Wednesday, 24 July 2013

नाता र सम्बन्ध

साउने झरी, बाढि पहिरोको वास्ता नगरी म बाम्चे जान ठडिएको थिएँ कसैलाई नसोधी घरमा समेत नभनिकन । बिबाह गरेका मानिस त हराएको ३ बर्ष बित्दा पनि उनका जहानहरुले खोज्न नहिँड्ने रैछन, झन मेरो त जहाँ जाला जोगी भातै खाला जस्तो मान्छेलाई कस्ले पो खोज्नु भनेर आफैसँग बाउँठिएर अनि आफैसँग बोझ भएर फेरि उसैलाई सकि नसकि ठस ठस कन्दै बाम्चेको उकालोमा बोक्दै थिएँ । माइखोला आफ्नै गहिराईमा निरन्तर बगे पनि बेशरम बाटो चाहिँ घरी घरी माथि माथि सरिरहन्थ्यो ।

धेरै नै उकालो उकासिए पछि आँगन सँगै जोडिएको समीको फेदको ढुङ्गे चौतारीमा टुसुक्क बसेर पुन्पुराको पसिना पकेटबाट रुमाल झिकेर सलक्क पुछेँ । आमैले बाहिर आउँदा दुइ झुतेली मकै अनि भित्र जाँदा एक अँगालो भरी दाउरा लैजानु भो । गोठमा २ वटा चिल्ला भैँसी देखेपछि आम्मै यसो गोरस पाइन्छ कि, सारै खरो भयो बरु कति पैसा पर्छ तिर्छु भनेँ डीलैमा बसेर । मज्जाले ठोक्कियो नि निधार पनि टुटुल्कै उठ्ने गरि, एक छिन पर्खँदा पनि महि किन आएन भनेर हुर्रिँदै भित्र जान खोज्दा त बैँसले डोलिएकी सोल्टीनी सँग कहिल्यै नभुल्ने गरि ट्वाङ्गै ठोक्कियो भन्या, महि पनि भुइँमा न भाँडामा भयो । महिले गुन्द्री छिचोलेर गए पनि एक मुठी नौनीको डल्लो चाहिँ त्यहिँ अड्किएको थियो ढडियामा माछा अड्के जस्तै ।
 
भन्न नहुने ब्यथा सारो भनेको यस्तै हो भन्थे हो रैछ, उता सोल्टिनी पनि रुनु न हाँस्नु भएर बिचैमा अड्किएकी थिई । मान्छेको जातलाई गुन गरम भनो यस्तै हुन्छ जहिले पनि भन्दै गुन्द्रीमा अड्किएको नौनी भुत्लाले उठाउँदै थिई । अन्त तिमी जहिले पनि कसैले पानी मोही मागे भने यस्तै गरि ठोकिन्थ्यौ र । तर त्यति सारो हेपेर चाहिँ नभन है, मैले के पो उपद्रो गरेँ र ? झुक्कियौ तिमि पनि म पनि झुक्किएँ, ठोक्कियौ तिमि पनि म पनि ठोक्किएँ, न तिम्रो गल्ती न मेरो बिराम अब हिसाब बराबर । अब तिमि र म ढोकामै ठोक्किन लेख्या रैछ त के गरम । म यहि बाटो हिँड्नु, तिम्रै आँगनमा बिसाउनु तिम्रै मोई माग्नु, तिमिले पनि ढिलो गर्नु मैले छिटो गर्न खोज्नु सबै लेखान्तर हुन के । यहि हो कि तिम्ले मलाई भुल्दिनौ, अब त अरु कुनै बटुवाले मोहि मागे भने पनि तिमि मलाई सम्झिने भयौ सोल्टिनी ।
 
अन्त मईमा सन्दुक बाट नौनीको डल्लो राख्दा बेर भयो नि छिट्टो गर्छु भनेको त हो नि भनेर नङ्ग टोक्दै थिई, अनि हातको छेल पारेर मलाई भिजाउने गरि पग्लिरहेकी थिई जुन म अलग्गै चाल पाउँथेँ । धेरै आँखा नलाऊ है सोल्टीनी लभ पर्ला फेरि के गर्नु आफ्नो जोर जाम नभा भे त आजै तिमिलाई लिएर हिँड्थेँ के गर्छयौ भाग्यमा नलेखे पछि, तर जे भए पनि म तिमिलाई चाहिँ किमार्थ भुल्दिन । तिम्रै लागि भए पनि यो बाटो ओहोर दोहोर गर्छु र मिले सम्म फर्किँदा यहिँ बास बस्ने गरि आउँछु ल सोल्टीनी खै नाम पनि भनिनौ, साइनो त भयो तर बोलाउने नाम पनि पाए कति जाती हुन्थ्यो है ।
 
पछ्यौरीको सप्को हातमा निचोर्दै अनि निमोठ्दै उसले मलाई कहिले आउनु हुन्छ हजुर, म ठेकीमा दुधको तर मात्र दहि जमाएर राख्छु, हजुर आउने दिन महि पारम्ला अनि हजुर लाई पेट भरी नौनी ख्वाएर पठाउँछु नि । ममता हो मेरो बोलाउने नाम अर्को नाम त भन्दिन भो लाज लाउँछ हि हि हि । म फेरि धेरै घिऊ खाएर छेरपाटे लाग्यो भने के गर्छौ भन्दा बोली खस्न नपाउँदै टिप्पा खेलाइहाली । हाम्रा बहत्तर बर्षका हजुरबाले त चरेसका एकमाने बोडकामा मनतातो घिऊ सनक्कै पिउँछन, त्यत्ति पनि नपचाए त के मर्द भको सार भयो र ह्या यहाँ त घिऊ नपचाउने लाई त नामर्द भन्छन ओई होस गर्नु । मैले पनि किन सानु बन्नु भनेर बाजी भयो तिमि र म सँगै सँगै उत्ति उत्ति खाने बराबर अनि कसलाई नपच्दो रैछ हेरौँला ल ।
 
म बाटोमा ओर्लिए पछि जस्सरी पनि बस्ने गरि आउनुस है पक्का । मान्छे त हजुर सारै असल तर हाड नभाको जिब्रो कतै लल्याकलुलुक होला नि फेरि डरै लाग्छ के त । मैले पनि यति धेरै माया नमान होई मेरो घरबार बिग्रला फेरि भन्दै  हिँडे ऊ चाहिँ लुरुक्क घर भित्र छिरिहाली । ममता सँग जे जति कुरा गरे पनि मेरो मथिङ्गलमा चाहिँ त्यस्तो भुईँचालै चाहिँ गएन । एक्कासी ठोक्किएर एक्कासी झ्याम्मिँदा चाहिँ साँझ बिहान स्वीच अन अफ गरेर अँध्यारो उज्यालो गराए जस्तै भयो । खुलेको अनुहार, सलक्क परेको जिऊ, गिलो माटो जस्तै  खेलाऊँ खेलाऊँ झैँ जस्तो, गहुँ गोरी, बोलिमा पनि कति मिजास, स्याहार सम्हार, उस्को नाम जस्तो काम पनि भरिपूर्ण थियो ।
 
चार घण्टा हिँड्दासम्म एकादुई बाहेक बटुवाहरु पनि भेटिएनन, भेटिए त बरु लँगूर बाँदरको हूल, बाटैमा घेरेर मलाई गिज्याउन उल्याउन थाले । म पनि केहि चलमल नगरिकन ढुङ्गामाथि बसेँ कोहि आऊला अनि जाउँला भनेर । एक छिनमा १० १२ जना केटाकेटीको हूल बाँधेर आए, उनीहरु ओरालो लागे म चाहिँ उकालो लागेँ । डाँडा माथिका घामलाई भेट्टाउन जति कस्सिए पनि सकिएन हेर्दाहेर्दै घाम डुबे, कताकति लाली किरणहरु हिमालमा झुल्किए पनि यता तलतिर चाहिँ अँध्यारोको बिस्कुन थियो । वरिपरि ओडार बाहेक केहि देखिएनन, सोधौँ भने बाटोमा हिँड्ने मानिस पनि चालमाल सेलायो । एक मनले गुहार मागौँ कि झैँ लाग्यो तर अर्को मन त्यो गर्न मानेन तै पनि मोबाइल बाल्दै उकालिएँ । अलि माथि पुगे पछि अझै माथि जँगलको छेऊमा घरमा बत्ति बलेको देखियो ।
 
अब त छिचोल्नै नसक्ने गरि चकमन्न भयो तै पनि लौरोको सहाराले हिडिरहेकै थिएँ । मेरै पछाडिबाट के चिज हो झ्याम्म हाम फाल्यो सासै रोकिएला जस्तो भयो र पनि चिच्याउन सकिन । आधा सास रोकिँदा रोकिँदा पनि हिँडे, पछि म आफै पनि कान्लोबाट तिन बल्ड्याङ्ग लडे हिलै हिलो भयो ज्यान । धन्य नजिकै एउटा घरमा टुकी बालेको मधूरो देखियो बल्ल जीउमा पालुवा पलाएर आयो ।
 
को हुनु हुन्छ घरमा भनेर आँगनमा टेक्दै के थिएँ लेऊ लागेको रैछ फेरि चिप्लिएँ आवाज सुनेर सबै जना पिँढीमा निस्के । म त अस्ति ब्याएको लैनो पाडो फुत्केर लोटेच कि भनेको त मुन्छे नै पाडा जस्तै छाँट्टिनु भएच नी कठै बरा चोट लाओ भन्दै दाइले पाखुरामा समातेर फेरि चिप्लीन्छ कि भनेर पिँढी सम्म ल्याउनु भयो । कपडा हिलै हिला, जुत्ता भरी हिलो झोला त माले गोरु जस्तो पो भाको थियो त । यिनको त के सुर्ता भयो र बाँचेर यहाँ सम्म कसरी आइयो भन्ने चिन्ता र बल्ल पो मनमा अगाडिको डर लाग्न थाल्यो ।
 
यस्ता राती बिखाँआ बत्ति छैन लाइट छैन बर्खाको बाटो धन्न हजुरको गरहे बलिया रचन । यता त यो साल किन हो कुन्नी बर्खा मासै बाघले बेला बेला पाडा बाख्रा थुतेर लान्च धन्न भन्दै आमाले सकि नसकी जिब्रो लेप्रयाउनु भयो । म त नजिकै बस्ने बास पाइएला भन्दा भन्दै यस्तो भयो तर केहि छैन अब त आइपुगेँ आजको रात बास बसेर हजुरहरुलाई दुख दिने भएँ भन्दै झोला बिसाएँ कपडा फेरेँ अनि मुल खामोमा अडेस लगाएर बसेँ । उसिनेका मकै र नून खुर्सानी अनि मरहठीको चटनी सँगै खायौँ । बाक्लो न बाक्लो महि सँग मकैको स्वाद कहाँ दाँज्न सकिन्थ्यो र बजारिया रिसीपी सँग ।
 
दोश्रो दिन बिहान दुइ घण्टा उकालिए पछि तेरपाएँ बस्तीमा पुगियो । आँखाले हेर्दा भौतिक रुपमा मिलेको गाउँ, छेवैमा पुवा खोलाबाट सानो टर्वाइन राखेर गाउँलाई २४ सै घण्टा मनग्गे पुग्ने गरि बत्ति, घर घरमा चर्पी, प्राय जसोका घरमा करेसाबारी, ब्यबसायिक रुपमा तरकारी खेती, पशुपालनको राम्रो उपयोग भएको बिकसित बस्तिमा आइ पुगिएछ र त पत्याउनै गारो भइरहेछ यतिका माथि आएर कसरी सुगम भयो भनेर ।
 
