Wednesday 24 July 2013

नाता र सम्बन्ध

साउने झरी, बाढि पहिरोको वास्ता नगरी म बाम्चे जान ठडिएको थिएँ कसैलाई नसोधी घरमा समेत नभनिकन । बिबाह गरेका मानिस त हराएको ३ बर्ष बित्दा पनि उनका जहानहरुले खोज्न नहिँड्ने रैछन, झन मेरो त जहाँ जाला जोगी भातै खाला जस्तो मान्छेलाई कस्ले पो खोज्नु भनेर आफैसँग बाउँठिएर अनि आफैसँग बोझ भएर फेरि उसैलाई सकि नसकि ठस ठस कन्दै बाम्चेको उकालोमा बोक्दै थिएँ । माइखोला आफ्नै गहिराईमा निरन्तर बगे पनि बेशरम बाटो चाहिँ घरी घरी माथि माथि सरिरहन्थ्यो ।

धेरै नै उकालो उकासिए पछि आँगन सँगै जोडिएको समीको फेदको ढुङ्गे चौतारीमा टुसुक्क बसेर पुन्पुराको पसिना पकेटबाट रुमाल झिकेर सलक्क पुछेँ । आमैले बाहिर आउँदा दुइ झुतेली मकै अनि भित्र जाँदा एक अँगालो भरी दाउरा लैजानु भो । गोठमा २ वटा चिल्ला भैँसी देखेपछि आम्मै यसो गोरस पाइन्छ कि, सारै खरो भयो बरु कति पैसा पर्छ तिर्छु भनेँ डीलैमा बसेर । मज्जाले ठोक्कियो नि निधार पनि टुटुल्कै उठ्ने गरि, एक छिन पर्खँदा पनि महि किन आएन भनेर हुर्रिँदै भित्र जान खोज्दा त बैँसले डोलिएकी सोल्टीनी सँग कहिल्यै नभुल्ने गरि ट्वाङ्गै ठोक्कियो भन्या, महि पनि भुइँमा न भाँडामा भयो । महिले गुन्द्री छिचोलेर गए पनि एक मुठी नौनीको डल्लो चाहिँ त्यहिँ अड्किएको थियो ढडियामा माछा अड्के जस्तै ।
 
भन्न नहुने ब्यथा सारो भनेको यस्तै हो भन्थे हो रैछ, उता सोल्टिनी पनि रुनु न हाँस्नु भएर बिचैमा अड्किएकी थिई । मान्छेको जातलाई गुन गरम भनो यस्तै हुन्छ जहिले पनि भन्दै गुन्द्रीमा अड्किएको नौनी भुत्लाले उठाउँदै थिई । अन्त तिमी जहिले पनि कसैले पानी मोही मागे भने यस्तै गरि ठोकिन्थ्यौ र । तर त्यति सारो हेपेर चाहिँ नभन है, मैले के पो उपद्रो गरेँ र ? झुक्कियौ तिमि पनि म पनि झुक्किएँ, ठोक्कियौ तिमि पनि म पनि ठोक्किएँ, न तिम्रो गल्ती न मेरो बिराम अब हिसाब बराबर । अब तिमि र म ढोकामै ठोक्किन लेख्या रैछ त के गरम । म यहि बाटो हिँड्नु, तिम्रै आँगनमा बिसाउनु तिम्रै मोई माग्नु, तिमिले पनि ढिलो गर्नु मैले छिटो गर्न खोज्नु सबै लेखान्तर हुन के । यहि हो कि तिम्ले मलाई भुल्दिनौ, अब त अरु कुनै बटुवाले मोहि मागे भने पनि तिमि मलाई सम्झिने भयौ सोल्टिनी ।
 
अन्त मईमा सन्दुक बाट नौनीको डल्लो राख्दा बेर भयो नि छिट्टो गर्छु भनेको त हो नि भनेर नङ्ग टोक्दै थिई, अनि हातको छेल पारेर मलाई भिजाउने गरि पग्लिरहेकी थिई जुन म अलग्गै चाल पाउँथेँ । धेरै आँखा नलाऊ है सोल्टीनी लभ पर्ला फेरि के गर्नु आफ्नो जोर जाम नभा भे त आजै तिमिलाई लिएर हिँड्थेँ के गर्छयौ भाग्यमा नलेखे पछि, तर जे भए पनि म तिमिलाई चाहिँ किमार्थ भुल्दिन । तिम्रै लागि भए पनि यो बाटो ओहोर दोहोर गर्छु र मिले सम्म फर्किँदा यहिँ बास बस्ने गरि आउँछु ल सोल्टीनी खै नाम पनि भनिनौ, साइनो त भयो तर बोलाउने नाम पनि पाए कति जाती हुन्थ्यो है ।
 
पछ्यौरीको सप्को हातमा निचोर्दै अनि निमोठ्दै उसले मलाई कहिले आउनु हुन्छ हजुर, म ठेकीमा दुधको तर मात्र दहि जमाएर राख्छु, हजुर आउने दिन महि पारम्ला अनि हजुर लाई पेट भरी नौनी ख्वाएर पठाउँछु नि । ममता हो मेरो बोलाउने नाम अर्को नाम त भन्दिन भो लाज लाउँछ हि हि हि । म फेरि धेरै घिऊ खाएर छेरपाटे लाग्यो भने के गर्छौ भन्दा बोली खस्न नपाउँदै टिप्पा खेलाइहाली । हाम्रा बहत्तर बर्षका हजुरबाले त चरेसका एकमाने बोडकामा मनतातो घिऊ सनक्कै पिउँछन, त्यत्ति पनि नपचाए त के मर्द भको सार भयो र ह्या यहाँ त घिऊ नपचाउने लाई त नामर्द भन्छन ओई होस गर्नु । मैले पनि किन सानु बन्नु भनेर बाजी भयो तिमि र म सँगै सँगै उत्ति उत्ति खाने बराबर अनि कसलाई नपच्दो रैछ हेरौँला ल ।
 
