Monday 25 February 2013

आफ्नै मलामी



सर ! सर !! बिकल सर त बाथरुम जान खोज्दा अचानक गधरम्म ढल्नु भयो लौन !! भन्दै रिसेप्सनिष्टले आफ्नो हाकिमलाई फोन गरे पछि बल्ल सबैलाई थाहा भयो, गर्याम गुरुम झुम्मिए सबै जना तर पनि उहाँ होशमै हुनुहुन्थ्यो, हातले सबैलाई आ आफ्नो काममा जान इशारा गर्दै खुट्टा फर्केर हो केहि भा छैन भनेर टार्नु भएको थियो । कलेठी परेका अनि रगत सकिएर निला भएका ओठहरु, टक्टक्याए धूलो झर्ने जस्ता फुस्रा आँखिभौँहरु अनि फुस्फुसाएको अपूरो स्वरले उहाँको बयानलाई अधूरो बनाएको थियो । अघिल्लो दिन सम्म पनि अफिस आएर सकि नसकि काम गरेकै देखेको थिएँ । कति दिन त काम नभ्याएर अफिसमै राती अबेर सम्म काममा बस्नु हुन्थ्यो अनि त्यहिँ सोफामा पानी पिएर पनि सुत्नुहुथ्यो कहिलेकाहिँ । भोक भन्नु, कामको बोझ भन्नु अनि थकाई भन्न नै बिर्सिसकेको अबस्थामा सिर्फ कम्तीमा ४ घण्टा सुत्न पाए खाए भन्दा पनि बढि हुन्थ्यो । थाहा नै थिएन कसैलाई कति हैरान छ, कति थकित छ अनि कति कम्जोर छ भनेर शायद उहाँ कसैलाई आफ्नो दुख देखाउन चाहनुहुन्नथ्यो । 

रात भर सोफामै सुतेर भोलि बिहान अफिसकै शौचालयमा टट्टि गर्न जाँदा मैले उहाँलाई धेरै पटक फेला पारेको थिएँ । म बिहान उठेर एकछिन डुलीवोरी चिया खाएर अलिक छिटो अफिस जाँदा पनि काँचा आँखा लिएर बाथरुम बाट बाहिर निस्केको देख्थेँ । अनि हात मुख धोएर हिजोकै कपडा फेरि त्यहि शरीरमा उनेर लगाउन पाए हुन्थ्यो । हैन घरमा गएर सुतेको भए पनि त हुन्थ्यो, घरमा भाउजुले खोज्नु हुन्न तपाईँलाई भन्दा चाहिँ खिन्न हुनुहुन्थ्यो त्यतिबेला तै पनि अफिसमा काम हुँदा हुँदै घरमा गएर कहाँ निद्रा लाग्छ र भाई छोड यो कुरा भनेर मलाई थुम्थुम्याउनु हुन्थ्यो र पनि म थाहा पाउँथेँ । 

भर्खरै गएको दशैँमा पनि कामको लोड छ भन्दै अघिल्लो दिन सम्म अफिसमै देखेको थिएँ । हुन त म पनि उहाकै अफिसको कर्मचारी तर अर्को शाखामा काम गर्थेँ । दशैँको दिन सम्म पनि सपिङ्ग गर्न भनेर हिँडेको वा सपिङ्ग गरेको कुनै छनक पाइन मैले । कल्लरबाट उध्र्रेको कमीज अनि आइरनले बनाएको बाटो मेटिएको पाइन्ट लगाउनु हुन्थ्यो र पनि मैले नयाँ कपडा लगाउन पाइन यो पूरानो भयो भन्ने हिच्किचाहट हुन्नथ्यो । पछिल्ला दिनहरुमा बिस्तारै अरु सँग बोल्ने रमाइलो गर्ने गर्न छोडिसक्नु भएको थियो, म एउटा जो बाँकि थिएँ जो सँग आफ्ना एकदम नीजि कुराहरु पनि म सँग पोख्नुहुन्थ्यो । यो साल मेरो घरमा टिका नभएकाले गाउँ गइन, बजार तिरै बसेँ र बिकल दाई सँग बस्ने अनि उहाँलाई बहलाउन कोशिस गर्छु भनेर लागेँ । 

जुन दिन दशैँ थियो उहि दिन मैले उहाँलाई सँजीवनी उद्यानमा लिएर गएँ जहाँ दुइ चार रेष्टुराँहरु पनि थिए । दाजुको पृष्ठभूमि मलाई सबै थाहा थियो  र त म नजीक बाट चिन्दथेँ, त्यसैले माया गर्थेँ असल साथीका नाताले । हामिले अर्डर गरेको चीजहरु पनि आए बस्तु हरु पनि आए सद्ये पनि आए मद्ये पनि आए दुइ जना मिलेर खायौँ पियौँ । त्यत्रो बेर पनि दाजु केहि बोल्नु भएन, अबस्था देखेर म पनि केहि बोल्न सकिन । निशान भाई यत्ति बाँकि तिमि जो छौ जस्ले मेरो ख्याल राख्छौ भनेर आवाज ननिकालेर पनि बलिन्धारा चुहाएको म अहिले पनि भुल्न सकिरहेको छैन । केटा मान्छे त्यसरी रोएको त्यसरी आँशु बगाएको देखेको मैले शायद पहिलो पटक होला । मैले उहाँलाई सम्झाएँ औपचारिकतामा तर उहाँको कहिल्यै सञ्चो नहुने घाउमा मैले दिएको शान्त्वनाले कुनै मल्हम लगाउँदैनथ्यो, त्यो पनि मलाई थाहा थियो । 

