Saturday 9 February 2013

YOU ARE MY VALENTINE & MORE

मलाई लाग्दैन सभ्यताको र मेरो सम्बन्ध कुनै कथा जस्तो हो तै पनि मैले हाम्रा अनुभव एवँ अनुभूतिहरुलाई कैयन कथाहरुमा कहिँ आधा कहिँ साठी बनाएर मिसाएँ । सत्य तथ्य अनुभूतिहरुलाई अनि मनका तरङ्गहरुलाई मायाका छालहरुमा हल्लाई दिएँ । कहिले सपनामा देखेँ त कहिले बिपनामै आत्मसाथ गरेँ उसलाई । तर यो प्रेम दिवस अर्थात भ्यालेण्टाइन डे अबसरमा सँझन योग्य पात्र भने मेरा लागि नृपेश र आयुशी हुन । मैले बुझेको परिबेश र परिस्थिति अनि मेरो नजरबाट देखिएको परिदृश्यलाई शब्दमा डोर्याउने कोशिशमा छु म ।

कति तितो जिन्दगी भोगेको छ नृपेशले जन्मै देखि । कोहि मान्छेहरु जहिले पनि दुख पाउनकै लागि मात्र जन्मन्छन भन्ने जस्तो लाग्दथ्यो जहिले देखि म उसलाई चिन्दथेँ । उसको मानसिकतामा अथवा ज्ञान चच्छुले आफ्नी आमाको बात्सल्यता त अनुभव गर्नै पाएन त्यहि भएर अहिले पनि अपूरो देखिन्थ्यो ऊ । उसका बाबु पनि ऊ सानै हुँदा स्वर्गे भए, मैले पनि अलिअलि जान्दछु कडा मिजासका तर मनमा पाप केहि नभएका अनि सबैको गरि पुर्याउन खोज्ने र गरिपुर्याउँथे पनि ।

नृपेशले त्यहि चोटै चोटले भरिएको चारै तिरबाट कुच्चिएर कुरुप भएको गाग्री जस्तो मनस्थितिमा पनि आफ्नो जिन्दगी यस्तो होस भनेर सोचिरहन्थ्यो । आफ्नो घरमा आफन्तहरुको आवत जावत भइरहने निकै चहल पहल अनि सबै गाउँ छिमेकीहरुको सेवामा हरपल उपलब्ध भइरहन पाउने अबस्था अनि घरपरिवारको सहयोग होस भन्ने पनि चाहन्थ्यो ऊ । अरुका परिवार देखेर राम्रा कुराहरु मेरा पनि यस्तै भइदिए भनेर सोच्दथ्यो । जिवन यसै गरि बित्दै थियो नृपेशको अब त ऊ पनि १२ कक्षा पढेर पनि पास भइसकेको थियो ।

एक दिन पल्लो गाउँ जाँदा हिँड्दा हिँड्दै कमजोरीले ऊ बिच बाटोमै ढल्यो, अरु साथीहरु अगाडि थिए ऊ ढलेको कसैले पत्तो पाएनन । एक छिनमा ब्युझिँदा एउटी नानीले कर्कलो को पातमा पानी ल्याएर खुवाउँदै थिई अनि ब्युँझे पछि ऊ पनि फुत्त भागी लाजले हो कि के ले हो थाहा भएन । दुबैले दुबैलाई देखे एक आपसमा चिने तर को कसको छोरो को कस्की छोरी कहाँ हो घर केहि थाहा भएन तै पनि नृपेश चाहिँ धेरै बेर सम्म उस्को बारेमा घोरिइरह्यो । यसो नाम भनेर गएको पनि त हुन्थ्यो कतै बाटो घाटोमा भेट हुँदा नाम बोलाएर तिमिलाई मूरी मूरी धन्यवाद छ भन्न त हुन्थ्यो, भैगो भनेर जुरुक्क उठेर हिँड्यो । तै पनि मनमा चिसो बनेर बसिरह्यो उस्को तस्वीर केहि भन्न नपाएर मन पोलिरह्यो ।

