमा खनिएको देखेर तै पनि अन्तिम सम्म त सहेकै थियौँ । ससुरा भनाउँदाले घरबाट बिहा गर्न हुन्न खुरुक्क मन्दिरमा लगेर टिको लगाइदिने अनि पठाईदिने भन्न थाले । 

एकातिर आमा रुने अर्को तिर बहिनी रुने तैपनि उनिहरुको ज्यादती बीस को उन्नाइस नहुने देखियो अनि आफ्नो इज्जतका खाँतिर पनि मैले बोल्नु पर्ने भयो । मैले पनि मेरो स्वाभिमानमा र हैसियतमा हमला भएको देखेर मुखै खोल्नु पर्यो । यो मेरो घर हो मैले आज सम्म केहि भनेको छैन हजुरहरुलाई्र । हजुरहरुको सम्मानमा कुनै कमी हुन दिएको छैन तर मेरै घरमा आएर हजुरले हालीमुहाली गर्न मिल्दैन, यो मेरो घर हो यसमा हाम्रो कुरा चल्छ हजुरको कुरा आफ्नै घरमा चलाउनु होला भनेर के भनेको थिएँ बाऊ छोरीका अवतार देखिए अझै ससुराबालाई देखाउँदै श्रीमतीले यो त मेरो पनि आधा हो भन्न पनि बाँकी राखिन । तर पनि मैले कुनै वास्ता गरिन आफ्नो कुरामा अडिग रहेँ । भोलिपल्ट बाउले छोरी च्यापेर घरतिर लागे मैले केहि बोलिन । श्रीमतीलाई मैले भनेँ तिमिले आफ्नो र अर्को छुट्टाउन नसक्ने मोति बिन्दु भएको रहेछ, पहिले आफ्नो मनको आँखा खोलेर आउनु अनि बल्ल छर्लङ्ग हुनेछ । तिमिले जस्तो ब्यबहार गरे पनि जस्तो अवतार देखाए पनि मैले तिमि प्रतिको धारणामा परिवर्तन ल्याएको छैन तर यस भन्दा पनि अगाडि बढेर आफ्नै परिवारको बारेमा नराम्रो सोच्यौ भने म र यो परिवार जति नराम्रो तिम्रो लागि कोहि हुने छैन भनेँ त्यस पछि केहि नबोलि दुबै जना ओझेल परे ।

बहिनी त्यहि दिन देखि रुँदा रुँदै आँखा ठूला ज्यान सानो हुँदै गएको थियो । न राम्रो सँग खाना खान्थी न राम्रो सँग बोलचाल गर्थी शून्यमा थिई ऊ । बिबाहको दिन भन्दा ३ दिन अगाडि हामि दाजु बहिनी र आमा राती २ बजे सम्म बसेर होस पाउने बेला देखि आज सम्मका दुख सुखहरु बिसायौँ, बल्ल हामि तिनै जनाको मन हलुका भयो बल्ल बिबाहको कुरा लाई सबैले बाध्यताकै रुपमा भए पनि स्विकार्यौँ । भाउजुको कुरा लाई लिएर ऊ चिन्तित थिई, म जस्तै थिई, कसैले बज्र नै हान्न आए पनि हाँसेर स्वीकार्ने । त्यहि दिन बहिनी एक्लै भाउजुको २ घण्टा परको माइती घर गएर स्थितिलाई उसैले सहज बनाई र भाउजु अनि सासुआमा बिबाहका लागि आए । बैदिक रीति अनुसार बिबाह भयो र बहिनी हामि सँगै खेलेको आँगन बाट बिदा भएर उस्को घर गई ।

समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ कहिले हँसाउँछ कहिले रुवाउँछ आँशु र हासो को सँगम पनि गराउँछ भन्ने गित सम्झिरहन्थेँ म मन हुँडलिँदा र आफैले आफैलाई चित्त बुझाउँथेँ । पहिलो पटक दशैँमा मात्र आएकी थिई टिका लगाउन, दुरान फर्काउन पनि आउन भ्याइन । दुब्लाएको ज्यान अनि त्यसमा पनि छुट्टै पेट गाँसे जस्तो देखिने गरि दुई जिउकी भएकी थिई । आमालाई देख्ने बित्तिकै काखमा घोप्टो परेर अलल्एिर रुँदा मैले बहिनीको घरको निको चाला मानेको थिइन । श्रीमान श्रीमतीका रथका पाँग्रा एकै दरका नभएका हुन कि झैँ ब्यबहार देखिएको थियो र पनि बहिनीले आफ्नो घर परिवारको बारेमा कसैको पनि नराम्रो भन्दिनथी । मैले ज्योतिका आँखामा आँखा पनि जुधाउन सक्दिनथें उसका बेदना आँखाभरी टिलपील गरिरहन्थे र म पनि आफ्नो दुख देखाएर बहिनीलाई अझ दुखी बनाउन चाहन्नथेँ । मानिसलाई ब्यबहारले टाढा बनाउँदो रहेछ र पनि मन चाहिँ बहिनी सँग झम्टेर पाखै हल्लाउने गरि कोकोहोलो मच्चाएर रुन मन लागेको थियो, के गर्नु म आफैलाई सम्हाली रहेको थिएँ । 

त्यसको ४ बर्ष पछि बल्ल बहिनी माइती आई साथमा भाञ्जो लिएर त्यति बेला म घरमा थिइन काममा अर्को ठाउँमा गएको थिएँ । एक हप्ता बस्ने भनेर आएकी ज्योति भोलिपल्ट बिहानै नगई नहुने भयो भनेर अमिलिएर हिँड्दा मनमा चिसो पसे पनि कसैलाई दोष नदिईकन हिँडेकी थिई । मैले उसलाई भञ्याङ्गको चौतारीसम्म छोड्न गएँ, आमा चाहिँ आँखा नझिम्क्याईकन जुठेल्नाको ऐठोमा बसेर हामि हिँडे तिरै हेरिरहनु भएको थियो पछ्यौरीको सप्कोले मुख छोपेर शायद रुन होला नदेख्ने गरि । पाँच बर्ष  पहिला ऊ र म हिँड्दा उसका पाइलाले ठम ठम गर्दा मैले पनि हल्लेको महशुस गर्थे, त्यत्रो बिश्वास थियो आफ्नो भूमि प्रति तर आज ऊ हिँडेको झारले पनि थाहा पाएन कि झैँ भएको थियो । त्यहि बाटोले त्यहि पाखाले अनि यिनै पदचापहरुले पनि बाटो बिर्से जस्तो भयो ।

ज्योति तिमिले र मैले हिँडेको खेलेको रन बन बाटो घाटो भञ्जाङ्ग चौतारी यिनै हुन, अहिले यिनै बिराना जस्ता भए । तिमि भने पनि नभने पनि म सबै कुरा बुझ्छु म तिम्रो मनलाई भित्रैबाट पढ्न सक्ने दाई हो बहिनी पीडालाई यसरी नलुकाऊ भन्दा ऊ थचक्क ढुँगामा बसेर बलिन्धारा खसेका आँसुलाई पनि रोक्न खोजेको नमानेर झरको यस्तो अनौठा दृश्य मैले अनुभव गरेँ र पनि घर नजा भन्न सकिन र उस्ले पनि मेरो मनसायमा सहमतिको कुनै आशय देखाइन । उतिबेला मैले एक शब्द बोल्दा उछिनेर दश शब्द बोल्ने मान्छे आज बाक्य त शब्दहरु पनि बल्ल बल्ल झर्दे थिए । बोल्दा फेरि आफ्नो दुखको कुनै कुरा फुस्किएला कि भन्ने डरले उसले कम कम बोलेकी भन्ने पनि म प्रष्ट थिएँ र पनि तत्काल कोट्याउन चाहिन ।