गाउँमा एउटा अजीव मानिस आएर बसेको पनि एक हप्ता भइसक्यो तै पनि मानिसहरु बेखबर थिए । दुकानमा गएर कहिले चाउचाऊ किनेर कहिले तरकारी रोटी खाएर त्यहिँको एक घरमा दिन भरनै अन्तध्र्यान भएको धेरैले वास्ता गरेका थिएनन । कुन्साङ्ग काकाले चियो गरिरहेका थिए, उनी चाहिँ भोकले छटपटाइरहेका थिए कि उसको बारेमा बुझ्न, अझ उसको मासुम उदासिनतालाई चिर्न हतारो भएको थियो ।
कुन्साङ्ग काका सक्नुहुन्छ भने मलाई यहि प्राथमिक बिद्यालयमा पढाउन दिनुहोस मलाई तलब केहि चाहिँदैन बढि, मात्र यस गाउँमा बस्न बास अनि बिहान बेलुका हात मुख जोर्न पाए हुन्छ मलाई रोजी होइन छोडी खान्की भए पनि केहि फरक पर्दैन कुनै गुनासो गर्दिन म । कुन्साङ्ग काकालाई निहूँ भइहाल्यो मेरै घरमा बस्ने हो सर, तपाईँले नभने पनि मैले हजुरलाई हप्ताभरीमा धेरै पढेको छु, भोलिबाटै यो बिद्यालयमा पढाउनु भए पनि म मिलाइदिन्छु भन्दै काकाले आफ्नो घरमा बास सार्नु भयो ।
 
उतिबेला कसैको घरमा चर्पी थिएन । चर्पी नहुँदा गाउँमा हुने गरेको स्वास्थ्य सम्बन्धि समस्याहरुको बारेमा केटाकेटी सँगै राखेर अभिभावकलाई पढाउँदा औधि रमाएका थिए केटाकेटीहरु । पाकाहरुले केटाकेटीहरुलाई सँगे तोते सँगत सँगै चर्पी बनाउने अठोट गरेर फर्केका थिए । एक हप्ता बिद्यालय बन्दै गरेर सबै जना काममा जुटेका थिए । तेरो मेरो भन्ने थिएन हाम्रो भन्ने थियो सबैले सबैको नसकुञ्जेल सघाउने भनेर सबैका सकिएपछि मात्र छोडेका थिए । यहि काम गर्दा गर्दै बिद्यालयका सरले सहकारीको बारेमा पनि जागरण फैलाई सकेका थिए र त चर्पी सकिएपछि सबै मिलेर गाउँमै हातेमालो बचत तथा सहकारी सँस्था पनि खोलिकन शेयर बापत आफूले सके जति जम्मा पारेका थिए अनि सबैले महिनामारी पनि बुझाउँथे । अब त सहकारी भनेको कुरो गाउँको बिकास गर्न अर्म पर्म गर्न दुख सारो गर्जो टार्न अझ त्यस भन्दा बढि आयमूलक काम गरेर पैसा कमाउनलाई असली काम रैछ भन्ने सबै गाउँलेलाई थाहा भइ सकेको थियो ।
 
गाउँमा सबैलाई काम पुगेको थियो । त्यस भन्दा अगाडि गाउँमा तरकारी समेत बाहिर बाट आउँथ्यो तर पछि भने गाउँमै सबै तरकारी फल्न लाग्यो गाउँले लाई पनि बढि भएर बाहिर समेत पठाउन थाले, यो सबै काम सहकारी बाटै हुन्थ्यो । गाउँभरीका तरकारी सहकारीले किनेर पहिले उनै गाउँलेहरुलाई नै सस्तो मुल्यमा बेच्थ्यो र बाँकी बाहिर पठाउँथ्यो र यस बाट भएको फाइदा समेत उनै गाउँलेहरुलाई हुन्थ्यो ।
 
दुई बर्षको पैसा जम्मा पारे पछि गाउँलेहरुले नजीकैको पुवा खोलाबाट पुग्ने गरि बिजुली निकाल्ने अठोट गरे अनि गाउँ बिकास समिति बाट दश लाख अनि आफू सँग जम्मा पारेको ३ लाख अनि अरु १ लाख थप थाप गरेर १४ लाखमा गाउँमै बिद्युत निकाले । त्यसको पनि महिनामा सबै घरले २० रुपैँया महशूल उठाउँथे अनि त्यहि बचत मै जम्मा पार्थे । दिनभर केटाकेटीलाई पढाएर साँझमा उनै अभिभावकहरुलाई प्रौढ शिक्षा समेत पढाउँथे । अब त गाउँमा अक्षर नफोर्ने कुनै अभिभावक पनि बाँकी थिएनन । अरु त के उहि कुन्साङ्ग काकाकी ७८ बर्षकी आमा समेत अब त बाह्र खरी खर्ररै पार्नु हुन्थ्यो कति रमाइलो भएको थियो गाउँ सिमै थिएन ।
 
यो भनि रहँदा कुन्साङ्ग काका धेरै पटक रुनु भयो बरर्ररै आँशु झारेर । मलाई पनि परदेशी सर प्रति श्रद्धा जागेर आयो अनि फोटो सोटो केहि छ कि काका कि कुनै हुलिया छ कि उहाँको भनेर सोधेको थिएँ उसैमा काका तस्वीर त यो छातिमा छ नि तर हनुमानले जस्तो फोरेर देखाउन नमिल्ने बाबु तर फोटो खिच्ने त अत्तो पत्तो नै भएन, हामि सँग त कमेरा पनि छैन । ऊ पल्लो गाउँको देबेन्द्र काजीले दशैँको बढाइँमा फोटो त खिचे जस्तो मान्थें बजारमा बस्ने मान्छे उतै गए होलान बाबु भनेर त्यो पनि बिर्को लगाउनु भयो काकाले ।
 
तर बाबु उहाँलाई एकान्तमा धेरै पटक रोएको देखेको थिएँ मैले । अरु भन्दा पनि छोरा छोरी लाई सँझेर सिरानी लाई झम्टेर सासले रोएर भक्कानिएको धेरै पटक देखेको हो मैले । एक पटक त दारी कपाल लामो भएर मैले नै लाहुरे कैँचीले काटेर छोटो पारेको थिएँ । तो मान्छे अरुलाई सहयोग गर्न परोपकार गर्दा आफ्नो सास पनि गएको थाहा पाउँदैनथ्यो । अरु कुनै कुरा फुस्काउने भए पो मरिकाट्टे भन्ने होइन, अलिकति सोध्न पनि हजार दाऊ मिलाउनु पर्ने ।
 
यो गाउँ बाट जान भन्दा एक हप्ता पहिला जरोले शिथिल परेर बल्ल उठ्नु भा थ्यो तै पनि तँग्रिएपछि बिद्यालयमा गएर हाम्रा नानी बाबुहरुलाई कहिले नराम्रो नसोच्नु, नराम्रो काम नगर्नु, आमा बाबुको सेवा जस्तो ठूलो अर्को कुनै धर्म छैन, घर टोल सफा पार्नु पर्छ, अब मैले सकेको गरिलाएँ अब तिमिहरुले गर्नु पर्छ म माथि बाट भए पनि हेर्छु भनेर केटाकेटीहरुलाई सबैलाई चकलेट बाँडेर पठाउनु भएको रैछ अनि त्यसै राती कसैलाई केहि नभनी हिँड्नु भएछ । एक दिन हामिले पनि कतै जानु भएको होला भनेर खोजेनौ, अर्को दिन यता वल्लो गाम पल्लो गाम सबै खोजेम कतै भेटिएन त्यस पछि केटाकेटीले एक महिना सम्म बिद्यालय जानै मानेनन बाबु यहि हो अबस्था । मलाई यसैमा ठूलो दुख छ कमसेकम कहाँ जाने हो के छ अबस्था कहिले काहिँ भेटन मन लाग्दा भेट्न कहाँ जाने भन्ने सोध्न पनि पाइएन । यि गलामा गला मिलाएर बिदा गर्न पनि पाइएन । मर्ने बेला पनि यहि घिडघिडोले सास नजाने भो बाबु । गाउँलाई झलमल्ल पारेर आफू कुन अँध्यारोमा जानु भो भन्दै काका मज्जाले रुनु भयो र अनि त्यसबेला सम्म वरिपरि भेला भएका सबै जना रोए कोहि खाली रहेनन । 
 
मेरो मन पनि भाँडियो खैला बैला भयो मनमा सुनामी आए जस्तै भयो । तै पनि पिडा लुकाएर उहि कुन्साङ्ग काकाकै घरमा बसेँ, मेरो मनमा जति ज्वारभाटा आए पनि उहाँलाई शितल पार्दै थिएँ । मैले सबै गाउँलेहरुलाई भेटेँ । अन्तमा कुन्साङ्ग काकाले मेरो एउटा साथी थियो मलाई असाध्यै माया गर्ने उसलाई पनि छोडे हामि सँगै काम गथ्र्यौँ भनेर काकाले सुनाए पछि मलाई मेरै बिकल दाई हो भन्ने कुरामा शँका नै रहेन । मैले उहाँको हुलिया बताएँ जे जे भनेँ काकाले सहि थाप्दै जानु भयो  तर मैले म सँग भएको बिकलदाईको फोटो देखाउन मनमा साहस आएन किनकी यि यस्ता मृदुभाषी गाउँलेहरुलाई म सम्हाल्नै सक्दिन । यो घटना १ महिना अगाडिको मात्र रहेछ अझै आशा रह्यो मनमा उहाँलाई भेट्ने । मैले पनि उहाँको सबै बेलीबिस्तार लगाएँ गाउँलेहरु झन थामिन सकेनन म त झन कसरी थामिनु र ।
 
३ दिनको बसाईपछि उहाँ अगाडि बढेकै दिशामा अगाडिको बाटोको बारेमा सोध खोज गरेँ । काकाले म पनि जान्छु भन्दै हुनु हुन्थ्यो तर मैले मानिन र त्यहाँ बाट अगाडि बढेँ । मनभरी झन उत्सुकता एवँ आशा भरोसाले शरीर थाकेको पनि थाहा पाउँदिनथेँ म । अलिकति माथि पुगे पछि अन्तिम बस्ती ओढार गाउँ आउँदो रहेछ । त्यहाँका बासिन्दाहरुको बसोबास आधा ओढारमा अनि आधा चाहिँ घरमा कटेरामा रहेछ । एउटै पानी ढलो पखेरामा उहिँ निर तीन वटा झुप्प झुप्प गाउँ थिए । त्यहाँ भने केटाकेटी गाउँको कुलो तिर फर्केर दिशा पिशाब गर्दा रहेछन मलाई शँका लाग्यो कि बिकल दाई आएको गाउँ यस्तो फोहोर त हुने थिएन ।
 
