Tuesday, 15 April 2025

घरमा पनि झन घरकै याद

 घरमा पनि झन घरकै याद आउँछ
निद्रामा पनि पटक पटक जगाउँछ
झन्झनाउँछ कान आवाज बिना नै
टुटेको मनको तारले अझै सघाउँछ

कहाँ पो खोजी, कति टाढा गन्तब्य
आफ्नै मन आफ्नै खोलाले बगाउँछ
सकिन्न होला पुग्न, मनलाई पुर्याउन
जिन्दगी पोखिँदा पनि भर्न लगाउँछ

सुकेको हाँगामा मुना पलाउला र ?
डढेलो लागेको मन अझै जलाउँछ
मनै हो फेरि कता कहिले जोडिएला
चुडिन्छ कि मन यताउता डग्मगाउँछ

एकै दिन एकै छिन, बाँच्न पाइन्न कि
कोइलीले दिनहुँ हाम्रै गित सुनाउँछ
घर र घरमै पनि कति धेरै फरक छ
घरमा पनि  झन घरकै याद आउँछ 

2nd Baisakh 2082

Pokhara

Saturday, 26 August 2017

माया र स्वार्थ


धेरै बर्ष पहिलाको कुरा हो त्यहाँ एउटा ठूलो स्याउको रुख थियो । एउटा सानो बालक दिनदिनै स्याउको रुखमा आउँथ्यो खेल्थ्यो रुखलाई माया गथ्र्यो । घरि रुखको टुप्पोमा पुग्थ्यो, भोक लाग्दा स्याउका दाना टिपेर खान्थ्यो अनि थाके पछि रुखकै फेदमा आड लगाएर बस्थ्यो थकाई माथ्र्यो । उस्ले रुखलाई र रुखले उसलाई एक आपसमा माया गर्दथे खेल्थे पनि ।

समय बित्दै गयो, बालक पनि अलि ठूलो भयो दिनदिनै रुख संग खेल्न आउन पछि छाड्यो दिन बिराएर मात्र आउँथ्यो । एक दिन रुखको नजिकै निकै निराश मुद्रामा थचक्क बस्यो ।

रुखले भन्यो आउ म संग सँगै खेलौं ।

बच्चाले उत्तर दियो म अब बच्चा हो अगाडि जस्तो म तिमि सँग खेल्न सक्दिन । मलाई अब खेलौनाहरु चाहिएको छ तर म संग किन्ने पैसा छैन ।

माफ गर म सङ्ग पैसा छैन तर तिमिले मेरो रुखबाट स्याउहरु बजारमा लगेर बेच अनि त्यस बाट आएको पैसाले खेलौना किन ।

बच्चा रुखको कुराले उत्साहित भयो, रुखबाट स्याउहरु टिपेर बजारमा लगेर बेच्यो र आएको पैसाले खेलौना किन्यो तर रुख भएको ठाउँमा आउने छाड्यो, रुख पनि निराश भयो ।

धेरै समय पछि त्यो बच्चा एक युबक मानिसको रुपमा फेरि स्याउको रुखको नजीक आइपुग्यो, रुखले पनि पहिले जस्तै आउ दुबै जना खेलौं भन्यो ।

मलाई खेल्नका लागि समय नै कहाँ छ र ? मैले परिवारमा सबै जना सङ्ग काम गर्नु पर्छ । हामिलाई बस्नका लागि घर चाहिएको छ तिमिले केहि सहयोग गर्न सक्छौ भनेर रुख संग भन्छ ।

रुखले पनि माफि माग्दै तिमिलाई बस्नका लागि म सङ्ग घर त छैन तर तिमिले मेरो रुखका हाँखाहरु काटेर घर बनाउन सक्छौ । युवकले पनि रुखका हाँगाहरु काटेर खुशी हुँदै घर तिर लाग्यो र रुखलाई पनि ऊ खुशी भएर फर्केकोमा गर्वको आभास भयो । फेरि पनि रुख एक्लै भयो र निराश भयो ।

फेरि केहि समय पछि बयस्क भएर त्यहि युवक रुख भएको ठाउँमा आइपुग्यो, रुख फेरि हराभरा भइसकेको थियो । रुखले पहिले जस्तै भन्यो आऊ हामि संगै खेलौं ।

