Monday 20 February 2012

सुनझैँ हजारचोटि खारे पो जिन्दगी हो 
कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो? 

गमलामा फूल सार्यौ खासै कमाल के भो? 
बाँझो भूमिमा बिरुवा सारे पो जिन्दगी हो। 

हो, काल चञ्चले छ आफ्नै लहडमा चल्छ 
त्यसलाई च्याप्प छोपी नारे पो जिन्दगी हो। 

टाढै कतै बसेर हर्दम गिज्याउँछ जो 
त्यो स्वर्गलाई भुँईमा झारे पो जिन्दगी हो।

दानी हुनका निम्ति दौलत हुनेले बाँडेछन्
मानिसले आफैँलाई बाँडे पो जिन्दगी हो।

मुर्दा हो जिउँदै त्यो जोजसले हार मान्यो
मृत्युले हार मानी छाडे पो जिन्दगी हो।

जताततै डढेलो लाग्दा हरियो देख्ने
दोषी नजरको जालो फारे पो जिन्दगी हो।

पर्दै नपर्दा दिक्क दिक्दार जिन्दगीमा
दुर्लभ बनेको चिट्ठा पारे पो जिन्दगी हो।

औँला समाती खोली तार्न सजिलो हुन्छ
तुफानबाट डुङ्गा तारे पो जिन्दगी हो।

अर्को जन्म कसैले देख्यो न देख्न सक्छ
यही जिन्दगीमै बाजी मारे पो जिन्दगी हो।

No comments:

Post a Comment