दाई जानुस भो उहाँ आमाले हजुरको बाटो हेरिरहनु भएको होला, आमा आत्तिनु भएको होला जानुस भो भनेर मलाई फकाउँदै थिई । यस्तै हो दाई मलाई पनि हजुरको काख छोडेर नौ डाँडा पारी जाने रहर त थिएन नि तर हाम्रो परम्परा रीतिथिति पनि मान्नै पर्यो । भाउजु सँग मिलेर बस्नु होला । आमाको भाउजुको अनि छोरीको हेरचाह गर्नु होला । अब त हामि सबैको भरोसा भनेकै हजुर हो भन्दै मेरो निहुरीएको चिउँडाले हातले उचालेर सोझो पारी दिएकी थिई । मैले उसको अनुहारमा हेर्नै सकिरहेको थिइन तै पनि हेरेँ बहिनीलाई उस्लाई बिदा गर्ने बेला अब कहिले होला उस्लाई देख्न पाउने दिन भनेर सम्हाले आफैलाई । जाने बेलामा भान्जाले मामा भनेर आमालाई चटक्कै छोडेर मेरा काखमा लुटुपुटु गर्दा बच्चाहरुलाई आमा भन्दा मामा प्यारो अनि मामाघर प्यारो हुन्छ भन्ने कुराको ताजा याद दिलाएको थियो । 

बहिनीलाई भञ्ज्याङ्गमा छोडेर आउँदा आमा घरमा हुनु हुन्थेन बाख्रा पनि थिएनन घरमा । म पनि गोरु फुकाएर चराउन लगेँ चरन तिर आमा पनि त्यहिँ हुनु हुँदो रहेछ, चौतारीमा यसै पल्टिनु भएको अनि बाख्राका पाठा आफ्नो माऊ आमा छोडेर आमाको काखमा आड लाएर निदाएका थिए । आमा उठ्नु भयो र पाठाका कान खेलाउँदै कस्तो दिन देख्न परो बाबु तँ र ज्योती जस्ता दाई बहिनी छुट्टिएर कस्तामा कुटुम्ब जोडियो नानी भनेर पहिलो पटक बुहारीको दुखेसो मलाई घुमाएर सुनाउनु भयो । मैले के भयो र सोध्दा सिधै केहि भन्नु भएन तै पनि फेरि मनमा चिसो भयो, लाग्यो मैले नै सधैँ यस्तो सहेर बस्नु भन्ने के छ भन्ने लाग्यो । तै पनि रिसाएर हैन सम्झाएर आमा ऊ र म बसेर सँझाएर भन्ने सोचेँ र हामि तिन जना खाना खाई वोरी अँगेनाको डिलमा बस्यौँ ।
 
तँलाई मैले बुहारी भने पनि छोरी भन्दा फरक ब्यबहार गरेकी भए यि यहि आगोमा भष्म हुम, मलाई तिमिहरुले अड्कलेको दिए पुग्छ, मलाई यस भन्दा केहि चाहिँदैन अब म बुढि भएँ डाँडा माथिको घाम हो हेर । सबैलाई सबै कुरो पुगी सरी कहाँ आउँछ र त्यसैमा चित्त बुझाउनु पर्छ । हाँसी खुशी राजी भएर बस्न पर्छ, मेरो चिन्ता तो छोरी ज्योति अनि तिमिहरुको त हो अरु त मलाई केहि चिन्ता छैन, हात खुट्टा चलुन्जेल तिमिहरुलाई दुख दिन्न, नसक्दाका घडिमा मेरा सास भेट्टाउने तिमिहरुले हो । म बुढिले भन्ने बेलामा केहि बिराएँ भने नि आमा यसो नभन्नुस न भन म मानिहाल्छु नि तर बुहारी तिमि यसरी म सँग नरिसाऊ नानी ।