अब त म बुढो पनि हुन थालेँ म तिमि सङ्ग खेल्न सक्दिन, बरु मलाई एउटा डुङ्गा चाहिएको छ तिमि दिन सक्छौ भनेर रुखलाई भन्यो ।

रुखले भन्यो ठिकै छ तनि मेरो रुखको मुल हाँगो काटेर तिमिले डुँङ्गा बनाउ त्यस पछि उस्ले रुखको मुल हाँगा काटेर डुङ्गा बनाउन खुशी हुँदै लिएर गयो । तर एक पटक पनि रुख तिर फर्केर हेरेन ।

त्यसको केहि बर्ष पछि मानिस फर्केर रुख नजिक आयो तर केहि बोलेन ।

माफ गर भाई, अब तिमिलाई दिन म सङ्ग केहि पनि बाँकी छैन । अब त रुखमा स्याउहरु पनि छैनन ।

मानिसले जवाफ दियो केहि छैन अब त स्याउ टोक्नका लागि मेरा दाँत पनि त छैनन, ठिकै छ ।

फेरि रुखले भन्यो अब तिमिले चढ्ने हाँगाहरु पनि केहि बाँकी छैनन ।

म त एक दम बुढो भैसके अब मलाई ति हाँगाहरुको पनि काम छैन मानिसले भन्यो ।

रुखले आँशु झार्दै भन्यो साँच्चै अब म सँग केहि पनि छैन बाँकी यत्ति मर्न आँटेका जराहरु मात्र छन ।

अब मलाई केहि कुराको पनि आबश्यकता रहेन मात्र बिसाउन ठाउँ पाए हुन्छ । म अब एक दम थाकिसकेको छु मानिसले निराशा पोख्यो ।

त्यसो भए ठिकै छ, आऊ मेरो काखमा पहिला बालखैमा जसरी बस्थ्यौ निधाउंथ्यो उसरी नै आड लगाएर आराम गर, यि पुरानै भए पनि रुखका जराहरु तिम्रा लागि बिश्राम गर्ने राम्रो ठाउँ हुन भनेर रुखले भन्यो । मानिस रुखको आड लगाएर आराम महशूस गर्यो र बुढो रुखले पनि आफू धन्य भएर खुशीका आँशु बहायो मानिसलाई थुम्थुम्याई रह्यो ।

हाम्रा अभिभावकहरुर पनि यहि रुख जस्तै हुन । बाल्यकालमा परिबारमा आमा बा सँग खेल्ने, अलि ठूलो भए पछि आमा बा लाई छोडिदिने अनि जहिले असजिलो हुन्छ समस्या पर्छ अनि बल्ल सम्झिने गर्दछन मानिसहरु । तर पनि अभिभाकहरुलाई आफ्नो सन्तान कसरी खुशी हुन्छ भन्ने मै तल्लीन हुन्छन ।

यो त समाजको कथा हो । लेखक को नीजि जिवनमा यसको महशूस खास हुन पाएन । काश यो अबसर पाएको भए न म हाँगा काट्थेँ, न रुख नै काटथेँ, बाल्यकालमा जसरी माया गरेँ त्यसै गरी गरिरहन्थें । जहिले पनि नभएको चीजको अभाव हुने हो शायद यहि नै जिवनको रीत हो ।   

Saturday, 9 April 2016

जिवन जल



महिनाको अन्तिम दिन थियो । तर उस्का लागि हरेक दिन उस्तै उस्तै हुन्थे । त्यहि भएर अरु जस्तै महिनाको अन्तिममा फुरुक्क हुनु पनि थिएन । ऊ खासमा लेखक हुन साह्रै जोड बल गर्दथ्यो अनि लेखकहरुको हूलमा मिसिएको थियो ।

हिजो मात्र होला उस्ले एउटा अनौठो बिषय बस्तुमा कथा लेखेको थियो । उसलाई लाग्थ्यो उ पनि सधैं राम्रो कथा रचनाहरु लेख्छु र पनि सम्पादकले उस्कै कथालाई किन मन पराउँदैनन, बास्तवमा दुनिया भनेको त्यहि सम्पादक मात्र हो र उस्ले जे बुझ्यो जे सोच्यो जे लाग्यो त्यहि हुने हो र भन्दै भुन्भुनिन्थ्यो पनि । दुनिया बिर्सेर, परिवार, समाज सबै बिर्सेर एकान्तमा बसेर लेखेको रचना पनि अब्बल ठहरिँदैनथ्यो हत्तपत्त ।

