Sunday 27 July 2014

नबिझ्ने काँढाहरु ले दुखेको मन


सबै कुराहरु जिवनपरन्त रहिरहँदैनन, परिवेश बिर्सिन्छ, मानिसहरु भुलिन्छन, हराएर जान्छन आकाशमा तुँवालो हराए झैँ । सबै तुँवालोहरु उडेर जान्छन भन्ने पनि छैन । कता बाट छिर्छन भन्ने पनि थाहा हुँदैन, कहिले काहिँ त आकार पनि महशूस गर्न नसकिने रहेछ त । मनमा बिझाई रहेकै थियो खै के हो आफैलाई पनि थाहा थिएन खास तै पनि खटपटी नजानीँदो थियो । 

हजुर म निशान बोल्दैछु भन्नुस भनेर कुरा शुरु गरेँ उताबाट एकोहोरो बोलि आइरह्यो रेडियो नेपालको बिहान ७ बजेको समाचार जस्तो अनि मैले पनि रातो स्वीच थिचे पछि रेडियो को भोल्युम बन्द गरे झैँ भयो । फेरि आयो उठाइन लगातार ५ पटक सम्म आएकाले अन्तिम पटकको घण्टि सकिनै लागेको बेला उठाईदिएँ । 

साले .............. को सन्तान, तँ आफूलाई के ठान्या छस, एक छिनमै पिटिक्क पारिदिन्छु, म को हुँ चिन्या छस भन्दै अधबैँशे लाग्ने आइमाई जाइलागि म माथि मानौँ मैले ठूलै सामाजिक अपराध गरेको हुनु पर्छ । श्लील भन्दा पनि बढि अश्लिल शब्द धेरै वाकी र पनि म नबोलि बसेँ किनकी उसको मानसिक हालत ठिक नहोला या मलाई अर्कै मान्छे सँझेर फोन गरेको होस भनेर त्यता तिरको ध्यान दिनै छोडेँ । 

ला आ आ आ आ आ । मेरो रङ नम्बर, छोड्दे सबै उस्तै कौडीका हुन जुन जोगी आए पनि कानै चिरेका भनेर एक मन बन्द गरेँ तब मात्र महशूस भयो कि यो रङ नम्बरले नै म भित्र तरँग ल्याएको हो भन्ने र पनि हात उठेन । खाना खाएर एक निद्रा सुतेर फेरि उठेँ फेरि मोबाइल खेलाएँ मैले उसलाई डायल गरेको नम्बर त कल लग बाट हटिसकेछ । अब न रहे बाँस न बजे बाँसुरी झैँ पो भयो । 

म चाहिँ बुधबारे बाट दमक चारआली हुँदै भित्र चिसापानी भन्ने गाउँमा जानु थियो साथमा थियो भटभटे । दिउसोको टण्टलापुरे घाम एउटा मानिस बोरी बोकेर पसिना चुहाउँदै आफ्नै दिशाबाट हिँडिरहेको देखेँ नजिकै पुगेर रोकेँ र दाई कहाँ पुग्ने हो यतै अगाडि जाने भए म पुर्याई दिऊँला भन्दै थिएँ काच्चै खाउँला झै मलाई हेर्यो यसरी कि म ठूलै अपराधी लाई भेटे जस्तो तै केहि बोलेन, म पनि हुँइकिएँ अगाडि । 

मेरो पछाडि पछाडि ३ वटा प्रहरीका भ्यानहरु साइरन बजाउँदै अगाडि पछाडि गर्न थाले अलि अगाडि प्रहरी चेक पोष्टमा गएर मेरो अगाडि रोकिए, एक हुल प्रहरीको जत्थाले मलाई घेरा हाल्यो र जबर्जस्ती कठालोमा समातेर भित्र कार्यालय तिर लगेर राखे । त्यस बेला सम्म म पनि केहि बोलिन अचम्म भयो के हो यो सपना हो कि बिपना जस्तो पनि भयो । 

भित्र गजधम्म परेर त्यहि बोरीवाला मान्छे फुलेर बसेको रैछ, म भित्र छिर्दा साथ हो यहि हो सहि साप मलाई अपहरण गर्न खोज्ने अपराधी यसलाई नछोड्नुस है म टाँठो बाठो भएर मात्रै आज बाँचे सोझो भएका भए त ..... । ए केटा हो यस्को तलासी ले भनेर जुँगा बटार्न थाल्यो सहि पनि र पनि म केहि बोलिन, तलासी लिन दिएँ, केहि भेटिएन । जवानले सर कि त्यो हाम्रो कटुवा पेस्तोल साथमा थियो भन्दिऊँ भनेको प्रष्ट सुने पछि बल्ल मेरो रिस उठ्यो र सतर्क पनि भएँ । प्रहरीलाई आफ्नो बृतान्त शालिन तरिकाले बताएपछि उल्टै त्यो मानिस एक हप्ताका लागि थुनामा पो पर्ने भयो तै पनि आफै जमानी बसेर उसलाई तारिखमा छोडिदिन अनुरोध गर्दै त्यहाँ बाट निस्केँ । 

घरमा पनि बस्न मन लागेन साथीको घरले पनि मलाई डोर्याएन आज नयाँ ठाउँमा जान्छु भनेर निस्केँ । हुइँकिँदै इटहरी त्यहाबाट धरान अनि भेडेटार अनि त्यसभन्दा पनि सात किमि माथि पुगेर भैँसी बाँध्ने गोठमा भटभटे बाँधेर उपल्लो बस्ति तिर लागेँ । सम्साँझमा पुगेँ बस्तिमा छिरलिएका घरहरु तैपनि कुनै न कुनै घरमा बास त माग्नु नै पर्ने भयो । त्यहिँ नजिक आफ्नै उमेरका भाई साथीहरुलाई आजको बास को ब्यबस्था गरिदिन भनेँ । दुइ तले काठै काठले बनेको घर, तल सानो पसल माथि बार्दली सहितको घर, पछाडि पट्टि भान्सा कोठा त्यसको उता पट्टि भैँसिको गोठ, वरीपरि डाले घाँसका रुखहरु कत्ति मन पर्दो वातावरण । 

