Sunday 27 July 2014

नबिझ्ने काँढाहरु ले दुखेको मन


सबै कुराहरु जिवनपरन्त रहिरहँदैनन, परिवेश बिर्सिन्छ, मानिसहरु भुलिन्छन, हराएर जान्छन आकाशमा तुँवालो हराए झैँ । सबै तुँवालोहरु उडेर जान्छन भन्ने पनि छैन । कता बाट छिर्छन भन्ने पनि थाहा हुँदैन, कहिले काहिँ त आकार पनि महशूस गर्न नसकिने रहेछ त । मनमा बिझाई रहेकै थियो खै के हो आफैलाई पनि थाहा थिएन खास तै पनि खटपटी नजानीँदो थियो । 

हजुर म निशान बोल्दैछु भन्नुस भनेर कुरा शुरु गरेँ उताबाट एकोहोरो बोलि आइरह्यो रेडियो नेपालको बिहान ७ बजेको समाचार जस्तो अनि मैले पनि रातो स्वीच थिचे पछि रेडियो को भोल्युम बन्द गरे झैँ भयो । फेरि आयो उठाइन लगातार ५ पटक सम्म आएकाले अन्तिम पटकको घण्टि सकिनै लागेको बेला उठाईदिएँ । 

साले .............. को सन्तान, तँ आफूलाई के ठान्या छस, एक छिनमै पिटिक्क पारिदिन्छु, म को हुँ चिन्या छस भन्दै अधबैँशे लाग्ने आइमाई जाइलागि म माथि मानौँ मैले ठूलै सामाजिक अपराध गरेको हुनु पर्छ । श्लील भन्दा पनि बढि अश्लिल शब्द धेरै वाकी र पनि म नबोलि बसेँ किनकी उसको मानसिक हालत ठिक नहोला या मलाई अर्कै मान्छे सँझेर फोन गरेको होस भनेर त्यता तिरको ध्यान दिनै छोडेँ । 

ला आ आ आ आ आ । मेरो रङ नम्बर, छोड्दे सबै उस्तै कौडीका हुन जुन जोगी आए पनि कानै चिरेका भनेर एक मन बन्द गरेँ तब मात्र महशूस भयो कि यो रङ नम्बरले नै म भित्र तरँग ल्याएको हो भन्ने र पनि हात उठेन । खाना खाएर एक निद्रा सुतेर फेरि उठेँ फेरि मोबाइल खेलाएँ मैले उसलाई डायल गरेको नम्बर त कल लग बाट हटिसकेछ । अब न रहे बाँस न बजे बाँसुरी झैँ पो भयो । 

म चाहिँ बुधबारे बाट दमक चारआली हुँदै भित्र चिसापानी भन्ने गाउँमा जानु थियो साथमा थियो भटभटे । दिउसोको टण्टलापुरे घाम एउटा मानिस बोरी बोकेर पसिना चुहाउँदै आफ्नै दिशाबाट हिँडिरहेको देखेँ नजिकै पुगेर रोकेँ र दाई कहाँ पुग्ने हो यतै अगाडि जाने भए म पुर्याई दिऊँला भन्दै थिएँ काच्चै खाउँला झै मलाई हेर्यो यसरी कि म ठूलै अपराधी लाई भेटे जस्तो तै केहि बोलेन, म पनि हुँइकिएँ अगाडि । 

मेरो पछाडि पछाडि ३ वटा प्रहरीका भ्यानहरु साइरन बजाउँदै अगाडि पछाडि गर्न थाले अलि अगाडि प्रहरी चेक पोष्टमा गएर मेरो अगाडि रोकिए, एक हुल प्रहरीको जत्थाले मलाई घेरा हाल्यो र जबर्जस्ती कठालोमा समातेर भित्र कार्यालय तिर लगेर राखे । त्यस बेला सम्म म पनि केहि बोलिन अचम्म भयो के हो यो सपना हो कि बिपना जस्तो पनि भयो । 

भित्र गजधम्म परेर त्यहि बोरीवाला मान्छे फुलेर बसेको रैछ, म भित्र छिर्दा साथ हो यहि हो सहि साप मलाई अपहरण गर्न खोज्ने अपराधी यसलाई नछोड्नुस है म टाँठो बाठो भएर मात्रै आज बाँचे सोझो भएका भए त ..... । ए केटा हो यस्को तलासी ले भनेर जुँगा बटार्न थाल्यो सहि पनि र पनि म केहि बोलिन, तलासी लिन दिएँ, केहि भेटिएन । जवानले सर कि त्यो हाम्रो कटुवा पेस्तोल साथमा थियो भन्दिऊँ भनेको प्रष्ट सुने पछि बल्ल मेरो रिस उठ्यो र सतर्क पनि भएँ । प्रहरीलाई आफ्नो बृतान्त शालिन तरिकाले बताएपछि उल्टै त्यो मानिस एक हप्ताका लागि थुनामा पो पर्ने भयो तै पनि आफै जमानी बसेर उसलाई तारिखमा छोडिदिन अनुरोध गर्दै त्यहाँ बाट निस्केँ । 