को छ घरमा आज बास बस्न पाइन्छ भनेर सोध्दै आँगनमा लौरो टक्टक्याएँ ट्याक ट्याक ट्याक । मेरै पछाडि बस्नु भका बुवाले यस्ता झुपडीमा बाबु कसरी रात काट्नु हुन्छ । उडुस उपियाँ ले टोकेर हैरान पार्चन बरु ऊ माथ्लो घरमा बस्न भनेरै कोठा बनाका छन क्यार ३ ४ वटा उसो गर्दा कसो हुथ्यो कुन्नी बाबुलाई भनेर बाले नढाँटीकन म भित्रै पसेर भन्नु भयो ।
 
त्यहाँ पनि उहि कुरा दोहोर्याएँ । भित्रबाट गुर्सिनी कान्छी आधा लिटरको स्टिलको मगमा दुध चिया लिएर आई, मेरो अगाडि टूलमा आवाज नआउने गरि बिस्तारै राखी अनि बोल्दै नबोलि एक टकले मलाई हेरेर बसि । के भो तिमिलाई बसन न कि बोल्न आउँदैन तिमिलाई, केहि कुरा छ भने भनिहाल मनमा नराख भनेँ । उसले पनि मुखले भन्दा ज्यान ले धेरै बोली मैले त्यसको दोब्बर बुझेँ । खाना खाने बेला भयो हात धून लाई उस्ले जगबाट निहुरेर पानी खन्याई म पनि त्यहि बेला हात मुख धोएँ । खै कस्तो पहिरन हो कुन्नी म नचाहेर पनि ऊ निहुरीँदा आधा लाज देख्नु पर्यो तै पनि अस्ति जस्तो कसैसँग जिस्कीन पनि मन लागेन मात्र बिकलदाईको अनुहार झल्झली आइरह्यो मनमा, बरु हिँडेरै भेटिने भए त रात भरी हिँडेर भए पनि पुग्ने थिएँ झैँ लाग्यो ।
 
म सँग बिकलदाई को छायाँ चित्र पनि थियो त्यहाँका बासिन्दालाई देखाएँ कसैले पनि देखेँ भनेनन । गाउँमा अशक्त बृद्ध बृद्धा केटाकेटी तथा सुत्केरी केटी मान्छे अनि कोहि कोहि घरमा सुसारे बाहेक सबै जना यार्सागुम्बा टिप्न हिम पहाड तिर लागेका थिए । दुइ दिन बसे पछि झन मलाई अगाडि बढौँ कि फर्कौ भन्ने द्धिबिधाले सतायो । पछाडि फर्कौ युद्ध हारेर फर्के जस्तो अगाडि बढौँ कतै पनि सुइँको सम्म पनि छैन अब त बस्न लाई बस्ती पनि छैन । आफै माथि समस्या पर्ने हो कि भन्ने डरले खुम्चिइरहेको थिएँ ।
 
ए दाई यो फोटोको मान्छे लाई यता कतै देख्नु भयो भनेर उतै बाट फर्किँदै गरेको बटुवा सँग सोधेँ । उस्ले भारी बिसायो पसिना पुछ्यो अनि फेरि एक टक लगाएर फोटो हेर्यो अनि मैले देख्यो देख्यो जस्तो लाग्यो होई, मो उता माथि लेक जाने बेला माथि तम्बेलाको ओडारमा कापीमा के हो लख्दै बस्याथ्यो, नयाँ मान्छे देख्यो नि जाम भनेको त तपाईँ जानुस म बिस्तारै आउँछु भन्दैथ्यो, फर्केर आउँदा कतै देखिन मैले । तपाईँ नजानुस भो भिरबाटो चिप्लो छ खस्यो भने त निकै तल पुग्छ, यतै हुर्केका मान्छे त बर्षका ७ ८ जना त खसेरै मर्छन ।
 
मलाई त्यो चिप्लोले भिरले भन्दा पनि बिकलदाइको तम्बेलाको ओडारमा नपुगी त जिन्दगी सार्थक होला झैँ लागेन । त्यहि उकालो भिरको चिप्लो बाटोमा धरापमा उनीइरहेँ मात्र ओडारको घिडघिडोमा । सान्सानो गौँडोमा त म पनि चिप्लीएँ तै केहि चाहिँ भएन शायद दोष काटियो भन्ठानेँ ।
 
हिँड्दा हिँड्दै डाँडाको कुनामा ओडार देखियो, एक छिन सुस्केरा हालेँ । पहाडको कुइनेटोमा सानो ठाउँमा बनाएको चौतारी पनि पहाड जस्तै घुमेको थियो । एक छिन थकाई मारे पछि त्यहिँ मुख ओझेल पारेर बसेका बुढा बटुवालाई यो तम्बेलाको ओडार भनेको अब कति टाढा छ भनेर सोधेँ, उनले पनि ऊ त्यहि ओडार त हो नि । बरु बाबु कहाँ बाट अअअअअअ भन्दै बुढा दारी पालेका मान्छे मलाई देखेर बोल्नै सकेनन र पनि म बिरोधाभास मै रहिरहेँ । म ज्युँदै छु कि यो सबै सपना हो बाबु एक पाली छाम त मलाई भन्दा पो बिकल दाई को खप्टिएको दाँत नाक माथिको कालो कोठीले मलाई चिन्न गारै परेन ।
 
खुशीको सिमै रहेन, यस्तो हालतमा दाइलाई भेट्छु भन्ने लागेकै थिएन । मैले दाईलाई यस्तो हालत मा देखेर सपना झैँ भयो । दाईको जिऊको हालत लाई एकपटक राम्रो सँग गोडेँ, अँगालोमा बाँधे । किन किन स्वर्ग पुगेर स्वर्गका राजालाई ने भेटे जस्तै भयो । बिकलदाई भन्दा उर्जाशील मानिस मेरो लागि कोही छैन जिवनमा । दाइले रोएरै बिताउनु भयो धेरै समय तर पुरानो कुरा कोट्टयाउन चाहनु भएन बरु भाई म जिबनको दोश्रो भागमा छु सम्झ पहिलो भाग सकियो, म पनि उप्काउन चाहिन उहाँको घाऊ जुन सबै कुरा हुबहू थाहा भए पछि केका लागि उप्काउनु । शायद जिवनमा यति सार्थक अवसर अनि पल कहिले आउँदैन होला झैँ भयो ।
 
उहाँ एक दम बिरामी हुनु हुँदो रहेछ, ज्वरो आउने खोकी लागी रहने कहिले काहीँ त खकारमा रगत पनि आउँदो रहेछ । मेरो ख्यालमा क्षयरोग लागेछ भन्ने लागेर मैले स्वास्थ्य सँस्थामा जानका लागि फकाएँ । पहिला नमाने पनि पछि मेरो अनुरोधलाई कत्ति पनि आनाकानी गर्नु भएन । दुई दिनमा फर्केर फेरि हामि फेरि कुन्साङ्ग काकाको घरमा पुग्यौँ । बिकल दाई लाई भेटे पछि सबै गाउँले डाँको छोडेर रोए, अभिभावक सँग धेरै समय आत्तिएको बालक झैँ रोए, आँशु सकिएपछि सबै जना खुशी भए शायद गाउँ बिजुलीको उज्यालो ले भन्दा बिकलदाई को मनको ज्योतिले झन उज्यालो बनाइरहेको थियो । मायामा यत्रो शक्ति हुँदो रैछ बिरामी मान्छे पनि निकै उज्यालो देखिनु भयो ।
 
कुन्साङ्ग काकाले स्वास्थ्य चौकिको मान्छेलाई रोगको लक्षण बताएर हुमाने कान्छालाई बेँशी पठाउनु भयो त्यस पछि स्वास्थ्य कर्मी आए सामान्य औषधि दिएर अनि रगत र खकार जँचाउन फेरि बेँशीको स्वास्थ्य चौकिमा गए हुमाने कान्छालाई लिएर । भोलिपल्ट औषधि लिएर आयो हुमाने कान्छो अनि बिकल दाई को उपचार शुरु भयो गाउँमै । दाइलाई त त्यहाँका दुइ दर्जन भोटे कुकुरहरुले समेत पछ्याउँदा रहेछन, कस्तो खुशी हुँदा रहेछन । म त झन अलमल्ल भएँ । कचहरीमा बिकलदाईले मेरो बारेमा बताए पछि गाउँलेहरुको माया मैले पनि पाएँ ।
 
दाई हजुरले त्यो तम्बेलाको ओडारमा के लेखिरहनु भएको थियो भनेर प्रश्न गर्दा उहाँले आफ्नो आत्मकथा लेखिरहेको कुरा बताउनु भयो । चार वटा डायरीमा लेखेर भ्याएकै दिन मैले उहाँलाई भेटेको रहेछु । धेरै बेरको रस्सा कस्सी पछि बल्ल मलाई उक्त कथा पढ्न दिने र छाप्न दिनका लागि राजी हुनु भयो यसमा उहाँ प्रति म निकै आभार ब्यक्त गरेँ । अनुकूल समयमा बिकलदाई को मर्मस्पर्शी आत्मकथा उहाँकै अनुमतिमा हजुरहरु माझ पस्किने छु शायद समय लाग्न सक्छ, अलिकति धैर्य बाँकि छ भने पर्खिनुहोला यदि छैन भने पर्खिनुको पनि कुनै सान्दर्भिकता छैन, यो कथा पढेर मनमा क्यानभास बनाउनुको पनि कुनै अर्थ छैन । मैले उहाँको भावनामा न्याय गर्न सकेँ या सकिन यो त दाजु लाई नै थाहा होला तर उहाँकै मर्म उहाँकै कलमबाट झन खारिएर आऊने छ ।
 
दाई उमेर ढल्केका भए पनि म चाहिँ त लक्का जवान नै थिएँ । हिम चिम बढेपछि कुन्साङ्ग काकाले के छ निशान बाबु बिचार हजुरको पीयार सियार त उतै बजार तिरै होला तर यहाँ पनि एक से एक छन, कुनै छल छाम छैन, कुनै गुनासो पनि गर्दैनन, यिनीहरुमा लोभ लालच छैन, कर्ममा बिश्वास गर्छन भाग्यमा होइन । निश्वार्थ कर्म गरे सो अनुसारको फल पाइन्छ अनि त्यसैले आफै भाग्यरेखा कोर्छ भन्ने ठाउँका मान्छे यिनिहरु त ।
 
एक दिन साँझ बिमलदाई को पुनरागमनको खुशीयालीमा नाचगान अनि भोजको आयोजना पनि भयो । रमाइलो त कति हो कति मलाई घर छोडेको पनि भान नै भएन । घर भन्दा बढि पारिवारिक पन माया र सौहार्दता थियो । थाहा थिएन मायाको परिभाषा यति बिघ्न हुन्छ भनेर, मात्र थाहा थियो फिलीमे माया, प्रेमी प्रेमिका को माया अब त यि माया पनि फिका लाग्न थाल्यो । सभ्यता सँग हप्तामा कम्तीमा पनि ३ बार त झगडा हुन्छ अनि मिलाप पनि हुन्छ तर कहिँ न कहिँ छास्स छुस्स नभएको दिन नै हुँदैन, मेरो मन मुटु छिया छिया हुने गरि भन्छे र पनि माया लाग्छ, एक पल पनि उसलाई भुल्न सक्दिन म ।
 