भदौको अन्तिम तिर हुँदोहो बाहिर फेर घरी घरी भ्यागुता कराउँथे अलि परि झ्याउँकिरी कराएको आवाज पनि सुनिँदै थियो । पहिला घरपाला घ्यु को वासना वार्तलीमा आएपछि बल्ल ए बा खाना खान आउनुस अरे अँकललाई पनि बोलाउनुस अरे भन्दै दिई छोरी चाहिँ । चरेसको थाल मा घिऊ राखेको भात, अग्लो स्टीलको गिलासमा बाक्लो महि चरेशको खुट्टे कचौरामा गिठ्ठा, हरियो बोडि अनि घिरौँलाको तरकारी, सानो प्लेटमा लोकल गोलभेँडाको अचार ट्वाक्क अनि हरियो खुर्सानीको घोगा आफ्नो भागमा थियो अरु सबै घरका सदस्यहरु लावा लस्कर थियो । सबैले मेरो पहिलो गास कुरेका थिए कि त्यस पछि उनिहरुले पनि खान पाउन, मैले भान्सा चलाई दिएँ ।

पश्चिम पट्टि फर्केको बार्दली हुँदै छेऊको कोठामा बास थियो । भुइँमा चर्को टेक्न पनि नहुने भित्तामा मज्जाले अडेस लगाउन पनि नहुने बडो मिजासले बस्नु पर्ने घर भए पनि अनौठो चाहिँ महशूस भएको थिएन । भित्ता भरी पत्रिका टाँसेर कोठा झिलिमिली रैछ एक छिन आँखा डुलाएँ र पनि फेरि निद्रा लागेन । छेऊमा टेलिभिजन रैछ तार सार मिलाएर खोलेँ अनि तिजको रमझम आइरहेको रैछ हेरेँ एक छिन । त्यस पछि बृत्तचित्र आउँदैछ भनेर तल सुचना दिँदै थियो । थाकेको मन अब बन्द गर्नु पर्यो भनेर भन्दै थियो पाल्पा एक झलक भने पछि झस्किएँ एकै चोटि, एकटकले हेर्न थालेँ । 

एउटा बिद्यालयमा बिद्यार्थीहरु सँग अन्तरवार्ता जस्तो थियो सुन्दै रहेँ । सबै जसो १२ पढ्ने बिद्यार्थीहरु थिए तँछाड मछाड गर्दै थिए । हामिलाई पढ्न मन लाग्छ तर भनेको किताब अनि पुस्तकालय छैन । कक्षा कोठाहरु साँघुरा छन झ्यालमा खापाहरु छैनन बाछिटो पानी सबै छिर्छ । डेस्क बेञ्चहरुले सधैँ कपडा च्यात्छ अनि किन्न सकिँदैन टालेर आयो भने सबैले गिज्याउँछन यस्तो छ हाम्रो प्यारो स्कूलको बयान भनेर उछिट्टिई माइकबाट क्यामरा पनि उसबाट भाग्यो । कानका भित्ताहरु टिनीनीनी भइरहे धेरै बेर कार्यक्रमको बिचमा स्कूलको कोठाहरु देखाउने बेला नेपथ्य बाट उहि आवाज आयो, ए रजनी तँलाई यो झापा कहाँ हो भन्ने थाहा छ भन्दै थिई खै कुन्नी हाम्लाई के था बरु तँलाई चाहिँ किन चाहियो नि उतै पोइल जाने बिचार छ कि क्याहो भनेसी सबै चिल्याई चिल्याई हाँसेको आवाज पनि मत्थरियो, कार्यक्रम पनि सकियो, बिज्ञापन आउन लाग्यो, अनि टेलिभिजन बन्द गरिदिएँ । 

कि त भेटै नहुनु कि त नाता गाँस्नु यो कस्तो सम्बन्ध हो बालुवाको घर जस्तो । मैले जति लडाउँछु फेरि ढड्याउन मन लाग्छ र जति पटक बनाउँछु फरक फरक आकारको हुन्छ । भर्खर १२ पढ्दै गरेको नानीको फेसबुक आई डि पनि त नहोला अनि भए पनि के नाममा खोज्नु तै पनि मोबाइलमा ४–५ स्न्याप चाहिँ टि भि बाटै भए पनि खिचेर राखेको थिएँ कतै थोपडा मिल्छ कि भनेर । राति बाह्र बजेको हुँदोहो मोबाइलमा म्यासेज आयो थाहा थियो तर वास्ता भएन यस्ता म्यासेज स्यासेज आइरहन्छन थाक न थल्लाका सन्देशहरु कति पढ्नु बाँदरको पुच्छर लौरो न हतियार जस्तो । 

साँझको बेला ढोका ढक्ढक्याउन पुगेको थिएँ केहि खबर नगरी सुटुक्क पुगेको थिएँ उस्को घर । भित्रबाट चुकुल खुल्यो अनि बन्द भयो त्यसमा चुकुल खुल्नु अनि बन्द हुनुमा फरक सिर्फ म मात्र थिएँ । म हरेक सफलतामा तिम्रो हात रहेको हुन्छ, म जे छु तिम्रै देन हो भन्दै मेरो पेशाको सफलता अवार्ड टफी उस्को हातमा राखिदिएँ । कोपिला देखि बयस्क फुल हुने बेला सम्मको त्यो भावनात्मक बिकासमा उस्को अनुहारमा चलचित्र झैँ झल्कियो अत्याधिक खुशी हुँदा हुँदै पनि अन्तिममा अलिकति पिलीत्त भई । 

