Friday 14 February 2014

अर्को जुनी, सभ्यता र भ्यालेण्टाइन


बीच सडकमा मान्द्रोमा अन्न सुकाए जस्तो छिरलिएको थिएँ । छेऊ छाऊका गाउँवासीहरुले मलाई बिस्कुन उठाए जस्तै गरि छेऊमा लगेर हार गुहार माग्दै थिए । मेरो दिमाग भन्दा अरु केहि पनि चलेको थिएन, आँखा समेत एउटा बन्द थियो अर्को मात्र खुलेको त्यहि बायाँ आँखाले हेरिरहेको थिएँ तमाशा । यि दुइ चिज भन्दा बाहेक मेरो शरिरमा छन कि छैनन भन्नेमा पनि मेरो शंका थियो तर पनि मलाई कहिँ केहि दुखेको थिएन अरु दिन दुख्ने मन पनि आज आफै निदाएको भएर होला कुनै चालचूल थिएन उता पनि । 

केहि क्षण पछि मेरो नश्वर शरीरको त्यहि पाटो पनि शिथिल भयो र अघिका गाउँवासीहरु पनि मेरो नजरबाट हराए खै मलाई कहां कता कता लगे आफैलाई थाहा भएन । बाँच्ने अन्तिम समय सम्म पनि मैले बिभिन्न धर्मशास्त्रले तोकेका मैले जानेका जप पाठहरु गर्दै रहेँ तर म आफू मात्र बाँच्नका लागि भने थिएन कि मेरो अवसान पछि सभ्यताको के बिचल्ली हुन्छ भन्ने चिन्ता बढि भएर पनि आफ्नो दुखाई केहि जस्तो लाग्थेन । सडकमा बिस्कुन सुकाएर उठाएर ल्याएको मेरो दारपात गल्न थाले पछि अब टिकिँदैन भन्ने भयो, नजीकका केहि साथीहरुलाई बोलाएँ र अन्तिम बिदाई लिएको थिएँ जाने बेला । 

अर्को कुरा के सँझना छ भने केहि घण्टा पछि जुरुक्क उठेँ, मलाई सबै कुरा थाहा थियो । मेरो शरिर चाहिँ जहाँको तहिँ लडिरहेको थियो । मेरो वरिपरि अँध्यारो मात्र थियो र पनि मैले सबै कुरा छर्लङ्गै देखिरहेको थिएँ । मैले हल्का ढुङ्गा फ्याले र पनि कतै चोट लागेन लाग्यो मेरो असर अब यहाँ छैन । मलाई अहिले पनि दौडिएर चोकमा जाने साथीहरुसँग चिया पिउने गफ गर्ने हसि मजाक गर्ने तर यहि अफशोश लाग्यो । 

मेरो र इश्वरको आमुने सामुन्ने भयो, ध्यानमा लीन भएँ आफ्नो आत्माको बत्ति बालेँ अनि इश्वर सँग कुरा गर्न थालेँ । आफू भित्र अदभूत शक्ति उत्पन्न भएको महशूस भयो । मैले मेरा दिवँगत आफन्तहरु परिवारजन अनि आफ्नै बाबालाई मनले सँझे मनको बत्ति बालेर खोजेँ अन्तध्र्यान भएर अन्तस्करणमा खोजेँ, मेरो बिन्ति बिसाएँ दुख पोखेँ आफूलाई पोखें सबै ज्योतिकै भाषामा । त्यसमा भावना हुन्थ्यो अनौठो भाषा हुन्थ्यो अनि अर्को ज्योति सँग उस्कै भाषामा परिष्कृत भएर जान्थ्यो यसैको आधारमा मैले आरामले आफ्ना कुराहरु ब्यक्त गर्ने र उताका सूचनाहरु पनि बिस्तारै प्राप्त गर्न सक्ने भएँ अन्तराल जम्मा आधा घण्टा जतिको हुँदो हो ।  

