Thursday 29 November 2012

जिन्दगीको कुइनेटो

बतासले उसको छोटो कपाल सकिनसकी हल्लाइरेको थियो सकेसम्म म उसलाई छेकिरहेकी हुन्थेँ तर ऊ चाहिँ मेरो लामो त्यसमा पनि हावाले लछारीरहेको केशलहरको भेलमा डुबुल्की मार्दै थियो धस्सिएर र त सँसार सुन्दर थियो । आकाश आकाश जस्तो नलाग्ने धरती पनि टेक्ने ठाउँनै नभएजस्तो लाग्ने, छाति भित्र मुटूनै नभएजस्तो लाग्ने, कसैलाई सापटी दिए जस्तो कस्तो कस्तो भइरहेको थियो । रातको समय जस्तो लाग्ने जून पनि घामझैँ गरि झलमल्ल भएका, कस्तो मात्तिएको मन्द उज्यालो भूईँ, कस्तो कस्तो लागि रहेको थियो । अझै शरीरमा प्राण नभएजस्तो लाग्ने सजाएर राखिएको प्यारो गुडिया जस्तै महूशुस भइरहेको थियो ।

अनि म गिज्याउँथेँ "ए मेरो शिरिश अब तँ मायाजाल भित्र छिरीस्, तेरो त अब माछाको चाल हुने भो" भन्थेँ, गाला चिमोटीदिन्थेँ । उसलाई जति गिथोले पनि सञ्चो मानेर बसिरहन्थ्यो, उसलाई रिस उठाउन म रुमालको फुर्को घुमाउँदै मठ्ठ्याएर नाकमा घुसारीदिन्थेँ अनि ऊ निधाएको बाघ ब्युँझिए झैँ गरि झम्टिन आउँथ्यो, ले ले को मैदानमा फणिन्द्र सँग कुस्ती खेल्ने झैँ गरि मलाई केटि मान्छे हो पनि नभनी गर्नु नगर्नु शास्ती दिन्थ्यो तर मायाले अनि ज्यानमा मार नपर्ने गरि । मलाई उस्ले यस्तै कुस्ती धेरै बेर खेलिरहे हुन्थ्यो झैँ लाग्थ्यो तर कति बेर पोर उ पनि त थाकेर स्याँ स्याँ गथ्र्यो, म चाहिँ लजाएर, हराएर टोलाइरहेकी हुन्थेँ ।

खोलाको किनारमा हिँडिरहँदा मेरो खुट्टामा ठेस लाग्यो अनि म घुन्तुनिँदै अगाडि लडेँ मरेँ बाबा भन्दै, ऊ पनि हतारिएर मलाई बचाउन आएको मै माथि पसारियो । "ओए डल्ले ! तँ चाहिँ मलाई बचाउन आको कि मार्न आको ? यहाँ आफूलाई कस्तो सास्ती भइराछ झन घोडामाथि चढे झैँ गर्छ" भनेर बाझे पछि उठेर मेरो पाखुरा समातेर कम्मरमा समातेर उठायो, छिरलिएको केश मिलाईदियो, अनि पहिले अनुहारमा लागेको माटो धूलो सफा गरिदियो । लड्दाखेरी उठेको ढुङ्गो छातिमा परेछ र सास फेर्न पनि एक छिन त कति गारो भयो । मैले यहाँ छातिमा लाग्यो बेस्सरी भनेँ उस्ले सुम्सुम्याएर मायाको मल्हम दलिदियो, आधि पिडा अनि आधि रोग त मलाई उस्को मायाले उस्को उपस्थितिले नै सञ्चो हुन्थ्यो ।

"सृष्टि खै देखाऊ कतै घाउ लाग्यो कि भित्र पट्टि ?" भनेर लाज पचाउन थाल्यो, "नकचरा बन्ठे हि ! हि !! हि !!! सुद्धि पनि कता हरायो तिम्रो ? यो मूलबाटोमा कसैले कपडा खोल्छन ? सकिन बा ! यस्तो बुढो छ कसरी पाल्ला मलाई ! दुइ पैसाको सुद्धि छैन " भन्थेँ मैले । अनि ऊ अलिअलि ठुस्किन्थ्यो म झन निहूँ खोज्न थाल्थेँ, साच्चै म ऊ रिसाएको अनि मैले फकाउन अनि त्यसपछि खुशीहुन मन लाग्थ्यो ।