मलाई मनपर्ने खानेकुराहरु भान्सामा पाक्दै थिए, ऊ र म मात्रै थियौँ र पनि उसलाई ठूलै भोजको जस्तो धपडी देख्दथेँ म । भन्थी मैले आज आकाशमा उड्ने बादललाई समातेकी छु थाहा छैन कतिबेला फेरि आफ्नो रुप बदलेर म बाट टाढा हुने हो अनि त फेरि उहि आकाशका तारा गनेर बादलको आकृतिमा हजुरलाई हेरेर बस्ने त हो नि म भन्दै घरभित्रै दगुर्दैै थिई । म भन्दै थिएँ म हरदम तिमि सँगै त छु किन यस्तो भनेकी यसरी भन्ने होइन, मानिसका बिभिन्न बाध्यताहरु हुन्छन बिभिन्न धपडीहरु हुन्छन यि सबै बाट बचाएर ससाना पलहरु साँच्ने त हो नि ।

तपाई बुझ्नुहुन्न शायद मेरो कुरा जुन मैले भन्न चाहिरहेकी छु, मैले आधा आकाश हैन पुरै आकाश खोजेकी हुँ । आधा आकाश मात्र सम्हाल्नुको पिडा कस्तो हुन्छ मलाई सोध्नुस यदि महशूस गर्न सक्नुहुन्न भने । मलाई एक पल मात्र एक पल भए पनि पुरा आकाश दिनुहोस म यहि पल साँचेर जिवन पर्यन्त आफ्नो जिन्दगी बाँच्ने छु । शायद लोग्ने मानिस र स्वास्नी मानिसमा यहि कुरा फरक हुन्छ होला कि सम्बन्धलाई ग्रहण गर्ने तरिका र भावनालाई वजन दिने तरिका चाहिँ फरक हुन्छ होला । 

डाइनिँङ टेबलमा खाना लागि सकेको थियो हामि दुई जना आमने सामने थियौँ । खाना कतिबेला भ्याइयो थाहा भएन पाइलाहरु सुस्ताउन हिँडे । मैले उसलाई कानमा साउती गरेर आऊ आज रातमा बजार घुम्न जाउँ मध्यरातमा बजार कस्तो हुँदो रैछ । हामि जस्तो बजार मात्तिँदो रैछ कि रैनछ त्यो पनि हेरौँ भन्दै घरबाट बाहिर लागियो । अँध्यारो उज्यालो भइरह्यो साँझ भर, शायद हामिहरु पनि मात्तिएकै थियौँ क्यार, नजानिँदो पाराले सम्झिने बिर्सिने भइरहेकै थियो । 

अलि पर सडक बत्तिहरुलाई पछ्याउँदै जाँदा एक दम रमणिय बगैँचामा पुगिएछ क्यार मनमा रमाइलो लाग्न थाल्यो । ठाउँ ठाउँमा बस्ने बेञ्चहरु राखिदिएको थियो सुत्न पनि मिल्थ्यो । म अडेस लागेर बसेँ ऊ चाहिँ मेरो काखमा सिरानी गरेर आकाशमुख फर्केर पल्टिई, म उसैलाई हातले सजाउँदै थिएँ तिम्रो मात्र के भन्दै थिएँ एउटा चरा आएर झ्याम्म हाम्रो काखमा हाम्फाल्यो झसँग भएँ । उठ्दा खेरि त उहि भेडेटारको गाउँमा मै माथि पर्ने गरि मुसो पो हाम फालेको रहेछ, उठेर घडि हेरेँ जम्मा ५ बजेको रहेछ, कुखुराका भालेहरु बास्दै थिए । मोबाइल मा म्यासेजको नोटिफिकेशन रैछ । 

मलाई बिर्सनु भयो होला नि उसदिन राम्ररी बिदा हुन पनि पाइएन सन्चै हुनु हुन्छ होला । मिल्यो भने फोन एस एम एस जे भएनी गर्नु होला नत्र भने ठिकै छ पाल्पाली नानी भन्ने एस एम एस पढे पछि त मेरो भुईँमा खुट्टै रहेन कहाँ जाउँ कता जाउँ जस्तो भयो । जिन्दगीमा ठुलै आपद परे जस्तो कसैको गुहार चाहिए जस्तो असिन पसिन भएँ हाऊ म त । तेस्का बाजे ले अलि छिटो एस एम एस पठाएका भए हिजै हेर्थे नि राती १२ बजे एस एम एस पठाइछ उससससस । 

अनि फोन नँ ९८४७१ ......... मा फोन लगाएँ त्यो भन्दा पहिला आफू बसेको कोठाको ढोका अनि चुकुल लगाएँ । २ घण्टी मै फोन उठ्यो बिहान ५ बजेको हुँदो हो । नमस्ते नानी भनेर सम्बोधन गरेँ उस्ले पनि हजुरलाई पनि नमस्ते छ है । मैले एस एम एस पठाएर हजुरलाई अप्ठेरो त भएन नि तै पनि मन मानेन ठूलो साहस बटुलेर यत्ति दुई धर्का लेखेर पठाएको मैले । 

किन डराउनु नि मोबाइलबाट फुत्त निस्केर म पिट्न आउँथिन क्यार हजुरलाई धन्दै हजुरले एस एम एस पठाउनु भयो अब टेन्सन भएन भने पछि मेरो बोली रोकियो । कस्तो टेन्सन भन्नु भको हजुरले मैले बुझिन नि अब झापाली सँग पाल्पाली ले कसरी सक्नु भन्दै हाँसि अनि ऊ पनि बोल्न छोडि फोन अनलाइनमै थिए दुबै जनाका तै पनि एक डेढ मिनट सम्म यत्तिकै सास फेरेको आवाज मात्रै सुनेर बस्यौँ । दुबै जनाले एक्कै पटक बोल्नुस न भनिएछ फेरि हाँस्यौँ । नेपथ्यमा पहिला जस्तै आवाज आयो नानी छिटो आइज भान्सामा म मेलामा जाने बेला भयो भरे कुरा गरम है सर अहिले म गएँ है भनेर बिदा भई बल्ल मनको काँढा निकाले जस्तै भयो । 

आकाश भन्छ सबै त उज्यालो तिम्रै हो अँध्यारो बरु मलाई देऊ घाम तिम्रै हो 
के थाहा उसलाई हराइरहेछु आफै  अाकाशमा सूर्य अँध्यारै भन्छ घाम तिम्रै हो 

बाँकी अर्को सिक्वेलमा ....................