सुन्दर बगैँचामा खेलिरहेको रमाइरहेका मानिसहरु न शोक न सुर्ता जस्ता मानिसहरुको बस्तीमा पुगेँ पत्तै भएनछ । मैले लामो निद्राबाट ब्युँझे झैँ गरि सामुन्नेको मानिस सँग सोधेँ, त्यो कल्की लगाएको ब्यक्तिले यो त मत्र्य लोक होइन बाबु तिमि स्वर्गमा आइपुग्यौ तिमि पृथ्वीलोकबाट बिदा भएर आयौ अब तिमि फर्कन सक्दैनौ भन्दा बल्ल झसँग भएँ । तिम्रो आत्मा केहि समय अझै पनि पृथ्वीमा सयर गर्न सक्छ तर तिमिले बोलेको कसैले सुन्दैन केबल तिमि मात्र महशूस गर्न सक्छौ भने पछि अलिकति साहस आयो । 

परबाट कोट पाइण्ट शर्ट लगाएर ओजस्वी मानिस आएको देखेँ र पनि त्यति वास्ता भएन म टहलिँदै थिएँ स्वर्गको फूलबारीमा घुम्न डुल्न रुचाउने मान्छे । बाबु निशान मेरो छोरा भन्दा मैले बाबालाई चिन्न गाह्रो भएन । भक्कानो छोडेर रोएँ काखमा मडारिएँ, छातिमा मुठीले सुस्त सुस्त पिटेँ पनि र एक छिन पछि दुबै जना साम्य भयौँ । मैले थाहा नपाएको कुरा पनि त्यस बेला बाबाले मलाई भन्नु भयो मैले पुरा गर्न नसकेको काम तैँले पुरा गर्नु पर्छ निशान । तलाई म यहाँ बस्न दिन्न तैँले मेरो सपना पुरा गर्नु पर्छ । मानिसका अनेक अबस्थाहरु अनि परिस्थिति हुन्छन त्यसलाई आफ्नो अनुकूल बनाएर भए पनि अगाडि बढ्नु पर्छ । 

सभ्यता र तेरो सम्बन्ध सफल भएको हेर्न चाहन्छु, तिमिहरु फूलेको फक्रेको देख्न चाहन्छु, यहि समस्या मैले पनि भोगेँ तर मायामा सफल भईन अझ भनौँ मैले परिवारमा बिद्रोह गर्न सकिन अनि परिस्थिति सँग सम्झौता गरे र फेरि यहि नियती दोहोरिएको हेर्न चाहन्न म । तैंले रोएका हर आँशुहरुले म भिज्ने गर्छु, आत्मग्लानी हुन्छ मलाई कि भर्खर गएर तँलाई सुम्सुम्याऊँ यति धेरै माया गरुँ, तँ ठूलो भए पनि काखमा खेलाउँ तर म सक्दिनथेँ आज एक छिन भए पनि मेरो इच्छा पुगेको छ । मैले ताते ताते गराएका हातहरु, कतै टाढा गएर फर्किँदा पहिलो पटक चुम्ने यि प्यारा आँखाहरु अझै पनि उस्तै भए पनि आँखाको सागरमा पानी कम छ अचेल, तैंले आफूलाई आपद् पर्दा बाबा भनेको सुन्छु तर पनि तेरो सामु उभिन नपाउँदा भक्कानो छोडेर रुन्छु तर के गर्नु म सँग कुनै हैसियत नै छैन भन्दै बाबा धेरै बेर गन्गनाउनु भयो । मैले पनि भने तपाईँको अबसान पछि मैले कहिले पनि जन्मदिन मनाएको छैन, मिठो मुख गरेको छैन अनि नयाँ कपडा पनि लगाएको छैन मन लाग्दैन हजुर हुनुहन्न । 

गेटबाट कोही मान्छे लिन आयो मलाई, मलाई बाबा सँग अलग गरायो तै पनि बाबाको आँखामा बिस्माद भन्दा पनि खुशि थियो कि छोरो मृत्यु लाई पनि जितेर फर्किँदैछ भनेर अनि म पनि सुक्सुकाइन उहाँको हसिलो मुहार देखेर । 