"अझ त्यसमाथि नि माथि, उता ढुङ्गामा परेर मर्नु परेका बेला मै माथि घोडा चढेर हट हट गर्छ बालख जस्तो, त्यसको जात जनाएको होला नि लाज नभको कहिँको !" भन्थेँ । झन रातो पिरो हुन्थ्यो अनि ऊ रिसाउँदा नाकका छुसी हल्लिने गरि छिटो छिटो सास फेथ्र्यो अनि मलाई अब बाली पाक्न थालेछ रिसाउने खेतिको भन्ने जान्दथेँ अनि उसलाई फकाउन थाल्थेँ ।

पछाडि पनि केहि नदेखिने अगाडि पनि केहि नदेखिने, देखिने त केबल कन्दमूलका झ्याङ्गहरु, बनकेराका पाखाहरु, ऐँसेलु घारी अनि गजुल्टापरेका बाटो फनक्क पार्ने खाल्डाहरु । तल खोलाको पानी एकसरो सुसाइरहेको आवाजमा हाम्रा गफहरु पनि फितला हुन्थे घरी घरी । पानी खाँदै कन्दमूल खाँदै गिल्याउँदै जिल्लीँदै हिड्दा हामिलाई नकुनै जनावरको डर थियो न कुनै चिजको । हिँड्दा हिँड्दा यति थाकियो कि खुट्टामा कैँडा लागेर पिँडौलाको, तिघ्राको मासूको ढिक्को नै भक्कु पाउरोटी जस्तो खुट्टाबाट छुट्टिएजस्तो हुन्थ्यो घरी घरी ।

"ओए डल्लु, हेरन मेरो खुट्टाको मासु नै छुट्टिएर भक्कु पाउरोटी जस्तो भयो, कि मलाई बोक नत्र म त अब हिँड्न सक्दिन के , कस्तो दुख्या छ आफूलाई" भन्दै थिएँ । "पख न बेलुका म मालिस गरिदिन्छु नि ! कमसेकम बस्ने ठाउँ सम्म त पुग्नु पर्यो नि भुण्टी । तँ आफै हेर्दा नै भक्कु जस्तै छस अनि छुट्टिन्छ नि !" भन्दै गललल्ल गरेर पाखो हल्लाउन थाल्यो भुण्टेले ।

"पखन तँलाई ! मलाई हेपेर गिज्याएको हैन तैँले ? मेरो पनि पालो आउँछ के  भोलि ! मेरो डल्ली भन्दै आउन पर्ला नि ! ठिकै छ ! अहिले सके जति हास न तिमि म चाहिँ रोएर बस्नु ?

"तेरो फुस्कन लागेको पाउरोटी कसरी ल्याउनु पिँडुलाको मासु भनेर यसो सोचिरा नि!  हे ! हे !!

"अझै हाँस्छस चुप !!!" भनेर म पनि कराएँ अनि एक छिन चुपलाग्यो । मेरो रुफस्याक पनि आफ्नो झोला माथि खप्ट्याएर पसिना पुछ्दै नबोलि हिँड्न थाल्यो । हामि त नबोलि एक घण्टा हिँडेछौँ, मत हिँड्नै नसक्ने गरि फत्रक्कै भएँ अनि चौतारी मा थचक्क बसेँ तर शिरिश भने मलाई छोडेर अलि अगाडि गइकन कुइनेटोले छेलिइसकेको थियो ।

नेपथ्यबाट सृष्टि भन्ने आवाज आयो, मलाई लाग्यो उस्लाई के अप्ठ्यारोमा पर्यो अनि म पनि सबै भुलेर दौडिँदै गएँ, अनि म "शिरिश डल्ले कता छौ भन त" भन्दै चिच्याउँदै थिएँ उ त नजिइकै बाट भए जस्तो कता कता बाट कराएको सुनियो झन म अत्तालिएँ, ओए बुढा कहाँ छौ तिमि भन त भन्दै थिएँ, "यता थोरै तल हेर त म त सिस्नो भएको खाल्डोमा खसेँ, ऐइया ! आथ्थाथा !! छिटो तान न बुढि म त मर्ने भएँ " भन्दै थियो अनि मैले पनि हतारिँदै उसलाई मैले बेरेको शल पुग्न दिएँ र माथि आयो तर हात र गाला रातै बनाएर सहिनसक्नु भयो मलाई उसलाई मेरो काखमा लुपुक्क टाँसे ।

"तलाई डल्ले अगाडि मन्किँदै हिँड्याथिस नि, मलाई छोडेर हिँड्यौ भने यस्तै हुन्छ, इश्वरले तिमिलाई पाठ सिकाका हुन केहि हुन्न ल !"