तर यहाँको परिवेश चाहिँ अलि फरक छ, मायाको परिभाषा पनि फरक छ, ब्यबहार पनि फरक छ, जिवन प्रतिको त्यति ठूलो बिरोधाभासपूर्ण सोच पनि छैन । जे कुरा छ सिधा कुरा छ, जे गुनासो छ त्यो पनि सिधा छ धेरै जसो, तर लुकाउन पर्ने कुरो बाहेक अरु सबै कुरामा सबैको बराबरी खालको सोच छ । गाउँको बिकासको लागि सबैको एउटै स्वर छ, न फोहोरी राजनीति छ न नेताहरु प्रति को भरोसा छ, बिश्वास छ त केबल आफ्नै कर्ममा त्यसैले त कसैका अगाडि सित्तिमित्ती हात फैलाउँदैन गाउँलेहरु, सहयोगी मृदुभाषी त छँदै छन त्यसमा अझै स्वाभिमानी पनि छन ।
 
नाचगान हुने साँझ मलाई पनि नचाए ठिटीहरु, म त नाच्न नजान्ने मान्छे तै पनि आँगन टेढो भएको पत्तै पाइन, कति पटक मर्किएँ त्यो पनि होश भएन, जिवनमा पहिलो पटक हौसिएर नाँचे मदमस्त तरुनीहरु सँग । लाग्यो म पनि जवान केटा हुँ, बल्ल थाहा भयो आफ्नो उमेरको अनि अबस्थाको । जिवनका कहिल्यै नखुलेका रँगहरु पनि मनको आँगनमा मान्द्रो भरी भए तै पनि म सम्हालिएँ । नाच्दा नाच्दै थाकेर के बसेको थिएँ, पछाडिबाट आँचलीले चिरिप्प पारेर आँखा छोपिदिई । मैले हात हटाउन उस्का पाखुरा सम्म पुगेँ निकै बल लगाएँ, जोरका तोर भयो तै पनि बलिई रैछे, सकिन मैले अनि ज्यान जे सुकै मरोस भनेर छोडिदिएँ, आँचलीकै काखमा सतरम्म भएँ, ऊ पनि आफ्नै बच्चा काखमा च्यापेर ढुक्क भए जस्तो सञ्चो मानिरही ।
 
त्यो गाउँ नै यस्तो मिजासिलो थियो, कुनै कुरामा शँकोच नमान्दा पनि हुन्थ्यो किनकी मानिसहरु आफ्ना कुराहरु सिधै भन्थे । कसैसँग माया पीरीम छ भने पनि सिधै भन्थे अनि कुन्साङ्ग काका पनि यस्तोमा लाइपरी गर्नु हुन्थ्यो । नाचगान चलिरहेकै थियो आँचली कानेखुशी गर्दै थिई कुन्साङ्गकाका सँग म चाहिँ बिमलदाइ लाई टेको दिएर धानिएको थिएँ । सारा गाउँलेहरु एउटा नयाँ खबर छ सुन होहोहो भन्दै काका घोक्न थाल्नु भयो । आज आँचलीले आफ्नो साथी रोजेकी छ, भन्दै छे उहाँले पनि आँचलीलाई मन पार्छ रे निशान बाबुलाई मेरो बनाइदे भनेर म सँग गुहार माग्दैछे हो हो कतै मया पीरीम नभए निशान बाबुले भन्दिन पर्यो ।
 
छाँगा बाट खसे झैँ भयो मन, जति गाउँमा आउँदा खुशी भएको थिएँ त्यस भन्दा पनि तल थेचारिए झैँ भयो । 

मेरो र सभ्यता बिचको सम्बन्धको बारेमा बिमल दाईलाई पनि घुर्मैलो थाहा थियो । फसाद पो पर्यो भन्दै दाई जुरुक्क उठ्नु भयो अनि काकालाई साउती गर्नु भयो, अनि काकाले आँचलीलाई बोलाएर कानेखुशी गरे पनि कुरा सबै सामसुम भयो अनि फेरि नाचगान शुरु भयो । म चाहिँ बिलखबन्दमा परेर नाचगान भन्दा बाहिर बरपीपलको चौतारीमा बसेको थिएँ, आँचली पनि आई र कान समातेर मेरो अगाडि टुसुक्क बसी, म बाट गल्ती भयो माफ दिनुहोस भनेर भन्दै । मैले पनि उसलाई पाखुरामा समातेर उठाएँ अनि उसलाई ढाडस दिएँ तिम्रो गल्ती होइन नि मैले पनि भनिन, मन नदुखाऊ आँचली सम्बन्ध र मित्रतालाई एउटै अर्थमा मात्र सिमित राख्नु हुँदैन । यो गाउँ यति प्यारा गाउँलेहरु अनि तिमिलाई म भूल्न कहाँ सक्छु र । दिन पनि ढल्यो रात पनि गुज्र्यो अनि बिहान भयो, झलमल्ल भयो हिजो राती नाचेको आँगन । त्यो कस्तो नमिठो रात कसैको मन अँकुर्न नपाउँदै बिऊमै कुहियो मलाई पनि नमज्जा भयो त्यो भन्दा बढि आँचलीलाई हुने भो जिवनभर । उस्ले पहिलो पटक कसैलाई आफ्नो ठानी तर बुहनी खराब भयो जिन्दगीको ।
 
बिकलदाई पनि अलि बौरिँदै आउनु भयो । दाई अब फर्कौ हामि भनेर भन्दा दाई ले सिधै इन्कार गर्नु भयो, एउटा तिमि थियौ मेरो भन्ने तिमि आयौ लाख भयो मलाई, तिमि त काख पनि भयौ मेरो । तिमिले मलाई खोज्दै नहिँडेको भए यहि रोगले जान्थेँ अनि यो श्रृँखला यहिँ सकिन्थ्यो । मलाई झलझली आँखामा आउने छोराछो भन्दा भन्दै भक्कानो छोडेर रुनुभयो । काकाले र मैले थुम्थुम्यायौँ निकै बेरमा बल्ल थामिनु भयो । मैले पनि काकालाई फर्किन कर गरिन तर काकालाई त्यहिँ गाउँमा बस्न लाई बाचा कसम खुवाएँ बरु गाउँमा बस्न काकाले कुनै आनाकानी गर्नु भएन अनि सबै गाउँले सँग बिहानै जाने भनेर साँझ सबैको घरमा गएर बिदा मागेँ ।
 
भोलिपल्ट बिहान ५ बजे उठेर काकालाई उठाएँ फेरि फेरि आउने बाचा गरेर बिदा भएँ, कचहरी चौतारीमा बसेर वरीपरी हेरेँ कोहि पनि भेटिएनन बाहिर फेर अनि झिसमिसेमा हिँडे गाउँबाट खुशी अनि बिस्माद बोकेर । करिब १५ मिनेटको दुरी हिँडे पछि गाउँ छेकिने कुइनेटो थियो कुइनेटोमा अनौठो दृश्य देखियो जुन म सोचेकै थिइन । आँचलीले हातमा साँझभरी बुनेको फूलको माला हातमा लिएर सबै भन्दा अगाडि बसेकी थिई । मलाई शुभयात्राको टिका लगाईदिई, फुलको माला लगाई दिई, मैले पनि उसलाई उहि थालीबाट टिका लगाई दिएँ अनि मलाई नै लगाई दिएको मालाबाट चुँडेर उसको टाउकोमा पनि फूल उनिदिएँ ।
 
हजुरको र सभ्यताको जिवन सुन्दर बनोस, यो जन्ममा हजुरकी बन्न नपाए पनि मेरो कुनै गुनासो छैन । यो त मेरो भाग्यमा नलेखेको कुरा हो । म हजुरकी बन्न नसकेपनि अरु कसैकी बन्दिन । हजुरले मलाई केहि दिनु पर्दैन यहि टिका र फूल मलाई अनेक छ, जिवनमा कहिले पनि ठेस नलागोस, सधैँ सफल बनिरहनुस, कतै बाटोमा देख्नु भयो भने आँचली तँलाई कस्तो छ सम्म भन्नुहोला यहि हो भनेर पछयौरालै सपक्क मुख छोपी । आफ्नो बोली त घाँटीमा अड्के झैँ भयो । 

तिमिले त्यसो गर्यौ भने मलाई पाप लाग्छ आँचली तिम्रो कल्कलाउँदो जिन्दगीको, तिमिले यसो भन्यौ भने म कहिले खुशी हुन सक्दिन भन्दै थिएँ तर ऊ त दौडिँदै निकै टाढा पुगिसकेकी थिइ शायद मेरो बिदाई गर्ने उसमा हिम्मत नभएर होला । अरु गाउँलेहरु उसका सैँसाथे हरुलाई सँझाइदिनु आँचलीलाई भनेर म पनि गुर्गुरी ओरालो लागेँ । 
 
(पहिलो आफ्नै मलामी कथा श्रृँखलामा बिकलदाई जिवन देखि दिक्क भएर सार्वजनिक जिन्दगीबाट अलप हुनु भएको थियो त्यसको निरन्तरता प्रयास हो यो । यस पछिको श्रृँखला फेरि ब्लगमा अनुकूल समयमा राखिने छ र त्यो भाग चाहिँ यो कथाको तेश्रो तथा अन्तिम भाग हुने छ । )

Sunday, 23 June 2013

लघुकथा - नियाश्रो




म पनि त कहाँ एक्लो छु र हजुर जस्तो सहयात्री भेटेको छु नि भनेर यसै के भनेछु उनले त मलाई नीलो कार्पेट बिछ्याइहालिछन । सपनामा उठेर हिँड्ने बानी भएको मानिस जस्तो म पनि उनको सत्कारलाई पन्छाउन सकिन अनि उनको छेउमै किनारमै पुगेँ । कस्तो सामिप्य थियो लाग्थ्यो हामिहरु अब कहिले पनि छुट्टिन पर्दैन तर २४ घण्टाको रेलयात्रा त २४ मिनेट भएन त्यति बेला । उनलाई लाग्ने मैले बीचैमा छोडेर हिँडे जस्तो अनि मलाई लाग्ने चाहिँ मलाई बिचैमा झारेर आफू एक्लै गई जस्तो पीडा एउटै थियो छुट्नु पर्ने ।

लामो समय भेट भएन, भेट घाट कुराकानी हरु पनि पातलिँदै गए, चासो खाँचो पनि पातलिँदै गयो । खै अब त उस्को पनि फोन आउन एसएम एस हरु केहि पनि आउन छाड्यो अनि म पनि मरिच र्झै चाम्रिन लागेँ ।

अब त समय पनि ७ बर्ष बितिसकेछ, सँझना मात्र बाँकि थियो माया सल्काउनलार्इृ फेरि परालको आगो मात्र बाँकि थियो । एक झट्काले जिवनभर कति बजार्दो रहेछ, नचाहेरै नसोचेरै अनि नसँझेरै पनि केहि चीज हराइरहे जस्तो केहि चीजलाई खोजीरहे जस्तो, कुनै तृष्णाको तृप्ति नभए जस्तो भइहन्थ्यो ।

मनको मैलो पखाल्न इलामको चिया बगानमा हराउँदै थिएँ पातहरुको शितसँग मैले सात बर्ष अगाडिको अतितलाई आँशु सँग साट्दै थिएँ । बास्तवमै मैले त्यसबेला उनको अभाव महशूस गरेको थिएँ ।