म बाटोमा आफ्नो सवारी चलाएर हिंडिरहेको हुन्थें मनमा नानाथरिका तरंग हरु पैदा हुन्थे, सवारी चलिरहेको हुन्थ्यो बाटोको जटिल ट्राफिक छल्दै पनि । तरकारी किन्न जाँदा ३ रुपैयामा कुरा नमिलेर छोडेर हिँडेको, बसमा भाडा पुगेन भनेर आधाबाटो हिँडे पछि कन्डक्टरले हपारेर झारेको अनि २ घण्टा हिंडेर घर पुगेका कुराहरु पनि आइरहन्थे । एक पटक याद छ पैसा नभएर सात दिन सम्म पातलो मुसुरको दाल र भात खाएर बसेको र संजोगले कोटको खल्तीमा ६० रुपैया भेटाउँदा आधा किलो मासु किनेर खर्लप्पै खाएको पनि याद आयो । आफ्नै नश्वर शरिरबाट अलग भएको मेरो अन्तस्करणले अतीतका पानाहरु पल्टाउँदै थियो । 

जब मैले यो बिषाक्त बिछोडबाट दुबै जनालाई बाहिर निकालेँ यहि ठूलो कुरा हो मेरो लागि । प्रकृतिको पनि आफ्नै नियम हुन्छ पहिले बिनाश हुन्छ पहिरो जान्छ अनि केहि समयको अन्तरालमा उस्तै भएर ठडिन्छ उस्तै जङ्गल । सबभन्दा ठूलो रहस्य भनेको जिवन भनेको चातुर्यताको एक सानो भाग हो, ब्रम्हाण्ड भन्दा पनि हाम्रो सोच बिचार महत्वपूर्ण हो जब म मृत्युको अनुभव गरेर फर्केँ त्यहाँ मैले आत्मज्योतिको नियम बुझेँ अब पनि त्यो भाषामा कसरी आफूलाई योग साधनाको माध्यमबाट कुनै पनि बेला त्यस ठाउँसम्म इश्वरको सामिप्य सँग पुर्याउने भनेर अनुभव भयो । कोहि पनि पहिले मर्नको लागि तयार नहोऊ त्यो त पहिलेनै अनुबन्धित छौ कहिले र कसरी भन्ने मात्र हो । मन भित्रको आत्मज्योतिको इश्वरसँगको सम्बन्ध कायम गर्ने पाटो चाहिँ योग साधना नै रहेछ । तिमि आफै महशूस गर्ने छौ मृत्यू केहि पनि होइन रहेछ यो त स्थान परिवर्तन मात्रै हो । हामिले इश्वर सँग सञ्चार गर्न जरुरी छैन न कि उसैले हरपल हाम्रो जानकारी खटन पटन गराइरहेको हुँदोरहेछ ।

आत्मज्योतिको भाषामा इश्वर सँग भलाकुसारी गर्दा गर्दै उहाँले सोध्नु भयो, निशान तिम्रो केहि सपना थियो जुन तिमिले पूरा गर्न बाँकि थियो भन्दा मैले मेरो एउटै सपना मेरी सभ्यता हो मेरो भविष्य पनि उहि हो अनि उस्को पनि म नै हुँ मात्र भनेको थिएँ एक्कासी ज्योति बन्द भयो अन्धकार भयो एक छिन । झलमल्ल भयो झन धेरै उताबाट जवाफ भयो तिमि त धेरै कम्जोर भएछौ । सभ्यता बाहेक तिम्रा अरु सबै प्रतिकूल परिवेशहरु छन कोहि भौतिक रुपले प्रतिकूल छन कोहि मानसिक रुपले प्रतिकूल छन यि सबै सँग लड्न सक्छौ तिमि भनेर सोधिएको प्रश्नको उत्तर दिन मलाई एक निमेष पनि लागेन । मेरो सम्पूर्ण शक्ति भनेको उहि सभ्यता हो उस्को साथ र भरोसा पाए म लड्छु सँसार सँग अरु मलाई केहि सँग चासो र सरोकार पनि छैन । शायद ऊ नभएको भए म फर्किन पनि कुनै अनुनय बिनय गर्ने थिइन अरु मेरो पृथ्वीमा केहि छ जस्तो लाग्दैन मलाई । 