उस्ले सोचेको उस्को भविष्यकी ऊ पात्र बन्न लायक थिई उस्को नजरमा तै पनि एक छिनभरमै कता हराई कता, के भनेर खोज्नु कहाँ खोज्न जानु, न साइनो न सम्बन्ध अझ नाम समेत थाहा नभएको मान्छेलाई खोज्न अगाडि कुनै मुख्र्याइँ गरेन उस्ले । समयले पनि अनेकौँ डाँडाकाँडाहरु मा उकाली ओराली गर्दै थियो, जुँगाका रेखी पनि अब त परिपक्व पनि हुँदै थिए । उसका आफन्तहरुले बिबाहको कुरा चलाए र पनि ऊ एउटामात्र शर्त राख्यो कि ऊ एक्लो मान्छे लाई सम्पूर्ण सदस्य भएको परिवारमा गर्नु पर्छ मात्र अरु चाहिँ उस्को कुनै शर्त थिएन । सानै देखि उसले ख्याल गर्ने कुरा उस्को आफ्नो स्वाभिमान र हैसियत थियो ।

समय फेरियो परिस्थिति फेरियो जिवनको नक्शा पनि फेरियो जिम्मेवारी र दिनचर्या हरु पनि फेरिए । शायद उसलाई उस्को जिवन पूर्ण भए जस्तो पनि लाग्यो र सबै छोडेर एकोहोरो परिवार प्रति नै पूर्ण जिम्मेवार भयो हद भन्दा पनि बढि । बिस्तारै बिस्तारै उसको सदासयता अरुका लागि उस्को कम्जोरी ठहरियो । उस्ले सोचेको गाउँ छिमेकमा नाता गोतामा नाता सम्बन्धहरु टाढा टाढा हुँदै जान थाले । सोचेको ठिक उल्टो हुन थाल्यो, अनि आफ्ना हरेक तर्कहरु परिवारबाट कुतर्क सावीत हुन थाले अनि बोल्नु भन्दा नबोल्नु ठिक ठानेर बिस्तारै पारिवारिक सम्बन्धको छेऊ बाट पहिरो जान थाल्यो । ऊ मन भक्कानिएर रुन खोज्दा पनि आँखाबाट आँशु बगाउन नसकेर कति पीडित भएर बस्यो । कति दिन खाइ नखाई पनि बस्यो तर उस्को कन्तबिजोगमा सान्त्वना दिने कोहि भएनन, खेदो खन्ने नै धेरै भए ।

खपि नसक्नु भयो जिन्दगी यो त फोर्न नसकेको पिलो जस्तो हरपल बल्किरह्यो । फेरि उहि अतितको अर्को पाटोमा पुग्यो ऊ उहि पात्र लाई सम्झियो, शायद जिवनमा यस्तो त कसैलाई पनि नपरोस भनेर दश औँला जोडेर चिताउनु बाहेक ऊ सँग केहि बाँकि रहेन । कोहि त्यस्तो हात भेटिएन जसमा समातेर जँघार तर्न सकियोस । खोलाको बिचमा आएर जिन्दगी दोधारमा पर्यो उसको, धेरै समय सोचे पछि उसमा नयाँ अबधारणा आयो कि जिवन अब आफैमा पनि बाँड्न सिक्यो उसले । जिवनलाई सार्वजनिक र नीजि जीवनमा दुइ चिरा पार्यो, नीजि कुराहरुलाई र सार्वजनिक कुराहरु एक आपसमा छुट्टिए अनि बल्ल उसलाई हल्का भयो उस्को बाँच्ने आधार अब सार्वजनिक जिवन होइन नीजि जीवन हो भनेर बल्ल मन स्थिर भयो र सोच्न सक्ने शक्ति मनमा आयो ।

