Sunday 5 August 2012

आँखाले रुनेहरु र मनले रुनेहरु


कपाल खौरेर कोहिले टाउकोमा रुमाल बाँधेका, कोहि ढाका टोपी हातमा पट्याएर खुइय गर्दै हिँडेका, हतारिइरहेको दृश्य मैले देखि रहेको थिएँ । म निदाएकै थिइन सबै कुरा मैले थाहा पाइरहेको थिएँ । मेरा हात खुट्टाहरु फेन्सी पसलेले कपडा पट्याए झैँ पट्याएर कसेर बाँधिएको थियो । हरियो बाँसमाथी टाउको अड्काएर बाँध्दा पनि मलाई आराम भइरहेकै थियो । हिजो सम्म पलङ्गमा अनि त्यसमाथि डसना अनि आरामदायी तकियामा बिसाउने ज्यान आज झन हिजो भन्दा सजिलो अनुभव भइरहेको थियो । मैले कहिल्यै नदेखेका अनुहार पनि मलिनो अनुहार बनाएर लुरुलुरु हिँडेको पनि देखेँ । राम राम सत्य हो भन्दै भट्याउँदै माइला दाई बाटोमा धानका फूल छर्दै थिए । अस्ति ओढेको मुलायम कम्बल (ब्लाँकेट) भन्दा आज यो कात्रोले कति न्यानो बनाएको मलाई, सोँचेँ म नमर्दै यो कात्रो ओढ्न पाएको भए कति न्यानो हुन्थ्यो होला, अभावमा जहिले पनि म सिरक भित्र कहिल्यै पनि तातिन कठ्याँग्रीइ रहेँ ।

एक हप्ता अगाडि म लमतन्न भएर सुतिरहँदा, कोल्टो फर्किन नमिल्दा श्रीमती उस्का सैँसाथेहरु सँग बजार गर्न गई, म कति असमटिएँ तिर्खा लाग्यो र पनि पानी खान पाइन, मलाई आफ्नै ज्यान भारी भयो, सोचेँ म नै यो पृथ्वीको भार रहेछु , यसरी त कोहि पनि नबाँचोस, आज उसैले मरे पछि मेरो सास गएपछि नरोएरै रुँदै मेरो मुत्युउप्रान्त मुखमा पानी हालिदिई र बल्ल अस्तिको तिर्खा मेटेँ मैले अनि ढिलै भए पनि धन्यवाद दिएँ श्रीमतीलाई पहिलो पटक उसले मेरो लागी भनेर एउटा काम गरिदिई । मैले भन्दै नभनेका कुराहरु निकालेर फूर्का हालेको अनि मेरो गुणगान गाएको मलाई कत्ति पनि पचेन तर थाहा पाएर पनि म केहि प्रतिक्रिया दिन सक्ने अबस्थामा थिइन । घरी घरी त मन छुन खोज्थी तर उस्कै अर्को नपच्ने कुराले मलाई पहिलेको कुरा बिर्सन बाध्य तुल्याउँथ्यो ।

अर्कोले भिडमा थप्यो, हेर नखरा पारेकी यस्को त सप्पै मलाई थाहा छ, यो गोपाललाई यसैको कारणले यस्तो भएको हो, चिन्तै चिन्ताले रक्सीमा डुबेर मर्यो बिचरा भन्दै थियो अनि हो त नि भनेर सार लगाउने पनि हुलै भए । दुइचार जना आइमाइको हूलमा फेरि अर्को आवाज आयो, हेर बैँशैमा बिधुवा भई अब कसरी गरी खान्छे, जँड्याहा पोई परेसी यस्तै हो, धन्नै घर चलाएकी रैचे बिचरा पनि भने, अनि त्यसै माथि धन्दा नमान साइँली, हामि छम नी, कोहि नी नभएनी इश्वर भगवान त छन नि पाप धर्म उनैले हेर्छन पनि भन्न थाले ।

यस्तैमा गौँडामा चिप्लीएर मेरो लाश खोलामा झर्ने भिरबाट दुई बल्ड्याङ्ग तल खस्यो अनि हिलो धूलो भयो सब भन्दा पहिला हाँस्ने श्रीमती र उसका आसेपासेहरु भए अनि सुस्त मनस्थितिका गाम्नागे बा पनि हाँस्नु भयो अनि उत्तिखेरै थुतुनो चिमोटेर मुख बन्द गर्नुभयो तर अरु हरु खित्का नछोडेपनि थुतुनोमा लालि बालेकै थिए । अनि मैले फेरि आफैलाई छामेँ, भर्खरै गोहिका आँशु चुहाउने हरु हाँसेको देख्दा मनमा चिसो पसेर आयो । जस्का लागि  सबभन्दा धेरै समय खर्चेँ, धेरै माया दिएँ, जस्को फलिफापका लागि मैले मेरो आफ्नो फलिफाप हुने कामलाई नै छोडेर लागेँ, तिनिहरुनै भिडमा अमिला र अझ अमिलो पस्नु भन्दा अगाडिका कागती जस्ता नीला र तिता भए । अझै कोहि कोहि त मेरो लाशलाई पनि थिलो थिलो पारेर धूलो पारेर मलाई सिध्याउन चाहन्थे, उनीहरुको ओठ थर्थराइरहेको थियो, दुर्भाग्यबश हर्ताकर्ता फेरि उनिहरु नै थिए । मेरो लाशलाई काँध दिने मेरा मान्छेहरु भए हुन्थ्यो, अनि मलाई ओल्टाई पल्टाई गर्ने मायालू हातहरु भएपनि हुन्थ्यो जस्तो लाग्दथ्यो । एक छिन पछि त खरानी हुनु छ त्यो भन्दा पहिला स्पर्श मात्रै पाए पनि हुन्थ्यो झैँ लाग्दथ्यो घरी घरी, चिच्याउन मन लाग्दथ्यो अनि असतीहरु मेरो लाश लाई नछो भन्न मन लाग्थ्यो तर के गर्नु यस्तै भइरहेको थियो ।