उहाँ त माटोमा हिलोमा खेल्दा खेल्दै हुर्किनुभयो आफ्नै बल बुताले, तै पनि मैले हुर्काको भन्नेहरुको लावा लश्कर नै हुन्थ्यो । कसरी ठूलो भयो कसरी पढ्यो अनि यो ठाउँ सम्म आयो भन्ने सबिस्तार पनि मलाई थाहा थियो तर फेरि यसमा पनि जिम्मेवारी लिने, जस लिन खोज्नेहरु पनि उल्लेख्य रहे, जसले उहाको जिवनमा सिन्को पनि भाँचेनन बरु दाजुसँगै भएका सिन्काहरु समेत पनि खोसेर लगे । आफन्तहरुबाट ठगिनुको, हेला हुनुको अतिसार सिमा उहाँले पार गर्नु भएको थियो । त्यहि बिचमा  बिबाह बन्धनमा पनि बाँधिनु भयो, अनि कहाँनिर बुझाई मिलेन पहिले पहिले मिलेजस्तो देखिए पनि अनन्तकालसम्म उहि हालतमा रहेन । माया ममताले पारिवारिक सम्बन्ध बाँधिन सकेन खाली अधिकार र जिम्मेवारीमा गएर रोकियो जिन्दगीको रथ ।

त्यहि भएर बिकल दाजु अन्तिम समयमा टुट्दै टुट्दै जानु भएको थियो । उहाँलाई यो मेरो मान्छे हो भनेर दुख बिमार हुँदा आउने पनि कोहि थिएनन फेरि उहाँले पनि मेरा कोहि छन भनेर पनि मान्नु हुँदैनथ्यो । जब दोपहर गोधूली तिर लम्किन थाल्यो, घाम पनि राता हुन थाले, मनमा आगो लाग्दा निस्केको धुवाँ जस्तै भयो पश्चिमको आकाश बादल अनि निभ्न लागेको घाम । मैले यस्ता आगोहरु त धेरै निलेको छु र पनि धुवाँ मन भित्रै मडारिएर मलाई उखरमाउलो हुन्छ भाई भन्दै ग्लासमा कडा पेय पदार्थ थप्दै हुनु हुन्थ्यो । आफ्नै भनाउँदाहरुले मलाई खुट्टा भाँचेर लडाउँछु भन्दा त तिम्री भाउजु भनाउँदीले तमाशा हेरेर बसी । मनमा बह उर्लिएर कसैलाई नभनी घर छोडेर हिँडेर फर्किँदा उस्का आसे पासेहरुले मुखमा गुहु कोचाउनु पर्यो यस्लाई भन्दा पनि झन हौसिएर बसी । त्यसका बाऊ भनाउँदाले मेरी छोरीले नाठा खेलाएर पाएकी हो र यी छोरा छोरी, खुरुक्क बजारमा एउटा घर ठड्याइदे अनि यिनीहरुलाई खाने खर्चको ब्यबस्था गरिदे अनि तँ जहाँ जाने हो जा भन्दा पनि रमिते भएर बसि भाई, अब तिमि आफै भन म कसरी भाऊजु मानुँ त्यसलाई, भन्दै दाइले गहभरी आँशु गिलासको रक्सी भन्दा बढि छचल्क्याउँदै मलाई ट्वाल्ल हेरेको पनि बिर्सेको छैन मैले ।

त्यसैले बल्ल दाजुको जिन्दगी किन यसरी खुकुलो हुँदै गएको रहेछ भन्ने लाग्यो । मलाई झन रहस्य अनि खुल्दुली बढ्दै गयो । उहाँको जिवनमा कमसे कम केहि परिवर्तन ल्याउँ भन्ने लाग्यो र झन खोतल्न लागेँ । तर जव रक्सिको नशाले छोड्यो बिकल दाजुले फेरि मनका अरु ढोकाहरु बन्द गर्नुभयो र उहि दैनिकीमा लाग्नु भयो । यस्तैमा मैले सोधेको थिएँ बिकल दाई जिन्दगी सधैँ यसरी चल्ला र कमसे कम जिवनका सबै ढोकाहरु यसरी बन्द नगर्नुस न । जिवनलाई डोर्याउने अरु धेरै उपायहरु पनि छन यस्लाई पहिचान गर्नु पर्छ । तपाईले यसरी ढोका बन्द गर्नु भयो र त केहि देख्नु भएन भन्दा उहाँले खोल्ने ढोकामा पस्ने कोहि पनि त हुनु पर्यो नि भाई  म आफै यसै त क्षत बिक्षत छु र मैले कसरी सहारा दिन सकौँला र भाई छोड यो कुरा, फेरि पनि त एकान्तमा एक्लै रुने नियती त जहिले पनि म सँग रहिरहन्छ नि । मन नलाई नलाई भिडभाडमा, जमघटमा हाँस्नु भन्दा बेहत्तर मलाई एकान्तमा रुन लाग्छ भनेको पनि हिजो जस्तै लाग्छ । 