नृपेशको जिवन प्रतिको फरक परिभाषा सँगै उसको बैबाहिक जिवन अब सँझौतामा परिणत भएको थियो । जिम्मेवारी र कार्यसूचीहरु लिखीत बुँदामा भएका शर्तहरु जस्ता भएका थिए । तर जिवन साँच्चे खस्रु जस्तै अररो भएको थियो उस्को । उस्ले आफ्नो नियमित रुपमा अफिसमा १० देखि ५ को जागिर पनि छोडेर आफ्नै काम गर्न लाग्यो जस्ले उसलाई कहिलेकाहिँ बहकिन घर छोड्न सजिलो हुन्थ्यो । उसलाई सबभन्दा मन पर्ने एकान्त भयो, उसको सृजनशीलता एकान्तमै फुर्दथ्यो । उसले पनि अब फरक जिवनशैलीमा आफूलाई ढाल्न थाल्यो । अब त नसोचेरै पनि उसलाई खोजीरहने उसको बानी भयो । बिहानै उठेर सोच्ने बिषय बन्दथि आयुषी ।

समयले आयुषीको तनलाई पनि हर्लक्कै बनाइदियो । ऊ पनि केटीबाट तरुनी भई, चियापसलमा घर घरमा उसको मिजास देखेर उसको लगन जुराइदिने अनि कालान्तरसम्म जस लिइरहन उस्को बिहाको कुरा प्रतक्ष्य अनि अप्रतक्ष रुपमा लिएर आउने धेरै भए । उसको घरमा अब त बिहाको रन्को छुट्न थाल्यो । आयूषीको मन पनि उस्तै पोलिरहेको थियो जुन नृपेशको हालत थियो । उनीहरु आपसमा एक शब्द नबोलेरै पनि एक आपसमा खोजिरहेका थिए । अब त नृपेश सँग छुट्टिएको पनि पाँच बर्ष बितेछ तै पनि उसले मनबाट नृपेशलाई हटाउन सकिन । मनमा अठोट थियो मेरो प्रथम पुरुष छ भने उहि हो नत्र म बिबाहनै नगरि बस्छु भनेर घरमा पनि भनिदिई जे हो त्यहि । उसको मिजास अनि अहिले सम्मको ब्यबहारले घरमा पनि उस्को कुरा कसैले हारेनन अनि बहिनीको बिबाहको कुरा चल्न थाल्यो बिहे पनि भयो तर पनि उसको रौँ पनि हल्लिएन ।

उसले आफ्नो स्नातकको पढाई सकाएर एउटा परियोजनामा सामाजिक परिचालकमा काम पाई अनि त्यसैमा दिलो ज्यान दिएर लागि । उसलाई आफ्नो भूमिका र सुरक्षा प्रति बढि चासो हुन्थ्यो । अब उसलाई कामकै शिल्शीलामा पनि नृपेशलाई खोज्न सजिलो हुने भयो । तर के भनेर खोज्ने, कुन ठाउँमा खोज्ने भन्ने सन्नाटा मनमा छाइ रह्यो अझै रहस्यमय मँगलग्रहको कथा जस्तो पनि हुन्थ्यो घरी घरी । उस्का आँखा पत्रिका पानामा हरेक फोटोहरुमा छिरलिन्थे अनि टिभिमा पनि त्यस्तै थियो ।

एक दिन आयुषी भाउजुको माइत गइ भाउजु सँग अनि त्यहाँ एल्बममा नृपेशको फोटो देखि अनि भाउजुलाई सोधी । भाउजुले बेलिबिस्तार लगाइदिनु भयो नाम घर ठेगाना सहित र उसलाई अलिकति समाउने हाँगो फेला परेजस्तो पनि भयो त्यतिबेला । अनि उस्ले त्यहि ठेगानामा पत्र लेखी र हुलाकमा राखिदिई । अनि दुई हप्ता पछि त्यहि पत्र फिर्ता भएर आयो घरमा कोहि नभएर । अनि फेरि भाउजुलाई सोधी सबै कुरा बताई, भाउजुले पनि चासो दिएर ऊ घरमा भए नभएको छिमेकीको मोबाइलमा फोन गरेर सोध्नु भयो तर उनीहरु त ४ बर्ष अगाडिनै गाउँ छोडेर हिँडेका रे कहाँ बसाईँ सरे गाउलेलाई कसैलाई पनि थाहा नभएको बताउनु भयो ।