म बाटोमा ओर्लिए पछि जस्सरी पनि बस्ने गरि आउनुस है पक्का । मान्छे त हजुर सारै असल तर हाड नभाको जिब्रो कतै लल्याकलुलुक होला नि फेरि डरै लाग्छ के त । मैले पनि यति धेरै माया नमान होई मेरो घरबार बिग्रला फेरि भन्दै  हिँडे ऊ चाहिँ लुरुक्क घर भित्र छिरिहाली । ममता सँग जे जति कुरा गरे पनि मेरो मथिङ्गलमा चाहिँ त्यस्तो भुईँचालै चाहिँ गएन । एक्कासी ठोक्किएर एक्कासी झ्याम्मिँदा चाहिँ साँझ बिहान स्वीच अन अफ गरेर अँध्यारो उज्यालो गराए जस्तै भयो । खुलेको अनुहार, सलक्क परेको जिऊ, गिलो माटो जस्तै  खेलाऊँ खेलाऊँ झैँ जस्तो, गहुँ गोरी, बोलिमा पनि कति मिजास, स्याहार सम्हार, उस्को नाम जस्तो काम पनि भरिपूर्ण थियो ।
 
चार घण्टा हिँड्दासम्म एकादुई बाहेक बटुवाहरु पनि भेटिएनन, भेटिए त बरु लँगूर बाँदरको हूल, बाटैमा घेरेर मलाई गिज्याउन उल्याउन थाले । म पनि केहि चलमल नगरिकन ढुङ्गामाथि बसेँ कोहि आऊला अनि जाउँला भनेर । एक छिनमा १० १२ जना केटाकेटीको हूल बाँधेर आए, उनीहरु ओरालो लागे म चाहिँ उकालो लागेँ । डाँडा माथिका घामलाई भेट्टाउन जति कस्सिए पनि सकिएन हेर्दाहेर्दै घाम डुबे, कताकति लाली किरणहरु हिमालमा झुल्किए पनि यता तलतिर चाहिँ अँध्यारोको बिस्कुन थियो । वरिपरि ओडार बाहेक केहि देखिएनन, सोधौँ भने बाटोमा हिँड्ने मानिस पनि चालमाल सेलायो । एक मनले गुहार मागौँ कि झैँ लाग्यो तर अर्को मन त्यो गर्न मानेन तै पनि मोबाइल बाल्दै उकालिएँ । अलि माथि पुगे पछि अझै माथि जँगलको छेऊमा घरमा बत्ति बलेको देखियो ।
 
अब त छिचोल्नै नसक्ने गरि चकमन्न भयो तै पनि लौरोको सहाराले हिडिरहेकै थिएँ । मेरै पछाडिबाट के चिज हो झ्याम्म हाम फाल्यो सासै रोकिएला जस्तो भयो र पनि चिच्याउन सकिन । आधा सास रोकिँदा रोकिँदा पनि हिँडे, पछि म आफै पनि कान्लोबाट तिन बल्ड्याङ्ग लडे हिलै हिलो भयो ज्यान । धन्य नजिकै एउटा घरमा टुकी बालेको मधूरो देखियो बल्ल जीउमा पालुवा पलाएर आयो ।
 
को हुनु हुन्छ घरमा भनेर आँगनमा टेक्दै के थिएँ लेऊ लागेको रैछ फेरि चिप्लिएँ आवाज सुनेर सबै जना पिँढीमा निस्के । म त अस्ति ब्याएको लैनो पाडो फुत्केर लोटेच कि भनेको त मुन्छे नै पाडा जस्तै छाँट्टिनु भएच नी कठै बरा चोट लाओ भन्दै दाइले पाखुरामा समातेर फेरि चिप्लीन्छ कि भनेर पिँढी सम्म ल्याउनु भयो । कपडा हिलै हिला, जुत्ता भरी हिलो झोला त माले गोरु जस्तो पो भाको थियो त । यिनको त के सुर्ता भयो र बाँचेर यहाँ सम्म कसरी आइयो भन्ने चिन्ता र बल्ल पो मनमा अगाडिको डर लाग्न थाल्यो ।
 
यस्ता राती बिखाँआ बत्ति छैन लाइट छैन बर्खाको बाटो धन्न हजुरको गरहे बलिया रचन । यता त यो साल किन हो कुन्नी बर्खा मासै बाघले बेला बेला पाडा बाख्रा थुतेर लान्च धन्न भन्दै आमाले सकि नसकी जिब्रो लेप्रयाउनु भयो । म त नजिकै बस्ने बास पाइएला भन्दा भन्दै यस्तो भयो तर केहि छैन अब त आइपुगेँ आजको रात बास बसेर हजुरहरुलाई दुख दिने भएँ भन्दै झोला बिसाएँ कपडा फेरेँ अनि मुल खामोमा अडेस लगाएर बसेँ । उसिनेका मकै र नून खुर्सानी अनि मरहठीको चटनी सँगै खायौँ । बाक्लो न बाक्लो महि सँग मकैको स्वाद कहाँ दाँज्न सकिन्थ्यो र बजारिया रिसीपी सँग ।
 