Thursday 10 July 2014

मन भित्र मन बाहिर


हामि त नसोधिकन घरमा छिरियो लौ चोर आए नभन्नुहोला है । दिन भरि हिँडेर थाकेर लखतरान भइयो यसो केहि खाने कुरो छ भने दिनुस क्यार नत्र यसै पानी सानी खाएर भए पनि निँद चाहिँ लाग्छ भोकै भए पनि भन्दै सञ्जुले फ्यात्त झोला खाटमा फाल्दा बिरालो म्याउँ गर्दै भाग्यो । मैले पनि उसैको झोला सँगै आफ्नो राखेर उसैको छेवैमा बसेँ । ऊ चाहिँ खाटमा गर्लम्म पल्टियो म चाहिँ नहल्लिकन बसेँ ज्ञानी भएर । 

हाम्रा घराँ त पाहुना नआको पनि कति भो कति, हजुरहरु त बाटै नबिराई ठ्याक्कै हाम्रै घराँ छिर्नु भएछ त भन्दा सञ्जु पनि आँखा मिचे जस्तो गरि एक निद्रा पुर्याए जस्तो गर्दै जुरुक्क उठ्यो र मलाई बिल्याउन थाल्यो । हो त साँझका पाहुना देऊता हुन्छन भन्थे आज हाम्रा घराँ यति राम्रा चिटिक्क परेका बाबु आउनु भएछ, अब खुरुखुरु जे दिन्छन खानी अनि जहाँ सुताउँछन उहिँ सुत्नी अनि भोलि बिहान उठेर जानी । आँखा बँग्याउनी लामो हात गर्ने लोभि हुनी हैन नी फेरी चुपअ लागेर बस्नी है बाबु । यो घरको नियम कडा छ है जानी राख्नु, यता उता गर्नु भो भने त पुच्छरमा आगो लगाएर लँका बाट भगाउँछन नि फेरि मैले भन्द्या छ नि फेरि । 

घरका सबै जना गललल्ल हाँसे म बाहेक । 

के खाने बाबु, हामिकहाँ त बजारको जस्तो रोजेको खान पाइँदैन यहि फलेको चीज खाने हो । फापरको पीठो छ, लेखका चामल छन, लेखकै आलू छन, मार्फा साउ छ । चौरीको सुकुटी छ, कुखुरा खाने भए पनि काटेर बनाउन पर्छ । निउरोको अचार छ टिमूरको छोप छ भनेर आमाले मेनु भ्याउनु भएछ क्यार रेडियो बज्न छाड्यो । हामि त भोकले हैरान छौँ जे दिए पनि खान्छौँ सब भन्दा छिट्टो के हुन्छ त्यहि दिनुस ल आमा भनेँ । 

अए छुर्पी जा त माथि बाट चामल लेर आइजा अनि बसाली हाल । म बारीबाट साउ ल्याउछु पुरुक्क पार्नु पर्ला भन्दै आमा करेसाबारी तिर लाग्नु भयो । सञ्जु जुरुक्क उठ्यो र बाहिर गयो उपल्लो डिल बाट अँध्यारोमा लुकेर पिसाव फेरेँ भनेको त साग टिप्न गएकी आमा माथि पर्ने गरि मुतेछ मुर्दारले रुनु न हाँस्नु बनायो । हाँस्नु पनि कति हाँस्नु रुनु पनि के भनेर रुनु अनि म पनि खटाउनै नसकेर हाँसे मर्ने गरि सबै हाँसे आमा पनि हाँस्नु भयो नहाँस्ने त ऊ मात्रै भयो रुन मात्रै बाँकी थियो शायद एक्लै पाएको भए भकुथ्र्यो होला मलाई । 

मेरी आमा सरी है माफ गर्दिनुस है छोरो भनेर नत्र म भातै खान्न आमा भन्दै सरि माग्दै थियो आमा चाहिँ लौ लौ भयो हुन्छ भन्दै पछ्यौरीले मुख छोप्दै हाँस्दै हुनु हुन्थ्यो छुर्पी पनि हाँस्दै थिई । 

कस्ले राख्देको आमा यस्को नाम छुर्पी कस्तो मिठो मलाई त छुर्पी एकदम मन पर्छ चपाईरहुँ जस्तो । मान्छे पनि उस्तै राम्री रछिन नाम पनि उस्तै राम्रो कस्को भागाँ लेख्याछ कुन्नी यो छुर्पी खानलाई भन्दा बलिरहेको आगो ठोसेर चुलो बाट बाहिर निस्की आगो निभ्यो धुवाँ पुत्तायो आमा पनि साग पखाल्न अनि अपवित्र भएको ज्यान पखाल्न धारामा जानु भएको थियो । जा मुर्दार बोल्न पायो भने जे बोल्छ रिसाएर गई बिचारा जा आफै गएर आगो बाल बसि नसक्नु भयो भन्दा मानेन अनि म पनि बाहिर निस्केँ । 

