Monday 17 September 2012

मन चरी


आहा आज त कति मजा भको मलाई, मनलागे जहाँ पनि उडेर जान मिल्ने !!

हामिले चङ्गा उडाउने चौरको तल भिरपट्टि हेर्न पनि डरलाग्ने भिरको डिलबाट चराको तालमा मन लागेको ठाउँमा उड्न पाएको पाएकै थिएँ । मेरा पँखेटा पनि कति मुलायम अनि कति ठूला । यता बाट तुइइइँय उता अनि रुखको टुप्पामा बस्यो केहि खाने कुरा पायो भने लङ्गुरले झैँ कपाकप पार्यो अनि फेरि तुइइईँय अर्को रुखमा अनि घरी देउराली ढुङ्गा घरी उधिनढुङ्गा केके हो केके ।

हा हा हा !!! ऊ ऊ ऊ पल्लाघरे भाउजु टट्टि गर्न बसेकी, छि ! छि !! लाज पनि नभएकी नकच्चरी हि ! हि !! हि !!!, आज सँसार देख्न पाइने भयो बाबा भन्दा भन्दै अर्को बाज आएर मेरो पँखेटामा आक्रमण गर्न लागेपछि लाग्यो आकाशमा पनि लडाईँ हुँदो रहेछ, तैपनि उसलाई किन आक्रमण गरेको भनेर सोध्न मन लाग्यो तर उ त मलाई दादा गिरी देखाए जस्तो गरि फेरि आकाशमै कता बिलायो । अनि म पनि मेरै धरातलमा ओर्ले मेरो खोल पनि फेरियो अनि म पनि पहिलाको जस्तै भएँ ।

खै कता म कञ्चन तलाऊको किनारमा पुगेँ अनि किनारको चौतारीमा बास बसेँ ठुस्स । अगाडि भर्खर मैले उडेको आकाश त अहिले निकै माथि पुगिसकेको थियो । मैले चौपारीको खड्केरीमा बसेर के सुसाउन थालेको थिएँ, त्यति खेरै मेरा आँखा पनि बन्द भए म आधा चेतना गुमाएँ अनि सुस्ताएछु, मलाई कसैले सुम्सुम्याए जस्तो लाग्यो, कसैले मायाले चुम्बन गरे जस्तो लाग्यो, तातो हावाले मेरो अनुहारमा न्यानो बनायो । शायद महको चाकामा डुबेको मौरी झैँ भयो ।

लामो केश भएकी सभ्यताले मेरो चेहरामा पर्दा लगाएको देखेँ । कति घोलिएकी महले त मोरिले मलाई पनि डुबाकी रैछ भन्ने लाग्यो मनमनै केहि बोल्न सकिन हेरि मात्र रहेँ उस्को आँखामा अनि उस्को समग्र हुलियाको परिचय लिन थालेँ । ओइ कालु मैले तिमिलाई खोज्दै आएँ कि तिमिले मलाई खोज्दै आयौ मैले त पत्तै पाइन बाबा भने मैले मुख उक्काएँ तै पनि ऊ बोलिन हेरिरही मात्र । अनि धेरै बेर म पनि बोलिन ऊ पनि बोलिन, हेरेरै बस्यौँ दुबै जना । ऊ मह बनाइरहेकी थिई म त्यसमा डुब्दै थिएँ घाँटिसम्म आइसकेको अब त चिच्याउन मात्र बाँकि थियो ।

निशान मेरो काले, हजुरको मायाले मेरो जिवनमा एउटा नयाँ र अजम्बरी उर्जा थपिएको छ । लाग्छ यो शक्तिले म जस्तो बोझ पनि उठाउन सक्छु । मैले नचिनेको त समयलाई हो तर हजुरलाई त मैले जन्मदेखिनै चिनेको हो भन्ने लाग्छ । हाम्रो परिचय भर्खर भएको हो भन्ने कुरामा म बिश्वास गर्नै सक्दिन । अब त म हजुरलाई छोड्द्रै छोड्दिन जाँ गए पनि पछि पछि जान्छु बरु भोक भोकै बस भने पनि मान्छु भन्दै लाडिन थाली । मलाई झन के भो र आफू झन त्यस्तै होस भन्ने मान्छे मुसुमुसु हाँसिरहेँ ।

हामि बसेको भूगोल पनि आँखा चिम्लेर खोल्दा एक निमेशमै फेरिएछ, हामि त समुन्द्री तटीय क्षेत्रमा थियौँ । पहिरन पनि सुहाउँदो थियो तर त्यहाँ हामिदुई भन्दा बाहेक कोहि पनि थिएन लाग्थ्यो यो पृथ्वी नै होइन अरुकुनै ग्रह हो जस्तै लाग्दथ्यो तै पनि हामिलाई बाल मतलब थिएन । लामो समयको बालुवा अनि पानीको छ्यापाछयाप पनि हामि किनारमा चहुरमा सुस्तायौँ । माया साट्ने माया बाँड्ने तरिका सिक्दा सिक्दै समय बितेको पत्तै भएन । दिन पनि ढल्केछ अनि चिसो हुन थाले पछिमात्र थाहा भयो अनि फेरि त्यहाँ बाट हिँड्यौँ । साँझ परिसकेको थियो, तैपनि कहाँ जाने पत्तो नभई नभई हिँडिरहेका थियौँ । रात त निकै छिप्पीयो तैपनि हामि हिँडिरहेकै थियौँ, हाम्रो भेट छायाँ सँग भेट भयो, सभ्यता डराएर चिच्याएर म सँग टासिएर अँगालो मारी । मैले पनि ओइ कालु के भयो बाबा, के भयो तिमिलाई भन्दा त आफ्नै बेडमा सिरानीलाई चिरिप्प पारेर समातेको थिएँ ।

उसससससस् कस्तो सपना देखेको होला, यो काली किन चिच्याउन परेको होला, एक छिन नडराइकन चुप लागेर हिँडेको भए पनि त हुन्थ्यो नि, कमसे कम सपना मै भए पनि भेट त भाथ्यो । एक ग्लास पानी खाएँ अनि पीश गर्न शौचालय गएँ अनि फर्केर आएर घडी हेरेँ २ बजेको रहेछ फेरि सपना देख्न कामना गरेँ । तर के निद्रा लाग्थ्यो र झन झस्केको झस्केई पो भयो । अनि सभ्यतालाई फोन गरेँ, जति गरे पनि उस्ले फोन पनि उठाइन, फेरि म्यासेज पठाएर फेरि सुतेँ ।

जति गरे पनि निद्रा लागेन, यस भन्दा एक हप्ता अगाडि सभ्यताले मलाई आफ्नो सपनाका बारेका मलाई बताएकी थिइन । मेरो आमा सहितको मान्छेहरुको उपस्थितिमा कुनै मन्दिरमा हाम्रो बिबाह भएको बारेमा अनि त्यसैले म डिस्टर्ब छु भन्दा मैले ठिकै त भएछ नि एक दिन त हुने नै हो नि भनेर उसलाई सम्झाएको थिएँ । उस्को सपना धरातलमा आधारित थियो तर मेरो सपना त कस्तो कस्तो म त कहिले त्यस्तो सपना खास देख्दिन, तर जिवनका खास अबस्थाहरुमा मलाई तिनै सपनाहरुले मार्ग निर्देश पनि गरेका हुन बिगतमा ।
जे भए पनि सभ्यता मलाई तिम्रो नजरमा अनि मनमा डुब्न देऊ । सपना नै सहि बिपनामा पुग्ने भर्याङ्ग पनि त हो यो ।