दोश्रो दिन बिहान दुइ घण्टा उकालिए पछि तेरपाएँ बस्तीमा पुगियो । आँखाले हेर्दा भौतिक रुपमा मिलेको गाउँ, छेवैमा पुवा खोलाबाट सानो टर्वाइन राखेर गाउँलाई २४ सै घण्टा मनग्गे पुग्ने गरि बत्ति, घर घरमा चर्पी, प्राय जसोका घरमा करेसाबारी, ब्यबसायिक रुपमा तरकारी खेती, पशुपालनको राम्रो उपयोग भएको बिकसित बस्तिमा आइ पुगिएछ र त पत्याउनै गारो भइरहेछ यतिका माथि आएर कसरी सुगम भयो भनेर ।
 
गाउँमा एउटा अजीव मानिस आएर बसेको पनि एक हप्ता भइसक्यो तै पनि मानिसहरु बेखबर थिए । दुकानमा गएर कहिले चाउचाऊ किनेर कहिले तरकारी रोटी खाएर त्यहिँको एक घरमा दिन भरनै अन्तध्र्यान भएको धेरैले वास्ता गरेका थिएनन । कुन्साङ्ग काकाले चियो गरिरहेका थिए, उनी चाहिँ भोकले छटपटाइरहेका थिए कि उसको बारेमा बुझ्न, अझ उसको मासुम उदासिनतालाई चिर्न हतारो भएको थियो ।
कुन्साङ्ग काका सक्नुहुन्छ भने मलाई यहि प्राथमिक बिद्यालयमा पढाउन दिनुहोस मलाई तलब केहि चाहिँदैन बढि, मात्र यस गाउँमा बस्न बास अनि बिहान बेलुका हात मुख जोर्न पाए हुन्छ मलाई रोजी होइन छोडी खान्की भए पनि केहि फरक पर्दैन कुनै गुनासो गर्दिन म । कुन्साङ्ग काकालाई निहूँ भइहाल्यो मेरै घरमा बस्ने हो सर, तपाईँले नभने पनि मैले हजुरलाई हप्ताभरीमा धेरै पढेको छु, भोलिबाटै यो बिद्यालयमा पढाउनु भए पनि म मिलाइदिन्छु भन्दै काकाले आफ्नो घरमा बास सार्नु भयो ।
 
उतिबेला कसैको घरमा चर्पी थिएन । चर्पी नहुँदा गाउँमा हुने गरेको स्वास्थ्य सम्बन्धि समस्याहरुको बारेमा केटाकेटी सँगै राखेर अभिभावकलाई पढाउँदा औधि रमाएका थिए केटाकेटीहरु । पाकाहरुले केटाकेटीहरुलाई सँगे तोते सँगत सँगै चर्पी बनाउने अठोट गरेर फर्केका थिए । एक हप्ता बिद्यालय बन्दै गरेर सबै जना काममा जुटेका थिए । तेरो मेरो भन्ने थिएन हाम्रो भन्ने थियो सबैले सबैको नसकुञ्जेल सघाउने भनेर सबैका सकिएपछि मात्र छोडेका थिए । यहि काम गर्दा गर्दै बिद्यालयका सरले सहकारीको बारेमा पनि जागरण फैलाई सकेका थिए र त चर्पी सकिएपछि सबै मिलेर गाउँमै हातेमालो बचत तथा सहकारी सँस्था पनि खोलिकन शेयर बापत आफूले सके जति जम्मा पारेका थिए अनि सबैले महिनामारी पनि बुझाउँथे । अब त सहकारी भनेको कुरो गाउँको बिकास गर्न अर्म पर्म गर्न दुख सारो गर्जो टार्न अझ त्यस भन्दा बढि आयमूलक काम गरेर पैसा कमाउनलाई असली काम रैछ भन्ने सबै गाउँलेलाई थाहा भइ सकेको थियो ।
 
गाउँमा सबैलाई काम पुगेको थियो । त्यस भन्दा अगाडि गाउँमा तरकारी समेत बाहिर बाट आउँथ्यो तर पछि भने गाउँमै सबै तरकारी फल्न लाग्यो गाउँले लाई पनि बढि भएर बाहिर समेत पठाउन थाले, यो सबै काम सहकारी बाटै हुन्थ्यो । गाउँभरीका तरकारी सहकारीले किनेर पहिले उनै गाउँलेहरुलाई नै सस्तो मुल्यमा बेच्थ्यो र बाँकी बाहिर पठाउँथ्यो र यस बाट भएको फाइदा समेत उनै गाउँलेहरुलाई हुन्थ्यो ।
 
दुई बर्षको पैसा जम्मा पारे पछि गाउँलेहरुले नजीकैको पुवा खोलाबाट पुग्ने गरि बिजुली निकाल्ने अठोट गरे अनि गाउँ बिकास समिति बाट दश लाख अनि आफू सँग जम्मा पारेको ३ लाख अनि अरु १ लाख थप थाप गरेर १४ लाखमा गाउँमै बिद्युत निकाले । त्यसको पनि महिनामा सबै घरले २० रुपैँया महशूल उठाउँथे अनि त्यहि बचत मै जम्मा पार्थे । दिनभर केटाकेटीलाई पढाएर साँझमा उनै अभिभावकहरुलाई प्रौढ शिक्षा समेत पढाउँथे । अब त गाउँमा अक्षर नफोर्ने कुनै अभिभावक पनि बाँकी थिएनन । अरु त के उहि कुन्साङ्ग काकाकी ७८ बर्षकी आमा समेत अब त बाह्र खरी खर्ररै पार्नु हुन्थ्यो कति रमाइलो भएको थियो गाउँ सिमै थिएन ।
 