आँगनको छेऊको मडकेलोमा छुर्पी सुँक्क सुँक्क गर्दै थिई । किन रोएकी छुर्पी के भयो भन त साथीको तर्फ बाट माफ गरिदेऊ ल उ मनको नराम्रो छैन प्याच्च बोल्छ तर मनको सफा छ के त्यसरी रुने होइन । हामि त एक दिनका बटुवा हौँ नि भोलि त कहाँ पुग्छौँ यस्ता कुरा मनमा लिने होइन नी भनेर सम्झाएँ र पनि उस्को सुँक्क रोकिएन र फेरि म अन्तै मोडिएँ घरमाथिको चौतारीमा गएर टहटह जुन तलपट्टि फाँट माथि सालघारी हेर्दै बसेँ । आमा छोरा भएर खाना बनाएछन । म आधा घण्टा बाहिर भएँ उत्ति समय छुर्पी पनि बाहिर भई । छुर्पी आँगनको मडकेलो बाट भित्र पसि त्यस पछि म पनि चौतारीबाट झरेर भित्र पसेँ । आमा छोराले मलाई र छुर्पीलाई घोरिएर हेरे मात्र सँयोग थियो लाग्थ्यो उनीहरु गहिरो भ्रममा थिए । 

खान पिन भयो सबैजना खाना खाए पछि एक छिन अगेना वरीपरी बस्यौँ, कान्छी छोरी पनि आई । आमाले मतिर सँकेत गर्दै यो छुर्पी छिट्टै मन दुखाउँछे कमलो मन भएकी छ, अरुलाई ज्वाफ फर्काउन सक्दिन बरु आफै पिरिएर बस्छे । कस्ती मान्नु भयो बाबुले मेरी छोरी भन्दै टाँस्सिन खोज्नु भयो मैले उहाँको इशारा बुझेँ र अप्ठेरो महशूस भयो । 

तिम्लाई बिचमा प्याच्च बोल्न कल्ले भनो, स्यानदाईले मलाई के भयो भन्दै हुनुहुन्थ्यो मैले बोलिन अनि कता जानु भयो बल्ल आउनु भएछ म आए पछि, त्यहि भएर शँका गर्यौ हामिलाई, घराँ छिरेको एक घण्टा त भछैन कस्तो लाग्यो भन्न हुन्छ बुढि, छुर्पीले कुरा बुझिछ क्यार आमालाई सोझ्याई अहिलेका जमानाआँ कुरा बुझेर बोल्न पर्छ, तिम्रा जमानामा रोधी नाच्दा नाच्दै भागे जस्तो हो र 

माऊ भन्दा चल्ला बाठा भए पछि यस्तै हो बाबु, जा त छुर्पी दाईहरुलाई सुत्ने ठाम देखाई दे अम्खोरा मा पानी राखिदे भन्दै आमा भुइँतला तिर लाग्नु भयो छुर्पीका पछाडि म थिएँ त्यस पछि थियो सञ्जु । मलाई झ्याल तिरको खाटमा सुत्न भनी सञ्जु चाहिँ भित्तातिरको खाटमा सुत्यो । उस्ले हातमा लालटिन लिएर बार्दलीमा निस्किी अनि पर छेऊको कोठामा गएर ढोका ड्याम्म पारी अनि झ्याल खोलि लालटिन तारको हुकमा झुण्डयाई । उज्यालोले उस्को अनुहार चम्किएकै थियो म पनि मोबाइल खेलाउन थालेँ एकछिन कति बेला निधाइएछ पत्तै भएन । 

अलिकति नुनिलो आँखै मतमताउने भुटुन तैरिएको ठेकीमा पारेको एक एक मग चिया लिएर आई छुर्पी बिस्तरामै । स्यानदाई स्यानदाई भनेर मेरो पाखुरामा समाएर हल्लाउँदा बल्ल थाहा पाएँ र पनि म त सञ्जुले होला भनेर साले सुत्न दे न कस्तो मिठो सपना देखेको थेँ गधाले ब्यूझाइदियो छोड भन्दै हातले धकेल्दै थिएँ झसँग भएँ एक्कासी केटि मान्छेलाई धकेलेछु आँखा खोल्दा छुर्पी मुुसुमुसु गर्दै थिई सञ्जु चाहिँ उठेर कता गइसकेछ । 

हि हि हि म त तिमिलाई के के भने हुँला उठ्ने बेला यस्तै हुन्छ गलत नसम्झ ल मलाई । 

यि चिया खानुस अनि धन्न मलाई लडाउनु भको खामो समाएर बाँचे बल्ल, अर्कालाई पहलवान लाई जस्तो छातिमा मुड्की ले धकेल्नु पर्छ त अरुले देखे के भन्लान । 

अन्त झुक्किएर हो नि त मस्त निद्रामा थिएँ अनि के गर्नु त छुर्पी तिमिलाई कहिँ त लागेन नि मेरो निदमा भनेको कुरा भुलिदेऊ जस्तै भने पनि ल । 

उस्ले पनि यि यहाँ लाग्यो भित्रै सम्म भनेर मुटुमा कोपेरै देखाई अनि बाहिर निस्किई फेरि असजिलो लाग्यो यस्ले त मलाई लाइन दिई म अर्कै तिर लाइन भएको मान्छे लाई । बिहानी पख सपनीमा सभ्यता सँग मस्किँदै पदयात्रामा हिँडेको बाटोको पौवा मा बसेको रमाइलो गरेको भिजेको सुकेको सबै देखेँ त्यहि बेला यो कहाँ बाट आई र निद्रा भङ्ग पारिदिई अझै लाइन दिन्छे बा । ऊ त्यो सञ्जु भौँतारिएको भौतारिएइ छ फेरि मै माथि किन ओइरिन्छन यिनिहरु भन्ने लाग्यो । बाहिर गएर सञ्जुलाई छुर्पीको उल्टा सिधा बखान गरेर लाइन उता सोझ्याउने कोशिस गरेँ । 