उसले साथीहरुले फेसबुक एकाउण्ट खोलेको साथीहरु खोजेको च्याट गरेको म्यासेज गरेको देख्दथी तर आफूलाई फेसबुकको कुनै काम नभएको ठान्दथी । चाहिने नचाहिने मानिसले उर्मिलालाई ट्याग गरेर फोहोरी तस्वीरहरु राखेको पनि हेर्थि कहिलेकाहीँ र त फेसबुक मन पर्दैनथ्यो उसलाई । उसलाई नृपेश भन्दा अरु सँग च्याट गर्नु म्यासेज गर्नु केहि थिएन । तर अब आबश्यक भयो कतै खोज्दा फेसबुकमा नृपेश भेटिन्छ कि भनेर उर्मिलाको सहयोगमा नयाँ फेसबुक खाता खोली अनि दुबै जना मिलेर नृपेशलाई खोजे । अब त उसको टोलभरी थाहा थियो ऊ नृपेशलाई मन पराउँछे भनेर तै पनि उसलाई कसैले गलत रुपमा लिँदैनथे । नृपेश भेटिएन कतै पनि, कुनै पनि नृपेश नामको मान्छे उसको हुलिया सँग मिलेन फेरि निराश भई उत्निखेरै एकमनले फेसबुक एकाउण्ट बन्द गरौँ जस्तो भयो तर सम्हालिई एक छिन ।

यता नृपेशले पनि नयाँ फेसबुक एकाउण्ट खोल्यो अनि उसकी पात्रलाई खोज्न थाल्यो तर उस्को अझै नाम सम्म थाहा थिएन तै पनि उस्को ठेगाना भएका ठाउँका आई डि हरुको खोज गर्न थाल्यो सबै फोटोहरुमा आँखा बिछ्यायो तै पनि उसकी पात्र भेटिइन । यो सँसार पनि कति ठूलो रहेछ जस्तो लाग्यो उसलाई तै पनि हरदम प्रयास छोडेन एक दिन त कसो नभेटिएला । हेर्दै जाँदा अर्कै साथीको पिकनिकको फोटोमा उसकी पात्रलाई देख्यो पहिलो पटक र त्यो आई डि को मान्छेलाई सोध्यो च्याटमा अनि उसले पनि नाम र अन्य सामान्य जानकारी दियो, तर अफशोच आयुषी ३ बर्ष अगाडि देखि घर नआएको थाहा पायो । नृपेशको मनमा चिसो भयो, कतै बिहा गरेर पो गई कि भन्ने तै पनि के भयो र मैले पनि त बिबाह गरेँ नि भनेर चित्त बुझायो । जेहोस भेट्न मात्रै पाए पनि हुन्थ्यो झैँ भयो उसलाई । अनि आयूषी भन्ने नामबाट खोज्दा फेसबुकमा उसको आई डि फेला पार्यो, उसले हिजो मात्र खाता खोलेको पनि थाहा पायो अनि मन अलि हलुका भयो अब भेटिने सुत्र त फेला पर्यो । अनि फ्रेण्डशीप एड गरेर लग आउट गर्यो ।

आयूषीले एक दिन नृपेश एउटा तालिममा पढाउँदै गरेको फोटो पत्रिकामा छापिएको देखि तर कुन ठाउँ भन्ने तस्विरमा खुलेन अझै पनि उस्तै लाग्यो नृपेश उस्तै रैछ कत्ति नफेरिएको जस्तो लाग्यो । उसले मनमनै म त हर्लक्कै बढेँ पहिला जस्ती छैन ज्यान पनि चौडा भएको छ भनेर गम्दै थिई । फेरि पनि नृपेशको बारेका ठोस जानकारी थिएन उसलाई आशाहरु मनमा हुँदा हुँदै पनि ऊ अझै खोजीमा भौँतारिइरहेकी थिई । उस्का लागि उस्को जीवन त रातोमाटोको डल्लो जस्तै भएको थियो तै पनि फेसबुकमा, पत्रिकामा टेलिभिजनमा एफ एममा सुन्न र हेर्न बाँकि राख्दिनथी । एक दिन टिभिमा एउटा सानो अन्तरवार्तामा नृपेश झुलुक्क देखियो अनि पलेटी कसेर बस्न नपाउँदै बत्ति झ्याप्प गयो अनि फेरि कहाँ के भनेर जान्न पाईन यो बत्ति पनि यहि बेला जान्छ कत्ति बेइमानी अनि निष्ठूरी झैँ लाग्यो ।