यो भनि रहँदा कुन्साङ्ग काका धेरै पटक रुनु भयो बरर्ररै आँशु झारेर । मलाई पनि परदेशी सर प्रति श्रद्धा जागेर आयो अनि फोटो सोटो केहि छ कि काका कि कुनै हुलिया छ कि उहाँको भनेर सोधेको थिएँ उसैमा काका तस्वीर त यो छातिमा छ नि तर हनुमानले जस्तो फोरेर देखाउन नमिल्ने बाबु तर फोटो खिच्ने त अत्तो पत्तो नै भएन, हामि सँग त कमेरा पनि छैन । ऊ पल्लो गाउँको देबेन्द्र काजीले दशैँको बढाइँमा फोटो त खिचे जस्तो मान्थें बजारमा बस्ने मान्छे उतै गए होलान बाबु भनेर त्यो पनि बिर्को लगाउनु भयो काकाले ।
 
तर बाबु उहाँलाई एकान्तमा धेरै पटक रोएको देखेको थिएँ मैले । अरु भन्दा पनि छोरा छोरी लाई सँझेर सिरानी लाई झम्टेर सासले रोएर भक्कानिएको धेरै पटक देखेको हो मैले । एक पटक त दारी कपाल लामो भएर मैले नै लाहुरे कैँचीले काटेर छोटो पारेको थिएँ । तो मान्छे अरुलाई सहयोग गर्न परोपकार गर्दा आफ्नो सास पनि गएको थाहा पाउँदैनथ्यो । अरु कुनै कुरा फुस्काउने भए पो मरिकाट्टे भन्ने होइन, अलिकति सोध्न पनि हजार दाऊ मिलाउनु पर्ने ।
 
यो गाउँ बाट जान भन्दा एक हप्ता पहिला जरोले शिथिल परेर बल्ल उठ्नु भा थ्यो तै पनि तँग्रिएपछि बिद्यालयमा गएर हाम्रा नानी बाबुहरुलाई कहिले नराम्रो नसोच्नु, नराम्रो काम नगर्नु, आमा बाबुको सेवा जस्तो ठूलो अर्को कुनै धर्म छैन, घर टोल सफा पार्नु पर्छ, अब मैले सकेको गरिलाएँ अब तिमिहरुले गर्नु पर्छ म माथि बाट भए पनि हेर्छु भनेर केटाकेटीहरुलाई सबैलाई चकलेट बाँडेर पठाउनु भएको रैछ अनि त्यसै राती कसैलाई केहि नभनी हिँड्नु भएछ । एक दिन हामिले पनि कतै जानु भएको होला भनेर खोजेनौ, अर्को दिन यता वल्लो गाम पल्लो गाम सबै खोजेम कतै भेटिएन त्यस पछि केटाकेटीले एक महिना सम्म बिद्यालय जानै मानेनन बाबु यहि हो अबस्था । मलाई यसैमा ठूलो दुख छ कमसेकम कहाँ जाने हो के छ अबस्था कहिले काहिँ भेटन मन लाग्दा भेट्न कहाँ जाने भन्ने सोध्न पनि पाइएन । यि गलामा गला मिलाएर बिदा गर्न पनि पाइएन । मर्ने बेला पनि यहि घिडघिडोले सास नजाने भो बाबु । गाउँलाई झलमल्ल पारेर आफू कुन अँध्यारोमा जानु भो भन्दै काका मज्जाले रुनु भयो र अनि त्यसबेला सम्म वरिपरि भेला भएका सबै जना रोए कोहि खाली रहेनन । 
 
मेरो मन पनि भाँडियो खैला बैला भयो मनमा सुनामी आए जस्तै भयो । तै पनि पिडा लुकाएर उहि कुन्साङ्ग काकाकै घरमा बसेँ, मेरो मनमा जति ज्वारभाटा आए पनि उहाँलाई शितल पार्दै थिएँ । मैले सबै गाउँलेहरुलाई भेटेँ । अन्तमा कुन्साङ्ग काकाले मेरो एउटा साथी थियो मलाई असाध्यै माया गर्ने उसलाई पनि छोडे हामि सँगै काम गथ्र्यौँ भनेर काकाले सुनाए पछि मलाई मेरै बिकल दाई हो भन्ने कुरामा शँका नै रहेन । मैले उहाँको हुलिया बताएँ जे जे भनेँ काकाले सहि थाप्दै जानु भयो  तर मैले म सँग भएको बिकलदाईको फोटो देखाउन मनमा साहस आएन किनकी यि यस्ता मृदुभाषी गाउँलेहरुलाई म सम्हाल्नै सक्दिन । यो घटना १ महिना अगाडिको मात्र रहेछ अझै आशा रह्यो मनमा उहाँलाई भेट्ने । मैले पनि उहाँको सबै बेलीबिस्तार लगाएँ गाउँलेहरु झन थामिन सकेनन म त झन कसरी थामिनु र ।
 