छुर्पीले मेरा लागि खोल्न ठिक्क परेको मनको किताबलाई उस्कै हातले बन्द गराउँने ध्याउन्न थियो मेरो तर कहाँ बाट शुरु गरुँ । मानिसको मन न हो यसमा कुनै बन्देज पनि हुँदैन र यसलाई रोक्ने कुनै कानून पनि छैन किनकी यसको अरु कसैले देख्ने गरि सबुद प्रमाण हुँदैन, यो त पर्ने र पार्ने लाई मात्र थाहा हुन्छ । सलक्क परेको कपाल, पातलो तर काँपिरहने उस्का ओठहरु, अनि उस्का कृत्रिम अनि प्रकृतिले दिएका गर गहनाहरुमा साँच्चै सजिएकी थिए । उमेरले भरखर २२ – २३ हुँदि हो, रुपमा पनि असाध्य राम्रो जिउडाल पनि उस्तै मिलेको सुन्दर थिई अझै सुन्दरता उस्को निश्चलता अनि निष्कपटता उस्को बानी बेहारामा थियो । सञ्जु बाहिर पट्टि खड्केरीमा बसेर मोबाइल खेलाउँदै टाउको हल्लाउँदै थियो । 

यो कस्को फोटो हो तपाईँ सँग राखेको भनेर छुर्पी टाँसिन आई र बल्ल खोतल्न सजिलो भयो । सभ्यता र मेरो बारेमा करिब १० मिनटमा बेलि बिस्तार लगाएर भ्याएँ, शायद उस्ले पनि खासै प्रतिकृया दिइन र मेरो अल्झिएको डोरी फुकाई दिई । हेर छुर्पी म त तिमिलाई जहाँ गए पनि भुल्ने भइन यो डाँडा काँडा कहिले पो आउन भ्याउने हो र तिम्रो अतेस लाग्ने भयो हाऊ केहि उपाय निकालन भनेर जिस्किएँ म पनि । हाम्ले के निकाल्नु नि उपाय सुपाय हजुरल्यै निकाल्नुस न बरु भनेर अलिकति गिली भई । 

तँलाई खाली मोबाइलमै झुण्डिन पर्छ साले आइज यता अब जाने बेला भयो । राम्रो सँग छुर्पी सँग बिदा माग फेरि फर्केर आउँछु भनेर सँझाएर हिँड्नु परेन भनेर उसलाई पनि साथमै बोलाएँ । 

यो छुर्पीले त मलाई गन्दा पनि गन्दिन तै मुर्दारले गर्दा त हो नि भनेर उस्ले पनि मेरो भाखामा स्याल भाखा थप्यो । म चाहिँ कति कुरा गर्न खोज्छु उ चाहिँ तर्कि तर्कि हिँड्छे, म पनि तर्किराख भनेर छेऊ लागेको नि भनेर मैलाई पो आँखा झिम्क्यायो उता छुर्पी मजेत्रोले मुख छोपेर मुसुमुसु गर्दै थिई । एएएएएए ! कुरा त्यसो पो रैछ हजुरको ल ल आजको दिन पनि बस्नु दिन भरि छोड्दिन हजुरको रामायण सबै सुनेर सक्छु है भनेर मचक्क पारी सञ्जुलाई र त बोल्नै नसक्ने भयो र आँखाले म सँग गुहार माग्दै थियो । 

यसलाई धेर न थेचार है छुर्पी यो त खत्रक्कै पर्छ बिस्तारै बिस्तारै कुरा गर्न पर्छ के, पहिला खिलाएर पिलाएर बलियो पार्नु अनि बल्ल कुरा गर्नु हे हे हे भन्दै गर्दा ऊ पनि के कम । मलाई कम्ताको ठान्या हो तैँले आइजा तिमिहरु बलमा भने बलमा बुद्दिमा भने बुद्दिमा भनेर जँगिन थाल्यो । ए मुलँखरे तेरा बुद्दि पनि असलै रछन नि । को सँग लडछस म सँग कि छुर्पी सँग मान्छे चिन है चिन तँलाई माया गर्ने मान्छे हाैँ हामि त ढोटे त होनि गाव पस्नै बाँकी छ हे हे । उस्ले पनि हो हो तँ ठिक भनिस मेरो रगत तातो छ के त्यहि भएर ल भैगो । 

झोला कसेर हिँड्ने बेला छुर्पिले मथेको पहिलो चिया दुबै हातले समातेर सञ्जुलाई दिइ अनि त्यस पछि मलाई र लाइन उता सोझिएछ भन्ने बुझ्न गाह्रै भएन जुन मैले पनि चाहेको थिएँ । कुन दिन फर्किनु हुन्छ भनेर सोध्दै थिई हामि ४ – ५ दिन लाग्ला भन्यौँ । खाएको बसेको पैसा लिनै मानिन उस्ले आफन्तलाई पनि पैसा तिर्छन भनेर हकारी । फर्किने बेला यहिँ बास बस्ने गरि आउनु भनेर दह्रो अर्डर दिई । फर्किने बाचा बोकेर हिँड्यौँ दुई जना उकाली गोरेटो तल छुर्पीलाई हेर्दै हेर्दै । 



प्यारी आमा र बाबा !!

