Monday 20 February 2012





म हिजो र आज 


अचेल हामिहरु जिवनयापनका लागि अलि बढि नै शौखिन हुन थालेछौँ भन्ने कुरा धेरै बर्षपछि म गाउँमा जाँदा मलाई थाहा भयो करिव १५ बर्ष भइसकेछ गाउँ छोडेको पनि । कहिलेकाहीँ जाने गरेपनि कसैसँग मन अघाउने गरि कुरा गर्नै पाइँदैनथ्यो तर यसपालि म एक हप्ताका लागि बस्न मेरो गाउँमा गएको थिएँ । शहरको कोलाहल अनि शहरमा बस्ने सुक्दै गएका इनार जस्ता फुस्रिएका मानिसहरुको सँगतबाट दिक्क भएर खातका खात कामहरु छोडेर म गाउँ पसेको थिएँ । त्यो मेरो आफ्नो गाउँ भएर पनि समयको अन्तरालमा म त्यहाँ बाट बिरानीएको थिएँ तर मेरो आफ्नै घर भने त्यहाँ थिएन आजकल । 
बाटैमा पर्ने मुखिनी आमैले मलाई घोरिएर हेर्नु भयो खैर आँखा बसेछन क्यार अनि चुरोटले मक्याएको घाँटीले "यो त मास्टरको छोरो हो कि क्याहो ?" भनेर "एता आइजा" भनेर बोलाउनु भयो म पनि गएँ अनि कुखुरो थुनेको डोको माथी ठुस्स बसेँ अनि हर्लक्क बढेकी नानीले महि ल्याइदिइ, खाएँ अनि सोधेँ "को हो यो ?" "अनि नातिनि हो नि साइला कि छोरी" भन्नु भयो अनि म आफैलाइ म गाउँ नआएको समयको सिमा थाहा भयो । एक छिन बसियो मकै पनि फेरि महि सँग खाइयो चिया पनि खाइयो खुब कुरा भए मुखीनी आमै सँग । 
मलाई पिशावले च्यापेर मर्नु भएको तर शहरको बानीले होला चर्पी कता छ भन्दा "हाम्रो चर्पी त उतै झ्याङ्गतिर त हो नि पाखामा !" भनिरहँदाखेरी मैले मेरो इतिहासलाई पनि सँझेँ । अहिले पिज्जा, बर्गर, चाउमिन, सेकुवा, तास, चिल्लि सिल्ली, के के हो खाँदा खाँदा दिनमा २ -३ पटक चर्पी जान पर्ने त्यहि पनि खल्लास नहुने त ब्यथानै भएको छ । अस्पतालहरुमा अनि क्लिनीकहरुमा धाउनेहरुको भिडनै लाग्दछ । तर त्यतिबेला न हाम्रा घरमा फिल्टर थिए न अरुनै त्यस्ता आधुनिक भाँडाकुँडाहरु थिए । गोरु चराएर घरमा आउँदा आमाले आजै महि पारेको घ्यूमा चुहिने गरि बनाएको कोदोको रोटि अनि टमाटर अनि पदिनाको चटनी खाट्टि दुध सँग खाँदाको मज्जा त अहिलेका पाँचतारेका पनि हुन्नन होला । 
घाँस काट्न जाँदा पाकेका खनिउँ माटामुनी बाट उक्काएर पुछेर खाँदाको स्वाद अहिलेको फ्रुट सलादमा कहाँ पाइन्छ र अनि पहेँलेको भातमा टिमुर र मरहटि राखेर पकाएको मस्यौराको तरकारीमा साना फुर्लुँगे पिँडालु अनि पाक्ने बेलामा लौसीको माडा राखेपछि अहिलेको के के हो के के राखेको मिक्स भेज भन्दा अनि उत्कृष्ठ लाग्दथ्यो । अहिले पेटमा थोरै बिकासी चिल्लो परेपनि औषधी खाइहाल्नु पर्ने यहि ज्यानले आमा नभएका बेला काठको ठेकीमा दाविलोले कोट्टयाएर डल्ला डल्लै खाएको घ्यू बालुवामा पानी हाले झैँ हुन्थ्यो । अनि स्वास्थ्यको समस्या त नगन्य थियो अहिले जस्तो चर्पी र ट्वाइलेट पेपरको सट्टा खेतबारीको कान्लामा गएर काम तमाम गर्यो अनि त्यहि भित्ताबाट झुस तान्यो अनि पुछ्यो आहा कति मज्जा पेट पनि निमेष भरमै सर्लक्कै हुन्थ्यो । 