३ दिनको बसाईपछि उहाँ अगाडि बढेकै दिशामा अगाडिको बाटोको बारेमा सोध खोज गरेँ । काकाले म पनि जान्छु भन्दै हुनु हुन्थ्यो तर मैले मानिन र त्यहाँ बाट अगाडि बढेँ । मनभरी झन उत्सुकता एवँ आशा भरोसाले शरीर थाकेको पनि थाहा पाउँदिनथेँ म । अलिकति माथि पुगे पछि अन्तिम बस्ती ओढार गाउँ आउँदो रहेछ । त्यहाँका बासिन्दाहरुको बसोबास आधा ओढारमा अनि आधा चाहिँ घरमा कटेरामा रहेछ । एउटै पानी ढलो पखेरामा उहिँ निर तीन वटा झुप्प झुप्प गाउँ थिए । त्यहाँ भने केटाकेटी गाउँको कुलो तिर फर्केर दिशा पिशाब गर्दा रहेछन मलाई शँका लाग्यो कि बिकल दाई आएको गाउँ यस्तो फोहोर त हुने थिएन ।
 
को छ घरमा आज बास बस्न पाइन्छ भनेर सोध्दै आँगनमा लौरो टक्टक्याएँ ट्याक ट्याक ट्याक । मेरै पछाडि बस्नु भका बुवाले यस्ता झुपडीमा बाबु कसरी रात काट्नु हुन्छ । उडुस उपियाँ ले टोकेर हैरान पार्चन बरु ऊ माथ्लो घरमा बस्न भनेरै कोठा बनाका छन क्यार ३ ४ वटा उसो गर्दा कसो हुथ्यो कुन्नी बाबुलाई भनेर बाले नढाँटीकन म भित्रै पसेर भन्नु भयो ।
 
त्यहाँ पनि उहि कुरा दोहोर्याएँ । भित्रबाट गुर्सिनी कान्छी आधा लिटरको स्टिलको मगमा दुध चिया लिएर आई, मेरो अगाडि टूलमा आवाज नआउने गरि बिस्तारै राखी अनि बोल्दै नबोलि एक टकले मलाई हेरेर बसि । के भो तिमिलाई बसन न कि बोल्न आउँदैन तिमिलाई, केहि कुरा छ भने भनिहाल मनमा नराख भनेँ । उसले पनि मुखले भन्दा ज्यान ले धेरै बोली मैले त्यसको दोब्बर बुझेँ । खाना खाने बेला भयो हात धून लाई उस्ले जगबाट निहुरेर पानी खन्याई म पनि त्यहि बेला हात मुख धोएँ । खै कस्तो पहिरन हो कुन्नी म नचाहेर पनि ऊ निहुरीँदा आधा लाज देख्नु पर्यो तै पनि अस्ति जस्तो कसैसँग जिस्कीन पनि मन लागेन मात्र बिकलदाईको अनुहार झल्झली आइरह्यो मनमा, बरु हिँडेरै भेटिने भए त रात भरी हिँडेर भए पनि पुग्ने थिएँ झैँ लाग्यो ।
 
म सँग बिकलदाई को छायाँ चित्र पनि थियो त्यहाँका बासिन्दालाई देखाएँ कसैले पनि देखेँ भनेनन । गाउँमा अशक्त बृद्ध बृद्धा केटाकेटी तथा सुत्केरी केटी मान्छे अनि कोहि कोहि घरमा सुसारे बाहेक सबै जना यार्सागुम्बा टिप्न हिम पहाड तिर लागेका थिए । दुइ दिन बसे पछि झन मलाई अगाडि बढौँ कि फर्कौ भन्ने द्धिबिधाले सतायो । पछाडि फर्कौ युद्ध हारेर फर्के जस्तो अगाडि बढौँ कतै पनि सुइँको सम्म पनि छैन अब त बस्न लाई बस्ती पनि छैन । आफै माथि समस्या पर्ने हो कि भन्ने डरले खुम्चिइरहेको थिएँ ।
 
ए दाई यो फोटोको मान्छे लाई यता कतै देख्नु भयो भनेर उतै बाट फर्किँदै गरेको बटुवा सँग सोधेँ । उस्ले भारी बिसायो पसिना पुछ्यो अनि फेरि एक टक लगाएर फोटो हेर्यो अनि मैले देख्यो देख्यो जस्तो लाग्यो होई, मो उता माथि लेक जाने बेला माथि तम्बेलाको ओडारमा कापीमा के हो लख्दै बस्याथ्यो, नयाँ मान्छे देख्यो नि जाम भनेको त तपाईँ जानुस म बिस्तारै आउँछु भन्दैथ्यो, फर्केर आउँदा कतै देखिन मैले । तपाईँ नजानुस भो भिरबाटो चिप्लो छ खस्यो भने त निकै तल पुग्छ, यतै हुर्केका मान्छे त बर्षका ७ ८ जना त खसेरै मर्छन ।
 
मलाई त्यो चिप्लोले भिरले भन्दा पनि बिकलदाइको तम्बेलाको ओडारमा नपुगी त जिन्दगी सार्थक होला झैँ लागेन । त्यहि उकालो भिरको चिप्लो बाटोमा धरापमा उनीइरहेँ मात्र ओडारको घिडघिडोमा । सान्सानो गौँडोमा त म पनि चिप्लीएँ तै केहि चाहिँ भएन शायद दोष काटियो भन्ठानेँ ।
 