पर्सि पल्ट फेसबुक पोष्टमा छोटो चिठि लेखेर नेपाली युनिकोडमा पोष्ट गरि । त्यतिबेला पनि धेरै फ्रेण्डशिप रिक्वेष्टहरु थिए चाङ्ग भरि उसको त्यता ध्यान गएन अझै भन्दा जहाँ नृपेश छैन त्यहाँ आयुषिको ध्यान हुँदैनथ्यो । उस्ले साइनआउट नगर्दै एउटा म्यासेज आयो र खोलेर हेरि यसै यसै हेरिहालौँ के रैछ भनेर ।

मेरी प्रिय साथी आयूषी, मैले तिमिलाई कहाँ कहाँ खोजिन, खोज्दा खोज्दै लखतरान हुँदा पनि म तिमिलाई भेट्टाउन जहिले पनि असमर्थ भएँ तर आज म धन्य छु लाग्यो म आज सफल भएँ, शायद जिवनको सबभन्दा अप्ठेरो परिक्षा पास गरेँ । अझै खुशी त्यतिबेला हुने छु जतिबेला तिमि मेरो फ्रेण्डशीप एसेप्ट गरेर म सँग अनलाइनमा कुरा गर्ने छौ या मलाई यसको जवाफ को म्यासेज पठाउने छौ ।

अब त आयूषिको खुशीको सिमानै रहेन तै पनि त्यतिबेला नृपेश भने अफलाइनमा थियो । उसलाई नृपेशको औधि माया लागेर आयो भेटेँ भने त दौडिँदै गएर झम्टौँ झैँ लाग्यो उसलाई अनि भाउजुलाई अनि आमालाई फोन गरि मेरो नृपेश फेला पर्यो भनेर । आज उस्को अनुहारमा अर्के चमक छाएको थियो बास्तवमा जिवनमा पहिलो पटक यति धेरै खुशी थिई । अनि उस्ले पनि त्यहि म्यासेज बक्स मा नृपेशलाई उत्तर लेख्न थाली । उसले नृपेशलाई लेखेको पहिलो पत्र फर्केको अनि मन अमिलिएको यादहरुलाई खुच्चिङ्ग गर्न पाई आज ऊ ।

मेरो प्रिय हजुर, म आज अति खुशी छु, बल्ल आज जिवन ज्यूँदो र सार्थक भएको छ, म आज हजुरको म्यासेजले मौलाएकी छु । हजुरसँगको सम्बन्ध मेरो लागि सम्बन्ध मात्र रहेन । मैले हजुरको जिवनमा अधिकार जमाउन खोजेकी होइन, मैले त हजुरको मनमा सानो ठाउँ खोजेकी हुँ । हजुरको नीजि जीवन प्रति अनि बाध्यताहरुमा अनि जिम्मेवारीहरुमा कुनै अप्ठेरो पार्न चाहेकी हैन तै पनि हजुरको उपस्थिति र स्थान सर्वोच्च हो मेरा लागि । हजुर जहाँ भए पनि जस्तो अबस्थामा भए पनि हजुर मलाई आफ्नो लाग्छ खै किन हो थाहा छैन । यो म्यासेज पढ्दा हजुरलाई अचम्म लाग्ला । मलाई कहिले पनि गलत नसम्झनु होला । म हजुरको स्टुपीड साथी हुँ, मलाई मात्र हजुरको मनमा एउटा साथीको स्थान दिन होला त्यति भए मलाई पुग्छ, एक्लै ज्यूँन त मैले सिकेको छु आफ्नै अतितबाट ..............
उहि हजुरकै स्टुपीड साथी आयूषी