आमा यत्ति भन्दै हुनु हुन्थ्यो ऊ म के रिसाएँ तपाईँ सँग भन्दै च्याट्ठिई अनि जुरुक्क उठेर उपल्लो तलामा गई लिस्नो चढेर अनि माथि गएर एऊटी मलाई देख्या छन जल्ले पनि मरी मरी काम गर्दा पनि अझ चित्त नबुझेर मलाई घुमाएर भन्न पर्दैन बरु सिधै भने हुन्छ नि । तिमिहरु आमा छोरा भएर मलाई देखि नसहेका हैनौ ? बरु के गर्न मन लाछ सिधै भने हुन्छ नि, सारै भए के होला म माइत गइदिन्छु अनि तिमिहरुलाई हाइ सुख हुन्छ नि भन्दै हामिलाई नै सराप्दै थिई । आमा धरधरी रुनु भयो मैले सहन सकिन र आटि मै गएर उसलाई तल घिस्याएर आएँ र आमा सँग माफ माग के भनिस भनेर हपारेँ पहिलो पटक । उस्ले माफ माग्न त के मलाई आमा छोराले मारे गुहार गुहार भन्न थाली झन गुहुमा हानेर मुख भरी छिटा जस्तै भयो ।

भोलि पल्ट बिहान घरमा भात पनि पाकेन धेरै बेर सम्म आमा आफैले खाना बनाउन थाल्नु भयो उस्ले छोरीलाई च्यापेर झोलामा कपडा कोचारेर माइत हिड्न घुर्की लगाई मैले केहि पनि भनिन जे सुकै गरोस तर पनि आमा बुहारी यसो नगर बरु म नै घर छोडेर तल मन्दिरमा पाटीमा गएर बस्छु तँ जान पाउन्नस भन्दै हुनुहुन्थ्यो मैले आमा तपाई नकराउनुस यसलाई मन लागि गर्न दिनुहोस के के गर्दि रछे म पनि हेर्दै जान्छु । कुकुरलाई घिऊ नपचेपछि यस्तै हुन्छ आमा बस यत्ति हो कुरा अब भने । एक हप्तामा उस्का बा र काका लिएर फेरि घरमा आई र पनि म बोलिन कसै सँग पनि । त्यो दिन घरमा खाना पाकेन, उसका पाहुनाहरु अनि घरका सबै जना भोकै भयौँ तर पनि कसैलाई भोकले च्यापेन । भोलि पल्ट उस्का पाहुना पनि फर्किए र अनि ऊ आफै भान्सामा पसि र काम गर्न थाली । 

मैले बहिनीलाई धेरै खबर पठाएँ तर पनि ऊ आइन घरमा अनि एक दिन म आफै बहिनीको घरमा गएँ २ दिन लगाएर । बहिनीको घरमा ब्यबस्था हाम्रो भन्दा राम्रो थियो । परिवारका सबै सँग भेट घाट भयो सतहमा हेर्दा त केहि नराम्रो लागेन आदर सत्कार पनि राम्रै लाग्यो । तर बहिनीको अनुहारका रेखाहरु पटक्कै त्यसो भन्दैनथे जुन म मात्र बुझ्दथेँ तै पनि परिवारको खुशीको लागि ऊ असाध्यै लागि पर्दथि । समाजको अगाडि आफन्त को अगाडि आफ्नो परिवार अनि रीतिरिवाज एवँ परम्परा लाई राम्रो सँग धानेकी रहिछ खुशी लाग्यो । मेरो ३ दिनको बहिनी को घरको बसाईभर भान्जा बाबु नै मेरो साथी भयो हरपल मलाई समय गएको पत्तै भएन । एक दिन सबै जना सुते पनि बहिनी र म धेरै बेर सम्म बस्यौँ दुख सुखका कुरा गर्यौँ, पहिला भन्दा धेरै सहज लाग्यो ज्योति अनि मनमा अलि शितल त भयो तर जुन पारिवारिक तरलता हुनु पर्दथ्यो त्यो नभएकामा भने मन झरिले छोडेको दिनको घाम जस्तो उघारो भएको थिएन र पनि यस भन्दा अगाडि जान्न सक्ने सामर्थ्य  ममा थिएन ।