आज मेरो बहुराष्ट्रिय कम्पनीको सि इ ओ बन्ने सपना पुरा भएको छ । आज फेरि उहि दिनहरु हर पलहरु चलचित्र जस्तै आँखामा छाइरहेका छन । बाबाले मलाई आफ्नो कान्छी औँलामा समाउन लगाएर घुमाउन लगेको, आमाले मेरो बारेमा चिन्ता लिइरहेको, बाबाले मलाई काँधमा उठाएको, घोडा बनेर मलाई बसाएको तर यिनै साना साना सँझनाहरुमा अतितका एक तमाम खुशीहरु मेरो अन्तर आत्मामा नफुस्किने गरि अल्झेका छन । जब मलाई ज्वरो आउँथ्यो, आमा हजुरले चिसो पानी पट्टि गर्नुहुन्थ्यो, जस्तै बलिरहेको कोइलामा कसैले पानी राखेर निभाएको होस । 

हरेक दिन बिद्यालयबाट घर फर्किने बेला आँगनको मड्केलोमा उक्लिन नपाउँदै आमा हस्याङ फस्याङ गर्दै मेरो बिट्टु आयो भन्दै आल्हादित हुनुहुन्थ्यो । मलाई अहिले पनि अफशोस छ कि हजुरको मुटुको घिडघिडो म बिट्टुले मेरी प्यारी आमाको मनको भाषा बुझ्न सकिन । एक दिन मेरा साथीहरु घरमा आउँदा मैले झर्केर मलाई बिट्टु नभन्नुस, किन बुझ्नु हुन्न तपाईँहरुले अब म सानो छैन भनेको थिएँ । मलाई लाग्थ्यो कि तपाईँहरु मलाई सम्झनै सक्नुहुन्न, म तपाईँहरुको जमानाको जस्तो यावत कुरा र शैलीहरु पालन गर्नै सक्दिन । तपाईँहरुको भोगाई दुख सुख का कथाहरु सुन्दा सुन्दा दिक्क भइसकेको थिएँ म । 

खै कतिबेला बाट हामि बिच मा अन्तराल आयो म पनि अरु मानिस जस्तै ठूलो भएँ भन्ने भ्रम पैदा भयो । अब त बिद्यालयबाट आएर आमाको काखमा लुटपुटाउनु अशोभनीय लाग्न थाल्यो, बाबा सँग काँधमा त के सँगै हिँड्न पनि अप्ठेरो लाग्न थाल्यो । हुँदै गर्दा आँफैले बनाएको जिन्दगीमा यसरी हराएँ कि मेरो जिन्दगी बनाउने अभिभावकहरुलाई नै भुलेँ मैले । 

ब्यस्त कर्पोरेट दुनिँयामा भाग्दा भाग्दै हजुरहरुलाई एक दम मिस गरिरहेको हुन्थेँ । मेरो पेशाको उचाई बाबाको काँध भन्दा उचो रहेनछ थाहा भो, दिनहुँ गर्ने हवाई यात्रा भन्दा त बाबाको घोडानै उत्कृष्ठ थियो बल्ल चेत खुल्यो । मलाई थाहा छ अब धेरै अबेर भैसकेको छ, शायद मैले हजुरहरुको लागि केहि गर्न पाएको भए, यो सफलताको केहि श्रेय दिन सकेको भए, अपार माया स्नेहको गुन फर्काउन सकेको भए । आधूनिकताका नाममा मैले कर्तब्य भुलेँ आफ्नै जन्मदिने बाबा आमालाई पनि भुलेँ र शायद फर्किन नसक्ने गरि गएको बाटो पनि भुलेँ । 

पहिले आँखामा आँशु आए पछि बल्ल हजुरहरुको याद आउँथ्यो जुन बेला म हजुरसँगै थिएँ र अहिले हजुरहरुको यादले आँखामा आँशु झर्दछ जति बेला कहिल्यै नभेट्ने गरि गुमाई सकेको छु । फुलबारी बाट भागेर पलासको बोटमा रमाउन थालेँ र अहिले न जिवनमा स्वाद छ न कुनै सुगन्ध छ । पहिले त हजुरहरु केहि नजान्ने केहि नबुझ्ने अनपढ अनि मन बिबेक नै नभएको भनेर हिँडे तर त्यहि हर्कतको श्राप लागेर होला हजुरहरुको आँशु लागेर होला सडकमा राखेको मूर्तिहरु पनि दुख परेको बेला आँशु झार्छन जस्तो लाग्छ । सँसारमा सब भन्दा ठूलो गुरु र गुरुआमा भनेकै बाबु आमा रहेछन भन्ने सिकाई भयो । 

सँसारका यस्ता धेरै बाल बच्चा यस्ता छन जस्ले आफ्ना आमा बाबुको मुख सम्म देख्न पाएनन या बाल्यकालमै गुमाए । साथीहरु आफ्नो सबभन्दा मूल्यवान सम्पत्ति भनेका आफ्ना अभिभावक हुन कहिल्यै नभुल्नु । हुन सक्छ जेनेरेशनको कुरा पुरानो कुरा असान्दर्भिक कुरा भनेर कतै आमाको मातृवात्सल्यता कहिल्यै नलुकोस, बाबाको छहारी कहिल्यै नउजाडियोस । समाज फेरिएला, भाषा परिबेश फेरिएला तर अभिभावकको माया कहिल्यै फेरिँदैन ।  

म सँग सबै बनिबनाऊ जिन्दगी छ हजुरहरुको जस्तै बैबाहिक जिवन छ, छोरा छोरी छन उठ बस पनि उस्तै हो तर पनि जिन्दगी पलासको फूलमात्रै होइन फुलबारी नै बनिसकेछ जसमा कुनै सुगन्ध छैन कुनै मिठास छैन । बाबा काम बाट फर्किँदा आमाले ठेकीबाट महि अनि चामलको रोटीको खाजा अनि भाँगोको छोपमा अगाध माया मिसाएर दिएको मैले धेरै देखेँ अहिले त्यस्तो छैन आमा । म बिहान घरबाट निस्कन्छु अनि कहाँ जान्छु कति बेला फर्किन्छु खाएर फर्किन्छु कि भोकै फर्कन्छु कसैलाई मतलब हुँदैन आमा । 