बत्ति नआएको पनि आज त ५ घण्टा बितेछ ल्यापटपमा पनि चार्ज थिएन, उसलाई खुल्दुली थियो आफ्नो म्यासेजको रिप्लाई कतिबेला आउँछ भनेर । अनि झट्टपट्ट मोबाइल पसलमा गएर इन्टरनेट एक्टिभेट गरायो मोबाइलमा फेसबुक चलाउन । पहिलो पटक मोबाइलमा फेसबुकमा लग इन गर्यो, नोटिफिकेशनमा र म्यासेजमा अँकहरु थिए त्यस मध्ये आयुषीले उसको फ्रेण्डशीप एसेप्ट गरिसकेकी थिइ र म्यासेज पनि थियो साथमा । आयूषि त्यति बेला पनि अनलाइनमै थिई । पहिला आयूषिले उ सँग फोन नं. मागी अनि दुबै जनाले फोनमा कुरा गरे बल्ल उघ्र्यो दुबैको मनको ढोका अनि खुलेर कुरा गरे आज मोबाइलमा दुबै तिरको पैसा सकिने गरि ।

आयुषीको कामको दौरानमा कहिले कहाँ कहिले कहाँ हिडिरहनु पर्ने हुन्थ्यो । त्यहि दौरानमा आयुषी र नृपेशको पनि भेट भयो । आ आफ्ना मनका भारीहरु बिसाए दुबै जना । समस्या अनि परिस्थितिहरु पनि बिसाए । यस्तै क्रममा अरु एक दुइ पटक पनि भेट भयो । भेटमा नितान्त घर सल्लाहका जस्ता कुरा बुढा बुढी बिच हुने जस्ता कुरा हुन्थे दुबैको एक आपसमा कुनै सँकोच थिएन । नृपेश पनि कामको शिल्शीलामा १५ दिनका लागि कर्णाली जानु पर्ने भयो र आयुषी सँग बिदा मागेर हिँड्यो ।

यता एक हप्ता देखि नृपेश सँग फोन म्यासेज केहि पनि भएको थिएन आयूषीको । उराठे डाँडा जस्तै हुन्थ्यो मन उसलाई अनलाइनमा नदेख्दा तर आज दुइ हप्दा बितिसक्दा पनि नृपेशसँग कुरा हुन पाएको थिएन । फोन गरुँ फोन लाग्दैन, न फेसबुक चल्छ न मोबाइलमा कुनै म्यासेज जान्छ । मन हुर्हुरी हुन थाल्यो आयुषीको । आयूषीले उस्को साथी मार्फत उस्को घरमा सोध्न लगाई त्यहाँ त एक हप्ता त के एक महिना एक बर्ष नआए पनि हाइ सञ्चो रैछ । उस्ले नृपेशले भनेको झल्झली सम्झी मनले मनलाई नचिने पनि यस्तै हो भनेर चित्त बुझाई ।

आयूषीले फेरि उस्को साथी मार्फत उस्लाई तािलममा पठाउने सँस्थाको फोन नं लिएर कुन ठाउँ हो भनेर पत्ता लगाएर त्यहाँको गाउँ बिकास समितिको कार्यालयमा भएको एक मात्र सिडिएमए फोन गरेर दुइ घण्टामा फोन गर्छु बोलाइदिन भनी । दुइ घण्टा पछि एउटा भोटे दाई बोल्नु भयो, मास्टरबाबु त १० दिन देखि लेक लागेर इन्तु न चिन्तु भाछ, अबो त लामाले पनि सकेन अनि आजै बिहानै डोकोमा बोकेर बेसी झारेछ बैनी, मलाई त तो बाबुको सारै माया लागो, निदैमा बर्बराएर आउसी आउसी भन्थो के भनेको हो । उसका आफ्ना मुन्छे पनि हैन्चन कि के हो भन्दै हुनु हुन्थ्यो । उसले बिचैमा कुरा काटेर त्यो ठाउँमा आउने बाटो सबै सोधी र फोन राखीदिई ।