हेर बालक तिमि सँग जता पनि चूनौतिहरु छन, के तिमि सभ्यतालाई बाहुपासमा राख्न सक्छु भन्ने साहस छ भने फर्केर जाऊ नत्र यस्तै अबस्था हो भने तिमि अहिले त एक पटक मरेर पनि यहाँ आराम सँग बस्न सक्छौ तर त्यहाँ गएर हरपल मरिरहनु पर्छ तिमि भन्ने सान्त्वनालाई पनि तर्काएँ, सभ्यताकै एकोहोरो घिडघिडो रहि रह्यो मनमा । मलाई बरु जे सुकै होस जतिसुकै पटक मर्नु परोस मर्छु बरु उसलाई कहिले दुख नहोस, खुशी राख्न पाउँ भन्दा तथास्तु भने पछि मन फुरुँग भयो, अब यो भ्यालेण्टाइन दिवसमा उसको साथमा हुने भएँ । 

इश्वरसँगको भलाकुसारी पछि हाम्रो मनमा पनि इश्वर रहेछ जस्ले हामिलाई चलाई रहेछ आफ्नालाई मिलाई दिएको छ, त्यहि भएर फेरि एक पटक खुशी हुन पाएको थिएँ । म त्यतिबेला आश्चर्यचकित भएँ कि जब मैले त्यस पछि पहिलो पटक आत्मा खोलेँ जब म आफ्नै नश्वर शरीरमा प्रबेश गरिसकेको थिएँ । म आफ्नै कोठामा प्रबेश गरिसकेको थिएँ र पनि आँखा खुलिसकेका थिएनन तै पनि मेरो आडमा बसेर सभ्यता रोइरहेको मनले देखेँ । म यस भन्दा अगाडि करिब डेढ घण्टा पहिले मरिसकेको सबैले आश मारेको मानिस थिएँ यत्रो बेर त म लाशमा गनिएँ । सभ्यता भने हामिले गरेका बाचा अनि भविष्यका योजनाहरु सँझिदै घुक्क घुक्क गर्दै थिई । 

मलाई औडाहा भएको थियो जुरुक्क उठूँ अनि उस्लाई नरो काली भनुँ तर मेरो स्मरण शक्ति अनि माँशपेशीहरुमा शक्ति सञ्चय हुँदै थियो शुन्यबाट । कम्तिमा पनि डेढ घण्टा भए पनि मैले मृत्यूको अनुभव गरेँ । जब मैले पहिलो पटक आँखा खोलेँ शुरुमा मलाई अनुभवको केहि सँझना थिएन, मलाई यत्ति मात्र थाहा थियो कि म केहि समयका लागि भए पनि साँच्चै संसार छोडेर बाहिर गएकै हो त्यस पछि सोधेँ म साँच्चै ज्यूंदै छु आखिर जिवन भन्नु पनि त एउटा सपना जस्तै त रहेछ उता बाट यता हेर्दा । 

मेरा आँखा खुले जुरुक्क उठेँ, टेबलमा भएको जग बाट पानी पिएँ । आफैलाई छामे हात खुट्टाहरु जस्ताको तस्तै थिए, बाहिर निस्केँ सडक भरि बिस्कुन भएको मेरो सवारी हेरेँ त्यो पनि उस्तै थियो केहि भएको थिएन । आँखा छामे चिम्लिंदै हेर्दै गरेँ सबै सकुशल थिएं । सबै बेला मैले सपनाको यति याद गर्ने थिइन तर आज जिवनमा नयाँ खालका कुराको सिकाई भयो । मैले मेरो दिवँगत बाबाको काखमा सपनामै भए पनि एक छिन बस्न पाएँ बोल्न पाएँ सँगै रोयौँ हामि । सपनामै भए पनि मेरो लागी अर्को जुनीको अनुभव भयो । 

सभ्यतालाई फोन गरेँ हजुर खसम भनेर टोपलिई फोनमा । ह्याप्पी भ्यालेण्टाइन डे माइ डियर भ्यालेण्टाइन भने उसले मोबाइल फोन मै मिठो खाने कुरा पस्किदिई मख्ख भएँ । उस्ले पनि सेम टु यू बुढा मेरो प्यारो भ्यालेण्टाइन मेरो डल्ले भनी । अब अरु भन्नु पर्ने केहि बाँकि थिएन इशारा काफी थियो । म फेरि हावामा उडिरहेको थिएँ, घरी घरी चिमोट्थेँ फेरि यो पनि सपना त हैन भनेर !