फर्किने बेला भान्जा रोएर एक छिन बसेर ऊ निदाए पछि हिँड्न परेको अनि बहिनीको साथ छोडेर हिँड्न परेको त्यो नियाश्रो बाटो भरि रहिरह्यो सोच्दा सोच्दै आधा बाटो काटिसकेछु । घरमा आइपुग्दा साँझ पर्न आँटेको थियो, आमा चाहिँ बहिनी लाई छोड्न आएको चौतारीमा मलाई कुरेर बसिरहनु भएको थियो । बहिनी कस्ति छ अचेल उस्तै छ कि अल्लि भरिएकी छ बाबु भनेर सोधिहाल्नु भयो शायद आमाको घिडघिडो थियो बहिनीको मैले अहिले त एकदम राम्रो रहेछ आत्तिन पर्दैन घरमा फुर्सद नमिलेर आउन नपाएकी रहिछ अहिले उस्को घरमा गएर आएपछि मेरो पनि मन शितल भयो भने पछि मेरो खुशी चालामाला देखेर आमा पनि धेरैनै बौरिनु भयो । 

मान बहादुर काकाको घरमा म त्यति जाँदैन थिएँ तर त्यो दिन काकीले बोलाउनु भयो उतै खाना खाएँ । बेलुका धेरै बेर बसियो र उहाँले पनि मेरी बुढीको बारेमा अनि आमाले पाएको दुखको बारेमा धेरैनै दुख बिसाउनु भयो मैले टाउको हल्लाउनु भन्दा बाहेक केहि बाँकि थिएन उपाय म सँग । एक पटक धेरै पहिले आमाले काकीसँग ज्योतिले आमालाई भनेको कुरा काकीलाई सुनाउनु भएको रहेछ । ४ बर्ष पहिले बहिनी एक हप्ता बस्न भनेर पनि भोलिपल्टै गएको कारण चाहिँ बुढिले उस्ले सुन्दिन कि भनेर यसका साहान माहान लाई घिचाउन मै मात्रै छु र बरु आफ्नै घर मुण्टिए पनि हुन्थ्यो नि भनेको सुनेर बहिनी गएकी भन्ने थाहा पाएँ । मलाई आफै प्रति धिक्कार लाग्यो, आफ्नै दाईको घरमा बहिनी लाई यस्तो ब्यबहार ले मलाई काकी सँगै पनि लज्जित बनायो तर धेरै पहिलेको कुरा लाई लिएर फेरि हुडल्न मन लागेन आफै भित्र पचाएर राखेँ । बहिनी किन आउन मानिन घरमा भन्ने कुरा थाहा भयो । 

बहिनी काम गर्ने भिषामा क्यानडा जाने भई र त्यस बेला भने घरमा आई अनि एक दिन मात्रै बसेर गई म पनि उसलाई पुर्याउन उसको घरै सम्म पुगेँ । फेरि उहि गन्तब्यमा फर्केँ । एक दिन काकीले के कुरा भन्ने निहुँ मा उसलाई सुनाई दिनु भएछ उसैमा निहुँ खोजेर उल्टै घरमा आएर तिमिहरु आमा छोरा भएर गाउँ भरि मेरो बेइज्जत गर्ने भन्दै बाझ्न थाली मलाई तिमिहरु सँग बस्नु छैन मेरो अँश चाहियो । यसरी बेइज्जत भएर म यहाँ बस्न सक्दिन भन्दै थिई । हामिले के गर्या छौँ र तँ किन यसो गर्छेस त्यो मलाई पनि थाहा छ, दिन्न अँश के गर्छेस गर, घरकी बुहारी भएर मिलाउली भन्दा झन झन पो निहुँ खोज्छेस किन ? हामि मात्र होइन सबै गाउँ ले पनि चिन्छन के अन्न खाने हरुले बिचार गर तेरो खुशी मन लागी गर म केहि भन्दिन भनेर आफ्नो कुरा टुँगाइदिएँ । 