शितहरु सुक्न नपाउँदै आँखाहरु ओभाउन नपाउँदै मेरा आँखामा छोपिएका थिए । भिजेका परेलीहरु बाट चिसा कपडा निचोरे झैँ थिए आँशुहरु । मैले आँखा खोलाउन मरिहत्ते गरिन किनकी यहि अन्धकार थियो मेरो मन झलमल्ल पार्ने जुन मैले आफूले पाएको थिएँ । मैले कुनै चाल भुलेको रहेनछु उनका स्पर्शहरु भूलेको रहेनछु । उतिबेला जस्तो थिएँ आज म फरक भइन । मैले पनि छामेरै उनको अनुहार फेला पारेँ, कानहरु फेला पारेँ एक छिन चलाएँ, ओठहरुमा पनि एकछिन खेलेँ बच्चाको जस्तो, नाकमा आफ्नो किल्ला जमाएँ । उनका बग्रेल्ती पसारीएका केशलहरहरुमा चल्मलाएँ एक छिन र पनि मेरा आँखा बन्दि थिए । मैले आँखा खोलिन, अनि खोल्ने चाहना पनि भएन । यहि पल जोगाएर राखुँ शायद उनलाई भन्दा अब अरु कसैलाई नदेखुँ ।

Wednesday, 24 April 2013

यात्रा, सहयात्रा, जिवनयात्रा र म यात्री


ए भाउजु ! मिइइइठो चिया ख्वाउनुस न हो भन्दै किरण !! र चियावाल्नी भाउजु चाहिँ यस्तै हो सर कति बर्ष भयो यहि चिया पकाको पकाकै छु, जानेको मिठो गराउँला भनी चियाका भाँडाकुँडा टङ्गल्याङ्ग टुङ्गलुङ्ग बजाउँदै हुनुहुन्थ्यो । उता पट्टि डेक्चीमा अलिकम भरि दुध उम्लिरहेको थियो, त्यसैबाट चार डाडु दिउरीमा घोत्तियो, एक र आधा चमच चीनी, अनि पत्ति, चियामसला नजानिँदो अझ त्यसमा आधि तेजपत्ता राखेर मसीनी भाउजुले उमाल्दै घोट्दै पकाउँदै हुनु हुन्थ्यो । हैन ज्वाइँलाई मेजमानी गरे जस्तै चिया पकाउन पनि त्यति सारो उपद्रो गर्नु पर्छ र भाऊजु ? भनेर किरण फेरि च्यातियो, साहुनीकी तरुनी छोरी जिब्रो टोकेर मतिर हेर्दै थिई, मैले पनि आँखा झिम्क्याई दिएँ, जे सुकै मरोस लौ खा भनेर ।

समाचार आउने बेला त्यो पनि साँझको ८ बजे उज्यालो ९० एफ एम बाट राष्ट्रिय समाचार आउँथ्यो । त्यत्तिबेलै भित्तामा थोत्रो रेडियो झुण्डिएको हुन्थ्यो दुइचार थप्पर पारे पछि बज्ने, अझ कहिलेकाहिँ रेडियो नेपालको समाचार सुन्न खोज्यो भने यो रेडियो नेपा...... भनेर रोकिन्थ्यो अनि थप्पर मार्दा मार्दै ...ल त छुटिहाल्थ्यो । छोरीले "लौनुस् चिया" भनेर दिँदा किरण चाहिँ ट्वाल्ल पथ्र्यो, उस्ले चिया टेबलमा राखेर पर पुग्दा पनि ऊ एकोहोरिएकै हुन्थ्यो म चाहिँ चियाको सुर्कि लगाउँदा फरक  स्वाद जिब्रोले थाहा पाइहाल्यो रङ्ग कडा चीनी कम ।

रात्रीबसमा पिशाव फेर्न गएर फर्किँदा उपद्रो भयो, म गाडिमा चढ्नमात्र के लागेको थिएँ, हाम्रै यात्राकी सहयात्री एक्कासी म माथी घोप्टिन आइन, मैले सकि नसकी हात थामेँ अनि नसकेर दुबै हात छोडेँ दुबै जना बस चढ्ने खुड्किलाको भुइँमा लड्यौँ उनी त जुरुक्क उठिन र पहिला हातले नाक छोप्न के के खोज्दै थिइन केहि नपाएर हातैले छोपे जस्तो गरे पनि म लडिरहेकै देखेर हात समातेर उठाइन । के के भयो भयो यो एक मिनेट भित्र तर पनि आफूलाइ सम्हालेँ र उनलाई पनि सम्झाएँ यस्तै हो अँध्यारोमा, सानो तिनो दुर्घटनै भयो नि भने आफ्नो भने यता पछिपट्टि दुखेकै थियो । यो मामलामा केटि मान्छे सँग म छिट्टै घुलमिल पनि भइहाल्थेँ । मैले त उनीसँग बोल्नका लागि अवसर खोजेकै हो नि तर मलाई अवसर नै मिलेको थिएन तर मैमाथि घोप्टिन आएपछि अवसर त कति हुन कति । मेरो साथी कुरा बुझ्थ्यो, अनि मलाई वाक आउला जस्तो भयो भन्दै नाटक गर्न थाल्यो र तिनै सहयात्रीलाई आफ्नो ठाउँ साट्नका लागि अह्राएँ बल्ल जुर्यो हाम्रो बोल्ने अवसर ।

किरणले यस्तै तर उल्टो कथा सुनाएको थियो मलाई । भर्खर एस एल सि पास गरेर उच्च शिक्षा पढ्ने शिल्शीलामा उ पोखरा बाट नारायणगढ आउने बेलामा भर्खरकी नानी सँग एउटै सिटमा बसेर दमौली आउँदा सम्म त बोलचाल पनि भएन रे, अनि त्यहि नानीको सानी बहिनीले बाक्के बिक्के गर्न थालेपछि भने बल्ल बोलचाल भएछ । अनि बल्ल एक आपसमा भएका चाउचाउ फलफूल साटासाट गरेर खाएछन अनि त्यतै कताहो भन्थ्यो बिच बाटोमै गाडि बिग्रेर तीन घण्टा रोकिएपछि आँबु खैरेनी नीरै साँझ परेछ । उनीहरु नारायणगढ हुँदै ज्यामीरे सम्म जाने भनेर हिँडेका केटि मान्छे अनि अचेल जस्तो गाडि नपाइने भएकाले तपाइँ कहाँ बस्नुहुन्छ हामि पनि त्यहिँ बस्छम भन्दा त केटाको होसको चल्लै उडेछ, अनि पिशाव फेर्ने निहुँमा छोडेर भागेछ र भन्छ अहिले पनि शायद उनीहरुलाइ त म अब देखेर पनि चिन्दिन तर जिवनमा गरेको सबभन्दा पहिलो गल्ती त्यहि थियो जुन उनीहरु लाई चिन्न सक्ने भए अहिले पनि गएर माफ माग्थेँ भन्ने गर्दछ । उनीहरु सुरक्षित रुपले घरमा पुगेका भए त हुन्थ्यो यहि कारणले तल माथि भएका भए त्यसको प्रायश्चित गर्नलाई मलाई अव अबसर पनि छैन भन्थ्यो अहिले पनि सुनाई रहन्छ बस चढ्दा बित्तिकै ।

केटि मान्छे सँग बोलि हाल्दैमा सँगै बस्दैमा गलत सोच्नु पनि उस्को समस्या होला वा उस्का आफन्तकहाँ लैजाँदा के भन्लान उडाउलान गिज्याउलान भनेर हो कि अथवा उनीहरुकै घरमा गएका भए पनि केहि बिग्रिन्नथ्यो र अथवा नजिकै कतै होटलमा बसेर भोलिपल्ट आ आफ्नो बाटो लागेका भए पनि हुन्थ्यो होला । खासमा मेरो बुझाइमा यो अनुभवको कमि थियो वा बुझाई को कमी थियो । तर मेरो दारपात अर्कै काठले बनेको हुँदा त्यसका खजाना पनि फरक त हुने नै भए ।

मलाई त तल पारेरै छोड्नुभयो है भनेर मैले कुरा शुरु गरेँ अनि उनी मज्जाले आवाज नआउने गरि हासिन अनि कता कता आफ्नै हुन कि झैँ गरि कान समातेर एक चोइटो बटारिहालिन मलाई झन सहिनसक्नु भयो तर सबै चोट अनि प्रहार आँखालेनै गरी हेरिरहेँ, लाग्थ्यो उनी लाजले अनि मेरो पाराले पानी   पानी भइन क्यार । यति छोटो बसाइमा म पनि आफ्नो भइसकेको थिएँ सामिम्यता थियो, लाग्थ्यो साइत जुराएर हिँडिएछ क्यार ।

हजुरहरु कहाँसम्म नि ? भनेर पहिलो बाक्य सुन्न पाउँदा बल्ल कुराको दोहोरी शुरु भयो । हजुरलाई त बोल्न पनि आउँदो रैछ नि म त आज बाटो भरि लाटि सँग हिँड्नु पर्ने भयो आफूलाई इशाराले बोल्न आउँदैन भन्ने कत्रो पिर पर्याथ्यो भन्दै पाएको बेला दुई चार बचनले लछारेँ ।

मलाई लाटी ठान्नु भाछ कि क्याहो भनेर ज्यान बँग्याएर बसिन । फेरि बोल्न उत्तर फर्काउन नसकेर छोकडा जस्तै चाम्रीन पर्ला नि फेरि । मलाई जसो तसो चलाउन गाह्रो छ । म केटि मान्छे उत्ताउली भएर यत्तिकै कसरी बोल्नु हजुर सँग अब वारपारको लडाई हुन्छ हेर्छु म पनि । लौ अब फसाद पर्ने भो साँच्चै बाठिको फेला परिएछ । केहि छैन म पनि के कम हेरौँला म पनि । केटा केटि भनेका रथका दुई पाँग्रा हुन फुकालेर कुनै पनि बलवान हुँदैनन सँगै भए पछि फेरि सिँह जस्तै हुन्छन । त्यसैले ऊ पनि म सँग जोडिएर गर्जिएकी हो भन्ने कुरा मानचित्र मनमा सजाएँ र मलाई अलि सजिलो भयो ।

नाम थाहा नभएपनि नबोल्दा सम्म लाटि अनी बोल्ने भएपछि कान्छी भन्न त पर्ला नि । तर म चाहिँ नाम सोध्ने पक्षमा छैन हाऊ । नाम सोधे पछि ठेगाना सोध्नु पर्यो । ठेगाना सोधे पछि घरमा कोको छन भनेर सोध्नु पर्यो । अनि फेरि फेसबुक आईडि स्काइप आइडि सोध्न पर्यो । अनि फोन नं. माग्नु पर्यो । अनि फेरि च्याटिङ्ग गर्नु पर्यो, हाई कहाँ छौ मिस यू यार रियल्ली मिस यू भन्न पर्यो बेकार छ यो सोध्ने कुरा मलाई नाम नभन्नु है म पनि भन्दिन । मलाई फोन नं. पनि नदिनु कुनै आई डि साइ डि केहि पनि नदिनु है भनेर भन्दै थिएँ ।