घरमा पनि बस्न मन लागेन साथीको घरले पनि मलाई डोर्याएन आज नयाँ ठाउँमा जान्छु भनेर निस्केँ । हुइँकिँदै इटहरी त्यहाबाट धरान अनि भेडेटार अनि त्यसभन्दा पनि सात किमि माथि पुगेर भैँसी बाँध्ने गोठमा भटभटे बाँधेर उपल्लो बस्ति तिर लागेँ । सम्साँझमा पुगेँ बस्तिमा छिरलिएका घरहरु तैपनि कुनै न कुनै घरमा बास त माग्नु नै पर्ने भयो । त्यहिँ नजिक आफ्नै उमेरका भाई साथीहरुलाई आजको बास को ब्यबस्था गरिदिन भनेँ । दुइ तले काठै काठले बनेको घर, तल सानो पसल माथि बार्दली सहितको घर, पछाडि पट्टि भान्सा कोठा त्यसको उता पट्टि भैँसिको गोठ, वरीपरि डाले घाँसका रुखहरु कत्ति मन पर्दो वातावरण । 

भदौको अन्तिम तिर हुँदोहो बाहिर फेर घरी घरी भ्यागुता कराउँथे अलि परि झ्याउँकिरी कराएको आवाज पनि सुनिँदै थियो । पहिला घरपाला घ्यु को वासना वार्तलीमा आएपछि बल्ल ए बा खाना खान आउनुस अरे अँकललाई पनि बोलाउनुस अरे भन्दै दिई छोरी चाहिँ । चरेसको थाल मा घिऊ राखेको भात, अग्लो स्टीलको गिलासमा बाक्लो महि चरेशको खुट्टे कचौरामा गिठ्ठा, हरियो बोडि अनि घिरौँलाको तरकारी, सानो प्लेटमा लोकल गोलभेँडाको अचार ट्वाक्क अनि हरियो खुर्सानीको घोगा आफ्नो भागमा थियो अरु सबै घरका सदस्यहरु लावा लस्कर थियो । सबैले मेरो पहिलो गास कुरेका थिए कि त्यस पछि उनिहरुले पनि खान पाउन, मैले भान्सा चलाई दिएँ ।

पश्चिम पट्टि फर्केको बार्दली हुँदै छेऊको कोठामा बास थियो । भुइँमा चर्को टेक्न पनि नहुने भित्तामा मज्जाले अडेस लगाउन पनि नहुने बडो मिजासले बस्नु पर्ने घर भए पनि अनौठो चाहिँ महशूस भएको थिएन । भित्ता भरी पत्रिका टाँसेर कोठा झिलिमिली रैछ एक छिन आँखा डुलाएँ र पनि फेरि निद्रा लागेन । छेऊमा टेलिभिजन रैछ तार सार मिलाएर खोलेँ अनि तिजको रमझम आइरहेको रैछ हेरेँ एक छिन । त्यस पछि बृत्तचित्र आउँदैछ भनेर तल सुचना दिँदै थियो । थाकेको मन अब बन्द गर्नु पर्यो भनेर भन्दै थियो पाल्पा एक झलक भने पछि झस्किएँ एकै चोटि, एकटकले हेर्न थालेँ । 

एउटा बिद्यालयमा बिद्यार्थीहरु सँग अन्तरवार्ता जस्तो थियो सुन्दै रहेँ । सबै जसो १२ पढ्ने बिद्यार्थीहरु थिए तँछाड मछाड गर्दै थिए । हामिलाई पढ्न मन लाग्छ तर भनेको किताब अनि पुस्तकालय छैन । कक्षा कोठाहरु साँघुरा छन झ्यालमा खापाहरु छैनन बाछिटो पानी सबै छिर्छ । डेस्क बेञ्चहरुले सधैँ कपडा च्यात्छ अनि किन्न सकिँदैन टालेर आयो भने सबैले गिज्याउँछन यस्तो छ हाम्रो प्यारो स्कूलको बयान भनेर उछिट्टिई माइकबाट क्यामरा पनि उसबाट भाग्यो । कानका भित्ताहरु टिनीनीनी भइरहे धेरै बेर कार्यक्रमको बिचमा स्कूलको कोठाहरु देखाउने बेला नेपथ्य बाट उहि आवाज आयो, ए रजनी तँलाई यो झापा कहाँ हो भन्ने थाहा छ भन्दै थिई खै कुन्नी हाम्लाई के था बरु तँलाई चाहिँ किन चाहियो नि उतै पोइल जाने बिचार छ कि क्याहो भनेसी सबै चिल्याई चिल्याई हाँसेको आवाज पनि मत्थरियो, कार्यक्रम पनि सकियो, बिज्ञापन आउन लाग्यो, अनि टेलिभिजन बन्द गरिदिएँ । 