त्यसको हप्ता दिनमा उसका माइतिहरु ८ - १० जना नै हुल बाँधेर आएर र मलाई र आमालाई केर कार पार्न थाले । अर्कि केटि तिर लागेर मेरी छोरि लाई यस्तो ब्यबहार गरिस भन्न पनि पछि परेनन । मुखमा आएको तथानाम बोले, मलाई कुटुम्बको सिमाबाट बाहिर गएर बोल्न थाले पछि मैले पनि तिमिहरुलाई जसरी सजिलो हुन्छ त्यहि गर भनिदिएँ । अब देखि मलाई तिमीहरुकी छोरी सँग नाम जोडेर बोल्ने तिमिहरुको कुनै हैसियत बाँकि रहेन अब । मेरो सदासयताको, सरल पनको फाइदा उठाएको तिमिहरुले ? मेरो कुरा सकियो भनेर काकाको घर तिर लागेँ सहिनसक्नु भएर । 

घरमा अब आमा र म मात्रै थियौँ । बहिनी बिदेश गएको पनि एक बर्ष बितीसकेछ कहिले काहिँ फोन हुन्थ्यो बहिनी सँग तर बहिनी लाई चिठी पनि पठाउने निधो गरे त्यहिँ जाने मान्छे भएकाले पठाउन पनि सजिलो थियो । 

मेरी प्यारी बहिनी !

तिमिलाई शुभ आशिर्वाद अनि मिठो सँझना !!

भगवानको कृपाले अहिले सम्म आमा र म निका आराम छौँ । टाढा भए पनि तिम्रो सुखको खबर ले देख्न नपाए पनि आमाको मन पनि शितल भएको छ । घरमा अहिले ६ महिना देखि आमा र म मात्र छौँ । भाउजु ले अँश लिएर छुट्टिएर उतै माइत बसेकी छ यसमा मलाई कुनै दुख मनाऊ छैन तिमि यो कुरामा चित्त नदुखाउनु बहिनी ।

मैले र तिमिले जिन्दगी दुखजीलो गरेर यहाँ सम्म ल्याएका छौँ । सानैमा तिमि र मैले बिताएको अतितको त्यो मिठा पलहरुले  नै हामिलाई बचाएको छ । अहिले दुख परे पनि तिनै सुखका क्षणहरु  सँझेर अहिले बाच्न तिमि र म दुबैलाई सजिलो भएको छ । मलाई तिमि टाढा छौ भन्ने कुरामा कुनै दुख मनाऊ छैन, तिमि खुशी छौ अचेल, शायद पिँजडा बाट छुटेको सुगा जस्तै खुल्ला छ तिम्रो जिवन बल्ल फक्रिएको छ तिम्रो उमँग । जिवनमा खुशी र सुखको पाटो एकदम थोरै हुन्छ ज्योति । हुन त समयले अनि समस्याले तिमिलाई धेरै कुरा सिकाएको छ कसरी आफूलाई अरु सँग जोगाउने भन्ने तर धेरै खुशी हुँदा हुने दुर्घटनाहरु सँग पनि तिमि सजग हुने छौ भन्ने मेरो आशय हो ।