हिँड्दा हिँड्दै डाँडाको कुनामा ओडार देखियो, एक छिन सुस्केरा हालेँ । पहाडको कुइनेटोमा सानो ठाउँमा बनाएको चौतारी पनि पहाड जस्तै घुमेको थियो । एक छिन थकाई मारे पछि त्यहिँ मुख ओझेल पारेर बसेका बुढा बटुवालाई यो तम्बेलाको ओडार भनेको अब कति टाढा छ भनेर सोधेँ, उनले पनि ऊ त्यहि ओडार त हो नि । बरु बाबु कहाँ बाट अअअअअअ भन्दै बुढा दारी पालेका मान्छे मलाई देखेर बोल्नै सकेनन र पनि म बिरोधाभास मै रहिरहेँ । म ज्युँदै छु कि यो सबै सपना हो बाबु एक पाली छाम त मलाई भन्दा पो बिकल दाई को खप्टिएको दाँत नाक माथिको कालो कोठीले मलाई चिन्न गारै परेन ।
 
खुशीको सिमै रहेन, यस्तो हालतमा दाइलाई भेट्छु भन्ने लागेकै थिएन । मैले दाईलाई यस्तो हालत मा देखेर सपना झैँ भयो । दाईको जिऊको हालत लाई एकपटक राम्रो सँग गोडेँ, अँगालोमा बाँधे । किन किन स्वर्ग पुगेर स्वर्गका राजालाई ने भेटे जस्तै भयो । बिकलदाई भन्दा उर्जाशील मानिस मेरो लागि कोही छैन जिवनमा । दाइले रोएरै बिताउनु भयो धेरै समय तर पुरानो कुरा कोट्टयाउन चाहनु भएन बरु भाई म जिबनको दोश्रो भागमा छु सम्झ पहिलो भाग सकियो, म पनि उप्काउन चाहिन उहाँको घाऊ जुन सबै कुरा हुबहू थाहा भए पछि केका लागि उप्काउनु । शायद जिवनमा यति सार्थक अवसर अनि पल कहिले आउँदैन होला झैँ भयो ।
 
उहाँ एक दम बिरामी हुनु हुँदो रहेछ, ज्वरो आउने खोकी लागी रहने कहिले काहीँ त खकारमा रगत पनि आउँदो रहेछ । मेरो ख्यालमा क्षयरोग लागेछ भन्ने लागेर मैले स्वास्थ्य सँस्थामा जानका लागि फकाएँ । पहिला नमाने पनि पछि मेरो अनुरोधलाई कत्ति पनि आनाकानी गर्नु भएन । दुई दिनमा फर्केर फेरि हामि फेरि कुन्साङ्ग काकाको घरमा पुग्यौँ । बिकल दाई लाई भेटे पछि सबै गाउँले डाँको छोडेर रोए, अभिभावक सँग धेरै समय आत्तिएको बालक झैँ रोए, आँशु सकिएपछि सबै जना खुशी भए शायद गाउँ बिजुलीको उज्यालो ले भन्दा बिकलदाई को मनको ज्योतिले झन उज्यालो बनाइरहेको थियो । मायामा यत्रो शक्ति हुँदो रैछ बिरामी मान्छे पनि निकै उज्यालो देखिनु भयो ।
 
कुन्साङ्ग काकाले स्वास्थ्य चौकिको मान्छेलाई रोगको लक्षण बताएर हुमाने कान्छालाई बेँशी पठाउनु भयो त्यस पछि स्वास्थ्य कर्मी आए सामान्य औषधि दिएर अनि रगत र खकार जँचाउन फेरि बेँशीको स्वास्थ्य चौकिमा गए हुमाने कान्छालाई लिएर । भोलिपल्ट औषधि लिएर आयो हुमाने कान्छो अनि बिकल दाई को उपचार शुरु भयो गाउँमै । दाइलाई त त्यहाँका दुइ दर्जन भोटे कुकुरहरुले समेत पछ्याउँदा रहेछन, कस्तो खुशी हुँदा रहेछन । म त झन अलमल्ल भएँ । कचहरीमा बिकलदाईले मेरो बारेमा बताए पछि गाउँलेहरुको माया मैले पनि पाएँ ।
 
दाई हजुरले त्यो तम्बेलाको ओडारमा के लेखिरहनु भएको थियो भनेर प्रश्न गर्दा उहाँले आफ्नो आत्मकथा लेखिरहेको कुरा बताउनु भयो । चार वटा डायरीमा लेखेर भ्याएकै दिन मैले उहाँलाई भेटेको रहेछु । धेरै बेरको रस्सा कस्सी पछि बल्ल मलाई उक्त कथा पढ्न दिने र छाप्न दिनका लागि राजी हुनु भयो यसमा उहाँ प्रति म निकै आभार ब्यक्त गरेँ । अनुकूल समयमा बिकलदाई को मर्मस्पर्शी आत्मकथा उहाँकै अनुमतिमा हजुरहरु माझ पस्किने छु शायद समय लाग्न सक्छ, अलिकति धैर्य बाँकि छ भने पर्खिनुहोला यदि छैन भने पर्खिनुको पनि कुनै सान्दर्भिकता छैन, यो कथा पढेर मनमा क्यानभास बनाउनुको पनि कुनै अर्थ छैन । मैले उहाँको भावनामा न्याय गर्न सकेँ या सकिन यो त दाजु लाई नै थाहा होला तर उहाँकै मर्म उहाँकै कलमबाट झन खारिएर आऊने छ ।
 