उसलाई झन सहि नसक्नु भयो, अनि झोलामा २ जोर कपडा हाली अनि दराजबाट भएका सबै गहना पैसा पोको पारेर हिँडी तार्घाबेँसी तिर । एक दिनभरको यात्रा पछि एउटा बजारमा पुगी साँझ पनि झमक्कै पर्यो । भोलि बिहान ५ बजे मात्र त्यहाँ बाट जिप चल्दो रहेछ अनि एक दिन त्यहिँ बसी । मन त चिरा चिरा भइरहन्थ्यो आयूषीको घरी घरी, निदाउनु त परै जावोस एक रात पनि एक जुनी जस्तै भयो । बिहानै जिप चढेर सैली खोला पुगी अनि आधा दिनको बाटो हिँडेर तार्घा बेँसी पुगी र झटपट त्यहाँको स्वास्थ्य केन्द्र पुगी ।

उसलाई भेटे पछि लामा दाइले अनि दिपक ले तपाईँ नै हो आयूषी बैनी भनेर सोध्नु भयो उस्ले नधानिएको टाउको पनि धानेर हल्लाई हो भनेर ।  अनि दाइले बल्ल मास्टरबाबुको परान छिर्ने भयो आँगमा नत्र बैनी २  ३ दिन पनि के हो के हो जस्तो थियो भको थ्यो भनेर भन्नु भयो । दिपक र लामा दाइको अनुहारमा पनि अलि चमक भरियो, निधारमा आशाका रेखीहरु तैरिए त्यो सबै पहिले पढि आयूषीले अनि मनमनै धन्यवाद दिई ।

हेर्नुस त म आएँ भनेर उस्ले नृपेशको निधारमा मुसारी, उस्का आँखाका परेली अलि अलि नजानिँदो चल्मलाए, खुट्टाका कान्छि औँला थरथराए, ओढहरु कलेठी हल्लिने गरि काम्न थाले । पहिलो पटक बोलेको ऊ गए पछि उस्कै नाम थियो आयूषी । आयूषी सम्हालिन नसकेर भक्कानिई एक छिन, अलिकति खुशीले, त्यो भन्दा धेरै बेदनाले अनि त्यो भन्दा पनि धेरै मायाले ।
 
अर्ध चेतन अबस्थामा पनि नृपेशले निधारमा न्यानो स्पर्शले छामेको अनुभव गर्यो । उसका आँखा अहिले पनि बन्द थिए चाहेर पनि उघार्न सकिरहेको थिएन तै पनि स्पर्शको शक्तिले अर्ध बेहोशीमै मन जुर्मुराउँदै थियो, उसलाई थाहा थियो यो अनुभव अरु दिन भन्दा फरक थियो साँच्चै ओखती भन्दा पनि बढि उपचार थियो यो स्पर्श । मन पलाउँदै आउन थाल्यो बल्ल जिवन प्रति आशा पलाएर आयो, अनि आफूसँग बचेको तागत जम्मा पारेर बल्ल बल्ल सकि नसकि आँखा उघार्यो । उस्को अगाडि उहि लामा दाई र दिपक भाई थिए तै पनि उस्को मन मानेर अर्को सिरानी राखेर टाउको अग्लो गराइदिन इशारा गर्यो ।

उता उल्टो फर्केर एउटी केटी मान्छे रोइरहेकी देख्यो शायद आफ्नो हालत देखेर होला भन्ने ठान्यो अनि आयूषी यता आऊ म ठिक भएँ हेर त भनेर पहिलो पटक पूरा बाक्य बोल्यो धेरै दिनमा । नृपेशले आयुषी भनेर बोलाउँदा उस्को मन हलुका भयो । आँशु पनि कति बग्न सकेका गण्डकी बगे जस्तै, यो त मायाको मूल पो रहेछ जुन मनको सागरमा गएर बिलिन हुन्छ अनि हरपल डुबाइरहन्छ जुरो सम्म भन्ने लाग्यो उसलाई । अझै पनि नृपेश पुरा होशमा आइसकेको थिएन उसका आँखा अझै बन्द थिए । आयूषी बिरामीकै खाटमा गएर उस्को काखमा राखेर बिरामी भए देखि काट्न नसकेका दाह्री मुसार्दै बसी ।