मैले पनि आफ्नो जिवनलाई कसरी लैजाने भनेर सोच्दै छु, मेरो सँघर्ष अब बिराममा आएर थन्किएको छ । आमाको सेवा गर्नु र आमाको आँखामा आँशु आउन नदिनु नै मेरो ठूलो कर्तब्य हो बहिनी । समयले फेरेको जिवनको परिदृश्यलाई तिमिले स्थाई रुपमा खुशीमा बदल्न सक्नु, जस्ले तिम्रो खुशीलाई सधेँ भरी ताजा र दिगो राख्न सकोस । मनै देखि खुशी हुने पलहरु जिवनमा सितिमिति आउँदैनन, तर यस्ता पल अनि पात्रहरुलाई कहिले पनि टाढा नराख्नु बहिनी । आफ्नो जिन्दगीको डुब्न लागेको डुँगालाई सकुशल रुपमा पारी पुर्याउने माझिदाई को गुन र त्यसको महत्वलाई  नभुल्नु कहिले । हुन त तिमिले सबै कुरा मलाई भन्न बाँकि पनि होला तर यस पत्रको उत्तरमा आउने तिम्रो जवाफमा मैले केहि थाहा पाउने अपेक्षा गरेको छु ।

तिम्रो दाजु सँसारको जुन सुकै कुनामा रहे पनि तिम्रै मन भित्र छ भनेर सम्झिनु, तिम्रो दाजुको माया तिम्रो लागि उर्जा बन्ने छ, तिम्रो सँझना मेरो पनि उर्जा हो बहिनी । 

तिम्रो सधैँ खुशी देख्न चाहने 
उहि तिम्रो दाजु ।।।।

चिठी पठाएको ४ दिनमा मैले लेखेको चिठि पढ्दै बहिनीले रुन्चे स्वरमा फोन गरि मैले उसलाई सम्झाएँ । अनि आमा सँग बहिनीलाई बोल्न दिएँ आमा पनि पहिले रुनु भयो पछि अनुहार उज्यालो पार्दे अन्तिममा त हाँस्दै फोन मलाई दिनु भयो । आमाको धेरै समय पछि अनुहारमा हाँसो देखेको थिएँ मैले । मेरो मन पनि आज हलुका भएको थियो । समय यसरी नै बित्दै थिए । त्यसको ठिक एक महिना पछि फणिन्द्र दाइको बा बिदेशबाट फर्किनु भयो । बहिनिले मलाई, आमालाई पैसा अनि सामानहरु पठाएकी रहिछ । आमा चाहिँ आँखा भरी आँशु टिलपील पार्नु भयो र फेरि सम्हालिनु भयो । त्यस पोको भित्र उस्ले पठाएको चिठि पनि थियो ।

मेरी प्यारी आमा र प्राण प्यारो दाजु !

दर्शन गरेँ हजुरहरुलाई !!

म यहाँ ठिकै छु खुशी छु । मान्छेको जिवन भनेको यस्तै रहेछ दाजु । मलाई मेरो दुखलाई मेरो खुशीलाई नाप्न र जोख्न सक्ने भनेको हजुर हो र हजुरको यो स्थान मेरो सास रहे सम्म सुरक्षित रहिरहने छ । म त्यहाँ छँदा हजुरहरुको काखमा रहँदा सम्म पाएको अपार खुशी दुध उम्लिएर पोखिए जस्तै भएकै हो र पनि अबस्था परिस्थिति ले हजुरहरुलाई मैले भन्न सकिन । मैले आफ्नो दुख देखाएर भन्दा जति सक्दो लुकाएर हजुरहरुलाई सुख दिन सक्थे धेरथोर भए पनि । तर जन्म दिने आमा र हजुरले मेरो दुखको भाषा बुझ्नु हुन्थ्यो र पनि यस भित्रबाट पनि मैले हजुरहरुलाई मेरा जिवनमा केहि दुखहरु लुकाएकै थिएँ  ।

सबै कुरा अब भनेर फाइदा पनि छैन किनकी कमसे कम मैले ज - जसलाई आफ्नो जिवनमा जुन धारणा राख्दछु, हजुरहरुले पनि उस्तै धारणा राख्नुहोस भन्ने चाहँदिन अहिले पनि म । अरुले गलत गरे भनेर म पनि उनिहरु जस्तै हुनु पर्छ भन्ने चाहिँ छैन दाजु, त्यसैले साह्रै झिना मसिना कुरा भन्दिन मलाई माफ गर्नु होला । बिबाह भन्ने कुरा मन मिले पछि गर्ने कुरा रैछ तर मलाई त आफ्नो बिबाह छिनेको पनि थाहा भएन । तै पनि हजुरहरुको खुशीको लागि मैले कुनै नाईँ नास्ती गरिन र आफ्नो दुख पनि लुकाएँ भरसक ।