दाइले कहिलेकाहिँ मलाई आफ्ना मनमा लागेको कुरा रक्सि नपिएकै बेलामै पनि भन्नु हुन्थ्यो कहिलेकाहिँ कि जिवनमा थाहा नपाएरै मनमा पस्ने मानिसहरु पनि हुँदा रहेछन भाइ, त्यसैले अब त बाँचौ जस्तो पनि लाग्छ जीवनमा केहि उर्जा पलाएर आउँदो रहेछ निशान भन्नु हुन्थ्यो । मैले सोधेर कहिले नभन्ने तर उहाँले भन्न मन लागेको बेला कुरेर बस्नु पर्ने बाध्यता थियो मलाई । एक दिन बतासे चौतारीमा गफ गरिरहेको बेला उहाँले म जब अशक्त हुन थाल्छु मेरा हात गोडाले काम गर्न बिस्तारै छोड्छन, अनि म यि सबैलाई छोडेर प्रकृतिको कसैले नछोएको एकान्त अनि पवित्र ठाउँमा जान्छु भाई, जहाँ कम से कम खोलामा बगेको पानी हुन्छ त्यहि पिएर पनि म सास धान्न सकुँ, मेरो अन्तिम अबस्थामा यसको मुख हेर्न त के यस्को हातको पानी पनि खान नपरोस । अझ आफ्नो मलामी आफै हुन पाइयोस भनेर लामो सुस्केरा फालेको सुनेको पनि हिजो जस्तै लाग्छ । 

दाई कम्जोर भएर लडेको पनि एक महिना भइसकेको थियो । पन्ध्र दिन अगाडि दाई सँग अन्तिम भेट भएको थियो अनि भेट भएको छैन । मोबाइल फोन पनि बन्द छ अरु कुनै सञ्जालहरु पनि चलेका छैनन उहाँका । मनमा खट्पटी भइरहेको छ मलाई । म दाइको घरमा गएँ सोधेँ र पनि खै कता मुण्टेको हो थाहा छैन बुढेसकालमा बैँश आएको होला नि जहाँसुकै जावोस भनेर भाउजु च्याँट्ठिएको मलाई सर्द परेन र पनि गुहुमा ढुँगा हानेर मुखमा छिटा पर्ने डरले म केहि नभनी लुसुक्क फर्केँ । मलाई थाहा थियो दाईको मर्म दाईको पीडा उहाँको छटपटी । मनमा उखरमाउलो छुटेको थियो, नभन्दै दाई कहाँ जानु भयो । मनमा शँका र भय पैदा हुन थाल्यो उहाँको शारीरिक अवस्था र भनाई लाई मान्ने हो भने उहाँकै भाषामा आफ्नै मलामी बनेर अरुलाई भन्दा पनि मलाई छोडेर जानु भयो कि भन्ने कुराले पोलीरह्यो मलाई ।
जताततै खवर गरेँ मैले पुलिसमा खबर गरेँ सबै तिर सोध खोज भयो तर पनि  दाईको कतै  अत्तो  पत्तो लागेन । दाइले ३ महिनाको तलब लानु भएको रहेनछ । भाउजु आएर अफिसमा हल्लाखोर मच्चाएर लिएरै जानुभयो दाइको पसिनाको फल । कति निर्दयी हुन्छन कोहि कोहि त दाइको जिवनको असफलतामा भाउजुको हात रहेछ भन्ने देखेर आफै प्रति अझै बैबाहिक जिवन प्रति पनि बितृष्णा जागेर आयो । आखिर दाइले यस्ताको बिकल्पमा किन पाइला चाल्नु भएन यो कम्जोरी रह्यो दाइमा अरु सबैमा अब्बल भए पनि भन्ने लाग्यो । फेरि अर्को अर्थमा बैगुनीलाई गुनले मार्छु भन्दा भन्दा आज आफै कता हराउनु भयो । अरुलाई त के भयो थाहा भएन, मेरो बुवाको मृत्युले भन्दा पनि दाई हराएको पिडाले मलाई सताइरह्यो ।

जति टिप्छु आफूलाई छरिएको हुन्छु झन
पोले पनि नपोलिने खरानी झैँ भयो मन

No comments:

Post a Comment