बच्चाले तिन महिना सम्म शुल्क नबुझाएर एसेम्बलीमा अगाडी उभ्याएर भनेको भन्दै मम्मी संग झ्याली पिट्दै अझै थप्यो भोलि सम्म तिरेन भने पर्सि देखि कक्षा छिर्न नदिने रे घाम मै बस्नु पर्ने दिन भरि उभिएर । अझै पनि उस्ले छोरोलाई घाममा पाइने भिटामिनको बारेमा भनेर अल्मल्याउँदै थियो । बच्चा पनि आजित भएरै होला एक छिन घोरिएपछि बिस्तारै भन्यो कि हजुर किन मेरा साथिहरुका बाबाहरु जस्तै काम गर्न सक्नु हुन्न । उनीहरु हरेक महिना फि तिरिदिन्छन, दिनहुँ मिठो मिटो टिफिन लिएर आउँछन म चाहि जहिले पनि चिउरा र भात मात्रै ।

एक लेखक जस्ले समाज बदल्न सक्छ, जस्ले कलमकै बलले इतिहास लेख्न सक्छ बनाउन सक्छ बिगार्न सक्छ । मैले मेरो छोरालाई यो कसरी सम्झाउँ छोड यो कुरा कसैले मेरो भावनालाई सम्झिनेवाला छैन भन्दै आफै संग झन्किएर ओछ्यानमा पल्टियो । उसै माथि घर मन्त्रीको अल्टिमेटम थियो सुन्नुहोस आज देखि भित्र दाल चामल अन्न सबै खानेकुरा सकियो । उता पसलवालाले पहिलेको बाँकी नतिरे सम्म दिन्न भन्दैछ । अन्नपात ल्याउनु भएन भने भोलि देखि भोकै सुत्नु पर्छ ।

तर ऊ के गरोस, नेपाली साहित्यमा एम ए पनि गरेकै हो । सानै देखि उसको साहित्यमा भाषामा शौख थियो तर यस्तो पढाईले उसलाई बैंकमा उपल्लो स्तरको नोकरी त पाईंदैन । जुन बिषयमा पढाई सकियो उसैमा त थियो ऊ । वास्तवमा यो दुनिया, यो प्रणाली उसलाई सम्झन बुझ्नै चाहँदैन झैं लाग्थ्यो । अचम्म लाग्थ्यो कहिलेकाही कि सबैले उसलाई लुजर्स भन्थे यत्तिकै हावामा उडाई दिन्थे ।

महिनामा दुइ चार वटा कथा कविता जे भए पनि छापिएकै हुन्थे, प्रकाशकहरु उसलाई माथि पुर्याउंथे कहाली लाग्ने ठाउँमा मख्ख हुन्थ्यो ऊ जुत्ता बजार्दै घर पुग्थ्यो तलुवा फाट्यो भने सिलाउने पैसा हुन्थेन साथमा । अनि सोच्थ्यो यि प्रकाशनवाला मानिसहरु शोषक हुन अपराधी हुन । म जस्ता अनेक लेखकहरुको लेख रचना ले भरेर किताब बनाउँछन लाखौँको बिज्ञापन बेच्छन आफू मालामाल हुन्छन अनि लेखकहरु मनको लड्डु घिऊ सँग मोलेर खान्छन अनि त्यसैमा अघाउनु पर्छ अझै डकार्नु पनि पर्छ ।

मन बुझाउने ठाउँ कहिले काहिँ ऊ जस्तै उस्का गुरु लेखक हुनु हुन्थ्यो, उहाँ बाचुन्जेल कहिले सुख भएन बिबाह भयो पहिलो बर्षमै सम्बन्ध बिच्छेद भयो । अनि घरभेटीले घरबाट निकाले अनि कहिले साथीकोमा कहिले पाटी पौवा गर्दै पनि झोला भरि लेख्दै प्रकाशनहरु लाई दिइरहनु भयो अनि ऊ जस्तै लुटिइरहनु भयो । सिगरेटको धुवाँ र रक्सीको मातले उहाँको क्यालेण्डर त्यति बाक्लो हुन पाएन मझौलामै सकियो । मरणोप्रान्त उहाँको कृति पुरस्कृत भयो र बेस्ट सेलिङ्ग मा दरियो आखिर एक दिन त आउँदो रहेछ नि भन्ने लाग्थ्यो ।