पात्र अनुसारको ब्यबहार नभएपछि जिवन निकै अपूरो हुँदो रैछ । मैले पिएका आँशुहरुको ब्यथा सँझेर त अहिले पनि उदेक लाग्छ शायद म अहिले यो अबस्थामा नआएको भए मैले आफ्नो जिन्दगी धिक्कार गर्नु भन्दा बाहेक केहि बाँकी रहन्नथ्यो र पनि कसै सँग मेरो गुनासो अहिले पनि छैन । मेरो भाग्यमा त्यहि दिनहरु भोग्नु थियो भोगेँ अहिले सजिलो ठाउँमा छु, कमसे कम मैले चाहेको गर्न सक्ने ठाउँमा छु । यसको मतलब मैले आफ्नै नैतिक र सामाजिक घेरा नाघ्ने भनेको होइन दाजु,  म तपाईँकी बहिनी हुँ, म बाट हजुरहरुको प्रतिष्ठामा आँच आउने कुनै काम हुँदैन । सँसारको जुन कुनै ठाउँमा बसे पनि म आफ्नो धर्म रीति रीवाज एवँ अनुशासन लाई पालना गरेकी छु गर्ने छु । 

यो चाहिँ हो कि समयले मलाई नयाँ ठाउँमा ल्याएर उभ्याएको छ । हजुरले भने जस्तै मलाई गुन लगाउने माझिदाईको महत्वलाई मैले बिर्सेकी छैन । अब म पहिले जस्तो कम्जोर छैन । म अब केहि गरेर देखाउँछु, मैले मेरो जिवनलाई नयाँ शिराबाट माथि लैजान्छु । खुशीहरुको माला नछिन्ने गरि फूलहरु उन्दै जाने छु यसरी उन्ने नयाँ फूल नयाँ खुशीको माला लाई जिवनको दर्शन अनि भरोसाको रुपमा उभ्याउने छु । अनि जुन दिन त्यो खुशीको माला गलामा पहिर्याउन सक्ने छु त्यो दिन मेरो लागि सम्पूर्ण हुने छ । बरु एक दिन एक छिन मात्र बाँच्न पाउँ त्यहि दिनको पर्खाई मा छु दाजु । 

जिवनमा केहि नयाँ काम गर्नु पर्यो भने म हजुरहरुलाई नसोधी केहि गर्दिन । यो खुशी जोगाउनु नै मेरो जिवनको कर्तब्य पनि हो लक्ष्य पनि हो ।  साराँशमा यो खुशी के हो भनेर कुनै दिन म भनौँला । आमाको राम्रो ख्याल राख्नु भएकै छ भन्ने त मेरो कर्तब्य मात्रै हो । सक्नु हुन्छ भने भाउजु लाई मनाएर घरमा ल्याउनुस होइन भने अर्को जिवनसाथी खोजेर पनि जिवनलाई पुर्ण भएको हेर्न चाहन्छु म । म हरदम हजुरहरुको सेवामा तत्पर छु । अब घरको आँगन पोलेर दिएको चेली होइन म पहिलाकै ज्योति हुँ हजुरकी बहिनी हुँ । त्यो घरको हर सुख दुखमा मेरो हात र साथ रहन्छ । केहि आबश्यक पर्यो भने पनि अहिले त म सक्ने ठाउँमा छु, हजुरलाई र जन्म दिने आमालाई सेवा गर्नु भन्दा मेरो ठूलो काम केहि होइन ।
 
हजुरकै बहिनी
 
ज्योति ।।।।।।