"नबोल न डल्ली तँलाई मैले घुर्कीपो लाको हो इश्वरले हैन, तिम्रै बारेमा सोचिहिँड्दा खाल्डो पनि नदेखेर हो के !" भन्दा दुबैजना गललल्ल हास्यो सबै कुरा अब मैदा झैँ मसिना भए ।

एक छिन सुस्ताएर चौतारीमा बसिरहँदा धेरैबेरमा दाउरा लिएर आमाछोरी आए अनि बासको बारेमा सोध्दा "खै बाबु यता त बास पाइँदैन कता बस्छौ र हाम्रो पनि ओडारको बास छ तिमिहरुलाई कसरी बस भन्नु बरु मान्छे नभएनी उता अल्किति पर काठको गोठ छ कहिलेकाहिँ त आउँछन बस्न । नभएनी दाउरा छन अलि अलि अन्नपात पनि होला भाँडा कुँडा छन आँफै पकाएर खाओ दुइजना रचौ । "

काठको घर, डुब्न लागेको घाम, खोलाको सिरेटोको कानै छेऊबाट बग्ने सिर्सिरे बतासले  केश फहराइरहेको थियो । शिरिशले आगो बालिसकेको थियो घर अगाडि आँगनमा साना ठुला दाउरा मिलाएर । म घरी भित्र घरी बाहिर गरिरहन्थेँ । भित्र ओदानमा मैले मकै र भट्ट भुट्न तयारी गर्दै थिएँ । साथमा भएको टर्च लाइट बालेर बाहिर करेसाबारीमा म साग टिप्दै थिएँ । कति मज्जा, उता बजारमा एक मुठा सागलाई कम्तीमा ३० रुपैयाँ तिर्नु पर्छ यहाँ सित्तिमा त्यहि पनि ताजा अनि काँच्चै खाउँ जस्तो । गोठमै भएको मरमसला बटुलेर ढुङ्गाको सिलौटामा पिसेँ अनि मकै र भट्ट, सागको सब्जी अनि लोकल गोलभेँडा आगोमा पोलेर त्यसमा जीरे खुर्सानी नून अनि टिमूर राखेर ट्वाक्क बनाएँ ।

"मनभरी यति माया भएर पनि मैले किन निकाल्न नसकेको होला मेरो बुढी भन त, खै आजसम्म त यता हिँड्या उता हिँड्यो केहि कुराको मतलब थिएन, के गर्यो तिमिले मलाई मेरो त मुटुको डल्लो नै बाहिर छ पो जस्तो लाग्न थाल्यो सानु, तँ ढ्याउँसे काली ।"

"अन्त बुढा मैले भन्नेकुरै तिमिले पहिला भन्यौ अब के उत्तर दिउँ तिमिलाई म तिमि आफै खोज मेरो मन भित्र तिम्रो उत्तर अब के बाँकि छ र ।" आगो पनि दन्किएर सकियो मुढामा राप र त झन गाढिँदै थियो, रात निकै परेछ त्यसैले हामि गोठको धन्सारमा सुत्नका लागि गयौँ । मालिस गर्नका लागि तेल नभए पनि मेरो गोडामा, तिघ्रामा शिरीशले मालिस गरिदियो, मैले पनि उस्को पैँचो तिरेँ । दिनभरीको थकानले अनि जाडोले पनि हामि लुपुक्क सुत्यौँ उत्निखेरै निधाइएछ, भोलिपल्ट बिहान उज्यालो हुन्जेल सुतिएछ, चराहरुको चिरबीरले हामिलाई ब्युँझायो अनि उठेर बेलुकाको असरल्ल मिलाएर हामि फेरि त्यहाँ बाट हिड्यौँ ।

मैले देखेको सपनामा, मैले सोचेको सँसारमा मैले शिरीशलाई पाएँ, उसको बिगत प्रति उसको अतित प्रति अनि उस्को परिबेश प्रति मेरो कुनै पूर्वाग्रह छैन । मैले सपनामा चिताउँदा, मनले मिस गर्दा टुप्लुक्क आइपुग्छ, जुन माध्यमबाट जसरी भए पनि । मैले सोचेकी थिएँ यस्तो कसरी सँभव हुन्छ तर उस्ले सबै सँभव तुल्याई दिएको छ, सँसारलाई अनि दुरीलाई सुगम बनाईदिएको छ । मलाई उस्को मायाप्रति को बिश्वास प्रगाढ छ, बास्तवमा म उसैका लागि जन्मिएकी हुँ, उसैकी भएर रहने छु अनन्तकालसम्म र जुनी जुनी सम्म पनि ।

No comments:

Post a Comment