कि त भेटै नहुनु कि त नाता गाँस्नु यो कस्तो सम्बन्ध हो बालुवाको घर जस्तो । मैले जति लडाउँछु फेरि ढड्याउन मन लाग्छ र जति पटक बनाउँछु फरक फरक आकारको हुन्छ । भर्खर १२ पढ्दै गरेको नानीको फेसबुक आई डि पनि त नहोला अनि भए पनि के नाममा खोज्नु तै पनि मोबाइलमा ४–५ स्न्याप चाहिँ टि भि बाटै भए पनि खिचेर राखेको थिएँ कतै थोपडा मिल्छ कि भनेर । राति बाह्र बजेको हुँदोहो मोबाइलमा म्यासेज आयो थाहा थियो तर वास्ता भएन यस्ता म्यासेज स्यासेज आइरहन्छन थाक न थल्लाका सन्देशहरु कति पढ्नु बाँदरको पुच्छर लौरो न हतियार जस्तो । 

साँझको बेला ढोका ढक्ढक्याउन पुगेको थिएँ केहि खबर नगरी सुटुक्क पुगेको थिएँ उस्को घर । भित्रबाट चुकुल खुल्यो अनि बन्द भयो त्यसमा चुकुल खुल्नु अनि बन्द हुनुमा फरक सिर्फ म मात्र थिएँ । म हरेक सफलतामा तिम्रो हात रहेको हुन्छ, म जे छु तिम्रै देन हो भन्दै मेरो पेशाको सफलता अवार्ड टफी उस्को हातमा राखिदिएँ । कोपिला देखि बयस्क फुल हुने बेला सम्मको त्यो भावनात्मक बिकासमा उस्को अनुहारमा चलचित्र झैँ झल्कियो अत्याधिक खुशी हुँदा हुँदै पनि अन्तिममा अलिकति पिलीत्त भई । 

मलाई मनपर्ने खानेकुराहरु भान्सामा पाक्दै थिए, ऊ र म मात्रै थियौँ र पनि उसलाई ठूलै भोजको जस्तो धपडी देख्दथेँ म । भन्थी मैले आज आकाशमा उड्ने बादललाई समातेकी छु थाहा छैन कतिबेला फेरि आफ्नो रुप बदलेर म बाट टाढा हुने हो अनि त फेरि उहि आकाशका तारा गनेर बादलको आकृतिमा हजुरलाई हेरेर बस्ने त हो नि म भन्दै घरभित्रै दगुर्दैै थिई । म भन्दै थिएँ म हरदम तिमि सँगै त छु किन यस्तो भनेकी यसरी भन्ने होइन, मानिसका बिभिन्न बाध्यताहरु हुन्छन बिभिन्न धपडीहरु हुन्छन यि सबै बाट बचाएर ससाना पलहरु साँच्ने त हो नि ।

तपाई बुझ्नुहुन्न शायद मेरो कुरा जुन मैले भन्न चाहिरहेकी छु, मैले आधा आकाश हैन पुरै आकाश खोजेकी हुँ । आधा आकाश मात्र सम्हाल्नुको पिडा कस्तो हुन्छ मलाई सोध्नुस यदि महशूस गर्न सक्नुहुन्न भने । मलाई एक पल मात्र एक पल भए पनि पुरा आकाश दिनुहोस म यहि पल साँचेर जिवन पर्यन्त आफ्नो जिन्दगी बाँच्ने छु । शायद लोग्ने मानिस र स्वास्नी मानिसमा यहि कुरा फरक हुन्छ होला कि सम्बन्धलाई ग्रहण गर्ने तरिका र भावनालाई वजन दिने तरिका चाहिँ फरक हुन्छ होला । 