खै बोलेको म सँग ।

किन बोल्नु तपाईँ सँग ? बोले पछि माया लाग्छ, हालखबर सोध्न मन लाग्छ, घरको अबस्था सोध्न मन लाग्छ, घरका मान्छे पनि आफ्ना जस्तै लाग्छन । हजुरको पेशा आफ्नो लाग्छ हजुरको पीडा मलाई दुख्छ त्यहि भएर केहि पनि सोध्दिन म बोल्न पनि बोल्दिन । धेरै माया लाग्यो भने झुक्किएर आइ लभ यू भनिएला, आइ मिस यू भनिएला मायाले मन भरिएर अँगालो मारिएला भो म त केहि पनि भन्दिन मलाई नछोइकन सिटमा अलग्ग बस्नुस । भनेर भित्रभित्रै सल्किएको थाहा पाउँथेँ म । रात्री बस गुडिरहेको थियो घरि घरी बाटोको उज्यालो उस्को मुखमा पर्दा मैले उस्को नक्शा नियाल्थेँ ।

बसको आवाज एकोहोरो रुपमा र्याईँ र्याईँ गरिरहेकै थियो । फाल्गुणको महिना रातिमा अलि अलि जाडो हुन्थ्यो झन सिसा आफै सरेर चिसो हावाले सेक्थ्यो घरि घरि, म शिशातिर थिएँ कक्रक्क हुँदै थिएँ जाडोले तै पनि खटाएकै थिएँ । उस्ले ओढेको सल तन्काएर ओढ्न मन लागेन, मुखले जे जति भने पनि सिमा त सम्बन्धको बिचमा राख्नु पर्छ । सिमा बिहीन सम्बन्ध भनेको त प्रेमी र प्रमीका बिच हुन्छ, कहिले काहिँ श्रीमान श्रीमती मा पनि सिमा कायम हुन्छ भन्ने कुरा मैले देखे सुनेको थिएँ ।

बस गुडिरहँदा एक्कासि बाटोको खाल्डोमा उफ्रियो सबै जना झस्किए म पनि झस्किएँ तर त्यो भन्दा पहिला ऊ मेरो काखमा लुपुक्क टाँसिएर मलाई च्याप्प समातेकी थिई । मैले पनि मेसो पाएनछु, के भयो सानु तिमिलाई भन्न आएछ यसै । उस्ले पनि मेरो शरिरबाट आफ्नो शरिर छुटाई रेलगाडिले डिब्बा छुटाएजस्तै अनि लाज मानेर सरी म त गाडि पल्टियो भनेर हजुरलाई झम्टेकी भनेर आफ्नै पोजिशन मा बसि । वाताबरण बदलियो सँभवत म पनि बदलिएँ उसले रेलको डिब्बा छुटाए जस्तै आफूलाई छुटाए पनि मेरो मनको डिब्बा उस्को रेलबाट छुटेन ।

अब म हारेँ हजुर तपाईँ सँग, मेरो हजुर सँग प्रतिबाद गर्ने कुनै सामर्थ्य छैन र अर्थ पनि भएन अब भन्दै थिई ।

मैले बुझिन न हजुरको कुरा, आफू त सोओओझो मान्छे लौन हजुर भनेर चिप्लो पारेँ ।

लड्न लाई त दुइ पक्ष हुनु पर्यो नि तर म त हजुरकै पक्षमा हजुरकै कित्तामा आइ पुगेँ अनि के को लडाइँ को कुरा भयो र भन्या छिर्यो खोपडीमा । 

हो त ! म त त्यति टाढा पुगेकै थिइन साँच्चै भन्ने हो भने, मैले त जिवनलाई टुक्रा टुक्रा पारेको मान्छे, कहिले काहिँ जोडिँदा पत्तै पाउँदिन । मलाई टुक्रिएको, टुटेको बढि थाहा हुन्छ किनकी मैले आफूलाई कतै जोडिएको वा समेलिएको थाहा पाएकै छैन । आज पहिलो पटक महशूस गर्दैछु । बाइ द वे, म निशान, ब्यबस्थापन मा पोष्ट ग्रयाजुएट डिग्री गरेको केटो हुँ । हजुरले आफ्नो नाम भन्न असजिलो लाग्यो भने नभन्दा पनि हुन्छ तर म चाहिँ बचाएर राख्न सकिन आफूलाई र भनि हालेँ । उस्को मुहारमा इन्द्रेणीका धर्काहरु प्रष्ट देखिन्थे बिभिन्न रङ्गहरुमा । ऊ एकै पटक धेरै कुरा भन्न खोज्दै थिई तर मुखमा अड्किरहेको थियो । खाना खाने बेला भएछ क्यार गाडि बाटो छोडेर होटलको अगाडि गएर रोकियो अनि हामि तिन जना खाना खान तल झर्यौँ ।

के हो ? निशान दाई सकस धेरै भयो कि क्या हो जस्तो छ नि ! भन्दै उडाउन थालिहाल्यो कुनै कुरा पनि सिरियस रुपमा लिएको अहिले सम्म थाहा पाएको छैन यस्को मैले । कसरी जिन्दगी बिताउने होला यस्ले कहिले सुध्रिएला खै । हामि तिनै जना खाना खान बस्यौँ, बाटोको खाना ठिकै थियो मटन करी सहित को खाना आयो तिनै जना लाई । उस्ले आफूलाई एक पिस मात्र राखेर बाँकि मलाई र किरणलाई भातको माथि पर्ने गरि खन्याइदिई ।

खाना खाई वरी बाहिर पट्टिको टेबलमा बस्दै थियौँ किरणले आफू त जहाँ गए पनि एक्लै भइन्छ के ! भन्दै च्याट्ठिँदै थियो ।

अनि उस्ले साथी खोज्नु पर्यो नि ! यि हामि दुइ जना साथि भयौँ भनेर मेरो पछाडिबाट टाँसिएर किरणलाई कायल पार्दै थिई म चाहिँ कता कता जिवनमा नयाँ साथी भेटिएकोमा मख्ख थिएँ । फेरि बस स्टार्ट भयो हामि चढ्यौँ उहि सिट उस्तै बसाई । खाना खाए पछि एक छिन मलाई निद्रा लाग्ने बानी म निदाएँछु लुपुक्क, सधैँ भन्दा आज अलि आराम महशूस भएको थियो कि उस्ले मलाई आफ्नो काखमा राखेर आफू ननिदाईकन बसेकी रहिछ जब म ब्युँझे बल्ल थाहा पाएँ र पनि सँकोच लागेन अझै दश पाँच मिनेट उस्कै छातिमा टाउको अड्याएर सुतिरहेँ । त्यस पछि उठ्न खोजेँ उसैले टाउको समातेर उठाइदिई अनि आफ्नो पोजिशन मा बसेँ तर पछ्यौरा चाहिँ दुइजना को एउटै थियो ।

किन यस्तो हुन्छ मान्छेको मन यात्रि ज्यू हजूरले त मलाई पनि आफ्नै बाटोमा हिँडाउनु भयो । हजुर यो बाटोमा हुनु हुन्छ कि नाई हजुरको कुरा हो म चाहिँ हिँडे हजुर यात्री भए पनि म चाहिँ सहयात्री बनेँ म सहिँ बोले या गलत बोलेँ मलाई बेलैमा सच्यादिनुहोला प्लीज भन्दै अलिकति माया अलिकति बिश्वास अनि अलिकति अधिकार मिसाएर भनेको कुरालाई गलाउने मेरो सामर्थ्य नै भएन र गलाउनु पनि किन म पनि त त्यहि यात्रामा थिएँ उसै सँग उहि यात्रामा थिएँ ।

किन हजुरलाई म प्रति बिश्वास नै छैन भने एक्लै यस्तो निर्णय लिनु गलत हुन्छ । म कस्तो मान्छे हुँ मेरो पृष्ठभूमि केहो भन्ने कुराले पनि हजुरलाई असर पार्ला । बास्तवमा बुझाई चाहिँ हजुरको सहि हो दुइजना बिचको सम्बन्धमा प्रमाणहरु भनेका आँखाहरु हुन अनि मन हरु हुन । यस्ता प्रमाणहरु दृश्य हुँदैनन तर बलिया प्रमाण चाहिँ यिनै हुन । शरिरको  भाषा  अनुहारको  भाषा आँखाको भाषा यि सबै भाषाहरुको एउटै भाषा मायाको भाषा हो भन्थे, साँच्चै हो रै छ कि क्या हो । म पनि हजुरको यात्रामा सँगै छु अब हामि सँगै रहिरहने छौँ । 

सँगै त एउटै बसमा सँगै सिटमा बसे पछि सबै सँगै हुन्छन नि । हाम्रो अगाडि हाम्रो पछाडि कति जना सँगै बसेका छन ति सबै यात्री मात्र हुन सहयात्री होइनन तर हामि सहयात्री हौँ । यहि भन्न मात्र खोजेकी मैले । कुरा गर्दा गर्दै उस्ले आँखा लोलाउन थालि म ऊ ननिदाउँदै आफ्नो काखमा उसलाई राखेँ अनि ऊ मस्त निधाई म पनि निधाएँ । माटोको भर ढुङ्गो अनि ढुङ्गोको भर माटो जस्तो कस्तो यात्रा रहेछ यो पटक जस्ले जिवनयात्रा नै बदलिदियो । यो यात्रा त उज्यालो हुँदा सकिएला तर जिवनयात्राको यो शुरुवाती अन्तिम सम्म रहने भयो । देखेर मात्र हुँदैन लेखेर आउनु पर्छ भन्थे शायद आज त्यो पुरा भएको छ । करिब दुइ घण्टा निधाए पछि दुबै जना ब्युझियौँ ।

उस्ले मेरो मोबाइल मागि, त्यसैबाट आफ्नो नँबरमा डायल गरि अनि उता आफ्नोमा निशान भनेर सेभ गरि म नबोलि हेरेरै बसेको थिएँ । मेरो मोबाइलमा फेस बुक एकाउण्ट लग अन नै भएकाले खोली अनि आफ्नो नाम एड गरि । तुरुन्तै आफ्नौ मोबाइल लग अन गरेर एसेप्ट गरि मेरोमा नयाँ म्यासेज आयो । अनि फेरि मोबाइलमा उस्को आइ डि लाई इङ्गेजमेण्टको सम्बन्ध सेट गरि अनि उस्को मा पनि उस्तै भयो । तै पनि उस्को नाम चाहिँ अझै मलाई थाहा थिएन । उस्को आइ डि चाहिँ पाल्पा भनेर सेभ थियो तै पनि मैले नाम सोधिन । मैले हजुरको स्वतन्त्रतालाई अनि रित्तो पनमा केहि कुरा भरेर छोडेँ यो मेरो सम्पत्ति हो, जतिबेला पनि चाहिन्छ जोगाएर राखिदिनु होला । मलाई मेरो जिवनमा हजुरको नाम चाहिन्छ हजुरको साथ चाहिन्छ म त हजुरकै हुँ । परिस्थिति र परिबेशले भ्याए सम्मको साथ रहिरहन्छ तर मनको साथ चाहिँ मायाको साथ चाहिँ हमेशा रहन्छ ।

मलाई आपत्ति हैन म हुनुमा बल्ल आज गर्व छ, बस यत्ति भन्छु । म सँग जे जति छ त्यसमा हजुरको हक लाग्छ त्यो अधिकार मैले हजुरलाई दिएको छु खुशी जे गर्नु हुन्छ । म चाहिँ आज बास्तवमा गद्द् गद्द् छु खुशीले कसरी शब्दमा भन्नु मैले । 