दाई उमेर ढल्केका भए पनि म चाहिँ त लक्का जवान नै थिएँ । हिम चिम बढेपछि कुन्साङ्ग काकाले के छ निशान बाबु बिचार हजुरको पीयार सियार त उतै बजार तिरै होला तर यहाँ पनि एक से एक छन, कुनै छल छाम छैन, कुनै गुनासो पनि गर्दैनन, यिनीहरुमा लोभ लालच छैन, कर्ममा बिश्वास गर्छन भाग्यमा होइन । निश्वार्थ कर्म गरे सो अनुसारको फल पाइन्छ अनि त्यसैले आफै भाग्यरेखा कोर्छ भन्ने ठाउँका मान्छे यिनिहरु त ।
 
एक दिन साँझ बिमलदाई को पुनरागमनको खुशीयालीमा नाचगान अनि भोजको आयोजना पनि भयो । रमाइलो त कति हो कति मलाई घर छोडेको पनि भान नै भएन । घर भन्दा बढि पारिवारिक पन माया र सौहार्दता थियो । थाहा थिएन मायाको परिभाषा यति बिघ्न हुन्छ भनेर, मात्र थाहा थियो फिलीमे माया, प्रेमी प्रेमिका को माया अब त यि माया पनि फिका लाग्न थाल्यो । सभ्यता सँग हप्तामा कम्तीमा पनि ३ बार त झगडा हुन्छ अनि मिलाप पनि हुन्छ तर कहिँ न कहिँ छास्स छुस्स नभएको दिन नै हुँदैन, मेरो मन मुटु छिया छिया हुने गरि भन्छे र पनि माया लाग्छ, एक पल पनि उसलाई भुल्न सक्दिन म ।
 
तर यहाँको परिवेश चाहिँ अलि फरक छ, मायाको परिभाषा पनि फरक छ, ब्यबहार पनि फरक छ, जिवन प्रतिको त्यति ठूलो बिरोधाभासपूर्ण सोच पनि छैन । जे कुरा छ सिधा कुरा छ, जे गुनासो छ त्यो पनि सिधा छ धेरै जसो, तर लुकाउन पर्ने कुरो बाहेक अरु सबै कुरामा सबैको बराबरी खालको सोच छ । गाउँको बिकासको लागि सबैको एउटै स्वर छ, न फोहोरी राजनीति छ न नेताहरु प्रति को भरोसा छ, बिश्वास छ त केबल आफ्नै कर्ममा त्यसैले त कसैका अगाडि सित्तिमित्ती हात फैलाउँदैन गाउँलेहरु, सहयोगी मृदुभाषी त छँदै छन त्यसमा अझै स्वाभिमानी पनि छन ।
 
नाचगान हुने साँझ मलाई पनि नचाए ठिटीहरु, म त नाच्न नजान्ने मान्छे तै पनि आँगन टेढो भएको पत्तै पाइन, कति पटक मर्किएँ त्यो पनि होश भएन, जिवनमा पहिलो पटक हौसिएर नाँचे मदमस्त तरुनीहरु सँग । लाग्यो म पनि जवान केटा हुँ, बल्ल थाहा भयो आफ्नो उमेरको अनि अबस्थाको । जिवनका कहिल्यै नखुलेका रँगहरु पनि मनको आँगनमा मान्द्रो भरी भए तै पनि म सम्हालिएँ । नाच्दा नाच्दै थाकेर के बसेको थिएँ, पछाडिबाट आँचलीले चिरिप्प पारेर आँखा छोपिदिई । मैले हात हटाउन उस्का पाखुरा सम्म पुगेँ निकै बल लगाएँ, जोरका तोर भयो तै पनि बलिई रैछे, सकिन मैले अनि ज्यान जे सुकै मरोस भनेर छोडिदिएँ, आँचलीकै काखमा सतरम्म भएँ, ऊ पनि आफ्नै बच्चा काखमा च्यापेर ढुक्क भए जस्तो सञ्चो मानिरही ।
 
त्यो गाउँ नै यस्तो मिजासिलो थियो, कुनै कुरामा शँकोच नमान्दा पनि हुन्थ्यो किनकी मानिसहरु आफ्ना कुराहरु सिधै भन्थे । कसैसँग माया पीरीम छ भने पनि सिधै भन्थे अनि कुन्साङ्ग काका पनि यस्तोमा लाइपरी गर्नु हुन्थ्यो । नाचगान चलिरहेकै थियो आँचली कानेखुशी गर्दै थिई कुन्साङ्गकाका सँग म चाहिँ बिमलदाइ लाई टेको दिएर धानिएको थिएँ । सारा गाउँलेहरु एउटा नयाँ खबर छ सुन होहोहो भन्दै काका घोक्न थाल्नु भयो । आज आँचलीले आफ्नो साथी रोजेकी छ, भन्दै छे उहाँले पनि आँचलीलाई मन पार्छ रे निशान बाबुलाई मेरो बनाइदे भनेर म सँग गुहार माग्दैछे हो हो कतै मया पीरीम नभए निशान बाबुले भन्दिन पर्यो ।
 
छाँगा बाट खसे झैँ भयो मन, जति गाउँमा आउँदा खुशी भएको थिएँ त्यस भन्दा पनि तल थेचारिए झैँ भयो । 