केटा केटीहरु पनि पहिले म हजुरको काखमा जस्तो आमा सँग लुटपुटाउँदैनन । बिहान उठ्छन नियमित खान्की खाए खा नखाए घिच जस्तो हुन्छ, आफ्नै तालमा हुर्किए शायद । तपाईँहरुले जस्तो माया मलाई दिनु भयो म त्यस्तो हुन सकिन । 

अब त मलाई यो सि इ ओ को जागिर पनि ज्यादा भयो मेरो जिन्दगीनै ज्यादा भयो । मैले हजुरहरुसँग बिताएको त्यो मिठो पलहरु नै बास्तविक जिन्दगी रहेछ, खुशी र सुख भनेको माया स्नेह रहेछ जुन हजुरहरु सँग छुटेपछि कहिले पनि पाइन मैले । उतिबेला राम्रो महलमा बस्नु र नाना थरी मिसाएर बनाएका बनावटी खान्की नै मलाई राम्रो लाग्यो । घरको दुध महि छोडेर बिदेशी ह्वीस्की तिर वाइन तिर लागेँ अहिले त वाकवाकी लागेर आउँछ आमा यो सबै भन्दा त हजुरको हातले दिएको ३ दिनको अमिलो महि नै मिठो हुन्थ्यो मलाई । तर त्यहि अफशोश छ पछूतो रहिरहने भो सधैँ मर्ने बेला पनि सास जाने गारो हुने भो यहि पूरा नभएको धोको ले आमा ।

अहिले म जिवनको अन्तिम बाटो हिँड्दै छु हजुरहरुलाई पछ्याउँदै छु, मलाई शायद हजुरहरुको माया जस्तो अरु केहि भेटिन जिवनमा जति पाप गरे पनि हजुरहरु सँग बिन्ति छ मलाई एक पटक माफ गरिदिनुस मलाई यो भन्दा बढि केहि चाहिँदैन । मलाई सँझिने र खोज्ने कोहि छैनन जस्तो लाग्छ, यो चिठी भौतिक रुपमा नपुगे पनि यसको मर्म हजुरहरुले पढिदिनुहोला । अब फेरि भेट होला नहोला, जसरी जन्म दिनु भयो फेरि त्यहि बाटो फर्किँदै छु, साथमा रहन मिल्न नपाए पनि हजुरहरुको आत्माले शान्ति पावोस कामना गर्दछु । 
हजुरहरुको पाउ मा फेरि अन्तिम पटक ढोग्दै छु अन्तिम नमन पनि यहि हो मेरो । 

हजुरहरुको छोरो !! 

सञ्जु तलबाट दौडिँदै आयो,  दाई के भयो किन रुनु भएको भन्दै, म कति बेला रोएँ भक्कानिएँ थाहै भएनछ । मैले त उकालिमा हिँड्दै गर्दा ढुङ्गाको चेपमा अड्याएर राखेको चिठ्ठि पढेको थिएँ । बाहिर देख्दै अचम्म लाग्यो कि पाउने आमा बाबा, ठेगाना स्वर्ग लोक भनेर लेखेको अनि पठाउनेमा हजुरको छोरा भनेर लेखेको थियो । 

दाई यो अक्षरको मसि त आलै छ भर्खर लेखेको जस्तो कतै खोजौँ भन्यो र हामि पनि बरि परि खोज्यौँ एकाध घण्टा तर कहिँ भेटिएन र पनि चिठ्ठि झोलामा राखेर हिँड्यौँ । धेरै बेर हामि बिच बोलचाल भएन करिबन ५ घण्टा जति बोलेनौ आपसमा । हामि गन्तब्यमा पुग्यौँ भेटघाट भयो आफन्त सँग तर सञ्जु बोल्यो म चाहिँ त्यति बोलिन मलाई अलि सञ्चो छैन भनेर तर्किएँ । 

तेश्रो दिन पनि मनमा बादल हटेन गुम्सिई रह्यो मन खुल्दै खुलेन दश पन्ध्र दिन तराईमा आकाश नखुले झैँ भयो उकुस मुकुस । खपि खानु भएन मलाई अनि बिहानै उठेर दुई बोतल एक दम चिसो बियर लगाइदिएँ सञ्जुलाई पनि भनिन । 

अहिले भन्दा करिब ५ बर्ष पहिला गलत फोन नम्बर डायल गर्दा पहिलो पटक सभ्यता सँग बोलेको थिएँ र पछि सरी पनि भनेँ उस्ले केहि छैन त्यस्तो भनेर मलाई हलुका बनाएकी थिई । 

हेलो हजुर नमस्ते मैले भन्दा उस्ले पनि नमस्ते हजुर भनी । मैले किरण दाईलाई खोजेको घरमा हुनुहुन्छ भनेर सोध्दा को किरण दाई भन्नु भयो हजुरले भन्दा बल्ल झसँग भएको थिएँ ला गलत नम्बरमा डायल गरिएछ । अनि भन्न मिल्छ भने यो ठाउँ कता पर्यो होला भनेर सोध्दा पाल्पा हो नि अनि हजूर कहाँ बाट नि भनेर सोधि मैले पनि उस्को बोलि खस्न नपाउँदै झापा हो त भनिदिएँ । 

पूर्वेलीहरु धेरै चतुर हुन्छन भन्थे साँच्चै हो कि क्या हो भन्दा भन्दै उसलाई नेपथ्यबाट कसले बोलाएको जस्तो आवाज आयो तर प्रष्ट बुझिएन र पनि नाम सोध्ने दुस्साहस मैले गरिन । म फोन राखेँ है झापाली सर एक छिन भएनी पहिलो पटक झापाली सँग बोल्न पाइयो भन्दै मैले केहि भन्न नपाउँदै राखिदिई म चाहिँ बिट मार्नै पाइन । उसै बेला लागेको थियो कि यो त झापाली लाई पनि माथ गर्छे हार्न जान्दिन कहिल्यै पनि । 

......... यस्को बाँकी भाग अर्को सिक्वेलमा