सप्कोमा मुखलाई थुनेर आँखाले नरोएर धुरु धुरु रुनेहरु पनि भिडमा मैले देखेँ । मनलाई कागती जस्तै निचोरेर मेरो लाशको पछाडी लाग्ने त्यस्ता मन हरु अगाडिका मनहरु भन्दा भिन्दै थिए धेरै थिए, जस्ले मलाई मनै बाट पढेका थिए तिनीहरुले मलाई चाहेर पनि बिर्सिन नसकेको अनि घाटमा बिदा गर्नै नमान्ने अनि नचाहने हरु पनि देखिए । एक दुइजनाको त भक्कानो पनि फुटेको देखेँ, म आँशु पुछ्न चाहन्थेँ र पनि म सक्दिनथेँ । मलाई थक्क लागेको कुरा मैले त्यस्ता मनहरुलाई आफ्नो बनाउन सकिन । जिवनको कुनै कालखण्डमा उनीहरुको सुख दुख साट्न सकिन । म बाध्य नहुनु थियो मैले बेलैमा बिद्रोह गर्नु पर्दथ्यो सकिन मैले यो मेरो कम्जोरी थियो, तै पनि अरुले के भन्लान आफ्नो इज्जत के होला भन्ने नाउँमा म फगत लतारिइरहेँ । अब फेरि बाँच्न पाए म पक्कै बिद्रोह गर्थेँहोला जस्तो लाग्थ्यो ।

मलाई घाटमा लगियो सर्वाङ्ग नाङ्गेझार पारेर दाउरा र परालले छोपियो अनि तलबाट माइला दाईले दागबत्ति दिनुभयो, माइला दाई भने मज्जाले रुनुभयो, इलामबाट आउने माइखोला भन्दा पनि बढि रुनु भयो । मलाई पनि रुवाउनु भयो अरु पनि रोए, कोहि आँखाले मात्र रोए, कोहि नरोएरै मनले रोए । आँखाले रुने र मनले रुनेको हूल छुट्टियो ।  आँखाले रुनेहरु उता म खरानी नहुँदै, अस्तु सेलाउन नपाउँदै माइला दाईलाई भागवण्डाको बारेमा ख्यार ख्यार पार्दै थिए । खर्चपानीको कुरा गर्दै थिए मलाई बिरक्त लाग्यो, बोझ लाग्यो आफ्नो मृत्यु पछि पनि । मेरो चितामा आगो बलिरहँदा एक्कासी ठूलो आवाज आयो म झस्केँ, सभ्यता भनेर चिच्याएँछु, अनि दिदिले के भयो निशान भनेर बोलाउनु भयो, केहि हैन दिदि भनेर टारेँ ।

तर यस्तो बिषय मेरो सपनामा कसरी आयो न मेरो पारिवारीक हुलिया मिल्छ, न मेरो जिवन सँग मेल खान्छ, तर गोपाल भन्ने मान्छे को यस्तो कहाली लाग्दो यथार्थले मलाई पनि छोयो, जिवनको अर्थको गहिराईमा पुगेँ म । यस्ले सिकाएको पाठ भनेको मलाई दिलै देखि पढ्ने, माया गर्ने मान्छे, असल साथीलाई आफ्नो जिवन बाँड्न पाउँ, भलै एक दिन बाँच्न पाइयोस तर उस्कै काखमा हराउन सकुँ, जिवनका भए भरका माया उस्लाई दिन सकुँ । मायाको अर्थ अनि जिवनको परिभाषा म आफै बनाउन सकुँ भन्ने कुरा मैले सिकेँ । आँखाले रुनेहरु र मनले रुनेहरुको बिचमा पर्खाल लगाउन सकुँ । मैले तिमिलाई दिएको माया मात्र होइन सम्पूर्ण जिवन नै हो भनेर सगर्व भन्न सकुँ । मेरो अगाध माया तिमिलाई, मेरी सभ्यतालाई अनि हाम्रो अर्थपूर्ण साथलाई । तिमि जहाँ रहे पनि मन हाम्रो एकै ठाउँमा छ भनेर भनिरहेकै छु, सास रहुन्जेल यहि मन्त्र जप्न पाइयोस सधैँ सधैँ तिम्रो मनको राजा बन्न पाइयोस अनि आफ्नो सिँहासनमा तिमिलाई रानी बनाएर राख्न पाइयोस । तिमि म भित्र अनि म तिमि भित्र हराउन पाउँ, एउटा स्पर्शले सधैँ छोइरहोस, एउटा चुम्बनले सधैँ चुमिरहोस, हर खुशीमा अनि हरु कठिनाइहरु तिम्रो साथको डोरी समातेर छिचोल्न सकुँ ।

No comments:

Post a Comment