मेरो र सभ्यता बिचको सम्बन्धको बारेमा बिमल दाईलाई पनि घुर्मैलो थाहा थियो । फसाद पो पर्यो भन्दै दाई जुरुक्क उठ्नु भयो अनि काकालाई साउती गर्नु भयो, अनि काकाले आँचलीलाई बोलाएर कानेखुशी गरे पनि कुरा सबै सामसुम भयो अनि फेरि नाचगान शुरु भयो । म चाहिँ बिलखबन्दमा परेर नाचगान भन्दा बाहिर बरपीपलको चौतारीमा बसेको थिएँ, आँचली पनि आई र कान समातेर मेरो अगाडि टुसुक्क बसी, म बाट गल्ती भयो माफ दिनुहोस भनेर भन्दै । मैले पनि उसलाई पाखुरामा समातेर उठाएँ अनि उसलाई ढाडस दिएँ तिम्रो गल्ती होइन नि मैले पनि भनिन, मन नदुखाऊ आँचली सम्बन्ध र मित्रतालाई एउटै अर्थमा मात्र सिमित राख्नु हुँदैन । यो गाउँ यति प्यारा गाउँलेहरु अनि तिमिलाई म भूल्न कहाँ सक्छु र । दिन पनि ढल्यो रात पनि गुज्र्यो अनि बिहान भयो, झलमल्ल भयो हिजो राती नाचेको आँगन । त्यो कस्तो नमिठो रात कसैको मन अँकुर्न नपाउँदै बिऊमै कुहियो मलाई पनि नमज्जा भयो त्यो भन्दा बढि आँचलीलाई हुने भो जिवनभर । उस्ले पहिलो पटक कसैलाई आफ्नो ठानी तर बुहनी खराब भयो जिन्दगीको ।
 
बिकलदाई पनि अलि बौरिँदै आउनु भयो । दाई अब फर्कौ हामि भनेर भन्दा दाई ले सिधै इन्कार गर्नु भयो, एउटा तिमि थियौ मेरो भन्ने तिमि आयौ लाख भयो मलाई, तिमि त काख पनि भयौ मेरो । तिमिले मलाई खोज्दै नहिँडेको भए यहि रोगले जान्थेँ अनि यो श्रृँखला यहिँ सकिन्थ्यो । मलाई झलझली आँखामा आउने छोराछो भन्दा भन्दै भक्कानो छोडेर रुनुभयो । काकाले र मैले थुम्थुम्यायौँ निकै बेरमा बल्ल थामिनु भयो । मैले पनि काकालाई फर्किन कर गरिन तर काकालाई त्यहिँ गाउँमा बस्न लाई बाचा कसम खुवाएँ बरु गाउँमा बस्न काकाले कुनै आनाकानी गर्नु भएन अनि सबै गाउँले सँग बिहानै जाने भनेर साँझ सबैको घरमा गएर बिदा मागेँ ।
 
भोलिपल्ट बिहान ५ बजे उठेर काकालाई उठाएँ फेरि फेरि आउने बाचा गरेर बिदा भएँ, कचहरी चौतारीमा बसेर वरीपरी हेरेँ कोहि पनि भेटिएनन बाहिर फेर अनि झिसमिसेमा हिँडे गाउँबाट खुशी अनि बिस्माद बोकेर । करिब १५ मिनेटको दुरी हिँडे पछि गाउँ छेकिने कुइनेटो थियो कुइनेटोमा अनौठो दृश्य देखियो जुन म सोचेकै थिइन । आँचलीले हातमा साँझभरी बुनेको फूलको माला हातमा लिएर सबै भन्दा अगाडि बसेकी थिई । मलाई शुभयात्राको टिका लगाईदिई, फुलको माला लगाई दिई, मैले पनि उसलाई उहि थालीबाट टिका लगाई दिएँ अनि मलाई नै लगाई दिएको मालाबाट चुँडेर उसको टाउकोमा पनि फूल उनिदिएँ ।
 
हजुरको र सभ्यताको जिवन सुन्दर बनोस, यो जन्ममा हजुरकी बन्न नपाए पनि मेरो कुनै गुनासो छैन । यो त मेरो भाग्यमा नलेखेको कुरा हो । म हजुरकी बन्न नसकेपनि अरु कसैकी बन्दिन । हजुरले मलाई केहि दिनु पर्दैन यहि टिका र फूल मलाई अनेक छ, जिवनमा कहिले पनि ठेस नलागोस, सधैँ सफल बनिरहनुस, कतै बाटोमा देख्नु भयो भने आँचली तँलाई कस्तो छ सम्म भन्नुहोला यहि हो भनेर पछयौरालै सपक्क मुख छोपी । आफ्नो बोली त घाँटीमा अड्के झैँ भयो । 

तिमिले त्यसो गर्यौ भने मलाई पाप लाग्छ आँचली तिम्रो कल्कलाउँदो जिन्दगीको, तिमिले यसो भन्यौ भने म कहिले खुशी हुन सक्दिन भन्दै थिएँ तर ऊ त दौडिँदै निकै टाढा पुगिसकेकी थिइ शायद मेरो बिदाई गर्ने उसमा हिम्मत नभएर होला । अरु गाउँलेहरु उसका सैँसाथे हरुलाई सँझाइदिनु आँचलीलाई भनेर म पनि गुर्गुरी ओरालो लागेँ । 
 
(पहिलो आफ्नै मलामी कथा श्रृँखलामा बिकलदाई जिवन देखि दिक्क भएर सार्वजनिक जिन्दगीबाट अलप हुनु भएको थियो त्यसको निरन्तरता प्रयास हो यो । यस पछिको श्रृँखला फेरि ब्लगमा अनुकूल समयमा राखिने छ र त्यो भाग चाहिँ यो कथाको तेश्रो तथा अन्तिम भाग हुने छ । )