डाइनिँङ टेबलमा खाना लागि सकेको थियो हामि दुई जना आमने सामने थियौँ । खाना कतिबेला भ्याइयो थाहा भएन पाइलाहरु सुस्ताउन हिँडे । मैले उसलाई कानमा साउती गरेर आऊ आज रातमा बजार घुम्न जाउँ मध्यरातमा बजार कस्तो हुँदो रैछ । हामि जस्तो बजार मात्तिँदो रैछ कि रैनछ त्यो पनि हेरौँ भन्दै घरबाट बाहिर लागियो । अँध्यारो उज्यालो भइरह्यो साँझ भर, शायद हामिहरु पनि मात्तिएकै थियौँ क्यार, नजानिँदो पाराले सम्झिने बिर्सिने भइरहेकै थियो । 

अलि पर सडक बत्तिहरुलाई पछ्याउँदै जाँदा एक दम रमणिय बगैँचामा पुगिएछ क्यार मनमा रमाइलो लाग्न थाल्यो । ठाउँ ठाउँमा बस्ने बेञ्चहरु राखिदिएको थियो सुत्न पनि मिल्थ्यो । म अडेस लागेर बसेँ ऊ चाहिँ मेरो काखमा सिरानी गरेर आकाशमुख फर्केर पल्टिई, म उसैलाई हातले सजाउँदै थिएँ तिम्रो मात्र के भन्दै थिएँ एउटा चरा आएर झ्याम्म हाम्रो काखमा हाम्फाल्यो झसँग भएँ । उठ्दा खेरि त उहि भेडेटारको गाउँमा मै माथि पर्ने गरि मुसो पो हाम फालेको रहेछ, उठेर घडि हेरेँ जम्मा ५ बजेको रहेछ, कुखुराका भालेहरु बास्दै थिए । मोबाइल मा म्यासेजको नोटिफिकेशन रैछ । 

मलाई बिर्सनु भयो होला नि उसदिन राम्ररी बिदा हुन पनि पाइएन सन्चै हुनु हुन्छ होला । मिल्यो भने फोन एस एम एस जे भएनी गर्नु होला नत्र भने ठिकै छ पाल्पाली नानी भन्ने एस एम एस पढे पछि त मेरो भुईँमा खुट्टै रहेन कहाँ जाउँ कता जाउँ जस्तो भयो । जिन्दगीमा ठुलै आपद परे जस्तो कसैको गुहार चाहिए जस्तो असिन पसिन भएँ हाऊ म त । तेस्का बाजे ले अलि छिटो एस एम एस पठाएका भए हिजै हेर्थे नि राती १२ बजे एस एम एस पठाइछ उससससस । 

अनि फोन नँ ९८४७१ ......... मा फोन लगाएँ त्यो भन्दा पहिला आफू बसेको कोठाको ढोका अनि चुकुल लगाएँ । २ घण्टी मै फोन उठ्यो बिहान ५ बजेको हुँदो हो । नमस्ते नानी भनेर सम्बोधन गरेँ उस्ले पनि हजुरलाई पनि नमस्ते छ है । मैले एस एम एस पठाएर हजुरलाई अप्ठेरो त भएन नि तै पनि मन मानेन ठूलो साहस बटुलेर यत्ति दुई धर्का लेखेर पठाएको मैले । 

किन डराउनु नि मोबाइलबाट फुत्त निस्केर म पिट्न आउँथिन क्यार हजुरलाई धन्दै हजुरले एस एम एस पठाउनु भयो अब टेन्सन भएन भने पछि मेरो बोली रोकियो । कस्तो टेन्सन भन्नु भको हजुरले मैले बुझिन नि अब झापाली सँग पाल्पाली ले कसरी सक्नु भन्दै हाँसि अनि ऊ पनि बोल्न छोडि फोन अनलाइनमै थिए दुबै जनाका तै पनि एक डेढ मिनट सम्म यत्तिकै सास फेरेको आवाज मात्रै सुनेर बस्यौँ । दुबै जनाले एक्कै पटक बोल्नुस न भनिएछ फेरि हाँस्यौँ । नेपथ्यमा पहिला जस्तै आवाज आयो नानी छिटो आइज भान्सामा म मेलामा जाने बेला भयो भरे कुरा गरम है सर अहिले म गएँ है भनेर बिदा भई बल्ल मनको काँढा निकाले जस्तै भयो । 

आकाश भन्छ सबै त उज्यालो तिम्रै हो अँध्यारो बरु मलाई देऊ घाम तिम्रै हो 
के थाहा उसलाई हराइरहेछु आफै  अाकाशमा सूर्य अँध्यारै भन्छ घाम तिम्रै हो 

बाँकी अर्को सिक्वेलमा ....................


No comments:

Post a Comment