हिजो राती बाल्यकालका साथीहरु मिलेर दारु पिउन थाले त्यो मध्ये उस्को साथी थियो एक जना ब्रजेश । कुरा गर्दै जाँदा क कस्को आम्दानी अनि जीवन शैली कस्ता भनेर तुलना गर्न थालियो उस्को पेट भित्र छिरेको दारु पनि उम्लेर आयो । जहाँ त्यहि ब्रजेशको महिनाको बेसिक तलब मात्रै ७०००० थियो जहाँ उस्को मुश्किलले बर्षको हुन्थ्यो त्यति रकम । उसका बच्चाहरु स्तरीय बिद्यालय मा पढ्थे, उस्को हातमा नोकिया लुमिया हुन्थ्यो जस्को सालाखाला ७० ८० हजार पर्दो हो जुन आफू संग २००० पर्ने लोकल फोन हुन्थ्यो । जसमा प्रकाशन वालाको भन्दा अरु कसैको घण्टी शायदै बज्थ्यो ।

घरमा घरभेटीको कचकच, सानो छोराको गनगन, बुढीको च्यालेन्ज, साथीहरुको चालढाल, प्रकाशनवालाहरुको ब्यबहारबाट आजित देखिन्थ्यो । घरमा सामान सकिएको ३ दिन भइसकेको थियो, छोरो स्कूल जान छोडेको २ दिन भइसकेको थियो । २ दिन देखि च्यूरा र पानीले पेट पनि प्लाटिकको थैलोमा पानी हल्लाए जस्तै भान हुन्थ्यो । रातको १ बजे तिर छोरो पखालाको बिरामी भयो अस्पताल लैजाने समेत पैसा थिएन जिवन जल समेत ल्याउने पैसा थिएन । यस्तै मा उसलाई भक्कानिएर रुन आयो रोयो पनि । साथमा श्रीमतिले घुच्याउँदै थिइन किन रुनु भएको यसरी नराम्रो सपना देख्नु भयो कि क्या हो ?

तुरुन्तै किचनमा गएर चामलको बोरा खाने कुराहरु हेर्यो । सबै चिज दुरुस्तै थिए केहि पनि अभाव थिएन । वास्तवमा ऊ नेपाली साहित्यको बिद्यार्थी थिएन ब्यबस्थापनको बिद्यार्थी थियो ।

Thursday, 8 January 2015

अामा नैनाकली


ढिकी र जाँतो गर्दैछु बाबु भन्छिन आमा नैनाकली
बिहानै कुँडो पानी गरिरेछु भन्छिन आमा नैनाकली
जिवन त यसै जाने भो घाँस पराल मै लैजाने भो
मन त पोको पारेर फालेँ भन्छिन आमा नैनाकली

बिझेको छ काँडा यो मुटु भित्र कहाँ गइ मेटाउँ म
टुटेको छ मन छिनछिनमा भन्छिन आमा नैनकली
त्यहि एउटा छोरो पनि मारियो देशको लडाईँ मा
उसैको रगतमा खेल्दैछन भन्छिन आमा नैनाकली

सिनो झैँ लुछिरहेछन ब्वाँसाहरु भिन्न खोल ओढेर
शहिदकी आमा धिक्कार छ भन्छिन आमा नैनाकली
एक दिन यिनै आँशुले पक्कै उनिहरुलाई बगाउने छ
कहिँ त होला मेरो भगवान भन्छिन आमा नैनाकली

हातपाखुरा पनि गल्न थाले आँखाहरु पनि बस्न थाले
मर्नेबेला पानी दिने कोहि छैन भन्छिन आमा नैनाकली
अझै पनि सुध्रिएको आफ्नो परानको सपना फक्रिएको
हेरेर सास जान पाए हुन्थ्यो भन्छिन आमा नैनाकली