आज कति सुन्दर भएको मेरो नृपेश मेरो मनको सँसारको पति देव झै लाग्यो आयूषीलाई । सयौँ बर्ष पहिले देखि उनीहरु श्रीमान श्रीमति नै हुन झैँ लाग्यो । एक घण्टा जति आयूषीकै काखमा निदायो नृपेश अनि आफ्नो सपना बिपना मा सजाउने नृपेशलाई यो हालतमा पनि भेट्न पाउँदा सँसारकै भाग्यमानी मान्छे सम्झि आफूलाई आयूषीले । जब ऊ आयूषीको काखमा निदाएको थियो, उसलाई जीवनको अति सूनौलो स्वर्गमा प्रवेश गरेझैँ भयो । जिवनलाई जस्तो बनाउँछु भनेर उहिले सोच्दथ्यो त्यो साकार भए जस्तो आभास भयो । ऊ आँखाले निधाए पनि मनले निधाएको थिएन ।

कति दिन देखि अन्न नखाएको मान्छे निद्राबाट ऊ ब्यूँझिए जस्तो गरेर आयूषी मलाई त भोक लाग्यो भन्यो । अब छिट्टै निको भएर यहि हामि आएको बाटो तिमि सँग हात मिलाएर हिँड्न अनि डुल्न मन लागेको छ भन्दै थियो । नृपेशले खाना माग्दा आयूषीलाई उस्की पत्नी हुनुको जिम्मेवारी थपियो । एक मुठी चामल मा दाल सबै मिसाएर जाउलो अनि लेकाली साग पुरुक्क पारेर ल्याइदिई र धेरै दिनमा अन्न र नून उसको शरिरमा छिर्यो । अनि ३ ४ दिनमा नृपेश अलि उठ्न अनि हिड्न सक्ने भयो ।

उसले तालिम दिएका बिद्यार्थि तथा अभिभावकहरु पनि बेशी झरे । उनीहरु दुबैलाई फूल माला लगाइदिए अनि फेरि माथि गाउँ जान कर गरे । उनीहरुले पनि नकार्न सकेनन । एक दिनका लागि भए पनि माथि हिँडे । सानो साँस्कृतिक कार्यक्रम पनि भयो आयूषी पनि नाची अनि नृपेशलाई पनि नचाई थोरै थोरै । अन्तमा आयूषीले सबै गाउँलेहरुलाई उस्को नृपेशलाई बचाइदिएकोमा हजुरहरु प्रति जिवनभरी ऋणी छु भन्दै आँखाभरी आँशु पार्दै धन्यवाद दिई गाउँलेहरु पनि रसाए । लामा दाइले अर्धाङ्गिनी हुनु त यस्तो अनि बुढाबुढी हुनु त यस्तो भनेर उनिहरुलाई शुभकामना र आशिर्वाद दिनु भयो ।

सबै सँग बिदा बादी भएर हात हल्लाउँदै उनीहरु पनि भोलिपल्ट साँझमा बेसी झरे । बेसीमा उहि दिपक भाई र लामा दाई हुनु हुन्थ्यो । निकै रात सम्म पनि दुख सुखका कुरा भए रुँदै हाँस्दै । त्यहि दिन थियो आयूषीले श्रीमान सँग वास्तविक भ्यालेण्टाइन दिवस मनाइरहेकी थिई । नृपेशले बिरामी हालतमै मोबाइलमा नेटवर्क नभएर पेण्डीङ्गमा रहेको Happy Valentine my Aayushi !! You are my Valentine, You are my life & more ...  भन्ने म्यासेज देखायो । आयूषी पनि नृपेशको नाक समातेर Same to you & More ... भनी अनि बाँकी दुइ जनाले ताली बजाए त्यति बेला सम्म रातको २ बजिसकेको थियो ।

No comments:

Post a Comment