अनि बाटा मुन्तिरकी मिठू भाउजुले बोलाउनु भयो हजुर आउनु भइच्च भनेर केटाले भनित्तो आज यतै भात खान आम्नु है मिठो नमिठो जस्तो भए पनि दुख सुख यस्तै हो आम्नु होला नि भनेर तल बाट बोलाउनु भयो अनि मैले पनि हुन्छ भनेँ । अनि बजार गए पछि मान्छेहरु यसरी गामलाइ बिर्सिन्छन भनेर अब हजुरलाई हेरे हुनी भओ भन्दा मैले होइन त भने तर मेरो आफ्नै मगज रिवाइन्ड भयो । मैले नै पल्टन डाँडाको चौतारीमा बसेर शहर तिर अनि लाहूर तिर पसेर हराएका अनि धेरै बर्षमा आउने मानिसहरुलाई देख्दा यसै भन्ने गर्दथेँ अनि गोरु बाटोमा दौडिँदा डराएर भाग्न खोज्दा स्याँ स्याँ र फ्याँ फ्याँ गरेको थुचुक्क बसेको अबस्थामा म आफै थिएँ ।
यसै गरि म एक हप्ताका लागि आए पनि तिन दिनमै अघाएर आफ्नो गन्तब्य तर्फ फर्किँदै थिएँ । धेरै समय पछि पनि मेरो गाउँ अहिले पनि खास अगाडि बढेको थिएन । मानिसको मनस्थितिमा परिवर्तन गर्न केहि समयको आबश्यक पर्ने देखेँ मैले । म अहिले जिवनको यस्तो घडिमा छु कि म चाहेर पनि आफ्नो यथार्थलाई भुलेर फेरी यो सँसारमा फर्किन त सक्दिन तर अर्को यथार्थ पनि केहो भने शहरको बिकास मात्र देश बिकाश होइन । अहिले कोदोको रोटीको अनि मकैको तल आगो अनि माथि भुङ्ग्रो राखेर पकाएको आटोको मर्म हराएको छ अनि त्यो मरहटी र टीमुर त कहाँ हो कहा पुग्यो । अब रोक्नु पर्छ अतिक्रमण गाउँ माथिको जोगाउनु पर्दछ मरहटि र टिमुरलाई । अझ दुख लाग्दो कुरा त के भने शहरको बिकासले गाउँलाइ पनि अहिले अपाङ्ग बनाएको छ । घरमा काउली नलगाएर अधियाँमा कमाउन दिएर बजार बाट तराइदेखि आएको फोस्रो काउली र गोलभेँडा समेत गाउँ पसेको छ । बर्ष भरि लगाएर पालेको बोको बेचेर टेलिभिजन अनि मासिक २५० को केबल भाडा तिर्न बाध्य भएको छ बिकास । आफ्नो प्वाल परेको कपडा हातले छोपेर कपडाका डिजाइन हेर्दैछन मानिसहरु । 
मैले मेरो पोष्टहरुमा खाली माया प्रीतिका कुरा अनि यस्तै सपना बिपना हरुको प्रसँग ल्याउँदै गरेकोमा एक्कासी म गाउँ पस्दा साथिहरुलाइ अनौठो पनि लाग्न सक्छ तर अहिले हामि जहाँ छौ त्यसको बैशाखी त्यहि जन्म भूमि हो भनेर भूल्नु भनेको आफ्नो इतिहासलाई मेटाउनु जस्तै हो । अरु देशहरुमा आफ्नो मौलिकता हुन्छ आफ्नो राष्ट्रियता हुन्छ आफ्नो चिनारी हुन्छ तर हामिहरु त हामिहरुसँग भएका पृथक चिनारीहरुलाई पनि मेट्दै गएका छौँ । अरु त के कुरा लुम्बिनी समेत हाम्रो हो भन्न थालिसके छिमेकीले तर आवाज उठाउने कुनै नेपाली देखिएन भने अरु त झन झिना मसिना भए । उता कर्णालिमा अछूत भएर पिटेर मरेको ब्यक्तिको भन्दा दादागिरीको निहुँमा जेल पर्नेलाई उस्को आफ्नै कारणले उस्कै शत्रुले जेलमा पिटाइ गर्दा उस्को मृत्यु हुँदा नेपाल बन्दभयो सदन बन्द भयो अनि शहिद घोषणा मुद्धा फिर्ता के के हो के के । धिक्कार छ नेपालको राजनितीलाई आफ्नो कुर्ची जोगाउन बाबुरामले गरेको फोहोरी खेलले जिवनमै नउकासिने गरि बितृष्णा फैलिएको छ मेरो मानसपटलमा । 
बास्तवमा केहि समस्यानै छैन, जनतामा समस्या छैन तर नेतामा समस्या छ, नीतिमा समस्या छ । दृष्टिकोणमा समस्या छ, त्यसभन्दा बढि समस्या स्वार्थमा छ ! ब्यक्तिगत, पार्टिगत अनि गुट, उपगुटगत । अब त समाचारका पानाहरु पनि ज्वरो परेको खान्की जस्तै भएका छन नेपाली जनताका लागी शायद अब यिनै नेताका लागि कोहि जनताहरु पनि राजीहुने छैनन पछि लाग्नका लागि खाली पैसाले किनेका भरौटेहरु बाहेक अनि ब्यक्तिगत स्वार्थमा लिप्त जुकाहरु बाहेक ।

No comments:

Post a Comment