बिहान पख चिया पिउनका लागि गाडि रोकियो हामि पनि झर्यौ, तर किरण चाहिँ निदमा मस्त थियो झरेन । हामि चिया का कप हरु साट्दै खाँदै गर्यौ, कस्तो मनोरम समय कति पूर्ण जिन्दगी जस्तो । हामिहरु त हिजो बेलुका मात्र होइन कैयौँ बर्ष अगाडि भेटेको बिबाहित जोडि जस्तो लाग्थ्यो घरि घरि । बस गुड्यो बाहिर घामको उज्यालो भुइँ भरि छरिँदै अँध्यारो भाग्दै थियो। हामि गन्तब्यमा पुग्यौँ, झर्ने बेला मलाई फोन गर्नुस है म पनि पुगे पछि फोन गर्छु, अनि बाँकि कुरा गरौँला धेरै कुरा भन्न बाँकि छ धेरै गुनासो गर्न बाँकि छ हजुरलाई !! भन्दै थिई, म बोल्नै सकिरहेको थिइन अब छुट्ने बेला भयो भनेर । हुन्छ नि मेरो पनि गुनासो धेरै छ तर पछि भन्छु ल भनेँ ।

हामि गाडि बाट ओर्लियौँ । ओर्लिन भन्दा पहिला उस्ले मेरो हात समातेर बसिरही उता किरणले खै खै बाटो ? भनेर भाँजो हाल्यो तै पनि केहि थिएन । एक छिन गाडिबाट ओर्लेर बाटोको पेटिमा उभियौँ । उस्को गाडि आयो, निशान जी आफ्नो ख्याल गर्नु होला म हजुरकी सभ्यता अहिले लाई बिदा चाहन्छु, जिवनयात्रामा त हामि सँगै छौँ नि हरपल ।

बाई ! बाई !!

किरण त हेरेको हेर्यै भयो, म पनि उस्को गाडिको गए तिर हेरिरहेँ, उस्ले अलि परि पुगेर पनि ढोकामा आएर हात हल्लाउँदै थिई मैले पनि हल्लाएँ र हामि पनि गन्तब्य तिर लाग्यौँ । 


Monday, 1 April 2013

काँचको एक्यूरियम


हाँस्न पनि मज्जैले हाँसियो अचम्म पनि परियो घरी घरी । यो सबै मानव निर्मित कृतिम परिवेश हो भनेर भुलियो पनि कति कति बेला त हराउँदै भेट्टाउँदै आफैलाई । समुन्द्र सतह भन्दा तल काँचको सुरुङ्गमा भइन्थ्यो घरि वरिपरिबाट सामुद्रिक जिवहरुले चुम्न आइ पुग्थे । अरु यात्रीहरु त त्यहाँ जाँदा जाँदा खप्पीस भएका काँच रहेछन बाहिरबाटै माछाहरु सँग म्वाइँ खान्थे । काँच बाहिरबाटै जिव्रो समेत चटाउँथे, म पनि जिब्रै न सहि हात भए पनि दिन्थेँ टुप्लुक्क डल्फिन आइपुग्थ्यो मेरो हातमा चाटेर पुच्छर हल्लाउँथ्यो, आँखाका परेला नभए पनि गेडा हल्लाएर तरेली हान्न सिकेको ऊ पनि, मैले पनि अनायसै आँखा मार्दा उसले पुच्छर हल्लाएर काँचमा मडारिन्थ्यो र त झन मनमा खट्पटी पो भयो ।
नभन्दै जिवन किन यस्तो अपूरो अपूरो लाग्दैछ कुन्नि कतै पनि मन बसिरहेको छैन । बसेको होटलको कोठामा पनि बसिरहन मन लाग्दैन रातभर निद्रा पनि पर्दैन आफैलाई थाहा हुन छाड्यो यो के भएको हो । मेरो यात्राको साथी जीवन मेरो साह्रै चियो चर्चो गथ्र्यौ र पनि केहि लछारपाटो लाउँदैनथ्यो, भन्न नमिलेर मात्रै नत्र म एक्लै एक्लै घुम्थेँ उ बिना ऐँसेलु को घोप्टो काँडा जस्तो जति बेला पनि मलाई अल्झाई रहन्छ । न मनको कुरा मिल्छ न छोडेर हिँड्न मिल्छ । मलाई उस्ले खाना खाने बेलामा पनि एक दम रिस उठ्छ, चार दिन नखाएको मान्छे जस्तो ल्याउन पाछैन हसुर्न थाल्छ, आफूलाई चाहिँ त्यो खानामा हात लगाउन पनि मन लाग्दैन तै पनि उसैले गालि गर्छ फेरि देखाउन पनि नखाई भएन ।
मोबाइलमा फेसबुक चलाउँदा पनि मेरै मा झुम्मिएर वाऊ तेरो चाला ठिक छैन है भन्छ घरि अनि कसैको अनलाई म्यासेज आयो भने हेर हेर त कस्को रैछ हाम्ले पनि हेरौँ कस्ता आउँदा रैछन तेरा एस एम एस भन्छ घरी । कसैको फोन आयो भने अनि अलि अलि हाँसेर बोल्यो भने हेर मस्केको कुन तरुनी सँग बोलेको होला भन्थ्यो घरि । कस्को फोन हो कस्को हो को हो भनेर सोधेर हैरान पाथ्र्यो । हुन त उस्को झन मेरो भन्दा बबाल मोबाइल सेट छ, इन्टरनेट सुबिधा छ र पनि पिछा गर्न छाड्दैन । कपाल कोर्न थाल्यो कि हेर हेर आज कहाँ सेटिङ्ग छ पख तँलाई एक छिन पनि छोडेँ भने भन्छ । दारी बनाउन त हुँदै नहुने अनि इस्त्री लगाएर कपडा पनि लगाउन नहुने खोइरो खनि हाल्ने उस्को बानी नै हौ । आफू भने कमीजमा पाइण्टमा काट्ला जस्तो धारिलो बनाएर इस्त्री लगाएका कपडा लगाउँछ दिनमा १७ पटक कपाल कोर्छ, गालामा ज्यानमा के कोहो घस्छ छर्कन्छ त्यो अत्तर हो कि के हो ?

म :         जिवन केहि कुरा भन्छु नरिसाऊ ल !
जिवन :  के भन न ...
म:          तिम्रो घरमा कार छ, बाइकहरु छन महल छ सुख सयल छ केहि कुराको चिन्ता छैन हो ?
जिवन:   हो किन यस्तो कुरा सोधेको तिमिले आज ...
म :        तिमि सँग भर्खर निस्केको सामसुङ्ग एस फोर मोबाइल पनि अरुले राम्रसी देख्न नपाउँदै तिमिले      हात   पारिहाल्यौ हो ?
जिवन :  हो यसमा के छ ?
म :        हप्ता हप्तामा तिमि कहिले को सँग कहिले को सँग नयाँ नयाँ रेष्टुरेण्ट हरुमा अनि डेटिङ्गमा हुन्छौ हो ?
जिवन : यि सब कुराहरु सोधेर तिमि के साबित गर्न खोज्दै छौ
म :       तिमि हप्तामा २ पटक फेस मसाज गर्छौ सफा सुग्घर पार्छौ अनुहार महिनामा एक पटक त कपाल स्ट्रेट गर्छौ हो ?
जिवन :  हो नि किन नहुनु अलि अलि जवानीमा गरिएन भने कहिले गर्नु मतलब
म :        मैले तिमिलाई सोधेका हरेक सवालहरुको उत्तरमा म सँग केहि पनि छैनन । तर तिमि मेरो चियो चर्चो किन गर्छौ फेरि ?
जिवन :  मैले त साथी सँग मजाक पो गरेको त  !
म :         मैले तिमि सँग मजाक त गरेको छैन नि
जिवन :  त्यसो भए अब म पनि गर्दिन तर तिमि एक्कासी यस्तो प्रश्न कि सोध्यो निशान मलाई
म :       त्यो के भने म सँग धन नभए पनि सम्पन्नता नभए पनि अरुलाई चोट लाग्दा आफूलाई दुख्ने मन छ जुन तिमि सँग छैन ......
जिवन घोत्लिन थाल्छ, हाम्रो सँवाद त उस्को मनको दलदलमा चाणक्य नीति जस्तो झन झन गहिराईमा फसिरहेको उस्को शारीरिक भाषा बताइरहन्छ । तै पनि म सँग जान्छु पनि नभनी बाइक लिएर सुईँकिन्छ । एक निमेष भरमै आँखाको ओझेल पर्छ म चाहिँ आँखाको पर्दा सरक्क अर्को तिर सर्काउँछु ।
चैतमासको रापिलो घाम दिन नढल्किँदा सम्म चरक्कै पाथ्र्यो अनि ढल्किन थाले पछि फेरि हावा हुरीले बारीको धूलो भरी ज्यानभरि ओइरिन्थ्यो तै पनि काठमाण्डौको धुवाँ जस्तो बिषालु थिएन त्यो । घरमा खेताला हुँदा हुँदै पनि म रहरले बाउसो खन्न तम्सिएको थिएँ, खाएको पानी भन्दा बढि पसिना चुहेकै थिए र पनि मज्जा आइरहेको थियो काममा उर्जा थियो म माथि खै के को हो थाहा थिएन । दिउसोको खाजामा मञ्जरीले कोइरालो र आलुको तोरीले साँधेको अचार, दुइ दुइ वटा सेल रोटी अनि थपी थपी खानलाई पुरी थिए अनि गोरस चाहिँ आजै बिहान पारेको महि थियो । काइला दाइले हलो जोत्नु हुन्थ्यो, गोरुलाई खनिम राखिदिएर आउनु भयो अनि माटैमाटोले अररीएका हातमा दुइ गोप्चा पानी ले धोए जस्तो गरि कछाडमा पुछेर एउटा पूरी दुइटा पारेर आधा पुरी एक फाँक अचार अनि एउटा जिरे खुर्सानी सँगै चपाउनु भयो । यो त उहाँ लाई भन्दा पनि उहाँले खाएको पारा देखेर अरुलाई पो मिठो भयो मैले पनि देखा सिकि गरेर जिरे खुसार्नी खाइ टोपलेँ उत्तिखेरै हिक्क हिक्क पो भयो ।
मञ्जरी हाँस्न थाली मलाई रिस उठ्यो उस्ले चाल पाई अनि शान्त भएर एक गिलास महि लिएर मेरो दाहिने टाँसिएर बसि महि थप्न लाई ट्यामी लिएर । काइँला दाइले पनि मुसुक्क हाँस्नुभयो अनि मलाई दाहिने आँखाको आँखिभौँ उचालेर के हो भनेर त्यस भन्दा पनि माथि उचाल्नु भयो । कत्ति मिठो अचार बनाकी कान्छी अझै लेऊ त छ भने धितै मरेन भन्या तिम्रो अचारले, आफ्नो घराँ त मिठो मसिनो खानु त्यस्तै हो चिज भअर पनि बनाउन जान्दयान के अर्नु र जाहान उस्तै परेसी के भन्नु । मासु पकाई भने गुन्द्रुकको झोल जस्तो बनाउँछे झन गुन्द्रुक झन कस्तो बनाउली, जरो आका बखताँ सिल्टीमूर र मरहटीको झोल चाहिँ ट्वाक्क पार्छे है फेरि । त्यै हो खान जस्तो पकाये नि घरमा सबैलाई माया गर्छे सबैको ख्याल गर्छे त्यहि भएर खानेकुरा जस्तो भए पनि उस्को मया मिसाआर खाँदा जे पनि मिठो हुँदो रैछ । 

उत्निखेरै काँइली भाउजु पनि आउनु भयो अनि मञ्जरीले र भाउजुले बाँकी खानेकुरा बाँडेर खाए भाउजुलाई पनि टपरीमा ठ्याक्क पारेर दिई, एउटा बाँकि सेलरोटी, ४ वटा पुरी अनि मनग्गे अचार, काइलादाइले खाएको गिलास मा महि दिई कत्ति खुशी हुनु भयो भाउजु तै पनि तिमिहरुलाई अड्कलेर बनाको अर्नि मलाई यत्ति थोओओरै ले है कान्छी भन्न चाहिँ छोड्नु भएन । उता काइला दाई चाहिँ भाउजु लाई तँ पनि यस्तै पकाहै भनेर हातको इशारा गर्दै हुनु हुन्थ्यो । 

साँझ काम सकेर थाकेको ज्यान सुस्ताउनै धौ हुने तै पनि खाना खानै पर्यो, घरको धन्दा गर्ने पर्यो । मञ्जरीको चूलो चौको सक्दा साढे नौ पनि भइ सक्थ्यो म पनि सघाउँथेँ । मञ्जरीले पछ्यौरीको सप्को फाल्दै यसो कहिलेकाहिँ त बजार तिर जान पाए पनि घरका लागि किन कान गर्नु थियो । मटर चढ्न पाइन्थ्यो भन्दै गर्थि म नसुने झैँ गर्थेँ । भो नकरा तँ र म भएर शहर हैन १० १५ दिनको यात्रामा जानु पर्छ के कान्छी काम धाम छोडेर भन्थेँ उ मसक्क मस्किन्थी गमक्क फुल्थी अनि उस्को फुलेको जवानीको फोकामा मैले सिन्काले कोपेर खुकुलो बनाइदिन्थेँ । ठुस्स परेर बस्थि दैलाको ठेलामा अनि मैले उसलाई मायाले पाखुरीमा उचालेर भित्र बिस्तारा सम्म ल्याउँथेँ, ऊ पनि सञ्चो मानेर ज्यान लतक्कै छोडिदिन्थी । यो दिन भरीको अन्नको खेतीमा लोत भएको ज्यान मञ्जरीको मायाको खेतीले उर्जावान हुन्थ्यो, म आकाशको कथा भन्थेँ ऊ धरतीको गित सुनाउँथी मनका तारहरु सारँगी बन्थे र हृदयका पलेटाहरु मादल बन्थे । मेरो र्याइँ र्याइँ मा उसको घिन्ताङ्ग ले मिठास बनाउँथ्यो । सधैँ अनि सबै सारँगीले बिरहको गित गाउँदैनन, मनको आनन्दका लागि मनकै घिन्ताङ्ग चाहिँदो रैछ । 

फेरि उहि बिहान अनि उहि खेति पाती उस्तै काम उस्तै दैनिकी जहिले पनि दोहोरिन्थ्यो । मलाई आफ्नै भेष भूषा देखि आफैलाई अचम्म लाग्दै थियो कि यो म आफै त हुँ भन्ने शँका पनि हुन्थ्यो मनमा । मञ्जरीको माया अनि दिनचर्या सँझेर हिँडिरहेको बेला कूलोको डिलबाट म तल खसेँ गुहार भन्दै थिएँ म त आफ्नै बिछ्यौना पो रहेछु । यति मिठो सँसार यस्तो चोखोमाया अनि मञ्जरी अरु पात्रहरु त्यो परिबेश एक निमेशमा भताभुङ्ग भयो । मलाई सपनाले अरु नभए पनि म किन बेचैन रहेछु भन्ने कुराको सँकेत दियो भन्ने लाग्यो । जिवनमा यस्तै मञ्जरीको जस्तो माया नपाएर पो भौँतारिएको म भने जस्तै लाग्यो ।

एक हप्ता पछि जिवन फेरि म सँग आयो, मलाई बाइकमा जाउँ भन्यो म पनि गएँ धेरै टाढा लग्यो म पनि कहाँ लैजान्छौ भनेर सोधिन । उस्को बोली बाइक चलाउने तरिका नै भिन्न थियो आज त म उस्ले हजार किलोमिटर कुदाए पनि उस्को पछाडी बस्न कुनै पर्वाह थिएन तर अचम्म यो थियो कि जिवन कसरी यस्तो रुपमा फेरियो भन्नै गम्दै बसिरहेँ तर सोध्न मन चाहिँ लागेन । तै पनि ऊ फेरिएकोमा नजानिँदो रुपमा मनमा आनन्द आयो बल्ल मैले सहि साथी पाएँ जस्तो पनि लाग्यो कता कता ।
जिवन : निशान म आज तिमिलाई केहि कुरा भन्छु ल अस्ति तिमिले सोधेको साटो
म :       भन न जति सोधे पनि सोध किन एउटा मात्र
जिवन:  जिवनमा कुनै कुराहरुले आफूलाई १८० डिग्रीमा मोड्छन र यस्को दिशानै परिवर्तन हुन्छ हो
म :       थाहा छैन तर आफू मोडिएको कुरा तत्काल आफूलाई थाहा नहुन पनि सक्छ
जिवन :  अरुलाई आफ्नो स्वार्थका लागि झुटो बोल्नु अपराध सरह हो
म :       यो भने मलाई चित्त बुझ्यो तिमिले यसमा सुधार गर्नु पथ्र्यो आज चेत पायौ अरु पनि बताऊ न किन यत्ति मात्र  ?? 

जिवन :  अस्ति तिमिले मलाई तेस्र्याएका प्रश्नहरु आज आफ्नै दैनिकीका तगारो बने निशान मलाई कर लाग्यो मैले हिँडेको बाटो उल्टो गरि हेर्न लाई । हरेक घुम्तीहरुमा मैले धेरै गल्ती गरेको रहेछु म यसमा प्रायश्चित गर्न चाहन्छु तर मेरो यो बिग्रेको अवस्थालाई तिमिले मात्र बुझेका छौ त्यसैले तिम्रो भूमिका अपरिहार्य छ म माथि । म हरेक चिज त्यागेर समर्पित हुन चाहन्छु आफ्नो जिवन प्रति अनि आफ्ना हरु प्रति अनि जिवनमा आर्जन गरेका हरेक सम्बन्धहरुको आ आफ्नो ठाउँमा सम्मानित गराएर राख्न चाहन्छु । वास्तवमा म तिमि जस्तो हुन चाहन्छु । 

म :  यो ठूलो कुरा हो कि तिमिले बल्ल आज आफूलाई चिन्यौ नत्र आज सम्म त तिमि आफैबाट पनि पराई भएका थियौ । तिमि म जस्तोे होइन तिमि तिमि जस्तै हुने हो म पनि त के हुँ र तै पनि मनको अनुशासनमा बसेको मान्छे चाहिँ हुँ । म भित्र पनि धेरै पीडाहरु छन धेरै दुख हरु छन । मैले यि सबै दुख पीडाहरु भोलि रुनलाई चाहिएला भनेर साँचेर राखेको हो जिवन । मलाई लाग्दैन मेरो जिवनमा त्यति लामो सुख आउँछ, रुनु पिरोलीनु त छँदैछ तै पनि तिमी बल्ल मेरो लाइन मा आयौ म खुशी छु ।
उस्को फत्रक्क गलेको हाउभाऊ देखेर मलाई गर्व पनि भयो, किनकी मनको कुनामा छुने पनि कुराहरु हुँदा रहेछन भन्ने लाग्यो । तै पनि सभ्यताको बारेमा उ सँग अझै पनि बताएको थिइन र बताउँदिन पनि त्यति बेला कालीको फोन पानी आयो म एक छिन लामै कुरा गरेँ ऊ हेरेर बसिरह्यो केहि प्रतिक्रिया दिएन आज र पनि ऊ साँच्चै फेरिएछ झैँ लाग्यो । अनि मैले आज त कस्को फोन हो भनेर मरिहत्ते गरेनौ नि तिमि भनेँ । उस्ले पनि मैले बुझेको छु अब त बुझ्ने भएको छु तर तिमिले नभने सम्म म सोध्दिन किनकी हरेक मानिसको नीजि जिवनको घेरा हुँदो रहेछ त्यो बनाई राख्नु पर्दो रहेछ ।
हो बल्ल खाट्टि कुरा गर्यौ तिमिले आज म भन्छु तिमिलाई कुनै दिन यो कुरा तिमिलाई अलिकति हल्का गराए पछि मात्र ल । हामिले चिया पियौँ त्यस पछि अर्कै खालका हसिमजाक भयो अब त्यो मजाकमा कुनै मन नदुख्ने भएको थियो । साथीहरुको मनको धरातल समान भएपछि बल्ल कुनै कुराको टेन्सन नहुँदो रैछ बल्ल चियामा चिनी घुले जस्तो भयो उस्को र मेरो सम्बन्ध ।
बास्तवमा सभ्यताको र मेरो सम्बन्ध काँचको एक्यूरियम जस्तो भएको छ । ऊ कुन सँसारमा कुन परिवेश मा छ म कुन सँसारमा छु कुन परिवेश मा छु । मनको दैलो उघारेको पनि धेरै भयो, जति रुँघेर बसेर आँखा पाट्टिएको पाट्टिएकै छ । काँचको स्क्रीनमा देखेको अनुहार त्यहि डल्फिन सँग म्वाइँ खाए जस्तो मात्र हुँदो रैछ । हामिले यस्ता दरारहरु धेरै बर्ष भोगेका छौँ शायद अब त यूग पनि बित्न लागेहोला अब त यूग पनि हुन लाग्यो हामिहरु काँचको शिशाबाट माया साटिरहेका छौँ । उस्को पीडामा म दुख्छु मात्र त गर्न केहि सक्दिन यो भन्दा ठूलो पीडा केहि नहुँदो रैछ तर समयको पावन्दीलाई मैले तोड्न सक्दिन सभ्यता पनि सक्दिन तै पनि हाम्रा आँखाहरु आफैसँग भए पनि दृश्यहरु साटिन्छन घरी घरी उस्को दृश्य म देख्छु र मन दुख्छ मेरो दृश्य ऊ देख्छे र चित्त दुखाउँछे ।

जब मनको चौतारीमा दुइ जनाको भेट हुन्छ अनि दुखहरु साटिन्छन, मनहरु हलुका हुन्छन अनि भोलिको सजिलो दिन अनि क्षण सँझेर हामिहरु फेरि खुशी हुन्छौँ पाइलाहरुमा उर्जा भरिन्छ फेरि जिवनयात्राको बाटोमा नजिकिँदै अगाडि बढिरहन्छौँ । साथमा नभएर पनि उ प्रति मेरो केहि गुनासो छैन माया त एउटा अनुभव मात्र त हो न यो देख्न सकिन्छ न जोख्न सकिन्छ जुन हामिले सेकेण्ड सेकेण्डमा मुटुमा चल्ने धड्कन जस्तै साटिरहेका हुन्छौँ ।